सपनाको विस्कुन

- गोपाल झापाली

मंशिरको अन्तिम साता । तराईको क्षेत्र । हुस्सु बिहान पख निक्कै बाक्लो लाग्न थालेको छ । पत्रपत्रिकामा शितलहरले सास्ति भोगेका चित्र र कतै कतै मनकारीहरुले न्याना कपडा बाँडेका समाचारले पनि प्राथमिकता पाउन थालेका छन् । बिहान अवेर सम्म सडकका किनारामा पत्कर धुवाएर न्यायोको भ्रम ओढ्नेहरु कुम्लो परेर बस्ने गरेका छन् । रिक्सा मजदुरहरु ग्राहक नपाएर झुरुप्प परेका छन, अगाडी धुँवा समेत उड्न छोडेको खरानीको डंगुर मात्र छ । तर उनीहरु त्यस भित्र आगो छ भन्ने भ्रान्ति पालेर बिहानै देखि उठेको स्याँठलाई गिज्याई रहेका छन् । म उनीहरुलाई बेला बेलै हेर्दै सिद्धार्थसँग भलाकुसारीमा छु । उसको स्पर्श बिनानै छेउमा बस्न पाउँदा पनि मलाई चिसोले चुम्ने हिम्मत गरेको छैन ।
‘हेर्नु न, गायत्री, फुर्सदै नहुने भन्या । बल्ल बल्ल आज शनिबार साता भरिको काम साँच्या हुन्छ । तपाईलाई भेट्न पनि काँशी पुग्नु जतिकै भई सक्यो ।’ भर्खर आगो सल्काएको चुरोट फेदबाट चुस्दा खाल्डो पर्ने उसको मुखाकृती आकाश तिर चक्का बनाउँदै धुँवा फुकेर मलाई प्रष्टिकरण दिँदा भने मलाईनै साउती मार्न खोजे जस्तो चुच्चो हुन्छ ।
किन हो किन उ सँग बोल्न पाउँदा पनि मलाई चाँहि टनटनी पाकेको पिलो निचोरे जस्तै हुन्छ । शुरुमा दुखे पनि आनन्द आउने । आधा भई सकेको चिया, रहल पहल वाफ बिदा मागि रहेका बेला चुस्कि मार्दै भने–‘हजुर मात्रै व्यस्त । हामी त बेकामे । हाम्रो त जिन्दगीनै छैन । हजुरनै हनुमान, हजुरकै पुच्छर लामो, हजुरलेनै लंका जलाको । हामी त दर्शक ।’ खै किन हो किन मलाई उ सँग घु¥क्याउन पनि मन लाग्छ । केवल उ सँग मात्र । उसले मुख बिगा¥यो । मायाँ मारेको चुरोटको ठुटो खुट्टाले किचिपिची पार्दै भन्यो–‘ हो हो मै हनुमान । तर मैले यति भन्दैमा मेरो पुच्छर भन्दा लामो रिष फेर्नु पर्छ त ? हप्तामा एक दिन हो फुर्सद । श्रीमतीलाई पनि समय दिनै प¥यो । अरु बेला छोरासँग भेटनै हुदैन । उ सँग एक छिन खेल्छु पनि । घरको काम त्यस्तै हो पो भन्या त । मैले कहाँ भने तपाई बेगारी भनेर ।’
बाटै छेउको ठेला पसलमा उभिएर वात मारेको पनि निक्कै बेर भएछ । छेउछाउका अरु हिँडी सकेछन् । उसैले खल्तिबाट पैसा निकाल्यो अनि ति¥यो । उसको सुरसारले म बुझ्थेँ । उ हतारिन खोज्दै छ । पाईला बिस्तारै अघि सरे दुवैका । मैलेनै सोँधे–‘साँचि छोरा त कति महिनाको भयो ? रमाईलो होला है अहिले त ।’ सडक किनारै किरान बिस्तारै चलेका पाईला सँगै भन्यो–‘भयो नि ७ महिनाको । खेलाउँ खेलाउँ परेको छ अहिले त । मलाई देख्न साथै हाँसि हाल्छ । तपाँईलाई त भनेर पनि के गर्नु । बिहे गर्नु, अनि यस्तै रमाईलो हुन्छ भनेर कति भयो भनेको पनि । अब त भन्दिन पनि ।’ अरुको होईन । मलाई सिद्धार्थको मुखबाट बिहे गर्नु भन्ने शब्द सुन्न साथ खै कहाँ दुख्छ, दुख्छ । किन भन्छ यहि कुरा बार बार उ । सोचेर मात्र केहि नहुने । मैले उत्तर पनि दिनै पथ्र्यो । ‘बिहे नगर्ने भनेको पनि होईन । तर के गर्नु, नराम्रा मन पर्दैन । राम्रालाई आफु मन परिएन । कसरी गर्नु बिहे ।’ हाँसि मजाकमा उडाउन खोजेको कुरा अघि उसले चुरोटको धुँवा उडे सरि उड्यो । तर त्यो धुँवाको बिख उसको छातीमा गढे जस्तै भयो मलाई यो कुरा ।
अब त बाटो छुट्टिने बेला पनि आयो । सडकमा चलह पहल पनि बढ्दै छ । हुस्सु पातलिएसँगै सुर्यका किरण पनि धर्ती चुम्ने धृष्टता गरि रहेका छन् । गोजीबाट मोवाईल निकालेर उ खेलाउँदै रहेछ । कुरो मैलेनै थपेँ–‘ घरबाट म्यासेज आए जस्तो छ नि । आज दिन भरि कहाँ जाने होला घुम्न ? भोली त बिहानै देखि कलेज होला फेरि है ?’ मेरो एकोहोरो कुराले झस्किए जस्तो भयो सिद्धार्थ–‘घर बाटै हो म्यासेज । आउँदा दुध लिएर आउनु है भन्ने, छोरालाई दिन भरिलाई चाहियो नि । अनि भोली कलेज त जानै प¥यो नि । आफुले चक घोट्न बाहेक केहि जानिएन । हजुरको जस्तो कुर्सीमा बसि बसि तलब पाक्दैन के गर्नु ?’ मैले छोटो उत्तर दिनु थियो, बाटो छुट्टिदै थियो । ‘ल ल मस्ति गर्नु । यसो फेसबुकमा अनलाईन हुँदा चाँहि देख्या नदेख्यै नहुनु । हजुरलाई फुर्सद भए अर्को साता भेटौला नि ।’
‘ल है त लागौं’ छोटो उत्तर दिएर उसले लामा फड्का मा¥यो । मैले ‘हस हजुर’ उत्तर दिएर हेरि रँहे, उ कुईनेटा सम्म देखिन्जेल । उसको पिठ्युँ पनि देखिन छोड्यो अनि मात्र म निष्प्राण डेरा तर्फ लाँगे ।
..................................................................................
मेरो डेरा निष्प्राण मात्र होईन । जीवननै निर्जीव लाग्छ मलाई । म पल पल जीवन खोजी रहन्छु । तर हावा जस्तै रंग र आकारबिहिन मेरो जीवन उसँगै भागि रहेझै लाग्छ । लगभग ५ वर्ष अघि उ र म एउटै बैंकमा जागिर खान्थ्यौं । लगभग २ वर्ष सहकर्मी भईयो । अरु पनि सहकर्मी थिए । तर किन हो किन उ मलाई मेरै हो जस्तो लाग्छ । मेरै मात्र होईन, मेरै मात्र जस्तो पनि । मलाई थाह छ, उ मेरो न बिगतमा थियो, न अहिले छ न पछिनै हुनेछ । हुन्थ्यो त यदि पहिलनै भई सक्थ्यो । उ अरुकै भई सकेको छ । विवाह ग¥यो । मेरो भन्दा लाख लाख गुणा मायाँ गर्ने श्रीमती छ । उसले उतीनै मायाँ गर्ने छोरो पनि भएको छ । पढालिखा मान्छे । तीन–तीन ओटा कलेज पढाउँछ । म जाबो एउटा बैंककी खरदार ।
रित्तो कोठा । रित्तो मन । रित्तो जीवन । मेरो त सवै रित्तो । सिउँदो पनि रित्तो । उमेर २८–३० हुन्जेल पढाईको निहुँ । त्यस पछि सरकारी जागिरको खोजी । एमए सकेर के गर्नु एलएलसी पास योग्यताको जागिर खानु परेको छ । सँगैका सवै साथीहरुको घरजम बसि सक्यो । मेरो पनि त मन हुन्छ । जीवनको सपना हुन्छ । मेरो जीवनमा पनि ईन्द्रेणी लाग्ने आकाश छ । अनि त्यो आकाश जतिनै मायाँ छ । तर निर्जीव मायाँको के काम । जुन मायाँ कसैलाई दिन र गर्न सकिदै त्यसको के काम । अरु केहि होईन, माया गर्न चाहन्छु । मायाँ दिन चाहन्छु । माया दिई रहन चाहन्छु । केवल सिद्धार्थलाई ।
ज्यान पनि आनन्द हुँदा मात्र लाग्छ भन्थे । तर मेरो फ्यातुलो मासु थुप्रेको थुप्रै छ शरीरमा । डेढ मन नाघे होला अहिले त । यो मुला कसैले स्पर्श सम्म नगर्ने मासु बुख्याँचाको झुम्रो भन्दा के फरक छ र ?
..................................................
साँझ पर्नै पर्ने थियो परो आज पनि । दुई गाँस टिप्नु थियो । त्यो पनि टिपियो । बिछ्यौनामा सदाझै एक्लो ज्यान लड्यो । बाहिरको मौसम जति चिसिन्छ, म उत्ति हतास हुन्छु । डाहा त होईन तर कल्पना हुन्छ । घर जम भएकाहरुको त न्यायो र चिसो पनि त बाँढिदो हो नि है ? यदि यो भित्तोमा प्राण हुन्थ्यो त उ पनि त हुन्थ्यो नि, न्यानोपनको विकल्प । यौवनको धाक लगाउने रुपवतीहरु जत्तिको नभए पनि मेरो आफ्नै आकाश र आकार भएको यौवन पनि छ । तर जुन फूल कसैले देख्दैन, स्पर्श गर्दैन, टिप्दैन र चुम्दैन, त्यो फूल वनमै फुल्छ वनमै झर्छ । त्यसको के मुल्य ? मेरो मुल्यहिन यौवन त्यहि जंगलमा झर्दै गरेको फूल बाहेक के हो र ? ए भित्ताहरु हो आओ मेरो मुल्यहिन जीवनको मुल्य तोक । लिलामीमा छन् मेरा सपनाहरु । भित्तामा काँटीमा झुण्ड्याईएको क्यालेण्डरको यौवन अव ३ महिना होला । हो म त्यो क्यालेण्डर जस्तै हुँ । त्यस पछि मुल्य नपाउने केवल कागज बन्छ उ । जीवनको प्यास नमेट्ने क्यालेण्डर आईज र आवेदनको फारम भरेर जा, मेरा प्यास र चाहना खुल्ला डाक बडाबडमा छन् । प्रत्येक रात मेरो सानो डेरामा लाग्ने चाहनाको बिस्कुन स्टिल दराजको ह्याङ्गरमा भुण्डिएको दुपट्टा जस्तै कैद छ । मेरामनका यस्ता तर्कना पृथ्वीको गर्भमा लुकेका ज्यावामूखीको लाभा जस्तै उकुस मुकुस छन् । फरक यति हो, ज्वालामूखी एक दिन बिष्फोट भएर बाहिर आउँछ, मेरा भावनाले पाकेको फर्सी भित्र भित्रै कुहाए जस्तै गरि मन कुहाई रहन्छ ।
.............................................................
प्रिय सिद्धार्थ,
तिमिले मलाई किन यति नजिक हुने अनुमति दियो पहिले, अहिले यसरी टाढा पार्नु थियो भने । आक्कल झुक्कल तिम्रो सामिप्यतामा रहे पनि मेरो भावना पटक्कै तिम्रो समिप आउन सकेका छैनन् । हो थाह छ, तिमि अरुनै कसैको श्रीमान हौ, बाबु हौ, छोरा हौ अरु के के हौ । साईनो र सम्बन्धका अनेक परिभाषा र परिधी होलान । त तिमिलाई परिधीबिहिन मायाँको बिस्कुन देखाउन चाहन्छु । मेरो कान्ति बिहिन यौवनको बगैंचामा तिमि बिचरण गरि देउ । रष लिन आतुर भँवरा जस्तै तिमि घुमि घुमि यहि बगैंचामा रषपान परि देउ । मेरो मन मात्र होईन प्रत्येक अंगहरु तिम्रालागि स्वागत गर्न जोडघडा राखेर स्वागत गरि रहन्छन् ।
म तिम्रो मनलाई सधैं पूजा गरि रहन्छु । एउटा पूजारी जस्तै बनेर । भगवानले देखोस वा नदेखोस, सुनोस वा नसुनोस, मागेको वर देओस वा नदेओस । अबिराम, निरन्तर र जीवन रहे सम्म । निर्जीव र निष्प्राण भगवानमा आस्था राख्ने त्यहि पूजारी हुँ म तिम्री । तिमि त्यहि मन्दिर भित्रको ढुङ्गाको नबोल्ने, नदेख्ने, नसुन्ने भगवान भए पनि मेरो केहि गुनासो छैन । तिम्रो स्वर्ग जस्तै घर संसारमा कसैको आँखा नलागोस । मेरो पनि नलागोस । तिमि त मेरो भगवान हौ । भगवान भगवाननै हो, एउटी भक्तिनीले भगवानको संसारमा आँखा लगाउनु हुँदैन । पाप लाग्छ । तिम्रो सधैं जीत होस । हार्नु परे मै हारौंला । म सधैं तिम्रो मायाँको भजन गाएर जीवन बिताउँला ।
तिम्रो प्रेमको उहि भक्तिनी
गायत्री
म यस्तै भावनाले भिजेको प्रेम उसलाई व्यक्त गर्न चाहन्थे । जीवनको लिलामी गर्न चाहन्थे उ सामु । तर उसको र मेरो सम्बन्धको कुनै परिभाषा नभएकाले यस्ता पत्र लेख्दै, केर्दै र आफुलाई जलाएर मलाई उज्यालो दिने मैनबत्तीमा एकै छिन उज्यालो थप्ने साहारा मात्र बनि रहे । बनि रहन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 10 पौष, 2071

लेखकका अन्य रचनाहरु