रुखो बचन नबोल निरमाया

- राजेन्द्र पहाडी

‘‘जबसम्म बोली तिम्रो मुखबाट निस्कंदैन तबसम्म त्यो बोली तिम्रो अधिनमा हुन्छ । जसै त्यो तिम्रो मुखबाट निस्कन्छ अनि तिमी त्यसको अधिनमा हुन्छौ ।’’ – दार्शनिक सुकरात
सामान्यतः मुखबाट निस्केको शब्द, वाणी वा वचन नै बोली हो । अर्को अर्थमा आपसको कुराकानी तथा बोलचाल गर्ने तरिका पनि बोली हो । धक नमानीकन वा मौकाअनुसार बोल्न सक्ने व्यक्तिलाई बोलक्कड, बोल्नमा सिपालु वा बोलैया भन्ने गरिन्छ । अर्कातर्फ मुखबाट सार्थक वा बुझिने शब्द निकाल्नु, कुरा गर्नु, बोलचाल गर्नु, वचन दिनु, भन्नु वा कहनुलाई बोल्नुको अर्थमा बुझ्न सकिन्छ । सबैको चाहना श्रुतीमधुर वाणी सुन्ने नै हुन्छ । यसोभएकाले वक्ताले जहिले पनि सरल, सुस्पष्ट, संयमित, शान्त र सारगर्भित हिसाबले बोल्नुपर्दछ भन्ने अपेक्षा गरिएको हुन्छ । भनिएको पनि छ– कः परः प्रिय वादिनम् । अर्थात् बोल्नेको कोही पराया हुँदैनन् । गौतम बुद्धले एक ठाउँमा भनेकाछन्– ‘मंगलकारी र विनम्र बोली भएको मानिसले सबैलाई आनन्दित बनाउँछ ।’ यसरी बोल्नका लागि बक्ता व्यक्तिको दिमागमा बरफ, मुखमा मिश्री र हृदयमा प्रेम हुनुपर्दछ । अरुलाई बोलीबाट प्रभाव पार्न चाहने व्यक्तिले आफ्नो मानसिक स्थितिलाई सदा एकरस, शान्त, शीतल एवं ठण्डा बनाउनु पर्दछ ।
भन्ने गरिन्छ, राम्रो बोलीवचन (शब्द) सदासदाका लागि अजरअमर हुन्छ । बोली बन्दुकको गोलीभन्दा धेरै शक्तिशाली हुन्छ । भारतको स्वतन्त्रता संग्रामको बेला महात्मा गान्धीले ‘आफ्नो मनबाट डर निकालिदेऊ, संसारका कुनै शक्तिले तिमीलाई हल्लाउन सक्ने छैन ।’ यही एउटा वाक्यलाई भारतीय जनताले मुक्ति मन्त्रका रुपमा लिएर ब्रिटिस साम्राज्यका विरुद्ध सङ्घर्ष गरे र सफलता हात पारे । वास्तवमा शब्दरुपी बोलीबाटै मानिस विकासको यात्रामा अघि बढिरहेको हुन्छ । कैयन मानिसले यही शब्दको शक्ति र माध्यमबाट आफ्नो संस्कार र सभ्यताको विकास गरिरहेको हामीले देखिरहेका पनि छौं । बोल्नु भनेको आफूसँग भएको कुरा अरुलाई दिनु पनि हो । अरुलाई दिँदा नराम्रो किन दिने ? तुच्छ बोलीले अरुको मन किन दुखाउने ? आफ्नो ज्ञान, सीप र गुण अरुलाई सर्ला या आफ्नो सिद्धिएला कि भनेर किन डराउने ? हामीले बुझ्नु पर्छ कि मीठो बोलीवजन दिएर कहिल्यै घट्दैन, भरिनका लागि पोखिन आवश्यक छ । पोखिन डराउनेले भरिने मौका कहिल्यै प्राप्त गर्दैन पनि ।
वास्तवमा आफैभित्र विकास गरिएको बोल्ने सीप, क्षमता र दक्षताको प्रयोग गरेर अरुको मन जित्न त्यति धेरै कठिन पनि छैन । मीठो बोलीले जस्तोसुकै अप्ठ्यारो परिस्थितिलाई पनि सहजीकरण गर्नमा सहयोग पु¥याउँछ । ‘काग वा कोइली’ भनेर यी दुवैबीच रोज्न लगाउने हो भने स्वाभाविक उत्तर आउँछ ‘कोइली’ । कारण एउटा मात्र छ– मधुर बोली । बोल्ने मानिसले जहिले पनि दुई तोलाको जिब्रोले अढाई किलोको शिरलाई झुकाउन सक्दछ भन्ने पुरानो किंवदन्तीलाई मध्येनजर गर्नै पर्दछ । हामी सबैलाई ज्ञात छ कि जिब्रोको हड्डी त हुँदैन तर चाह्यो भने हजारौं हड्डीहरुलाई भाँचिदिने तागत जिब्रोसँग छ । भाव शुद्ध भए पनि अभिव्यक्त गरिने शब्द र शैलीमा संयमता अपनाउन सकिएन भने धेरै ठूलो मूल्य चुकाउनु पुरेका कैयौं उदाहरण हाम्रै समाजमा देख्न सकिन्छ । एउटा सानो शब्दको उपयुक्त स्थानमा चयन हुन नसक्दा अर्थको अनर्थ हुन पुग्दछ र सम्बन्धित व्यक्ति वा संस्थासँगको सम्बन्ध सधैंका लागि तिक्ततापूर्ण तथा अमिलो बन्न पुग्दछ । त्यसै भनिएको होइन– ‘रुखो बचन नबोल निरमाया, बचनको घाउ निको हुँदैन ।’ तसर्थ बोल्न पाएँ भन्दैमा जे जसरी पनि बोल्नुलाई सही भन्न सकिँदैन । तसर्थ पूर्वीय दर्शनमा भन्ने गरिएको छ– ‘नराम्रो नदेखौं, नराम्रो नबोलौं, नराम्रौ नसोचौं ।
हामीलाई थाहा छ कुरा गर्ने हजारौं ओठहरुभन्दा काममा जुट्ने एउटै हात कैयौंगुणा शक्तिशाली हुन्छ । तसर्थ निरन्तर काममा जुटौं । गरेर सिक्ने प्रक्रियालाई स्वधर्म मानौं । एउटा सन्दर्भमा कार्ल माक्र्सलाई प्रश्न गरिएको थियो– ‘सुन्दर को हुन्छ ?’ उनको जवाफ थियो– ‘कार्यमा लगातार जुटिरहने मानव नै सबैभन्दा सुन्दर हुन्छ । बगिरहेको पानी सफा र कञ्चन हुन्छ भनेजस्तै कार्यमा जुटिरहनेका हातहरु पनि पवित्र र सफा हुने गर्दछन् । तिनै मानिसले आफ्नो अभियानमा सफलता हासिल गर्दछन् ।’ यसको सार हो निरन्तरको कामले अनुभवी बन्न सिकाउँछ । अनुभवले कार्यमा उच्चस्तरको सफलता प्राप्त गर्न सकिन्छ । कुशलतापूर्वक बोल्ने कुरा पनि निरन्तरको मेहेनत र अभ्यासपछि प्राप्त हुने सीप हो । विद्वान अरस्तुले पनि भनेकाछन्– ‘हामी जुन कामलाई लगातार गर्छौ, हाम्रो व्यक्तित्व त्यसै मुताविक बन्दै जान्छ । श्रेष्ठता कुनै एक कामले नभएर एउटा समुच्च बानीको परिणामस्वरुप प्राप्त हुन्छ ।’
एउटा मर्मस्पर्शी भनाई नै छ– ‘जहाँ नपहुँचे रवि, उहाँ पहुँचे कवि, जहाँ नपहुँचे कवि, उहाँ पहुँचे अनुभवी’ । फेडरिक नित्सेले भनेकाछन्– ‘जसलाई उड्न सिक्नुछ, उसले पहिले उभिन, हिँड्न र दौडन जान्नुपर्छ ।’ एउटा दक्ष बोलैया, उद्घोषक वा भाषणकर्ता बन्छु भन्ने चाहना लिएर बसेर मात्र सफलता प्राप्त हुँदैन । अपेक्षित लक्ष्य उद्देश्य प्राप्ती गर्नका लागि कामको थालनी गरिहाल्नुपर्छ, र जवसम्म सन्तोषजनक नतिजा हात लाग्दैन तवसम्म लगातार अभ्यास गरिरहनुपर्छ । पानीको तलाउमा एकपटक पनि हाम नफालीकन कसरी कुशल पौडीबाज बन्न सकिएला ? तसर्थ पूरा समर्पणभावका साथ बोल्नेकला विकास गर्न लागिरहनुपर्दछ ।
के दलित, के महिला, के युवायुवती, के बालबालिका, के सहरीया, के गाउँले हामी सबै कुनै न कुनै सम्भावनाले युक्त छौं । खाँचो ती सम्भावनाहरुलाई बाहिर कसरी प्रकट गर्ने भन्ने नै हो । पूर्ण इच्छाशक्ति, अनुशासन र समर्पणका साथ लाग्यौ भने असम्भव केही पनि छैन । सिक्न उमेरले छेक्दैन । गुणरत्नमालामा भनिएजस्तो– ‘तोरीमा तीलमा छ तेल भरिलो आफै कहाँ झर्छ र । पेल्नै पर्छ बिना पर्यत्न मुखमा आएर कहाँ पर्छ र ।’ तसर्थ पनि हामीभित्र भएको नौनीलाई पहिचान गरेर बाहिर निकाल्न बोल्नै पर्ने छ, मनको गाँठो खोल्नै पर्ने छ । यदि हामी सफल बन्न चाहान्छौं भने असफल मानिसले गर्ने आँट नगरेका कुरामा नै हाम्रो कदम अघि बढ्नुपर्दछ ।
नयाँ कुरा सिक्ने वा बोल्ने काम गर्दा आफैलाई प्रश्न गरौं– ‘म को हुँ, कहाँ छु – कहाँ के छ हाल, लिएको छु के कामको जिम्मा ? कस्तो छ चाल ?’ जवाफ कस्तो आउला । प्रश्न नपुगे अझै सोधौं– मेरो जीवनका लागि म आफैले जिम्मा लिन्न वा म केही गर्न तत्पर छैन भने अरु कसले जिम्मा लिन्छ ? मैले गर्नुपर्ने काम म आफैले नगरे अरु कसले गरिदिन्छ ? म होइन भने को ? यहाँ होइन भने कहाँ ? आज होइन भने कहिले ? यसरी होइन भने कसरी ? सकारात्मक जवाफ लिंदै अघि बढौं । शंकराचार्यले भनेकाछन्– ‘जसले मनलाई जित्न सक्छ उसले संसारलाई जित्न सक्छ ।’ तसर्थ मनलाई जितेर अघि बढौं । हामी जे गर्छौ आँट र अदम्य सहासका साथ गरौं । काम उही भए पनि फरक तौरतरिका र विधि प्रयोग गरेर गरौं । सुविचारित ढंगले बोल्ने र मनको कुरो खोल्ने आफ्नो भिन्दै शैली र विशिष्ठता स्थापित गरौं ।
बोल्दा मैमत्ताभाव नदेखाऔं । ‘फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ भन्ने उक्तिलाई सदैव मनन गरी आफूलाई आएको अवसरको पूरापूर सदुपयोग गरौं । वस्तुतः अरुलाई झुकाउन स्वयं झुक्नुपर्दछ । झुक्नु भनेको सानो हुनु कदापि होइन, बरु अरुलाई आफ्नो नियन्त्रणमा राख्नु हो, सबैको मन मस्तिष्कमा बस्न सक्नु हो । कामले काम सिकाउँछ । तसर्थ बोल्ने कामबाट थप सफलता हातपार्ने अभिलाषा राखेर हातमा आएको जिम्मेवारीलाई निर्भिक ढंगले पूरा गरौं । एउटा कहावतले भने झैं– भन्दैमा सुनिन्छ भन्ने छैन, सुन्दैमा बुझिन्छ भन्ने छैन, बुझ्दैमा गरिन्छ भन्ने छैन, त्यसैले सुनाएर बोलौं, बुझाएर भनौं, बुझेर गरौं गरेर सिकौं ।
सक्षम बक्ता बन्ने भोक आफूभित्रै जगाऊँ । भोक जगाई जगाई बोल्नेकला आर्जन गरौं । अनेक बहानामा बाहिर भौंतारिनुभन्दा आफ्नो सीप, कुशलता एवं चाहनालाई पहिचान गरेर आफूभित्रकै सुन्दर संसारमा रमाउन जान्ने हो भने हामीलाई कहीँकतै जानुपर्दैन । जर्ज वासिङ्टनले भनेजस्तै गुणवान, मीठो बोल्ने, राम्रो गर्ने र सभ्य व्यक्तिको संगतमा रहनुस्, खराव संगतमा रहनुभन्दा बरु एक्लै बस्नुमा बेस हुन्छ । छुच्चोपन देखाएर कसैलाई पनि घृणा, तिरस्कार र बहिष्कार नगर्नुहोस् । बोल्दा कत्तिपनि उत्ताउलोपन नदेखाउनुहोस् । अनावश्यक गफाडी बनेर अर्काको खिल्ली उडाउन र आलोचना गर्न रुखो बोली नबोल्नुहोस् । जहाँ बोल्दै हुनुहुन्छ त्यहाँको कला, संस्कृति, परम्परा, मौलिकता, समाज तथा समग्र परिवेशका बारेमा जानकारी राख्नुहोस् । बोल्दा शब्दहरुको चयन समझदारी र होशियारीपूर्वक गर्नुहोस् । सोचेर बोल्नुहोस् नकी बोली सकेर सोच्नुहोस् । यति हुन सक्यो भने तपाईँको अघि बढ्ने बाटो कसैले छेक्न सक्दैन । अस्तु ः

कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 पौष, 2071

लेखकका अन्य रचनाहरु