वरिष्ठ कथाकार परशु प्रधानसँग कथावार्ता

- नारायण तिवारी

[परशु प्रधान (२०००) नेपाली कथा साहित्यका क्षेत्रमा समर्पित एवं अग्रणि नाम हो । खास गरेर एउटै विधामा मात्र समर्पित हुन चाहने ज्यादै थोरै साहित्यकारहरूमा परशु प्रधानको नाम सम्मानजनक ढंगले लिने गरिन्छ । लेखनको सुरुवाती कालखण्डमा अन्य विधामा समेत उहाँलाई देखिए पनि पछि आएर वा हाल भने उहाँको विधा केवल कथा र मात्र कथा । कथामा त्यस्तो के छ, जसका कारणले तपाईँले कथा बाहेक अन्य विधातर्फ फर्केर पनि हेर्नु भएन भन्ने मेरो प्रश्नमा उहाँ भन्नुुहुन्छ— ‘....अहिले तपाईँलाईजस्तै मलाई पनि कथा मात्र कथामा जाने रङ चढ्यो.... मलाई कथा नै बढी प्रिय लाग्यो । यसमा आफू राम्ररी व्यक्त हुन सक्छु वा पोखिन सक्छुजस्तो लाग्यो...।’

प्रस्तुत छ कथा विधामामा आफ्नो शक्तिशाली उपस्थिति देखाउन सफल वरिष्ठ कथाकार परशु प्रधानसितको कथावार्ता : परशु प्रधानसित नारायण तिवारी ।]

१)प्रश्न : सर्वप्रथमतः सामाजिक सञ्जालको यस ‘कथा’मा प्रस्तुत गर्न लागिएको कथावार्तामा तपाईँलाई हार्दिक स्वागत छ । कस्तो लागिरहेको छ यो ‘कथा’, हेर्दै हुनुहुन्छ होइन ?

उत्तर : धन्यवाद ! ‘कथा’मा मलाई पनि स्थान दिनुभएकोमा धन्यवाद छ । ‘कथा’मा प्रायः म सबै हेर्छु । तर, केही आँखाको कमजोडीले सक्रिय हुन सकेको छैन ।

२)प्रश्न : यो प्रविधिको युगले हामी साहित्यकारलाई पनि चैनले बस्न दिएन, चलाउँदै हुनुहुन्छ नि यो फेसबुक ? यसरी सृजनात्मक काममा प्रयोग गर्न सके त साहित्य र साहित्यकारका लागि फलदायी नै छ नि यो फेसबुक ? के भन्नुुन्छ सामाजिक सञ्जालमा यो ‘कथा’ ग्रुप खोलेर ठीक काम गरिएको छ कि, खाइनपाईको के गर्या होलाजस्तो लाग्या छ ?

उत्तर : फेसबुक सिक्दैछु । तपाईँले फेसबुकमा ‘कथा’ समुह खोलेर यसमा साहित्यिकहरूका लागि प्रशस्त खोराक दिनु भएको छ । त्यसमा पनि कथाको क्षेत्रमा उल्लेखनीय काम गर्नु भएको छ । तर, तपाईँलाई यसबाट आर्थिक फाइदा होलाजस्तो लाग्दैन । अन्य सरकारी, अर्धसरकारी संस्थाहरूले यस्तो काम सरकारी सहयोगमा गर्छन् । तर, तपाईँले भने विना आर्थिक फाइदा यो काम गर्नुभएको छ । त्यो नै महत्वपूर्ण कुरा हो ।

३)प्रश्न : करिब ७१ वर्षको हुनुभयो । यो उमेरमा इन्टरनेट प्रयोगकर्तामा आफूलाई सामेल गराउनुलाई के भन्नुहुन्छ ?

उत्तर : मलाई लाग्छ यो उमेर भन्ने कुरा केही पनि होइन । किनभने, सयवर्ष पुग्न लागेका माधव घिमिरे, सत्यमोहन जोशी नाच्दैछन् । कमलमणि दीक्षितजी ८० नाघेर पनि इन्टरनेटको संसारमा संलग्न हुनुहुन्छ । म त बामे सर्देछु ।

४)प्रश्न : अब कथा सन्दर्भतर्फ लागौँ । सबैले झैँ लेखनको सुरुवाती कालखण्डमा तपाईँले पनि कविता लेख्नुभयो, उपन्यास लेख्नुभयो तर अहिले आएर तपाईँको प्रिय विधा कथा र मात्र कथा, यस्तो किन ? कथामा त्यस्तो के छ, जसका कारणले तपाईँले कथा बाहेक अन्य विधातर्फ फर्केर पनि हेर्नु भएन ?

उत्तर : सुरुमा युवा अवस्थामा रोमान्टिक हुइँदो रहेछ । धेरै कविताहरू लेखियो । वि.सं.२०१६ मा नै कवितासङ्ग्रह ‘जीवन पथ’ पनि निकालियो । वि.सं.२०१९ देखि कथामा लागियो । त्यसपछि केही उपन्यास पनि लेखियो । ‘आकाश विभाजित छ’जस्तो १० जना मिलेर लेखेको सहयोगी उपन्यास नेपालमा पहिलो पटक निकालियो । त्यसमा मेरो निकै ठूलो ‘रोल’ छ । अहिले तपाईँलाईजस्तै मलाई पनि कथा मात्र कथामा जाने रङ चढ्यो । तर, कथामा पनि अझ कथोपन्यास जसलाई अङ्ग्रेजीमा हाइपर नभेल (Hyper Novel) भनिन्छ, त्यसको प्रयोग गरिरहेको छु । अर्थात् कथा भनेर पढ्दा कथा, समष्टिमा लिँदा उपन्यास भन्न सकिन्छ । यसको पहिलो प्रयोगकर्ता नेपाली साहित्यमा म नै हुँ । कथोपन्यासका ‘सीताहरू’ र ‘घर’जस्ता दुई पुस्तक निस्केका छन् । अब ‘सम्बन्ध’को बाटोमा छु ।

मलाई कथा नै बढी प्रिय लाग्यो । यसमा आफू राम्ररी व्यक्त हुन सक्छु वा पोखिन सक्छुजस्तो लाग्यो । यसमा मलाई बढी प्रेरणा दिने दौलतविक्रम विष्ट र विजय मल्लप्रति म आभार व्यक्त गर्दछु ।

५)प्रश्न : एउटा कवितासङ्ग्रह नै प्रकाशित भएर पनि तपाईँको कविता लेखन धेरैदिनसम्म टिक्न सकेन । पछाडि फर्किएर हेर्दा यसको कारण के होलाजस्तो लाग्छ ?

उत्तर : कवितामा लागे पनि यसमा सफल हुनसक्छुजस्तो लागेन । एउटा रहर थियो, पुरा गरेँ । भाइ शैलेन्द्र साकारलाई कविताको जिम्मा दिएँ । उसले राम्ररी निर्वाह पनि गरिरहेको छ ।

६)प्रश्न : जीवनको उत्तरार्धमा हुनुहुन्छ र अझै लेख्दै हुनुहुन्छ । ‘उत्तरार्ध’ शीर्षकमा उत्कृष्ट कथा पनि लेख्नु भएको छ । कथासङ्ग्रहको नाम नै ‘उत्तरार्ध’ राखेर कथासङ्ग्रह प्रकाशित भएको देखिन्छ । के जीवनको यो उत्तरार्ध पीडादायी छ, कि सृजनाका लागि अनुकूल ?

उत्तर : जीवनको उत्तरार्ध तपाईँले भनेजस्तै पीडादायी पनि छ, सृजनाका लागि अनुकूल पनि छ । किनभने, जिम्मेदारी बढेर आउने, सबै रोगहरूले आक्रमण गर्ने, आर्थिक अवस्थाले धान्न गाह्रो हुनेजस्ता कुराले यो अवश्य पनि पीडादायी छ । तर, सृजनाको लागि किन अनुकूल छ भने कमसेकम आफूलाई व्यस्त राखेर ‘टेन्सन’को रोगी हुनबाट मुक्त हुन सकेको छु ।

७)प्रश्न : कहिल्यै थाक्नुभएको देखिनुहुन्न । धमाधम कथाहरू प्रकाशित हुँदैछन् । यस उत्तरार्धमा स्वास्थ्य सम्बन्धी समस्याले पनि पिरोलेको देखिन्छ । आः होस् अब त नलेखौँ, विश्राम लिऔँ, कति साहित्य साहित्य भनेर मरिहत्ते गरौँ, अब नगरौँजस्तो लाग्दैन ?

उत्तर : यो लेखन वा सृजन भन्ने कुरा क्यान्सर लागेजस्तो हुने रहेछ— छोड्न पनि नसकिने, धेरै मेहनत गर्न पनि नसकिने । तर, आफ्नो स्वास्थ्य खराब भए पनि लेख्दा–लेख्दै मर्न पाउँ भन्ने भगवानसँग प्रार्थना गर्दछु ।

८)प्रश्न : साहित्यकारहरूका आ—आफ्ना भनाइ छन्—कोही स्वान्त सुखायका लागि लेख्छु भन्छन्, कोही समाजका लागि, परिवर्तनका लागि, मानिसका लागि, जनताका लागि लेख्छु भन्छन् । प्रष्ट भन्नुपर्दा भनिदिनुहोस् न तपाईँले लेखेकोचाहिँ के का लागि हो ?

उत्तर : साहित्यमा आफ्नो विचार, दृष्टिकोंण, सिद्धान्तहरू लिएर लेख्ने विद्वानहरू छन् । तर, मलाई चाहिँ के लाग्छ भने लेख्नु भनेको सामाजिक परिवर्तनलाई, विचारलाई र दृष्टिकोंणलाई नयाँपन दिनु हो ।

९)प्रश्न : साहित्य प्रगतिशील अप्रगतिशील केही हुँदैन भनेर बारम्बार तपाईँले साहित्यिक मञ्चहरूमा बोल्दै आइरहनु भएको सुनिएको छ । साहित्यमा विभिन्न वादहरू त चल्दै गरेका छन् नि होइन र ? यो प्रगतिवाद चाहिँ चल्न नहुने किन ?

उत्तर : साहित्यमा सबै वादलाई चल्ने अधिकार छ । चाहे त्यो प्रगतिवाद होस्, चाहे त्यो प्रजातन्त्रवाद होस्, चाहे त्यो माओवाद होस् । मलाई त लेख्नु भन्नु नै विद्रोह हो, क्रान्ति हो, परिवर्तनको संवाहक हो भन्ने लाग्छ । कुनै वादको आधारमा कसैले लेख्दैमा म घृणा गर्दिन । किनभने उसले आफ्नो मानसिकता र चेतनाको आधारमा लेखेको हुन्छ । पाठकहरूले यसमा निर्णय लिनु पर्ने हुन्छ । तर, पाठकहरू पनि सधैँ विभाजित हुन्छन् भन्ने लाग्छ ।

१०)प्रश्न : राजनीति र साहित्यको सम्बन्ध छ कि छैन ? वा, हुनुपर्छ कि हुनुपर्दैन, तपाईँलाई के लाग्छ ?

उत्तर : राजनीति र साहित्यको सम्बन्ध अवश्य हुन्छ, छ । तर, राजनीतिभन्दा साहित्य सधैँ माथि हुन्छ । किनभने, साहित्यमा शास्वतता र जीवित इतिहास हुन्छ । तर, राजनीति अस्थिर हुन्छ । विश्व इतिहास हेर्नुस्– राजनीति सधैँ परिवर्तनशील भएको छ । तर, मेक्सीम गोर्की, अथवा शेक्सपियर कहिल्यै पुराना हुँदैनन् । नेपालमा पनि जेजस्तोसुकै राजनीति आए पनि गए पनि भानुभक्त, लेखनाथ, देवकोटा, सिद्धिचरण, वीपी कहाँ मर्दछन् र !

११)प्रश्न : राजनीति फोहर छ भने त्यस विषयले पनि जसरी होस् साहित्यमा प्रवेश त गरेकै हुन्छ नि, आखिर साहित्यमा लेखिने विषय त हाम्रै समाज त हो नि, होइन र ?

उत्तर : राजनीतिलाई सफा पनि नभनौँ फोहर पनि नभनौँ । समयले कहिले सङ्लो हुन्छ, कहिले फोहर हुन्छ । साहित्यमा लेख्ने विषय समाज नै हो । तर, कहिले फोहरको कुरा लेखिन्छ, कहिले सफाको कुरा लेखिन्छ । फरक के भने साहित्यले फोहरलाई सफा गर्ने सन्देश दिन्छ ।

१२)प्रश्न : के तपाईँ हामीले लेखेको साहित्यले वा कथाले समाज परिवर्तनमा कुनै योगदान नै पुर्याउँदैन त ? कथामा हामीले पस्किने विकृति विसंगतिको विरोधले मानिसका चेतनामा प्रभाव पारेर उसमा यस विरुद्ध जाने मनस्थिति तयार हुन पनि सक्छ नि होइन र ?

उत्तर : हामीले लेखेको कुराले समाजमा अवश्य प्रभाव पार्छ । तर, पाठकीय चेतनाको, उमेरको, स्तरको कुरा हो । तिनले कसरी लिन्छन् भन्ने विषय महत्वपूर्ण हुन्छ ।

१३)प्रश्न : तपाईँले कथामा कथोपन्यास नाम दिएर भित्र्याउनु भएको श्रृङ्खला लेखन पनि नेपाली साहित्यमा एउटा वाद होइन ? अर्थात् नेपाली कथा साहित्यमा के यो प्रयोगवादी काम होइन ?

उत्तर : संयुक्त राज्य अमेरिकामा केही वर्ष अघि एउटी महिलाले हाइपर नभेल (Hyper Novel) को श्रृङ्खला सुरु गर्नुभएको थियो । त्यसलाई मैले नेपालमा ‘कथोपन्यास’ भनेर प्रारम्भ गरेको हुँ । यो कुनै वाद होइन । साहित्यमा आएको नयाँ आन्दोलन अथवा नवीन प्रयोग हो । यसलाई तपाईँहरूले कसरी लिनु हुन्छ, त्यो भविष्यमा थाहा भइहाल्ने छ ।

१४)प्रश्न : कथोपन्यासका दुई पुस्तकहरू प्रकाशित गराइसक्नु भएको छ— १)सीताहरू र, २)घर । अब तेश्रो ‘सम्बन्ध’ शीर्षकमा लेख्दैहुनुहुन्छ । ‘सम्बन्ध’का कतिवटा श्रृङ्खला लेखिसक्नु भयो ? र, यो पाठकहरूका हातमा कहिलेसम्ममा आइपुग्नेछ ? बताइदिनुहोस् न ।

उत्तर : ‘सम्बन्ध’का ७ श्रृङ्खलाहरू लेखिसिद्धियो । र, फुटकर रूपमा पत्रपत्रिकामा यी प्रकाशित भइसके । २५, ३० वटा नपुर्याई किताब प्रकाशित गर्ने विचार छैन । हेर्दै जाउँ, के–कस्तो हुँदै जान्छ ।

१५)प्रश्न : कथोपन्यास बारे नै थप कुरा— श्रृङ्खलाका सबै कथाहरू एकआपसमा गाँसिएकाजस्ता त लाग्दैनन् । प्रत्येक श्रृङ्खलाको पात्रपात्रा फरकफरक लाग्छन् । विषयवस्तु उस्तै तर फरक छन् । के सीताहरू भनेर विभिन्न फरकफरक सीतालाई एउटै श्रृङ्खला भनेर समावेश गर्दैमा त्यो कथोपन्यास हुनसक्छ र ? तपाईँले यसलाई श्रृङ्खला कथा वा कथोपन्यास भनेर राखिएकोबारे पुष्टिसहित पाठकहरूलाई प्रस्ट पारिदिनुहोस् न ।

उत्तर : ‘सीताहरू’कै विषयमा कुरा गरौँ । सीता हाम्रो पौराणिक आदर्श महिला हुन् । जसलाई हामी ‘देवी’ भनेर पूजा गर्छौँ । तर, नेपालमा कस्ता सीताहरू छन्, तिनले जीवनलाई कसरी भोगिरहेका छन्, त्यसको अति यथार्थलाई मैले फरक पात्र, फरक चरित्र, फरक–फरक विषयवस्तु र फरक वातावरणमा लेखेको हुँँ । तर, समष्टिमा सीता अर्थात् एउटी आदर्श नारीको रूप हाल कसरी विखण्डित भइरहेको छ, यही नै कथोपन्यासको विषयवस्तु हो । अर्थात् उपन्यासको रूपमा सीता मात्र हो, तर कथाको रूपमा हेर्दा हरेक कथा कथा मात्र हुन् । यसलाई पाठकहरूले आफ्नो क्षमता अनुसार कथा भनेर पढे पनि ठिकै छ, उपन्यास भने पनि ठिकै छ । मेरो आग्रह वा पूर्वाग्रह छैन । 'हाइपर नभेल'बारे धेरै कुरा इन्टर्नेटबाट बुझ्न सकिन्छ । कथोपन्यासले पाठक र लेखकका बीच सिधा संपर्क राख्छ । अर्थात यसलाई डाइरेक्ट एप्रोच भनौँ ।

१६)प्रश्न : यस्तै प्रयोग कै सिलसिलामा तपाईँले ‘कथा र रचनागर्भ’ शाीर्षक राखेर पुस्तक नै प्रकाशित गराउनु भयो । पुस्तकमा समावेश प्रत्येक कथाहरू कसरी लेखियो, त्यसको रचनागर्भ उल्लेख गर्नुभयो ? म सम्झिरहेको छु ‘गरिमा’ पत्रिकामा प्रथमपल्ट तपाईँले लेख्नुभएको रचनागर्भ प्रकाशित भएको । यो ‘रचनागर्भ’कै रचनागर्भ बताइदिनु हुन्थ्यो कि ?

उत्तर : छिमेकी देश भारतका पत्रिकाहरूमा एकजना कथाकारको दृष्टिमा अर्को कथाकार भन्ने स्तम्भमा कमलेश्वर, राजेन्द्र यादवजस्ताहरूको लेखरचना मैले पढेको थिएँ । यसबाट प्रभावित भएर मैले ‘मेरो कथाको कथा’ भनेर ‘गरिमा’मा पठाएको थिएँ । तत्कालीन साझा प्रकाशनका महाप्रबन्धक विश्वम्भर चञ्चल र गरिमाका सम्पादक गोपाल पराजुलीहरूले ‘रचनागर्भ’ भनेर नाम दिनु भएको हो ।
वास्तबमा यो शीर्षक ठीकै लागेर मैले २५, ३० वटा कथाहरूको रचनागर्भ ‘गरिमा’मा छपाएँ । पछि, यसलाई पुस्तकको रूपमा प्रकाशित गरियो । जसको पहिलो संस्करण वि.सं. २०५७ मा वाणी प्रकाशन विराटनगरबाट र दोश्रो संस्करण वि.सं.२०६३ मा अक्सफोर्ड प्रकाशन काठमाडौँबाट प्रकाशित भएको थियो । यसमा पछि समकालीन साहित्यमा धेरै वहश पनि भएको छ र यसको आफ्नै इतिहास छ ।
१७)प्रश्न : यस्ता रचनागर्भ पनि तपाईँका निवन्धजस्ता छन्– सुललित, मीठा ! नेपाली कथा साहित्यका पाठकहरूलाई तपाईँका अरू पनि कथाका रचनागर्भ पढ्न पाए हुनेथियो भन्ने लागिरहेको हुनसक्छ । लेख्दै हुनुहुन्छ कि अरू कथाका पनि रचनागर्भ ? वा, लेख्ने विचार छ कि ?

उत्तर : अवश्य पनि कति पाठकहरूले कथा भन्दा रचनागर्भ राम्रो भनेर प्रतिक्रिया दिएका छन् । तर हाल रचनागर्भ लेखिरहेको छुइन । किनभने त्यसमा सत्य र यथार्थ कुरा लेख्नु पर्छ । कतिपय व्यक्तिहरूको चरित्रहत्या पनि हुनसक्छ । यसैले म हाल लेखिरहेको छैन । लेख्ने विचार पनि छैन ।

१८)प्रश्न : रचनागर्भलाई छुट्टै विधा भन्न रुचाउनु हुन्छ कि यसलाई निवन्ध कै एक प्रकारका रूपमा लिनु उपयुक्त हुन्छ ?

उत्तर : रचनागर्भलाई छुट्टै विधा नभनौँ होला । तर यात्रा, नियात्रा भएजस्तै रचनागर्भ पनि कथाको नियात्रा मात्र हो । अथवा, वैयक्तिक निवन्धकै एउटा रूप भन्दा नै राम्रो होला ।

१९)प्रश्न : तपाईँले लेख्ने कथाका विषय वा कच्चा पदार्थ कसरी प्राप्त गर्नु हुन्छ ?

उत्तर : कथाको विषय वा कच्चा पदार्थ आपूmले बसिरहेको समाज र भोगिरहेको जिन्दगीबाटै लिइरहेको छु । समाजलाई हेर्ने विभिन्न दृष्टिकोंण अथवा आँखाहरू हुन्छन्, मेरो आफ्नै आँखा होला....!

२०)प्रश्न : कुनबेला लेख्नुुन्छ ? के कुनै त्यस्तो विशेष समय चाहिन्छ तपाईँलाई कथा सृजनाका लागि ?

उत्तर : मेरो कुनै खास समय छैन । कुनै पनि बेला जब मेरा पात्रपात्राले मलाई घच्घच्याउँछन्, त्यसबेला म लेख्छु ।

२१)प्रश्न : कथाको रचना प्रकृया कस्तो छ तपाईँको ? अर्थात् कुनै विषयले छोइएर लेख्न प्रारम्भ गर्नुहुन्छ र लेख्न थालेपछि आफसेआफ कथा तन्किँदै जाने हो कि, सम्पूर्ण खाका पहिल्यै तयार पारेर लेख्न बस्नुहुन्छ, कि धेरै दिन मनमस्तिष्कमा पकाएर बल्ल लेख्न बस्नुहुन्छ ?

उत्तर : मेरो मानसमा कुनै कथावस्तुको बिऊ रोपिएपछि त्यो विस्तारै मस्तिष्कमा बढ्दै जान्छ । अथवा बीचैमा सुक्छ पनि । तर, कुनै–कुनै बीज बढेर मस्तिष्कमा त्यसको प्रारम्भ, मध्य र अन्त्य आइसक्छ । अनि, लेख्दैजाँदा कुनै कुरा थपथाप पनि हुन्छ । यसरी एउटा पूर्णकथा तयार गर्छु । आजभोलि लेख्न अभ्यास बढेर होला कथा सुरु गरेपछि प्रायः लेखिसिध्याएर मात्र म उठ्छु । बीचबीचमा एउटै अक्षर वा शब्द प्रायः मैले परिवर्तन गर्नुपरेको छैन ।

२२)प्रश्न : कहिलेकाहीँ कुनै कथा लेखेर, लेखिसकेर पनि त्यो कथा कथा नै बन्न सकेन भन्ने लागेको छ कि, लेखिसकेका सबै कथा कथा बन्न सकेका छन् तपाईँका, के भन्नुहुन्छ ?

उत्तर : यो बडो जटिल प्रश्न हो । कहिले कथा लेखिसकेपछि राम्रो भएन भन्ने पनि लाग्छ, कहिले ठिकै भयो भन्ने पनि लाग्छ । पाठकहरूले मनपराएर कमेन्ट गरिदिँदा म उत्साहित हुन्छु । त्यस्तै कसैले मन पराएनन् भने पनि ममा लघुताभाष हुँदैन । किनभने लेख्नु मेरो धर्म हो, कर्म हो, सत्य हो, त्यसलाई जसरी लिए पनि म विचलित हुन्न ।

२३)प्रश्न : कथाप्रतिको तपाईँको दृष्टिकोण वा आग्रहबारे केही थप कुरा भन्न चाहनुहुन्छ कि ?

उत्तर : मैले धेरै पटक कथाका विषयमा आफ्ना दृष्टिकोणहरू प्रस्तुत गरिसकेको छु । हाम्रा प्राचीन वा परंपरागत कथाले अहिलेको साइबर समय अथवा इन्टरनेटको युगमा आफ्नो अस्तित्व कायम गर्न सक्लान्जस्तो मलाई लाग्दैन । अब विश्व एक भएको अथवा एउटा गाउँ भएको हुनाले विश्वका कुनै पनि पात्र, घटना वा परिवेश हाम्रा कथाको आयाम भित्र अटाउनु पर्छ भन्ने मेरो आग्रह छ ।

२४)प्रश्न : आफ्ना कथाहरूबारे आफैँले भन्नुप¥यो भने तपाईँलाई सर्वाधिक सन्तुष्टि प्रप्त भएका केही कथाहरूको नाम उल्लेख गरिदिनुहोस् न ?

उत्तर : मेरा ३०० भन्दा बढी कथाहरू छन् । सबैलाई आफ्ना छोराछोरी प्यारो नै लाग्छन् । तर पनि भ्रष्टाचारको पर्दाफास गर्ने कथा ‘डल्लेखोला’, ग्रामीण चरम गरिबीको यथार्थलाई प्रस्तुत गर्ने ‘गाउँमा’, नेपालीहरूको विदेश बसाइको पीडादायक स्थितिको ‘टोकियोमा सानो बुद्ध’, अनि अमेरिकी समाजमा बुढाबुढीहरूले भोगिरहेको अत्यन्त पीडापूर्ण जीवनको कथा ‘लर्ड भिक्टरको खोजीमा लर्ड भिक्टर’ आदि प्रिय लाग्छन् । नेपाली परिवेशमा लेखिएका अन्य कथामा ‘उत्तरार्ध’, ‘आखिर म तेरो लोग्ने हुँ निर्मला’, ‘एउटा आकांक्षाको अन्त्य’जस्ता कथाहरूले पनि निश्चय पनि नेपाली कथाको प्रतिनिधित्व गर्छन् भन्ने मलाई लाग्छ ।

२५)प्रश्न : तपाईँ पूर्वि नेपालको भोजपुरमा जन्मनुभयो । विराटनगरलाई पनि आफ्नो वासस्थान बनाउनु भयो । र, हाल काठमाडौँमा बसोबास गर्नुभएको छ । यी तीन स्थानहरूमध्ये तपाईँलाई बढी कुन प्यारो ? सृजनशीलतालाई पनि ध्यानमा राखेर भनिदिनुहोस् न, यी ३ ठाउँ मध्ये कहाँ तपाईँको सृजना धेरै पोखिएको छ ?

उत्तर : म भोजपुरमा जन्मिएँ । युवावस्था काठमाडौँ र जागीरको सिलसिलामा विभिन्न जिल्लामा विताएँ । जागिरबाट सेवा निवृत्त भएपछि विराटनगरलाई आफ्नो वासस्थान मात्र बनाइन लगभग १४, १५ वर्ष बसेँ । जुन–जुन ठाउँमा बसेँ, त्यहाँको परिवेश र पात्रहरूले मलाई घच्घच्याएर कथा लेख्न बाध्य बनाए ।
मलाई बढी सृजनशील विराटनगरले बनायो । किनभने एक त म फुर्सदमा भएँ । दोश्रो, वाणी प्रकाशनमा संलग्न भएँ । तेश्रो, विराटनगर विविध रङहरूले, चरित्रहरूले भरिएको पाएँ । यहाँ के छैन, सबथोक छ भनेर भूपि शेरचनले कवितामा लेखेजस्तै विराटनगरमा कथाको खानी नै भेट्टाएँ । त्यहाँ बुद्धिजीविहरू, कलमजीविहरू, रिक्सावालाहरू, यौनजीविहरू अनि पहाडी, मधेसी, जनजातीको संगम स्थल र तिनको बाँच्ने, जिन्दगी भोग्ने विविध चरित्रहरूले मलाई प्रेरित गरे । र, लेखनमा धेरै उपलब्धीहरू हासिल गरेँ । यसर्थ पनि मलाई विराटनगर नै प्यारो लाग्छ ।
अहिले पनि घरजग्गा, साथीभाइ, सबै त्यहाँ मेरा छँदै छन् । तर, आफ्नो र श्रीमतीको स्वास्थ्यको कारण तथा छोराछोरी सबै काठमाडौँमै बस्ने भएकोले यहीँ बस्न बाध्य छु, विवश छु । धेरै दृष्टिकोंणले काठमाडौँ बस्नु पनि उपलब्धीपूर्ण भएको छ । किनभने यहाँका साहित्यकारहरूसितको निकटतम सम्पर्क, नेपाल स्रष्टा समाजको प्रमुख सल्लाहकारको हैसियतले संस्था सञ्चालन र सम्बन्धको विस्तार, प्रकाशकहरूसँगको सामिप्य र अझ राम्रा अस्पतालहरूको सुविधा प्राप्त गरेको छु । र, संतोष गर्न बाध्य छु ।

२६)प्रश्न : मोफसल र फसल भन्ने कुरा पनि साहित्यमा धेरै चल्छन् । राष्ट्रिय र क्षेत्रीय भनेर त स्रष्टाहरूलाई राज्यले नै प्रतिभा पुरस्कार आदिमा वर्गिकरण गरेको छ । के स्रष्टालाई यसरी मोफसल, राष्ट्रिय, क्षेत्रीय भनेर वर्गिकरण गर्नु उपयुक्त लाग्छ कि अनुपयुक्त ?

उत्तर : साहित्यकारहरूलाई राष्ट्रिय, क्षेत्रीय, मोफसल भनेर वर्गिकरण गर्नु ठीक होइन । सबै ठाउँका, क्षेत्रका, जातीका साहित्यकारहरूको सामुहिक मूल्याङ्कन गरेर कुनै पनि पुरस्कार दिन सकिन्छ । अझ म त भन्छु— राज्यले साहित्यकारहरूलाई वर्गिकरणका साथै लाइसेन्स (परिचयपत्र) दिने व्यवस्था पनि गर्नु पर्छ । किनभने अहिले फेसनवादी साहित्यकारहरू बढेका छन् । जसमा न स्थायित्व हुन्छ, न अध्ययन मनन छ, न समर्पण छ, न सेवा छ । तिनै व्यक्तिहरू पार्टीगत गुटबन्दी र धनको कारणले प्रसिद्ध साहित्यकार हुन तम्सिएका छन् । किनभने धेरै उन्नत देशहरूका साथै दक्षिण कोरियाले पनि समष्टिगत रूपमा साहित्यकारहरूको निष्पक्ष मूल्याङ्कन गरी वर्गिकरण गरेर लाइसेन्स दिने गरेको छ ।
साहित्यकारको वर्गिकरण भन्नाले पुर्याएको योगदान अनुसार निजको स्तर वर्गिकरण भन्न खोजेको हुँ ।

२७)प्रश्न : राज्यले भर्खरै भानुभक्त आचार्यको द्वैशताब्दीको अवसर पारेर पुस्कारहरू वितरण गर्यो । तपाईँलाई पनि पुस्कृत गरिएको खबर पढ्न पाइएको थियो । तर, यस पुरस्कार वा वितरण प्रक्रियाका सम्बन्धमा धेरै गुनासो मिडियाहरूमा पढ्न, सुन्न पाइएको थियो । यस सम्बन्धमा तपाईँका पनि आफ्ना केही कुरा छन् कि ?

उत्तर : भानुभक्तको नाममा पुरस्कार दिइने लामो सूचि पढेँ । जसमा मेरो पनि नाम थियो । तर लाटो देशमा गाँडो तन्नेरी भनेझैँ एउटा कुनै तथाकथित संस्था र व्यक्तिको सिफारिसमा यो पुरस्कार मनपरीसँग दिइएको कारणले तत्कालीन संस्कृति मन्त्रीको जागीर जानुको एउटा कारण हो भन्ने सुनेको छु । सत्यतथ्य के हो, थाहा छैन । तर पनि यो पुरस्कार दिइनु राम्रो काम भए पनि आधार र सिफारिस यन्त्र खराब भए जसले गर्दा धेरै साहित्यकारहरू रूष्ट छन् ।
मेरो हकमा मेरो जन्म वि.सं. २००० साल भए पनि प्रमाणपत्रमा वि.सं. २००३ लेखिएकोले मेरो नाम निस्किए पनि त्यो पुरस्कार लिने सौभाग्य मैले पाइन ।

२८)प्रश्न : आख्यान साहित्य भनेर कतिपय लेखमा, छलफलमा उपन्यासकै चर्चा गरिएको पाइएको छ । के कथाको महत्व कम हुँदै गएको हो ? वा, कथाले व्यवसाय गर्न सक्दैन भनेर ‘आख्यान’ भन्ने तर चर्चा उपन्यासकै मात्र गर्ने भएको हो ?

उत्तर : साहित्यको नियममा आख्यान भन्नाले उपन्यास र कथा दुवै आउँछन् । दुवै लेख्नेलाई आख्यानकार भनिन्छ ।
अब उपन्यासको बढी चर्चा भयो भन्ने कुरा सम्बन्धित समालोचकहरूको व्यक्तिगत कुरा हो । कथाको पनि कम चर्चा भएको छैन । तपाईँ हाम्रा धेरै कथाहरूको पनि चर्चा परिचर्चा भएको सुनेको छु । फेसबुकमा हेरेको छु । अझ किशोर पहाडीको ‘पेन लभर्स इन नेपाल’ले त धेरै महत्वपूर्ण सूचनाहरू दिने गरेको छ ।
तपाईँकै ‘कथा’ र ‘लघुकथा कुनो’ले यस क्षेत्रमा जागरण ल्याएको छ ।
समयले विस्तारै आफ्नो बाटो लिँदै जान्छ । हामीले धैर्य राख्नु पर्छ ।

२९)प्रश्न : अहिले पठन संस्कृति मौलाएको भनिँदै छ । तर, यसमा पनि चर्चा उपन्यासकै चलेको छ । के भन्नुहुन्छ उपन्यासको चर्चा चलेकै हो कि चलाइएको हो ?

उत्तर : अहिले पठन संस्कृति बढेकै छ भन्नु पर्छ । त्यसमा पनि उपन्यास र आत्मवृतान्तले हालको बजारमा राम्रो स्थान प्राप्त गरेको छ । कतिपय उपन्यास चर्चा योग्य भएरै चलेको हो भने कतिपय चलाइएको हो अथवा चलखेल भएको हो ।
तर पनि आजका युवाहरूले नेपाली पुस्तकहरू भन्दा अंग्रेजी पुस्तकहरूमा रुचि राखेको पाउँछु । जसरी संस्कृत भाषा एकादेशको जस्तो भएको छ, नेपाली पनि दश वर्ष पछि एकादेशको हुन्छ भन्ने मलाई डर छ । किनभने विदेशी संस्कृति र पृष्ठभूमि एकातिर, अर्कोतिर जनजाती र मातृभाषाभाषीहरूको चेपुवामा नेपाली भाषाले दिनप्रतिदिन आफ्नो अस्तित्व नै हराउँदै जाने कुरामा शंका छैन ।

३०)प्रश्न : अहिले पुस्तकहरू विक्री हुनथालेका छन् अरे । एकप्रकारको हल्ला व्याप्त छ । के भन्नुहुन्छ, यो साँचो कुरा हो कि, व्यवसायलाई फाइदा पुर्याउने चालबाजी ? यो चालबाजी नै हो भने पनि के फरक पर्छ र, यसबाट पुतकका व्यवसायी मात्रै होइन पुस्तकका लेखक पनि त फाइदामा पुग्छन् नि ? जो भए पनि लेखक फाइदामा पुग्नु भनेको एउटा लेखकका लागि खुसीको विषय हो कि होइन ?

उत्तर : यो हल्लैहल्लाको देश हो । यहाँ हल्लाले सबै हल्लाउँछ । यहाँ जति चालबाजी, चलखेल, नातागोता, इष्टमित्र, चाकडी–चापलुसी संसारमा कहीँ पनि छैनजस्तो लाग्छ ।
फेरि लेखकले पुस्तकबाट रकम लिएर बाँच्छु भन्नु आकाशको फल मात्र हो । कसैले यतिलाख लिएँ, उतिलाख लिएँ भनेका छन् तर तिनले सरकारी कर तिरेका छन् त ? म उनीहरूलाई प्रश्न गर्न चाहन्छु ।
फेरि आफ्नै पैसा खर्च गरेर पुस्तक छाप्ने र विमोचन कार्यक्रम गर्ने अनि पुरस्कारको लागि दौडने लेखकहरू देशमा छ्यापछ्याप्ती छन् । जो आत्मबल भएका, सृजनालाई नै आफ्नो पुरुषार्थ ठान्नेहरूको कुनै कदर भएको देख्दिन ।

३१)प्रश्न : उपन्यास पनि लेख्नुभयो नि हगि ? एकमात्र उपन्यास प्रकाशित भएको देखिन्छ तपाईँको । के फेरि अर्को उपन्यास लेख्न मन नलागेकै हो ?

उत्तर : मैले लेखेको उपन्यास ‘सबै बिर्सिएका अनुहारहरू’ साझा प्रकाशनले वि.सं.२०२५ मा प्रकाशित गरेको थियो । जसको केही संस्करण पनि निस्किएका छन् । त्यसअघि ‘रात जो पग्लन्छ’ उपन्यासको केही अंश ‘तुवाँलो’ साहित्यिक पत्रिकामा वि.सं.२०२१ मा छापिएको थियो । त्यो उपन्यास त्यसैबेला सहयोगी प्रकाशन, काठमाडौँले मलाई रु.३००।– दिएर प्रकाशित गर्ने भनेर पाण्डुलिपी लिएको थियो । त्यसबेला कम्प्युटरको चलन थिएन । बीचमा सहयोगी प्रकाशन पनि हरायो, मेरो पुस्तक पनि हरायो— जसको अत्तोपत्तो छैन ।
वि.सं.२०३२मा ‘आकाश विभाजित छ’ भन्ने संयुक्त उपन्यास लेखनमा लागियो । त्यसपछि कथोपन्यासतर्फ लागेँ । खास उपन्यास छैन ।

३२)प्रश्न : एकपटक विराटनगरमा आफूले लेख्दै गरेको उपन्यास अंश पनि मलाई सुनाउनु भएको स्मरण गरिरहेको छु । के त्यसलाई पुरा गर्न सक्नुभएन ? वा, पुरा गरेर पनि प्रकाशन गर्न नचाहनु भएको हो ?

उत्तर : हो, विराटनगरमा मैले एउटा उपन्यास वि.सं.२०५४।०५५ तिर ‘विसर्ग’ नाम राखेर लेखेर ८, १० अध्याय पूरा गरेको थिएँ । त्यसमा मैले पञ्चायती व्यवस्थामा भएको भ्रष्टाचारलाई उपन्यासको विषयवस्तु बनाएको थिएँ । तर, बहुदल आएपछि भ्रष्टाचारका अनेक रूपरङ बढेको देखेर उपन्यास लेख्ने जाँगर हरायो । त्यसलाई पूरा गर्ने कुनै सोच पनि राखेको छुइन, त्यो अधुरै छ ।

३३)प्रश्न : कथाका अतिरिक्त धेरै भूमिकामा पनि पोखिनु भएको छ । हालै तपाईँले विभिन्न लेखकहरूका विभिन्न पुस्तकहरूमा लेखिएका आफ्ना भूमिकाहरूलाई सङ्कलन गरेर ‘भूमिकै भूमिकामा परशु प्रधान’ भन्ने पुस्तक नै प्रकाशन गराउनु भयो । यो तपाईँले लेखेका भूमिकाहरूको दोश्रो सङ्कलन हो क्यार । भूमिका लेख्न किन यतिको मन गर्नु भएको ? के भूमिका पनि साहित्यिक ‘रचना’ नै हो ? अर्थात् भूमिकाको पनि साहित्यिक मूल्य छ वा हुन्छ जस्तो लागेको छ ? यसउसले सोको पुस्तक पनि प्रकाशित गराउनु भएको हो ?

उत्तर : भूमिका लेख्नलाई पहिलो कुरा त वाणी प्रकाशनमा बस्दा बाध्य भएँ । त्यसपछि धेरै लेखकहरूले भूमिकाका लागि आग्रह गरेकोले टार्न नसकेर लेख्दै आएँ । भूमिकालाई मैले आशिर्वचनको रूपमा भन्दा साहित्यिक आलेख बनाउने प्रयास गरेको छु । भूमिका लेख्ने रहर भन्दा कर बलमा परेको छु । केही वर्ष यता केही भूमिकाहरूको पारिश्रमिक पनि पाउने गरेको छु । वास्तबमा भूमिका पुस्तककै खास अनुहार हो, जसलाई हेरेर वा पढेर पाठकहरूले पुस्तक के कस्तो छ भनी मनन गर्न सक्छन् । यसको आफ्नै साहित्यिक मूल्य भएकोले यसलाई भिन्नै विधाका रूपमा राख्नु पर्छ भन्ने मान्यता पनि बढेको छ । शंकर लामिछानेका भूमिकाहरूले पारिजातको पुस्तक ‘शिरिषको पूmल’को बढी रुचि जागृत गराएको थियो भन्ने सत्य हो ।
मैले लगभग ३०० पुस्तकहरूको भूमिका लेखेको छु । जसमध्ये वाणी प्रकाशन विराटनगरले वि.सं.२०६४सालमा ‘प्रारम्भमा परशु प्रधान’ शीर्षकमा पुस्तक प्रकाशन गरेको थियो । भने, वि.सं.२०७१मा नेपाल स्रष्टा समाजले ‘भूमिकै भूमिकामा परशु प्रधान’ प्रकाशित ग¥यो । यी दुवै पुस्तकमा ६०, ६५ भूमिकाहरू परेका छन् । अरू भूमिकाहरू अझै बाँकी छन् । तिनको भविष्य कस्तो हुन्छ, थाहा छैन ।

३४)प्रश्न : तपाईँले गरिवीका, अभावका, विपन्नताका, विसंगतिका कथा पनि लेख्नुभएको छ । यौनका कथामा त अझै तपाईँको कलम शक्तिशाली देखिन्छ । यौन विषयका कथा लेख्ने कथाकारहरूमा तपाईँको नाम अग्रस्थानमा रहेको छ । अब भन्नुहोस्—तपाईँ यौनवादी कथाकार कि केवल कथाकार ?

उत्तर : संसारमा सबभन्दा शक्तिशाली समय रहेछ । समयले हामीलाई सबैथोक गराउँदो रहेछ । अहिले आएर बुझेँ— यो शरीर पनि तपाईँ हाम्रो अधिनमा रहेनछ । विभिन्न कालमा आफ्ना विभिन्न भोगाईहरूलाई मैले कथाको माध्यमबाट बाहिर प्रकाशमा ल्याएँ । मैले गरिबी, अभाव, ओझेलमा परेका किनारीकृत, विसंगति आदि सबै विषयहरूमा कथाहरू लेखेको छु । तर पनि मलाई यौनवादी कथाकारको रूपमा बढी परिचित गराएका छन् । म आपूmलाई सबै वादी कथाकार भन्छु । तर समिक्षक र पाठकहरूलाई मलाई के कथाकार बढी मान्ने भन्ने निर्णय गर्न छुट छ । मेरो विषयमा धेरै लेखिएका छन् । तर पनि डा.कृष्णप्रसाद दाहालको ‘परशु प्रधानको कथायात्रा’ पुस्तकले मेरो कथाको यथार्थ भूमिकालाई प्रष्ट पारेको छ भन्ने म ठान्दछु ।

३५)प्रश्न : प्रसङ्ग बदलौँ । साहित्यिक सङ्गठनहरूमा पनि अगुवा देखिनुहुन्छ । पहिले विराटनगरमा वाणी प्रकाशन खोलेर निकै सक्रिय रहनु भयो । अहिले, ‘नेपाल स्रष्टा समाज, काठमाडौँ’को प्रमुख सल्लाहकार हुुनुहुन्छ । के लेखकहरूका लागि संगठन आवश्यक नै छ र ? लेखिराखेर मात्रै नपुग्ने नै हो ?

उत्तर : लेखकहरूको लागि कुनै संगठन आवश्यक छैन । जस्तो कि धेरै साहित्यकारहरू साहित्यिक संगठनमा थिएनन् र छैनन् पनि । तर, तिनको लेखन कालजयी भएका छन्, उत्कृष्ट भएका छन् । मैले विराटनगरमा तपाईँहरू सबैको सहयोगमा वाणी प्रकाशनमा सकृय भएँ । तपाईँ सहित धेरै साथीहरूले अझ धेरै पृष्ठभूमि भएका साथीभाइको सहयोगमा वाणी प्रकाशनमा काम गरेर देखाउने सौभाग्य मैले पाएँ । काठमाडौँ आएपछि मेरा एकजना विद्यार्थी स्रष्टा पवन आलोकले सारै रहर र कर गरेर नेपाल स्रष्टा समाजको प्रमुख सल्लाहकारमा राखेका छन् । मेरो कुनै रहर होइन वाध्यता र विवशता हो । मैले उक्त संस्थामा सकेको सल्लाह र सहयोग दिंदै आएको छु ।

३६)प्रश्न : यस्तै संगठनमा रहँदा तपाईँले धेरै नयाँ नयाँ लेखकहरूलाई उत्प्रेरित गरेको नजिकबाट देखेको छु । साथीभाइ बनाउने मामिलामा पनि तपाईँ सरल हुनुहुन्छ, अत्यन्त मिलनसार । तर, त्यस्तो के हुन्छ जसले तपाईँका निकटतम साथीभाइहरू, अनुजहरू तपाईँबाट टाढिने गर्दछन् ?

उत्तर : म सधैँ नयाँ लेखकलाई उत्प्रेरणा दिने र बरिष्ट साहित्यकारलाई सम्मान गरौँ भन्ने विचारको मान्छे हुँ । मैले जति संकष्ट, पीडा र संघर्ष जीवनमा गरेँ त्यो मलाई नै थाहा छ । यही कारणले होला म साथीभाइहरूलाई सकेको सहयोग गर्न तयार रहन्छु । कति साथीभाइहरूको पुस्तक प्रकाशनदेखि लिएर पुरस्कार, सम्मान दिने कुरामा रुचि राख्छु । तर केही साथीभाइहरू केही नियोजित आकांक्षा राखेर मसित नजिक हुँदा रहेछन् । र, मैले नसकेपछि ती टाढा हुँदा रहेछन् । यसलाई म आफ्नो कमजोरी मानौँ कि साथीभाइहरूको स्वार्थीपन— म भन्न सक्दिन । तपाईँ र तपाईँजस्ता धेरै साथीभाइहरू मेरा नजिक छन् । यही नै मेरो प्राप्ति हो ।

३७)प्रश्न : वाणी प्रकाशनमा रहँदा तपाईँले सँगाल्नुभएका अनुभवहरू के कस्ता छन् ? उल्लेखनीय कामहरू, तीतामीठा अनुभवहरू, वा त्यस संस्थासित जोडिएका भन्न मनलागेका कुनै कुराहरू पाठकहरू समक्ष राखिदिने हो कि ?

उत्तर : वाणी प्रकाशनमा बस्दा जेजस्ता कामहरू गरियो त्यसमा तपाईँ र तपाईँजस्ता अरू साथीहरूको पनि सहभागीता थियो । मैले सबै साथीभाइलाई समेटेर अगाडि बढौँ भन्ने भावना राखेँ । केही बरिष्ट साहित्यकारहरूले काठमाडौँबाट आएर परशु प्रधानले हामीलाई उछिन्न लाग्यो भन्ने दुर्भावना राखेका रहेछन् । वास्तबमा उहाँहरूले मलाई नचिन्नु भएको हो । म नाम भन्दिन, मसँग कृष्णभूषण बलको अनावश्यक झगडा पारेर वाणी प्रकाशनलाई मर्नु न बाँच्नुको स्थितिमा ल्याउन ती जिम्मेवार छन् । अरू त म के भनौँ ।

३८)प्रश्न : एकताका प्रज्ञा प्रतिष्ठानमा पनि तपाईँको नाम सदस्य सचिवका लागि चर्चामा आयो । तर, त्यसै सेलायो । के भएको थियो ? सरकारी जागिर खाए पनि सरकारी साहित्यिक संगठनमा त कहिल्यै अवसर पाउनु भएन नि ? किन होलाजस्तो लाग्छ ? तपाईँ आकाञ्छी त हुनुहुन्थ्यो होइन ?

उत्तर : प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिवमा मेरो नाम आएको सत्य हो । यसको लागि तत्कालीन उपकुलपति डा.वासुदेव त्रिपाठीले मलाई आग्रह गर्नु भएको थियो । तर पछि उहाँले नै धोका दिनु भयो । अरू म के भनौँ ।

३९)प्रश्न : अब फेरि कथाकै चर्चा गरौँ । अहिले लेखिराखेका कथाकारहरूमा तपाईँलाई उल्लेखनीय लागेका कथाकारहरूको नाम लिनुप¥यो भने कसकसलाई उल्लेख गर्न चाहनु हुन्छ ?

उत्तर : यो अत्यन्त गाह्रो काम हो । जसको नाम लियो ती खुसी हुन्छन्, अरू जम्मै मेरा शत्रु हुन्छन् । तर अधिकांश हामी पछि आएका पुस्ताले राम्रै कथा लेखिराखेका छन् । तिनलाई हामीले उचित ठाउँ दिनु पर्छजस्तो मलाई लाग्छ ।

४०)प्रश्न : कथा क्षेत्रमा लाग्न चाहने नयाँ नयाँ लेखकहरूलाई अग्रज कथाकारका नाताले तपाईँले दिने केही टिप्स छन् कि ?

उत्तर : एउटा कथा लेख्नलाई सयवटा कथा पढ्नुहोस् । अनि, अध्ययन मनन विना कथाकार हुने लोभ नगर्नुहोस् ।

४१)प्रश्न : कोही भन्छन्, अध्ययन नगरी लेख्न सकिँदैन । कोही आफू पुस्तक अध्ययनको कुरा गर्छन्, कोही जनजीवन । तपाईँको आफ्नो अनुभव वा धारणा यस सम्बन्धमा के होला ?

उत्तर : लेखनलाई अध्ययन, मनन, चिन्तन र सामाजिक परिवेशको अन्तरङ्ग जानकारी हुन आवश्यक देख्छु । अन्यथा राम्रा कथा लेखिन सकिँदैन ।

४२)प्रश्न : एउटा लेखकका लागि प्रतिभा, साधना–समर्पण वा अध्ययन के चाहिँ महत्वपूर्ण होजस्तो लाग्छ ? आफ्नो अनुभवको पृष्ठभूमिमा बताइदिनुहोस् न ।

उत्तर : तपाईँले भनेका सबै विषयहरू आवश्यक छन् । एउटा लेखकका लागि प्रतिभा, साधना र अध्ययन सबै आवश्यक छन् ।

४३)प्रश्न : साहित्यिक पुरस्कारहरू देखिरहनु भएको छ कसरी दिने गरिन्छ । यदाकदा उपयुक्त साहित्य र साहित्यकार पुरस्कृत नहुने गरेका होइनन् । तथापि धेरैजसो त पुरस्कार भनेको आफ्ना वरिपरीका छाताभित्रका मानिसहरूलाई नै दिइने गरेको छ होइन, के भन्नुहुन्छ ?

उत्तर : सबै साहित्यिक पुरस्कारहरू प्रायः गुटबन्दी, पार्टीबन्दी, लेनदेन, सम्बन्ध, नातागोताका आधारमा नै दिने गरेको मलाई अनुभव छ । तर, तपाईँ हामी के गर्न सक्छौँ ?

४४)प्रश्न : तपाईँले पनि यदाकदा यस्तो विकृतिमाथि साहित्यिक मञ्चहरूबाट बोल्नु भएको छ । यस्तो परिवेशमा पुरस्कारलाई नै बरु अस्वीकार गर्नु नबिटुलिनु होजस्तो लाग्दैन ?

उत्तर : मैले धेरै पटक पुरस्कारहरू अस्वीकार गरेको छु । (हल्ला गरेर हिँड्नु भएन ।) यसमा मेरा दुई आधार छन् — एउटा त म स्वयम् त्यो पुरस्कार लिनका लागि योग्य छ कि छैन । र दोश्रो, पुरस्कारको रकम मात्रा र पुरस्कारको स्तर कस्तो हो । तर, हाम्रा बरिष्ट साहित्यकारहरूले १हजार देखि ५लाख सम्मको पुरस्कार लिएको देख्दा लाज लागेर आउँछ ।

४५)प्रश्न : कथा हुनका लागि वा बन्नका लागि घटना–दुर्घटना (विषय), शैली–शील्प (प्रस्तुति) वा कुन त्यस्तो तत्वको सर्वाधिक महत्व देख्नुहुन्छ जसले ‘कथा’लाई कथा बन्न मद्दत पुर्या उँछ ?

उत्तर : कथाका लागि सबैभन्दा आवश्यक विषय मलाई ‘चरित्र’ लाग्छ । चरित्रकै आधारले कथा बन्ने हो ।

४६)प्रश्न : सम्भवतः साहित्यमा ५० वर्ष भन्दा बढी अवधि समर्पण गरिसक्नुभएको छ । तपाईँले कथा लेख्न प्रारम्भ गर्नुभएको समय चाहिँ कहिलेदेखि होला ?

उत्तर : मैले कथा लेख्न थालेको ५० वर्ष पूरा भयो । मेरो पहिलो कथा ‘मेरो कोठाको आँखाबाट’ शीर्षकमा वि.सं.२०१९ को ‘रूपरेखा’ पत्रिकामा प्रकाशित भएको हो ।

४७)प्रश्न : साहित्यमा लाग्ने प्रेरणा कसरी प्राप्त भएको थियो ? कुनै त्यस्तो उल्लेखनीय कुरा केही छ कि ?

उत्तर : विद्यार्थीकालदेखि नै म लेख्न प्रेरित हुन्थेँ । हाम्रो तत्कालीन हेडसर शरदचन्द्र शर्मा भट्टराईको प्रेरणाले हामी धेरैजना साहित्यकार भयौँ । जसमा म, कृष्ण जोशी, शैलेन्द्र साकार, मेघराज मञ्जुल, गणेश रसिक आदिको नाम लिन सकिन्छ ।

४८)प्रश्न : फेरि सोध्न मनलाग्यो— तपाईँको प्रिय विधा कथा कथा र मात्र कथा ! अझै लेख्दैहुनुहुन्छ निरन्तर कथा । के कथा लेखेर कहिल्यै नथाक्ने नै हुनुभएको हो ?

उत्तर : पक्कै हो, मेरो प्रिय विधा कथा हो र म कथा लेखक भएरै मर्न चाहन्छु ।

४९)प्रश्न : अब अन्तिम–अन्तिम प्रश्नतर्फ आउँ । साहित्यिक जीवन कस्तो लागिरहेको छ—आनन्दित, सुखमय कि पीडादायी ?

उत्तर : यो आफ्नो मानसिकतामा निर्भर गर्ने कुरा हो । म आनन्दित छु । र, सुखी छु ।

५०)प्रश्न : साहित्यिक जीवन बाँच्ने साहित्यकारहरूका साथीभाइ पनि साहित्यिक हुनै नै भए । यस्ता साथीभाइबाट पनि साहित्यिक जीवनमा के प्राप्त गर्नु भयो— आनन्द, सुख कि पीडा ?

उत्तर : म साहित्यकारहरूलाई सधैँ साथीभाइका हैसियतले स्नेह राख्छु । जसलाई जस्तो सहयोग गर्नुपर्ने हो, गरिआएको छु । मेरो आनन्दको विषय नै साहित्यकारहरूसँगको भेटघाट, छलफल र विचार आदानप्रदान हो । मैले यसमा पीडाको अनुभव गरेको छैन र गर्दिन पनि ।

५१)प्रश्न : अन्त्यमा, केही अरू भन्न मनलागेका नसोधिएका कुनै कुरा भए भनिदिन आग्रह गर्दछु ।
साथै, तपाईँको व्यक्तिगत जीवन र साहित्यिक जीवन दुवै सुखमय होस्, आनन्दित होस्— यस्तो कामना गर्दछु । यस कथावार्ताका लागि आफ्नो महत्वपूर्ण समय उपलब्ध गराइदिनुभएकोमा पनि हार्दिक धन्यवाद भन्न चाहन्छु । धन्यवाद छ ।

उत्तर : बाँकी मैले भन्नुपर्ने केही छैन । केवल यति भन्छु— मेरो आत्मवृतान्त छिटै निस्किँदै छ । जसको शीर्षक राखेको छु— ‘जिन्दगीका मोडहरू’ । यो नेपाली साहित्यमा नयाँ कुरा हुनेछ । यसमा साहित्यिक साधना र जागिरे जीवन दुवैको समिश्रण छ । यसलाई सबैले पढेर प्रतिकृया दिनुहुन अनुरोध छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 पौष, 2071

लेखकका अन्य रचनाहरु