यसरी नै चलिरहेको छ

- विद्याप्रसाद घिमिरे

संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । केहीमा अरूलाई जिताएर आपूm हार स्वीकार्दै यसैमा रमाउने प्रकृति हुन्छ भने धेरैमा आफ्नो हारलाई कुनै हालतमा स्वीकार नगर्ने प्रकृति पाइन्छ । यो प्रकृति मानिसलगायत हरेक प्राणीमा विद्यमान हुन्छ । यही प्रकृतिले गर्दा नै आपसी मनमुटाव र झगडा निम्त्याइरहेको हुन्छ । मानिस, किराफट्याङ्ग्रा; जनावर होस् वा चराचुरुङ्गी, जसलाई पनि आफ्नो विजय प्यारो लाग्छ, पराजयले दुःखी तुल्याउँछ । यो प्रकृति केहीमा कम र केहीमा बढी पाइएला ! तर सबै प्राणीमा विद्यमान हुन्छ । हरेकको मनभित्र रहेको ‘अहम्’ तत्वले प्राणीमाथि यस किसिमको खेल खेल्दछ । जुनसुकै उमेर वा बौद्धिक स्तरको मानिस भएपनि उसभित्र रहेको यही ‘अहम्’ तत्वले नजानिँदा गरी उसलाई आफ्नो कब्जामा पार्दै जान्छ । सानो उमेरको बालकमा सानै स्वाथ्र्य हुन्छ । उसमा त्यही अनुरुपको ‘अहम्’ हुन्छ । स्वाभाविक रुपमा उसले तपाइँको अघिल्तिर आपूmलाई सानो देख्छ । यसैबाट नजानिँदो गरी उसको मनभित्र इश्र्या पैदा हुन थाल्छ र हरेक समय उसले आपूmलाई अरूभन्दा ठूलो हुने चाहना राख्न थाल्छ । ठूलो मानिसलाई जितेर ऊभन्दा आपूm ठूलो बन्ने अभिप्सा उसको मनभित्र जाग्न सुरु हुन्छ, जुन कुरो ऊ आफैलाई थाहा हुँदैन । यसरी बिस्तारै बालकको भित्रभित्रै ‘अहम्’ झ्याङ्गिदै जाँदा ऊभित्र अनौठो हठ पैदा हुन थाल्दछ, जसलाई बालकको जिद्धी स्वभाव वा बालहठ भनिन्छ । यस अवस्थामा पुगेको बालकले आपूmलाई सबैभन्दा ठूलो ठान्न थाल्छ । चाहेको चिज नपाउँदा रिसाउँछ र चाहना पूरा भए प्रसन्न हुन्छ । अब उसको प्रयास भनेकै हरेक कुरामा अरूलाई हराउने र सबैमाथि विजय प्राप्त गर्दै आफ्नो चाहना पूरा गर्नेमा केन्द्रित हुन थाल्छ । बालकमा बालहठ विकासित भएको छ कि छैन भनेर जाँच्न तपाइँले सामान्य प्रयोग गरी हेर्नु सक्नुहुन्छ । एक÷दुई वटा उदाहरण भनिहालौं—तपाइँले अति नै स्नेह गरेको बालकलाई आफ्नो अघि राखेर उससँग पञ्जा लडाउन थाल्नुहोस् । ऊ तपाइँसँग पञ्जा लडाउन पाएकोमा असाध्यै खुसी हुन्छ, आपूmलाई तपाइँसमान सोच्न थाल्छ र उत्साहित हुन्छ । निकैबेरको घम्साघम्सीपछि जानाजान आफू हारेको अभिनय गरी उसलाई जिताई दिनुहोस् । अब हेर्नुहोस् उसको अनुहारको हाँसो र प्रफुल्लित अनुहार । उसको प्रसन्नताले सीमा नाघ्छ । तपाइँले दिएको हजारौं मूल्य पर्ने खेलौनाले आजसम्म ल्याउन नसकेको खुसी र सन्तुष्टि उसमा देखिनेछ । अब अर्को प्रयोग गरी हेर्नुहोस् । तपाइँले उसलाई उचालेर एउटा कुर्ची अथवा टेबुलमाथि राखेर “ल यो मभन्दा पनि ठूलो भयो” भनी दिनुहोस् र हेर्नुहोस् । रोइरहेकै रहेछ भने पनि यो विजयले उसको मुहारमा अलौकिक मुस्कान नाच्न थाल्नेछ । यो सब के भएको ? भन्ने तपाइँलाई लाग्न सक्छ, यो अरू केही नभएर केवल तपाइँमाथिको विजय भाव अटेसमटेस भई उसको मुहारमा छरिएको हो । तपाइँले उसको ‘अहम्’लाई हावा भरेर फुलाई दिनुभयो, ऊ तृप्त र सन्तुष्ट भयो । यस उमेरमा सुरु भएको अहम्वादीहरूको यो यात्रा कि बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अन्त्य हुन्छ कि त सिंहदरबारसम्म लम्बिन्छ । आखिर सिंहदरबारमा पुगेका अहम्वादीहरू र त्यो बालकमा तपाईंहरूले के भिन्नता पाउनु हुन्छ । यिनलाई पनि हामीले नै कुर्चीमाथि बसाएर हेर तिमी कति ठूलो भयौ भनिदिएको होइन र ! यी आफ्नै बलबुताले त्यहाँ पुगेका हुन् त ! तर हेर्नुहोस् यिनीहरूको मुस्कान । यिनलाई कुर्चीमाथि देख्दा यी आपैm गएर कुर्चीमा बसेजस्तो तपाइँलाई लाग्छ, कतै हामीले यिनलाई कुर्चीबाट तल झारेका दिन यी हामीभन्दा साना हुने त हैनन् ।
अरूमाथि विजय प्राप्त गर्न चाहने प्रकृति अहम्कै स्वरुप हो, जुन अविवेकीमा बढी पाइन्छ भन्ने केहीको मान्यता छ । तर यो विवेकशील र बुद्धिमान भनाउन चाहनेहरूमा अझ बढी पाइएको छ । तर यिनको ‘अहम्’ प्रस्तुत गर्ने शैली फरक हुने भएकाले अल्पबद्धि र हैसियतविहीन मानिसमाथि अपजस थोपरिन गएको मात्र हो । किनकि अल्पबुद्धिले अहम् अभिव्यक्त गर्ने तरिका र हतकण्डा जानेको हुँदैन । ऊ नितान्त प्राकृतिक शैलीमा अहम् अभिव्यक्त गर्दछ । यिनको यो शैलीलाई विवेकशील हुँ भन्ठान्नेहरू असभ्य ठान्छन् । हैसियतविहीन र गैरप्रतिष्ठित व्यक्तिहरूको ‘अहम्’ प्रकट गर्ने तरिका र उनीहरूबीच भएका लडाइँलाई उनीहरू पशुवत लडाइँको संज्ञा दिन्छन् । यसको एउटै कारण के भने आपूmलाई बुद्धिमान ठान्नेहरूले अहम् प्रकट गर्दा केही औपचारिकता र केही फरक तरिका अपनाउँछन् । यथार्थमा आजसम्म आपूmलाई सभ्य मान्दै आएकोहरूको यो शैली मन्दबुद्धिहरूको शैलीभन्दा घातक र खतरनाकसिद्ध भएको छ । आफूलाई सभ्य र सुसंस्कृत हुँ भन्नेहरूले ‘अहम्’ प्रकट गर्दा संसारले विश्वयुद्ध झेलेको छ । विश्वले अणु र परमाणु बमको सामना गरेको छ । लाखौंलाख मानिसले निमेषभरमा मृत्युवरण गरेका छन् ।
सोच्नुहोस् सानो देशको राजालाई ठूलो देशको राजा बन्ने इच्छा जाग्यो, जुन इच्छालाई बालकको जिद्धीभन्दा खासै फरक मान्न सकिँँदैन । त्यसैले राजा महाराजाहरूको यस्तो इच्छा वा जिद्धीलाई राजहठ भनिएको हो । उसको एउटा हठको अगाडि लाखौंलाख मान्छेको जीवन मूल्यहीन बन्छ । कहिले सानो नेतालाई ठूलो नेता बन्ने सनक चढ्छ, उसको पागलपनको चेपुवामा बस्तीका बस्ती जलेर मसानघाटमा परिणत हुन्छन्, कैयौं अबोध बालकहरू अनाथ बन्न पुग्छन्, हजारौं महिलाको सिउँदो उजाडिन्छ, बाबुआमाले भविष्यको सहारा गुमाउँछन् । हामीले जीवनमा यस्ता कैयन मानिस देखेका छौं, जो जीवनको अन्तिम घडीसम्म केवल अरूमाथि विजय हासिल गर्ने र दुनियाँलाई आफ्नो औंलामा नचाउने दौडमा बिताइरहेका हुन्छन् । उनीहरू कहिल्यै अरूबाट दमित भएर बस्न चाहँदैनन् । मनोचिकित्सकहरूको मत अनुसार अरूलाई दवाएर मालिक बन्ने र रजाइँ गर्ने मानसिकता पनि एक किसिमको मानसिक रोग हो भन्ने छ । यस रोगबाट ग्रसित मानिसले अरूसित पराजित भएर बाँच्ने कल्पनासम्म गर्न चाहँदैन । यिनलाई कावुमा राख्न प्रकृतिले माया, ममता संवेदनाजस्ता फरक गुण दिएको हुन्छ । माया, ममता र संवेदनाको वशमा परेपछि जस्तोसुकै मानिस पनि अनौठो चरित्र देखाउन थाल्छ । ऊ जतिसुकै क्रुर भएपनि आफ्नो स्नेही मानिससँग स्वेच्छाले पराजय भोग्न तयार हुन्छ । हरेक कुरामा उसैलाई जिताई आपूm हार्छ र हारमा उत्सव मनाउन थाल्छ ।
मानिस कठोरभन्दा कठोर किन नहोस्, मायामा दास बनेपछि कहिले ‘बालहठ’ पूरा गर्ने वहानामा बालकसँग हार्छ, बालकसामु आफ्नो अहम्को हत्या गर्छ । कोही प्रेमिकाको ‘स्त्रीहठ’ सामु हार स्वीकार्न तयार हुन्छन् त कोही पत्नीका सामु घुँडा टेकिरहेका हुन्छन् । आज मानिसको अहम् गिराउने नौलो माध्यम पैसाको रुपमा अघि आएको छ । अहिले यसको कमजारीले धेरै मूल्यवान र नैतिकवान हुँ भन्नेहरूको अहम्लाई गिराई वास्तविक साइजमा ल्याइदिएको छ । पैसामा कमजोर मानिसले आपूmलाई जति नै अब्बल दर्जाको इमानदार, नैतिकवान र अहम्वादी सोचे पनि अन्ततः ऊ पराजित हुन्छ । मानिसको अहम् उसको इमानमा, नैतिकतामा र प्रतिष्ठामा प्रतिबिम्बित हुने गर्छ । केही समयअघि मैले एउटा समाचारमा पढेको थिएँ । समाचारमा मानिसले अर्काको चरित्रसँग टाँसिएर रहेको अहम्लाई पैसाको बलमा कसरी गिराउन सक्छ र पैसामा कमजोर मानिस बाहिर चरित्रवान देखिए पनि उसलाई आदर्शबाट खासाली दिने हो भने त्यसैको पिल्साइमा ऊ समाजका अघिल्तिर कतिसम्म त्रसित र लाचार हुन्छ भन्ने मिश्रित जानकारी थियो ।
लिफ्टभित्र एउटी महिलालाई एक्लै देखेपछि एक स्त्रीलम्पट सोही लिफ्टमा पस्यो । लिफ्टभित्र दुई जनाबाहेक कोही नभएको मौका छोपी उसले एकान्तको फाइदा उठाउन खोज्यो र महिलाप्रति निकै भद्र व्यवहारमा प्रस्तुत भयो । सुरुमा उसले महिलाको सुन्दरताको बयान ग¥यो, बिस्तारै पैसाको प्रलोभन देखाई अस्मिताको मोलमोलाई सुरु ग¥यो । पहिला त ऊप्रति ध्यान नै नदिई महिला चुपचाप रहिन् । केहीबेरमा उसले ती महिलाको अस्मिताको मूल्य १० हजार तोक्यो र एक रातको १० हजार रुपैयाँ खर्चिन आपूm तयार रहेको बतायो । उसको कुराकानीबाट महिला क्रोधित भइन् र लिफ्टबाहिर निस्केपछि पुलिसमा जिम्मा लगाइदिने चेतावनी दिइन् । १० हजारले नपुगे एक लाखसम्म खर्च गर्न तयार रहेको उसले बतायो । यो सुनेपछि महिलाको रिस एकाएक मुस्कानमा बदलियो । महिलाको अनुहार, हाउभाउ र प्रतिक्रिया नियाली रहेको उसले मौकाको फाइदा उठाउँदै अर्को एक लाख थपिदिने बतायो । यो प्रस्तावमा महिलाले सम्मति जनाइन् । युवक एकाएक परिवर्तन भयो र भन्यो, तर मैले तिमीलाई दिने चाहिँ जम्मा ५० रुपैयाँ मात्र हो । यो सुनेर महिलाले रिसाउँदै भनिन्, “हैन, तिमीले के सम्झेका छौ मलाई ?” कुरैकुराको जालमा महिलाको अहम्, इमान र चरित्रलाई पूरै गिराइसकेको उसले गर्वका साथ भन्यो, तिमी को हौ भन्ने परिचय मैले पाइसकेको छु । अब हामी दुई मिलेर आपसी छलफल गरी वास्तविक मूल्य तय गरौं । हामीबीच तय हुने विषयमा पुलिसलाई किन खबर गर्ने ? खबर गर्ने तिम्रो इच्छा छ भने म बाधक बन्दिन । घटना सार्वजनिक गर्दा आफ्नो चरित्रको कुरो उठ्ने र बदानामी हुने डरले महिला चूप भइन् । पुलिसमा खबर गरे आपूmसमेत चुकिसकेको हुँदा यही विषयलाई लिएर उसले आफ्नो बदनाम गरिदिन सक्ने स्थितिलाई बुझेर उनी डराइन् । यसरी एक गरिब तर चरित्रवान् महिलाको गरिबीमाथि पैसाको जाल फालेर उसले महिलालाई फसायो । समाजसामु उनको चरित्र नङ्ग्याई दिने धम्की दिँदै त्यसपछि लामो समयसम्म उसले ती महिलामाथि यौन शोषण गरिरह्यो । अन्त्यमा उसको यो लगातारको अत्याचार सहन नसकी सबै व्यहोरा लेखेर महिलाले आत्महत्या गरिन् । घटना वास्तविक हो र कारुणिक पनि छ । यसरी अहम्वादी मानिसहरूमा रहेको अहम्ले उसलाई मृत्युवरण गर्न बाध्य बनाउँछ तर पनि ऊ अहम्लाई गिराएर समाजमा बाँच्न सक्दैन ।
यस्तै पत्नीको अहम्लाई फुलाई दिएपछि घरपरिवारको वातावरण बिग्रिन पाउँदैन र आपसी सम्बन्ध सुमधुर रहन्छ भन्ने मान्यतामा पत्नीका सामु हरेक कुरामा हार स्वीकार्न तयार रहेका केही मित्र मैले देखेको छु । उनीहरू यसै मान्यतामा पत्नीसामु नतमस्तक हुँदै घुँडा टेकिरहेका हुन्छन् । तर घरको वातावरण सुधार्ने र शान्ति कायम गर्ने नाममा कोही पनि कसैप्रति घुँडा टेक्नुपर्ने अवस्था आउनु भनेको कुनै हिसाबमा उचित होइन भन्ने मेरो मान्यता छ । यसबाट घरको वातावरणमा सुधार आउला÷नआउला त्यो भन्न सकिन्न तर एउटा यथार्थ पक्का छ कि समाजबाट ती दम्पतीको अस्तित्व गुम्दै जान्छ । यसले घरपरिवार झन्झन् अशान्त हुन्छ । समय बित्दै जाँदा पतिहरू हदभन्दा बढी पत्नीबाट पीडित हुँदै जाने र पत्नीहरू पतिबाट उपेक्षित हुँदै जाने स्थिति बन्छ । उनीहरू आफ्नै घरमा एक आपसमा हैसियतविहीन र प्रेम तथा सम्मानको भोको भएर जीवन बिताउनु पर्ने स्थिति आउन सक्छ । एउटा यस्तै घटना यहाँ राख्दैछु ।
३÷४ वर्ष पहिले एक मित्रले मलाई साहित्यिक कार्यक्रममा सहभागी हुने निम्तो दिए । कार्यक्रमका दिन उनी मेरो घर आए । हामी एउटै वाहनमा सवार भई कार्यक्रममा गर्यौं । कार्यक्रम चलिरहेको बेला अचानक मेरो फोन बज्यो । मित्रका ज्वाइँलाई अस्पताल राखिएको छ, वहाँलाई चाँडै अस्पताल जाने जानकारी दिनुप¥यो भनी घरबाट खबर आएपछि मैले उनलाई कार्यक्रमस्थलबाटै उठाएर सरासर अस्पताल पु¥याएँ । हामी अस्पताल पुग्दा ज्वाइँको शरीरभरि झन्डै ८÷१० ठाउँमा चोट थियो, २ ठाउँमा फ्याक्चरसमेत देखिएको भनी डाक्टरले व्याण्डेज र प्लास्टर गरिदिएका थिए । स्लाइनको बोतल चढेको थियो, स्थिति गम्भीर देखिन्थ्यो । मित्रकी बहिनी छेउमा झोक्राइरहेकी थिइन् । बाबुआमा केही नभएको हुँदा आफैले हुर्काइबढाइ दुई वर्ष अघिमात्र विहे गरी पठाएकी बहिनीका श्रीमान्लाई यस्तो अवस्था देखेर उनी झस्किए । उनले टिठलाग्दो अनुहार पारेर बहिनीसँग सोधे,“नानी ! अचानक के भयो यस्तो, कुनै दुर्घटना ?”
बहिनीले रुँदै उत्तर दिइन्, “खै ! के भन्नु ! सोध्नुस् न आफ्नै ज्वाइँसित ।” मैले सोचेँ आज यी ज्वाइँले दिउँसै मदिरा पिएजस्तो छ । यतिबेरमा मेरा मित्र ज्वाइँको बेडनजिक पुगिसकेका थिए । उनले ज्वाइँसित विनम्रतापूर्वक सोधे,“के भएको हो, ज्वाइँसाहेब ? कसले बनायो हजुरको यो दुर्दशा ?”घाइते ज्वाइँ ठस्ठस् कन्दै बोले, “खै दाइ ! मलाई आजको मासु केही नमिठो लागेकाले नून कम हो कि भनेको हुँ ।” यो सुनेर बहिनीका आँखाबाट आगोको ज्वाला निस्कियो, “अझ हेर न लाज पचाएर झुटो बोलेको, कतिसम्म झुटो बोल्न सकेको यो मान्छेले ? अझ नून कम भयो कि भने अरे !” उनी पूरै च्याट्ठिएको आवाजमा बोलिन्, “नून हालेकै छैन भनेका होइनौ ?” सबै स्थिति देखिरहेका मित्र बहिनीको कुरो सुनेपछि एकाएक तनावमा देखिए, उनले बहिनीलाई सम्झाउँदै भने, “जे भए पनि यति साह्रो रिसाउन त हुन्न नि, जाबो नूनै त हो, अलिकति थपिदिएको भए कुरो सिद्धिहाल्थ्यो । बेकार तीललाई पहाड बनाएर हेर...!” बहिनी झर्किएर बोलिन्, “कुरो त्यसो होइन दाइ ! हजुर पनि कुरै नबुझी त्यस्सै...। यति सुनेपछि कुरो बेग्लै रहेछ क्यारे ! खास कुरो त बुझिएकै रहेनछ भन्ने सोचमा मित्र चूप लागे । उनले फेरि थपिन्, “घरमा नून ल्याएर राखिदिएको भए पहिल्यै नून हालेर दिन्नथेँ ! एक हप्ता भो घरमा नून सकिएको । घरमा के सामान सिद्धिएको छ भन्ने यिनलाई कहिल्यै मतलब हुने भए पो !” उता ज्वाइँ दुःखी स्वरमा भन्दै थिए, “के भनेकी, गएको शनिबार नै बजारमा नूनको अभाव हुँदैछ भन्ने सुनेर मैले एकै चोटी दुई किलो नून ल्याएर तिम्रो हातमा दिएको हैन ! कता हाल्यौ त्यो नून भन त ?”
यो सुन्नासाथ बहिनीले हत्केलाले प्याट्ट आफ्नो निधारमा हान्दै भनिन् “हरे कुन मूर्खको फेला परेछु ! त्यत्रो किलोका किलो पनि नून हुन्छ ? मैले त चिनी होला भन्ठानेर औषधि चिया र जुसमा एक हप्तादेखि त्यही राखेर दिइरहेकी छु । एक शब्द नबोली पिएर हिँडिरहेका छौ त, भन्न सक्दैनथ्यौ । आज यो जात्रा देखाउन पाइन्छ भनेर होला नि !” एक हप्तादेखि पत्नीले चिया र जुसमा नून राखेर दिँदा पनि पतिले किन चुपचाप पिइरहेका छन् बुझ्न मलाई खासै गाह्रो परेन । किनभने आज मुख फोर्दाको परिणाम आँखैसामु छर्लङ्ग थियो ।
यस्तै केही वर्ष पहिले म र मेरा मित्र छुट्टी मनाउन दार्जलिङ् गयौं । रात बास बस्ने लज खोज्यौ । लजवालाले गहिरिएर हे¥यो र भन्यो, यहाँ महिला र पुरुष एउटै कोठामा बस्ने हो भने पतिपत्नीको प्रमाण पुग्ने कागज चाहिन्छ, नत्र दुई कोठा लिनुहोस् । मैले तुरुन्त विहे दर्ताको प्रमाणपत्र तेस्र्याइदिएँ तर मित्र परे फसादमा । नवविवाहित भए पो ! विहे भएकै १०÷१२ वर्ष बितिसकेकाले यस्तो कागजमा उनको ध्यान गएकै रहेनछ । उनले व्यर्थमा दुई कोठाको मूल्य चुकाउनुपर्ने भो भन्ने लाग्यो । उनको आनाकानी देखेर पत्नी जागिन्, “हजारपल्ट भनेँ होला तपाइँलाई, चाहिने कागजपत्र के हो, सबै मिलाउनु है भनेर । उहिल्यैदेखि कराउँदा पनि तपाइँको कानमा बतास लागेकै रहेनछ । हे भगवान् ! कस्तो मान्छेको फेला परेछु । भन्ने बेलाँ चाहिँ वहाँ सप्पै ठीक छ, तैंले केही चिन्ता लिनु पर्दैन भन्ने अहिले पारा यस्तो छ । हैन सप्पै मेरो टाउकोमा राखेर कति दिन चल्छ हँ ? कुनै कुरोको मतलबै छैन ।” एक शब्द नबोली चुपचाप उभिएर उनको धाराप्रवाह प्रवचन सुनिरहेका मित्रलाई हेरेर लजवालाले नजिकै उभिएको केटालाई बोलायो र “ल यो साँचो लिएर वहाँहरूलाई २११ र २१२ नंबर कोठामा पु¥याएर आऊ” भनेर पठायो । उनीहरू पतिपत्नी भएको प्रमाण यसले भेटेछ भन्ने मलाई लाग्यो । लजवालाले मात्र प्रमाण खोजेको थियो र ती दम्पती बचे । पुलिसले नै प्रमाण खोजेको भए यी मित्रपत्नीले कति उपध्रो मच्चाउने थिइन् भन्ने कल्पनामात्रले पनि म विचलित भएँ ।
तर यही मानिस आफ्नो नजिकको मानिसबाहेक कुनै अन्जान र अपरिचित मानिससँग विवाद गर्दा यतिसम्म अविवेकी बन्छ कि आपूmसँग विवाद गरिरहेको प्रतिद्वन्द्वीलाई हराउन खोज्दा आपैm बरबाद हुन सकिन्छ भन्ने जान्दाजान्दै पनि उसका सामु हार स्वीकार गर्दैन । मानिसको अहम्ले कुनै हालतमा पराजय स्वीकार्न दिँदैन । बरु उल्टो भए÷नभएका हजारौं तर्क अगाडि सार्छ र सोध्नेलाई नै तल पार्ने प्रयास गर्छ । यो मानिसको अहम्वादी प्रवृत्तिले मानिसमाथि खेल्ने अनौठोको खेल हो ।
एक व्यक्ति पुलिस कन्स्टेबलको जागिर खान अन्तर्वार्तामा गयो । अन्तर्वार्ता लिनेहरूले उसलाई सोधे, “तिमी विकट गाउँको पुलिस पोष्टमा छौ । अचानक तिम्रो पोष्टनजिकको नदीमा बढी आयो र किनार कटान गर्दै बस्तीभित्र नदीको पानी पस्न थाल्यो । यसबेला तिमी के गर्छौ ।”
“यसमा सोच्नुपर्ने कुरै के छ ?”उसले नसोची उत्तर दियो, “बस्तीका सारा मानिसलाई बोलाउँछु र ढुङ्गा उठाउँदै नदीकिनारमा राख्न लगाउँछु ।” “राम्रोसँग सोचेर भन, बाढी सानो छैन । यता ढुङ्गा राख्न पाएको छैन उता बगाई सक्छ ।” अधिकारीले भने ।“त्यसो भए बोरामा बालुवा भरेर कटान भएको ठाउँमा राख्छु,” उसले उत्तर दियो । उसको उत्तर सुनेर अधिकारीले फेरि सोधे “त्यो विकटमा कति नै बोरा हुन्छ र तिमीले नदीको किनारभरि बालुवाको बोरा राख्नु ?”उसले निश्चिन्त हुँदै भन्यो, “म मित्रराष्ट्रसँग सहयोगको अपिल गर्छु, हेलिकप्टर र क्रेन ल्याउँछु अनि ठूल्ठूला ढुङ्गा उठाएर नदीकिनारमा राख्न लगाउँछु । अन्तर्वार्ता सोध्ने अधिकारी चकित पर्दै सोधे, “अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्ने कन्स्टेबलको काम होइन यो त सरकारले गर्छ । त्यसमा पनि बाढीले सबै बाटो बन्द गरिदिएको छ, कुन बाटोबाट आउँछ क्रेन ?” “तपाइँले जहाँबाट यति ठूलो बाढी र समस्या ल्याएर थुपार्नु भएको छ, म पनि त्यहीँबाट ल्याउँछु हेलिकप्टर र क्रेन, त्यही पनि एउटा हो र १०० वटा हेलिकप्टर र त्यति नै सङ्ख्यामा क्रेन ल्याउँछु, तपाइँ के गर्नुहुन्छ । बस्तीका मान्छे भक्काभक मरिसक्दा पनि अन्तर्राष्ट्रिय सहयोग माग्ने सरकारको काम हो भनेर म टुलुटुलु हेरेर बस्न सक्दिन । अन्तर्वार्ता लिनेहरू हेरेको हे¥यै भए । ऊ चरम रिसमा थियो त्यसैले नरोकिई भन्दै गयो, के सोचेको छ मलाई अन्तर्वार्ता सोध्नेले कल्पनाकै भरमा जस्तो प्रश्न पनि राख्न पाउने, उत्तर दिनेले चाहिँ यथार्थमा बताउनुपर्ने ? मैले काल्पनिक उत्तर दिन किन नपाउने ?” उल्टो प्रश्नकर्तामाथि नै प्रश्न ते¥र्याएर ऊ बहिरियो ।
यही क्रममा अर्को प्रतिष्पर्धी अन्तर्वार्ता दिन पस्यो । अधिकारीहरूले उसलाई प्रश्न राखे, “मानौं तिमी राजमार्गको ट्राफिक पोष्टमा छौ । ड्युटी सकेर बिहानीको खुल्ला हावामा डुलिरहेका थियौ । त्यहीबेला राती परेको वर्षाले राजमार्गको पुल बगाएको देख्यौ । परबाट यात्रुले भरिभराउ बस हर्न बजाउँदै त्यही पुलतिर आउँदै छ, यो अवस्थामा तिमी के गर्छौ ?”
उसले भन्यो, “म सिट्ठी बजाउँछु र सेतो पञ्जा लगाएको हातले रोक्ने इशारा गर्छु ।” “ड्युटी सकिएकाले तिमी ट्राफिक पोसाकमा नभएर बाहिरी पोसाकमा छौ । साथमा सिट्ठी, पञ्जा केही छैन ।” अधिकारीले भने । “म आपूmसँग भएको रातो रुमाल, रातो भेष्ट वा कट्टु जे छ त्यही हल्लाएर रोक्ने इशारा गर्छु ।” उसले भन्यो । “छैन तिमीसँग रातो रङ्को कुनै कपडा छैन, बस पुलमा पुग्न अब केही मिनेटमात्र बाँकी छ, पचासौं यात्रुको ज्यान खतरामा छ । चाँडोभन्दा चाँडो निर्णय गर्नुपर्ने अवस्था आइसक्यो । भन यस्तोमा तिमी के गर्छौ ?” यो सुनेर ऊ गम्भीर बन्यो र भन्यो, “म त्यहीँनजिक रहेको डेरामा गएर श्रीमती र बच्चालाई उठाउँछु ।”
जवाफ सुनेर अधिकारीहरू आपसमा मुखामुख गर्न लागे । यस्तैमा एउटाले सोध्यो,“तिम्रो पत्नी र बच्चाको कुरो कताबाट आयो ? त्यहाँ के काम उनीहरूको ?” उसले सासै नफेरि भन्यो, “म बच्चालाई उठाउँछु र भन्छु, “देखिस् तेरो बाबुको बिजोग ! त्यसैले तँ ठूलो भएपछि भरसक जागिर नखानू, उपाय भएन र जागिर खानै प¥यो भने पनि पुलिसको जागिर चाहिँ भुलेर पनि नखानू, केही लागेन र पुलिस भएछस् भने पनि बिहानबिहानै राजमार्गतिर टहलिँदै नहिँड्नू । घुम्दा रातो कपडा साथमा छ÷छैन विचार गर्नू ।” अनि मेरी श्रीमतीले कहिल्यै यति ठूलो दुर्घटना देख्न पाएकी छैन । उसलाई उठाएर दुर्घटना भएको ठाउँमा लैजान्छु र त्यो भयानक दुर्घटना देखाउँछु” । यसरी उसले प्रश्नकर्ताहरूलाई नै चित खुवाएर हिँड्यो । उसको तर्कका सामु सब चुप भए ।
कहिलेकाहीँ मानिसको हार्न नचाहने प्रवृत्ति र उसको मनभित्र रहेको अहम्ले यतिसम्म चमत्कार देखाउँछ भन्ने त तपाइँले बुझिसक्नु भयो । कहिलेकाहीँ यो प्रवृत्तिले गर्दा मानिसले पत्याउनै गाह्रो हुने नतिजा पनि देख्न पाइन्छ । एउटाको अहम्लाई अर्को पक्षले तर्कको माध्यमबाट गिराउँछ, तत्काल अहम् गिरेजस्तो देखिए पनि त्यही अहम् अर्को पाटोबाट विस्तारै पलाएर गाँजिई सक्दा पनि मानिसले थाहा पाउँदैन ।
एउटा गाउँमा अलगअलग राजनीतिक धारका व्यक्तिले भाँडभैलो मच्चाएका थिए । एउटा साम्यवादी थियो, अर्को पूँजीवादी । एउटा साम्यवादको चर्चा गर्दै गाउँ घुम्थ्यो । त्यो गएको केहीबेरमा अर्को घरघर पसेर पूँजीवादको प्रवचन ठोक्थ्यो । आ–आफ्नै काममा व्यस्त गाउँलेलाई यिनका तर्क सुनेर बस्ने समय थिएन । दुवैमा नेतामा हुनुपर्ने गुण थियो । त्यसैले यिनको भाषण सुन्न गाउँले बाध्य थिए । सारा गाउँ यिनको व्यवहारबाट आजित थियो । एक दिन ती दुवैको भेट भयो । दुवैले आ–आफ्नो तर्फबाट धुवाँदार तर्क प्रस्तुत गरे । यी आपैm भिड्न थालेपछि गाउँले त्यहाँबाट पन्छिए । आज जसरी भएपनि यिनीहरू एउटा टुगोमा पुग्नेछन् र भोलिबाट यिनको कचकच सुन्नुपर्ने छैन भन्नेमा गाउँ ढुक्क थियो । ती दुवै दिनभरि राजनीतिक छलफलमा अल्झिए, रातभर विवाद जारी रह्यो । बिहान हुँदासम्म एकले अर्कालाई आ–आफ्नो सिद्धान्तबारे बुझाउन सफल भइसकेका थिए । दुवै सहमातिमा आए, हात मिलाए । सारा गाउँ खुसीले नाच्यो । तर भोलिपल्टै सबैले टाउको ठोके । हिजोसम्मको साम्यवादी पूँजीवादमा सहमत भई पूँजीवादी बनेको थियो पूँजीवादीचाहिँ साम्यवादी । उनीहरू फेरि प्रचारमा हिँड्न थाले । केवल मानिस फेरिए समस्या कायमै रह्यो । यही हो हाम्रो संसार, यसरी नै चलिरहेका छन् हाम्रा दिनहरू ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 18 पौष, 2071

लेखकका अन्य रचनाहरु