साहित्यकार कृष्ण बजगार्इंसँग कुराकानी

- विवश वस्ती

अचेल स्रष्टा कृष्ण बजगाईंले लन्डनको व्यस्त जीवनशैलीबीच आफूलाई अभ्यस्त तुल्याइरहेका छन् । डेढ दशकअघि विदेशी भूमिमा जीवन–संघर्षका डोबहरू खन्ने उद्देश्य लिएर युरोपतिर हान्निएका उनी विदेशमा बसेर साहित्य सिर्जना गर्ने सीमित सर्जकहरूमध्ये पर्दछन् । विदेशी भूगोलमा रहे पनि उनको साहित्य लेखन र क्रियाकलाप अरू सर्जकका निम्ति लोभलाग्दो छ । साढे तीन दशकअघि बालकविको रूपमा उदाएका उनको अहिलेसम्म ‘यन्त्रवत्’ (२००७), र ‘रोडम्याप’ लघुकथासंग्रह (२०१००, ‘हिउँको तन्ना’ हाइकुसंग्रह (२००९), ‘स्रष्टा र डिजिटल वार्ता’ (२०१०) प्रकाशित छन् । उनले विगत आठ वर्षदेखि नेपाली र अंग्रेजी भाषामा ‘समकालीन साहित्य डट कम’ नामक नेपाली साहित्यिक अनलाइनसमेत चलाइरहेको छन् ।
स्रष्टा बजगाईंले केही दिनअघि पाँचौं कथाकृति ‘कमरेड भाउजू’ माक्र्सवादी विचारधाराका प्रवर्तक कार्ल माक्र्सको लन्डनस्थित समाधिस्थलमा आफैंले विमोचन गरे । यस पटक स्रष्टा बजगाईंसित तिनै सन्दर्भ र उनको साहित्यिक यात्राबारे बुधबारले गरेको इमेल–संवाद सं.।

१)आफ्नो कथाकृति ‘कमरेड भाउजू’ को विमोचनका लागि मार्क्सकै समाधिस्थललाई किन रोज्नुभयो ?
स्कुलको विद्यार्थी रहेको बेला सबैभन्दा पहिले पाठ्यपुस्तकबाहेक मैले मार्क्सवादी साहित्य पढेको थिएँ । त्यसले नै मलाई साहित्यप्रति रुचि जगायो र अध्ययनशीलसमेत बनायो । त्यही कारण, आजसम्म पनि म साहित्यमा निरन्तर छु । जुन साहित्यले मलाई यो अवस्थामा ल्यायो, चिनायो म खुसी छु । देशमा जनवादी क्रान्ति गर्ने क्रममा सरकार र केही कमरेडका कारण्ँ कोही मानिस स्वदेशमै त कोही विदेशमा विस्थापित हुन पुगे । असुरक्षा र अनिश्चतता देखेर १५ वर्षअघि म बेल्जियम आएको थिएँ ।
मार्क्सले कम्युनिस्ट पार्टीको घोषणँपत्र लेखेको घर बेल्जियमको राजधानी ब्रसेल्समा छ । त्यस घरमा कफी सपसमेत सञ्चालित छ । धेरै पटक गएको छु म त्यो कफी सपमा । एकदिन कफीको चुस्की लगाउँदै गरेका बेला एउटा कविता लेखेको थिएँ । संयोग कस्तो पर्‍यो भने पहिलो पटक जुन साहित्य पढेर साहित्यमा आकर्षित भएँ, मार्क्स नै बसेर साहित्य होइन, कुनै राजनीतिक दर्शन लेखेको ठाउँमा कविता लेखेँ । त्यस्तो अवसर पाएको ठाउँबाट मेरो कुनै कृति विमोचन गर्ने योजना थियो । तर, बाह्र वर्ष बसेको त्यो मुलक छाडेर तीन वर्षअघि बेलायत आएँ । सो अवसर जुरेन । यसपटक मौका मिल्यो, उहाँलाई स्मरण्ँ र सम्मान गर्दै उहाँको समाधिस्थल लन्डनबाट मैले आफ्नो कथाकृति विमोचन गरेँ ।

२)तपाईंको कथाकृति र मार्क्सको समाधिस्थलबीच के तादाम्य छ ?
यो कथाकृति कुनै मार्क्सवादी होइन । मार्क्सको समाधिस्थलसँग कुनै तादाम्य छैन । तर, कथामा केही असल कमरेडहरू छन् । केही जड र उग्र कम्युनिस्ट पात्र पनि छन् । ती कथाहरू बेलायतकै सेरोफेरोमा छन् । सांकेतिक रूपमा ती कथाका कमरेडहरूलाई मार्क्सको समाधिस्थलसम्म पुर्‍याएको मात्र हुँ ।

३) धेरै चर्चा बटुल्ने आश पनि होला, होइन ?
मार्क्सको समाधिस्थलमा विमोचन गर्दा चर्चा होइन, गाली पनि पाइन्छ भन्ने मलाई थाहा थियो । र, पाएँ पनि । मार्क्सको नाम नै सुन्न नचाहनेहरूको बक्रदृष्टि पर्न सक्दछ भन्ने थाहा हुँदा पनि मैले यहीँ नै विमोचन गरो । फेरि सात समुद्रपारी बस्ने, नेपाली भाषा, साहित्य र संस्कृीतलाई माया गर्ने म जस्ताे गैरव्यावसायिक लेखकको पहुँच मूलधारको मिडियासम्म हुँदैन । तपार्इंले भने जस्तो चर्चा पाउनका लागि त्यहाँ विमोचन गरेको होइन ।

४)‘कमरेड भाउजू’मा कस्ता कथाहरूको बाहुल्य छ ?
कृतिका कथाहरू विदेशी भूमिमा रहेका नेपालीका वरिपरि घुमेका छन् । माओवादी विद्रोहका क्रममा विस्थापित भएका, विदेश पलायन भएका नेता तथा कार्यकर्ताका कथा–व्यथालाई मुख्य रूपमा उठाएको छु । कृतिमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथाहरू पनि छन् । ती कथामार्फत नेपाली डायोस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छु ।

५) आफैं दावी गर्दा तपाईंका कथा कस्ता छन् ?
कथाहरू अग्रगामी सोच र चिन्तनका छन् । त्यसमा राष्ट्रप्रेम, नारी स्वतन्त्रता र सशक्तीकरणका कुरा पनि छन् ।

६) यो कृतिबाट तपार्इंले कस्तो अपेक्षा राख्नुभएको छ ?
यो डायोस्पोरिक कथासंग्रह हो । पैसा, सुख, सयलमा विदेशमा रमाएका भनिएका नेपालीहरूका पीडालाई कथामार्फत् बाहिर ल्याउने प्रयास गरेको छु । पलायन कमरेडका कुराहरू उठाएको छु । यस कृतिले नेपाली मूलधारका पाठकलाई डायास्पोरिक साहित्यको मीठो स्वाद दिनेछ । र, यसले राम्रो प्रभाव छाड्नेछ भन्ने लागेको छ ।

७) तपाईंको कथालेखनको सुरुआत कहिलेदेखि भएको हो ?
मेरो साहित्य लेखन २०३६ सालमा बालकविको रूपमा भएको हो । लघुकथा लेखन ०४७ मा सुरु भयो र दुई वटा लघुकथाको कृति प्रकाशन गरें पनि कथा लेखनचाहिँ ०६० सालदेखि भएको हो । यस कृतिका सबै कथा बेल्जियम र बेलायतमा बसेर लेखेको हुँ ।

८) प्रायस कस्ता खालका कथाहरू लेख्न रुचाउनुहुन्छ ?
यथार्थवादी र मनोवैज्ञानिक कथाहरू लेख्ने गरेको छु । १५ वर्षभन्दा बढी भयो नेपाल छाडेको । विदेशमा बसेर लेख्दा यतैका सन्दर्भका नेपाली डायोस्पोराका कथा लेख्न रचाउँछु । कथाका विषय र सन्दर्भ विदेशमा रहेका नेपालीहरूकै वरिपरिका छन् ।

९) कथा विधालाई नै रोज्नुको मुख्य कारण्ँ के हो ?
कथा मात्र होइन, नियात्रा, कविता र हाइकु पनि लेख्ने गरेको छु । ०७२ सालको सुरुतिर मेरो नियात्रासंग्रह आउँदै छ । तर, कथा र लघुकथाले मलाई लेखनमा सन्तुष्टि र सफलता दिएका छन् । व्यक्त गर्न चाहेको कुरा कथामा स्वतन्त्रपूर्वक पात्रमार्फत राख्न सकिन्छ । कथा प्रभावकारी हुन्छ । अनावश्यक शब्द र विम्बका भारले पाठकलाई थिच्दैन । कथा पढ्नेलाई पनि आनन्द आउँछ र लेख्नेलाई पनि ।

१०) तपाईं अहिले विदेशी भूमिमा बस्नुहुन्छ । विदेशमा बस्दा नेपालको परिवेश र सन्दर्भलाई लेखनमा कसरी उतार्नु हुन्छ ?
म विदेशमा रहे पनि नेपालमै पढेर, सरकारी जागिर खाएर १५ वर्षअघि विदेशतिर बरालिएको हुँ । मेरो शरीरमा अझै पनि नेपाली पानी नै बगिरहेको छ । विदेशमा बस्ने सबैलाई घर, परिवार, साथीभाइ र देश छाडेको पीडाले भत्भती पोलिरहेको हुन्छ । हरक्षण्ँ स्मृतिमा आइरहन्छन् घर, देश, नातागोता र सम्बन्ध । तब विदेशमा भए पनि मन घरदेशमै भाैंतारिरहेको हुन्छ । दुवैतिरको कुरालाई कथामार्फत लेख्ने गरेको छु । घरदेश र परदेशको कुरा लेख्नु नै डायोस्पोरिक साहित्य हो ।

११) अहिले डायस्पोरिक साहित्यको खुबै चर्चा छ । नेपाली साहित्य क्षेत्रमा डायस्पोरिक साहित्यको योगदानलाई कसरी लिनुभएको छ ?
मूलधारको साहित्यले अझै राम्ररी डायोस्पोरिक साहित्यलाई स्विकार्न सकेको छैन । तर, केही वर्ष यतादेखि डायोस्पोरिक साहित्यलाई अलिअलि सम्झन थालेका छन् । संसारको जुनसुकै ठाउँमा बसेर नेपाली साहित्यमा सिर्जित रचनालाई सहर्ष नेपाली साहित्यको भण्डारमा भित्र्याउनुपर्छ, स्वीकार गर्नुपर्दछ । परदेशको व्यस्तताबाट बचेको समयमा नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानलाई कम आँक्नु हुन्न । विदेशमा बर्सेनि प्रशस्त साहित्यिक कृति प्रकाशन, साहित्यिक कार्यक्रम आयोजना, साहित्यिक व्यक्तित्वहरूको जन्मजयन्ती मनाउनुलाई नेपाली भाषाको क्षेत्रफल फराकिलो भएको ठान्नुपर्छ । संसारभर छरिएका उनीहरूले नेपाली भाषालाई अन्तर्राष्ट्रिय बनाइदिएका छन् । उनीहरूको उचित मूल्यांकन हुनुपर्दछ ।

१२) अहिले विदेशमा बसेर साहित्य लेखनमा जम्नेहरूको साहित्यिक स्तर कस्तो पाउनुभएको छ ?
विदेशमा बसेर लेख्नेहरूसँग समय कम हुन्छ । अध्ययनका लागि नेपाली साहित्यका पुस्तक र पत्रिकाहरू हुँदैनन् । उनीहरूले जे लेखिरहेका छन्, उनीहरूका बारेमा समालोचना र टिप्पणी गरेर सही बाटो देखाउने कोही हुँदैनन् । उनीहरूको पहुँच मूलधारको साहित्यसँग हुँदैन । एकलव्य जस्तै छन् । त्यसका वाबजुद पनि जे जस्ता कृतिहरू आएका छन्, केहीलाई छाडेर हेर्ने हो भने धेरै राम्रा कृति आएका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 माघ, 2071

लेखकका अन्य रचनाहरु