गीतकारका रूपमा जस योञ्जन प्यासी

- नवीन पौड्याल

१.आमुख-

नेपाली साहित्यमा जस योञ्जन प्यासी कुनै नौलो नाम होइन। नेपाली साहित्यमा उनी एक समालोचक, नाटककार, कवि र विशेषगरी गीतकारका रूपमा परिचित र सम्मानित छन्। उनी प्राज्ञिक क्षेत्रमा पनि उत्तिकै आदरनीय छन्। पहिले उनी आकाशवाणी खरसाङका समाचारवाचक, कार्यक्रम प्रस्तोता थिए भने खरसाङ महाविद्यालयका एक आदर्श शिक्षक र सबैभन्दा पछि बिजनवारी कलेजका प्राचार्य भई सेवानिवृत्त भएका हुन्। यसै गरी सामाजिक क्षेत्रमा उनी उत्तिकै सक्रिय छन्। उनी निभिन्न साहित्यिक संस्थामा संलग्न रही एक आदर्श पुरूषका रूपमा रहेका छन्। साहित्यिक क्षेत्रमा उनी स्रष्टा र द्रष्टा दुवै हुन्। पुस्तक प्रकाशनका हकमा आजसम्म उनका नौवटा पुस्तक प्रकाशित छन्। ‘चिट्ठी’ (उपन्यास,१९७८), ‘नयाँ सूर्यको प्रतीक्षामा’ (नाटक,१९९२), एउटा देशको खोजमा’ (कवितासङ्ग्रह,१९८५),‘शान्तिसन्देह’ (कवितासङ्ग्रह,२००२), ‘प्यासीका केही समालोचना’ (समालोचना),‘परख’(समालोचना) प्रकाशित देखिन्छन्। गीतको पुस्तक प्रकाशनको हकमा आजसम्म उनको एउटा गीतसंग्रह ‘बोलाउँ भने तिमीलाई’ र ‘एउटा खुल्ला किताब’ गीतसंग्रह प्रकाशित छन्। सत्तरीको दशकदेखि नै उनी एक गीतकारका रूपमा प्रतिष्ठित भइसकेका हुन् भने उनका केही गीतहरू नेपाली सांगीतिक संसारमा लोकप्रिय भई गुञ्जिएका हुन्।

२. गीत : साहित्यिक उपविधाका रूपमा-
साहित्यमा कवितारूपी वंशको ठुलो परिवार देखिन्छ। रूखसरह कविताका पनि अनेक उपविधा हुन्छन्। कविताभित्र खण्डकाव्य, महाकाव्य, लामा कविता, मुक्तक, गीत गजल. हाइकु, तांका, सनेट, लिमेरिक, रूबाइ, आदि पर्दछन्। यसैमध्येको एउटा लोकप्रिय उपविधा हो गीत। हुन ता गीत भन्नाले गायन, वाद्यवादन, संगीत संयोजन र शब्द पर्दछन्। यद्यपि यहाँ गीतलाई कविताको उपविधाका रूपमा लिई गीतकार जस योञ्जन प्यासीका गीतमा पाइने भाव पक्ष र शैली पक्षको अध्ययन गरिन्छ।
गीत एउटा लयात्मक संरचना भएको उपविधा हो। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूहरूले त्यस स्थायीलाई पुष्टी गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा भाव वा विचार , २, उद्देश्य ३, भाषा र ४ शैली। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ।
गीतको उद्गमस्थल नै हृदय हो। हृदयमा उब्जिएका रागभावहरूलाई शब्दमा अभिव्यक्ति दिनु नै गीतको निर्माण हो। यो हृदयमा नै सिर्जित हुन्छ भने यसलाई हृदयले नै ग्रहण गर्छ। आफ्ना हृदयका सुमधुर र सुकोमल भावनाहरू विभिन्न रागात्मक अनुभूतिले उद्दीपित ऊएर लयात्मक रूपमा प्रकट हुनु नै गीतको सिर्जना हुनु हो। यसमा व्यक्तिको तीब्र अनुभूतिको अभिव्यक्ति हुन्छ। यसमा एउटै भाव वा विचारको विशेष प्रस्तुति हुन्छ।यसैगरी गीतमा एकोन्मुखता, को निर्वाह हुनाले संक्षिप्तता, सांकेतिकता, हुन्छ। लयको सिर्जनाको लागि शब्द र ध्वनिको संयोजनमा निर्भर रहन्छ। यसमा एकजना सम्बोधकस अर्को सम्बोधित र तेस्रो चाँहि अन्य विषय हुन्छ। गीतलाई एक्लै, युगल र समूह गरी तीन प्रकारले गाउन सकिन्छ।
३. गीतकारका रूपमा जस योञ्जन प्यासी-
उनी कवि. समालोचक भए तापनि उनलाई गीतकार व्यक्तित्वले सबैभन्दा बढी परिचय दिएको छ। उनका गीतहरू लोकप्रिय बनेका छन्। योञ्जनले गीतका आन्तरिक मर्म, मूल्यवत्ता, सुललितता, गेयात्मकता, लयात्मकता, माधुर्य, संवेद्यतालाई आत्मसात गरी गीत लेखेका छन्। विषयवस्तुगत आधारमा उनका गीतहरूलाई निम्न वर्गीकरण गर्नसकिन्छ- राष्ट्रिय भावधारा र राष्ट्रप्रेमपरक, आध्यात्मिक र धार्मिक भावधाराका स्तुतिपरक, सामान्य भावधाराका आधुनिक र विभिन्न अवसर र पर्व आदिका लागि प्रयोजनपरक। यसरी उनका गीतका विषयवस्तु सामाजिक चेतना, राजनैतिक चेतना, धार्मिक चेतना, राष्ट्रप्रेम, मानवता प्रेम, मायाप्रेमका विभिन्न अनुभूति, प्रकृतिप्रेम, जातीय प्रेम, सांस्कृतिक चेतना आदि हुन्।
यता भारतबाट एकनिष्ठ रूपमा गीतलेखनमा संलग्न रहने पुरण गिरी, पुष्कर पराजुली, कमल रेग्मी, अजीत बस्नेत आदिका ठुल्दाजु हुन् योञ्जन। सत्तरीको दशकमा नै रेडियो नेपालका मान्यताप्राप्त गीतकारका रूपमा रहेका प्यासीले यस दिशातर्फ अझसम्म नै कलम चलाइरहेछन्। उनका गीतमा कतै जीवन-जगत्कोस चिन्तन छ कतै मायाका लहड छ। मायाका पनि विभिन्न पाटाहरू उद्वेलित छन्। प्रेम अनुभूतिका विभि्न यात्रामा जे जे भोगे, देखे सबै नै उनका गीतको सामल बनेका छन्। उनका गीतमा आशाका स्वर पाइए तापनि निराशावादी चिन्तनको नै बढी प्राधान्य छ। जीवनमा घात सहेको, अपमान र बदनाम भोगेको वर्णन संकेत छ। उनले आफ्ना केही गीतमा भने जीवनका सुख-दुःखभित्र पनि आशाको किरण झल्केको देखेका छन्। जीवन र जगतप्रति मोह, जिजीविषालाई अभिव्यक्त दिएको पाइन्छ।
गीतकारका रूपमा प्यासीका धेरै गीतहरू विभिन्न गायकहरूले आफ्नो गायकीमा ढाली न्याय दिलाउन सकेका छन्। जसको गीत जति बेसी गाइन्छ त्यो गीतकारलाई सफल मानिन्छ। आजसम्म प्यासीका गीतहरू (केही भजनसमेत) मुख्य रूपमा दुर्गा खरेल, अरूणा लामा, डेजी बराइली, दावा ग्याल्मो, वाङ्गेल लामा, रूपा थापा, नम्रता बल, कुमार सुब्बा, रमेश बर्देवा, पेमा लामा, बेञ्जामित लामा, रीमा गुरूङ, शोभा प्रधान, दिलमाया खाती, महेन्द्र थापा, मणि प्रधान, सुनिता गजमेर, संगीता राई, दीप श्रेष्ठ, सोफिया गुरूङ, विनोद स्याङदेन, पवन नामदुङ, हीरा रसाइली, रिमला मोक्तान, भावना थापा, अजनीश आदिले गाएका छन्। यसैगरी उनका गीत-भजनहरू कमल दर्नाल, बद्रीदुर्गा खरेल, शान्ति ठटाल, के बी राई, मणि प्रधान, बसन्त छेत्री, मणि कमल छेत्री,कर्म योञ्जन, महेन्द्र थापा, कुन्दन राई, रूपेश रसाइली, चन्दन लोमजेल, महेश्वर लामा आदि प्रमुख हुन्।
गीतसंग्रह ‘बोलाउँ भने तिमीलाई’ मा संग्रहित गीतकार प्यासीका गीतहरूको भावगत र प्रवृत्तिगत वर्गीकरण गर्दा यसमा चार प्रकारका गीतहरू रहेका छन्- १. देशभक्तिपरक, २. प्रणयपरक, ३. ईश्वरभक्तिपरक, ४. संस्कृतिपरक। देशभक्तिपरक गीतमा आफ्नो देशप्रति भक्तिपूर्ण उद्गार व्यक्त गरिएको पाइन्छ। देश हाम्रो निम्ति आमा हुन्।
गीतकार प्यासीको एउटा अत्यन्त लोकप्रिय गीत बोलाउँ भने तिमीलाई हो जो एक समयमा सबैको मुखमुखमै झुण्डिएको हुन्थ्यो औ अहिले पनि उतिक्कै सदाबहार छ। यसमा शब्दगत, अर्थगत, र भावगत सबै तहबाट उत्कृष्ट औ यस गीतलाई गायक र संगीतकारले पनि न्याय दिनसकेका छन्।

बोलाउँ भने तिमीलाई बात लाग्ने डर
नबोलाउँ त तिम्रो प्रीतको पाप लाग्ने डर।

यसमा आफ्नी प्रेयसीलाई बोलाउँ कि नबोलाउँ भन्ने द्विविधाको स्थिति छ। यहाँ मायाका विभिन्न आयामलाई यसरी झल्काइएको छ-

माया= आँखाभरि आउने मुटुभरि छाउने जूनको किरण फूलको रूप दिलको मूर्ति सर्वव्यापी हुने शीतको थोपा
मायालाई= कता राखूँ कता सजाउँ गीत बनाइ गाइरहूँ कि माला गाँसी लगाइरहूँ कि


गीत लेखनका हरेक पक्षमा प्यासी सचेत देखिन्छन्। गीतमा हुनुपर्ने आनुप्रासिक आनुषांगिकता, लयात्मकता, गेयात्मकता, क्षुतिमधुरता, शाब्दिक र वर्णगत कोमलता जस्ता गीतका विशेषताहरू उनका गीतमा पाइन्छन्। गीतमा प्रत्येक शब्द-शब्दगत पूर्वापर सम्बन्धलाई कायम राखेका छन्। यसमा कुनै एक शब्द झिकिदिए एउटा समग्र गीतमा नै सन्तुलन बिग्रिन्छ। एकेकवटा शब्दमा नै सौंदर्य पाइन्छ। एउटा गीतमा हुनुपर्ने आनुषांगिक आनुप्रासिकता, विषयगत एकोन्मुखता, लयात्मकता, कोमलता, शब्दगत मधुरता, सम्पेषणीयता, वैयक्तिकता इत्यादि जस्ता गीतमा चाँहिने कुरालाईं प्यासीले पालना गरेका छन्। गीतकार प्यासीले गीतका प्रत्येक शब्द-शब्दमा प्राण भरेका छन्। पंक्तिपंक्तिका बीच भावगत सामञ्जस्य राखी गीतलाई एकोन्मुख तुल्याएका छन्। मनको मिहीन भावलाई मूर्तता दिएका छन्।
गीतकार प्यासीका निम्ति प्रेम एउटा पीडापरक वस्तु हो। प्रेमकै कारण मान्छेको मन र हृदयलाई पीर पार्छ, रूवाउँछ, सताउँछ, भोक निद्रा हराउँछ, र र धोका दिन्छ। मायाभित्र घात-प्रतिघात हुन्छ। तथापि मान्छे माया-पीरतीमा होम्मिन्छन्, फँस्छन्। जे होस् प्रेमपीडालाई गीतकारले आफ्नै ढङ्गबाट अभिव्यक्त गरेका छन्। प्रेमकै नाममा धोका, बदनाम, घऋणा आदि देखेका छन्। प्रेमका नाममा धोका, बदनाम, घृणा, प्रतिघात आदि सहेका छन्।
३.१. सम्वेदनशीलता- सम्वेदनशीलता पनि उनको गीतमा पाइने एउटा प्रबल पक्ष हो जोबिना गीत को सफलता रहँदैन। आफ्नो हृदय नै सम्बेदनाका अजस्र सोत हो। उनका निम्ति वेदनाको झरी रोकिदिने, झरीसरि झरेको जिन्दगीलाई थामिदिने को छ भन्दै मनका विभिन्न औडाहालाई अभिव्यक्ति दिएका छन्। कतै उनी आफुलाई सच्चा मान्छे भई बाँच्ने, असल काम गर्ने आफुजस्तै अभागीहरूलाई डोहोर्यानउन सक्ने, भाग्य लेख्न सक्ने भन्ने आन्तरिक चाह प्रकट गर्छन्। कतै उनमा काल कहिले आउला भन्ने पर्खाइ छ, रमाइलो र घमाइलोको अर्थ भुलिसकेका छन्, कतै दीवन र विपनाको खुशी र सिर्जनाको अर्थै भुलिसकेका छन् भन्ने भावलाई संवेदनशील भई व्यक्त गर्छन्। यद्यपि ती वैयक्तिक भावहरू सार्वभौमिक पनि छन्। गीतकारले भोगेका प्रेमपीडा र प्रेमानुराग उनको एकल नभएर सामुहिक पनि छन् किनकि यस्ता भाव सार्वभौम हुन्छ।
गीतको आन्तरिक पक्षमा सम्वेदनशीलता हुनुपर्छ भने बाह्य पक्षमा लय र तालको संगम हुनुपर्छ। उनका गीतमा जीवनका सुख-दुःखात्मक अनुभूति, जगतको घात प्रतिघात, मानवताप्रतिको आस्था र निष्ठा पाइन्छ। वेदनाको झरी रोकिदिने, झरीसरी झरेको जीवनलाई थामिदिने को को छ भन्दै मनका औडाहालाई अभिव्यक्ति दिएका छन्। कतै उनलाई आफु सच्चा मान्छे भई बाँच्ने, असल काम गर्ने, आफुजस्तै अभागीलाई डोहोर्याईउन सकुँ, भाग्य लेख्न सकुँ भन्ने चाह व्यक्त गर्छन्। कतै उनमा कहिले काल आउला भन्ने पर्खाइ छ, रमाइलो र घमाइलोको अर्थ भुलिसकेका छन्, जीवन र विपनाको, खुशी र सिर्जनाको अर्थ नै भुलिसकेका छन्।

३.२. सौंदर्यचेतना- गीतकार प्यासीका गीतमा सौंदर्य चेतना प्रबल रूपमा पाइन्छ। आफुले रूचाएकी प्रेयसीको रूप सौन्दर्यलाई प्राकृतिक छटासित तादात्म्यता देखाएका छन्। एकापट्टि प्राकृतिक सौन्दर्य र अर्कापट्टि रूप सौन्दर्यको समानान्तर वर्णन गरेको पाइन्। कुनै प्रेयसीको सौंदर्यको वर्णन गर्दै त्यसका विभिन्न रूप जस्तै धरतीकी छोरी, स्वर्गकी परी, कमलको पत्रदल झैं अधर भएकी छ। त्यही प्रेयसी गुराँसको डाली-डाली नाचिहिँड्ने, चरीसमान रंगीन पखेटामा लुकेजस्ती छ, पिहुँ पिहुँ स्वरले बोलेजस्ती सुकुमारी र रंगीन मिजाजकी छ। उनी भमराको बोली पनि सुन्छन्, फूलसित बात मार्छन्, फूलको ढोका खोलेको सुनेका छन्, प्रेयसीले भेटेर मुस्काइदिँदा औंसीमा पनि जून उदाएको, प्रेरणाको वर्षा बर्सिन्छ।
मैले पनि सुनेको छु भवँराको बोली
जब आउँछ फूलको सामु दिलको ढोका खोली।
त्यस्तै गरी वसन्त आगमनको वर्णन अत्यन्त सुन्दर ढंगमा गरेका छन्-
आरू पैंयू डाली टेक्दै
रंगीन फाहा लाली छर्दै
सुरभी भर्दै दिग् दिगन्त
आयो फेरि ऋतु वसन्त।
बोलाउँ पृष्ठ ८५।
झर झर झर्ने झरना तिम्रो
वर्णन कसरी गरूँ
मेरो यो गीतमा तिम्रो रूपको
सरगम कसरी भरूँ?
पहाड़बाट दुध झैं सेतो आँचल झारी
कलकल दर्दै हाँस्दै तिमी सबलाई चकित पारी
एउटा खुल्ला किताब हुँ म, पृष्ठ ५६।

३.३. एकोन्मुखता- गीतमा विषयगत एकोन्मुखता अनिवार्य रूपमा हुनुपर्दछ। यसको अभावमा गीतको भावभंगी बिथोलिन्छ र तीब्रता आउँदैन। एउटै भावलाई नै विभिन्न विषय, प्रस्तुति र अनुभूतिले छेकारो मारेर पुष्टी गर्दै लगेको पाइन्छ। गीतमा रहेको एउटै मूल भावलाई विभिन्न विम्ब, प्रतीक, दृश्टान्तबाट एकोर्या।एर लगी टुङ्ग्याइएको पाइन्छ। उनका गीतमा विभिन्न भाव अभिव्यक्त भएका छन्। जीवनमा आइपर्ने विभिन्न अवस्थाका भावलाई गीतहरूले समात्ने प्रयत्न देखिन्छ। प्रेमपीडा, प्रेमानुराग, रोदन, संवेग आदि पाइन्छन्। दोस्रो संग्रहमा आधनिक गीत खण्डमा रहेका जम्मा बहत्तारवटा गीतमध्ये बत्तीस-तेत्तीसवटा गीतमा प्रेमपीड, पाइन्छ। यसबाहेक अझै अरू केही गातमा पनि निराशाका, विरक्तिका भाव पाइन्छन्। यद्यपि यसमा यस्ता कालका निराशावादी गीत मात्र छैनन् अपितु जीवनमा सङ्घर्ष गर्नुपर्ने, कतै बसन्त छाएको, जस्ता भाव पनि पाइन्छन्। कतै प्रेमानुरागका मिठा भाव, प्रेयसीको रूपवर्णन आदि पनि पाइन्छन्।
जस्तै-
प्रेममा तिम्रो निम्ति – घृणा सहेँ, बदनाम सहेँ, बात सहेँ, घात सहेँ, धैर्यको शील सिकेँ, फूल टिप्न काँडामाथि टेकेँ, निन्दा सहेँ, दोष सहेँ, गाली सहेँ, तिरस्कार सहेँ, उपहास सहेँ, अपमान सहेँ, भनाइ सहेँ।
उनको दोस्रो गीतसङ्ग्रह एउटा खुल्ला किताब हुँ म मा पनि एकोन्मुखतालाई राम्री परिपालन भएको पाइन्छ।
म एउटा खुल्ला किताब तिमीले पनि पढे हुन्छ
म एउटा खुल्ला चिठी तिमीले पनि पढे हुन्छ
म एउटा सादा पन्ना तिमी पनि लेखे हुन्छ।
३.४. वैयक्तिकता- उनका अधिकाङ्श गीतहरू वैयक्तिक भावधाराका छन्। गीतकारका निम्ति प्रेम र प्रकृतिमा नै गीत सिर्जना हुन्छ। प्रेमानुभाव र प्रेमपीडा दुवैमा गीतमा गीतको मुहान भेटिन्छ। त्यस्तैगरी प्रकृतिका हरेक पक्षमा गीतका स्रोत समाविष्ट छन्। प्रीत र घातमा, हाँसो र रोदनमा गीत देख्छन्। मनका अवस्थाअनुसार प्रकृति हाँसेको, रोएको देखिन्छ। आँधी-बेहेरी, रमाइलो-घमाइलो, तुवाँलो आदि मनको मनको अवस्था अनुसार झल्किन पुग्दछ। गीतको विचमा बसेर सुनाउने एउटा कथायिता म प्रायः सर्वत्र देका पर्दछ। म को अन्तर्वेदनालाई गीतमा उतार्न विभिन्न बिम्ब र प्रतीक, कल्पना, स्वैरकल्पना आदिको प्रयोग गरिएको पाइन्छ। गीतमा म कतै हामी प्रयोग गरिएको छ-
हामीलाई पनि चरीसरी उड्न मन लाग्छ।
रनवन गाउँदै नाँच्दै डुल्न मन लाग्छ।
तर कसले बुझिदिने हाम्रो मनको कुरा
रहर हाम्रो हे दैव कहिले होला पूरा।
यहाँ बहुवचन हामी भए पनि एकवचन म कै अर्थबोध हुन्छ। चरासरी उड्न मन लाग्नु, रनवन गाँदै, नाँच्दै डुल्न मन लाग्नु, मनमा कुरा हुनु आदि वैयक्तिक भाव हुन्।
३.५. दार्शनिकता- गीतकार प्यासी कतै दार्शनिक भई जीवन र जगतप्रति आफ्नो दर्शन, भाव विचार र अनुभव अभिव्यक्त गर्छन्। उनी जीवन भोगाइका क्रममा सांसारिक तीतो सत्यको उद्घाटन गर्छन् त कतै जीवनलाई यसरी परिभाषित गर्दछन्-
आउँछु भनी नआउने लाहुरेको मायाजस्तो
यात्रीसँगै उठी हिँड्ने चौतारीको छायाजस्तो
जिन्दगीको परिभाषा नबुझिने कस्तो कस्तो!
उनी जीवनमा हारजित, हाँसो-आँसु, फूल-काँडा, निराशा देख्छन्। यद्यपि उनी सर्वत्र निराशा मात्र देख्दैनन्। जीवनलाई संघर्षको पर्याय पनि ठान्छन्-
फूलसँग हाँस्दै खेल्ने आउने हाम्रो बानी
हावासँग नाँच्दै गाउँदै आउने हाम्रो बानी
प्रकृतिमा रम्छौं हजुर जानी नजानी।
जीवनजस्तै जगत् पनि सरल नभई जटिल छ। यो समाज र जगतमा अधर्म र असत्यको बोलबाला छ। उनी जगतमा जीवन र मरणलाई एउटै पाउँछन्। समाजमा पाखण्डको खेती खुबै सप्रिएको पाउँछन्, धर्मको नाममा पाप बढेको छ औ जसले पाप गर्योड उसैलाई पुण्यलाभ भएको देख्छन्-
जसले धर्म गर्छ पाप यहाँ उसकै पुण्य हुन्छ
सत्य धर्म पुज्नेहरू सबै शून्य हुन्छ।
(बोलाउँ भने तिमीलाई, पृष्ठ ४३)
कुनै गीतमा सूक्तिमय दार्शनिक अभिव्यक्ति पाइन्छन्। यसमा जीवन र जगतका शाश्वत सत्यतालाई यसरी जनाएका छन्-
सागर पुग्छ खोला पनि ढुङ्गा ढुङ्गा ठोकर खाँदै
शिखर पुग्छ यात्री पनि आँधी हुरी सहँदा सहँदै।
---------------------------
केही दिनको अभिनय मात्र यो विश्व रङ्गशालामा
केही क्षणको परिचय मात्र यो संसार पाठशालामा।
३.६. वर्ण प्रयोग- प्यासीले गीतमा हुनुपर्ने वर्णको प्रयोगमा पनि सचेतता देखाएका छन्। उनका गीतमा कवर्ग, चवर्ग, तवर्ग. पवर्गको आधिक्य देखिन्छ भने अनुनासिक वर्ण प्रयोग गरेका छन्। त्यस्तैगरि टवर्गका वर्णहरू यदाकदा मात्र प्रयोग गरेका छन्। श्रुतिमधुरता, गेयात्मकताका निम्ति टवर्ग उपयुक्त मानिन्न। वर्णहरू अनुदात्तदेखि उदात्ततर्फ गएका छन-
काँड़ा माझ हाँस्नु नै हो अर्थ जिन्दगीको
लड़ी लड़ी उठ्नु नै हो अर्थ हो जिन्दगीको।
समाउ भने हाँगा छैन टेकुँ भने ठाँवै छैन
तिमी बिना अब मेरो आफ्नो भन्ने कोही छैन।
---------------
वेदनाको झरी यहाँ रोकिदिने को छ र ?
झर्योक जीवन झरीसरि थामिदिने को छ ऱ?

३.७. आनुप्रासिक आनुषांगिकता- गीत भनेका गद्यजस्तो हुँदैन। यसमा अनुप्रासहरूका विभिन्न प्रयोगगत चमत्कार हुनुपर्छ। अरूभन्दा पनि अन्त्यानुप्रास चाँहि कुशलतासँग प्रयोग गरिएको हुनुपर्छ। गीतकार प्यासी यस दिशातर्फ सचेत छन्।
फूलसँग हाँस्दै खेल्दै आउने हाम्रो बानी
हावासँग नाँच्दै गाउँदै आउने हाम्रो बानी ।
यस गीतांशमा इँटा राखे जसरी शब्दहरू समानुपातिक रूपमा सजाइएका छन्-

फूलसँग हाँस्दै खेल्दै आउने हाम्रो बानी
हावासँग नाँच्दै गाउँदै आउने हाम्रो बानी

काँड़ा माझ हाँस्नु नै हो अर्थ जिन्दगीको(२+२+२+१+१+२+४=१४ अक्षर)
लड़ी लड़ी उठ्नु नै हो अर्थ जिन्दगीको (२+२+२+१+१+२+४=१४ अक्षर)
गीतमा अन्त्यानुप्रासका अतिरिक्त मध्यानुप्रास पनि कतै कतै पाइन्छन्। जस्तै-
उपमा बन्छ जून पनि अँध्यारो रातमा हाँसिदिँदा
गहना बन्छ सून पनि हजार चोट खाँदा खाँदा।
(एउटा खुल्ला किताब, पृष्ठ ४५)
गीतकार प्यासीका अधिकांश गीत मिश्रित नियमित लयव्यवस्थामा आधारित छन्। यस्तोमा एउटै गीतमा दुई वा दुईभन्दा बढी लय प्रयोग गरिएखो हुन्छ। उनले गीतको स्थायी भागमा आउने पंक्तिहरूमा एक प्रकारको र अन्तरा चाँहि अर्को प्रकारको लयको प्रयोग गरिएको धेखिन्छ। यसो हुँदा गीतमा दोस्रो पंक्तिको अनुप्रास चौथो पंक्तिमा पनि मिलाइएका छन्-
रूखो रूखो भयो जीवन
अपार असार रेतजस्तो
सह सकेको अफाप एउटा
निस्सार बाँझो खेतजस्तो।
(एउटा खुल्ला किताब, पृष्ठ ४७)
त्यस्तै गरी कुनै गीतको स्थायी लामो पंक्तिमा र अन्तरा जति छोटो पंक्तिमा पनि पाइन्छन्। यस्ता आनुप्रासिक विधानमा गीतकार निपुण देखिन्छन्।
हाँस भन हाँसिदिन्छु रोउ भन रोइदिन्छु
तिम्रा इच्छा रहरहरू सबै सबै पुर्याछइदिन्छु।

मनको फूल ओइले पनि
तिमी मेरो बसन्त बहार
जीवन राग नभए पनि
तिमी मेरो मियाँ मल्हार।
गीतमा आद्यानुप्रास पनि कतै देखा पर्दछन्-
एकातिर बग्दै जान्छ प्रीति फूलको थुङ्गा
अर्कोतिर बग्दै जान्छ एउटा रित्तो डुङ्गा
(एउटा खुल्ला किताब हुँ म , पृष्ठ २७)

३.८. गीतमा पात्र प्रयोग- प्यासीका गीतमा सम्बोधक, सम्बोधित र कतै कतै अन्य गरी तीन पात्रको प्रयोग गरिएको छ।
तिम्रै लागि मैले यहाँ मन मन्दिर बनाइसकें
तिम्रै लागि मायाको यहाँ फूलहरू सजाइसकें।
यहाँ सम्बोधक म पात्र छ भने सम्बोधित द्वितीय पुरूष तिमीलाई सम्बोधन गरिएको छ। यहाँ म र तिमी को सम्बन्ध यसरी देखाउन सकिन्छ-


मैले


तिम्रो लागि मन मन्दिर बनाएँ
मायाका फूलहरू सजाइसकें
बाटोभरि मुस्कान बिछ्याइसकें
भगवानसँग कसम खाएँ।
यसमा तेस्रो पुरूष पात्रलाई पनि संकेत गरी सम्बोधन गरिएको छ।
३.९. काल्पनिकता- यस सङ्ग्रहमा गीतकार प्यासीले विभिन्न भावका अतिरिक्त कल्पना पनि मिसाएका छन्। कल्पना मनबाट उब्जेका नयाँ कुरा हो। कल्पनानै सिर्जनाको स्रोत हो। कतै प्रेमिका आउँछिन् कि, कतै आफुलाई विभिन्न अवस्थामा पाउनु, नयाँ नयाँ कुरा देख्नु सबै कल्पना हुन्।सबै गीत नै कल्पना कै उपज हुनाले यसका विभिन्न स्वरूप धारण गरेको छ। रिम्झिम् पानी पर्दा कस्तो कस्तो लाग्छ, आफु शीत भइ बिलाएको, मनमन्दिरमा कसैलाई सजाएको, कोही अपसराले पर्दाबाट चिहाएको, साँझ एकलै आएको, भमराको बोली सुनेको इत्यादि कल्पना गरेको पाइन्छ।आफ्नो मनको वेदनाको झरी रोकिदिने कोही छ कि भनेर यसरी कल्पना गर्छन्-
वेदनाको झरी यहाँ रोकिदिने को छ र?
झर्योक जिन्दरी झरीसरि थामिदिने को छ र?
३.१०. बिम्ब र प्रतीक प्रयोग- गीतकारले कल्पनासँगै विभिन्न बिम्बहरूमा श्रावणिक बिम्, दृश्य बिम्ब, सपर्श बिम्ब जस्ता इन्द्रिय बिम्बका अतिरिक्त प्राकृतिक बिम्ब पनि झल्काएका छन्। आफ्नो मनको भावअनुसार नै प्रकृतिले विभिन्न रूप धारण गरेको देखाएका छन्। आफु खुशी हुँदा प्रकृति पनि रोएको र दुखी हुँदा हाँसेको बिम्बलाई यसरी व्यक्त गरेका छन्-
बल्ल बल्ल फाटेको थियो घाम छेक्ने बादल
ढाक्दै ढाक्दै आइहाल्यो फेरि कुइरी मण्डल
कहिले होला छ्याङ्ङ छ्याङ्ङ ममाथिको आकाश
कहिले लिनु सकुँला म मेरै श्वास प्रश्वास।
यसमा कतै प्रतीकहरू पनि सिर्जना गरेका छन्। मनका अमूर्त भावलाई मूर्तता दिने क्रममा विभिन्न वस्तुसँग तुलना गरेका छन्।मायालाई सिमलजस्तो, आफ्नो जीवन न त डुब्ने न त तर्ने मझधारको नाउ जस्तो, जीवन कतै कर्कलाको पातमाथि अडेको शीतजस्तो इत्यादि प्रतीकका माध्यमबाट आफ्ना भाव अभिव्यक्त गरेका छन्।
जल्दै जाने गल्दै जाने मैन बत्ती जस्तो
खेल्दा खेल्दै फाटिजाने तासको पत्तीजस्तो
कसरी म स्वीकार गरूँ जिन्दगी यो यस्तो।
३.११. प्रगतिशीलता- सङ्ग्रहमा केही गीतमा प्रगतीशील विचारधारा पनि पाइन्छन्। समाजका सर्वहारा र शोषित वर्गको हक र हितका लागि उनीहरूकै संघर्ष र क्रान्तिको स्वर पनि उरालिएको पाइन्छ।यद्यपि यस्तो भावधाराको गीत भने एउटै थोरै छ-
हाम्रो सङ्घर्ष छ, हाम्रो प्रचेष्टा छ
पसिना बगाइ यो धरतीमाथि
नयाँ फूल फुलाउने प्रयास छ।
(बोलाउँ भने तिमीलाई, पृष्ठ ५०)
म उच्छाल हुँ म उत्ताल हुँ
म भीषण झञ्झा प्रलय हुँ।
म संग्राम ङुँ संघर्ष हुँ
भोकै मर्ने आत्माहरूको
म कहिल्यै नमर्ने प्रश्वास हुँ।
(एउटा खुल्ला किताब हुँ म, पृष्ठ९५)
३.१२. अलङ्कार विधान- अलङ्कार विधानका दृष्टिले पनि प्यासीका गीतहरू उत्कृष्ट छन्। गीतभित्र सचेत वा असचेत रूपमा जे भए पनि विविध अलङ्कारहरू स्वतः झल्केका छन्। गीतकारमा सौंदर्य चेतना नहुँदो हो ता अलङ्कार पर्ने नै थिएनन्। यसका गीतहरूमा उपमा, अनुप्रास, रूपक, दीपक, उत्प्रेक्षा, तुल्ययोगिता, अपन्हुति, विरोधाभाष, अतिशयोक्ति आदि अलङ्कारहरू रहेका छन्।
वेदनाको झरी यहाँ रोकिदिने को छ र?
झर्योक जीवन झरिसरि थामिदिने को छ र?
यहाँ वेदनाको झरीसरी जीवन झरेको छ अनि कसले सम्हाली देला भने सन्देह व्यक्त गरिएकाले यसमा सन्देह अलङ्कार परेको छ। उनले अनुप्रासिक प्रयोगमा पनि सचेतता देखाएका छन्। विशेषगरी अन्त्यानुप्रासको प्रयोग भने विशिष्ट छ। जस्तै-
तिम्रै निम्ति जीवनमा घात सहें, बदनाम सहें
बात सहें, घात सहें अरू के के सहें सहें।
कुनै कुनै गीतमा उखान र लोकोक्तिको प्रयोग पनि पाइन्छन्। तास पत्तीसरह, बैगुनीलाई गुणले मार्नु, मानमाथि भुक्तमान आदि हुन्।
३.१३. गीतमा शब्द प्रयोगः गीतमा शब्द प्रयोगमा खुबै ध्यान दिनुपर्दछ। नत्र भने गायकीमा असुविधा हुन्छ। शब्दहरू जतिसक्दो कोमल. गेयात्मक, मधुर हुनुपर्छ। यसमा रहेका केही शब्दमा पिरती, करकाप, शिखर, राजमार्ग,निष्ठुरी, काँड़ा, डुङ्गा, हाँगा, उपमा, पुण्य,बोलिदेउ, बैगुनी, अपमान, पन्ना, किताब, बेमौका, मनाकाश, कुइरो,रूखो,निस्ार, लाछिएको, निर्मोही, बेइमानी, पाहाड़, दृष्टि, पतझड़, झ्यालखाना, सकिजाने, प्रतिबिम्ब, सिउँडी, श्रद्धा, शिशिर, सईबई, चितुचाँगे, लालुपाते, टुङ्गना, सारङ्गी, व्यथालु, मझधार, झञ्झा, हिमप्रपाती आदि हुन्। यद्यपि कुनै शब्दहरू भने गायनका निम्ति प्रतिकूल पनि नपाइने होइनन्। जस्तै- पतझड, मुढा, सिउँडी, समीक्षा, भकुण्डो, फकुण्डो आदि हुन् जो नगण्य छन्।
३.१४. सहजानुभूति- गीतकार प्यासीलाई गीत रचना गर्दा कुनै सकस नपरेको भान हुन्छ। उनले गीतमा शब्दप्रयोग, पंक्तिप्रयोग गर्दा स्वाभाविक रूपमा सचेत रूपमा भनौं भाषिक रूपका विभिन्न पक्षमा विचलन नगरी स्वाभाविक रूपमा गीत उतारेका छन् तापनि गीतमा सौन्दर्य पाइन्छ। आफ्नो भावनाको वेगलाई संयमित र सहज रूपमा गतिमयता दिएका छन्। यद्यपि उनका गीतमा विचलन पनि कता कता नपाइने होइन। अधिकांश रूपमा शिष्ट, मानक, शुद्ध भाषिक रूप र कतै सौन्दर्य वृद्धिका लागि विचलनको पनि प्रयोग पाइन्छ। अतः यो भाषिक स्ऴाबाविकता र विचलनको सन्तुलन नै उनको गीतको अभिव्यक्तिगत कौशलता हो।
कोही भन्छन् संसार एउटा दुःखै दुःखको सागर हो
कोही भन्छन् जीवन हाम्रो सुकै सुखको किनार हो।
बोलाउँ भने तिमीलाई, पृष्ठ ४७।
हाँस भन हाँसिदिन्छु रोउ भन रोइदिन्छु
तिम्रा इच्छा रहरहरू सबै सबै पराइदिन्छु।
एउटा खुल्ला किताब हुँ म, पृष्ठ ४८।
यसैगरी उनले गीत रचनालाई अझ प्रभावकारी र सौन्दर्यमय बनाउन विभिन्न भाषिक तहमा विचलनको प्रयोग पनि गरेका छन्। पदक्रम, शब्दगत आदिमा विचलनको प्रयोग देखिन्छ।
४. सङ्ग्रहका अरू खण्ड- यी दुई सङ्ग्रहमा आधुनिक गीतका अतिरिक्त आधुनिक युगल गीत, दशैं गीत, होली गीत, देशभक्ति गीत, भजन, सेलो आदि पनि समावेश गरिएको छ।
४.१. भजन- बडा दशैंको शुभोपलक्ष्यमा आकाशवाणी खरसाङबाट प्रसारित मालश्री रागमा आधारित जय देवी भैरवी सङ्गीत रूपकका निम्ति रचित दुर्गास्तुतिपरक दसवटा भजनहरू सङ्कलित छन्। यी भजनहरू के बी राईले संगीत संयोजन गरी विभिन्न कलाकारले सामुहिक रूपमा गाएका छन्। यी भजनहरूमा शब्दकार शब्द र लयप्रति सचेत छन् तथा शब्द र लयतर्फ पनि ध्यान पुर्याजएका छन्। वर्णगत कोमलता, भावगत तादात्म्य र शब्दगत मधुरताले भरिएका छन्-
तिमी नै माता नव स्वरूप
तिमी नै दुर्गा मा अम्बिके
मधु-कैटभ महिषासुर
मर्दिनी रण चण्डिके।
४.२. नयाँ वर्षको शुभकामना गीत- सङ्ग्रहमा छवटा जति नयाँ वर्षका गीत छन्। यी गीतहरूमा सांसारिक सुख-शान्ति, भाइचारा, समृद्धिको कामना व्यक्त गरिएको छ।–
नयाँ नयाँ होस् जीवन सपना
नयाँ नयाँ विचार
नयाँ वर्षको हर नव योजना
बनोस् सकल शफल साकार।
४.३. देशभक्ति गीत- सङ्ग्रहको खण्ड ङ मा देशमहिमाको आठवटा गीत रहेका छन् भने एउटा खुल्ला चिठी हुँ म मा पनि आठवटा नै देश भक्ति गीत छन्। यसमा देशप्रेम, महिमा, देशका निम्ति कर्तव्य, देश विकासका निम्ति कर्ममय जीवनशैली, राष्ट्रीय भाव, अनेकतामा एकता, भातृत्वको भावना जगाउने भावका गीतहरू पाइन्छन्। राष्ट्रीय एकता र अखण्डता अक्षुण्ण राख्ने दृढ्ता व्यक्त गरिएको छ। यसका साथै राष्ट्रका निम्ति मर्ने शहीदप्रति समर्पण पनि पाइन्छः
सत्य शान्ति अहिंसाको तिरङ्गा झण्डामुनि
आउ हामी शपथ लिउँ एउटै भारती बनी।
४.४. तामाङ सेलो- यस सङ्ग्रहको खण्ड घ मा दसवटा तामाङ सेलोमा आधारित गीतहरू रहेका छन्। तिनमा च्याङ्बा र मैचाङका आपसी माया-पिरतीको उद्गार, कतै पेच हानाहान पाइन्छन् भने कतै मान्छेको जीवन र जोबन बितेपछि फर्केर आउँदैन भन्ने भावधारा पनि पाइन्छ-
कर्कलाको पातमा अडेको
टलटल गर्ने शीतजस्तो
जोबन जान्छ छल्केर
प्रकृतिको रीत यस्तो।
४.५. होली गीत- आकाशवाणी खरसाङबाट होली को उपलक्ष्यमा प्रसारित संगीत रूपक राधा गोविन्द का जम्मा चारवटा गीतहरू समावेश छन्। यसमा पहिलो गीत अत शास्त्रीय नृत्यका निम्ति उपयुक्त देखिन्छ। यसमा कोमल वर्ण, भाव र शब्द छन् –
किन आज यो कुञ्जमा गुञ्जन छैन
किन आज यो रञ्जमा रञ्जन छैन
पवनमा पनि कम्पन छैन
भवँरा-पुतलीको नर्तन छैन।
५. गीतकारका रूपमा जस योञ्जन प्यासीको मूल्याङ्कन र उपसंहार- नेपाली गीत लेखनका प्रसङ्गमा यता भारतका नेपाली गीतकारहरूको ठुलो संख्या र योगदान रहेको छ। यहाँबाट धेरै मात्रामा नेपाली गीतकारहरू हुँदा पनि त्यति मूल्याङ्कन भएको देखिन्न। हुन ता धेरै संगीतकारहरूले पनि गीत रचेका छन् यद्यपि ती जम्मै गीतकार चाँहि होइनन्। बरू गुणात्मक र मात्रात्मक रूपमा गीत रचना गर्ने वर्तमानका समर्पित गीतकारहरूमा जस योञ्जन प्यासी, पुरण गिरी, पुष्कर पराजुली, कमल रेग्मी आदि हुन्।
जस योञ्जन प्यासीको अहिलेसम्ममा दुईवटा गीत संग्रह प्रकाशित भइसकेका छन्। उनका प्रत्येक गीतमा गेयात्मक, लयात्मक, भनौं गीतमा हुनुपर्ने जेजति आवश्यक कुराहरू हुन्छन् ती सबैबाट युक्त छन्। यद्यपि उनका एकाध गीतहरू गायनका क्षेत्रमा केही अपठ्यारा हुनसक्छन् किनकि कतै वर्ण र शब्द प्रयोगमा कठिनाई देखा पर्नसक्छन्। यस्ता सामान्य कमजोरी कतै कतै देखा परे पनि समग्रमा सबल, सफल र अब्बल छन्।

सन्दर्भ पुस्तक-
१.जस योञ्जन प्यासी, बोलाउँ भने तिमीलाई, दार्जीलिङ, प्रेम फूल प्रकाशन, २०१०।
२.कृष्णहरि बराल, गीत : सिद्धान्त र इतिहास, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार,२०६०।
३.जस योञ्जन प्यासी, एउटा खुल्ला किताब हुँ म, खरसाङ, शिवकुमार राई प्रतिष्ठान, २०१३।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु