साहित्यकार होम सुवेदीको जीवनी र व्यक्तित्वको अध्ययन

- सरस्वती गौतम

२.१ साहित्यकार होम सुवेदीको जीवनी
२.१.१ पुख्र्यौली
साहित्यकार होम सुवेदी अर्थात् होमनाथ सुवेदीका पुर्खाहरू नेपालका सबै सुवेदीहरू जस्तै पश्चिमी नेपालका वासिन्दाहरू नै थिए । तर शोधनायकलाई पहिले पूर्वी नेपाल कोशी अञ्चलको धनकुटामा बस्थे भन्ने मात्र थाहा छ । पछि त्यहाँबाट उनीहरू बसाईं सरेर मेची अञ्चलको पाँचथर जिल्लाको अमरपुर गाविसको आङबुङ भन्ने ठाउँमा सरेका हुन् । हालसम्म पनि उनको परिवारका केही सदस्यहरू सोही ठाउँमा बसोबास गर्दै आएका छन् । शोधनायक सुवेदीका अनुसार उनका जिज्यू हजुर्बा (हजुर्बाका बुबा) नै धनकुटा छोडेर यस ठाउँका बसाइँ सरेर आएका हुन् । उनका अनुसार पाँचथरमा विश्वामित्रका छोरा लीलाचक्र र लीलाचक्रका छोरा अनन्तनारायणबाट तीन छोराको जन्म भयो । ती तीन छोरामध्येका कान्छा छोरा पद्मप्रसाद (हाल स्वर्गीय) का चार भाइ छोराहरूमध्ये क्रमशः जेठा राजेन्द्र सुवेदी (निवृत्त प्राध्यापक, काठमाडौं), माहिला वासुदेव सुवेदी (खेती किसानी र ज्योतिषी, पाँचथर), साहिला यसै शोधपत्रका शोधनायक होमनाथ सुवेदी (सहप्राध्यापक, मेची बहुमुखी क्याम्पस भद्रपुर) र कान्छा जीवन सुवेदी (हाल भारतमा कार्यरत) रहेका छन् । यीमध्येका स्व.पद्मप्रसाद र स्व.राधिकादेवी सुवेदीका साहिँला छोरा होमनाथ सुवेदी नै साहित्यका क्षेत्रमा होम सुवेदीका रुपमा सुपरिचित हुन पुगेका व्यक्ति हुन् । उनैको जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा अध्ययन गर्नु यस शोधको उद्देश्य हो र यस शोधकार्यका शोधनायक पनि उनै हुन् ।
साहित्यकार होम सुवेदी र श्रीमती वीना सुवेदीका एक छोरी र एक छोरा गरी दुई सन्तान छन् । तीमध्ये छोरी शिखाको भरतपुर चितौन निवासी श्री शरदराज पाठकका साथमा विधिपूर्वक २०६३ सालमा नै विवाह भइसकेको छ । हाल उनी सपरिवार अस्ट्रेलियामा छिन् । छोरा प्रयास सुवेदी हाल भारतको हैदरावादमा एम.इ. अध्ययनरत रहेका छन् । साहित्यकार सुवेदीले मागी विवाह गरेका हुन् । उनकी धर्मपत्नी बिना सुवेदी मेची बहुमुखी क्याम्पस भद्रपुरका कर्मचारी छिन् भने उनी स्वयम् पनि सोही क्याम्पसमा सहप्राध्यापक पदमा कार्यरत रहेका छन् । उनको सेवानिवृत्तिको समय अझै केही रहेको छ । उनको पुख्र्यौली वंशवृक्ष निम्नानुसार छ ः
१. विश्वामित्र सुवेदी
१.लीलाचक्र सुवेदी
१.अनन्तनारायण सुवेदी
१.जेठो टीकाराम सुवेदी
२.माइलो जयधर्म सुवेदी
३.कान्छो (पद्मप्रसाद सुवेदी + राधिकादेवी सुवेदी)
१.राजेन्द्र सुृवेदी (जेठो)
२. वासुदेव सुवेदी (माइलो)
३. होमनाथ सुवेदी÷होम सुवेदी (साइँलो)+श्रीमती बिना
१. शिखा सुवेदी (पाठक) (छोरी)
२. प्रयास (छोरो)
४. जीवन सुवेदी (कान्छो)
२.१.२ जन्म र जन्मस्थान
साहित्यकार सुवेदीको जन्म वि.सं. २००९ साल मार्ग १४ गते बुबा पद्मप्रसाद र आमा राधिकादेवीका साइँलो छोराका रूपमा पाँचथर जिल्लाको अमरपुर – ६ को आङबुङ भन्ने ठाउँमा भएको हो । यिनको न्वारनको नाम हरिनारायण सुवेदी हो भने नागरिकता तथा औपचारिक ठाउँमा होमनाथ सुवेदी र साहित्यमा होम सुवेदी रहेको छ ।
२.१.३ बाल्यकाल
होम सुवेदीको बाल्यकाल निकै सुन्दर एवम् सुमधुर रूपमा बितेको पाइन्छ । आफूमाथि दुई दाजुहरूको छत्रछाया र प्रेमले गर्दा उनले कुनै प्रकारको घरपरिवारप्रतिको जिम्मेवारी उठाउनु परेको थिएन । आफ्ना बुबा आमा र दाजुहरूको स्नेहमा नै उनको बाल्यकाल सहज र स्वाभाविक रूपमा जन्मस्थान अमरपुरमा नै बितेको थियो ।
२.१.४ शिक्षा
साहित्यकार होम सुवेदीका पिता–माता शिक्षाप्रेमी भएका कारण उनीहरूले आफ्ना सबै छोराहरूलाई पठन पाठनमा प्रवृत्त गराउन उनीहरूको यथेष्ट योगदान रहेको देखिन्छ । यसै क्रममा साहित्यकार होम सुवेदीलाई पनि आफ्ना पिताले नै साउँअक्षर चिनाएका थिए । ब्राह्मण परिवारका भएकाले उनलाई सर्वप्रथम परम्परागत विद्या रुद्री, चण्डी, अमरकोष आदि विषयको शिक्षा पहिले घरमा र पछि सेउले पाठशालामा दिइयो भने पछि उनलाई १२ वर्षको उमेरमा २०२१ सालमा गुरु माधवप्रसाद भण्डारीकहाँ संस्कृत व्याकरण लगायतको पठनपाठनका लागि पठाइयो । त्यहाँ बसेर यिनले लघुकौमुदी को अध्ययन गरे ।
यसरी गुरु माधवप्रसाद भण्डारीसँग गएर दुई वर्षमा उनले लघुकौमुदी, अमरकोष र हितोपदेश को अध्ययन पुरा गरे भने २०२४ भदौदेखि उनी भारतको कालिम्पोङ गएर संस्कृतको प्रथमा परीक्षा दिई प्रथम श्रेणीमा उत्तीर्ण गरे । यसै गरी अध्ययनलाई निरन्तरता दिँदै उनी २०२६ सालमा बनारस गए र त्यहाँबाट पूर्वमध्यमा परीक्षा २०२७ सालमा र उत्तरमध्यमा २०२९ सालमा पुरा गरे । यसपछि उनी काठमाडौं आई प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा दिँदै २०३४ सालमा शास्त्री परीक्षा पनि पास गरे । शास्त्री परीक्षा उत्तीर्ण गरेपछि उनले संस्कृततर्फको अध्ययनलाई त्यहीँ विराम दिएर नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट नियमित परीक्षार्थीका रूपमा स्नातकोत्तर तह (एम.ए.) उत्तीर्ण गरे । त्यसपछि उनी आफ्नो औपचारिक शिक्षालाई त्यहीँ विश्राम दिई स्वाध्ययनतर्फ प्रवृत्त हुन थालेको देखिन्छ (शोधनायकबाट प्राप्त जानकारी) ।
२.१.५ युवा अवस्था
साहित्यकार होम सुवेदीको युवा अवस्था सहज रूपमै बितेको देखिन्छ । यिनी आफ्नो युवा अवस्था आरम्भ हुँदै अध्ययनका लागि बनारसतर्फ गएका र उनले अध्ययनलाई पूर्णता दिने क्रममा दुई वर्ष बनासर बसी २०२९ सालमा काठमाडौं गएर शास्त्री परीक्षा उत्तीर्ण गरेको देखिन्छ । उनी सानै उमेरदेखि नै लेखन कार्यमा सक्रिय रहे पनि यिनले मध्य युवा अवस्थामा अर्थात् २०३० सालमा “ईश्वर त्यतै हाँसिरहेछ” शीर्षकको कविता लेखेर एकेडेमीको प्रकाशन माधुर्यमा छपाएका थिए । यसरी नै २०३१ सालमा ‘डाढो ः एक नालिबेली’ शीर्षकको लेख कौवा प्रकाशनको प्रकाशन डाढोमा प्रकाशित भएको थियो । यसबाट यिनको युवा अवस्था अध्ययन र साहित्यसृजनको प्रयासमा नै बितेको थियो भन्ने कुरा छर्लङ्ङ हुन्छ ।
२.१.६ दाम्पत्य जीवन
साहित्यकार सुवेदीले २०३८ साल फाल्गुण २७ गते २९ वर्षको उमेरमा बनारस निवासी स्व.विश्वनाथ शर्मा तथा स्व.सावित्रादेवी शर्माकी सुपुत्री बीना शर्मासँग मागीविवाह गरेका हुन् । यिनको दाम्पत्य जीवन आपसी माया, सदभाव, सहयोग र समझदारीका साथ सुखपूर्वक अघि बढिरहेको छ । यिनका हरेक सफलता र हरेक कार्यमा श्रीमतीको राम्रो साथ र समर्थन रहेको देखिन्छ (शोधनायकबाट प्राप्त जानकारी) । यिनको लेखन कार्य लगायत हरेक क्षेत्रमा श्रीमतीले मन, वचन र कर्मले साथ दिँदै आएको कुरा उनी बताउँछन् । यसबाट श्रीमतीको राम्रो साथ र सहयोगबाट उनको जीवन चलिरहेको हुनाले दाम्पत्य जीवन अत्यन्त सफल, समझदारीयुक्त र सुखमय रहेको पुष्टि हुन्छ ।
२.१.७ विविध संस्कारहरू
हिन्दू विधान, परम्परा, संस्कृति र रीतिरिवाज अनुसार नै साहित्यकार होम सुवेदीका जीवन संस्कारहरू सम्पन्न हुँदै आएको देखिन्छ । उनको जीवनमा सम्पन्न संस्कार कर्महरू निम्नानुसार रहेका छन् ः
(क) नामाकरण (न्वारान) ः साहित्यकार होम सुवेदीको हिन्दू संस्कार अनुसार नामाकरण कर्म गरिएको र न्वारानमा उनको नाम जन्मतिथि, नक्षत्र, घडीपला आदि सम्पूर्ण कुराहरूको लेखाजोखा र विचार गरी ब्राह्मणबाट जुराइएको थियो । सो अनुसार उनको नाउँ हरिनारायण रहन गएको देखिन्छ । यस अनुसार उनको पुनर्वसु नक्षत्रको तेस्रो पाउ र कर्कट राशीमा जन्म भएको देखिन्छ । यसो भए तापनि उनको प्रचलनको नाउँ चाहिँ होमनाथ रह्यो र साहित्यका क्षेत्रमा उनले आफूलाई होम सुवेदी लेख्दै आएका छन् ।
(ख) व्रतबन्ध ः साहित्यकार सुवेदीको व्रतबन्ध (उपनयन संस्कार) २०२२ सालमा १३ वर्षको उमेरमा भएको थियो । श्री वसन्त पञ्चमीको अवसर पारेर हिन्दू विधिविधान अनुसार उनको व्रतबन्ध अमरपुर पाँचथरमा नै सम्पन्न भएको हो ।
(ग) विवाह ः यिनको विवाह २०३८ फागुन २७ गतेका दिन २९ वार्षको उमेरमा बनारस निवासी स्व.विश्वनाथ शर्मा र सावित्रीदेवी शर्माकी सुपुत्री बीना शर्मासँग परम्परागत मागी विवाहकै रूपमा बनारसमा नै सम्पन्न भएको हो ।
२.१.८ छोराछोरी ः
साहित्यकार होम सुवेदीका एक छोरी र एक छोरा गरी दुई सन्तान छन् । यीमध्ये छोरी शिखा सुवेदीको जन्म २०४० सालमा भएको थियो । हाल उनी विवाहित छिन् र उनी अस्टे«लियामा आफ्ना पतिका साथ बस्दै आएकी छिन् । छोरा प्रयासको जन्म २०४३ सालमा भएको हो । उनी भने अहिले भारतको हैदरावादमा एम.इ. अध्ययन गर्दै छन् ।
२.१.९ साहित्यिक प्रेरणा र प्रभाव
साहित्यकार होम सुवेदीको साहित्य सृजनामा पहिलो प्रेरणा उनका पिता पद्मप्रसादबाटै प्राप्त भएको पाइन्छ । उनका पिताले रामायण, महाभारत र देवी भागवतका श्लोकहरू कण्ठस्थ गर्न प्रेरित गरेको कुराबाट उनमा साहित्य सृजनाका लागि प्रेरणा पलाएको देखिन्छ (पोखरेल, २०६८ ः १०) । यिनी सानै उमेरदेखि नै लेखनतिर उत्सुक थिए । उनको यस उत्सुकतालाई प्रेरित गर्ने काम साहित्यकार स्व.वासुदेव लुइँटेलले गरेका हुन् । उनले होम सुवेदीलाई सधैं केही लेख्नुपर्छ, साहित्यको सफलतामा अर्को र्इँट थप्ने काम गर्नुपर्छ भनेर नै उनलाई साहित्य लेखनतर्फ उत्प्रेरित गरेका थिए । यसबाट पनि साहित्यकार सुवेदीमा साहित्यसृजनातर्फ अझ उत्प्रेरणा थपिएको बुझिन्छ (शोधनायकबाट प्राप्त जानकारी अनुसार) । यसै गरी उनको लेखन कार्यका लागि उत्प्रेरणा दिने अर्का व्यक्ति साहित्यकार कमलमणि दीक्षित पनि रहेको कुरा सुवेदीले बताएका छन् ।
साहित्यकार सुवेदी सामाजिक विकृति र विसङ्गतिप्रति असन्तुष्ट थिए । त्यसैले उनी हास्यव्यङ्ग्यका माध्यमबाट त्यस्ता विसङ्गति विकृतिमाथि प्रहार गर्न सकिन्छ । यसबाट नै केही मात्रामा भए पनि यस्ता कुरालाई समाजबाट हटाउन योगदान दिन सकिन्छ भन्ने धारणाका साथ लेखनका क्षेत्रमा आएको बुझिन्छ । यसका लागि आफूलाई सफल हास्यव्यङ्ग्यकारका रूपमा उभ्याउन सफल भैरव अर्यालको लेखनका प्रवृत्ति र उनका कृतिहरूबाट आफूले धेरै प्रभाव र सिप समेत सिकेको आत्मस्वीकृति साहित्यकार होम सुवेदीको रहेको छ । यसै प्रभावबाट नै आफूले कालीपोके हास्यव्यङ्ग्य निबन्ध संग्रह लेखेको उनी बताउँछन् । यसरी समाजमा घटेका, घट्ने गरेका यथार्थ घटनाहरूलाई लिएर मर्माहत कथासंग्रह पनि उनले लेखेका छन् । यसमा पनि सामाजिक विकृति विसङ्गतिप्रति तिखो व्यङ्ग्य पाइन्छ ।
२.१.१० सम्मान तथा पुरस्कार
साहित्यकार होम सुवेदी सानै उमेरदेखि नै लेखनतर्फ अग्रसर रहेको पाइन्छ । उनले सर्वप्रथम ‘ईश्वर त्यतै हाँसिरहेछ’ शीर्षकको कविताबाट आफ्नो साहित्ययात्राको थालनी गरेको देखिन्छ । उनको यो कविता एकेडेमीको माधुर्य (२०३०) पत्रिकामा छापिएको थियो । यसरी कविताबाट साहित्य सृजना यात्रा थालेका सुवेदीले हास्यव्यङ्ग्य र कथालाई नै आफ्नो सृजनात्मकताको मुख्य क्षेत्र बनाएका छन् । यसरी लगभग चार दशक लामो उनको यस साहित्य साधना यात्राका क्रममा उनले राष्ट्रिय एवम् स्थानीय तहका पुरस्कार सम्मान पनि प्राप्त गर्ने अवसर पाएको देखिन्छ । उनले राष्ट्रिय स्तरको पुरस्कार भैरव पुरस्कार २०६७, देवकोटा स्मृतिभवन भद्रपुरबाट रजतजयन्ती सम्मान र जुही प्रकाशनबाट सदम्पती सम्मान पनि प्राप्त गरेका छन् । यसबाहेक
२.१.११ पेशा
पेशाका दृष्टिले हेर्दा साहित्यकार सुवेदी प्राध्यापन पेशामा आबद्ध देखिन्छन् । प्राध्यापन क्षेत्रमा यिनले राम्रो सफलता हासिल गरेका छन् । २०२८ सालदेखि यिनले पाँचथरको अमरपुर गाविसमा रहेको दोरुम्बा भन्ने ठाउँमा सञ्चालित धुले पाठशालाबाट शिक्षण थालेका थिए । यसै साल उनले अमरपुर मा.वि.मा शिक्षकको रूपमा कक्षा ८, ९ र १० लाई अध्यापन गराएर आफ्नो पेशालाई निरन्तरता दिएको पाइन्छ । यसपछि उनी २०२९ चैत्र २० देखि २०३८ असार ३१ सम्म काठमाडौंमा मदन पुरस्कार पुस्तकालय र यससँग सम्बद्ध जगदम्बा प्रेसमा समेत सेवा गरे भने उनको वास्तविक पेशा (प्राध्यापन) को थालनी भने २०३८ साउन १ गतेदेखि मेची बहुमुखी क्याम्पस भद्रपुर, झापामा सहायक प्राध्यापक पदबाट भयो (शोधनायकबाट प्राप्त जानकारी) । यसपछि भने उनको यही प्राध्यापनको क्रम यसै क्याम्पसमा अगाडि बढ्दै यहाँसम्म आइपुगेको छ । उनी हाल सहप्राध्यापक पदमा रहेर स्नातकोत्तर तहका कक्षाहरूमा पठनपाठन गराउँदै आइरहेका छन् । नेपाली विषयको स्नातकोत्तर कक्षा मेची बहुमुखी क्याम्पसमा स्थापना भएदेखि उनले विशेष पहलमा यस विभागलाई उन्नत बनाउने दिशामा विशेष प्रयास गरेको पाइन्छ । उनले यसै विषयमा यहाँ झापाका र देशका कतिपय साहित्यकार एवम् भाषासेवीहरू उपर शोध प्रबन्ध लेखाई विशेष योगदान पु¥याएको देखिन्छ । यसै पेशामा मूलतः आबद्ध रहँदै उनी साहित्य एवम् समाजसेवाका विविध क्षेत्रमा समेत आफूलाई संलग्न गराउँदै आइरहेका छन् ।
२.१.१२ आर्थिक अवस्था
साहित्यकार होम सुवेदी मेची अञ्चल, झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं. ५ स्थित आफ्नै घरजग्गामा रहँदै बस्दै आएका छन् । दुवै दम्पती क्याम्पसमा जागिरे र छोरो पनि इन्जिनियर भई जागिर खाँदै गरेको अवस्था छ । साथै आफ्नो पुख्र्यौली थलो पाँचथरको अमरपुरमा हाल पनि केही पुख्र्यौली सम्पति रहेको हुँदा यिनको आर्थिक अवस्था सामान्य नेपालीको भन्दा राम्रो अर्थात् उच्चमध्यम स्तरको देखिन्छ ।
२.२. साहित्यकार होम सुवेदीको व्यक्तित्व
२.२.१ भौतिक व्यक्तित्व
साहित्यकार हामे सुवेदी गोरो वर्णका व्यक्ति हुन् । उचाइ औसत नेपालीको जस्तै भएका यिनको शारीरिक व्यक्तित्व आकर्षक छ । मिजासिला स्वभाव भएका यिनी गम्भीर प्रकृतिका मान्छे देखिन्छन् । शिरमा सधैं टोपी पहिरने र प्रायः सर्ट पेन्ट नै लगाउने यिनको हृष्टपुष्ट शरीर भएकाले यिनै अहिलेसम्म स्वस्थ नै देखिन्छन् ।
२.२.२ सामाजिक व्यक्तित्व
विचारमा प्रगतिशील साहित्यकार सुवेदी आफ्ना हरेक क्षेत्रमा यसै विचार अनुसार काम गर्ने गर्दछन् । यिनी विकृति विसङ्गतिले जरा गाडेको गाउँ, समाज र राष्ट्रलाई प्रगतितर्फ उन्मुख गराउन तल्लीन रहन्छन् । कलम चलाएर होस् वा सामाजिक कार्यमा संलग्न रहेर होस् यिनी सदैव आफ्नो समाजमा हुने गरेका र भइरहेका प्रगतिशील कार्यक्रमहरूमा अग्रसर रहिरहेका देखिन्छन् ।
यिनले २०२९ चैत २० गतेदेखि २०३८ असार ३१ सम्म मदन पुरस्कार पुस्तकालयमा र जगदम्बा प्रेसमा आबद्ध रहेर सेवा गरेका थिए भने हाल उनी लेखनाथ पुस्तकालय चन्द्रगढी झापामा संलग्न रहेर आफ्नो सामाजिक दायित्व निर्वाह गरिरहेका छन् । यसरी समाजलाई प्रगतितर्फ डोहो¥याउन यिनको सामाजिक व्यक्तित्वको महŒवपूर्ण रहेको देखिन्छ ।
२.२.३ राजनीतिक व्यक्तित्व
नेपाली राजनीतिमा होम सुवेदीले त्यति चासो नराखे पनि हालको स्थितिमा हालको स्थितिमा राजनीतिबाट अलग्ग रहने अवस्था पनि छैन । त्यसै गरी साहित्यकार होम सुवेदी पनि समाजका एक अग्रगण्य व्यक्तित्व भएकाले उनको पनि राजनीतिक वैचारिक आस्था कुनै पार्टीविशेषतिर नहुने कुरै भएन । यसर्थ उनी मुलुममा कार्यरत रहेका विभिन्न राजनीतिक दलहरूका राजनीतिक सिद्धान्तमध्ये बामपन्थी विचारधारालाई आत्मसात् गरेर प्रगतिशील विचारधारामा आबद्ध रहेर क्रियाशील रहने गरेका देखिन्छन् । माक्र्सवादबाट प्रभावित उनको वैचारिकता विचारको सामीप्यका कारण बामपन्थी राजनीतिक पार्टीहरूका नजिक रहेको छ ।
२.२.४ साहित्यिक व्यक्तित्व
नेपाली साहित्यका क्षेत्रमा साहित्यकार होम सुवेदीले महŒवपूर्ण स्थान बनाएका छन् । यिनी विशेषतः हास्यव्यङ्ग्य लेखन र त्यसमा पनि प्रगतिशील विचारधाराको प्रस्तुतिमा जोड दिन्छन् । आफ्ना कृतिहरूमार्फत उनले समाजमा रहेका विकृति, विसङ्गति, अन्याय, अत्याचार, थिचोमिचो, शोषण जस्ता कुराको विरोध गर्ने गरेका छन् । यिनको साहित्ययात्रा कविताबाट प्रारम्भ भएको भए पनि यिनी सिद्धहस्त कथाकारका रूपमा स्थापित भएको कुरा जुही प्रकाशनबाट प्रकाशित मर्माहत कथासंग्रह (२०६२) ले प्रमाणित गर्दछ । यसै गरी सुवेदीले हास्यव्यङ्ग्य निबन्ध र समालोचनाका क्षेत्रमा पनि उत्तिकै विशिष्टता हासिल गरेका छन् ।
साहित्यकार सुवेदीका कथा संग्रह र निबन्ध संग्रह प्रकाशित छन् भने अन्य कृतिहरू प्रकाशोन्मुख रहेका छन् । उनले राम्रा राम्रा कविताहरू पनि लेखेका छन् । थुप्रै प्रकाशित पनि छन् तर पुस्तकाकार रूपमा भने छापिएका छैनन् । उनका साहित्यिक व्यक्तित्वका विविध पक्षलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
(क) कवि व्यक्तित्व
साहित्यकार होम सुवेदीको साहित्ययात्रा कविताबाटै सुरु भएको देखिन्छ । यस कुरालाई यिनको पहिलो रचनाको रूपमा २०३० सालमा एकेडेमीको माधुर्य पत्रिकामा प्रकाशित ‘ईश्वर त्यतै हाँसिरहेछ’ शीर्षकको कविताबाट पुष्टि हुन्छ । यसपछि काठमाडौंका रूपरेखा, गोरखापत्र, मधुपर्क, नियोजन, सन्दर्भ, जयन्ती आदि साहित्यिक पत्रिकाहरूका साथै प्रतिनिध, करेन्ट, नयाँ करेन्ट, मकवानपुरे कोसेली आदि साप्ताहिक पत्रिकाहरूमा कविता र अन्यविधाहरूको प्रकाशन गर्न थालेका हुन् । झापा आएपछि पनि उनले नियमित रूपमा लेखन कार्यलाई जारी राखेको देखिन्छ । यहाँका पत्रिकाहरूका यसपछि यिनको ‘बिहे नै भएन’ शीर्षकको मुक्तक यथार्थ कुरा पाक्षिक (पूर्णाङ्क ५), ‘नेपालगञ्जबाट लेनदेन’ शीर्षकको कविता यथार्थ कुरा पाक्षिक (पूर्णाङ्क १६), ‘फिदिम’ शीर्षकको कविता यथार्थ कुरा पाक्षिक (पूर्णाङ्क ११) मै प्रकाशित भएका देखिन्छन् भने अन्य भारद्वाज, कुरौटे जस्ता नामबाट यहाँका स्थानीय पत्रपत्रिकाहरूमा यिनका रचनाहरू प्रकाशितन भएका छन् । साथै स्वदेश र विदेशका विभिन्न पत्रपत्रिकामा पनि उनका कतिपय सिर्जनाहरू छापिएका छन् । यसबाट उनको कवि व्यक्तित्व स्थापित भइसकेको पुष्टि हुन्छ । उनले आफ्ना कवितामा पनि समाजका विकृति विसङ्गतिको विरोध गर्दै प्रगतिशील वैचारिकता प्रस्तुत गरेको देखिन्छ । यसर्थ उनी कवि व्यक्तिका रूपमा प्रगतिशील देखिन्छन् ।
(ख) कथाकार व्यक्तित्व
साहित्यकार होम सुवेदीले कविताबाट आफ्नो साहित्ययात्रा थाले पनि एक सिद्धहस्त कथाकारका रूपमा स्थापित देखिन्छन् । झापाको मात्र कुरा गर्दा पनि युगज्ञान साप्ताहिक, जुही त्रैमासिक तथा यथार्थ कुरा पाक्षिकबाट मात्र पनि उनका धेरै कथाहरू प्रकाशित भएको पाइन्छ ।
उनी आधुनिक नेपाली कथाको प्रयोगवादी युगबाटै कथा लेख्न थालेका हुन् । २०३१ सालमा काठमाडौंबाट प्रकाशित हुने जयन्ती पत्रिकामा प्रकाशित ‘गरीब’ शीर्षकको कथा नै उनको कथातर्फको पहिलो रचना हो । उनका कथामा हास्यव्यङ्ग्यात्मक प्रवृत्तिका साथै स्वैरकल्पना जस्ता अधुनातन प्रवृत्तिका साथै कैयन् प्रयोगवादी शिल्पको पनि प्रयोग पाइन्छ । उनका कथामा हास्यव्यङ्ग्यका साथै प्रयोगशीलता, स्वैरकल्पना र सामाजिक भावनाको सम्मिश्रण छ्यासछ्यास्ती पाइने कुराको टिप्पणी समालोचक चूडामणि रेग्मीले पनि गरेका छन् (मर्माहतको प्रकाशकीय मन्तव्य) । सुवेदीको दोस्रो कथा भरतपुर चितवनबाट प्रकाशित हुने बुलबुल पत्रिकामा २०३४ सालमा ‘धनमाया’ शीर्षकमा प्रकाशित रहेको छ । त्यसपछि तेस्रो कथासृजनाका रूपमा उनको ‘कालो चस्मा’ शीर्षकको कथा चन्द्रगढीबाट प्रकाशित हुने युगज्ञान साप्ताहिकमा प्रकाशित भएको देखिन्छ (सुवेदी, मर्माहत को भूमिका) । यसपछि ‘घोगेको सपना’ शीर्षकको कथा यथार्थ कुरा पाक्षिकको पूर्णाङ्क १४मा प्रकाशित देखिन्छ भने त्यसपछि पनि समय समयमा उनका कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । उनका हालसम्ममा एक प्रकाशोन्मुख र एक प्रकाशित गरी दुईवटा कथासंग्रह तयार रहेको बुझिन्छ । ती कथासंग्रह निम्नानुसार छन् ः
मर्माहत (२०६२) प्रकाशित
कालो चस्मा (प्रकाशनको तयारीमा)
संग्रहमा समावेश हुन बाँकी तर विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका कथाहरू मात्र पनि एक दुई ओटा संग्रह हुने जति संख्यामा उपलब्ध रहेका र तयारीमा रहेका देखिन्छन् । प्रकाशकको अभावले गर्दा थन्किएका छन् भन्ने सुवेदीको भनाइ छ ।
(ग) निबन्धकार व्यक्तित्व
साहित्यिक व्यक्तित्व अन्तर्गत साहित्यकार होम सुवेदीको निबन्धकार व्यक्तित्व पनि उत्तिकै प्रभावकारी रहेको देखिन्छ । हास्यव्यङ्ग्यात्मक भावधारालाई अनुसरण गर्ने उनका हास्यव्यङ्ग्यात्मक निबन्धहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएर रहेका छन् । उनका निबन्धहरूमा हास्यको मात्रा पर्याप्त छ भने व्यङ्ग्यात्मकताको पौल पनि उत्तिकै पाइन्छ । विनोदात्मकता, संवादात्मकता र आत्मपरकता उनका व्यङ्ग्यात्मक निबन्धहरूका शैलीगत विशेषता हुन् (सुवेदी, २०६८ ः ६२) । उनको पहिलो हास्यव्यङ्ग्य निबन्धहरूको सँगालो कालीपोके २०४३ सालमा प्रकाशित भएृको भए पनि हास्यव्यङ्ग्यलेखनमा भने उनले २०३० देखि नै कलम चलाएको पाइन्छ ।
उनको पहिलो हास्यव्यङ्ग्यात्मक निबन्ध २०३० सालको कौवा प्रकाशनबाट प्रकाशित डाढो हास्यव्यङ्ग्य संग्रमा समाविष्ट ‘डाढो ः एक नालिबेली’ नै हो । भैरव अर्याल तथा भूतको भिनाजु (वासुदेव शर्मा लुइँटेल) बाट प्रभावित भएर हास्यव्यङ्ग्य सृजनामा लागेको बताउने सुवेदीका रचनाहरूमा निजहरूकै विशेषताहरू नै धेरथोर रूपमा रहेको पाइन्छ (सुवेदी, २०६८ ः ६२) । यिनका हरेक निबन्धमा हास्यव्यङ्ग्यात्मकता पाइन्छ । यिनका प्रकाशित र प्रकाशोन्मुख निबन्ध तथा निबन्ध संग्रह निम्नानुसार छन् ः
अ) मास्साप ! चुरोट छोडेकै हो ? (२०५१, यथार्थ कुरा, पूर्णाङ्क १९)
आ) खुइलिएको तालु (२०६८)
इ) शरणार्थीहरूलाई स्वागत गर्नैपर्छ (२०६८)
ई) कालीपोके निबन्ध संग्रह (२०४३)
ए) खुइलिएको तालु (प्रकाशोन्मुख निबन्ध संग्रह)
यी निबन्ध तथा निबन्ध संग्रहहरूबाहेक पनि धेरै पत्रपत्रिकाहरूमा उनका निबन्धहरू छरिएर रहेका पाइन्छन् । उनका प्रसिद्ध एवम् स्तरीयताले भरिएका कतिपय निबन्धहरू राष्ट्रिय तहका पत्रपत्रिकाहरूमा पनि पाइन्छन् । गरिमा, मधुपर्क, सन्दर्भ आदि पत्रिकाहरूमा पाइन्छन् ।
(घ) समालोचक व्यक्तित्व
साहित्यकार होम सुवेदीलाई कवि, कथाकार, निबन्धकार मात्र नभई एक सफल समालोचकका रूपमा पनि चिनिन्छ । कथा, कविता, निबन्ध, समालोचना जस्ता विविध विधामा कलम चलाएका सुवेदी बहुमुखी प्रतिभाका धनी देखिन्छन् ।
साहित्यकार सुवेदीले समालोचनाका क्षेत्रमा पनि सफलता हासिल गरेको कुरा विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका समालोचनात्मक लेखहरूले नै बताउँछन् । उनले लेखेका समालोचनात्मक रचनाहरू निम्नानुसार छन् ः
अ) प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू (२०६८) सम्पादन ।
आ) केही परीक्षण ः केही निरीक्षण प्रकाशोन्मुख समालोचना सँगालो ।
इ.) चुनिएका समालोचना प्रकाशोन्मुख ।
यसरी साहित्यकार होम सुवेदीले आफ्नो कलम नेपाली साहित्यको समालोचनामा समेत क्रियाशील तुल्याएको देखिन्छ ।
(ङ) सम्पादक व्यक्तित्व
साहित्यकार होम सुवेदीको व्यक्तित्व सम्पादन कार्यतिर पनि फैलेको देखिन्छ । उनले आफ्नो सम्पादक व्यक्तित्वलाई विभिन्न पुस्तक पत्रिपत्रिकाको सम्पादनबाट निखारिरहेका छन् । होम सुवेदीद्वारा सम्पादित कृतिहरू निम्नानुसार रहेका छन् ः
अ) मकवानपुरे कोशेली (काठमाडौं ः २०३१)
आ) भैरव भन्छन् दाताराम विद्यादेव सुन्छन् स्व. भैरव अर्यालको (एकल अन्तर्वार्ता संग्रह)
इ) जेतेमेते, (राजेश्वर देवकोटा र केशवराज पिंडालीका हाास्यव्यङ्ग्य निबन्धको सँगालो) कौवा प्रकाशन, काठमाडौं, २०३५
ई) मकवानपुरे कोसेली, त्रैमासिक, काठमाडौं, २०३५
उ) अध्ययन (झापा, मेची बहुमुखी क्याम्पस)
ऊ) गन्तव्य (झापा, मासिक, २०५६)
ए) जिज्ञासा (झापा, मासिक, २०५७)
ऐ) साहित्यकार डिल्लीराम तिमसिना स्मृतिग्रन्थ (२०६०) विराटनगर ।
ओ) प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू (२०६८)
औ) अध्ययन जर्नल (मेची बहुमुखी क्याम्पस जर्नल, २०६८) आदि ।
यस प्रकार यी विभिन्न साहित्यिक, पत्रपत्रिका, स्मृतिग्रन्थ लगायतका कृतिहरूको निजले सफलतापूर्वक सम्पादन गरेको देखिन्छ । यी लगायत विभिन्न सृजनात्मक कृतिहरूहरूको पनि सम्पादन गरी उनले आफ्नो सम्पादक व्यक्तित्वलाई चम्काइरहेका छन् । उनमा सम्पादन गर्ने कुशल व्यक्तित्व रहेको कुरा माथिका निजबाट सम्पादित सामग्रीहरूबाट बुझिन्छ । यसर्थ साहित्यकार सुवेदी नेपाली साहित्यका एक बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन् भन्ने प्रमाणित हुन आउँछ ।
२.२.५. शैक्षिक व्यक्तित्व
पाँचथर जिल्लाको अमरपुर गाविसमा रहेको दोरम्बा भन्ने ठाउँमा सञ्चालित धुले पाठशालाबाट २०२८ सालदेखि शिक्षण सेवा आरम्भ गरेका हुन् । यसै गरी २०२८ सालमा नै उनी अमरपुर मा.वि.मा शिक्षक भई कक्षा ८,९, र १० लाई अध्यापन गराउन थालेर आफ्नो शैक्षिक व्यक्तित्व परिमार्जित गर्दै लगे भने २०३८ सालमा नेपाली विषयमा त्रि.वि.बाट स्नातकोत्तर उत्तीर्ण गरेर २०३८ साल साउन १ गतेदेखि मेची बहुमुखी क्याम्पस, भद्रपुर झापामा सहायक प्राध्यापकको पदबाट क्याम्पसको प्राध्यापकीय जीवन प्रारम्भ गरे । उनी हाल सोही क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा संलग्न रहेका छन् । उनले मेची बहुमुखी क्याम्पसको नेपाली विभागको विभागाध्यक्ष पदमा रही दुई कार्यकालसम्म शैक्षिक क्षेत्रको जिम्मेवारी पनि सम्हालिसकेका छन् । हाल आएर यसै विभागको अनुसनधान प्रमुखको गरिमामय पदमा उनी क्रियाशील रहेका देखिन्छन् । यसरी हेर्दा उनको शैक्षिक व्यक्तित्व पनि निकै सुदीर्घ एवम् परिपक्व रहेको बोध हुन्छ । उनी बडो लगन र निष्ठाका साथ कार्य गर्न रुचाउँछन् । बडो निष्ठा र लगशीलताका साथ यस क्षेत्रमा कार्य गरेकाले उनलाई त्रिविले शिक्षा पुरस्कारद्वारा २०६६ सालमा सम्मानित समेत गरेको देखिन्छ ।
२.२.६.भाषा व्याकरणकार व्यक्तित्व
साहित्यकार सुवेदीले साहित्यबाहेक भाषा र व्याकरणमाथि पनि पर्याप्त कार्य गरेको देखिन्छ । नेपाली भाषाको लिङ्गव्यवस्था बारेमा उनले त्रिविद्वारा सञ्चालित अनुसन्धान गरेर भाषा र व्याकरणसम्बन्धी निजको व्यक्तित्वलाई उजिल्याएका छन् । उनको यस व्यक्तित्वको वा भाषिक अनुसन्धानको कार्य गर्ने व्यक्तित्वको विकिासको थालनी पनि विद्यार्थीकालदेखि नै आरम्भ भएको देखिन्छ । २०३३ सालमा अनुसन्धाता मोहन खनालको सम्पादनमा निस्कने सन्दर्भ पत्रिकामा उनको पहिलो भाषिक लेखक प्रकाशन भएको कुरा निजले जानकारी गराएका छन् । तर उपलब्ध भने हुन सकेको छैन । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा तयार गरिएको बृहत् नेपाली शब्दकोष को निर्माणकार्यमा उनी प्रा.वासुदेव त्रिपाठी, प्रा. वल्लभमणि दाहाल, प्रा. बालकृष्ण पोखरेलको निर्देशनमा सरिक भएको कुरा पनि निजबाट जानकारी भएको छ ।
झापा आगमन पछि उनमा भाषिक व्याकरणकार व्यक्तित्वको अझ चम्कन थालेको छ । झापाको जुही पत्रिकाका अधिकांश अङ्कहरूमा उनका नेपाली भाषा र व्याकरणसँग सम्बन्धित समालोचना वा अनुसन्धानात्मक रचनाहरू प्रकाशित भएका देखिन्छन् । यसै गरी केन्द्रीय नेपाली विभाग कीर्तिपुरको प्रकाशन कुञ्जिनी, रत्नराज्यलक्ष्मी क्याम्पसको प्रकाशन नवमञ्जरी, साझा प्रकाशनको प्रकाशन गरिमा, नेपाल राष्ट्रव्यांकको प्रकाशन मिर्मिरे आदि र स्थानीय पत्रिकाहरूमा पनि भाषा व्याकरणसँग सम्बन्धित लेख रचनाहरू प्रकाशन भएकोले उनमा नेपाली भाषा र व्यकारणको क्षेत्रमा काम गर्ने उत्कट अभिलाषा बोकेको व्यक्तित्व समेत विद्यमान छ । आज पनि उनी यस क्षेत्रमा काम गर्न उत्सुक देखिन्छन् ।
२।२.७. अन्तर्वार्ताकार व्यक्तित्व ः
अन्तर्वार्ता भन्नु समाजका विशिष्ट पाटो ओगटेका व्यक्तिहरूसँग भलाकुसारी गर्ने शैलीमा निजहरूका विचारलाई पक्डनु र सम्पादन गर्नु हो । उत्कृष्ट अन्तर्वार्तामा अन्तर्वार्ता लिने र दिने दुबैका विशिष्टताहरू झल्किाएका हुन्छन् । यो कार्यमा कुशल हुन सहज छैन । ज्ञानविज्ञानका क्षेत्रमा विशिष्टता हासिल गरेका केही व्यक्तिहरूका अन्तर्वार्ता साहित्यकार सुवेदीले लिएको देखिन्छ । साहित्यकार डा. डिल्लीराम तिमसिना, कथाकार तथा उपन्यासकार शिवकुमार राई, भाषावैज्ञानिक डा. बल्लभमणि दाहालका विचारहरूलाई अन्तर्वार्ताका रूपमा साहित्यकार सुवेदीले लिएका छन् । ती विचाहर जुहीका र युगज्ञानका विभिन्न अङ्कहरूमा प्रकाशित छन् । यी सामग्रीहरूको अध्ययनबाट शोधनायक सुवेदी कुशलतापूर्वक अन्तर्वार्ता प्रस्तुत गर्ने क्षमता रहेको देखिन्छ । उनले भाषा साहित्य र व्याकरणकारहरूको मर्म बुझेर अन्तर्वार्ता लिएका छन् र जुही पत्रिकामै यसका प्रधान सम्पादक चूडामणि रेग्मीलाई अन्तर्वार्ता दिएका पनि छन् । उनमा अन्तर्वार्ता लिने र दिने दुवै व्यक्तित्वको राम्रो विकास भएको देखिन्छ ।
२.२.८ भूमिका लेखक व्यक्तित्व
शोधनायक सुवेदीमा आफ्नै र अन्य सर्जकहरूले तयार गरेका कृतिहरूमा भूमिका लेख्ने उच्च व्यक्तित्व पनि पाइन्छ । भैरव भन्छन् दाताराम विद्यादेव सुन्छन् (२०३४) कृतिभित्र प्रकाशित भूमिका नै अन्य कसैको कृतिभित्र उनले लेखेको पहिलो भूमिका हो । त्यस पछि २०५० सालतिर झापाका कुनै सर्जकले तयार गरेको झुमा खण्डकाव्यमा उनको दोस्रो भूमिका प्रकाशित भएको थियो । कुनै कृतिलाई स्वयं कम्प्युटर गरेको, स्वयं प्रकाशन गरेको, स्वयं भूमिका लेखेको स्वयं प्रकाशकीय समेत लेख्ने कीर्तिमान सम्भवतः नेपालका सन्दर्भमा उनैको नाम अघि आउँछ भन्ने कुरा शोधनायकले गरेका छन् । यसको प्रमाण उनैको मर्माहत कथासंग्रह हो भन्ने भनाइ पनि उनको छ ।
आफ्ना बाहेक उनले अन्य धेरै लेखकका धेरै कृतिहरूमा भूमिका समेत लेखेको पाइन्छ । चूडामणि रेग्मीको हास्य सँगालो गजवाष्टक (२०५१), सोमराज अभयको महाकाव्य विद्रोही काले, (२०६५) डा. हृशीकेश उपाध्यायको कृति प्रस्थानबिन्दु, (२०५९), देवीचरण भण्डारी सरोजको सानो भाइ (२०६२), डा.द्रोाणकुमार उपाध्यायको कृति केही साधक केही साधना (२०६५), लेखनाथ पुस्तकालय चन्द्रगढीको भवानी घिमिरे विशेषाङ्कका रूपमा प्रकाशित , श्रद्धाका सुमन (२०६६), उपन्यासकार सरोज ओलीको उपन्यास हड्तालैहड्ताल, जुलुसै जुलुस (२०६६), निबन्धकार लीला उदासीको व्यङ्ग्यकृति कृति त्यो बालक कहिले जन्मेला ?, (२०६३), साहित्यकार जयप्रसाद ढकालकी धर्मपत्नी जया ढकालको स्मृतिमा तयार गरिएको ग्रन्थ जीवन–स्मृति (२०६५), कवि, पत्रकार तथा उपन्यासकार नकुल काजीको हास्यव्यङ्ग्य कृति गणतन्त्र र गौंथलीको बाऊ (२०६९) आदिमा उनले भूमिका विशिष्ट प्रकृतिका विशिष्ट भूमिकाहरु लेखेका छन् । यसबाहेक उनैको सम्पादनमा निस्केको प्रतिनिधि झापाली हास्याव्यङ्ग्यकारहरू नामक संकलनमा उनले हास्यव्यङ्ग्यबारे समसामयिक दृष्टिकोणलाई अघि सारेर गम्भीर विचारका साथ भूमिका लेखेको देखिन्छ । उनले साहित्यको पारम्परिक सिद्धान्त, मान्यता र दृष्टिकोणलाई अघि राखेर भूमिका एकातिर राखेका छन् भने अर्कातिर परम्परागत दृष्टिकोण मात्र पर्याप्त नभएको बुझी नवीन सन्दर्भहरूलाई समेत कोट्याएर भूमिका तयार गरेको देखिन्छ । यसबाट सुवेदीमा भूमिका लेखनकला निकै माझिएको र उच्च किसिमले कृतिहरको आकलन गर्ने प्रवृत्ति रहेको बुझिन्छ । कृतिहरूलाई मूल्यका आधारमा मूल्याङ्कन गरेको कुरा पनि उनले लेखेका भूमिकाहरूको अध्ययनबाट पुष्टि हुन्छ । अतः सुवेदीमा भूमिका गहन लेखकको व्यक्तित्व पनि समाहित भएको देखिन्छ । उनले भनेझैं आफ्नै कृतिमा आफैं भूमिका लेखेर प्रकाशन गरेको कुरा नेपालका सन्दर्भमा कमै देख्न पाइन्छ । यसो गर्ने समीक्षकहरूमा बालकृष्ण पोखरेल भन्दा पछि आफू भएको उनको जनाउ छ ।
२.३ निष्कर्ष
२००९ सालमा पाँचथरको अमरपुर गाविसको आङबुङ भन्ने ठाउँमा माता राधिकादेवी र पिता पद्मप्रसाद सुवेदीका साइँला छोराका रूपमा जन्मिएका साहित्यकार होम सुवेदीको न्वारानको नाउँ हरिनारायण सुवेदी तथा प्रचलित नाउँ होमनाथ सुवेदी हो ।
आफ्नै घरमा साउँ अक्षर सिकेर १२ वर्षको उमेरमा आफ्ना गुरु माधव भण्डारीसँग संस्कृत पढ्न गएका यिनले दर्शन विषय लिई संस्कृतमा शास्त्रीसम्मको अध्ययन पुरा गरेपछि संस्कृत विषयलाई छोडेर नेपाली विषयमा त्रि.वि.बाट २०३८ सालमा स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । यसरी अध्ययनका साथै उनी २०३८ सालमा २९ वर्षको उमेरमा बनारस निवासी बीना सुवेदीसँग वैवाहिक बन्धनमा बाँधिए । उनका एक छोरी र एक छोरा रहेका छन् । हाल दुवै दम्पती झापा भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसमा कार्यरत रहेका छन् ।
२०३० सालमा ‘ईश्वर त्यतै हाँसिरहेछ’ शीर्षकको कविता एकेडेमीबाट प्रकाशित माधुर्यमा छापिएपछि औपचारिक रूपमा साहित्यसृजनाको क्षेत्रमा देखिएका यिनका हालसम्म विभिन्न पत्रपत्रिका तथा पुस्तकहरूमा असंख्य कविता, गीत, लेख रचनाहरू छापिइरहेका छन् । यिनका पुस्तकाकार कृतिहरूमा कालीपोके हास्यव्यङ्ग्य निबन्ध संग्रह (२०४३) र मर्माहत कथा संग्रह (२०६२) र सम्पादित कृतिमा प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू(२०६८) प्रकाशित भइसकेका छन् भने विभिन्न विधाका मनग्गे कृतिहरू प्रकाशनोन्मुख अवस्थामा पनि छन् । उनी निरन्तर तयारीमा रहेको देखिन्छ । उनका दर्जनौं समालोना, कथा, निबन्ध, कविता, भाषा र व्याकरणसँग सम्बन्धित रनाहरू स्वयंलाई पनि कहिले र कहाँ प्रकाशित भए भन्ने हेक्का नभएको कुरा बताउँछन् । उपलब्ध भएसम्मका सामग्रीहरू शोत्रपत्रको अन्तमा दिने काम गरिएको छ । प्राप्त सामग्री नै निजका हालसम्म प्रकाशित सम्पूर्ण ामग्रीहरू हुन् भन्ने आशय यो शोधार्थीको होइन । तथापि सम्भव भएसम्म यहाँ दिने काम गरिएको छ ।
यिनले साहित्यका गीत, कविता, कथा, निबन्ध, समालोचना जस्ता विभिन्न विधामा कलम चलाएका छन् भने सम्पादनका क्षेत्रमा पनि उनको योगदान महŒवपूर्ण रहेको देखिन्छ । यिनलाई बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्वका रूपमा चिन्न सकिन्छ ।
साहित्यकार सुवेदीको साहित्यिक व्यक्तित्व साहित्यका कवि, कथाकार, निबन्धकार, समालोचक, सम्पादक जस्ता क्षेत्रमा परिचित देखिन्छ भने उनी सामाजिक, राजनीतिक, शैक्षिक आदि अन्य व्यक्तित्वले सम्पन्न व्यक्तिका रूपमा पनि चिनिएका छन् ।
ड्डड्ड













तेस्रो परिच्छेद
होम सुवेदीको ‘कालीपोके’ निबन्ध संग्रहको अध्ययन
३.१ निबन्धको सैद्धान्तिक स्वरूप
नेपाली साहित्यको सबैभन्दा कान्छो विधाको रूपमा चिनिएको विधा निबन्ध हो । शाब्दिक रूपमा हेर्दा यो शब्द संस्कृतको ‘बन्ध्’ मूल शब्दमा ‘नि’ उपसर्ग र ‘घञ्’ प्रत्यय लागेर बनेको देखिन्छ । निबन्ध सम्बन्धी पूर्वीय एवम् पश्चिमी मान्यता निम्नानुसार रहेका छन् ः
(क) पूर्वीय मान्यता
पूर्वीय साहित्यमा निबन्ध शब्दको प्रयोग धेरै अघिदेखि नै हुँदै आएको हो । भगवान् कृष्णले पनि अर्जुनलाई उपदेश दिने क्रममा आत्मालाई सांसारिक मायाजालबाट बाँधेर राख्ने शक्तिको रूपमा ‘निबन्ध’ शब्दको प्रयोग गरेका छन् (सुवेदी, २०४३ ः ६) । आत्मालाई बाँध्ने, सङ्ग्रह गर्ने कुनै पनि विषयवस्तुमा केन्द्रित रहेर लेखिने सानो साहित्यिक विधाको रूपमा निबन्धलाई लिइएृ पनि पूर्वीय साहित्यमा निबन्ध सम्बन्धी स्पष्ट दृष्टिकोण पाइँदैन । तसर्थ समष्टिमा निबन्ध शब्दको अर्थ कुनै पनि विषय विशेषलाई सीमाबद्ध गर्नु भन्ने हुन्छ ।
(ख) पाश्चात्य मान्यता
अङ्ग्रेजीमा निबन्धलाई ‘एस्से’ भनिन्छ । निबन्धको विकास पाश्चात्य जगतमा संवादका रूपमा प्लेटो र सुकरातबाट आरम्भ भएको हो तर साहित्यिक विधा विशेषका अर्थमा भने यसको प्रयोग सन् १५८० मा फ्रान्सेली चिन्तक मोन्तेनबाट (अधिकारी ः सन् १९७५ ः २४) भएको हो ।
१५ औं शताब्दीतिर फ्रान्सेली विद्वान् मोन्तेनले सर्वप्रथम आफ्ना छोटा रचनालाई ‘एसाइ! को संज्ञा दिएका (श्रेष्ठ र शर्मा, २०३४ ः ११७) थिए । अङ्ग्रेजीमा प्रयृुक्त एस्से शब्दको सम्बन्ध ग्रीसेली भाषाको ‘एसिज’ सँग रहेको पाइन्छ । ‘एसिज’ को अर्थ प्रयास गर्नु भन्ने हुन्छ । यसरी ग्रीक भाषाको एसिजबाट एसी हुँदै अङ्ग्रेजी भाषामा एस्से भएको देखिन्छ । यसको अर्थ प्रयास गर्नु, प्रयत्न गर्नुृ, बुद्धिको जाँच गर्नु, जमर्को गर्नुृ भन्ने (अधिकारी, १९७५ई. ः २३) हुन्छ । मोन्तेनबाट सुरु भएको एसी शब्दलाई सत्रौं शताब्दीमा फ्रान्सिस बेकनले आफ्ना रचनाको नाम दिँदै एस्से भनेर प्रयोग गरे जसको अर्थ पनि मोन्तेनको जस्तै प्रयास गर्नु भन्ने नै हुन्छ (अधिकारी, १९७५ई ः २५) ।
यसरी फ्रेन्च भाषाको एसाइ शब्दबाट एस्से शब्द बन्यो जसको अर्थ व्यक्तिगत विचार र अनुभव बटुल्ने माध्यमको रूपमा लिन थालियो । यस प्रकार आधुनिक निबन्धको तात्पर्य पूर्वीय निबन्धमा नरहेर पाश्चात्य ‘एस्से’ मा नै रहेको पाइन्छ ।
३.१.१ निबन्धको परिभाषा, तŒव र वर्गीकरण
साहित्यको कान्छो विधाको रूपमा निबन्धलाई लिन सकिन्छ । यसर्थ यसको परिभाषा दिने क्रम पनि पछिबाट नै सुरु भएको देखिन्छ । निबन्धको परिभाषा दिने क्रममा पूर्वीय, पाश्चात्य एवम् नेपाली साहित्यका विद्वान्हरूले आ–आफ्नै किसिमको धारणा राखेका छन् ।
पाश्चात्य जगतमा निबन्धको पहिलो परिभाषा दिने व्यक्ति मोन्तेन हुन् । उनले आफ्ना निबन्धका बारेमा चर्चा गर्दै भनेका छन् ः “मैले आफ्ना निबन्धमा हृदय खोलेर पाठकलाई देखाएको छु, म नै मेरो निबन्धको विषयवस्तु हुँ” (अधिकारी, १९७५ई. ः ७) । मोन्तेन आत्मपरक निबन्धकार हुन् ।
यसै गरी पाश्चात्य जगतमा निबन्धको परिभाषा दिने अर्का व्यक्ति हुन् फ्रान्सिस बेकन । उनले निबन्धको परिभाषा दिँदै भनेका छन् ः “छरपस्टिएको चिन्तन नै निबन्ध हो” (सुवेदी, २०४३ ः १८) । यिनले वस्तुपरकतालाई प्राथमिकतामा राखेका छन् ।
नेपाली साहित्यमा निबन्धको परिभाषा गर्ने क्रममा लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् ः “यो रौंचिरा दर्शन होइन न हो पाण्डित्य प्रदर्शनको ठ्यासफु, यसमा गृहीत विषयलाई सबै दृष्टिकोण र परीक्षणको अरुरत छैन, यो एक किसिमको धूर्त बदमास ठिटो हो, जो सडकमा हिँड्दा हिँड्दै कहिले ढुङ्गा हान्छ, कतै कतै आनन्दले कुर्लन्छ तर घोरिँदैन” (देवकोटा, २००३ ः भूमिका) ।
पूर्वीय जगतमा निबन्धको परिभाषा गर्दै आचार्य भारतीय विद्वन् रामचन्द्र शुक्लाले भनेका छन् ः “निबन्धमा व्यक्तिगत विशेषताका निम्ति र त्यसको प्रदर्शनका निम्ति व्यक्त विचारहरूको शृङ्खला जानी जानी वा अज्ञानतावस पनि टुटाउनु हुँदैन” (राय, १९६५ई. ः २२३) । यिनको धारणा भाषाशैली शृङ्खलित हुनुपर्छ भन्ने रहेको छ ।
यसरी विभिन्न विद्वान्हरूका परिभाषाहरूलाई नियाल्दा भारतीय विद्वान्हरूले निबन्धको प्रकार र शृङ्खलित अभिव्यक्तिमा जोड दिएको देखिन्छ भने पाश्चात्य जगतका मोन्तेनले आत्मपरकतालाई समेटेका छन् तर बेकनले भने वस्तुपरकतामा जोड दिएको देखिन्छ । यता देवकोटाले भने आत्मपरकता, सरलता र सहजतामा मत दिएका छन् । यसर्थ कुनै एक परिभाषाले मात्र निबन्धलाई समेट्न सक्दैन । यसले कुनै एक विषयवस्तु लिएर पाठकसमक्ष प्रस्तुत भएर भलाकुसारी गर्न रुचाउँछ ।
यी परिभाषामा आएका विविधताले गर्दा निबन्धका तŒवहरूको किटान गर्न गाह्रो छ । तैपनि यसको स्वरूप र संरचनागत रूपमा परिवर्तन हुँदै आएको भए पनि यसका स्वरूप र संरचनागत तŒवहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
(क) आत्मपरकता
व्यक्तिगत अभिव्यक्तिलाई निबन्धको मुटु ठानेर निबन्धकारले आफ्ना अनुभव र अनुभूतिहरूलाई नढाँटिकन पाठकसामु राख्दछ । निबन्धमा यस्ता आत्मपरकतालाई ज्यादा प्रयोग गरिएको हुन्छ ।
(ख) हार्दिकता
निबन्धको अर्को मूल तŒव हार्दिकता हो । यसमा हृदय पक्षको ठुलो महŒव रहेको हुन्छ । सार्वकालिक र लोकप्रियताका लागि निबन्धमा हार्दिकता जरुरी हुन्छ । यसर्थ हार्दिकता निबन्धको महŒवपूर्ण तŒव हो ।
(ग) विषयवस्तु
निबन्धकारले निबन्ध लेख्नुपूर्व नै कुनै पनि विषयवस्तुको छनोट गर्दछ । त्यसबारे जानकारी लिएर त्यसलाई कसरी प्रस्तुत गर्ने भनेर शिल्पको समेत छनोट गर्दछ । विषयवस्तु विना निबन्धको नामाकरण गर्न र निबन्ध लेख्न नसकिने हुनाले यो निबन्धको प्रमुख तŒव हो ।
(घ) संक्षिप्तता
निबन्धको विषयवस्तु व्यापक हुन सक्छ तर त्यसलाई निश्चित सीमामा बाँधेर कलात्मक एवम् आकर्षक शैलीमा संक्षिप्त रूपमा प्रस्तुत गर्नुपर्छ । व्यापक विषयवस्तुलाई छोटो समयमा पढिसकिने गरी संक्षिप्त रूपमा प्रस्तुत गरिने भएकाले यसलाई निबन्धको प्रमुख तŒवका रूपमा लिइन्छ ।
(ङ) भाषाशैली
निबन्धमा प्रयोग गरिने शब्द विषयवस्तु अनुकूल रोचक र अर्थबोधक हुनुपर्छ । भाषामा व्याकरणात्मक शुद्धता हुनुपर्छ । भाषाशैलीको उचित संयोजनले निबन्ध प्रभावकारी हुन्छ । त्यसैले भाषाशैली निबन्धको प्रमुख तŒव हो ।
(च) उद्देश्य
निबन्धकारले आफ्नो निबन्धका माध्यमबाट आफ्ना धारणा, मान्यता, विचार वा जीवनदर्शन पाठकसामु प्रस्तुत गर्ने भएकाले यो उद्देश्यमूलक हुन्छ । यसरी उद्देश्यमै केन्द्रित भएर निबन्धको रचना गरिने भएकाले यसलाई निबन्धको मुख्य तŒव मानिन्छ ।
यसरी माथि उल्लिखित तŒवहरूलाई समेट्दै निबन्ध रचना गर्दा पाश्चात्य साहित्यका केही प्रतिनिधि निबन्धकार र तिनका रचनालाई हेर्दा विषयवस्तु र शैलीगत भेद स्पष्ट देखिन्छ । निबन्धलाई भारतीय साहित्यमा निबन्ध र प्रबन्ध गरी विभाजन गरिएको छ । नेपालीमा भने निजात्मक र परात्मक गरी दुई भेद देखाइएको छ (बराल, २०३० ः भूमिका) ।
निजात्मक निबन्धका पनि तीन उपभेद छन् ः आत्मपरक, भावात्मक र विचारात्मक । परात्मकका पनि वर्णनात्मक, विवरणात्मक र संस्मरणात्मक गरी तीन भेद नै देखिन्छन् । निबन्धको वर्गीकरणलाई यसरी प्रस्ट पार्न सकिन्छ ः
क) निजात्मक अ) आत्मपरक
आ) भावात्मक
इ) विचारात्मक
ख) परात्मक अ) वर्णनात्मक
आ) विवरणात्मक
इ) संस्मरणात्मक
३.१.२. आधुनिक नेपाली निबन्धको परम्परा
नेपाली साहित्यमा पनि निबन्ध कान्छो विधा नै हो । साहित्यका क्षेत्रमा निबन्धको महŒवपूर्ण स्थान रहेको पाइन्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि वि.सं. १८३१ म आएको उनको दिव्योपदेश लाई नै नेपाली निबन्धको प्रारम्भबिन्दु (श्रेष्ठ र शर्मा, २०३४ ः १२३) मान्न सकिन्छ । यसै समयपछि रामचन्द्र पाध्या, वाणीविलास पाँडे, ललित त्रिपुरा सुन्दरी, सुन्दरानन्द बाँडा, भवानीदत्त पाँडे, रघुवीर सिंह आदि निबन्धकारहरू आध्यात्मिक विषयवस्तु लिएर यस फाँटमा देखा परेका हुन् ।
वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन सुरु भएपछि नेपाली निबन्धको विकासमा नवीनता देखा प¥यो । गोरखापत्रमा प्रकाशित आख्यानेतर गद्य रचनाहरू निबन्ध भन्दा प्रबन्धको नजिक रहेका देखिन्छन् । यसै गरी वि.सं.१९७१ मा प्रकाशित गद्यप्रधान पत्रिका चन्द्रले नेपाली निबन्धको निर्माणमा योगदान पु¥यायो । यसमा सूर्यविक्रम ज्ञवाली, बैजनाथ सेढार्इँ, पारसमणि प्रधान लगायतका व्यक्तिहरूका निबन्ध थपिए । यता वि.सं. १९७४ मा निबन्ध प्रधान पत्रिका चन्द्रिका पनि प्रकाशित भयो जसले निबन्धको विकासमा अझ टेवा पु¥यायो ।
नेपाली निबन्धमा आधुनिकताको सूत्रपात भने लक्ष्मीप्रसाद देवकोटाको ‘आषाढको पन्ध्र’ बाट भएको हो । देवकोटाको उक्त निबन्ध १९९१ सालमा शारदा पत्रिकामा प्रकाशित भएको पाइन्छ । देवकोटाले पहिलो पटक पाश्चात्य ढङ्गको पूर्ण निजात्मक निबन्ध नेपाली साहित्यमा सृजना गरे । देवकोटाले आधुनिकको सूत्रपात गरेपछि बालकृष्ण सम, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, भवानी भिक्षु, बाबुराम आचार्य, शुक्रराज शास्त्री लगायतका स्रष्टाहरू वर्णनात्मक तथा विचारात्मक निबन्ध लिएर देखा परे ।
वि.सं.२००० को दशकमा अच्छा राई ‘रसिक’, सत्यमोहन जोशी, डा.ईश्वर बराल आदि देखा परे । वि.सं. २००७ सालको क्रान्तिपछि स्रष्टाहरू स्वतन्त्र रूपमा कलम चलाउन थाले । यस पछिका स्रष्टाहरू नयाँ कुराको खोजीमा पनि लागे । यसै क्रममा निबन्धमा प्रगतिवादी चिन्तनको विकास भयो । यस समयमा सशक्त रूपमा कलम चलाउने स्रष्टाहरू इन्द्रबहादुर राई, तारानाथ शर्मा, कृष्णचन्द्र सिंह प्रधान, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, भैरव अर्याल, धर्मराज थापा आदि हुन् ।
क्रान्तिउत्तर कालमा हास्यव्यङ्ग्य निबन्धमा निकै चहलपहल देखा प¥यो । यस समयका निबन्धले सामाजिक अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडन जस्ता प्रवृत्तिलाई विषयवस्तु बनाई त्यस मार्फत समाजका यस्ता विकृति विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य गरेका छन् । पाठकहरू कतै देशप्रेमका कृति त कतै सामाजिक विकृतिप्रति व्यङ्ग्य वाण हानिएका कृति पढेर रमाइलो गर्न थाले । यसरी हास्यव्यङ्ग्य र समसामयिक विषयवस्तु र यसभित्र प्रगतिवादी विचारधाराका निबन्धहरू पनि उत्तिकै देखा परे ।
नेपाली साहित्यको उन्नतिमा झापाली साहित्य स्रष्टाहरूको योगदान पनि महŒवपूर्ण रहेको छ । झापाली हास्यव्यङ्ग्य निबन्धकारहरू स्थानीयदेखि लिएर राष्ट्रिय तहसम्म आफ्नो हैसियत कायम राख्न सफल भएका छन् । झापाली माटोले हास्यव्यङ्ग्यका क्षेत्रमा श्यामकृष्ण उपाध्याय, के.बी.कार्की, चूडामणि रेग्मी, कोमलप्रसाद पोखरेल, कर्णकुमार श्रेष्ठ ‘एक्ले’, रोहिणीविलास लुइँटेल, नकुल काजी, डम्मर घिमिरे, लीला उदासी, डम्मर बहादुर बस्नेत, केशव आचार्य, चूडामणि वशिष्ठ, शारदा कोइराला, कृष्ण सुवेदी निराकार, रत्नबहादुर बस्नेत आदि स्रष्टालाई जन्मायो । निबन्ध लेखनको यसै हास्यव्यङ्ग्य धारामै झापाली माटोमा नै निबन्धकार होम सुवेदीको पनि उदय भएको हो । हास्यव्यङ्ग्यात्मक निबन्धका क्षेत्रमा यिनको स्थान महŒवपूर्ण रहेको छ । सुवेदी यस क्षेत्रमा हालसम्म पनि क्रियाशील भई अघि बढिरहेका छन् ।
होम सुवेदी आधुनिक नेपाली निबन्धको परम्परामा हास्यव्यङ्ग्यात्मक भावधारालाई आत्मसात् गर्दै अघि बढेका निबन्धकार हुन् । उनले २०३० सालदेखि नै आफ्नो निबन्ध लेखनयात्रा आरम्भ गरेका हुन् । यिनको निबन्ध सृजना यात्रा आजसम्म पनि अनवरत छ । यिनले २०४३ सालमा कालीपोके हास्यव्यङग्य निबन्ध संग्रह प्रकाशित गरी हास्यव्यङ्ग्य सृजनाका क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाएका छन् । आधुनिक कालमा झापाली हास्यव्यङ्ग्य फाँटका अग्रणी निबन्धकारहरूमध्ये होम सुवेदी पनि एक हुन् ।
३.२ ‘कालीपोके’ निबन्ध संग्रहको परिचय
कालीपोके निबन्ध संग्रहमा जम्मा पन्ध्रवटा निबन्ध संग्रह गरिएका छन् । यी पन्ध्रवटै निबन्ध विकृत मानसिकतामा गुज्रिरहेको समाजप्रति व्यङ्ग्यवाण हान्दै अघि बढेका छन् । यो निबन्ध संग्रह २०४३ सालमा प्रकाशित भएको हो । यस संग्रहको प्रकाशक साझा प्रकाशन काठमाडौं रहेको छ । ११०० प्रति छापिएको यो निबन्ध संग्रह जम्मा ६९ पृष्ठको रहेको छ । १२ रुपियाँ मूल्य उल्लेख गरिएको यस कृतिको मुखपृष्ठमा टेकवीर मुखियाले बनाएको मकैमा लाग्ने कालीपोकेको घोगोको चित्र रहेको छ । यसैको मध्य भागमा ‘कालीपोके’ भन्ने पुस्तकको शीर्षक दिइएको छ भने त्यसैको तलतिर रचनाकारको नाम उल्लेख भएको छ । यस पुस्तकको मुद्रण बागबजार छापाखाना, काठमाडौंले गरेको छ भने पुस्तकमा प्रकाशकीय भन्ने शीर्षकमा साझा प्रकाशनका तर्फबाट प्रकाशकीय मन्तव्य राखिएको छ । “कालीपोकेका घोगा नङ्ग्याउनुअघि” शीर्षकमा लेखक स्वयम्का केही विचारहरू पनि प्रस्तुत गरिएको छ । उनले मकै जस्तो खाद्यको उत्पादन गर्ने ध्येयले रचिएको भए पनि कृतिभित्रका सामग्री कालीपोके हुन पुगे कि भनी पाठकसँग क्षमायाचना गरेका छन् । यसका साथै लेखकको भनाइमै हास्यव्यङ्ग्यका बारेमा लेखकका सामान्य विचारका साथै कृतिका अन्तमा कालिपोके शब्दको अर्थलाई लेखकले स्पष्ट गर्ने काम गरेका छन् ।
निबन्धकार सुवेदीले आफ्नो मेहनतको परिणाम नकारात्मक आएपछि यो सबै समाजमा देखिएको विकृत प्रवृत्तिको उपज हो भन्ने ठान्दै यस्तो विकृत परिपाटिप्रति तीव्र आक्रोशस्वरूप यस निबन्ध संग्रहको रचना गरेको देखिन्छ ।
३.३ कालीपोके निबन्ध संग्रहभित्रका निबन्धहरूको विश्लेषण
३.३.१ डाढो ः एक नालीबेली
(क) विषयवस्तु
सामाजिक विकृतिलाई विषयवस्तु बनाइएको यस निबन्धमा अर्काको उन्नति र प्रगतिप्रति ईष्र्या गर्ने प्रवृत्तिमाथि आक्रोश पोख्दै त्यसको परिणाम नकारात्मक हुनेतर्फ सङ्केत गरिएको छ । डाढो शब्द संस्कृतको ‘दाह’ शब्दबाट आएको भन्ने कुरालाई प्रथम र दोस्रो विश्वयुद्ध र त्यसै गरी सतीदेवी डढेको उदाहरणबाट पुष्टि गर्दै वास्तवमा नै डाढो शब्दले नै मान्छेलाई पिरोल्छ भने डाह गर्ने प्रवृत्तिले के गर्ला ? यस्तो डाढे प्रवृत्तिले केही हदसम्म सकारात्मक परिणाम दिए पनि यसको परिणाम नकारात्मक पनि हुन सक्ने कटु यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ ।
(ख) मूल भाव वा विचार
मानिसले एक–अर्काको उन्नति र प्रगतिप्रति डाह गर्ने प्रवृत्ति र परिवेशमा हुर्केको यस निबन्धको मूल भाव वा विचार यस्तो प्रवृत्तिले भीषण युद्ध र अकाल मृत्युको सम्भावना पनि निम्त्याउन सक्छ भन्ने हो । यस निबन्धले मानिसले डाढो अर्थात् कपट, डाह, रिसले आफूलाई नै नकारात्मक परिणतितर्फ धकेल्छ भन्दै हाम्रो गाउँ, समाज, परिवार र राष्ट्रमा देखा परेको डाढे प्रवृत्तिप्रति सचेत गराउँदै तिखो व्यङ्ग्यवाण प्रहार गर्नु नै यस निबन्धको मूल भाव रहेको छ ।
(ग) भाषाशैली
यस निबन्धले घुमाउरो शैलीमा झिनो विषयवस्तुलाई टिपेर कलात्मक रूपमा घतलाग्दो ढङ्गले कथ्यलाई प्रस्तुत गरेको छ । रचनाकार आफैंले देखे–भोगेको डाढे प्रवृत्तिको शिकार आफू पनि बन्न पुगेको कुरालाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गरेका छन् । पौराणिक उदाहरण दिएर हाम्रा बुबा, आमा, हजुरबुबा, हजुरआमाले पनि डाढो शब्दको अर्थ सहज रूपमा प्रष्ट्याउन सकेको कुरालाई सरल र सहज भाषामा प्रस्ट्याउन निबन्धकार सफल भएका छन् । यस निबन्धमा आफ्नो भोगाइ र अनुभवलाई पोखिएको छ जसले यसका पाठकहरू जोसँग यो (डाढे) प्रवृत्ति छ उनीहरूलाई आफ्नो प्रवृत्तिप्रति केही क्षण सोच्न बाध्य बनाउन यो निबन्ध सफल रहेको छ । सरल, सहज भाषा, आकर्षक व्यङ्ग्य शैलीमा प्रस्तुत निबन्धले सामाजिक सन्देश लिएर आएको छ ।
३.३.२ मेरा युगल बाबु ः जङ्गेवादी र उपनिवेशवादी
(क) विषयवस्तु
यस निबन्धमा निबन्धकारले आफ्नै अनुभूति र वैयक्तिक कुराहरूलाई विषयवस्तु बनाएका छन् । आफ्ना जन्म दिने बाबुृआमालाई राणा कालमा राणाहरूले गर्ने गरेको डरलाग्दो शोषण र सामन्ती व्यवहारसँग तुलना गर्दै आफ्ना लागि आमाबाबु भनेका हाउगुजी भएको कुरा देखाएका छन् । उनले यस निबन्धमा आफ्नै जन्मदाता आमाबाबु राणा शासकका प्रतिनिधि जङ्गेका जस्ता कठोर र निर्मम भएको अनि कर्म दिने पिता आफूलाई दमन गर्ने उपनिवेशवादी प्रवृत्तिका रहेको कुरालाई दर्शाएका छन् । यही नै यस निबन्धको विषयवस्तु हो । यस प्रकार यस निबन्धमा पारिवारिक, सामाजिक कुरालाई नै विषयवस्तु बनाइको छ ।
(ख) मूल भाव वा विचार
यस निबन्धको मूल भावको रूपमा निर्मम जङ्गेवादी र उपनिवेशवादी प्रवृत्तिलाई आफ्नै जन्म दिने र कर्म दिने बाबुसँग तुलना गर्दै लेखकको विचार प्रस्तुत गरिएको छ । देशमा विद्यमान जङ्गेको क्रूर प्रवृत्ति र उपनिवेशवादी नीतिप्रति व्यङ्ग्यवाण हान्दै पारिवारिक परिवेशमा हुने गरेका यस्ता जङ्गेवादी क्रियाकलापप्रतिको असन्तुष्टि र रोष नै यस निबन्धको मूल भावभूमि हो ।
(ग) भाषाशैली
व्यङ्ग्यात्मक शैलीको प्रयोग गरी निजात्मक आत्मकथनात्मक रूपमा यस निबन्धको रचना भएको छ । आलङ्कारिक शब्दावली, तुकबन्दीयुक्त भाषा, हास्यव्यङ्ग्यात्मक प्रस्तुति शैलीमा सरल तथा सहज अभिव्यक्ति भएको यो निबन्ध निकै रोचक र घोचक बनेको छ । सरल भाषा, प्रतीकात्मक प्रस्तुतिले निबन्ध निकै गहकिलो बनेको छ ।
३.३.३ च्यान्टे कविसँगको चार महिने सहवास
(क) विषयवस्तु
समाजमा व्यापक रूपमा फैलिएको विकृति विसङ्गतिलाई व्यङ्ग्यवाण प्रहार गर्नु नै यस निबन्धको मूल विषयवस्तु हो । चाकरीबाजले हाम्रो समाज र राष्ट्रलाई विषाक्त बनाएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा गरिएको प्रस्तुति नै यस निबन्धको विषयवस्तु हो । यस निबन्धले शैक्षिक, प्रशासनिक आदि क्षेत्रका विसङ्गति विकृतिमाथि कठोर प्रहार गरेको छ ।
(ख) मूल भाव वा विचार
यस निबन्धमा शैक्षिक सामाजिक विकृति विसङ्गतिलाई विषयवस्तु बनाएर निबन्धकारले नेपालमा रहेका यस्ता विकृति विसङ्गतिप्रतिको आफ्नो असन्तोष र विरोधलाई मूल वैचारिक आधार प्रदान गरेका छन् । समाजमा शैक्षिक र सामाजिक विकृति यतिसम्म बढेको छ जहाँ कखरा पढाउने विद्यालयदेखि विद्यावारिधिमा दीक्षान्त समारोह गर्ने विश्वविद्यालय समेतमा यसको प्रभाव फैलिएको छ भन्दै यस प्रवृत्तिले सम्पूर्ण शैक्षिक र सामाजिक वातावरणलाई तहस–नहस बनाएको कुरालाई यस निबन्धमा प्रस्तुत गरिएको छ । निबन्धमा निबन्धकारले अनुकूल योग्यता भएको तर स्तरहीन व्यक्ति च्यान्टेलाई भुइँफुट्टा कवि र डाक्टरको प्रमाणपत्र बाँडेर विश्वविद्यालयले बाघको छालामा रजाइँ गरेको अवस्थाको चित्रण गरेका छन् । यसमा निबन्धकारले आग्रह र पूर्वाग्रहमा नबिक्ने विश्वविद्यालयका क्षमतायुक्त र प्रतिभायुक्त व्यक्तिलाई छायामा पारी च्यान्टे जस्ता चाकरीबाजले मुलुक खाएको कुरा रोचक र घोचक शैलीमा प्रस्तुत गरेका छन् ।
(ग) भाषाशैली
यो निबन्ध हास्यव्यङ्ग्यात्मक कसी लगाएर आत्मपरक शैलीमा लेखिएको निजात्मक निबन्ध हो । यसले च्यान्टेको चरित्रचित्रणको माध्यमबाट विकृति र विसङ्गतिले शिक्षा क्षेत्रलाई समेत विषाक्त बनाएको तितो यथार्थको अभिव्यक्ति दिएको छ । सरल, सुबोध र चित्ताकर्षक ढङ्गबाट ‘हुने बिरुवाका चिल्ला पात’, ‘फलेको वृक्षको हाँगो निहुरन्छ निरन्तर’ जस्ता आवश्यक उखान टुक्का र प्रभावकारी सूक्तिहरूका साथै उपयुक्त उखान–टुक्काको प्रयोगबाट निबन्धको शैली आकर्षक बनेको छ भने झर्रा र तत्सम शब्दको सन्तुलित प्रयोगबाट निर्मित यस निबन्धको भाषा शैली बोधगम्य पनि बनेको छ ।
३.३.४ मेरो मोल
(क) विषयवस्तु
प्रस्तुत निबन्ध झिनो सामाजिक विषयवस्तुलाई लिएर निजात्मक शैलीमा लेखिएको छ ।लामो समय अघि लेखिएको भए पनि यस निबन्धमा समसामयिक युगको वा सामयिकताको सजीव चित्रण रहेको छ । यो निबन्ध आकारमा सामान्य छ । वस्तुको मिसावटबाट जनताको स्वास्थ्यमा पुगिरहेको हानी नोक्सानीका बारेमा गम्भीर चिन्ता रहेको छ । यसमा हरेक उपभोग्य वस्तुको गुणस्तरमा वृद्धि नभई मिसावटले दूषित रहेका वस्तु बजारमा आएर पनि दिन दुइगुना रात चौगुनाले त्यस्ता वस्तुको मोलभाउ बढिरहेको यथार्थ नै विषयवस्तु बनेको छ । यस निबन्धमा म पात्रको माध्यमबाट लेखक स्वयम्को जीवनवृत्तको चित्रण भएको अनुभूति हुन्छ । यसै सेरोफेरोमा आजको मिसावटयुक्त दूषित बजारको परिदृश्य निबन्धले बोकेको छ ।
(ख) मूल भाव वा विचार
देशमा विद्यमान दण्डहीनता, दुःशासनको कुशासन, अन्धो र बैरो सरकार, गुणस्तरमापन विभागको असक्षमताले सिधा सादा जनताको अपमानमाथि भुक्तमान थपिएर सिर्जित पीडादायक स्थितिको भण्डाफोर गर्नु र समाजमा विद्यमान विकृति विसङ्गतिका ठेकेदारहरूलाई खबरदारी गर्दै तिनीहरूलाई सिस्नोपानी र काउछो लगाउनुपर्छ भन्ने आशय व्यक्त गनुृ यस निबन्धको विचार पक्ष हो ।
(ग) भाषाशैली
यो निबन्ध पनि आत्मपरक पद्धतिमा लेखिएको निजात्मक शैलीको निबन्ध हो । आलङ्कारिक भाषाको सुमधुर र रसिक रूप यसमा विद्यमान छ । विभिन्न अनुप्रासयुक्त पदावली, सूक्ति तथा उखान टुक्काको प्रयोग पनि यस निबन्धमा भएको देखिन्छ । अनुप्रासयुक्त काव्यात्मक भाषा, तुकबन्दीयुक्त कथनपद्धति आदिले गर्दा निबन्धको भाषाशैली सरल, सहज, सुबोधका साथै आकर्षक पनि बन्न पुगेको छ ।
३.३.५ गरीबीको रेखा ः प्रवचन समारोह
(क) विषयवस्तु
हाम्रो समाज र राष्ट्रको सञ्चालनका निम्ति कुनै योग्यता, सक्षमता, निपुणता जस्ता कुरालाई बेवास्ता गर्दै चाप्लुसी र चाकरी, जयजयकार र द्वारपाल गरेको भरमा पद टीका लगाएर दक्षिणा दिए जसरी दिने घटिया प्रवृत्तिप्रतिको आक्रोश नै यस निबन्धको विषयवस्तु हो । यस निबन्धले धेरै हास्य र थोरै व्यङ्ग्यका माध्यमबाट हाम्रो देशका सञ्चालकहरूको घटिया कार्यशैलीको कारण देश र जनताले भोग्नुपरेको सास्तीलाई विषयवस्तुको रूपमा उठाएको छ । यस निबन्धले मुख्यतः राजनीतिक विकृतिलाई विषयवस्तुका रूपमा लिएको छ ।
(ख) मूल भाव वा विचार
उच्च स्तरको पदप्राप्तिमा कुनै योग्यता, दक्षता, प्रमाणपत्रको आवश्यकता नपर्ने टीको लगाएर पद वितरण गर्ने घटिया प्रवृत्तिप्रतिको छेडखान नै यसको मूल व्यङ्ग्य वा विचार हो । यस्ता योग्यताविहीन मान्छेले टीका लगाएर झण्डा बोकेर, ढोका कुरेर, चाकरी गरेर पाएको पदमा बसेर गरेको सारविहीन भाषण, उद्देश्यविहीन कार्यले देशलाई मसानघाट बनाएको तितो यथार्थ र यस्ता मूर्खद्वारा चलेको देशको हविगत दर्शाउनु र यस्ता विकृत मानसिकतामाथि सिस्नो पानी खन्याउनुपर्ने आवश्यकताको प्रस्तुति नै यस निबन्धको मूल भावभूमि हो ।
(ग) भाषाशैली
यस निबन्धमा अत्यन्त आकर्षक र आलङ्कारिक भाषाशैलीको प्रयोग गरिएको छ । अनुप्रासीय गुणले युक्त, अवस्था अनुसारको उखान–टुक्का र थेगोयुक्त भाषाको प्रयोगबाट निबन्धको भाषाशैली अत्यन्त आकर्षक बनेको छ भने सरल शब्दावलीको आयोजनाबाट निबन्धको भाव सहजता साथ बोधगम्य पनि बनेको छ ।
३.३.६ मेरो कोठो र यसको वरिपरि
(क) विषयवस्तु
यस निबन्धले काठमाडौंको हरेक क्षेत्रमा देखिएका विकृति विसङ्गतियुक्त परिवेशलाई आफ्नो विषयवस्तु बनाएको छ । यस निबन्धमा काठमाडौं वरिपरिको फोहोर मैला र दुर्गन्धलाई प्रस्तुत गर्दै यस्तो दुर्गन्ध त्यहाँको सामाजिक, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फैलिएको अवस्थालाई देखाएको छ । यस्तो अवस्थाको प्रत्यक्ष रूपमा आफ्नो अध्ययन पुरा गर्नका लागि त्यहाँ बसेका विद्यार्थीहरूमा असर परेको र यसै फोहोरी वातावरणमा त्यहाँका युवायुवतीमा देखिएको अशिष्ट क्रियाकलापलाई समेत निबन्धले आफ्नो विषयवस्तुभित्र समेटेको छ ।
(ख) मूल भाव वा विचार
यस निबन्धले विकृत समाजको हास्यव्यङ्ग्यात्मक र कथात्मक शैलीमा चित्रण गरेको छ । काठमाडौंमा रहेको फोहोर, मैला, दुर्गन्ध र यस्तो दुर्गन्धित वातावरणमा निर्मित विद्यार्थीको भविष्य कस्तो होला ? भन्ने विचार यस निबन्धमा व्यक्त गरिएको छ । यस्तो दुर्गन्ध र विकृतिका कारक अरू कोही नभएर हामी आफैं रहेको कुरालाई समेत चित्रण गर्दै यसबाट हामी माथि उठ्न सके मात्र हाम्रो भविष्य उज्ज्वल हुन सक्छ भन्ने लेखकीय विचार यहाँ मुखरित भएको छ । यस्तो विकृत र दुर्गन्धित समाजलाई यसबाट मुक्त गराई समुन्नत समाजको अभीष्ट राख्नु नै यस निबन्धको मूल भाव हो ।
(ग) भाषाशैली
यो निबन्ध कथात्मक शैलीमा बढी व्यङ्ग्य र कम हास्यको प्रयोग गरी लेखिएको छ । यस निबन्धमा सरल भाषा र सुन्दर शैलीको प्रयोग पाइन्छ । तुकबन्दीयुक्त, काव्यात्मक शैलीको पनि यहाँ भरपुर प्रयोग देखिन्छ । सूक्तिमय कथन, अलङ्कारमय भाषा, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ जस्ता उखान टुक्का र अनुप्रासयुृक्त काव्यात्मक भाषाको प्रयोगले यो निबन्ध आकर्षक र बोधगम्य बनेको छ ।
३.३.७ पहिलो पुर्खाको पत्तो
(क) विषयवस्तु
हाम्रो बानी र व्यवहारलाई हेर्दा बाँदर र गधासँग मिल्दा जुल्दा रहेकाले हाम्रा पुर्खा बाँदर र गधा भएको कुरालाई यस निबन्धले विषयवस्तुका रूपमा उठाएर व्यङ्ग्यात्मक ढङ्गले उक्त कुराको पुष्टि गर्ने प्रयास गरेको छ । तिलस्मी कथात्मक ढङ्गबाट मानिसमा रहेको स्याल, गधा र बाँदरको प्रवृत्तिप्रति व्यङ्ग्य र विद्रोह बोल्नु यसको विषयवस्तु हो । यहाँ चारित्रिक विसङ्गति निबन्धको विषयवस्तु बनेर आएको छ ।
(ख) मूल भाव वा विचार
मान्छेको खुनको नाता गधा र स्यालसँग रहेको कुरालाई मानिसका बानी व्यवहारले पुष्टि गर्न सक्छ भन्ने दर्शाउनु यस निबन्धको मूल भाव वा विचार हो । मानिसको धुत्र्याइँ, लुच्याइँ, ठग, चोरी, बदमासी एवम् जालसाजी खेल्ने जस्तो फोहोरी स्वभाव, सुधो, निर्धो, पानीमरुवा, निम्जो, बुद्धु, लोसो र नामर्द स्वभाव भनेका हाम्रा पहिलो पुर्खा अर्थात् स्याल, गधा र बाँदरको खुनको उपज नै हो । यसरी मानिसले यस्ता नराम्रा स्वभावले कहिल्यै प्रगतिको मार्ग तय गर्न नसक्ने कुरा नै यस निबन्धको मूल भाव वा विचार रहेको छ । यस्तो बानी व्यवहारको परित्याग र शालीनताको चाहना नै यस निबन्धको मूल भाव हो ।
(ग) भाषाशैली
यस निबन्धमा कथात्मक शैलीको प्रयोग गरिएको छ । निजात्मक प्रस्तुति रहेको यस निबन्धमा आवश्यक ठाउँमा उखान टुक्का र थेगोहरूको प्रयोग गरिएको छ । उपयुक्त ठाउँमा ‘दूधगुन बुद्धि’ जस्ता उखानको प्रयोग हुनाले निबन्धलाई आकर्षक र पठनीय बनाएको छ भने केही तत्सम शब्दको प्रयोग भएको भए पनि बढि मात्रामा झर्रा शब्दको प्रयोगबाट भाषा सरल र सुबोध्य नै बनेको छ । प्रस्तुतिमा आलङ्कारिकताले निबन्धमा झनै आकर्षण थपेको छ ।
३.३.८ कनफट्टाको नयाँ पुरेत्याइँ
(क) विषयवस्तु
नयाँ नयाँ उपकरणहरूको आविष्कारको फाइदा उठाउनेहरूको लाममा पुरेत्याइँ गर्नेहरू पनि पर्न थालेका छन् । यसरी आधुनिक उपकरणहरूद्वारा समुन्नत समाजको निर्माणमा मात्र नभई यसले विकृति पनि फैलाएको छ भन्ने कुराको खुलासा नै यस निबन्धको विषयवस्तु हो । यस्ता नयाँ उपकरणको गलत तरिकाले उपयोग गरिएकोमा निबन्धमा लेखकले चिन्ता व्यक्त गरेका छन् ।
(ख) मूल भाव वा विचार
जनतालाई ठग्नेहरू पनि पुराना तिकडमलाई त्यागेर नयाँ नयाँ ठग विधिको आविष्कार गर्दै हिँड्छन् भन्ने कुरा यस निबन्धमा उल्लेख गरिएको छ । यसले संसारका आधुनिक उपकरणहरू सबै ठाउँमा पुग्नुपर्छै भन्ने आग्रह गर्नु तर यस्ता उपकरणहरूको गलत उपयोग गरिएकोमा व्यङ्ग्य प्रहार गरिएको छ । कविप्रसादको चरित्रचित्रणका माध्यमबाट सञ्चार माध्यम लगायत पुरेत्याइँको ठग प्रवृत्तिमाथि व्यङ्ग्यवाण प्रहार गर्नु नै यस निबन्धको मूल भाव वा विचार हो ।
(ग) भाषाशैली
यो निबन्ध व्यङ्ग्यात्मक शैलीमा रचित छ । यसमा व्यक्तिको चरित्रचित्रणका माध्यमबाट निबन्धको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । यसमा ठेट नेपाली शब्दको प्रयोग र कतै कतै आलङ्कारिक भाषाको प्रयोग भएको पनि पाइन्छ । यति भएर पनि सबै कुराको तारतम्य सरल, सहज रूपमा भएकाले यो निबन्ध चित्ताकर्षक र सुबोध्य बनेको छ ।
३.३.९ घुस खाने पशुको गोठालो बन्नु पर्दा
(क) विषयवस्तु
समाजमा अल्लारिएर बसेका कुनै पनि पद वा कार्यको जिम्मेवारी नपाएका मान्छेले अरूको काम सजिलो र सहज देख्छन् भन्ने कुरालाई यस निबन्धमा प्रस्तुत गरिएको छ । यसमा अरूको जिम्मेवारीप्रति असन्तुष्ट रहने तर आफू पदमा रहेर जिम्मेवारी वहन गर्नुपर्दा अघिल्ला पिंढीलाई नै अनुसरण गर्ने प्रवृत्तिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । घाँस खाने पशुको गोठालोले प्राप्त गर्ने आनन्द घुस खाने पशुको गोठालोले प्राप्त गर्न सक्दैन, घुस खाने पशु भन्दा घाँस खाने पशु नै उत्तम हो भनेर कुखुरे बैंसका केटाकेटीलाई पढाउने शिक्षकको समस्यालाई यस निबन्धमा विषयवस्तु बनाइएको छ ।
(ख) मूल भाव वा विचार
जिम्मेवारी बेगर बुर्कुसी मार्दा भन्दा जिम्मेवारी बोधपछिको अवस्था बोझिलो हुने अनुभूतिको अभिव्यक्ति यस निबन्धमा पाइने मूल विचार हो । लेखक स्वयम् प्राध्यापन पेशामा जिम्मेवार भएर लाग्दाको आत्मानुभूति यहाँ प्रतिबिम्बित भएको पाइन्छ । समाजमा घुस खाने कथित विवेकशील मान्छे भुस खाने पशुभन्दा गए गुज्रेको हुन्छ भन्ने अभिव्यक्ति निबन्धमा छ । यस्तो घुस खाने प्रवृत्तिले समाजमा विकृति फैलाएको कुराप्रतिको असन्तोष नै यस निबन्धको मूल भाव हो ।
(ग) भाषाशैली
यो निबन्ध आत्मपरक शैलीमा लेखिएको निजात्मक निबन्ध हो । यसमा लेखकले आफ्नै अनुभूतिलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । प्रशस्त बिम्ब र प्रतीको प्रयोग यसमा पाइन्छ । आवश्यक ठाउँमा उखान र टुक्काको प्रयोग पनि पाइन्छ । ‘नपाइन्जेल हाइ हाइ पाएपछि क्यै न क्यै’ जस्ता उखानको प्रयोगले भाषालाई जीवन्त बनाएको छ । निबन्ध समग्रमा सरल, सहज र बोधगम्य छ ।
३.३.१० राष्ट्रव्यापी रोगबाट फुत्कने प्रयास
(क) विषयवस्तु
साहित्यलाई नै विषयवस्तु बनाएर लेखिएको यस निबन्धमा अहिले व्याप्त भएको साहित्य र साहित्यकार जो साहित्य भनेको के हो ? साहित्य भनेको कुन चराको नाम हो ? भन्ने थाहा नपाउने छन् त्यस्ता कथित साहित्यकारको चरित्र चित्रण गरिएको छ । कस्ता कस्ता व्यक्ति, कस्ता कस्ता कृतिहरूलाई वास्तविक साहित्य र साहित्यकार भन्ने भनेर छुट्याउनै नसकिने यस्तो डरलाग्दो रोगबाट जति टाढा भागे पनि भाग्न सकिँदैन । यसको कारण भनेको हाम्रो समाजमा देखिएका साहित्य र साहित्यकार हुन् । यस्ताको सङ्गतबाट जस्तै मान्छेलाई पनि यस रोगका जीवाणुृ सर्न सक्छ भन्ने कुरालाई नै यस निबन्धमा विषयवस्तु बनाइएको छ ।
(ख) मूल भाव वा विचार
यस निबन्धमा काठमाडौंको साहित्यिक परिवेशको चित्रण गरिएको छ । मान्छेको रूप लिएर पुग्ने सबै त्यहाँ साहित्यिक बन्छ भन्दै साहित्यको राम्रो, नराम्रो, साहित्यिक गुण भएको वा नभएको जस्ताले पनि साहित्यका क्षेत्रमा ठाउँ पाउँछ भन्ने कुरा निबन्धमा उल्लेख छ । जस्ताको सङ्गतमा परिन्छ त्यस्तै भइन्छ भन्ने कुरा यहाँ पुष्टि गरिएको छ । यहाँ निबन्धकार साहित्यिक बन्नाको कारण पनि सङ्गत नै हो भन्ने कुरालाई आत्मवृत्तान्तका रूपमा प्रस्तुत गर्दछन् । यसका साथै छन्द, अलङ्कार, रस, सम्प्रेषण, मनोहारीपन, सुन्दरता आदि नभएको फोस्रो भाषिक फोहोर पनि अचेल कविता बन्न पुगेको कुराप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो साहित्यिक विकृतिप्रतिको व्यङ्ग्य नै यस निबन्धको मूल भाव वा विचार हो । यसमा सुधार आउनुपर्छ भन्ने सन्देश परोक्ष रूपमा निबन्धले प्रस्तुत गरेको छ ।
(ग) भाषाशैली
यो निबन्ध अन्य निबन्ध जस्तै आत्मपरक शैलीमा लेखिएको निजात्मक शैलीको निबन्ध हो । आत्मकथात्मक शैली र कहीँ कहीँ आगन्तुक शब्द, तत्सम र झर्रा शब्दहरूको आलङ्कारिक प्रस्तुति यस निबन्धमा रहेको पाइन्छ । अलङ्कार र सूक्तिको प्रयोगले निबन्ध पठनीय र आकर्षक बनेको छ ।
३.३.११ हास्सेका ठेकदारसँग
(क) विषयवस्तु
हाम्रो समाज र राष्ट्रका स्वतन्त्र, निष्पक्ष र निर्भीक साहित्यकार, लेखक, सम्पादक आदिको कलमलाई छायामा पार्ने प्रवृत्तिप्रतिको व्यङ्ग्य र यस्ता स्वच्छ छवि भएका लेखक, कलाकार, सम्पादक, हास्यव्यङ्ग्यकार आदिको दुर्दशाको चित्रण गर्नु नै यस निबन्धको मूल विषयवस्तु हो ।
(ख) मूल भाव वा विचार
यस निबन्धमा समसामयिक कवि लेखकहरूको धुला काढ्ने काम गरिएको छ । यसमा जे पायो त्यो लेखेर लेखक हुन खोज्ने काम न काजका लेखकहरूलाई कडो कटाक्ष गरिएको छ । अहिले पुङ न पुच्छरको लेख लेख्ने लेखक र साहित्यकारहरूको विशेषतः हास्यव्यङ्ग्यकारहरूका मूल्यवान् लेख रचनाहरू कागतको दाममा मात्र पनि बिक्री नहुने अवस्थामा पुगेको कुरालाई मार्मिक ढङ्गबाट यहाँ प्रस्तुत गरिएको छ । हास्यव्यङ्ग्यकारहरूको दयनीय अवस्थाको चित्रण उनीहरूको मान सम्मानमा खड्किएको कमीप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने अभीष्ट राख्नु यस निबन्धको मूल भाव वा विचार हो ।
(ग) भाषाशैली
यो कलात्मक शैलीमा लेखिएको निजात्मक हास्यव्यङ्ग्य निबन्ध हो । यसभित्र प्रशस्त संवादात्मकताको पनि प्रयोग गरिएको छ । अलङ्कृत भाषा, सूक्तिमयता, सरल र सहज भावव्यञ्जक शब्दचयन आदि यस निबन्धको भाषाशैलीगत विशेषता रहेका छन् । यसबाट निबन्ध पठनीय बनेको छ ।
३.३.१२ यमराजका अदालतमा
(क) विषयवस्तु
हाम्रो देशमा दिन प्रतिदिन बढ्दै गएको दण्डहीनताप्रतिको व्यङ्ग्य नै यस निबन्धको विषयवस्तु हो । आफूले गरेको जघन्य अपराधबाट मुक्ति मिल्ने बाटो पदत्याग गर्नु भएकाले हाम्रो देशमा ठुला ठुला अपराधीहरू भू पू भएपछि निष्कलङ्क हुने परिपाटिप्रति असहमति जनाउँदै यसको विरोध गर्नु यसको मुख्य विषयवस्तु रहेको छ । देशको बागडोरको रूपमा रहेको न्यायव्यवस्थाप्रति व्यङ्ग्य गरिएको यस निबन्धको विषयवस्तु नेपालको न्यायिक प्रशासनिक क्षेत्रको विसङ्गति हो ।
(ख) मूल भाव वा विचार
भू.पू.प्रवृत्तिको आडमा आफूलाई गलैंचा काण्डदेखि गाई, गधा, मूर्ति काण्ड, नेताको झुटो आश्वासन जस्ता व्यभिचार, पापाचार, दुराचारबाट मुक्त गराउने परिपाटिले हाम्रो देशलाई अराजकताको खाडलमा हालेको प्रति चिन्ता व्यक्त गर्दै यसबाट देशको उन्मुक्तिको अभीष्ट राख्नु नै यस निबन्धको मूल भाव वा विचार हो । यसरी अपराधबाट बच्न जस्तोसुकै पदमा रहेका व्यक्ति भए पनि पद त्याग गर्ने प्रवृत्ति ठिक नभएको भन्ने सन्देश पनि यसको मूल भाव हो ।
(ग) भाषाशैली
समास शैलीमा लेखिएको यो निबन्ध निजात्मक स्वरूपको निबन्ध हो । यसमा प्रयुृक्त आलङ्कारिकता, सूक्तिमयता जस्ता विशेषताले निबन्धलाई आकर्षक र पठनीय बनाएको छ । सरल शब्दावली, सहज अभिव्यक्ति, तिखो व्यङ्ग्य आदिले गर्दा निबन्ध रोचक र घोचक पनि बनेको देखिन्छ । प्रस्तुत निबन्धले पाठकहरूलाई आफ्ना दुष्प्रवृत्तिप्रति एकछिन घोरिएर सोच्न बाध्य बनाउँछ ।
३.३.१३ साहित्यमा तानाशाही जमाना
(क) विषयवस्तु
सामाजिक तथा साहित्यिक विषयवस्तुलाई लिएर यस निबन्धले नातावाद र कृपावादी परम्परामा अडेर मूल्याङ्कन गर्ने तानाशाही प्रवृत्तिले साहित्यिक क्षेत्रलाई तहसनहस पारेको यथार्थ प्रस्तुत गरिएको छ । तानाशाही जमानामा साहित्यका उच्चतर शिक्षार्थीको मूल्याङ्कन टीका लगाएका स्वाँठले गर्दछन् भन्ने कुराको प्रस्तुति पनि यस निबन्धको विषयवस्तु हो ।
(ख) मूल भाव वा विचार
तानाशाही प्रवृत्ति देशका हरेक क्षेत्रमा निर्बाध रूपमा फैलिएको कुराप्रतिको असन्तुष्टि नै यस निबन्धको मूल भाव हो । यहाँ साहित्यका स्वच्छ प्रतिभाहरूको सही मूल्याङ्कन नभई चाकरीबाजको भने उच्च स्तरको भनी मूल्याङ्कन हुने गर्दछ । यस्तो घृणित प्रवृत्तिले साहित्यलाई पनि चोखो नराखेकोप्रति आक्रोश व्यक्त गर्नु नै यस निबन्धको मूल भाव हो ।
(ग) भाषाशैली
यो हास्यव्यङ्ग्य भन्दा पनि बढी यथार्थको प्रस्तुति भएको निबन्ध हो । आनुप्रासिकता, सूक्तिमयता, आलङ्कारिक भाषाशैली प्रयोग भएको यो निबन्ध सरल र बोधगम्य पनि छ । कुनै साहित्यिक व्यक्ति आफ्नो उन्नति चाहन्छ भने उसले साहित्यिक तानाशाहहरूको घण्टा नबजाई हुँदैन भन्ने कुराको सरल र सहज रूपमा अभिव्यक्ति भएको हुनाले निबन्ध पाठकको मन जित्न सफल रहेको देखिन्छ ।
३.३.१४ पेस्की धन्यवाद
(क) विषयवस्तु
यस निबन्धको मूल विषयवस्तु साहित्यका कथित मपाईंत्वलाई लिएर हिँड्ने साहित्यकार जो आफूले आफूलाई महान् र उत्कृष्ट साहित्यका पुजारी ठान्दछन् त्यस्ता क्षमताविहिन साहित्यकारहरूलाई तिखो झापड हान्नु र मनको लड्डु घिउसँग खाने प्रवृत्तिमाथि व्यङ्ग्य गर्नु नै रहेको छ । आफ्नो अस्तित्वहीन प्रतिभाको फैलावटका लागि आफैं पत्रिकाको सिर्जना गर्ने कल्पना गर्नु र त्यसबाट आफू प्रख्यात हुने सपना देख्ने लेखक साहित्यकारहरूको चरित्रलाई नै यहाँ विषयवस्तु बनाइएको छ ।
(ख) मूल भाव वा विचार
आफ्नो प्रतिभा कहीँ कतै नबिकेर त्यसै धमिरा लाग्ने अवस्थामा पुगेको तर त्यसलाई आफ्नै प्रकाशनद्वारा प्रकाशित गर्छु भनेर लाग्ने योग्यताविहिन च्याउ उम्रेझैं उमे्रका कथित साहित्यकारप्रति व्यङ्ग्य गर्नु नै यस निबन्धको मूल भाव वा विचार हो । आफैंले आफ्नो बढाइँ गर्नेको भण्डाफोर र असम्भव महŒवाकाङ्क्षा राख्नेलाई सिस्नोपानी लगाउनु यस निबन्धको मूल भाव हो ।
(ग) भाषाशैली
यो निबन्ध सूत्रात्मक शैलीमा लेखिएको निजात्मक निबन्ध हो । तुकबन्दीयुक्त काव्यात्मक शैलीमा रचना भएको यस निबन्धमा आलङ्कारिक भाषाको प्रयोग छ । यसरी काव्यात्मकता, सूत्रात्मकता तथा आलङ्कारिकता जस्ता विशेषतायुक्त यस निबन्धको भााषाशैली सरल, रोचक, सहज भावव्यञ्जक र पठनीय छ ।
३.३.१५ घनघस्याको घनिघसाइ
(क) विषयवस्तु
प्रस्तुत निबन्धको शीर्षक घनघस्याको घनिघसाइ नयाँ बदलमा पुरानो रक्सी भए झैं राणाकालीन समयदेखिको जहाँनिया निरङ्कुश शासनको परिवर्तित नामको प्रतीक हो जसले नेपालको दूरदराजमा रहेका गाउँघरहरूमा अहिलेको राजनीतिक परिवर्तन विकासका लहर, जनचेतना आदिले कुनै परिवर्तन देखाउन सकेको छैन । यसै कुरालाई यस निबन्धले विषयवस्तुको रूपमा लिएको छ ।
(ख) मूल भाव वा विचार
देशमा प्रजातन्त्रको आगमन भएर पनि केही गाउँ ठाउँमा यो प्रजातन्त्रको गन्ध पनि नपुगेको कुरालाई उजागर गर्नु यसको मूल भाव हो । प्रजातन्त्र आएको भए पनि जनताका लागि नभई ठुलाठालुका लागि मात्र त्यो अएको कुरामा यस निबन्धले कडा आपत्ति जनाएको छ । यसमा खास गरी गाउँठाउँ र सर्वसाधारणका लागि प्रजातन्त्र आएकै होइन भन्न्ने कुराको खुलासा गरिएको छ । हुन ता देशभरि एकै समयमा प्रजातन्त्र आएको हो तापनि यो प्रजातन्त्र नोपली मात्रका लागि होइन भन्ने भाव छ । हाम्रो देशमा सर्वत्र प्रजातन्त्रको आभास भएको छैन । अझै कहीँ कतै पहिलेकै सामन्ती संस्काररूपी बुढो रुख छँदैछ । यसको केही हाँगाबिगाहरू छसिएका होलान् तर कुनै जरा भने हल्लिएका र मक्काएका छैनन् भन्ने कुराको प्रतीकात्मक अभिव्यक्ति नै यसको मूल भाव वा विचार हो ।
(ग) भाषाशैली
यस निबन्धमा सूत्रात्मक, कथात्मक, व्यङ्ग्यात्मक तथा तार्किक र बौद्धिक शैलीको प्रयोग भएको छ । केही आगन्तुक, केही झर्रा र केही तत्सम शब्दको प्रयोग भएको यो निबन्ध बोधगम्य, सरल र सहज छ । उखान टुक्का र सूक्तिको प्रयोगले अभिव्यक्ति आकर्षक बनेको छ ।
३.४ निष्कर्ष
साहित्यकार होम सुवेदीको कालीपोके निबन्ध संग्रह सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्यवाण हान्ने क्रममा रचना भएको हो । उनले यसमा समाजका सर्वत्र पक्षमा पाइने कुप्रवृत्तिको कडो प्रहार गरेका छन् । वि.सं २०४३ सालमा प्रकाशित यस कृतिमा जम्मा पन्ध्रवटा निबन्ध संग्रहीत छन् । कालीपोके निबन्ध संग्रह निजात्मक निबन्धहरूको संग्रह हो ।
सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, न्यायिक आदि क्षेत्रमा रहेका विसङ्गति विकृतिप्रति कटाक्ष गर्दै सुधारको सन्देश दिनु निबन्धकारको लक्ष्य रहेको देखिन्छ ।
आत्मपरकताभित्र व्यङ्ग्यात्मकता रहेको छ भने यसमा भाव वा विचारको पनि उत्तिकै सबलता रहेको छ । यो निबन्ध संग्रह प्रगतिशील विचारबाट अभिप्रेरित पनि रहेको छ । यसमा रचनाकारका आफ्नै तिता–मिठा अनुभव र भोगाइलाई नै यसमा मूल विषयवस्तुको रूपमा उठाइएको छ ।
साहित्यकार सुवेदीको यस क्षेत्रमा प्रवेश २०३० सालबाट नै भएको हो । उनका यी निबन्धहरूमा विनोदात्मकता, संवादात्मकता र व्यङ्ग्यात्मकता छ्यासछ्यास्ती पाइन्छ । यी निबन्धका माध्यमबाट निबन्धकारले तत्कालीन परिवेशमा देखिएका विकृति–विसङ्गतिहरूप्रति सरल र सहज झर्रा शब्दहरूद्वारा धारेहात पारेका छन् ।
कालीपोके भित्रका निबन्धहरूले तत्कालीन राजनीतिक अस्वस्थता, निरङ्कुश शासन प्रणाली, सरकारको नातावादी, कृपावादी चरित्र र साहित्यका क्षेत्रमा देखा परेका अकेकन विसङ्गतिप्रति पनि भाला तेस्र्याएका छन् ।
यस संग्रहमा संग्रहित केहीलाई छाडेर अधिकांश निबन्धहरू लघु आयामका नै छन् । तत्कालीन अवस्थामा यिनको प्रकाशन र यिनको प्रभाव अत्यधिक थियो, यी बडो प्रभावकारी थिए, गरिबीको रेखा ः प्रवचन समारोह नामक निबन्ध स्वर्गीय श्यामकृष्ण उपाध्यायको सम्पादनमा झापाबाट निस्केको संसार डाइजेस्टले पहिलो पटक छापेपछि त्यसैलाई साभार गरी साप्ताहिक करेन्ट, साप्ताहिक प्रतिनिधि आदि अन्य पत्रपत्रिकाहरूले समेत छपाएका थिए भन्ने भनाइ सुवेदीको छ । यसबाट यी निबन्धहरूको प्रभाव तत्कालीन अवस्थामा निकै नै गम्भीर थियो भन्ने बोध हुन्छ । विशेष गरी यी निबन्धहरू लघु आयामका भए पनि केही भने अलिक लामा पनि छन् । लामा छोटा जे भए पनि गहन विषयवस्तुलाई यिनले बोकेको देखिन्छ । भाषाशैली सरल, सहज एवम् बोधगम्य देखिन्छ जसले सजिलै पाठकको मन छोएका छन् । समग्रमा भन्नु पर्दा कालीपोके निबन्ध संग्रह समृद्ध, सशक्त र साहित्यिक अभिव्यक्तिका कतिपय वैशिष्ट्यले गर्दा मिठासले भरिपूर्ण रोचक एवम् गहन कृति बन्न पुगेको छ । नेपाली हास्यव्यङ्ग्य निबन्धको इतिहासमा कालीपोके निबन्ध संग्रहको पनि महŒवपूर्ण योगदान रहेको देखिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 फागुन, 2071

लेखकका अन्य रचनाहरु