झर्‌रोवादी पोषराज निरौला र उनका चार रचना

- चूडा मणि रेग्मी

वेला वेला मलाई श्रीमद्भा गवतको एउटा श्लोकको सम्झना आउँछ- अहिले पोषराजका कुरा उठ्दा पनि त्यो सम्झना आएको छ । त्यो श्लोकको भाव के हो भने नदीको किनारमा रहेको पिपलको रुखवाट एकै पटक धेरै पात खस्छन्, तर ती आफ्ना आफ्ना कर्मका गतिले कोही कता कोही कता हुन्छन् । वानाका पोषराज र म धरान र चन्द्रगढीमा रह्यौं । अहिले त पोषराजको निधन भएको छ । उनको भाइ उमेरको दौंतरी म, जीवित यहाँ छु ।
वालकृष्ण पोखरेल, कोषराज रेग्मी, वल्लभमणि दाहाल (स्व.), तारानाथ शर्मा यी चार जना नै झर्‌रोवादी आन्दोलनका प्रमुख मान्छे हुन्, प्रमुखका पनि प्रमुख चाहिं वालकृष्ण पोखरेल हुन् । ती प्रमुखका धेरै अनुयायी भए, तिनमा हामी तीनजना साथी पोषराज, माधव भँडारी र म समेतको नाम आउँछ । झर्‌रोवादसँग गाँसिएको जनवादी विचार पछिसम्म नछाड्नेमा पोषराज र म मात्रै रहेकामा अव पोषराज पनि रहेनन् । माथिका नाउँमा थुप्रै नाउँ थप्दा वितेकामा विपिनदेव ढुङ्गेल, देवमणि ढकाल, जनक प्रसाद हुँमागाईं छन् । जीवितमा श्यामप्रसाद, कमल दीक्षित, कृष्णप्रसाद पराजुलीको नाउँ पनि झर्‌रोवादीकै पङ्क्ति मा आउँछ । यस्ता नाम अहिले सवै उल्लेख गर्न सकिन ।
प्रस्तुत सन्दर्भमा, पोषराजकै कुरा गर्दा आजीवन झर्‌रोवाद नछाड्ने मात्रै होइन, वाम मार्ग नछाड्ने नाउँ थियो पोषराजको । उनका पुस्तकाकारमा कृति छापिएनन् । एक पटक अनुसन्धाता शिव रेग्मीले आफैँले फोटोकपी गरेर कथा सङ्ग्रह हुने गरी कथाहरु वटुलिदिएको तर पोषराजले सङ्ग्रह छाप्न नसकेको मलाई सम्झना छ । तीवाहेक कविता, निवन्ध, समालोचना प्रकाशित छन्, त्यो जानकारी पनि मलाई छ । ती सामग्री अध्ययन गर्दा पोषराज निरौला दरा झर्‌रोवादी प्रमाणित हुन कठिन छैन । झर्‌रोवादी आन्दोलनको पच्चीस वर्ष पुग्दा रजत महोत्सव मनाउन सकिएन । यसको कारण हो, झर्‌रोवादीहरु विचको फाटो र अहम्‌पना, तर स्वर्णमहोत्सव भने मेरो र दाजु कोषराज रेग्मी समेतको प्रयासवाट सानोतिनो रूपमा मनाइयो । नौलो पाइलोको स्वर्ण अङ्क (पूर्णाङ्क-६) पनि प्रकाशित भयो । एउटा विराटनगरमा समारोह पनि भयो । दुर्भाग्य त्यो समारोहमा विराटनगरवासी वालकृष्ण पोखरेलको नै उपस्थिति रहेन, तर धरान वासी पोषराज निरौलाको भने उपस्थिति रह्यो । यसै गरी झर्‌रोवादीकै रूपमा पोषराजले काकरभिट्टा , चन्द्रगढी, वेलवारी, विराटनगरमा भएका केही भेलाहरुमा भाग लिएको सम्झना छ । यो प्रसङ्गमा, लामो गन्थन नगरी के भनौं भने साहित्यमा कलम चलेका, शोध कार्यमा पनि निपुण पोषराज, घरको काम, क्याम्पसको काम र पार्टीको कामवाट लेख्ने काममा वढी समय निकाल्न सकेनन् । धेरैतिर छरिएका उनका रचनामध्ये यहाँ ६ ठाउँमा छरिएका रचनाहरुको उल्लेख गर्दै ४ रचनाको मात्र सम्क्षिप्त परिचय दिने प्रयत्न गर्दै छु । ती ६ रचना निम्नानुसार छन् :
शीर्षक पत्रिका वर्ष अङ्क साल
१. राईजीका दुई कृति- युगज्ञान साप्ताहिक, भद्रपुर ६ २०३२
२. वल्लो घाट न पल्लो तीर (कथा) धारा, भद्रपुर २०२४
३. म मोती (२), भद्रपुर २०२४
४. नेपाली वाङ्मयको विकासमा साझा प्रकाशन जुही, चन्द्रगढी पू. १७ २०४३
५. माधव भँडारीको वनारसी जीवनतिर हेर्दा जुही, चन्द्रगढी पू. ४७ २०५८
६. चूडामणि रेग्मी अभिनन्दन ग्रन्थ सप्तकोसी (इटहरी) २०६६
माथी भने अनुसार यहाँ तीन, चार, पाँच, छ नम्वरका रचनाको संक्षिप्त चर्चा निम्नानुसार छ:
३. म
यो हास्यव्यङ्ग्य निवन्ध झापा वा मेची अञ्चलका पत्रपत्रिकामा प्रकाशित हास्यव्यङ्ग्य निवन्धसँग मात्र होइन, राष्ट्रिय स्तरका निवन्धसँग नै तुलना गर्न योग्य छ । धेरै सशक्त व्यङ्ग्य । अत्यन्त कसिलो संरचना । वेल जस्तो भएर पनि सरस प्रवाहमय ।
झर्‌रोवादीहरु वालकृष्ण पोखरेल, कोषराज रेग्मी, तारानाथ शर्मा, म चूमरेका साथै पोषराजका गरी ५ रचना लिएर मोती (२) ले झापामा झर्‌रोवादी अभियानलाई अघि वढाएका क्रममा पोषराजको यो म निवन्धलाई आज पनि मैले हेर्दा विशिष्ट अनुभव हुन्छ- झापाका हास्यव्यङ्ग्य लेखनका परिप्रेक्ष्यमा । ९ पातामा फैलिएको, लामा छोटा १५ अनुच्छेदमा सम्र चित यो निवन्धमा प्रशस्त विचित्र कथन, त्यस्तै वक्रोक्तिपूर्ण अभिव्यक्ति, झर्‌रोमा झर्‌रो (उखान टुक्का अनुकरणात्मक शव्द)को प्रयोगले यो म निवन्धले चर्तिकला मच्चाउने ढङ्गको चमत्कार गरेको पढ्दा अनुभव हुन्छ । एउटा नमुना अनुच्छेदवाट यो ‘म’ को अनुहार चिनौं-
हुनता यो मेरो एक अक्षरे म- को सृष्टि यो साल, यो महिना, यो तिथि, यो वार, यो वेला, यती घडी जाँदा, यसका कोखवाट, यस ठाउँमा भयो भनेर ठोकुवा गर्न सक्ने भाषाशास्त्री पनि म हुइन र अघि-पछिको जम्मै कुरा खुटै-खूट ल्याउने ज्योतिषी वाजे पनि म हुइँन । तापनि यसको जन्म हाम्रा च्वाव्जुहरुका पनि ल्याव्जुहरुका पालातिर मान्छेकै मुखवाट भएको हुनुपर्छ भन्ने कुरा चाहिं कसैको मुख नच्याई वकिदिन सक्छु । अनि जसरी कपुरी ‘क’ ले यस धर्तीमा पाइला राख्यो त्यसरी नै यो राम्रो ‘म’ले पनि राख्यो भन्न वाराखरीका वुढा वावुको वुढो मुख ताकिरहन परोइन।
४. नेपाली वाङ्मयको विकासमा साझा प्रकाशन
नेपाली भाषा र यसका मर्मग्यका विषयमा कलम चलाउने डिल्ली राम तिमसिना (स्वर्गीय), कमल दीक्षित आदि १२ लेखक मध्येका एक लेखक हुन् पोषराज निरौला । महेन्द्र वहुमुखी क्याम्पस धरानका नेपाली विषयका अनुभवी प्राध्यापक र झर्‌रोवादी साहित्यकार भएकाले यो विशेषाङ्कमा सामग्री माग भयो र तदनुसार नै सामग्री प्राप्त भयो । यो लेख लेख्नुपूर्व पोषराजले त्रि.वि.वि.को परियोजना अन्तर्गत सायद गोर्खापत्रमा सम्स्कृत शव्दको प्रयोग विषयमा अनुसन्धान गरेका थिए । अनुसन्धानतिर हात वसेका लेखकवाट यो लेख तयार भएको छ । यसो वाहिर हेर्दा यो लेख विवरणात्मक देखिन्छ, तर गहिरिएर हेर्दा २०२१ सालमा साझा प्रकाशनको रूप लिएको यो सम्स्थाको प्रकाशन गतिविधिको निकै वौद्धिगकता पूर्ण विवेचना भएको छ। लेखकले साझाले छापेका पुस्तकको २२ शीर्षकमा वर्गीकरण गर्दै ती वर्गीकृत शीर्षक अन्तर्गत ४९१ पुस्तकको उल्लेख गरेका छन् । उनको भनाइ कस्तो खाले छ भन्नेक नमुनाका लागि एक अनुच्छेद हेरौं-
नेपाली भाषा प्रकाशिनी समितिको दायित्व वोकेर आउने यस सम्स्थाले भाषा, व्याकरणतिर वढी उन्मुख हुनु पर्ने हो, तर यसतर्फ उसले वढी लगानी लगाएको पाइन्न । ज्ञान र विज्ञानका विविध फाँटलाई सिर्जनात्मक प्रतिभाले सिंगार्न साझा पुरस्कार लोक-साहित्य पुरस्कार मात्र पर्याप्त हुँदैनन् । भाषा, व्याकरण जस्ता गहन विषयका ग्रन्थका निम्ति अन्य कुनै उपाय पनि गरिनु पर्छ । भाषा-गोष्ठी, भाषा विशेषाङ्क जस्ता भाषिक उत्थानका सवल आयामहरु थपिनु पर्छ ।
५. माधव भँडारीकऊ वनारसी जीवनतिर हेर्दा
६. चूडा मणि रेग्मी अभिनन्दन ग्रन्थ – चूडामणि रेग्मीसँगको......... तिर फर्कदा
जुही ४७ मा माधव भँडारीका विषयमा माधव भँडारीको वनारसी जीवनतिर हेर्दा शीर्षक लेख सम्स्मरणात्मक छ भने चूडामणि रेग्मी अभिनन्द ग्रन्थ २०६६ मा प्रकाशित म विषयक लेख पनि सम्स्मरणात्मक छ । यी दुवै लेखमा पोषराजले म र माधव भँडारी उनका दौंतरी साथी भनेका छन् भने हामी दुवै साहित्यतिर त्यतिखेरै कसिएर लागेको पनि वखानेका छन् । दुवै लेखमा वनारमा अङ्ग्रेजी पढ्ने छात्रहरुले हामी सम्स्कृत पढ्ने छात्रहरुलाई हियाएको उल्लेख गर्दै हामी सम्स्कृत पढ्ने छात्रहरुले अग्रगामी पाइला चाल्न कटिवद्धत रहेको पनि उल्लेख गरेका छन् । माधव भँडारीका मूल्याङ्कन उनले यसरी गरेका छन्-
यसरी मेरा मित्र माधव भँडारीले c]s टपरी भातमा निम्नवर्‌गीय जीवनका जटिलतम भोगाइलाई कलात्म ढङ्ग ले प्रस्तुत गरेर एकातिर कथाकारितामा हुने विरुवाका चिल्ला पातको लक्षण देखाएको थियो भने अर्कातिर सम्स्कृत पढ्नेहरुसँग पनि अङ्ग्रेजी पढ्नेहरुका कथाकारितासँग सिंगौरी खेल्न सक्ने सामर्‌थ्य हुन्छ भन्ने वास्तविकतालाई अङ्ग्रेजीवाजका अघिल्तिर ज्वलन्त प्रमाणका रूपमा अभ्याइदिएको थियो ।
मसित सम्वद्धल लेखमा छोटा दुई सम्स्मरण उनले गाँसेका छन् । उनको र मेरो सन्यासी कलेजमा पढ्दा झगडा भएको तर त्यो झगडाको कारण थाहा नभएको एउटा कुरा लेखेका छन् । त्यो कारण उनले पनि वताएनन्, मलाई पनि सम्झना छैन । अर्को सम्स्मरणमा हामी परीक्षा दिन क्विन्स कलेजमा जाँदा वाटो रोक्का भएर ढिलो पुग्दा ट्वाङ्ङ घन्टी लागेको मात्रै म सम्झन्छु तर पोषराजले भने आधा घन्टा ढिलो भएकाले निरीक्षकलाई अनुरोध गरेर मात्र जाँच दिन पाएको लेखेका छन् । यो कुरामा उनी वितिगए, अव कोसित छलफल गर्ने ?
यसै प्रसङ्गमा, वितेका पोषराजवारे कुरा लेख्दा धेरै कुरा छन् । ती सवैलाई यहाँ एकै ठाउँमा भन्न सकिन्न । सायद, उनी धनकुटा वस्दा उनको अवस्थाको चित्रण गर्ने ध्येयले एउटा कथा त्यो म लेखेको र हिमानी पत्रिकामा छापिएको सम्झना छ । यो कथा काल्पनिक छ तर त्यो कल्पना पोषराजलाई हेरेर मैले गरेको सम्झन्छु । यस्तै एउटा आनन्ददेव भट्टो र म दुई जना पात्रको प्रतिनिधित्व हुने (सत्य चाहिं होइन) कथा सहमति लेखेको पनि मलाई सम्झना छ । मैले यति कुरा खोलेपछि अनुसन्धाताहरुले त्यो म ? र सहमतिका वस्तु तथ्य अझ गहिरिएर खोज्लान्, भेट्लान् भन्ने मेरो आशय रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु