यूगका स्रष्टाः भूपि शेरचन

- फणीन्द्र संगम

हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्ट्याइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ–रोगन छुटेका
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर'द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं।

आफू बाँचेको समय र समाजसँग ठिक ढंगले संवाद गर्ने कवि भूपि शेरचन बितेको २५ वर्ष बितिसक्यो। माथिको ‘हामी' शीर्षकको कविता छापिएको (रूपरेखा, २०१७) पनि झन्डै साढे पाँच दशक भइसकेको छ। अहिले पनि यी शब्द उत्तिकै सम्प्रेष्य र सान्दर्भिक लाग्छन्।
देश यतिखेर नयाँ संविधानका लागि प्रसव वेदनामा छ। विडम्बना, राज्य सञ्चालन तहमा बसेका ‘ड्राइभर'हरू भूपिले भनेकै क्यारमबोर्डका गोटीभन्दा फरक देखिएनन्। उनीहरूको प्रवृत्ति वषर्ौैंदेखि बदलिन सकेको छैन। यही कविताले प्रस्ट पार्छ– भूपिका कविता इतिहासको कुनै पनि कालखण्डमा उत्तिकै समसामयिक छन्।
मुस्ताङको टुकुचेमा विसं १९९२ पुस १० गते जन्मिएका भूपेन्द्रमान शेरचन पछि उनको कविताजस्तै सरल र सम्प्रेष्य नाम भूपिबाट परिचित बने। लगभग २००६ पछि साहित्यको गोरेटो समाएका उनले २०१० मै ‘परिवर्तन' नाटक लेखेका थिए। २०१० मा ‘नयाँ झ्याउरे' कविता संग्रह र २०१५ मा ‘निर्झर' कविता संग्रहपछि उनले २०२५ मा यस्तो कृति निकाले, जुन उनको प्रतिनिधि कवितासंग्रह बन्यो। लाग्छ, ‘घुम्ने मेचमाथि अन्धो मान्छे' र भूपि शेरचन पर्याय हुन्। सोही कृतिले पहिलोपल्ट साझा पुरस्कार पनि पायो।
आधुनिक नेपाली कविता परम्परामा पद्य र छन्दको दबदबाबीच गोपालप्रसाद रिमालले कवितामा गद्यलाई भित्याए, भूपिले त्यसलाई पृथक् ढंगले विस्तार गरिदिए। बढी क्रान्तिकारी र ठाडो स्वरका मुखर कवि रिमालको जगमै टेकेर भूपिले कविता लेख्दै गर्दा प्रयोगवादी कविताको हालीमुहाली थियो।
‘मस्तिष्कबाट पसिना चुहाउँदै कविता पढ्नुपर्ने बाध्यताबीच भूपिले सरल र शक्तिशाली कविता लेखिदिए,' कवि विप्लव ढकाल मूल्यांकन गर्छन्, ‘जटिल र क्लिष्ट शब्द थोपरिएका मात्रै उत्कृष्ट कविता हुन्छन् भन्ने भ्रमबाट उनले मुक्ति दिलाए। सरलतामा पनि शक्तिशाली कविता जन्मन्छन् भन्ने दृष्टान्त पेस गरे।' पछिल्लो पुस्ताका कविले पनि भूपिको प्रभाव ग्रहण गर्दै सरलताको महत्व बुझेको ढकाल बताउँछन्।
आधुनिक नेपाली कविताको चरणमा देखा परेको स्वच्छन्दतावादी र त्यसभित्र पनि प्रगतिवादी धारामा राखेर भूपिलाई जुनखाले मूल्यांकन गरिन्छ, त्यत्तिले मात्रै भूपिको समग्र कवित्वको मूल्यांकन पूर्ण नहुने ठान्छन्, समालोचक लक्ष्मणप्रसाद गौतम।
‘उनका सुरुआती कवितामा प्रगतिवादी विचार–चेतना देखा पर्नु स्वाभाविक भए पनि उनको कविताको शक्ति त्योभन्दा पृथक् छ,' उनले भने, ‘व्यंग्यचेत र सर्वाधिक सौन्दर्यचेतना नै उनको विशेषता हो। पछिल्ला कविता आलंकारिक र प्रकृतिचेतका हिसाबले उत्तिकै सबल छन्।'
सामाजिक विसंगतिमाथिको प्रहार र राज्यव्यवस्थामाथि व्यंग्यात्मक झटारो भूपि शैलीका रूपमा परिचित भइसकेको छ। थोरै शब्दमा विम्ब र प्रतीकको प्रयोगमार्फत गहन भाव अभिव्यक्त गर्ने उनको कला उनीपछिका धेरै कविले अनुकरण गरेका छन्।
हामीकहाँ पद्य कविताको इतिहास गद्यको भन्दा धेरै लामो छ। पछिल्लो समय कपितय कविले चिन्ता गरेको सुनिन्छ– छन्द कविता लेखन खस्किँदै गयो। तर, गद्यमा पनि छन्दको झैैं बेजोड स्वाद भेट्न सकिने ठान्छन्, कवि श्रवण मुकारुङ। ‘मैनबत्तीको शिखा त छन्दमा लेख्छु भनेर ठूला कुरा गर्ने मै हुँ भन्ने कविहरूका लागि ठूलो चुनौती नै हो,' उनी गर्वसाथ भन्छन्।
भूपिलाई उनको जीवनको उत्तरार्द्धतिर भेट्ने अवसर पाएका मुकारुङ उनको कवित्वबाट प्रभावित भई धेरै कुरा सिकेको बताउँछन्। ‘उनी जीवनबाट अस्ताउँदो क्रममा रहेका बेला म कवितामा उदाउँदो थिएँ,' उनले भने, ‘गद्य कविताका त्यस्ता विलक्षण प्रतिभाबाट मैले सिक्नु थियो। शब्दको चातुर्य, भाषाको शिल्प र शब्दशक्तिको बोध नै हो मैले उनीबाट लिएको।'
कवि आभास पनि भूपिबाट प्रभाव ग्रहण गरेर आफू कविता लेखनमा आएको भन्न कत्ति हिचकिचाउँदैनन्। उनले निकालेको पहिलो कविता संग्रह ‘भूगोलमाथि उभिएको जैतुन' का धेरै कवितामा भूपि शैली भेटिन्छ। ‘म मात्रै होइन, प्रारम्भिक चरणमा उनीपछिका कविले उनकै सिको गरेर लेखे। पछि कविको मौलिक शैली आउनु त स्वाभाविक हो,' उनी सुनाउँछन्।
भूपि सधैं प्रतिपक्षी कविका रूपमा रहे। भलै उत्तरार्द्धमा पञ्चायती व्यवस्थाको वकालत गर्दै हिँडेको समयलाई लिएर उनको व्यक्तित्वमाथि छुट्टै व्याख्या हुन सक्ला। गद्य कविताको जग बसाल्ने रिमालको केही प्रभाव र तत्कालीन राजनीतिक व्यवस्थाअनुरूप उनका सुरुका दुइटा कविता संग्रह बामपन्थी विचार दर्शनबाटै प्रभावित देखिन्छन्। ‘निर्झर' र ‘नयाँ झ्याउरे' को खासै चर्चा पनि भएन। ‘उग्र नारासमेत बोकेका ती कृति वैचारिक मूल्यले महत्वपूर्ण होलान् तर काव्यात्मकताका दृष्टिले कमजोर,' कवि ढकालले हाँस्दै भने, ‘तिनको चर्चा नहुनु भूपिलाई नै फाइदा हुनु हो।'
भूपि सम्भ्रान्त परिवारमा जन्मिए तर सधैं सत्ता र शक्तिविरुद्ध कलम तिखारिरहे। गरिब, निमुखा र सर्वसाधारणको आवाजलाई शोषक, सामन्तीविरुद्ध एकत्रित गराइरहे। सरल, अन्त्यानुप्रासयुक्त लयचेत, ध्वन्यात्मक संरचनाका उनका कविता हरेकले रुचाए, हरेकका मुखमुखमा झुन्डिए। उनी रिमालजस्तो विद्रोहको आगो ओकल्दैनन्, बरु व्यंग्य र विम्बको चातुर्यपूर्ण प्रयोगले तीर हानिरहन्छन् र लेख्छन्, ‘हामी' जस्ता कविता, ‘यो हल्लै हल्लाको देश हो' जस्ता कविता, ‘मेरो चोक' जस्ता कविता।
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरू
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरू
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरू जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लास्टर गरिएका हातहरूमा
सुरक्षाको संगीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरूका ढोकाअगाडि
डोकोको डोको,
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माको मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका सेयरजस्तै
आत्मा क्रय–बिक्रय गर्न सक्नेहरू
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरू तन्नेरीहरूका अगुवा हुन्छ...
(‘यो हल्लै हल्लाको देश हो'को अंश)
‘ट्रेन्ड चेन्जर' कवि
रिमालले गद्यको बिउ छरिदिए, भूपिले गद्यमा पनि आफ्नो फरक शैली स्थापित गरिदिए। कवि आभास त भूपिलाई ‘ट्रेन्ड चेन्जर' कविको संज्ञा दिन्छन्। ‘कवितामा उनको गद्य कलाबाट प्रभावित नहुने त कमै होलान्। आफ्नो फरक शैली भित्याएकै कारण आज पनि उनलाई उत्तिकै पढिन्छ, सम्भि्कइन्छ,' उनी भन्छन्।
२०१५ पछिको राजनीतिक परिवर्तनयता कविताले पनि बिस्तारै ‘ट्र्याक चेन्ज' गर्दै गयोे। राजा महेन्द्रको एकतन्त्रीय शासनविरुद्ध सोझो भाषाले लेखे सोझै कठघरामा पुग्ने अवस्था थियो। यही मेसोमा मोहन कोइराला, वैरागी काइँला, ईश्वरवल्लभ आदिले प्रयोगवादी कविताको नाममा घुमाउरा कविता लेख्न थाले। ती कवितामा क्लिष्ट र जटिल शब्द अनि अमूर्त विम्ब घुस्दै गए। प्रयोगवादी कविता बिस्तारै हाडे ओखर बन्दै गयो। यसअघि नै दुइटा कविताकृति निकालिसकेका भए पनि भूपिलाई ‘बौद्धिक र दार्शनिक' कविहरूसँग आफ्नै खुबीद्वारा पौठेजोरी खेल्नु चुनौती नै थियो।
तर, सरल–शक्तिबाटै कवितामा बामे सरेका उनले आमपाठकको हृदयमा सहजै पस्ने गरी कविता लेखे। दुर्बोध्य कविता पचाउन गाह्रो परिरहेका बेला भूपिका कविता धेरैका लागि सम्प्रेषणीय बन्न थाल्यो। उनका समकालीन र शिष्यहरूले पनि उनकै धार समात्दै गए। कवि विप्लव ढकाल त ‘समाजसँग कविताको धागो टुटिसकेको अवस्थामा भूपिले जोड्दै लगेको' बताउँछन्।
भूपिले सुरुदेखि नै जनताका पक्षका कलम चलाए। उनी रिमालकै ट्रेन्ड पछ्याउन सक्थे। आखिर रिमालले पनि जनजीविकाकै कविता लेखेका हुन्। उनी क्रान्तिकारी चेतनाका मुखर कवि बढी थिए तर भूपि सुन्दर र सहज विम्बको मिलावटबाट बोधगम्य कविता निर्माणपट्टि लागे। रिमालझैं उग्र राजनीतिक स्वरको वकालत गरेनन् उनले। ‘कतिपय कविले पात्रको भाषा खोसेका हुन्छन्,' भूपिको काव्यशिल्पबारे कवि ढकाल भन्छन्, ‘पात्रको भाषा पात्रलाई नै फिर्ता गर्ने खुबी उनमा छ, जुन विशेषता एकदमै कम कविमा मात्रै पाइन्छ।'
प्रयोगवादी कविताको जगजगीको बीचबाट पनि छिरेर उनले आफूलाई स्थापित गराए। सरल कवितालाई हल्का भन्नेहरूका लागि उनका कविता आफैं गतिलो जवाफ बनेका छन्। उनको भावगाम्भीर्य र सौन्दर्य चेतनाको विशिष्टता त्यो बेलाका कमै कविमा मात्रै पाइने समालोचक गौतम बताउँछन्।
‘एकतन्त्रीय शासन बेला उनले त्यसरी जोखिम मोल्नु खतरा थियो,' कवि आभास भन्छन्, ‘सत्ताको शोषण र सामन्ती वर्गमाथि उनले कहिल्यै तुच्छ, कडा शैलीमा प्रहार गरेनन्। सटिक विम्ब र कलात्मक शैली उनको विशिष्टता बन्यो।'
भूपिका अनुयायी
अहिलेका कविले प्रयोगपरकता र ‘बौद्धिकता'को नाममा जटिल कविता लेख्न लगभग छाडिसके। गद्य कविताको जरा नै रिमाल र भूपि भएकाले त्यसपछिका कविमा तिनको प्रभाव देखिन्छ। ‘प्रयोगवादी भनिएका कृति अहिले हत्तपत्ती भेटिन्नन्, ती लाइब्रेरीमा कि त दराजको कतैतिर थन्किएको हुनुपर्छ,' कवि विप्लव ढकाल भन्छन्, ‘सरल कविताका पाठक जहीँतहीँ छन्। पछिल्लो पुस्ता कतै न कतै भूपिबाट प्रभावित भइरहेको देखिन्छ।'
कवि मुकारुङका अनुसार आधुनिक कविताको गद्य परम्परामा अहिले दुइटा धार प्रस्ट देखिन्छ। एक, भूपिबाट प्रभावित–प्रेरित अनि अर्को वैरागी काइँलाको स्कुलिङमा हुर्किएको पुस्ता। ‘मचाहिँ बीच धारबाट लेखिरहेको छु,' उनी प्रस्ट छन्।
‘सहज र सरल शब्द प्रयोग भईकन पनि भूपिको शब्दशक्तिको प्रहार चोटिलो छ। वैरागी काइँलाका कविता क्लिष्ट र जटिल छन्,' उनी दुईबीचको भिन्नता छुट्ट्याउँछन्, ‘भूपि सर्वसाधारणले पनि बुझ्ने गरी लेख्ने सम्प्रेष्य कवि हुन् तर वैरागीका कवितामा बौद्धिक, दार्शनिक, विचारशील पक्ष बढ्ता पाइन्छ।'
मुकारुङले दुई धारको कुरा गरे पनि ढकाल सरल कवितातिर नै पछिल्लो पुस्ता हुर्किरहेको बताउँछन्। जटिल र अमूर्त विम्ब थुपार्दैमा कविता उत्तम हुन्छ भन्ने होइन, सहज भाषामा पनि कविता लेख्न सकिन्छ र त्यो सबैमा ग्रहणीय हुन्छ भन्ने चेतना नयाँ पुस्तामा बढेको देख्छन् उनी। ‘म त भूपि र रिमालको पुनर्जन्म नयाँ पुस्ताका कविहरूमा देखिरहेको छु,' उनले भने।
अस्थिर व्यक्तित्व
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पागल भन्नेहरू पनि प्रशस्तै थिए, रिमाललाई बौलाहा भन्नेहरू पनि नभएका होइनन्, भूपिलाई रक्स्याहा भन्ने त कति निस्के कति। सय राम्रा काम गर्ने मान्छेले एउटामात्रै गल्ती गर्योि भने मान्छेले उसको गल्तीबारे नै धेरै चर्चा गरिदिन्छ। हाम्रो समाज यही चिन्तनबाट ग्रस्त हुँदै आएको छ। हो, भूपि चुरोटका अम्मली थिए। रक्सीको लत थियो उनमा।
कहिले उनी लेख्थे–
‘मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर पिउन झन् गाह्रो छ...।'
उनी जाँडका कविता पनि लेख्थे–
‘लेटेस्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर धोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्कन्छु।'
भूपिसँग कुनै समय दोस्ती जमाएका गीतकार रत्नशमशेर थापाले यो संवाददातासँग केही समयअघि सुनाएका थिए, ‘उनी रोमान्टिक खालका थिए, बिम्बात्मक शैलीमा बोल्थे।'
एकपटक नारायणगोपाल र थापा बसिरहेका रहेछन्। भूपिले बाहिरबाट बोलाए, ‘सानुबाबु...सानुबाबु...।' नारायणगोपाललाई समकालीनहरू सानुबाबु भनेर सम्बोधन गर्थे। नारायणले भने, ‘आइये...आइये।'
भूपिले कोठा छिर्नेबित्तिकै ठट्यौली पारामा भनेछन्, ‘मैलै आइएमात्रै पढेको भन्ने यिनले कसरी थाहा पाए हँ...!'
त्यसरी ठट्टा गरिरहन्थे भूपि।
वामपन्थी विचारधाराबाट निर्देशित उनमा तीसको दशकपछि बिस्तारै विचार स्खलन बढ्दै गयो। मानव स्वतन्त्रताका पक्षमा वकालत गर्ने र निरंकुशताविरुद्ध बोल्ने भूपिको सानदार जीवन उत्तरार्द्धमा दुर्घटित बन्न पुग्यो। पञ्चायतका हिमायतीहरूसँग खुलेरै उनी जब देखा परे, उनको चर्चाको चुली ग्वार्लाम्मै ढल्न पुग्यो।
‘त्यो बेला उनका सबै कविता बहिष्कार होलान् भन्ने डर लागेको थियो, तर झन्झन् ती लोकप्रिय र कालजयी पो बन्दै आए,' गाउँमा छँदै उनका कविता पढेर प्रभावित भएका कवि ढकाल राजधानी आएपछि मात्रै उनको व्यक्तिगत–राजनीतिक जीवन बुझ्न पाएको बताउँछन्। ‘उनको व्यक्तिगत महत्वाकांक्षाबारे अरूलाई थाहा हुने कुरो पनि होइन। अस्थिर स्वभावका कारण उनी आफैं दुर्घटनामा परेका हुन्,' उनी भन्छन् ।
पछिल्लो चरणमा दिएको एक अन्तर्वातामा भूपिले भनेका थिए– मलाई दुईवटा ‘क'ले बिगार्यो । कम्युनिस्ट र कविता!
जीवनको मूल्य र सामाजिक कुरूपतामाथि लेख्ने भूपिलाई त्यसबेला कम्युनिस्ट विचारधारा अँगालेका उनका समकालीन र अन्य कविले कुरूप कविका रूपमा मूल्यांकन गरेको ढकालले पनि अनुभूत गरेका थिए।
कमजोर मूल्यांकन
जनताले चिनेका कविलाई राज्य र विश्वविद्यालयले नचिनेको ठान्छन्, कवि ढकाल। ‘स्नातकोत्तरको कुनै पनि कोर्समा भूपिबारे पढाइ नहुनु विडम्बना हो,' उनी भन्छन्, ‘साहित्येतिहासमै भूपि र रिमालबारे ठिक ढंगले मूल्यांकन गरिएको छैन।'
कविता धाराको सिलसिलामा अध्ययन गर्दा भूपिलाई स्वच्छन्दतावादी/प्रगतिवादीमात्रै भनेर गरिने विश्लेषण साँघुरो रहेको समालोचक लक्ष्मण गौतम बताउँछन्। ‘प्रगतिवादी खेमाका लेखक/समालोचक उनका प्रगतिवादी विचारका कविताको मात्रै चर्चा र बखान गरिदिन्छन् भने अरू राम्रा कवितामाथि आँखा चिम्लने गरेका छन्,' उनले भने, ‘भूपिका प्रगतिवादी कविताबाहेक मात्रै बोल्ने प्रगतिवादी इतरका लेखक/समालोचकको प्रवृत्ति बदलिन सकेको छैन। फरक विचारधाराबीच देखापर्ने समस्याका कारण उनको समग्र मूल्यांकनमा पनि समस्या देखिएको छ।'
युगचेतना प्रबल भएका कवि भूपिले पूर्वार्द्धमा जनवादी चेतबाट उठे विचारनिर्देशित कविता लेखे। समयक्रमसँगै उनको लेखन खारिँदै गयो, र जन्मियो ‘घुम्ने मेचमाथि अन्धो मान्छे'। साझा प्रकाशनले छापेका कृतिमा ‘मुनामदन' र ‘गौरी' पछि भूपिको यही कृति सर्वाधिक बिक्रीको सूचीमा दरिएको छ।
कवि विप्लव ढकालले भनेझैं भूपि सरलताबाट शक्ति आर्जन गर्ने दुर्लभ कवि हुन्। त्यही सरलतामा टेकेर उनी सामाजिक कुरीति, राजनीतिक बेथिति र राज्यव्यवस्थाको लाचारीलाई उदांगो पारिदिन्थे। युगीन सन्दर्भको बेथिति उनको सहज व्यंग्यबाट उम्कनै पाउँदैनथ्यो। जहिले पढे पनि उनका ती कविता ताजै लाग्छन्।
‘उहिले–उहिले'को नेपालमा
दुईथरीका मानिस थिए
एकथरी
जो अखबारमाथि पल्टन्थेे
हेडलाइनको सिरानी हालेर
महत्वपूर्ण खबर बनेर,
अर्कोथरी
जो त्यही खबरको न्यानो ओढेर
पुस–माघको जाडो काट्थे बेखबर भएर
उहिले–उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो।
(‘एक कविता'को अंश)

नागरिक दैनिकबाट

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 पौष, 2071

लेखकका अन्य रचनाहरु