म सानो छँदा

- राजु “हिमांशु”

म सानो छँदा मेरी आमाले त्यति धेर पसिना बगाएर पनि कम्ती पैसा थाप्छिन् भनी कहिल्यै सोचिनँ । उनले पसिना बगाएभन्दा कम्ती हिसाब निस्कँदा,उनले हिसाब लगाएभन्दा बेग्लै हिसाब निस्कँदा मैले मेरी आमाले थापेकी पैसा गनिनँ । मैले मेरी आमा दु:खी छिन् भनिनँ । म सानो छँदा मलाई थाहा थिएनँ –धेरै अघि त्यो कुलैनबगानमा काम गर्दा मेरी आमाले कतिचोटि शरीरबाट रगत बहाएकी छिन् भनेर । साँच्चै थाहा थिएनँ मलाई त्यो चिया बगानमा पत्ती चुँड़दा मेरी आमाले कतिचोटि शरीरबाट पसिना बहाएकी छिन् भनेर । म सानो छँदा मलाई थाहा थिएनँ यो पहाड़को सुरक्षाको निम्ति मेरी आमाले कतिचोटि खाजा खान बिर्सिएकी कथा , कतिचोटि मलाई दूधसम्म खुवाउने समय नपाएकी गाथा । र पनि उनलाई भूल हिसाबले भूलभुलैयामा पारेर धेरैले भुल्याउँदा आफ्नो आवश्यकतालाई उनले कतिचोटि आँसुले पखालेकी व्यथा साँच्चै मलाई थाहा थिएनँ ।
म सानो छँदा यही डेल्टाको निम्ति मेरा बाबाले सङ्गिनको चोटलाई फगत सियोको घोचाइ सम्झेर धेरै किल्लालाई जोगाएको इतिहास मलाई थाहा थिएनँ । यहीँ भू-खण्डको निम्ति मेरा बाबाले आफ्नो छातीलाई बैरीको गोली छेक्ने पर्खाल बनाएर यो स्वतन्त्र माटोलाई परतन्त्रको पाइलाले टेक्नबाट जोगाउँदा वीरगति प्राप्त गरेका इतिहास साँच्चै थाहा थिएनँ मलाई म सानो छँदा । किनकि जतिपल्ट पनि मैले आमालाई बाबा खोइ भनेर सोध्दा आमाले मलाई तेरो बाबा तँलाई राम्रो नाना किन्न गएका छन् भनिन् । जतिपल्ट पनि मैले आमालाई बाबाले अझ किन नाना ल्याएनन् भनी सोध्दा मलाई तेरो बाबा तँलाई राम्रो खिलौना किन्न गएका छन् भनिन् ।तर बाबा कहिल्यै फर्केनन् मेरो निम्ति राम्रो नाना लिएर । उनी कहिल्यै आएनन् मेरो निम्ति राम्रो खिलौना लिएर ।

गिद्धले लुछेको मृत बाबाको रक्ताम्मे शरीरको,सङ्गिनले छ्याल्ल-ब्याल्ल पारेको बाबाको कक्रिएको शरीरको उपलब्धिस्वरूप प्राप्त फगत पदकहरु ,तकमाहरु मेरो निम्ति खिलौना रहेछन् भनेर, मेरो निम्ति विलौना रहेछन् भनेर मलाई थाहा थिएनँ म सानो छँदा । मैले बाबाले किन ढिलो गरे भनी सोध्दा आमाको गह टल्किएको देखें । अँगालेर उनले मलाई म्वाइँ खाइन्। मेरो फाटेको भोटोभित्रको मासुमा आमाको तातो आँसुले स्पर्श गर्दा मलाई काउँकुती लागेको अनुभव गरेँ म सानो छँदा । त्यस बेला मैले त्यो आँसुको महत्त्व बुझिनँ । तर टाउको घुसारेँ आमाको चोलीभित्र स्तनपान गर्न । त्यस बेला मैले आमाको व्यथालाई बुझिनँ ।
तर आज जवानीमा मलाई पोल्दै छ एउटा अबोधले नजानेको कुराले । मलाई थाहा थिएनँ म सानो छँदा कस्तरी मेरी आमाले मलाई सान्त्वना दिएकी थिएछन्। कस्तरी मेरी आमाले मलाई आदर्श पुत्र बनाउन खोजेकी थिएछन्। तर आज उनी फुलिसकेको केश उखेल्दै पछि उभिएको दुर्बल छोरोको नियाँस्रो अनुहार ऐनामा हेर्छिन् । युगको घातले पिल्सिएको छोरोलाई खिन्न पाउँछिन् । अभावग्रस्त छोरोको शरीर हेर्छिन्। म पनि निस्तेज आँखाले उनको कमजोर आकार नियाल्छु अनि मेरी आमाको जीवन पूर्णतया फस्टाएको जून मुस्कराएको आकाशजस्तै पटक्कै हुन नसकेको देख्छु ।

-डाउहिल ,खर्साङ,जिल्ला-दार्जीलिङ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 श्रावण, 2072

लेखकका अन्य रचनाहरु