शिरीषको फूलमा अभिघात

- लालमणि पोख्रेल

१. पृष्ठभूमि
नेपाली उपन्यास साहित्यको परम्परामा इन्द्रबहादुर राईकृत‘आज रमिता छ’
(२०२१) नामक विसङ्गतिवादी औपन्यासिक कृतिको प्रकाशनपछि पारिजातको शिरीषको फूल (२०२२) त्यसै चेतनालाई थप बलशाली बनाउँदै देखापरेको हो । यस उपन्यासमा अल्बर्ट कामु (सन् १९१३–१९६०) तथा जँ पल सात्र्रीय आस्तित्व एवं विसङ्गतिवादी जीवनदर्शनले प्रशस्त खेल्ने मौका पाएको छ । साथै यस कृतिबाट आज रमिता छ कृतिमार्फत् मौलाउन थालेको विसङ्गतिवादी चेतले थप ऊर्जा प्राप्त गरी झ्याँङ्गिने अवसर समेत प्राप्त गरेको छ ।
पारिजात नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान तथा हैसियत स्थापना गराइसकेकी नारी प्रतिभा हुन् । कुँजो शरीरलाई लतार्दै र घिसार्दै पारिजातले नेपाली साहित्यमा जुन उचाइ बनाएकी छिन् सो मननीय छ, वन्दनीय छ । यिनको उचाइलाई हालसम्मै अर्को नेपाली नारी प्रतिभाले उल्लङ्घन गर्न नसकेबाट पारिजातको साहित्यिक गरिमा स्वतः छर्लङ्गिन्छ । पारिजात वि.सं. २०२२ सालमा शिरीषको फूल उपन्यास ल्याएर नेपाली उपन्यास साहित्यमा उदाएकी हुन् । यिनको प्रथम उपन्यास शिरीषको फूल नेपाली उपन्यास साहित्यको इतिहासमा र पारिजातकै औपन्यासिक यात्रामा पनि निकै सफल र फलदायी समेत बन्न पुग्यो । पहिलो उपन्यासबाटै चर्चाको शिखरमा पुगेकीे पारिजातका महत्ताहीन
(२०२५) बैंसको मान्छे (२०२९), तोरीबारी बाटा र सपनाहरु (२०३३), पर्खालभित्र र बाहिर (२०३५), परिभाषित आँखाहरु (२०४६) र बोनी (२०४८) उपन्यास प्रकाशित छन् । पारिजातले उपन्यास लेखनको प्रारम्भिक चरणमा विसङ्गतिवादी– अस्तित्ववादी लेखनमा आफूलाई सक्रिय गराइन् भने बीच वा मध्यको चरणमा राल्फाली आन्दोलनसँग सम्बद्ध विद्रोही चेतनामा कलम दौडाइन् । उपन्यास लेखनको अन्तिम चरणमा यिनी प्रगतिवादी तथा आलोचनात्मक यथार्थवादी धारामा केन्द्रित रहिन् । यसरी अस्तित्ववादी– विसङ्गतिवादी, विद्रोही र आलोचनात्मक यथार्थवादी उपन्यासकारका रुपमा औपन्यासिक यात्रा तय गरेकी पारिजातको शिरीषको फूल यिनको उपन्यास लेखनको प्रथम चरणमा देखापरेको प्रभावशाली कृति हो ।
शिरीषको फूलमा मुख्यतः अस्तित्व तथा विसङ्गतिवादी जीवनदर्शनले स्थान पाएको छ । अस्तित्ववाद तथा विसङ्गतिवाद पश्चिमी जगत्मा दोस्रो विश्वयुद्धुपश्चात् देखापरेको दार्शनिक अवधारणा हो । यस चिन्तनले नियतिवाद र आदर्शवादको विरोध गर्छ । तल संक्षेपमा अस्तित्ववाद र विसङ्गतिवादका बारे चर्चा गरिन्छ ।

१.१ अस्तित्ववाद ः

दोस्रो विश्वयुद्ध (१९३९–१९४५) को भयङ्कर विभीषिकाको प्रतिक्रियास्वरुप अस्तित्ववादको जन्म नियतिवाद र आदर्शवादको विरोधमा सन् १९४३ देखि भएको हो (शर्मा, लुइटेल, २०६१ः ३४२) । यस वादको उन्नयनमा पास्कलको ईश्वर र पदार्थमध्ये एउटाको चयन गर्नुृपर्ने सिद्धान्त र नित्सेको ईश्वरको मृत्युको घोषणाजन्य नास्तिक मानवतावादी चिन्तनले प्रभाव पारेको देखिन्छ । अस्तित्ववादको वास्तविक थालनी डेनमार्केली दार्शनिक तथा धर्मविज्ञानी सोरें किर्केगार्ड अवाइ (१८१३–१८५५) बाट भएको हो । यिनलाई अस्तित्ववादी दर्शनका प्रवर्तक पनि मानिन्छ । अस्तित्ववाद आस्तिक र नास्तिक गरी दुई धारामा विकसित भएको देखिन्छ । आस्तिक अस्तित्ववादी धारामा क्रिश्चियन धर्ममा विश्वास गर्ने मानव जीवनलाई ईश्वरसँग जोडेर हेर्ने प्रवृत्ति देखिन्छ । सोरें किर्केगार्ड, कार्ल यास्पर्स , ग्याब्रियल मार्सल आदि यस प्रवृत्तिका चिन्तकहरु हुन् । यिनीहरु ईश्वरको अद्वितीय शक्तिमाथि आस्था राख्छन् र मानव जीवनलाई ईश्वर–संयुक्त पारेर मूल्य दिन्छन् । अस्तित्ववादी धारामा मार्टिन हाइडेगर, जँ पाल सात्र्र र अल्वर्ट कामु पर्दछन् । निरीश्वरवादीहरु ईश्वर तथा परमसत्ताप्रति अनास्था राख्दै व्यक्तिसत्तामा अस्तित्वको स्थापनाका निम्ति प्रयासरत हुन्छन् । यिनीहरु जीवन–जगत् निस्सार, व्यर्थ, निरर्थक, शून्य तथा अर्थहीन भए पनि यसै बीच व्यक्तिसत्ताको स्थापनाका लागि संघर्ष गर्नुृपर्ने बताउँछन् । आस्तिक वा नास्तिक जे भने पनि अस्तित्ववादीहरु चरम व्यक्तिवादी हुन्छन् ।
अस्तित्ववादको खास तात्पर्य ‘अस्मिता’ (म छु वा हुँ ) को बोध हो (त्रिपाठी ः २०५८ः १२९) । यो चरम व्यक्तिवादी चिन्तन हो । यसले म छु, म हुँ भन्दै म जे गर्छु मेरा लागि गर्छु , म जे भोग्छु मेरा लागि भोग्छु , म स्वतन्त्र छु, मेरो स्वतन्त्रताप्रति हस्तक्षेप नगर , जीवन मेरो हो र त्यसको भोक्ता पनि म नै हुँ , मेरा लागि कोहीँ नबोल भन्ने चरम व्यक्तिवादी सोच राख्छ । यसले जीवन र जगत्लाई असङ्गतिपूर्ण तथा विसङ्गत देख्छ अनि जीवन र जगत्लाई तर्क र बुद्धिका आधारमा व्याख्या गर्न नसकिने ठान्छ । यसले जीवन जगत् सारहीन, निराशावादी, निरर्थक , शून्य र व्यर्थ रहेछ भन्ने बोध भयो भने मात्र जीवन र जगत्को सक्कली अनुहारलाई चिन्न सकिन्छ र मात्र अस्तित्वको बोध हुन्छ भन्ने मान्यता राख्छ । यसले मृत्युन्मुखी चेतना सञ्चार गर्छ । त्यसैले नै यसमा जीवनका प्रति उदासीन बन्ने र मृत्युलाई सुमसुम्याउने प्रवृत्ति भेटिन्छ । यसले सŒव (प्रकृति) लाई भन्दा व्यक्तिसत्तालाई प्रश्रय दिन्छ । मान्छेले सŒवको निर्माण गर्न सक्दैन तर आफ्ना व्यक्तिगत सŒवका कारण महामानव बन्न सक्छ भन्ने अवधारणा पनि अघि सार्छ । व्यक्तिले जन्मदै मृत्युलाई लिएर आउने हुँदा उसले आफ्नो स्वतन्त्र इच्छा, स्वतन्त्र निर्णय, स्वतन्त्र चयन, स्वतन्त्र सङ्कल्पका आधारमा आफ्नो वैयक्तिक जीवनलाई अधिकाधिक सार्थक र विशिष्ट तुल्याउनुपर्छ भन्ने पनि यसको मत छ । अस्तित्ववादले जीवनलाई निरुपाय, असङ्गत, विवश र निरर्थक मानेर पनि यसलाई नयाँ अर्थ र मूल्य दिने चेष्टा गरेको छ । मानवमुक्तिमा यस वादको आस्था देखिन्छ । यसले काल्पनिक साहित्य सिर्जनाको विरोध गर्दै दैनिक जीवनसँग सम्बद्ध साहित्यिक लेखनधर्म अँगालेको छ । यसले व्यक्तिलाई स्वतन्त्र निर्णय गर्ने उत्तरदायित्व प्रदान गरेको छ । यसले आन्तरिक परमसत्तालाई नमानी निर्णयशक्ति वा स्वतन्त्र सङ्कल्पलाई महŒव दिन्छ । अस्तित्ववादले मान्छेलाई अस्तित्वपूर्ण प्राणी मानी मानवीय जीवनको नवीन अर्थ तथा मूल्यको खोजी गरेको छ । यसले मानवीय कर्म र उसको प्रगतिलाई स्वीकार गरेको छ । यसले अस्तित्वको अनुभूति मान्छेबाहेक अन्य प्राणीले गर्न सक्दैन भन्ने अभिमत अगाडि सारेको छ ।
अस्तित्ववाद चरम भौतिकवादी, वस्तु वा पदार्थवादी र व्यक्तिवादी चिन्तन हो । यस वादले मानिसलाई सांसारिक प्रवृत्तिको अराजक, उच्छृङ्खल बनाएको छ । यसले मान्छेलाई दुःख, पीडा, पाप, विसङ्गति र अराजकता भोग्न विवश प्राणीका रुपमा अगाडि सारेको छ । अस्तित्ववाद निराशावादी, पयालयनवादी, कुण्ठावादी, अराजक साहित्यिक चिन्तन हो । यसले साहित्यलाई उच्छृङ्खल, पतनशील, अराजक, पथभ्रष्ट, उदासीन, कुण्ठाग्रस्त, भोगवादी, अश्लील बनाएको छ । शिरीषको फूलमा पारिजातले यहीं चेतनालाई प्रशस्त खेल्न तथा मौलाउन दिएकी छिन् ।

१.२ विसङ्गतिवादः

विसङ्गतिवाद बीसौं शताब्दीको युरोपेली साहित्यमा देखापरेको दार्शनिक अवधारणा हो । यसले कुनै वाद वा सिद्धान्तको रुप लिएको भेटिँदैन । विसङ्गतिवाद अस्तित्ववादसँगै विकसित भएको हो । यसले अस्तित्ववादसँग घनिष्ठ सम्बन्ध राख्दछ । अल्वर्ट कामुको प्रसिद्ध निबन्ध सङ्ग्रह त्जभ ःथतज या क्ष्कथउजगक मा विसङ्गतिवादको विस्तृत ढङ्गले व्याख्या गरिएको छ । कामु अस्तित्ववादका चिन्तक तथा प्रयोक्ता पनि हुन् । विसङ्गतिवादको प्रवर्तनमा यिनको भूमिका उल्लेख्य देखिन्छ । त्यसैले यिनलाई विसङ्गतिवादका प्रवर्तक पनि मानिन्छ । विसङ्गतिवादले सन् १९५० र १९६० को दशकमा युरोप तथा अमेरिकाली नाटककार तथा नाट्यकर्मीलाई अत्यधिक प्रभाव पारेको देखिन्छ । यसका प्रयोक्ताहरु युजिन आयनेस्को, स्यामुअल बेकेट, ह्यारोल्ड पिन्टर, फ्रान्ज काफ्का आदि हुन् ।
विसङ्गतिवादलाई दादावाद, अभिव्यञ्जनावाद र अतियथार्थवादले प्रभाव पारेको ठानिन्छ । यस चिन्तनको प्रवर्तनमा अस्तित्ववादले पनि धेरै प्रभाव पारेको देखिन्छ । विसङ्गतिवादका प्रवर्तक अल्त्रर्ट कामु, अस्तित्ववादी चिन्तक जँ पल सात्र्रबाट प्रभावित भएको पाइनुले उक्त कुराको पुष्टि हुन्छ । विसङ्गतिवादलाई अथ्र्याउनुपूर्व अल्वर्ट कामु र युजिन आयनेस्कोले दिएका अभिमत हेरौं–
अल्वर्ट कामु व्याख्या गर्छन्ः
जीवनको अर्थ छ कि छैन भनेर खोजिन्छ भने आत्महत्या जरुरी छ कि छैन भनेर खोज्नु पनि उत्तिकै उचित हुन्छ । विसङ्गतिवादको प्रमुख आधार यसै द्वन्द्वमा अडेको छ । जीवन अर्थरहित छ, तर त्यसको समाधान आत्महत्या होइन । जीवन र आत्महत्या दुई प्रमुख पक्ष हुन् भने विसङ्गतिवादको तात्पर्य आत्महत्या नगरी जीवन भोगाइका क्रममा अनुभूति गर्ने अवस्था हो । विसङ्गतिवादको उत्पत्ति दुई वस्तुको तुलना वा निकटताबाट हुन्छ । कुनै कार्यव्यापार र त्यसलाई अर्थहीन तुल्याउने संसार वा कुनै वस्तु र त्यसको यथार्थका बीचको सम्बन्धबाट विसङ्गति पैदा हुन्छ । यस प्रकारको तुलना नगरी विसङ्गति हुँदैन । तुलना गरिने कुनै वस्तुमा पनि विसङ्गति छैन, तर तिनको प्रतिद्वन्द्वितामा विसङ्गति हुन्छ ।
(शर्मा; लुइटेल, २०६१ ः ३४८)
प्रसिद्ध फ्रान्सेली विसङ्गतिवादी नाटककार आयनेस्को भन्छन्ः
मानिसलाई उसका धार्मिक, आधिभौतिक र लोकोत्तर मूलहरुबाट उच्छेद गरिदियो भने ऊ समाप्त हुन्छ र उसका सबै कार्य व्यापारहरु निरर्थक, विसङ्गत र बेकम्मा हुन पुग्छन् । मानिस अर्थहीनतामा निमग्न हुनु केबल विरुपता हो र उसका भुक्तमानहरु त्रासद् देखिनु केवल उपहास हो ।
(ऐजन)
माथिका कथनहरुले विसङ्गतिवादका बारे स्पष्ट्याउने चेष्टा गरेका छन् । अब विसङ्गतिवादलाई थप स्पष्ट पार्न थालौं । सङ्गतिको परम्परागत केन्द्र ईश्वरको मृत्यु–घोषणा र उत्तरवर्ती सामाजिक मानवीय सङ्गति–सूत्रको विच्छिन्नताको सन्दर्भमा पारम्परिक, आधुनिक र शाश्वत नै पनि मानवीय वृत्तिका चापबाट मान्छेका ऐन्द्रिक, मानसिक र बौद्धिक दुर्वलता–प्रबलताको जुन द्वन्द्व अनुभूत हुन्छ त्यसैबाट विसङ्गतिको दर्शन उद्बुद्ध भएको छ (त्रिपाठी, २०५८ः १०५) । जीवन असङ्गत, नियमहीन, निस्सार, शून्य र अर्थहीन छ भन्ने बोध नै विसङ्गति हो । यसले जीवनमा कुनै किसिमको सङ्गति देख्दैन । ईश्वरीय सत्तालाई अस्वीकार गर्नु, जीवनलाई बुद्धिसङ्गत र व्याख्येय नदेख्नु, मान्छेका सम्पूर्ण आदर्श, मूल्य र आस्थाहरु भत्किएको अनुभव गर्नु, मान्छेको जीवनलाई मिल्किएको र असङ्गत देख्नु, परम्परित नैतिक मूल्य–मान्यतालाई भ्वाङ परिसकेको ठान्नु यसका विशेषता हुन् । विसङ्गतिवादले मान्छेको जीवनलाई मूल्यहीन ठान्छ । यसले मानिस जन्मन नचाहाँदा – नचाहँदै पनि जन्मने, मर्न नखोजे पनि मर्ने, उसलाई आफू जन्मनुपूर्वको र मृत्युपरको अवस्थाबारे जानकारी नहुने, ऊ सधैं जन्म र मरणको दोसाँधमा छट्पटाउने भएकाले उसको अस्तित्व नै विसङ्गत छ भन्ने ठान्छ । यसले मानिसले कुनै वस्तुलाई पनि पूरै नजानी ऊ एक पक्ष मात्र जान्दछ साथै उसले अज्ञानता नै अज्ञानतामा जिउँनु पर्छ भन्ने धारणा पनि अघि सार्छ । यसले मानिसले जीवनमा स्थायित्व र वैशिष्ट्य प्राप्त गर्न उसले आफ्नो इच्छाशक्ति उपयोग गर्छ तर यसबाट ऊ झन्–झन् विसङ्गतिमै फस्दै जान्छ र उसका कार्यव्यापार झनै निरर्थक बन्न पुग्छन् भन्ने धारणा राख्छ । मानिसको जीवन जान्न नसकिने भएकाले वा मान्छेले आफ्नो जीवन जान्न नसक्ने भएकाले उसको अस्तित्व नै विसङ्गत छ भन्दै यसले मानिसले आफ्नो जीवनमा स्थायित्व वा वैशिष्ट्य पाउन नसकी निराशावस आत्महत्या गर्न पुगे ऊ विसङ्गतिकै अवस्थामा पुग्छ तथा यसो नगरी भ्रमवश कुनै धर्म अवलम्बन गर्न पुगे उसले आफ्नो विवेकलाई झुक्याउन पुगी झनै विसङ्गतिमा फस्छ भन्ने मत राख्छ ।
विसङ्गतिवाद मान्छेको जीवनलाई मूल्यहीन र सारहीन देख्ने चिन्तन हो । यो चरम निराशावादी र पलायनवादी जीवनदर्शन हो । यसले जीवनका प्रति कत्ति पनि अनुराग राख्दैन । यो पनि अस्तित्ववादझैं मृत्युन्मुखी चेतना हो । यसले पनि व्यक्तिवादलाई प्रश्रय दिने काम गर्छ । यसले अस्तित्ववादका झैं अस्तित्वको अभिलक्षण पीडा र विसङ्गतिमै खोज्छ । यसले अस्तित्ववादका झैं व्यक्तिसत्तालाई महŒव प्रदान गरेको छ । यो पनि चरम भौतिकवादी वा वस्तुवादी चिन्तन हो । विसङ्गतिवादी कला अमानवीय र प्रस्तुतिमूलक हुन्छ । यिनीहरु आफ्नो कलालाई ‘यो जीवन हो’ भन्नुभन्दा जीवनबारे यो मेरो कृति हो’ भन्न चाहन्छन् (पूर्ववत्ः १०८) । यिनीहरु कला वा सिर्जनालाई मानव निर्मित जीवन ठान्छन् वा जीवनका बारे कलाकारको प्रस्तुति वा चिन्तन ठान्छन् । यिनीहरु कलामा जीवन दृष्टिको प्रस्तुति गर्ने ध्येय राख्छन् । यिनीहरु आफ्ना विचारलाई अतार्किक, विशृङ्खल, प्रतीकात्मक र अमूर्त ढङ्गले व्यक्त गर्ने हुँदा दुर्बोध्य बन्छन् । विसङ्गतिवादी दर्शनका अघिल्तिर ईश्वरको सत्ता विघटन भएको छ, जीवनलाई बुद्धिसङ्गत र व्याख्येय देख्ने हेगेलीय दर्शन ढलेको छ भने मानवीय मूल्य र महिमा चिप्लिएका छन् । यो दर्शन बुझ्नुमै समाप्त हुन्छ; यसलाई बुझ्न खोज्दा पाठक वा दर्शक केही सिक्न असमर्थ हुन्छन् । यो दुर्बोध्य भएकाले यसलाई बुझ्न खोज्नु नै विसङ्गति बोध हो । विसङ्गतिको बोध हुनु नै केही कुरा सिकिनु हो । यो दर्शन यस्तै जटिलतामा जेलिएको छ ।
विसङ्गतिवादले जीवनलाई उराठ, एकरस, सन्त्रस्त र मोहभङ्ग बनाएको छ । विसङ्गतिवादका धेरै अभिलक्षणहरु आस्तित्ववादसँग मिल्ने भएकाले यसलाई आस्तित्ववादसँग गाँस्ने प्रचलन पनि देखिन्छ । नेपाली साहित्यमा मोहन कोइराला, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, बैरागी काइँला, विजय मल्ल , पारिजात , धु्रवचन्द्र गौतम, शंकर लामिछाने आदिका कविता आख्यान तथा निबन्धमा यो चेतना सलबलाएको देखिन्छ । पारिजातको शिरीषको फूलले यो दर्शनलाई चरमतातिर पु¥याएको छ । अस्तित्व तथा विसङ्गतिवादको चर्चापछि अव अभिघात सिद्धान्त बारे केही चर्चा गरौं ।

१.३ अभिघातः
अभिघातको शब्दिक अर्थ भय र आतङ्कबाट सिर्जना हुने शारीरिक एवं मानसिक विचलन हो । अङ्ग्रेजीमा ट्रौमा थ्योरी भनिने अभिघात सिद्धान्तले द्वन्द्व वा युद्धबाट उत्पन्न शारीरिक एवं मानसिक विचलनका अनेक स्थितिलाई बोध गराउँछ । अभिघात एक किसिमको पक्षाघातको, असन्तुलनको, विचलनको, विस्मृतिको स्थितिमा पुग्ने अवस्था हो । युद्धद्वारा सिर्जित त्रासद् पूर्णाहुति र आत्महत्या भोगेर बाँचेका पात्रहरुले युद्ध वा द्वन्द्वका बारे गरेका वृत्तान्त तथा तिनैसँग सम्बद्ध आख्यानबाट अभिघात सिद्धान्तले जन्म लिएको हो । खास गरी यस चिन्तनको सुरुवात प्रथम विश्वयुद्धको त्रासद् वा भयङ्कर विभीषिकाबाट भएको देखिन्छ । द्वितीय विश्वयुद्धको प्रलयकारी अमानवीय नरसंहारबाट यो चेतना झनै विकसित हुन थालेको हो । दुई दशक पुग्यो– अभिघात सिद्धान्त अध्ययन र अनुसन्धानको विषयको रुपमा स्थापित भइसकेको छ (भट्टराईः २०६४ः२२८) । यसले हाल युद्ध वा द्वन्द्वसँग सम्बद्ध सिर्जनाको मूल्याङ्कन गर्दछ ।
पहिला शारीरिक क्षति सङ्केत गर्ने छेडिएको, चोटपटक लागेको, घाइते भन्ने अर्थ सम्प्रेषण गर्नका निम्ति अभिघात शब्दको प्रयोग हुन्थ्यो । नेपाली बृहत् शब्दकोशमा पनि अभिघातको यस्तै अर्थ छ । अहिले अभिघातले बाह्य शारीरिक क्षति मात्र नबुझाई स्नायविक, मानसिक र मनोवैज्ञानिक क्षति वा चोट भन्ने अर्थ सम्प्रेषण गर्दछ । उन्नाइसौं शताब्दीदेखि अभिघात वा ट्रौमाको अर्थमा यस्तो खाले हेरफेर देखिएको हो । अहिले आएर अभिघातले व्यक्तिले भोगेका मानसिक आघातदेखि लिएर सार्वजनिक जीवनसम्म छोएको छ (ऐजन) । यसअन्तर्गत हिस्टेरिया, सम्मोहन, आत्मविस्मृति, निद्रा नलाग्ने, बहुलापन, यौन दुराचारीका सिकार, मनोरोगी सबै पर्दछन् । अभिघातका प्रथम र डरलाग्दा उदाहरण प्रथम विश्वयुद्धदेखि नै प्रांप्त हुन थालेका हुन् । त्यसो त पूर्व र पश्चिमका रामायण, महाभारत, इलियाड, ओडिशीजस्ता काव्यकृतिहरुमा द्वन्द्व वा अभिघातले प्रशस्तै खेल्ने मौका पाएको देखिन्छ । विश्व साहित्यमै द्वन्द्व वा युद्धले प्रभाव नपारेको कहाँ छ र ! अघिभात सिद्धान्तप्रति अत्याधुनिक दृष्टिकोण निर्माण गर्नमा डेरिडा र अमेरिकाको ‘येल स्कुल’ को ठूलो हात छ (पूर्ववत्ः २३१) । पौल डिम्यान, जोफ्रे हार्टम्यान, हिलिस मिलर, ह्यारोल्ड ब्लुमजस्ता व्यक्तित्वहरुको पनि यस सिद्धान्तको निर्माणमा ठूलो हात छ । अहिले अभिघात सिद्धान्त अध्ययन र अनुसन्धानको प्रमुख विषयका रुपमा स्थापित भैसकेको छ । हरेकजसो विश्वविद्यालयहरुमा यसको अध्ययन, अध्यापन गरिनु, सिर्जना र समालोचनाका क्षेत्रमा यसको प्रयोग हुनु उपलब्धिमूलक कार्य हुन् ।
अभिघात चेतनाबारे प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायडका पालादेखि नै अध्ययन विश्लेषण हुँदै आएको हो । फ्रायडले अभिघात शारीरिक र मानसिक हुन्छ भनेका छन् । यस्ता अतीन्द्रेयसंवेदी अभिघातले भय, चिन्ता, लज्जा र शारीरिक पीडाका असह्य स्थिति उत्पन्न गराउँछन् । कतिको लागि त आघातको अस्तित्वभन्दा पनि त्यसको भयप्रद सम्झना नै बढी त्रासद् हुन्छ । त्यसले जीवनभरि पात्रलाई खेदिरहन्छ भने साँच्चै त्यस्ता परिस्थितिका सिकार भएका हरु ता सधैं विक्षिप्त र विचलित हुन्छन् सधैं सन्त्रस्त र असन्तुलित (ऐजन) । उदाहरणका लागि यौनदुराचारको सिकार बनेका बालबालिका तथा महिलाहरु त्यसको अज्ञात भयबाट कदापि मुक्त हुन सक्दैनन् । यस्ता गम्भीर आघातलाई सामान्य मानसिक प्रक्रियाले पत्ता लगाउन सकिंदैन ।
अभिघात द्वन्द्व र युद्धसँग सम्बन्धित छ । दुई वा दुईभन्दा धेरै व्यक्ति वा वर्गका बीच जुन संङ्घर्ष हुन्छ त्यो द्वन्द्व कहलाउँछ (गौतमः २०६४ः३६७) । अभिघातले द्वन्द्व तथा युद्धको चित्रण र विश्लेषण गर्दछ । त्यसैले यसलाई द्वन्द्व साहित्य वा युद्ध साहित्य पनि भन्न सकिने स्थिति छ । युद्ध वा द्वन्द्वलाई साहित्यिक कृतिले कसरी चित्रण वा विश्लेषण गरेको छ त्यसको मूल्याङ्कन गर्छ अभिघात सिद्धान्तले । युद्ध बाहिरी पनि हुन सक्छ, भित्री पनि । बाहिरी युद्धलाई अर्काेले पनि देख्न सक्छ, जहाँ हात हालाहाल हुन्छ, कुस्ताकुस्ती हुन्छ, मुक्कामुक्की हुन्छ अथवा हतियारको प्रयोग हुन्छ । मान्छेको भित्री मनमा जुन युद्ध चल्दछ त्यो मनोवैज्ञानिक युद्ध हो जो साधारण कोटिको हुन सक्छ र जटिल पनि हुन्छ सक्छ (पूर्ववत्ः ३६८) । युद्ध साहित्यमा यिनै आन्तरिक र बाह्य पक्षका युद्ध वा द्वन्द्वको चर्चा हुन्छ ।
द्वन्द्व वा युद्धलाई विषयवस्तु बनाएर साहित्य सिर्जना गर्ने प्रचलन नौलो होइन । पूर्वका प्राचीन वा आदि ग्रन्थ रामायण र महाभारतमा युद्ध वा द्वन्द्वकै चर्चा गरिएको कुरा माथि नै उल्लेख गरियो । जहाँ राम र रावणका बीचको, कौरव र पाण्डवका बीचको युद्धको चर्चा छ । पश्चिमका होमरीय इलियाड र ओडिशी पनि ट्राय पतनको विषयवस्तुलाई लिएर रचना गरिएका साहित्यिक कृति हुन् । प्रस्तुत कृतिहरुमा युद्धलाई उल्लास र रोमान्सका रुपमा लिइएको छ । त्यहाँ युद्धलाई असत्यको हार र सत्यको जीतका निम्ति अपरिहार्र्य ठानिएको छ । यी युद्धहरुमा साहस र वीरताका कुरा छन्, जीत र हारका कुरा छन्, विजयोत्सव र मानवीय धर्म तथा आदर्शका कुरा छन् । त्यस्ता युद्धजन्य कृतिहरु अभिघातीय चेतनाभित्र पर्दैनन् । अभिघातमा युद्धका पीडा हुन्छन्, लुटपात, चोरी, डकैती, अपहरण, बलत्कार, हत्या, नरसंहार, प्रतिशोध, भय, आतङ्क, सफाया, बलजफ्ती, कैद, गृहनिकाला, कानुनी शासनको तिरस्कार, परिवारको बिचल्ली, बम र बारुदको विस्फोट, मान्छेका लासको दुर्गन्ध, सुराकी, अङ्भङ्ग, नाकाबन्दी, वैधव्य, अनाथत्व आदिले जन्माएका शारीरिक र मानसिक आघातका कुरा हुन्छन् र यसले जन्माएका कहिल्यै नमेटिने भौतिक तथा मानसजन्य क्षति हुन्छन् ।
द्वन्द्व साहित्यमा युद्ध वा द्वन्द्वमा संलग्न दुवैथरिका ज्यादतीका कुरा हुन्छन् । जहाँ आफ्ना विरोधीहरुप्रति गरिएका अमानवीय र नृशंस तथा वीभत्स कारवाही तथा हत्याका शृङ्खला हुन्छन् । द्वन्द्व साहित्यमा आघात वा क्षति बोहोर्ने पात्र द्वन्द्वमा संलग्न– असंलग्न दुवै हुन्छन् । यस्तो आघातबाट द्वन्द्वमा संलग्नभन्दा असंलग्न व्यक्ति वा पात्र बढी पिरोलिन्छ । द्वन्द्वमा संलग्न पुरुषको अङ्गभङ्ग वा मरणबाट उसका साथै उसका परिवाजन बढी अत्तालिन्छन् । श्रीमान्को मृत्युले श्रीमती अनाहकमा सिन्दुर पुछ्न बाध्य हुन्छे । छोराछोरीहरु अनाथ बन्छन् । इष्टमित्रहरु मानसिक तापमा पर्छन् । युद्ध वा द्वन्द्वले एक पक्षको वा एउटाको मात्र क्षति गर्दैन । यससँग सिङ्गो मानव समाज या समुदाय पनि प्रकारान्तरले संलग्न हुन पुग्छ, गाँसिन जान्छ । युद्धमा संलग्नहरुले सुराकीको आरोपले, चन्दा दिए वा नदिएको कारणले, विरोधीको आशंकाले कसैलाई झुण्ड्याउँछन्, कसैलाई हातखुट्टा भाँची मार्छन्, कसैलाई छाला काढी सिध्याउँछन्, कसैलाई सामूहिक बलत्कारपछि हत्या गर्छन्, कसैलाई टुहुरा बनाउँछन्, कसैको सिंन्दूर पुच्छन्, कसैलाई शरणार्थी बनाउँछन्, कसैलाई मार्ने धम्की दिन्छन्, कसैका घरबास लुट्छन्, कसैलाई कैदी बनाउँछन्, कसैलाई निर्मम यातना दिन्छन्, कसैलाई जिउँदै गाड्छन्, कसैलाई बमले उडाउँछन्, कसैलाई गोलीको सिकार बनाउँछन्, कसैलाई जलाउँछन् त कसैलाई धरापमा पार्छन् । हत्या, अत्याचार वा आतङ्कका यस्ता अनेकौं श्रृङ्खलाहरु हुन सक्छन् जसले व्यक्ति परिवार र समुदायलाई पछिसम्म पनि आतङ्कित र भयवीत तुल्याइरहन्छ । अभिघातले यस्तै किसिमको सामग्री टिप्छ, बुन्छ अनि एउटा सिङ्गो संरचना तयार पार्छ । जसको व्याख्या वा विश्लेषण गर्ने जिम्मा लिन्छ अभिघात सिद्धान्तले । युद्ध वा द्वन्द्वका यस्ता भयावह रुपहरु हामीले प्रथम र द्वितीय विश्वयुद्धमा देख्यौं, भोग्यौं । बीसौं शताब्दी मानव इतिहासमै एउटा त्रासद् र कहालिलाग्दो समय बनेर आइदियो । युद्धका यस्ता शृङ्खलाहरु जर्मनीको कन्सन्ट्रेसन क्याम्पमा, साइबेरियाको चिसो हिउँमा, तियानमेन चोकमा, भियतनाम युद्धमा, कार्गिलमा, भाइकिङका आक्रमणमा, एजिन्कोर्टको युद्धमा, क्रिमियाको युद्धमा, खाडी युद्धमा, इराक आक्रमणमा , ताजाकिस्तान–लेबनान–बुरुण्डी–सेरालियोन–सोमालिया–बोस्निया–हर्ज–गोविना, लिबिया आदि स्थानमा चलेका गृहयुद्ध, जातियुद्ध तथा नरंहारमा हामीले देखिरहेका छौं, भोगिरहेका छौं । हाम्रा सामु २०५२ फागुन १ देखि सुरु भएको माओवादी जनयुद्ध र सरकारी दमनका कुराहरु आलै छन् । युद्ध साहित्यअन्तर्गत युद्ध उन्मादी नाराहरु, भाषण, पर्चा, पम्पलेटहरु, विजयको भ्रान्ति छर्न रचिएका जुक्तिहरु तथा अनेकौँ विजयगाथाहरु पर्दैनन् । यिनीहरुलाई साहित्यको दर्जा दिइन्न र रचना गर्नुको कुनै तुक र तर्क पनि हुन्न ।
अहिले आएर युद्ध साहित्यमा कलम चलाउनेहरु प्रशस्त भैसकेका छन् । नेपाली साहित्यका हरेकजसो विधामा यस चेतनाले आफ्नो उपस्थिति जनाइसकेको छ । नेपाली साहित्यको आख्यान विधा अभिघात चेतनाका दृष्टिले अन्य विधाको सापेक्षतामा धेरै माथि देखिन्छ । पल्पसा क्याफे, सुकरातका पाइला, द्वन्द्व र युद्धका कथा, समकालीन द्वन्द्वकथा, छापामारको छोरो, उर्गेनको घोडा, छापामार युवतीको डायरी, समय त्रासदी आदि यसका केही उदाहरण हुन् । जसले नेपाली द्वन्द्व साहित्यको उचाइलाई केही हदसम्म माथि उठाएका छन् । कविता विधामा धर्मेन्द्रविक्रम नेम्वाङको भगवान्को आत्महत्याको जग्गा, रामेश्वर राउत ‘मातृदास’को गाउँका आँखामा, हरिराज भट्टराईद्वारा सम्पादित ‘सेतु’, रुपक वनवासीको अवरुद्ध गलाहरु, धर्मेन्द्र विह्वलको शहरः दुई चित्र आदि यसका उदाहरण हुन् । नेपाली साहित्यमा यस्ता कृतिहरु अरु पनि छन् ।

१.४ शिरीषको फूलमा अन्तर्निहित अभिघातः
‘शिरीषको फूल’ अभिघातीय चेतनाले रचिएको कृति पटक्कै होइन । यसमा अस्तित्व तथा विसङ्गतिवादी चेत सलबलाएको कुरा माथि नै उठाइसकियो । उपन्यासको विषय, यसमा आएका पात्र, घटना, पात्रहरुको कार्यव्यापार, उपन्यास लेखनको उद्देश्य, यसमा प्रक्षेपित जीवनदृष्टि आदि कुराले उक्त कुराको पुष्ट्याइँ दिन्छन् । आफ्नै निम्ति फुल्ने, आफ्नै निम्ति फक्रने, झर्ने जस्तो बाध्यतालाई स्वीकार गर्नका निम्ति भवँराको लाप्पा वा चोट नसही आफू मात्रै झर्ने, आफ्नै इच्छा वा रहरले झर्ने’ भन्ने चेतना विसङ्गतिवादी हो । यस्तो जीवनप्रतिको निराशावादी, निस्सार तथा शून्य भावना विसङ्गतिबोधबाट जन्मन्छ । उपन्यासमा यस्तो निस्सार र शून्यताको प्रस्तुति सकम्बरी, सुयोगवीर र शिवराजको कार्यव्यापारबाट गरिएको छ । सकम्बरीले इन्सेक्ट किलर सुनगाभाका फूलहरु रोप्नु, आफ्ना परिवारका सदस्यप्रति बेपर्वाह रहनु, जन्मोत्सवमा शिवराजले दीर्घायुको कामना गर्दा रिसाउनु, अटुटरुपमा चुरोट सेवन गरेको देखी सुयोगले ‘क्यान्सर लाग्ला हैै’ भन्दा स्वागत छ भन्नु, आफ्नी बहिनी सानु पोइल जाँदा ‘मात्तिएकी ठिटी, कत्रो हतार परेको विहे गर्नलाई’ भन्ने प्रतिक्रिया दिई त्यसपश्चात् उसको नाम नै नलिनु, आफ्नो दाजु शिवराज र उसको साथी सुयोगवीरलाई ‘शिव र सुयोगजी’ भनी सम्बोधन गर्नु, मधेस गई लामो कपाल बनाएर आएकी सकम्बरीलाई सुयोगले राम्री ठानी ‘बरी तिमीलाई केश पालेको कति सुहाएको छ, अब त पाल्ने गर है !” भन्दा उसले एक इन्चको हिसाबले छाँटी मुडुलिएर बस्नु, सुटमा सजिएर आफ्नो घरमा आएको सुयोगलाई ‘आजभोलि सुट पनि फेरी–फेरी लाउनुहुन्छ, कुन्नि है सुयोगजी ! बुढेसकालमा के–के गर्न आट्नुभो’ भनी छेड हान्नु, आफूलाई आत्मैदेखि प्रेम गरिरहेको सुयोगले आवेगमा आई चुम्बन गर्दा त्यसैका कारण सुकेर मर्नु, सुयोगवीर आफूभन्दा २२ वर्ष कान्छी सकम्बरीप्रति आकर्षित भई एकाकी प्रेम गर्न थाल्नु, सैनिक छँदा डेथ भ्यालीमा ३ जना युवतीको सतीत्व हरण गरी नृशंस ढङ्गले मार्नु, सकम्बरीलाई प्रेम गरी मुजुरालाई स्वास्नी बनाउने परिकल्पना गर्नु, सकम्बरी अप्राप्य छे, ऊसँग आफ्नो सम्बन्धले स्थायित्व लिन्न भन्ने जान्दा–जान्दै पनि ऊप्रति आकर्षित हुनु, शिवराजले नजानिँदो तरिकाले आफ्नी बहिनी सकम्बरीसँग प्रेम गर्नु, ऊ मरे आफूले पनि आत्महत्या गर्ने बताउनु तर बरी मरे पनि बाँचिरहनु, बहिनी बरीको फोटो पकेटमा राखेर हिंड्नु, क्षयरोगले ग्रस्त पसल्नीले भर्खरको ठिटोसँग प्रेम गर्नु, ठिटो आफूभन्दा निकै पाकी क्षयग्रस्त पसल्नीप्रति आकर्षित हुनु आदि उपन्यासमा व्यक्त विसङ्गतिका दृष्टान्त हुन् । उपन्यासमा कहीं कतै सङ्गति देखिन्न । उपन्यासका केन्द्रीय पात्रहरुको नाममा समेत सङ्गति छैन । सिर्जना र उर्वरताकी प्रतीक शाकम्भरी मातृवात्सल्य नभएकी, विवाह गर्न, सन्तान जन्माउन अनिच्छुक बाँझी छे । सुयोगको जीवनमा दुर्याेगभन्दा अर्थाेक देखिन्न, शिवराज महेश, महादेव, महेश्वर आफ्नी बहिनीलाई प्रेम गर्छ; उसका तस्वीर खल्तीमा राखेर हिड्छ; यो कत्रो विरोधाभास, कस्तो उपहास ! सकम्बरीको जिन्दगी अत्यन्तै स्वेच्छाचारी र स्वच्छन्द देखिन्छ । यो अत्यन्तै व्यक्तिवादी छ । जीवनको कुनै अर्थ नदेख्ने यसले मृत्युन्मुखी चेतना बोकेकी छ । जीवनलाई निस्सार र शून्य देख्ने बरी चुरोटको धुँवा र निकोटिनसँग जीवन साट्ने पात्र हो । यसको जिन्दगी अत्यन्तै निरस र उदेकलाग्दो देखिन्छ । यसले इन्सेक्ट किलर सुनगाभा हुर्काएर, चुरोटको धुँवाजस्तै उडेर जीवन जिउँने कला सिकेकी छ । आफ्नै निमित्त बाँच्नु, आफ्नो रहरले बाँच्नु, मृत्युजस्तो विवशतालाई आफ्नै इच्छाले भोग्नु, यसमा सलबलाएको अस्तित्ववादी चेत हो । यिनै र यस्तै अस्तित्व तथा विसङ्गतिवादी जीवन दर्शनको पेरिफेरिमा उपन्यास हिँडेको छ । भ्रमरको एक चुम्बनमै झर्ने शिरीषको फूलजस्तो सकम्बरीको जीवनले यस्तै विसङ्गत र अस्तित्ववादी चेत बोकेको छ ।
अस्तित्व तथा विसङ्गतिवादी जीवन दर्शनको दृष्टिबाट शिरीषको फूलको टिप्पणीपछि अब यसमा अभिव्यञ्जित अभिघात चेतनातर्फ लागौं । अभिघात युद्ध उन्मादका कारण व्यक्ति वा पात्रका मनमा सिर्जित मानसिक आघात वा ताप पनि हो । युद्धले शारीरिक वा भौतिक क्षति मात्र नगरेर इन्द्रीयसंवेदित मानसजन्य क्षति समेत गर्दछ । शिरीषको फूलमा द्वितीय महासमरमा लडेको, त्यसको भयावह स्वरुपलाई नजिकैबाट नियालेको, भोगेको पात्र सुयोगवीर छ । उसले विश्वयुद्धका त्रासदीहरुलाई डेथ भ्याली, कचीन बस्ती, आसामको सीमाना, विषुवत् जङ्गलमा भोगिसकेको छ । ऊ युद्धमा संलग्न सैनिक हो । बेलायती वा अङ्ग्रेज फौजको नेतृत्व गरी लडेको उसको वृत्ति जापानीहरुबिरुद्ध धावा बोल्नु हो । युद्धमा संलग्न व्यक्तिको वृत्ति कि अर्कोलाई सिध्याउनु हुन्छ कि आफै सिद्धिनु । सुयोगले आफ्नो सैन्य जीवनमा आफ्ना कुनै पनि दुश्मनलाई मार्न, दाग्न सकेन । युद्धको नाम लिने बित्तिकै उसमा उब्जने कायरपन, नामर्दी तथा हीनभावहरु यसैका उपज हुन् । स्क्याबिज वा लुतो लागेर पेन्सनमा घर फर्केको सुयोगका साथमा विश्वयुद्धका ताजा स्मृतिहरु छन् । उसले बारम्बार माखरिङ्गको जङ्गल, कचीन बस्ती, पिडा गाउँ, डेथभ्याली, विषुवत् जङ्गल सम्झिरहन्छ । उसका मानसमा युद्धले छोडेका नामेट स्मृतिहरु छन् जसले उसलाई बारम्बार झस्काइरहन्छन्, तर्साइरहन्छन् । युद्धमा न त जित्नेले केही पाउँछ, न त हार्नेले नै । युद्धले कसैलाई हित गर्दैन । युद्ध कसैको पक्षमा हुँदैन । उपन्यासमा युद्धका त्रासदीहरुलाई यसरी उजागर गरिएको छ ।
“ मेरोसाथीलाई निद्रा पर्दैन र सन्नाटालाई चिर्दै ऊ मलाई बोलाउँछ, “सुयोग !”
“हँ, किन बोलाएको ?”
“तिमी निदाएका छैनौ? युद्धले हाम्रो के हाल बनायो हगि ? बाँचेर पुग्न सकौंला के हामी ?”
“के मरेर पुग्ने आशा गरेका छौ ? जिउँदै पुग्छौं, हरेश नखाऊ । “............. ” यो लडाइँ जित्नु र हार्नुसँग हाम्रो के स्वार्थ ? बाँचेर, गयौं भने पनि हाम्रो विश्वासको आधार केही हुने छैन । विशेष मेरो, विशेष मेरो अँ मेरो (पृष्ठ–४५) । युद्ध गर्न मन छैन । तर लडिरहनु परिहेछ, लडेको आफ्ना लागि पनि होइन तर समर्पित भैरहनु परिरहेछ । सैन्य जीवनको यो कस्तो विवशता । लडेर आफूले पाउने पनि केही होइन, तर मार्नु परिरहेछ; मार्ने रहर नहुँदा–नहुँदै पनि । प्रस्तुत उद्धरणमा युद्धमा समर्पित सैनिकको मनोविज्ञान छ । यस्तो मनोविज्ञानमा द्वन्द्वको खेल छ, अनि हारजीतका लागि थापिएको ज्यानको बाजी । शत्रुता एउटामाथि हुन्छ, त्यसको भोक्ता अर्कै बन्छ । यो कस्तो विडम्बना, कस्तो आश्चर्र्य ! दोस्रो विश्वयुद्ध साम्राज्यवादी शक्तिराष्ट्रहरु बीचको आपसी मनमुटाव र वैरभावको परिणति
थियो । यसैको पाश्र्वमा थिए हिटलरको उग्र सैन्य तथा राष्ट्रवाद, गुटबन्दीको होडबाजी र तुष्टिकरणका नीतिहरु ।
शिरीषको फूलमा द्वितीय महासमरका वीभत्स र कहालिलाग्दा दृश्यहरु पनि छन् । यहाँ तिनै दृश्यहरुलाई आभिघातीय चेतनाले हेर्न थालिएको हो । अघि नै भनिसकियो कृति अभिघात चेतनाले रचना गरिएको होइन भनेर । कृतिको केन्द्रमा अस्तित्ववाद र विसङ्गतिवाद भए पनि ती चेतना जन्मन जन्माउन अभिघातले सघाएको छ यी दुवै चेतना द्वितीय विश्वयुद्धपश्चात् जन्मिएका हुन् । यो चेत जन्मिन महासमरका त्रासद् र वीभत्स दृश्यहरुले सघाएका छन् । मान्छेको आस्थाको केन्द्रमा रहेको ईश्वर वा अध्यात्म दोस्रो विश्वयुद्धपछि नै ढलेको हो । हाम्रा परम्परित मूल्य र आदर्शहरु द्वितीय महासमरपछि नै पाखा लागेका हुन् । मान्छेको मूल्य वा गरिमा पनि यही बखतदेखि नै चिप्लिएको हो ।
विश्वयुद्धमा अङ्ग्रेज वा ब्रिटेनको पक्षबाट जापानका विरुद्ध धावा बोल्न सामेल भएको सुयोगवीरले युद्धका वीभत्स त्रासदीहरु भोगेको छ । नरसंहारका लागि खसाइएका बमहरुले प्रकृति समेत उजाडिएको दृश्यलाई सुयोग यसरी प्रस्तुत गर्छ ः– “हाम्रो देशमा गुराँसको बोट यति पुड्को हुँदैन । मलाई घरको सम्झना आउँछ । रूँन मन लाग्छ गुराँसको फेदमा । एउटा ओसिलो ठाउँ, हिमाली चिसो हावा, हरियो बगेको पानी पार्थक्यको कत्रो अभिशाप ! हरे ! घामले डढेको ढुङ्गे गोरेटो, बलमे घाइते बनाएका गुराँसका बोटहरु, यिनीहरुकै फोसिलले एक दिन शायद देखाइदिनेछ हामी कत्रो अभिशाप खेपेर जीवन नाउँको बोझलाई काँधमा हालेर यहाँ हिंडेका थियौँ” (पृष्ठ ४६) । सुयोगले वर्णन गरेका युद्धका खतहरु कति मार्मिक छन् । मान्छेसँग पो दुश्मनी थियो प्रकृतिमाथि पनि किन यत्रो
अभिशाप । युद्ध जित्नका लागि अनेकौं खेल खेलिन्छ, जाल बुनिन्छ र टुनामुना रचिन्छ । दोस्रो विश्वयुद्धमा अनाहकमा ज्यान गुमाएका २ करोड २० लाख जति मानिसहरु, अनुमानित ११०० खरब डलरको खर्च तथा सदाका लागि बाझा बनाइएका जापानका हिरोसिमा र नागासाकीजस्ता सहरको क्षतिले यहीं कुरा बताउँछन् ।
सुयोग पनि कहाँ राम्रो सिपाही हो र ! युद्धको मौका छोपी उसले तीन–तीन जना नारीको अस्मिता लुटेको छ । युद्धमा बलजफ्ती र बलत्कारका घटना कस्ता हुन्छन्् सुयोग आफै भन्छ– “जूनमा टलक्क टल्केको मेरो कभरपेटी देखेर ऊ झस्कन्छे र आफ्नो तीर सोझ्याएर मलाई हेर्छे । मेरो सङ्गीन र बन्दूक देखेपछि उसले आफ्नो तीर थन्क्याउँछे म उसको अघि पुग्छु, रात, सन्नाटा, ऊ र म, मलाई मीठो सपनाजस्तै लाग्छ त्यो क्षण । म आफ्नो भाषामा उसलाई फकाउन थाल्छु ......... ऊ मलाई बुझ्दै नबुझी बसिरहन्छे । क्रमशः मलाई दिक्क लाग्दै आउँछ । हामी मर्दैछौं र यो एक रात मलाई देऊ भनी याचना गर्छु, ऊ नटेरेर उठ्न खोज्छे ।
म उसलाई अँगाल्न झम्टन्छु ऊ विरोध गर्दै घचेट्छे । म उसलाई अँठ्याउन असमर्थ हुन्छु, मलाई पछारेर ऊ जान्छे, तर म परास्त हुन्नँ । ......... । लगत्तै उठ्छु, पछिबाट उसको छरिएको चुल्ठो समातेर उसको कमलो ओठमा मुक्का हान्छु । ओठमा एक धर्साे रगत बग्छ । ............ म मात्तिइन्छु, असह्य हुन्छु अनि म राइफलको बडले टाउकोमा हिर्काएर उसलाई बेहोश बनाउँछु । ऊ झ्याङमाथि सर्लम्म ढल्छे । यसरी ऊ मेरी हुन्छे, सम्पूर्ण मेरी । यो अनकन्टारमा को छ र ? कसले देख्छ र ? जसरी खेले पनि हुन्छ यो जिउँदो लाशसित । ....... उसलाई म खेलाउन थाल्छु । एउटी नाङ्गो स्वास्नीमान्छेको शरीरसँग रातभरि द्वन्द्व गरेर बस्छु । उसका प्रत्येक अङ्गसँग खेल्छु, प्रत्येक सुख भोग्छु । .......... उसको नाङ्गो छाती आफ्ना बर्बर हातहरुले चिथोरेर रक्ताम्मे पारिदिन्छु । क्रमशःउसका ओठ, गाला र गर्धन टोकेर रक्ताम्मे पारिदिन्छु ।” (पृष्ठ ३६÷३७) । ओहो ! कति वीभत्स खेल, कति कहालिलाग्दो दृश्य । हेडहन्टरकी छोरीसँग सुयोगवीर खेलेको खेल हो यो । युद्धका बेला खेलिने बलत्कारका, हत्याका र बलजफ्तीका खेलहरु यस्तै हुन्छन् । मानिसलाई उत्तेजना, आवेग र युद्धको उन्मादले कति नृशंस बनाउँछ भन्ने दृष्टान्त हो यो । यस्ता अमानवीय तथा नृशंस खेलहरु हामीले पचासको दशकपछि भोग्दै र झेल्दै पनि आइरहेका छौं । शिवपुरीमा प्राप्त मुकुट्टाहरुले अझै पनि हामीलाई त्यसैको याद
दिलाइरहेछन् ।
युद्धको उन्मादले मानिस पशु बन्छ । कुनै बखत त ऊ जङ्गलीहरुको सीमालाई समेत उल्लङ्घन गर्न पुग्छ । युद्ध उन्मादी क्षणहरु निकै काला हुन्छन् । माखरिङ्गको रमाइलो कचीन बस्तीमा कचीनठिटीप्रति सुयोगले प्रदर्शित गरेका तलका उद्धरणहरुले त्यही बताउँछन् ।
“के छ यार ! शिकार पाएन जस्तो छ नि !” एउटा साथी कान कानसम्म हाँसेर जान्छ । “शिकारको के दुःख यार !” भन्दै म एउटा गुलाफको कोपिलालाई ओठमा जोरेर राख्छु, हत्केलाभित्र रगड्छु अनि बुटले कुल्चिदिन्छु । ................... पहेंलो गुलाफजस्तो अनुहारमा रातो गुलाफको ओठ, थेप्चो नाक, चिम्सा आँखाहरु, चुरु पोखेर लोभ्याइरहेको छ एउटा विदेशीलाई । ......... नजिक पुगेर म उसका पाखुरा समाउँछु, केही चाँदीका दामहरु हत्केलामा राखेर देखाउँछु, औंलामा टल्किरहेको बर्मीज रुबीको औंठी देखाउँछु, उसले तिरस्कार गरेर हेरिदिन्छे । .............म उसको गाला सुमसुम्याउँदै उसलाई बुझाउँछु, ‘मेरी मायालु ! हामी मरिरहेकाहरुसँग आदर्शको पर्खाल किन राख्नुप¥यो, आऊ लुट्न देऊ, तिमी पनि लुट मलाई ।’ ..... ऊ मेरो भरमा एउटा घारीभित्र पस्छे । ..... उसलाई म मनखुशी लुट्छु , ऊ निर्धाे देखिन्छे । ..... कछाडभरि आलो रगतको टाटो सम्हाल्दै ऊ फेरि आफ्ना हत्केलाहरु उठाउँछे र साना आँखाहरुको साङ्ग्रो पीर दुई थोपा आँसु व्यर्थ पुस्छे । किन रोएकी होली ऊ ? के छ र यहाँ रुने–रुवाउने सत्य ? ... मैले के गरें र उसलाई ? अझ गोराहरुले जस्तो चक्कु प्रयोग गर्नु परेन ।........ ” के यार ! यहाँ किन ? अर्काे अल्लारे देखापर्छ । म उसलाई इशाराले घारीतिर देखाइदिन्छु । ऊ लम्कन्छ । आफैंलाई केही हलुङ्गो अनुभव गर्छु । ..... बिहान एउटा साथीले सुनाउँछ, ‘एउटा भैंसीगोठाल्नी कचीन रगतपच्छे भएर लडिरहेकी थिई, काली–नीली भइसकेकी, पापीहरु ! मर्ने गरी सास्ती दिन्छन् । ......... म मेरो साथीको कैफियतलाई महŒव दिन्नँ । सङ्गीनले रोपेर रक्ताम्मे शरीर, ग्रेनेडले भूँडी पड्केर उछिट्टिएका आन्द्रा, बोसे आन्द्रा लाशमाथि लाश गिद्ध उडाएर, स्याल रिङ्ग्याएर कोभन्दा को कम । के हो र मृत्यु ?” (पृष्ठ ३८÷३९) ।
एउटा युद्ध लड्ने सिपाहीका नजरमा कति सस्तो मान्छेको मृत्यु । कति सहजै भोग्न सकिने मान्छेलाई । कति मूल्यहीन प्रेमका परिभाषाहरु । पशुले त उत्तेजना समन गर्न वस्तुलाई भोग्छ मात्र, मानिसलाई त्यत्तिले नपुगेर त्यसको अस्तित्व नै समाप्त पारिदिनु पर्ने । यो कस्तो मानवता ? धत् मान्छे !
सुयोगले हेडहन्टरकी छोरी र भैंसी गोठाल्नी कचीनलाई मात्र होइन । प्रेमको नौटङ्की रचेर माटिनचीलाई पनि दिनुसम्मको सास्ती दिएको छ । मायाविना, पैसाविना प्रेम गरेको तथा विहे गर्ने आश्वासन बाँडेर उसले माटिनचीको अस्तित्वलाई, उसको कुमारीत्वलाई लुट्नु लुटेको छ, सुताउनु– सुताएको छ, ऊ आफै भन्छ –
“अरुसरह माटिनचीलाई खेलाउन मन लाग्दैन, उसलाई विशेष रुपले हेर्न मन लाग्छ, शायद उसले सधैं मलाई भविष्यको लोग्नेका रुपमा हेरिदिएर होला । त्यसो नगरे त ऊ मान्दिन नि, फेरि कताको बिहे, कताको घरबार, सके यही पनि मर्दी हो ग्रेनेडले भुँडी पड्केर । ...........
‘म जान तयार हुन्छु । माटिनची मेरो खुट्टामा छाँद हालेर रुन्छे । हटाउन खोज्छु हुँदैन र जमाएर लात कस्छु उसको कमलो छातीमा र भाग्छु व्यारेकतिर ।” (पृष्ठ ४१÷४२) ।
माथि प्रस्तुत उद्धरणहरु युद्धले जन्माएका त्रासदीहरु हुन् । युद्धमा हात हाल्ने यस्ता प्रवृत्तिहरु पुनरावृत्ति भैरहन्छन् । युद्धमा बेकसुरमा ज्यान फाल्नेहरु धेरै हुन्छन् । निर्दोष मानिसहरुलाई युद्धजन्य उन्मादले शिकार बनाउँछ । जनताको जीउ, धनको सुरक्षा लिनेहरुबाटै मानिसहरु लुटिनुपर्ने दृष्टान्तहरु माथिका उद्धरणहरुले स्पष्ट्याउँछन् । युद्धमा उन्माद र उत्तेजनाले काम गरेको हुन्छ । युद्ध उन्मादी मान्छेले उत्तेजना र वासनाले आफूलाई सञ्चालित गर्छ । उत्तेजना र वासनाग्रस्त मान्छे अन्धो हुन्छ । यस्तो अवस्थामा ऊ हिंस्रक, व्यभिचार, परपीडक, आवेगी र पशु हुन्छ भन्ने उदाहरण माथिका उद्धरणहरुले नै स्पष्ट पार्छन् । शिरीषको फूलमा द्वितीय विश्वयुद्धमा द्वन्द्वमा संलग्न सैनिकहरुबाट गरिएका ज्यादतीका कुरा छन् । द्वन्द्वबाट मानिस मात्र नभएर प्रकृति समेत प्रभावित भैरहेको, भैसकेको कुरा उपन्यासमा देखाइएको छ । उपन्यासमा हिंसा, हत्या, बलत्कार र ज्यादतीका कुराहरु प्रशस्तै छन् । तिनै ज्यादतीका कुरालाई माथि अभिघातीय चेतनाले पर्गेलियो । कृतिमा विश्वयुद्धले विश्वयुद्धका कारणले बर्मेलीहरुले भोग्नुपरेका त्रासदीहरु छन् । तिनै त्रासदीहरुको चित्रण उपन्यासकारले कृतिमा गरेकी छन् । सुयोगवीरको मन ठेगानमा नहुनुको कारण यही द्वन्द्व हो, यही रुग्णता हो, यहीं व्यभिचार र सन्त्रस्त दृश्य हो । यो द्वन्द्वको पीडाले नैतिक, सामाजिक र मनोवैज्ञानिक संकट सिर्जना गरेको कुरालाई कृतिले टिप्ने यत्न गरेको छ । सकम्बरी, शिवराज र सुयोगमा उद्भूत विसङ्गत र अस्तित्ववादी चेतनाको पाश्र्वमा यहीं अभिघातीय चिन्तन छ । अभिघातको यस चिन्तनले कृतिलाई थप बलशाली बनाएको छ । अब नेपाली साहित्यमा अभिघात चेतनाको प्रचुर प्रयोग गरिनु जरुरी छ ।

सन्दर्भग्रन्थ विवरण
१. एटम, नेत्र र कृष्णहरि बराल, उपन्यास सिद्धान्त र नेपाली उपन्यास, दोस्रो सं., काठमाडौं ः साझा प्रकाशन, २०५८ ।
२. एटम, नेत्र, समालोचनाको स्वरुप, काठमाडौँः साझा प्रकाशन, २०६१ ।
३. गौतम कृष्ण, उत्तरआधुनिक जिज्ञासा, काठमाडाँै ; भृकुटी एकेडेमिक पब्लिकेसन्स,, २०६४ ।
४. त्रिपाठी, वासुदेव, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग –२, पुनमुद्रित सं. काठमाडौं; साझा प्रकाशन; २०५८ ।
५. पारिजात, शिरीषको फूल, पन्ध्रौं सं.; काठमाडौंः साझा प्रकाशन, २०६३ ।
६. भट्टराई, गोविन्द, उत्तरआधुनिक बिमर्श, काठमाडौं; मोडर्न बुक्स, २०६४ ।
७. शर्मा, मोहनराज र खगेन्द्र लुइटेल, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौंः विद्यार्थी पुस्तक भण्डार, २०६१ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 माघ, 2071

लेखकका अन्य रचनाहरु