‘पागल’ ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ कविताका तुलनात्मक अध्ययन-१

- गंगा अधिकारी

अध्याय एक
परिचयात्मक पृष्ठभूमि
१.१ विषयपरिचय
महाकवि लक्ष्मीप्रसाद देवकोटारचित ‘पागल’ (२०१०), कवि आनन्ददेव भट्टरचित ‘हामी बौलाहाहरू (२०२६) र कवि मोदनाथ प्रश्रितरचित ‘गोलघरको सन्देश’ (२०३९) कविताहरू आ–आफ्नो समयका चर्चित कविताहरू हुन् । यी तिनवटै कविता विद्रोही भावयुक्त पनि रहेका देखिन्छन् । यी मध्ये ‘पागल’ कविता कवि स्वयम्लाई पागल भनिएको सन्दर्भबाट आक्रोशित भएर, ‘हामी बौलाहाहरू’ भद्रगोल जेलमा थुनिएका बौलाहाहरूलाई देखेर र ‘गोलघरको सन्देश’ कवि स्वयम् गोलघरको बन्दी रहेको अवस्थाको प्रतिक्रियामा लेखिएको देखिन्छ । यी तिनवटै कविताको रचनाको पृष्ठभूमि एउटै नभए पनि त्यसको उठान भने मानवताविरोधी र मानव अस्मिताविरुद्धका क्रियाकलापको प्रतिक्रियाका रूपमा आएका हुनाले समान ढङ्गबाट भएको छ । अतः तिनवटै कविताको मूल भाव भनेको विद्रोहात्मकता नै भएकाले यी कविता परस्पर तुलनायोग्य रहेका छन् । अतः यस अध्ययनमा यी तिन कविताबिच विभिन्न आधारबाट तुलना गरी प्रगतिवादी वैचारिकताका आधारबाट मूल्याङ्कन समेत गरिएको छ ।
१.२ समस्याकथन
पागल, हामी बौलाहाहरू र गोलघरको सन्देश यी तिनैवटा समानप्रायः परिस्थितिमा रचित विद्रोही भावका कविता हुन् । उस्तै उस्तै भाव वा वैचारिकता भएका यी कविताबिच रहेको समानता र भिन्नताका बारेमा तुलनात्मक अध्ययन मूल्याङ्कन हुँदा यसबाट नयाँ ज्ञानको प्राप्ति हुने कुरा स्पष्ट छ । अतः उपर्युक्त तिन कविताका बिचको तुलनात्मक मूल्याङ्कनलाई प्रस्तुत अध्यनमा मुख्य समस्याका रूपमा लिइएको छ । यस अध्ययनमा उपर्युक्त मुख्य समस्याका सहसम्बन्धी निम्नानुसारका शोध्य प्रश्नहरूको समाधान खोजिएको छ ः
(क) उपर्युक्त तिन कविताबिच के कस्ता समानता र भिन्नताहरू पाइन्छन् ?
(ख) प्रगतिवादी वैचारिकताका दृष्टिले ती कविताको मूल्य के कस्तो रहेको छ ?
३. अध्ययनको उद्देश्य
‘पागल’ ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ यी तिन कविताबिच तुलना, तिनमा रहेका समानता र भिन्नताको निक्र्योल र तुलनात्मक मूल्य निर्धारण गर्नु नै प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ । यो मुख्य उद्देश्यलाई निम्नानुसारका बुँदामा प्रस्तुत गरिएको छ ः
(क) पागल, हामी बौलाहाहरू र गोलघरको सन्देश कविताहरूका बिचमा पाइने समानता र भिन्नताको निरूपण गर्नु,
(ख) प्रगतिवादी वैचारिकताका दृष्टिले ती कविताको तुलनात्मक मूल्याङ्कन गर्नु
४. पूर्वकार्यको विवरण र समीक्षा
‘पागल’ र ‘गोलघरको सन्देश’ दुवै कविताका तुलनामा ‘हामी बौलाहाहरू’ कविता कम चर्चित कविता हो । त्यसैले ‘पागल’ र ‘गोलघरको सन्देश’ कविताबारे थुप्रै अध्ययन, टीकाटिप्पणी र समालोचनाहरू भएको पाइन्छ भने ‘हामी बौलाहाहरू’ बारे भने अत्यन्त न्यून मात्रामा मात्र अध्ययन भएको देखिन्छ । उस्तै उस्तै वैचारिक महŒव बोकेका कविता भएकाले यी कविताबिचको तुलनात्मक अध्ययन एउटा अध्ययनीय विषय हो । अलग–अलग रूपमा यी तिनै कविताबारे स्वतन्त्र अध्ययन धेरथोर मात्रामा भएको भए पनि यिनीहरूबिचको तुलनात्मक अध्ययन भने अहिलेसम्म भएको छैन । तुलनात्मक अध्ययनकै सन्दर्भमा यसअघि झाँक्रीखोलेको ‘पागल र हामी बौलाहाहरू’ शीर्षकमा हाम्रो सिर्जना (६÷१, पू. ११, २०६८) मा एउटा लेख प्रकाशित भएको देखिन्छ भने चैतन्यको ‘गंगा कावेरी एक्सप्रेस र गोलघरको सन्देश ः तुलनात्मक अध्ययन’ शीर्षकमा मोदनाथ प्रश्रित ः केही अध्ययन (२०६८) मा प्रकाशित भएको पाइन्छ । झाँक्रीखोलेको लेखमा ‘पागल’ र ‘हामी बौलाहाहरू’ कविताका बिच मात्र तुलनात्मक अध्ययन भएको छ । जम्मा दस स–साना खण्डमा प्रस्तुत उक्त लेखमा दुवै कविको संक्षिप्त परिचय, दुवै कविताको रचनाको पृष्ठभूमि, कविता रचना हुँदाको मुलुकको राजनीतिक सामाजिक परिवेशबिचको तुलना गरी उक्त दुई कविताबिचको विषयगत तथा शैलीगत समानता असमानताको लेखाजोखा गरिएको छ । यसका साथै ‘पागल’ मा आत्मपरकता बढी भएकाले आत्मप्रशंसाको मात्रा बढी हुन गएको र भट्टले चाहिँ ‘हामी’ शब्दको प्रयोग गरी आत्मप्रशंसाको स्वार्थ छिपाएको निष्कर्ष पनि प्रस्तुत गरिएको छ । अर्को तुलनात्मक अध्ययन गरिएको चैतन्यको लेखमा कवि मोहनविक्रम सिंहको ‘गंगा कावेरी एक्सप्रेस’ र प्रश्रितको ‘गोलघरको सन्देश’ लघुकाव्यबिच तुलना गर्दै दुवै कृति देश, जनता, क्रान्ति र सङ्गठनप्रति प्रतिबद्ध रचनाका रूपमा आएका, दुवैमा सर्वहारा अन्तर्राष्ट्रियतावादी चेतना भएको र दुवै कविता क्रान्तिको भविष्यप्रति आशावादी रहेका जस्ता समानता देखाएका छन् भने ‘गंगा कावेरी एक्सप्रेस’ कविताका तुलनामा ‘गोलघरको सन्देश’ बढी मात्रामा आत्मकेन्द्री भएको दोष पनि देखाएका छन् ।
यस प्रकार प्रस्तुत पूर्वाध्ययनमा उपर्युक्त तिनै कविताका बिच तुलनात्मक अध्ययन हुन सकेको देखिँदैन । तुलना गरिएका सामग्रीहरूमध्ये झाँक्रीखोलेको लेखमा ‘पागल’ र ‘हामी बौलाहाहरू’ बिच तुलना भए पनि प्रगतिवादी वैचारिकताका आधारमा तुलना र मूल्याङ्कन भएको देखिँदैन भने चैतन्यको लेखले पनि ‘गोलघरको सन्देश’ को तुलना ‘पागल’ वा ‘हामी बौलाहाहरू’ सँग नगरेको हुनाले उपर्युक्त उद्देश्य अनुरूपको कार्य यी दुवै पूर्वाध्ययनमा हुन सकेको देखिँदैन । अतः यो विषयबारे तुलनात्मक अध्ययनका लागि छानिएको हो ।
५. अध्ययनको औचित्य
‘पागल’ ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ यी तिन कविताका बिच तुलना गरी मूल्याङ्कन समेत गरिएको प्रस्तुत अध्ययनबाट प्राप्त निष्कर्षबाट प्राज्ञिक क्षेत्रमा नयाँ ज्ञान थपिने हुनाले प्रस्तुत अध्ययन स्वयम्मा औचित्यपूर्ण छ । यसबाट सम्बद्ध विषयका जिज्ञासु अध्येता, शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई पनि आवश्यक जानकारी प्राप्त हुने भएकाले यसबाटै प्रस्तुत अध्ययन महŒवपूर्ण पनि रहेको कुरा स्पष्ट हुन्छ ।
६. अध्ययनको सीमा
उपर्युक्त तिन कविताबिच तुलना गरी मूल्य निर्धारण गरिएको यस अध्ययनको शीर्षकले नै अध्ययनको क्षेत्र र सीमाको निर्धारण गरेको छ । यस अनुसार ती तिन कविताको रचनाको पृष्ठभूमि, शैली–शिल्प, भाव एवम् वैचारिकताका आधारमा मूल्याङ्कनमै प्रस्तुत अध्ययन सीमित रहेको छ ।
७. सामग्री सङ्कलनको विधि
प्रस्तुत अध्ययनका क्रममा आवश्यक विश्लेष्य प्राथमिक सामग्री र सैद्धान्तिक अध्ययनसँग सम्बद्ध द्वितीयक सामग्री पुस्तकालयमै उपलब्ध हुने हुनाले पुस्तकालय विधिबाटै सामग्रीको सङ्कलन गरिएको छ ।
८ सामग्री विश्लेषणको सैद्धान्तिक आधार
प्रस्तुत अध्ययन तुलनात्मक प्रकृतिको भएकाले यसमा सामग्रीको विश्लेषणमा मूलतः तुलनात्मक विधि अपनाइएको छ । तुलनाका क्रममा विश्लेषण पनि आवश्यक पर्ने हुनाले विश्लेषणात्मक पद्धतिको पनि प्रयोग गरिएको छ । यसरी तुलना र विश्लेषण गर्दा तिनवटै कविताको रचनाको पृष्ठभूमि र परिवेश, कविताको रचना शिल्प र भाव एवम् वैचारिकताको तुलना गरी तिनमा रहेको गुणवत्ताको प्रगतिवादी दृष्टिबाट मूल्य निर्धारण समेत गरिएको छ । अध्ययनको सैद्धान्तिक पर्याधार माक्र्सवादी सौन्दर्यशास्त्रलाई बनाइएको छ । यसै पर्याधारमा आधारित भएर तुल्य तिनवटै कवितामा पाइने प्रगतिवादी मुख्य वैशिष्ट्यको खोजी गरी तुलनात्मक मूल्यनिरूपण समेत गरिएको छ ।
८. अध्ययनको रूपरेखा
प्रस्तुत अध्ययनलाई निम्नानुसार चार अध्यायमा विभाजन गरी प्रस्तुत गरिएको छ । ती अध्यायहरूलाई पनि आवश्यकता अनुसार विभिन्न शीर्षक, उपशीर्षक र उप–उपशीर्षकमा समेत विभाजन गरी अध्ययनलाई सङ्गठित गरिएको छ ।
पहिलो अध्याय ः परिचयात्मक पृष्ठभूमि
दोस्रो अध्याय ः पागल, हामी बौलाहाहरू र गोलघरको सन्देश कविताको तुलना
तेस्रो अध्याय ः प्रगतिवादी वैचारिकताका आधारमा कविताका अन्तर्वस्तुको तुलना
चौथो अध्याय ः उपसंहार
परिशिष्ट ः तुलना गरिएका कविताको पूर्ण पाठ
सन्दर्भ सामग्री सूची




दोस्रो अध्याय दुई
पागल, हामी बौलाहाहरू र गोलघरको सन्देश कविताको तुलना

२.१ कविता रचनाको पृष्ठभूमि र परिवेशको तुलना
यस शीर्षक अन्तर्गत तुल्य कविताहरूको रचना के–कस्तो पृष्ठभूमिमा भएको थियो र तिनको रचनाकालको परिवेश सन्दर्भको परिप्रेक्ष्य के कस्तो रहेको थियो भन्ने कुराको तुलनात्मक विश्लेषण गरिएको छ । यस अध्यायमा कवि कुन कुरा देखेर, भोगेर वा अनुभूत गरेर त्यो कविताकृतिको रचनामा गर्न उत्प्रेरित भयो भन्ने कुराको अध्ययन–विश्लेषणका आधारबाट र कविता रचना हुँदाको राजनीतिक–सामाजिक परिवेशगत परिपाश्र्वको समेत विश्लेषण र विवेचनाबाट कविको कवितामा प्रकट वैचारिकताका साथै तुल्य तिनवटै कविताको विषय एवम् भावगत सेरोफेरो र त्यसको गहिराइ समेतको स्तरगत मूल्य पहिल्याइएको छ । विश्लेषणका क्रममा तुल्य तिनवटै कविताको रचनाको पृष्ठभूमि र त्यसको परिवेशगत परिपाश्र्वको अलग–अलग विश्लेषण गर्दै पुनः त्यसको समग्र तुलनात्मक विश्लेषण र विवेचना गरी निष्कर्ष पहिल्याइएको छ ।
२.१.१ पागल रचनाको पृष्ठभूमि र परिवेश
‘पागल’ (प्रगति, १ ः ३, २०१०) कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाको आक्रोशको अभिव्यक्तिका रूपमा सिर्जिएको देखिन्छ । यसको रचनाका पृष्ठभूमिबारे विभिन्न विद्वान्हरूले चर्चा गरेका छन् । तीमध्ये जनकलाल शर्मा (२०३२), चूडामणि बन्धु (२०३६), कुमारबहादुर जोशी (२०४७) वसन्तकुमार शर्मा ‘नेपाल’ (२०६६) यस सम्बन्धमा उल्लेख्य छन् । त्यसमा पनि बन्धु र जोशीले शर्मा (२०३२) लाई नै उद्धृत गर्दै ‘पागल’ कविताको रचना महापण्डित राहुल सांकृत्यायनको ‘आजकल’ ९ ः १ (मई १९५३) अङ्कको ‘विश्वदर्शन’ भागको कविता अङ्क (२ ः ४) मा छापिएको ‘नेपाली महाकवि देवकोटा’ शीर्षकको हिन्दी भाषाको लेख पढेपछि देवकोटा एकाएक आक्रोशित बनेर गरेको बताएका छन् । यस प्रसङ्गबारे शर्मा (२०३२ ः ४६) को भनाइ यस्तो छ ः
यो पंक्ति पढिसकेपछि देवकोटा रिसले अग्निशर्मा के भनौं दुर्वासा भए । उनका गाला फुलेर राताराता भए । आँखा रगत चुहुन लागेझैं देखिए । देवकोटालाई रिस उठेपछि काम्न थाल्थे त्यो मैले एक–दुई पल्ट देखेको थिएँ । उनी मतिर फर्केर मलाई औंलो ठड्याउँदै भन्न थाले, “यस मूर्खलाई गलत सूचना दिने तैं होस् अर्को मूर्ख ।” मैले कति अनुनय विनय गरें, मेरो केही लागेन ।
जनकलाल शर्माले अघिल्लो दिन रिसाएका देवकोटाले राती नै ‘पागल’ कविता लेखेर तयार पारेको र भोलिपल्ट बिहानै आफूलाई बोलाएर हिजोको घटनाप्रति क्षमा याचना गर्दै उक्त कविता सुनाएको उल्लेख गरेका छन् भने कविताभित्रको एउटा पंक्ति “तिम्रा महापण्डित राहुल मेरा महामूर्ख” मा रहेको ‘राहुल’ भन्ने व्यक्तिवाचक शब्दलाई हटाएर “तिम्रा महापण्डित” मात्र राख्न आफूले गरेको आग्रहलाई पनि देवकोटाले स्वीकार गरेको कुरा उल्लेख गरेका छन् (शर्मा, २०३२ ः ४७) । शर्माले ‘प्रगति द्वैमासिकको १ ः ३, भाद्र–आश्विन अङ्कमा प्रकाशित’ भनेर यसै पुस्तकमा ‘पागल’ शीर्षकमा उक्त कविताका पूर्ण पाठ पनि दिएका छन् । यस सङ्कलन र अन्यत्र छापिएको ‘पागल’ कविताका केही पंक्तिहरूमा पाठान्तर पनि रहेको पाइन्छ ।
यस सन्दर्भमा बन्धु (२०३६ ः २८१) ले जोशी (२०४४ ः ११५) लाई उद्धृत गर्दै “वसन्तकुमार शर्माको भनाइमा नक्साल रात्रि पाठशालाको जन्मजयन्तीका अवसरमा २००८ सालको फागुन महिनामा देवकोटाले आफ्नो ‘पागल’ कविता सुनाएका हुन्” भनेका छन् । वसन्तकुमार शर्मा नेपालले एक ठाउँमा यस्तो भनेका छन् ः
त्यसै गरी सामान्य अर्थमा ठट्यौलीजस्तो पारामा केही व्यक्तिको उपस्थितिमा नेभाप्रसको बैठकमा उठेको ‘पागल’ शब्दको व्याख्याले देवकोटाजीलाई उद्दीप्तता जगायो र त्यसैदिन राती उहाँले पागल कविता रच्नुभयो २००८ जेठ ९ गते । र, भोलिपल्टै रात्री पाठशाला नक्सालको जन्मजयन्तीको उपलक्ष्यमा मनाइने वार्षिक उत्सवमा नन्दीकेश्वर महादेवको प्राङ्गणमा त्यो कविता सुनाउनुभयो । अर्थात् पहिलो पल्ट पढ्नुभयो । त्यो कविता समारोहमा हिजोको दिन ‘पागल’ शब्द प्रयोग गर्ने कविहरू पनि हुनुहुन्थ्यो (नेपाल, २०६६ ः ४८) ।
यो भनाइले पागल कविताको रचनाको पृष्ठभूमिबारे दुविधा पनि जन्माइदिएको छ । खास गरी नेपाल र शर्मा दुवै देवकोटाका निकटस्थ व्यक्ति भएकाले र पागल रचनाका बारेमा दुवैको भनाइ फरक भएकाले यो कविता कुन पृष्ठभूमिमा कसरी रचिन गएको हो भन्ने बारे अन्योल जन्माइदिएको छ । नेपाल देवकोटाको स्वभावबारे यस्तो लेख्छन् ः
“उनी लेखनद्वारा आफ्ना पीडा, वेदना र उत्कण्ठाहरूलाई कलात्मक पाराले अर्कै पारेर व्यक्त गर्थे र शान्त हुन्थे... (नेपाल, २०६६ ः ४९) ।
“कसैलाई कसैको आँखामा नबिझाउने स्वभाव थियो देवकोटाको । र, पनि उनले थाम्नै नसकेको भन्न सकिने एकपल्टको रिसको प्रमाण नेपाली वाङ्मयकै अमर कृति ‘पागल’ भयो ... (नेपाल, २०६६ ः ४९–५०) ।
यी भनाइहरूबाट ‘पागल’ कविता आक्रोशकै अभिव्यक्ति हो भन्ने त पुष्टि हुन्छ तर शर्माले भनेझैं लप्टनको होटलमा पढिएको साङ्कृत्यायनको लेखबाट आक्रोशित भएर लेखिएको हो कि नेपालले भनेझैं नेभाप्रसको वैठकमा उठेका कुराले आक्रोशित भएर हो यसमा स्पष्ट हुन सकिन्न । “तिम्रा महापण्डित राहुल” मा संशोधन गरिएको समेत प्रसङ्गले शर्माकै भनाइ सत्यको बढी नजिक छ कि ? अनुमान सम्म गर्न सकिन्छ ।
यसरी ‘पागल’ कविताको रचनाको पृष्ठभूमिबारे शर्मा र नेपालका यी भनाइ नै आधिकारिक आधार रहेका छन् भने यी भनाइहरूका साथै अन्य विद्वान्हरूका भनाइ समेतले यो कविता महाकविले प्रगति १ ः ३, २०१० मा प्रकाशित हुनअघि नै विभिन्न ठाउँमा सुनाइसकेको कुरा स्पष्ट हुन्छ । यसै सन्दर्भमा दान खालिङ (२०६० ः १९) को पनि यस्तो दाबी छ ः
त्यस दिन कवि लक्ष्मीप्रसाद देवकोटाको मुहार विरक्तिले छोपेको थियो । उनी सल्लाहकार सभाको विरोधी दलका नायक तर त्यस दिनको कारवाही न्यास्रो लाग्दो र प्राणहीन थियो हामी जो–जो दर्शकखण्डमा बसेर देशका कर्णधारहरूको कार्यकलाप हेरिरहेका थियौं, ती पनि हाई काढ्न लागिसकेका थियौं । पछिल्लो लहरमा बसेका सल्लाहकारहरू झुल्न लागेका जस्ता देखिन्थे । यस्तैमा कविजीसित मेरा आँखा जुधे । उनी मलाई ‘निस्केर आऊ’ भन्ने सङ्केत गरेर जुरुक्क उठेर हिँडे । म पनि उठेर उनलाई भेट्न गएँ । हाम्रो भेट सभाघरको पछिल्तिर भएको चमेना घरको ढोकैमा भयो । भेट्नेबित्तिकै कविज्यूले भन्नुभयो – “बालचन्द्र (सल्लाहकार सभाका अध्यक्ष) सदस्यहरूलाई बाँदरे नाच नचाएर मोज लिइरहेको छ । आउनुहोस् हामी पनि आनन्द गरौं ।” यति भन्दा–भन्दै हामी चमेनाघरको मझेरीमा पुग्यौं र कुर्सीमा बस्दै कविजीले चमेनाघरका मुखियालाई सम्बोधन गरेर भने – “बाजे, दुई कप चिया ।” त्यसपछि उनले आफ्नो फटेङ्ग्रे कोटको भित्री खल्तीमा हात हालेर तीन चार पाता कागज निकालेर भने – “मैले एउटा नयाँ कविता लेखेको छु, सुन्नुहोस्” त्यसपछि कवि बग्न लागे ः
जरूर साथी ! म पागल !
यस्तै छ मेरो हाल !
कविजी सबै कुरो बिर्सेर पढ्दै गए ...
यस भनाइ अनुसार खालिङको दाबी कविताको पहिलो श्रोता आफू भएको भन्ने स्पष्ट नभए पनि यसबाट पनि यो कविता प्रकाशित हुनुअघि देवकोटाले धेरै ठाउँमा सुनाइसकेको कुरा स्पष्ट हुन्छ, तर यस भनाइमा रहेको “त्यस दिन” भनेको कुन दिन हो, त्यो भने स्पष्टिँदैन । खालिङका अनुसार त्यस बेला देवकोटा सल्लाहकार समितिका विरोधी दलका नेता (२०६० ः १९) थिए । खालिङले भनेको त्यस दिन पनि देवकोटा त्यही हैसियतमा रहेको देखिन्छ । बन्धु (२०६७ ः २४२) का अनुसार २००९ को नववर्षारम्भमै देवकोटा सल्लाहकार समितिको मनोनयनमा परेका थिए । त्यसैले खालिङले भनेको त्यो दिन त्यही समय अर्थात् २००९ सालकै कुनै दिन हुनसक्ने देखिन्छ ।
‘पागल’ को रचनाको निहुँ वा पृष्ठभूमि सांकृत्यायनको लेख भए पनि यसभित्र भएको विषयवस्तु हेर्दा यसको पृष्ठभूमि त्यो मात्र नभई देवकोटा स्वयम्ले जीवनमा भोग्नुपरेका असहज परिस्थिति र विविध उहापोहहरूका साथै मुलुकको सामाजिक–राजनीतिक दुरवस्था आदि पनि रहेको कुरा कविताभित्र फेला पर्ने कतिपय सन्दर्भले बताउँछन् ।
२००८ सालमा ‘पागल’ कविता रचना हुँदाको अवस्थाको राजनीतिक परिवेश भर्खरै राणाशासन समाप्त भएर प्रजातान्त्रिक युगको सुरुआत भएको समयको थियो भने त्यो नयाँ प्रजातान्त्रिक वातावरणमा सीमित मात्रामै भए पनि अभिव्यक्ति स्वतन्त्रता थियो । २००३÷२००४ साल (युगवाणी काल) देखि नै राजनीतिमा पनि सक्रिय रहन थालेका देवकोटामा राजनीतिक–सामाजिक चेत पनि निकै प्रबल थियो । यसै हुनाले प्रजातन्त्रकालका नेतृवर्गको कथनी र करनीको भिन्नता देखेर पनि देवकोटाको मन आक्रोशित बनेको थियो भने १९९५ सालतिर देवकोटालाई विक्षिप्त ठानी उपचारार्थ राँची लगिएको घटनासँग जोडेर ‘पागल’ भनेर देवकोटालाई अनेकौं अवसरबाट पन्छाउने गरिएको कुराबाट समेत देवकोटा भित्रभित्रै आक्रोशित बन्दै गएको अडकल हुन्छ । यसरी अरूहरूले आफूलाई उक्साएर, प्रयोग गरेर धेरै फाइदा लिएको र अवसर मिल्दा भने ‘पागल’ भनेर पन्छाएको स्थिति समेत पागल कविता रचनाको पृष्ठभूमिको रूपमा आएको देखिन्छ । यस कुराको प्रमाण ‘पागल’ कविताभित्रै पनि प्रशस्त पाइन्छ । उदाहरणार्थ केही पंक्तिहरू ः
जरुर साथी म पागल
यस्तै छ मेरो हाल (पागल १ ः १–२)
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुलाहा भने ।
एक सुनसान औंशीले मलाई निरास भएर
म प्रलय वेदनाले उफ्रें ।
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे
र तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुजु्रुकहरूले
राँची पठाइदिए । (पागल, ४ ः १३–२१)
निर्लज्ज नेतृत्वको नीरस सरनाको
रण्डीको नाच हेर ।
जन अधिकारको डँडाल्नोको भाँच हेर ।
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूठले ललकार्छ, (७ ः १–६)
जब बाघले मिर्ग खान आँटेको देख्छु साथी
या ठूलो माछाले सानो,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी ! (७ ः १४–१७)

यी पंक्तिहरूले देवकोटालाई पागल भनिएको सन्दर्भ सँगसँगै तत्कालीन नेपाली समाजमा रहेको भेदभाव, ठुला माछाले साना माछा खाने प्रवृत्ति र समाजमा देखिने जाल–झेल छक्का–पञ्जाबाट सोझा–निर्धा जनता मात्र होइन आफू समेत प्रताडित बनेको स्थितिले उनको कवि आक्रोशित बनेर नै ‘पागल’ को रचना भएको देखिन्छ । यो कुरा देवकोटाको प्रतिभाबाट फाइदा चाहिँ लिने तर अवसरबाट भने पागल भनेर पन्छाउने गरेको स्थितिसँग मिल्दो जुल्दो पनि देखिन्छ । यसर्थ कविताभित्र प्रस्तुत विषयले पागल भन्ने आरोपसँगै समाजका निर्धा जनताले मात्र होइन आफैंले समेत भोग्नुपरेको भेदभाव र जालझेलको समेत उत्प्रेरणाबाट कवि देवकोटाले ‘पागल’ कविता रचना गरेको स्पष्ट हुन्छ ।
यसरी हेर्दा ‘पागल’ रचनाको बाह्य पृष्ठभूमि (निहुँ) शर्माको भनाइ अनुसार सांकृत्यायनको लेख र त्यसमा उल्लिखित देवकोटाको पागलपन बारे सूचना दिएको आशङ्काबाट जनकलाल शर्माप्रतिको देवकोटाको आक्रोश देखिन्छ भने नेपालको भनाइ अनुसार नेभाप्रसमा भएको छलफलमा ‘पागल’ शब्दबारे भएको चर्चा रहेको बुझिन्छ । यसको आन्तरिक पृष्ठभूमि भने देवकोटा स्वयम्ले भोग्नुपरेका अनेकौं दुःख, पीडा, अभाव, अपमान र समाजमा देखा परेका विभिन्न प्रकारका पाखण्ड, अन्याय जस्ता होची–अर्घेली नै रहेको देखिन्छ ।
२.१.२. हामी बौलाहाहरू रचनाको पृष्ठभूमि र परिवेश
अर्को तुल्य कविता आनन्ददेव भट्टरचित ‘हामी बौलाहाहरू’ को पृष्ठभूमिबारे कवि स्वयम्को स्पष्टीकरण यसप्रकार रहेको छ ः
अहिलेसम्म हाम्रो राजधानीका जेलहरूमा बहुलाहरूलाई पनि देवानी, फौदारी मुद्दाका र सुरक्षा कानुन अन्तर्गतका बन्दीहरूसँगै थुन्ने चलन छ । सदर भद्रगोल जेलमा देखेका बौलाहाहरूलाई लिई यो कविता लेखिएको हो । त्यसैले बौलाहाहरूलाई जेलभित्र बर्बराइरहेको कल्पना गर्नु व्यावहारिक हुनेछ । (हामी बौलाहाहरू, टिप्पणी)
यस स्पष्टोक्ति अनुसार कवि भट्टले यो कविता कविले जेलभित्र कोचिएका बौलाहाहरूको अवस्थालाई देखेर त्यसैबाट कविमनमा तरङ्गित भएका भावनाहरूको अभिव्यक्तिका रूपमा प्रस्तुत गरेको स्पष्ट हुन्छ । कविले जेलभित्रका फौज्दारी मुद्दाका अपराधीका बिच कोचिएका मानसिक रोगीहरूलाई देखेपछि उनीहरूको अवस्थाको कल्पना गर्दै त्यसैलाई विषयवस्तु बनाई यो कविता लेखेको देखिन्छ । यस कल्पनासँगै कवि भट्टले मुलुकको तत्कालीन सामाजिक–राजनीतिक विषमता र त्यसविरुद्ध मुलुकमा हुर्कंदै गएको क्रान्तिको स्वरलाई समेत सन्दर्भित गर्दै यस कविताको रचना गरेका छन् । यस अनुसार यहाँ ‘हामी बौलाहाहरू’ भनेर कविले बौलाहाहरूका रूपमा परिवर्तनकामी क्रान्तिकारीलाई उभ्याएका छन् ।
प्रस्तुत कविताको रचनाको समय यही हो भन्ने स्पष्ट उल्लेख भएको नपाइए पनि यसकोे प्रकाशन भरतपुर चितवनबाट प्रकाशित हुने ‘नौलो राँको’ पत्रिकाको पहिलो अङ्क (२०२६) मा भएको देखिएबाट यसको रचना २०२५–२६ तिरै भएको अनुमान गर्न सकिन्छ ।
त्यस बेला देशमा पञ्चायती राजनीतिक व्यवस्था रहेको थियो । निर्दलीय पञ्चायती शासन व्यवस्था रहेको त्यो समयमा निरङ्कुश शासनको दमनचक्रमा जनता पिसिनुपरेको समय थियो । राजा महेन्द्रले असंवैधानिक ‘कु’ गरेर प्रजातन्त्रको हत्या गरी सामन्ती र निरङ्कुश राजतन्त्रको पुनस्र्थापना गरेको एक दशक पनि बितिसकेको थिएन । यस्तो अवस्थामा सामन्ती राजतन्त्रका अरौटे भरौटेको सर्वत्र बिगबिगी हुनु अनौठो कुरा पनि भएन । पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रको खुल्ला र प्रत्यक्ष रूपमा विरोध गर्नु भनेको पञ्चायती कालकोठरीको बास हुनु र अझ जीवन नै खुकुरीको धारमा राख्नु थियो । यसै कारण कतिपय प्रजातन्त्रवादी र बामपन्थी नेतावर्ग पञ्चायती जेलमा यातनापूर्ण अवस्थामा रहन बाध्य पनि थिए । अतः जो कोहीले त्यस समय पञ्चायती राजतन्त्रको प्रत्यक्ष रूपमा विरोध गर्ने आँटै गर्दैनथे । जेलबाहिर रहेका पञ्चायत–विरोधी राजनीति गर्नेहरू पनि विभिन्न जनवर्गीय सङ्गठनका माध्यमबाट मात्र सङ्गठित थिए या त भूमिगत रूपमा नै पार्टी राजनीतिमा संलग्न थिए । यसरी यत्रतत्र राजतन्त्र र त्यसका हिमायती पञ्चहरूको दबदबा कायम भए पनि सामन्तवाद र निरङ्कुशताविरोधी परिवर्तनकामी शक्तिहरू कुनै न कुनै रूपबाट त्यो फासिस्ट र दमनकारी सत्ताविरुद्ध क्रियाशील थिए । ‘हामी बौलाहाहरू’ रचनाकालको राजनीतिक सामाजिक परिवेशबारे झाँक्रीखोले (२०६८ ः ९८) को भनाइ यस्तो छ ः
...‘हामी बौलाहाहरू’ कविता रचिएको समय देशमा निर्दलीय पञ्चायती व्यवस्था लागु भएको ९ वर्ष बितिसकेको थियो । राणासामन्तहरूको स्थानमा यतिखेर पञ्चे सामन्तहरू तैनात थिए । समाजमा वर्गीय विभाजन स्पष्ट रूपमा वर्गीकृत भएको थियो । व्यक्ति अहम्वादको सञ्जाल पञ्चायती ठालुहरूसँग मिलेको थियो । निम्नवर्गीय सङ्गठनहरू वयंवादमा आकर्षित थिए । यिनीहरू पञ्चायती सामन्तहरूका विरुद्ध जनमत प्रकट गर्दथे श्री ५ सर्वोच्च शासक थिए । श्री ५ भनेको शाह परिवार मात्र हुने गथ्र्यो र पुरुष नै हुने चलन थियो । निर्दलीयता पञ्चायतको नारा वा मूलमन्त्र थियो । देशभित्रका जीवित दलहरूमाथि प्रतिबन्ध लगाई निरङ्कुश राजतन्त्रको वागडोर राजा महेन्द्रले गरेका थिए ।
झाँक्रीखोलेको यो भनाइले पनि माथिकै कुराहरूको पुष्टि गर्दछन् । उनले अगाडि भनेका छन् ः
जनताहरू मौलिक हक र अधिकारबाट वञ्चित रहेका थिए । जेलघरहरू जनताका लागि साँगुरा बन्दै गएका थिए । धरपकड, यातना र बन्दी बनाउने सरकारी संयन्त्र सबल थियो २००७ सालको क्रान्तिले थाकेका, डराएका जनताहरू शान्तिपूर्ण आन्दोलनमा उत्साहित थिए । राज्यमा भ्रष्टाचारी, घुसखोरीहरूको सञ्जाल सुराकीय शैलीमा विस्तारित भएको थियो । दरवारको सरकार यस्तो सञ्जालको संरक्षण गर्दथ्यो । देशको आर्थिक, रामाजिक र शैक्षिक अवस्थामा मन्दमन्द सुधार थियो । अर्धसामन्तवादी नयाँ परम्पराको सुरुआत भएको थियो । जडसूत्रवादले कताकता घुँडा टेकेको अवस्था थियो । द्वन्द्वात्मक भौतिकवादले माक्र्सवादी चिन्तनबाट जनताहरू भूमिगत शैलीमा विस्तारित हुँदै थिए ।
यस प्रकारको मुलुकको राजनीतिक–सामाजिक परिस्थितिमा पञ्चायती व्यवस्थाका विरुद्ध प्रत्यक्ष परोक्ष ढङ्गबाट कहिले साहित्यका माध्यमबाट त कहिले संघ संगठनका माध्यमबाट लागिपर्ने मुलुकका बौद्धिक व्यक्तित्वहरूमध्येका एक आनन्ददेव भट्ट पनि थिए । उनी प्राध्यापन पेशामा रहँदा रहँदै पनि विभिन्न राजनीतिक र जनवर्गीय संघ–सङ्गठनको निर्माणका साथै आफ्ना साहित्यिक रचनाहरूका माध्यमबाट समेत निरङ्कुश व्यवस्थाका विरुद्ध जनचेतना फैलाउन र खास गरी बामपन्थी राजनीतिको प्रचार प्रसार गर्नमा क्रियाशील रहेका थिए । यसै क्रियाशीलताका कारण उनले पञ्चायती निरङ्कुशताको आँखीडाही पनि सहनुप¥यो । उनका यिनै क्रियाकलापको एउटा कडीका रूपमा नै ‘हामी बौलाहाहरू’ कविताले जन्म लिएको थियो । यसरी पञ्चायती व्यवस्थावादीहरूको दमनकारी चरित्रका कारण कवि भट्टले जनताका मुक्तिकामी क्रान्तिकारी विचारलाई बौलाहाहरूका प्रलापका रूपमा परोक्ष ढङ्गबाट प्रकट गर्दै उक्त कविता लेखेको देखिन्छ ।
यो त भयो कविताभन्दा बाहिरको सन्दर्भ । कविताको भित्री सन्दर्भलाई हेर्दा कवि स्वयम्ले प्रस्तुत गरेको उपर्युक्त स्पष्टीकरण बाहेक यस कविताको साङ्केतिक सन्दर्भ पनि छ । कवि भट्ट कविताको सुरुमै भन्छन् ः
हामी बौलाहाहरू
सज्जनहरूका खेलौनाहरू
डन्डीबियो र गुच्चाहरू
बोराभित्र कोचिएका मकै र कोदाहरू (भट्ट, २०२६ ः ५३)
यहाँ आएको ‘बौलाहाहरू’ शब्दले सोझा निर्धा नेपाली जनता र ‘सज्जनहरू’ ले मुलुकका सत्तासीन शासक वर्ग र तिनका पक्षपोषक समेतलाई पनि व्यङ्ग्यात्मक एवम् प्रतीकात्मक रूपमा सङ्केत गरेको छ । यस दृष्टिबाट समग्र कविताको विश्लेषण गरी हेर्दा यस कविताको सतहमा बौलाहा र सज्जनबीचको द्वन्द्वात्मक परिवेश देखा पर्दछ भने यसको अन्तर्तहबाट हेर्दा मुलुकको सामन्तवादी राजनीति र त्यसका सञ्चालकहरूसँगको न्यायप्रेमी, स्वतन्त्रताप्रेमी नेपाली जनताको अन्तर्विरोध मुखरित भएको देखिन्छ । अर्को ठाउँको यो सन्दर्भ पनि उल्लेख्य देखिन्छ ः
खोइ, हामीलाई बस्ने र सुत्ने कोठोसम्म दिनुभएको छ तपाईंले ?
हाम्रा पनि मगज छन् चिन्तन गर्न,
चाहिन्छन् किताब, कापी, कलम र कागज हाम्रा अनुभूति उतार्न (भट्ट, २०२६ ः ५५)
यी पंक्तिबाट गाँस, बास, कपास र बौद्धिक कार्य गर्ने स्वतन्त्रताको माग गरेको स्पष्ट हुन्छ । लगभग एक दशकसम्म निरङ्कुश सत्ता चलाएको पञ्चायती व्यवस्था र तिनका हर्ताकर्ताहरूबाट जनताको गाँस, बास र कपासको समस्या समाधान नहुने देखेर नै कविले प्रतीकात्मक सन्दर्भसहित यो कविता रचेको बुझिन्छ । यसरी भद्रगोल जेलमा बन्दी जीवन बिताइरहेका बौलाहाहरूको अवस्था देखेर उत्प्रेरित भई प्रस्तुत कविता लेखिएको भए पनि यसको अन्तर्वस्तुको अध्ययनबाट त्यसको अन्तर्तहमा रहेको शोषित–पीडित जनता र सत्ताधारी शासकवर्गबिचको अन्तद्र्वन्द्वलाई प्रकारान्तरबाट प्रस्तुत गर्ने आन्तरिक उत्प्रेरणा पनि यसको रचनाको पृष्ठभूमिका रूपमा रहेको बुझिन्छ ।
यस प्रकार एकातिर निर्दलीय पञ्चायती व्यवस्थाको आवरणमा एकछत्र र निरङ्कुश राज्यसत्ता चलाइरहेको राजतन्त्र कायम रहेको अवस्था र अर्कातिर त्यो निरङ्कुश सत्ताको जनविरोधी, सामन्तवादी, नोकरशाहीतन्त्रका विरुद्ध भित्रभित्रै सल्बलाइरहेका बामपन्थी तथा प्रजातन्त्रवादी शक्तिहरूका बिचको प्रत्यक्ष–परोक्ष द्वन्द्वमा देश रुमल्लिइरहेका बेला २००७ सालको क्रान्तिकै बेला कम्युनिस्ट पार्टीको सदस्य बनेका (प्रश्रित, २०६८ ः १९) बामपन्थी खेमाका बुद्धिजीवी स्रष्टा भट्टले यो कविता रचना गरेको स्पष्ट हुन्छ । यसरी ‘हामी बौलाहाहरू’ कविता पूर्णतः राजनीतिक द्वन्द्वको पृष्ठभूमि र परिवेशमा रचिएको देखिन्छ ।
२.१.३ गोलघरको सन्देश रचनाको पृष्ठभूमि र परिवेश
कवि मोदनाथ प्रश्रितरचित ‘गोलघरको सन्देश’ (२०३९) लघुकाव्य कवि प्रश्रितको जेलजीवनको उपलब्धि हो । कवि प्रश्रित राजनीतिक कारणबाट पक्राउ परी केन्द्रीय कारागारभित्रको अर्को विशेष कारागार ‘गोलघर’ भित्र बन्दी भएका बेला यो काव्य रचिएको देखिन्छ । यस विषयमा समालोचक शालिकराम पौड्याल लेख्छन् ः
यो लघुकाव्य केन्द्रीय कारागार गोलघरमा २०३८ साल असार ६ गते लेखन कार्य सम्पन्न गरी पहिलो पटक २०३९ सालमा प्रकाशित भएको हो । यो काव्य जेलभित्र रचना सम्पन्न गरिसकेपछि गोप्य रूपले बाहिर पठाई प्रकाशित गरिएको थियो (पौड्याल, २०६८ ः ५६९) ।
यस भनाइबाट यस काव्यको रचना २०३८ मै भएको र २०३९ सालमा यसको पहिलो प्रकाशन भएको देखिन्छ ।
कवि प्रश्रितको व्यक्तित्वको अर्को सिङ्खै पाटो राजनीतिक व्यक्तित्व हो । उनी जति मात्रामा कवि हुन् त्यति नै मात्रामा कम्युनिस्ट पार्टीका नेता पनि हुन् । उनको जीवनको लगभग दुई तिहाइ समय यसैमा लागेको देखिन्छ । त्यसैले उनको खास गरी २०२४÷२५ पछिको लेखन यसै कम्युनिस्ट विचारधाराको विस्तारको अभीष्ट लिएर नै अघि बढेको देखिन्छ । सुरुमा कांग्रेस पार्टीसँग आबद्ध रहेर त्यसकै विद्यार्थी फाँटमा क्रियाशील प्रश्रितले कांग्रेसी नेतृत्वको सामन्ती व्यवहार (हेर्नू, अतीतका पाइलाहरू भित्रको ‘दलबहादुर दिशा जाऊँ’) देखेर यसबाट जनताको भलो नहुने देखी कम्युनिस्ट विचारतिर आकृष्ट भएको देखिन्छ (प्रदीप, २०६८ ः १०) । प्रदीपका अनुसार उनले २०२४ सालदेखि नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएको देखिन्छ । यसपछि कम्युनिस्ट पार्टीको काममा सक्रिय रहँदै जाँदा पार्टीका महासचिव पुष्पलालसँग मतभेद भएपछि मुक्तिमोर्चा समूह गठन गरी त्यसकै काममा सक्रिय रहेका बेला उनी २०३७ सालमा पक्राउ परेर भैरहवा जेलमा राखिएका थिए । जेल परेको दुई महिनामै जेल तोडेर फरार भएका प्रश्रितलाई त्यसको तिन महिना पनि नबित्दै पुनः पक्राउ गरेपछि भने कडा यातनाका साथ केही समय भैरहवामा राखेर केन्द्रीय कारागार चलान गरिएको थियो र त्यसै कारागारभित्रको विशेष कारागारका रूपमा रहेको ‘गोलघर’ मा उनी बन्दी बन्न पुगेका थिए । यसै गोलघरभित्र यातनामय जेल जीवन भोग्दै गरेका बेला उनले आफ्नो सन्देशका रूपमा ‘गोलघरको सन्देश’ काव्य रचेका थिए । यस प्रकार ‘गोलघरको सन्देश’ काव्यको रचना राजनीतिक पृष्ठभूमिमा भएको देखिन्छ ।
‘गोलघरको सन्देश’ प्रकाशित हुँदा मुलुकमा निर्दलीय पञ्चायती व्यवस्थाको दबदबा कायम थियो । निरङ्कुश सामन्ती राजतन्त्रका पृष्ठपोषक पञ्चहरू पञ्चायती प्रजातन्त्रका नाउँमा मुलुकमा लुट मच्चाइरहेका थिए । राजतन्त्रका भरौटेहरूबाट जताततै विरोधीहरूलाई धरपकड गर्ने, निर्मम यातनासहित पुलिस कस्टडीमा राख्ने, अनेकौं झुट्टा मुद्दामा फँसाएर जेलभित्र सडाउने र कतिलाई विभिन्न बहाना बनाएर मार्ने, सर्वसाधारणलाई मण्डले नामका गुण्डाहरू लगाएर यत्र–तत्र त्रास फैलाउने जस्ता अमानवीय क्रियाकलाप भइरहेको थियो भने मुलुक भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबेको अवस्थामा थियो । राजा र राजपरिवारका सदस्यहरू अनेकौं संघ–संस्था खडा गरी तिनको नेतृत्व गर्ने नाममा वैध–अवैध किसिमबाट भत्ताको रूपमा मुलुकबाट मोटो रकम कुम्ल्याएर विदेशी वैंकमा सञ्चय गर्न व्यस्त थिए भने तिनका अरौटे भरौटे पञ्चहरू पनि जनताबाट उठेको करबाट व्यक्तिगत ढुकुटी भर्न र मोजमस्ती गर्न तल्लीन थिए । यस प्रकारको चौतर्फी अन्याय, अत्याचार, अराजकता, भ्रष्टाचार, दमन–उत्पीडनमा मुलुक डुबेको बेलामा देशभक्त, जनपक्षीय शक्तिहरू चुप लागेर बस्ने कुरै आउन्नथ्यो । त्यसैले यस्ता असङ्गतिका विरुद्ध मुलुकका चेतनशील व्यक्तिहरू निरङ्कुश राजतन्त्रका इशारामा फासिस्ट र तानाशाही भनिने गरेको पञ्चायती सरकारबाट प्रतिबन्धित गरिएका पार्टीहरूलाई भूमिगत रूपमै जीवन दिने काममा लागिपरेका थिए भने खुल्ला रूपमा पनि विभिन्न सामाजिक, सांस्कृतिक, साहित्यिक सङ्गठनहरू निर्माण गरी ती पार्टीका नीति तथा कार्यक्रमहरूलाई टेवा पु¥याइरहेका थिए । यस्ता क्रियाकलापमा विशेष गरी कम्युनिस्ट पार्टी र तीसँग प्रत्यक्ष–परोक्ष रूपमा सम्बन्धित संघ–सङ्गठनहरू बढी क्रियाशील रहेका देखिन्थे । त्यसमा पनि विभिन्न समयमा मतभेद भई फुट्दै आएका कम्युनिस्ट पार्टीका विभिन्न चिरालाई समेटेर एकीकृत शक्तिका रूपमा भर्खरै भूमिगत रूपमा उदाएको नेपाल कम्युनिस्ट पार्टी (माले) त्यस बेलाको जल्दो बल्दो राजनीतिक शक्तिका रूपमा देखापरेको थियो । देशभरका जनताहरू प्रत्यक्ष परोक्ष ढङ्गबाट यसकै नेतृत्वमा गोलबन्द हुँदै थिए । बाहिर विभिन्न जनवर्गीय सङ्गठनका क्रियाकलापमा पनि यही पार्टी सबैभन्दा अघि थियो । यसरी नेकपा (माले) को बढ्दो प्रभावबाट आत्तिएका सत्ताधारी मात्र होइन त्यस बेला मुलुकको एकमात्र प्रजातान्त्रिक शक्ति हुँ भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ता समेत पञ्च र मण्डलेहरूसँग काँधमा काँध मिलाएर नेकपा (माले) र यसका समर्थकहरूमाथि बेला मौकामा साङ्घातिक आक्रमणमा समेत उत्रिने गर्थे । उनीहरूको यस्तो जनविरोधी क्रियाकलापका कारण राजतन्त्र र राजतन्त्रका हिमायती पञ्चहरू त जनताका घृणाका पात्र हुनु स्वाभाविकै थियो नेपाली कांग्रेसको प्रभाव पनि क्रमशः ओरालो लाग्दो अवस्थामा थियो ।
भूमिगत रूपमा पार्टी र यसका गतिविधिलाई जनताका घरदैलोमा पु¥याएर पार्टीलाई जनताको माझमा स्थापित गर्नुका साथै मुलुकको सामन्तशाही व्यवस्थाको समूल उच्छेदका लागि जनचेतना फैलाउँदै हिँडेका पार्टीका भूमिगत नेता तथा कार्यकर्ताहरूको गिरफ्तारी, हत्या जस्ता कुरा सामान्य जस्तै बनेका थिए । थुप्रै नेता कार्यकर्ताहरू आततायी सरकारका भरौटेहरूबाट मारिइसकेका थिए भने सयौंको संख्यामा पञ्चायती जेलमा यातना भोग्दै थिए । यसै क्रममा भैरहवा जेल तोडेर फरार भएका प्रश्रित पुनः पक्राउ परेको तिन महिनापछि केन्द्रीय कारागारको गोलघरमा पु¥याइएका हुन् । त्यहाँ उनलाई अनेकौं असह्य यातनाका साथ कैद गरिएको थियो । यही समयमा नै उनले ‘गोलघरको सन्देश’ लेखेर जनताका नाममा समर्पित गरेको देखिन्छ ।
कविताको अन्तरङ्ग विश्लेषणबाट पनि यही र यस्तै पृष्ठभूमि र परिवेशमा ‘गोलघरको सन्देश’ काव्य रचिएको सिद्ध हुन्छ । यो कृति यथास्थितिवादी एवम् प्रतिगामी विचार र व्यवस्थाविरुद्ध रचित हो भन्ने कुरालाई तलका पंक्तिले पुष्टि गर्दछन् ः
जुगजुगभरि
औंसीकै रात थमौती गर्ने प्रस्ताव
पास ग¥यो तिनको सदनले
र फेरि पनि बन्दूकका काला फणा उठाउँदै
मध्येनि रातमा गाउँ झम्टनथाले तिनले । (प्रश्रित, २०५८ ः १९७)
मनोबल भाँच्न मेरो
शरीरमा लौराहरू भाँचे,
गोप्यता बकाउनलाई
बूट र बन्दूकका कुन्दाले खाँदे, (प्रश्रित, २०५८ ः १९७)
यस अभिव्यक्तिबाट तत्कालीन शासन व्यवस्थाले चलाएको यथास्थितिवादी र आतङ्ककारी एवम् जनविरोधी राज्य व्यवस्थाबाट जनता आक्रान्त भएको अवस्थाका विरुद्ध क्रान्ति गर्ने क्रममा कवि प्रश्रित गिरफ्तार भई पञ्चायती कालकोठरीमा यातनामय जीवन बिताइरहेको स्थिति स्पष्ट हुन्छ । यस्तो विषम र दुःखमय परिस्थिति खपेर भए पनि आफ्नो पार्टीले चलाएको क्रान्तिलाई किमार्थ नत्यागी युद्धमै लागिरहने र पञ्चायती सत्ता ढालिछाड्ने अठोटमा कवि दृढ रहेको स्थितिलाई यी पंक्तिहरूले देखाउँछन् ः
प्यारा कमरेडहरू,
कत्ति धन्दा नमान्नुहोस् !
अँहँ, सुर्तै नगर्नुहोस् !
म यहाँ त्रासले निभेको अँगार हैन,
आशैआशले झर्झराएको अगुल्टो जस्तै छु,
आततायीहरूको यस महारौरव नरकलाई
मृत्युञ्जयी भएर म थर्काइरहेछु । (प्रश्रित, २०५८ ः २०८)
यहाँ परेको ‘कमरेडहरू’ शब्दबाट उक्त व्यवस्थाविरुद्ध कम्युनिस्ट पार्टीले चलाएको आन्दोलनका क्रममा कवि जेल परेको बुझिन्छ भने यस उदाहरणबाट निडर भई आफ्नो लक्ष्यमा लागिरहन कवि कटिबद्ध रहेको स्थिति पनि स्पष्ट हुन्छ । मुठीभर शासकहरूले बहुमत जनतामाथि लादेको व्यवस्थाविरुद्ध जनता जागेको स्थितिबाट आन्दोलन चर्केको अवस्था यी पंक्तिहरूले देखाउँछन् ः
त्यहाँ मुठी बोकेर सबले भन्दैछन्
हामी “पन्चान्नब्बे” हरू “पाँच” मान्दैनौं
बहुमतको रगत्ले ढाडिएको
“पाँचको पंचायत” मान्दैनौं । (प्रश्रित, २०५८ ः २११)
यसबाट मुट्ठीभर पञ्चहरूले चलाएको तानाशाही व्यवस्थाका विरुद्ध मुलुकका पन्चानब्बे प्रतिशत जनता क्रान्तिको पक्षमा रहेको स्थिति पनि उजागर हुन्छ । त्यस्तो रक्तपीपासु जनविरोधी व्यवस्थाका विरुद्ध जब जनता जाग्दछन्, त्यसपछि जनताको विद्रोहलाई कुनै तागतले पनि रोक्न सक्ने छैन भन्ने उद्घोष गर्दै कवि भन्छन् ः
मान्छे जब ब्यूँझन्छ स्वतन्त्रताको आकांक्षाले
थुन्न सक्तैन उसलाई कुनै जेल र पर्खालले
त्यसैले निर्भीक छु म यहाँ
झुकाउन सक्तैन कसैले मेरो सगरमाथा !
अजेय छ हाम्रो श्रमिक–मुक्तिको महायात्रा !
अमर छ हाम्रो मानव–मुक्तिको अभियान ! (प्रश्रित, २०५८ ः २२०)
यसबाट जनताको त्यो दुर्जेय अभियान थालिइसकेको र त्यस महाअभियानमा जनताको विजय अवश्यम्भावी रहेको कुरा स्पष्ट हुन्छ ।
यसरी ‘गोलघरको सन्देश’ लघुकाव्यको अन्तरङ्ग अध्ययनबाट समेत निरङ्कुश राजतन्त्र र त्यसबाट परिपोषित तानाशाही र फासिष्ट चरित्रको जनविरोधी पञ्चायती व्यवस्थाका विरुद्ध क्रान्तिमा लागेको कारण भद्रगोल जेलको कालकोठरी ‘गोलघर’ मा कठोर यातना भोगिरहनु परे पनि जनताको मुक्ति युद्धमा आफू अविचलित भई लागिरहने दृढता व्यक्त गर्दै क्रान्तियोद्धाकाका रूपमा जेलबाहिर कार्यरत ‘कमरेड’ हरूलाई क्रान्तिमा निरन्तर क्रियाशील रहन उत्प्रेरणा प्रदान गर्ने ध्येय नै कविता रचनाको पृष्ठभूमि रहेको देखिन्छ भने कविता रचनाको परिवेश त्यही क्रान्तिकालीन पञ्चायती शासन व्यवस्थाले सृजना गरेको आतङ्कपूर्ण परिस्थिति रहेको देखिन्छ ।
२.१.४ कविता रचनाको पृष्ठभूमि र परिवेश ः तुलना र निष्कर्ष
यी तीनवटै कविताको रचनाको पृष्ठभूमिको तुलना गर्दा देवकोटाले आफूमाथि ‘पागल’ भएको व्यक्तिगत आक्षेप लागेकोमा आक्रोशित भएर ‘पागल’ कविताको रचना गरेको देखिन्छ भने भट्टले झ्यालखानामा थुनिएका पागल कैदीहरूको अवस्थालाई देखेर मनमा उठेका कल्पनाका तरङ्गहरूलाई ‘हामी बौलाहाहरू’ कविताका रूपमा प्रकट गरेको बुझिन्छ । ‘पागल’ का कविको अनुभूति निजी भोगाइबाट सृजिएको देखिन्छ र यसको अर्थसापेक्ष लाक्षणिक छ भने ‘हामी बौलाहाहरू’ अरूको भोगाइबाट सृजिएको देखिन्छ र यसको प्रत्यक्ष वा अभिधात्मकभन्दा पनि ध्वन्यात्मक÷प्रतीकात्मक वा अन्योक्तिमूलक अर्थ बढी शक्तिशाली देखिन्छ । ‘पागल’ मा ‘म’ एउटा व्यक्ति अनुभोक्ताका रूपमा देखिन्छ भने ‘हामी बौलाहाहरू’ मा त्यो अनुभोक्ता ‘हामी’ बनेर एउटा सिङ्गो वर्गकै अभिव्यक्ति बन्न पुगेको छ । यसरी प्रस्तुतीकरणमा वैयक्तिकता र सामूहिकताको पार्थक्य रहे पनि यी दुवै कविताको रचनाको कारक चाहिँ मानसिक हो अर्थात् कविताका अनुभोक्ताको ‘मनदुखाइ’ नै हो । अघिल्लोमा त्यो मनदुखाइ निजी छ र बढी मात्रामा भावनात्मक छ भने पछिल्लोमा त्यो सामूहिक बनेको छ साथै त्यो भावनात्मक भन्दा पनि बढी मात्रामा बौद्धिक एवम् प्रतीकात्मक पनि छ । यिनको तुलनामा ‘गोलघरको सन्देश’ को पृष्ठभूमि फरक छ । यो केन्द्रीय कारागारको यातनागृह गोलघरमा नेल हत्कडीसहित असह्य यातना भोगिरहेको कैदी बन्दीको शारीरिक र मानसिक पीडाको अभिव्यक्ति हो र एउटा क्रान्तिकारी योद्धाको दुश्मनप्रतिको हुङ्कार पनि हो । जतिसुकै यातना खप्नुपरे पनि क्रान्तिको बाटोबाट कदापि विचलित नहुने आफ्नो अठोट र सोही अनुसार आफ्ना अनुयायीहरूलाई पनि क्रान्तिबाट पछि नहटी आफ्नो कर्तव्यप्रति दृढ र इमान्दार रहन प्रस्तुत गरिएको सन्देश हो । अतः यो कविता क्रान्तिकालीन राजनीतिक पृष्ठभूमिमा रचिएको देखिन्छ । यसरी हेर्दा ‘पागल’ कविताको पृष्ठभूमि भावनात्मक र वैयक्तिक–विद्रोहात्मक रहेको देखिन्छ भने ‘हामी बौलाहाहरू’ को बौद्धिक, सामूहिक चेतनामूलक र चेतावनीपूर्ण तथा ‘गोलघरको सन्देश’ को क्रान्तिकारी रहेको स्पष्ट हुन्छ ।
कविता रचनाको परिवेशलाई हेर्दा यी तीनै कविताहरू आ–आफ्नो समयको समाजका सामाजिक–राजनीतिक विसङ्गतिप्रति विद्रोह जनाउँदै लेखिएका छन् । ‘पागल’ कविताको रचनाको राजनीतिक परिवेश प्रजातान्त्रिक देखिन्छ । प्रजातान्त्रिक वातावरण भएकैले ‘पागल’ कवितामा कविको अन्तर्विरोध मुलुकको राजनीतिक व्यवस्थाप्रति भन्दा पनि त्यहाँका पात्रहरूका असङ्गत व्यवहारप्रति रहेको देखिन्छ । ‘पागल’ मा खास गरी राजनीतिक भन्दा पनि सामाजिक परिपाटिप्रति कविको असन्तोष देखिन्छ, त्यहाँका हर्ता कर्ताहरूले अरूमाथि गर्ने गरेका व्यवहारप्रति उनको असन्तोष छ । पछिल्ला दुई कविता भने पञ्चायती निरङ्कुश राजनीतिक परिवेशमा लेखिएका हुन् । अतः दुवै कविताको असन्तोष राजनीतिक व्यवस्था र त्यसले सिर्जना गरेका समस्याप्रति नै केन्द्रित रहेको छ । यिनमा पनि ‘हामी बौलाहाहरू’ मा भन्दा ‘गोलघरको सन्देश’ मा मुलुकको राजनीतिक व्यवस्थाप्रति कविको अन्तर्विरोध बढी मुखरित भएको छ । अघिल्लोमा व्यवस्था र व्यवस्थाका लाउकेहरू विरुद्ध बौद्धिक रूपमा विरोध गरिएको छ, त्यहाँ कविले कुनै विद्रोहको अभिव्यक्ति नगरी विद्रोह गर्ने चेतावनी मात्र प्रस्तुत गरेका छन् तर पछिल्लोमा भने कवि स्वयम् व्यवस्थाविरोधी क्रान्तियोद्धाका रूपमा प्रस्तुत छन्, स्वयम् क्रान्तिमा समर्पित छन् र व्यवस्थाको समूल अन्त्यका लागि कटिबद्ध पनि छन् । यसैले यी तीनै कविताको रचनाको परिवेश हेर्दा ‘पागल’ को परिवेश प्रजातान्त्रिक छ भने बाँकी दुईको सामन्ती निरङकुश पञ्चायतकालीन राजनीतिक परिवेश छ । त्यसमा पनि अघिल्लोको राजनीतिक परिवेश सामान्यतः बौद्धिक रूपमा व्यवस्थाको विरोध हुँदै गरेको अवस्थासम्म मात्र सीमित छ भने पछिल्लोमा व्यवस्थाविरोधी सशक्त क्रान्तिको परिवेश रहेको छ ।
२.२. कविताका अन्तर्वस्तुको तुलना
यस शीर्षक अन्तर्गत कविताको अन्तर्वस्तुका रूपमा कविताले प्रस्तुत गरेको भाव वा विषय पक्ष, वैचारिकता र कविताले दिने मूल सन्देशको पक्षको अध्ययन–विश्लेषण गरिएको छ । यस क्रममा तुल्य तिनवटै कविताले बोकेको भाव वा विषय के हो, त्यो भाव वा विषयलाई कवितामा के–कस्तो वैचारिक आवरण दिएर प्रस्तुत गरिएको छ अनि त्यसले प्रकट गर्ने सन्देश वा मुख्य चेतना के हो भन्ने कुरालाई अलग–अलग विश्लेषण गर्दै समग्र रूपमा तिनवटै कविताका अन्तर्वस्तुको तुलनात्मक विश्लेषण–विवेचन गरी प्राप्त निष्कर्ष प्रस्तुत गरिएको छ ।
२.२.१ पागल कविताको अन्तर्वस्तु
‘पागल’ कविता मुक्त लययुक्त सात फाँकीमा रचना गरिएको छ । जम्मा १६० वटा लामा–छोटा अनियमित पंक्तिहरू रहेको यस कविताको पहिलो फाँकी सबैभन्दा छोटो दुई पंक्तिको मात्र छ भने सबैभन्दा लामो सातौं अर्थात् अन्तिम फाँकी रहेको छ । अन्यमा दोस्रो फाँकीमा २४ पंक्ति, तेस्रोमा ३० पंक्ति, चौथोमा २८ पंक्ति, पाँचौंमा २१ पंक्ति र छैटौं फाँकीमा ९ पंक्ति रहेका छन् । कविताको पहिलो फाँकीमा रहेका “जरुर साथी म पागल” र “यस्तै छ मेरो हाल” यी दुई पंक्तिमध्ये दुवै पंक्ति साथमै एक पटक दोस्रो फाँकीमा मात्र पुनरावृत्त भएका छन् भने दोस्रो पंक्ति भने बाँकी फाँकीमध्ये छैटौंमा बाहेक सबैमा दोहोरिएको छ । यसरी यी दोहोरिएर आएका पंक्ति (६ पंक्ति) लाई कटाउँदा बाँकी १५४ पंक्तिमा यस कविताको रचना भएको देखिन्छ । यसरी ‘पागल’ कविताको बाहिरी स्वरूप अनियमित पंक्ति संख्या भएका सात फाँकी र १५४ पंक्तिमा संरचित देखिन्छ ।
कवितामा एउटा समाख्याता (वक्ता) उपस्थित छ र उसले ‘साथी’ र ‘तिमी’ भनेर एउटा निष्क्रिय श्रोतालाई उपस्थित गरेको छ । वक्ताले त्यही निष्क्रिय श्रोतालाई सम्बोधन गर्दै आफ्ना भनाइहरू एकोहोरो रूपबाट प्रस्तुत गरेको छ । सक्रिय वक्ता र निष्क्रिय श्रोतामाझ भएको एकोहोरो प्रलापका रूपमा आएको हुनाले प्रस्तुत कविता प्रथम पुरुष एकालापीय शैलीमा रचित देखिन्छ ।
कविताभित्र आएको ‘म’ पात्र कवि देवकोटा स्वयम् नै हुन् । कवि देवकोटाले आफूलाई सद्दे हुँदाहुँदै पनि ‘पागल’ भनिएको कुराबाट आक्रोशित हुँदै व्यङ्ग्यात्मक एवम् विद्रोहात्मक ढङ्गबाट कवितामा सो कुरा अस्वीकार गरेका छन् । कविताको पहिलो फाँकीमा साथीलाई सम्बोधन गर्दै आफू पागल भएको स्वीकारेको देखिए पनि बाँकी फाँकीहरूमा आएका अभिव्यक्तिले त्यस कुराको निषेध गर्दै आफू (देवकोटा) पागल नभई उनलाई पागल देख्ने त्यो समाज नै पागल भएको उल्लेख गरिएको छ र उसका मर्यादाविपरीत क्रियाकलापको धज्जी उडाउँदै तिखो व्यङ्ग्य समेत गरिएको छ ।
कवितामा समाजसँग कविको स्वभाव र क्षमताको वैपरीत्यबारे व्याख्या गर्दै आफू सही हुँदा हुँदै पनि समाजले आफ्नो मर्म र भावना बुझ्न नसकेकाले आफू समाजका दृष्टिमा उल्टो देखिएको र यसकै आधारमा आफूलाई समाजले ‘पागल’ को बिल्ला भिराइदिएकोमा कविको तीब्र आक्रोश व्यक्त भएको छ । कविताको दोस्रो र तेस्रो फाँकीमा आफूलाई समाजले पागल देख्नुको कारणबारे व्याख्या गरिएको छ । समाज बाहिरी आँखाबाट जे देख्छ त्यसैलाई अन्तिम र एक मात्र सत्य मान्दछ । उसका दृष्टिकोण एवम् व्यवहार त्यही अनुकूल चल्दछन् । उसको गणित त्यसरी नै चल्दछ । ऊ पाँच इन्द्रियको सीमाभन्दा बाहिरका कुरा जान्दैन । ऊ बुद्धिले मात्र काम गर्छ, भावना भन्ने कुरा उसका लागि कुनै महŒवको हुँदैन । ऊ समाजलाई ठोस रूपमा हेर्दछ । यो सम्पूर्ण प्रक्रिया समाजका दृष्टिमा सुल्टो छ तर कवि देवकोटा भने यसका विपरीत देखिन्छन् । उनी संसारलाई बाहिरी आँखाले होइन भित्री अर्थात् मनका आँखाले हेर्छन् । यो हेराइको भिन्नताले गर्दा कविको गणित पनि समाजको भन्दा भिन्न छ । कवि पाँच मात्र होइन छैटौं अर्थात् मनको इन्द्रियले काम गर्छन् । उनी गिदीले भन्दा बढी मुटुले काम गर्छन् । त्यसैले उनको संसार पनि समाजको जस्तो ठोस नभएर बाफ जस्तै छ । समाजसँगको आफ्नो यही भिन्नतालाई दर्शाउँदै कवि भन्छन् ः
आकाशभन्दा पातला कुरालाई छुन्छु
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन,
जसको आकार संसार जान्दैन, (पागल, २ ः ४–७)
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी ।
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न । (पागल, २ ः १६–१९)
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौंले ।
तिम्रो गिदी छ साथी,
मेरो मुटु । (पागल, ३ ः ५–८)
यसरी कविताका यी दुई फाँकीमा आफूले देखेको र अनुभूत गरेको इन्द्रियातीत सत्यलाई समाजले ग्रहण गर्न नसक्दा उल्टै देवकोटालाई नै पागल ठान्न पुगेको कुरा व्यक्त भएको छ ।
कविताको चौथो फाँकीमा समाजले कवि देवकोटाप्रति गरेको व्यहारको सन्दर्भ छ । छैटौं इन्द्रिय अर्थात् भावनाका वशीभूत कविका क्रियाकलाप देखेर समाजले उनलाई तरङ्गी, भुत लागेको, छटाएको, बहुलाहा भएको, पागल भएको जस्ता आरोप लगाएको र पागल ठानी उपचारार्थ राँची पठाइदिएको भन्दै कविको आत्मामा बुद्धको स्पर्शले उद्दीप्त भएको अवस्था नबुझी पागल भएको ठान्नेहरूलाई कविले ‘मूर्ख’ भनेका छन् ।
पाँचौं र छैटौं पंmाँकीमा समाज र कविको दृष्टिकोण विपरीत भएकाले कवि चन्द्राहत भएको प्रसङ्ग आएको छ । कविका नजरमा नबावको मदिरा खुन हो, रण्डी लास अनि राजा भनेको गरीब हो । ठुलाबडा र महात्माहरू उनका दृष्टिमा गाली र निन्दाका अधिकारी हुन् । महापण्डित भनिएका महामूर्ख हुन् भने चलाख भनिएकाहरू लाटा अनि तपस्वीहरू भगुवा । उनी मञ्च चढेकाहरूलाई काला नटुवा देख्दछन् । बरु उनी नगण्य व्यक्तिहरूलाई प्रशंसायोग्य ठान्छन्, अन्धाहरूलाई दुनियाँका अगुवा अनि विफलहरूलाई सफल । अरूको सुन उनको नजरमा फलाम हो भने अरूको स्वर्ग नरक, अरूको उन्नति उनको अवनति, अरूको धर्म उनको पाप र अरूको प्रगति उनका नजरमा अगति हो । यही दृष्टिकोणको उलटपुलटले गर्दा कवि समाजबाट चन्द्राहत (घोक््रयाइएका) छन् ।
सातौं फाँकीमा कवि सामाजिक अव्यवस्थामाथि ज्वालामुखी भएर खनिएका छन् । जाल–झेल र छल–कपटको दुनियाँ देखेर कवि अत्यन्त आक्रोशित बनेका छन् । समाजभित्र रहेका दुनियाँलाई अमृत भनेर जहर पिलाउनेहरू, साना माछा खाने ठुला माछाहरू, मिर्ग खाने बाघहरू देख्दा उनलाई आफ्ना मकाएका हड्डीमा पनि दधीचिको आत्मा पसेको अनुभूति हुन्छ र यस्ताहरूमाथि चट्याङ भएर पड्कन मन लाग्छ । मानवबाटै मानवता तिरस्कृत भएको देख्दा कविलाई रिसको आगो खनिन्छ र स्वर्गाग्निचोर (प्रमिथस) झैं यी सारा असङ्गतिविरुद्ध भयङ्कर भएर जाइलाग्ने जङ चल्छ । यस्तै समाजव्यवस्थाभित्रका असङ्गतिविरोधी भएकाले नै उनलाई ‘सन्केमगज’ भनेर पन्छाइएको कुरा यस फाँकीमा अभिव्यक्त छ ।
यस प्रकार ‘पागल’ कविता कवि देवकोटालाई पागल भनिएको कुराबाट आक्रोशित बनेर रचिएको देखिन्छ भने कविताको पहिलो फाँकीमा कविले आफू पागल भएको स्वीकार गरे झैं देखिए पनि अन्य फाँकीहरूमा प्रस्तुत अभिव्यक्तिहरूबाट कविले आफू होइन आफूलाई पागल भन्नेहरू चाहिँ पागल भएको कुरालाई पुष्टि गरेका छन् ।
जीवन जगत्लाई कविको अन्तर्दृष्टिले जे जस्तो रूपमा देखेको छ सांसारिक वा बाहिरी आँखाले मात्र जीवनलाई हेर्ने समाजसँग त्यो दिव्य चैतन्य नहुँदा कविले अनुभूत गरेको जीवनसत्यलाई समाजले स्वीकार्न सक्दैन त्यसैले ऊ कविलाई पागल ठान्न पुग्छ । तर जीवनको त्यो आन्तरिक सत्यलाई देख्न नसक्ने समाज वास्तवमा आफैं पागल हो भन्ने कुरा कविताको छैटौं फाँकीसम्मका सन्दर्भले देखाएको छ । यहासम्मको सन्दर्भ जीवनलाई हेर्ने दृष्टिकोणको पार्थक्यको हो भने सातौं फाँकीमा पुग्दा कवि समाजका असङ्गत व्यवहारको बाहिरी परिप्रेक्ष्यतिर फर्कन्छन् र उनका बाहिरी इन्द्रियले अनुभव गरेका सत्यको पर्दाफास गर्दै त्यसका विरुद्ध विद्रोहको आगो ओकल्छन् । छली र ढोंगीहरूले निर्धा निमुखा जनतामाथि मात्र जालझेल र शोषण गरेको होइन कवि स्वयम् पनि समाजका त्यस्ता प्रपञ्चीहरूबाट चन्द्राहत भएको अनुभव गर्दछन् । त्यसैले त्यस्ता झेलीहरूलाई निर्मूल पारेर सोझा सज्जनहरूको दिग्विजयका लागि आफैं ‘स्वर्गाग्निचोर’ ‘तुफानपुत्र’ भएर भयङ्कर आँधीबेहरी सृजना गरिदिने चाहना पनि कवि व्यक्त गर्दछन् ।
यस प्रकार ‘पागल’ कवितामा एकातिर जीवन जगतलाई हेर्ने समाज र आफ्नो दृष्टिकोण फरक हुँदा समाजका नजरमा आफू पागल बन्न पुगेको सन्दर्भ छ भने अर्कातिर समाजका निर्धा निमुखालाई छलेर, ठगेर आफूलाई महान् देखाउन खोज्ने अगुवा वर्गका छल प्रपञ्चका विरुद्धको कडा आक्रोशको अभिव्यक्ति छ ।
२.२.२ हामी बौलाहाहरू कविताको अन्तर्वस्तु
हामी बौलहाहरू कविता गद्य लयमा रचिएको जम्मा ९ फाँकीमा संरचित छ । प्रायः लामा तर अनियत वर्ण एवम् शब्दसंख्या भएका जम्मा १२२ पंक्तिमा रचित यस कविताका पहिलो र तेस्रो फाँकीमा ११÷११, दोस्रोमा ८, चौथोमा ६, पाँचौंमा १२, छैटौंमा १०, सातौमा १७, आठौंमा २९ र नवौं फाँकीमा १८ पंक्ति रहेका छन् ।
‘हामी’ र ‘बौलाहाहरू’ भनेर प्रथम पुरुष र बहुवचनको समाख्याता प्रयोग गरी वण्र्य विषयको समाख्यान गरिएको प्रस्तुत कवितामा सतहमा भद्रगोल जेलमा कोचिएका बौलाहाहरूका प्रलाप प्रस्तुत गरिएका छन् भने ध्वन्यात्मक तहमा ‘बौलाहाहरू’ लाई शाहकालीन पञ्चायती निरङ्कुश शासनको जाँतोमा पिसिएका नेपाली जनताहरूका रूपमा बुझ्न सकिने देखिन्छ । अझ अर्को तहमा पञ्चायती जेलमा कोचिएका राजबन्दीहरूको सन्दर्भलाई समेत बौलाहाहरूको सन्दर्भसँग जोड्न सकिने देखिन्छ । अतः सतहमा यस कविताले जेलमा बन्द बौलाहाहरूको अवस्थालाई र गहन तलमा पञ्चायती शासनको जाँतोमा पिसिएका नेपाली जनता र अझ भित्री तहमा पञ्चायती व्यवस्थाविरोधी राजबन्दीहरूको अवस्थालाई समेत अगाडि सारेको छ ।
कवितामा ‘तपाईं’ र ‘सज्जनहरू’ भनेर बौलाहरूका सन्दर्भमा सज्जन भनिनेहरू र नेपाली जनता र राजबन्दीका सन्दर्भमा पञ्चायती निरङ्कुश शासक र तिनका अरौटे भरौटेहरू रहेका छन् । श्रोता र वक्ता दुवैका लागि बहुवचन प्रयोग गरिएको छ । तपाईं भनेर द्वितीय पुरुषको प्रयोग गरिएकाले कवितामा वक्ता÷समाख्याता र श्रोताको उपस्थिति देखिए पनि श्रोता निष्क्रिय रहेकाले कविता समाख्याताको एकालापकै रूपमा आएको छ । ‘हामी’ (बौलाहाहरू) सम्बोधक वा वक्ताको रूपमा रहेका हुनाले कवितामा एकाधिक समाख्याता रहेको देखिन्छ । अतः प्रस्तुत कविता एकाधिक समाख्याताको सामूहिक अनुभूतिका रूपमा रचिएको देखिन्छ ।
प्रस्तुत कविता ‘तपाईं’ सम्बोधित र ‘हामी’ वक्ताहरूका बिचको द्वन्द्वपूर्ण अवस्थाको प्रस्तुतिका रूपमा रचिएको छ । कविताको पहिलो फाँकीमा सभ्य वा सज्जन भनिने ‘तपाईं’ भनेर सम्बोधितहरूले हामी वक्ता अर्थात् बौलाहा भनिएकाहरूलाई हेय दृष्टिले हेर्ने गरेको प्रसङ्ग छ भने दोस्रोदेखि पाँचौं फाँकीसम्म ‘हामी’ भनिएका वक्ता÷बौलाहाहरूका इच्छा–अभिलाषाहरू, उनीहरूले मुलुकप्रति गरेको लगानी र श्रम, सज्जन भनिनेहरूका झैं उनीहरूका पनि युवा, प्रौढ र बुढ्यौली सबै अवस्था उत्तिकै उपयोगी रहेको भए पनि उनीहरूलाई (वक्ता) भने बौलाहा भनेर जेलभित्र सडाएको, अस्वस्थकर खाना र चिसो सिमेन्टमा सुताएर उनीहरूको उपचार गर्ने नाउँमा मृत्युको कामना गरेको, पढ्ने लेख्ने र आफ्ना अनुभूतिहरूलाई अभिव्यक्त गर्न लेख्ने पढ्ने अवसर नदिएको जस्ता कुरा व्यक्त गरिएको छ ।
छैटौं फाँकीमा सज्जन भनिने ‘तपाईंहरू’ का काला कर्तुतहरूको विवरण छ जस अनुसार उनीहरू कुक्कुर झैं हड्डीका लागि झगडा गर्नेदेखि लिएर ‘हामी’ अर्थात् बौलाहा भनिएकालाई जेलको नरकमा कोचेर उनीहरूका आमा, दिदी–बहिनी र श्रीमतीहरूको अस्मिता लुटेको, लुट र शोषण गरेर महल ठ्ड्याएको प्रसङ्ग छ । सातौं फाँकीमा आफ्ना लुटिएका सम्पूर्ण कुराहरू फर्काइदिन अनि आफ्ना क्रियाशीलतालाई खोसेकोमा र जुवा, रक्सी, रन्डीबाजीतिर आफूहरूलाई लोभ्याएकोमा क्षमा माग्न ती कथित सज्जनहरूलाई आग्रह पनि गरिएको छ । यसका बदलामा सम्बोधितहरूलाई उनीहरूका अपराध क्षमा गरिदिने, अपशब्दद्वारा गाली नगर्ने, आफू आफू मिलेर बस्ने, देशको शान उच्च राख्न जीवन नै पनि उत्सर्ग गर्ने बौलाहा भनिएकाहरूको वाचाबन्धन समेत कवितामा व्यक्त भएको छ । आठौं र नवौं फाँकीमा यदि त्यसो नगर्ने हो र आफूहरूमाथि यसरी नै अन्याय गरिरहने हो भने अब जस्ताको तस्तै जवाफ दिने र दोषीहरूलाई दण्डित गरिछाड्ने अठोट व्यक्त गर्दै आफ्नो खोसिएको स्वतन्त्रता र सम्पूर्ण जायजेथा नफर्काए त्यस्ता अन्यायीहरूलाई चपरीमुनि सुताइछाड्ने अठोट पनि व्यक्त गरिएको छ ।
कवितामा आएको ‘बौलाहा’ लाई शोषित पीडित नेपाली जनताको रूपमा ध्वन्यात्मक सन्दर्भबाट पर्गेल्दा यो नेपाली जनताको पीडा र आवाजका रूपमा पनि अर्थिन्छ । कविताभित्र बौलाहाहरूले जुन परिस्थिति भोगेको देखिन्छ ठिक त्यही भोगाइ निरङ्कुश राजतन्त्रात्मक पञ्चायती शासनबाट शासित नेपाली जनताको पनि भोगाइ हो । कवितामा प्रस्तुत बौलाहाहरूलाई हेर्ने दृष्टिकोण नै तत्कालीन सत्ताधारीहरूले नेपाली जनतालाई हेर्ने दृष्टिकोण पनि हो । बौलाहाहरूमाथि जे–जस्तो अत्याचार र शोषण भएको छ त्यो अत्याचार र शोषण नेपाली जनतामाथि पनि भएको छ । कविताभित्रका बौलाहाहरू र नेपाली जनताले भोगेको समान परिस्थितिका यी केही प्रसङ्गहरू उल्लेख्य देखिन्छन् ः
हामी खेल्न मन गर्छौं नदीका छालहरूसित...
हामी पाहार ताप्न खोज्छौं यो अग्लो ढिस्कोमा
सिंहले निस्फिक्री आङ ताने झैं गरी (भट्ट, २०२६ ः ५४)
तर महोदय हो ! तपाईंहरूले हामीलाई यो पर्खालभित्र हुल्नुभयो
किनभने हामी बौलाहा रे ! र सनकी रे !!...
खोइ, हामीलाई बस्ने र सुत्ने कोठोसम्म दिनुभएको छ तपाईंले ?
हाम्रा पनि मगज छन् चिन्तन गर्न,
चाहिन्छन् किताब, कापी, कलम र कागज हाम्रा अनुभूति उतार्न (भट्ट, २०२६ ः ५५)
यी अभिव्यक्तिमा जनताको स्वतन्त्र र उन्मुक्त जीवनको चाहना छ तर सत्ताधारीहरूद्वारा त्यो स्वतन्त्रताको चाहना कुण्ठित गरिएको छ । नेपाली जनता निरङ्कुश सत्ताको बन्दी बन्न विवश छन्, जनता गाँस र बासका लागि तड्पिरहेका छन् । अभिव्यक्ति स्वतन्त्रताबाट पनि जनतालाई वञ्चित गरिएको स्थिति छ । उद्धृत पंक्तिहरूले बौलाहाहरूका यी अभिव्यक्तिका रूपमा जनताको वास्तविक स्थितिलाई समेत उजागर गर्दछन् । यति मात्र होइन शोषण, दमन, बलात्कार जस्ता अमानवीय व्यवहारबाट आक्रान्त जनताको पीडापूर्ण स्थितिको चित्र तलका पंक्तिहरूमा पनि स्पष्ट उत्रिएको छ ः
महोदय, फर्काउनोस् हाम्रा श्रीमती, दिदी बहिनी र आमाहरू
जस्लाई तपाईंले आफ्ना महलमा थुन्नुभएको छ र
कारभित्र धुरुधुरु ¥वाउनुभएको छ, (भट्ट, २०२६ ः ५६)
यी पंक्तिहरूले तत्कालीन अवस्थामा सत्ताधारीहरूबाट नेपाली चेलीहरूको अस्मिता समेत लुटिने गरेको सन्दर्भलाई उजागर गरेका छन् ।
जनताले मिठो खाएको, राम्रो लाएको र स्वतन्त्र भई हिडडुल गरेको देख्दा असह्य भई सत्ताधारीहरूले जनताको बास नै उठाएको कुराप्रति जनतामा क्रमशः विद्रोह सल्बलाउन थालेको स्थिति तलका पंक्तिहरूबाट बुझ्न सकिन्छ ः
तपाईं हाम्रो गाँस र बासमै हमला गर्नुहुन्छ —
हामीले मीठो खायौं र स्वतन्त्र गीत गाई आफ्ना बिछ्यौनालाई
आराम दियौं भनेर
त हामी त्यसको पनि घनघोर विरोध गर्छौं, भित्तो फोरिदिन्छौं (भट्ट, २०२६ ः ५७)
त्यसैले जनता अब जागिसकेको स्थितिलाई स्पष्ट पार्दै जनताबाट लुटिएका स्वतन्त्रता र जेथा फिर्ता नगरे त्यस्ता दोषीलाई चपरीमुनि सुताइदिने चेतावनी दिएको कुरा पनि तलका पंक्तिहरूबाट प्रकट भएको छ ः
त्यसैले जे सुकै भन्नोस् वा ठान्नोस् तपाईंहरू
हामी आफ्नो स्वतन्त्रताको धुन छोड्दैनौं र भन्दै गर्छौं —
हामीलाई तपाईंले जस्तै मीठो मीठो खान दिनोस्
हामी पनि आफ्ना आमा र बाबुका छोरा ह्वौं
हामीले सन्तानको भोक र तिर्खा चिनेका छौं
हामीलाई युग युगदेखि खोसेको हाम्रो जेथा फर्काइदिनोस्...
खबरदार हामीमाथि फेरि हात छोड्नुहोला !
हामी त्यस्ता हावा खुस्केकाको गिदी ठीक पारिदिन्छौं
सज्जनवृन्द, हामी सित्तै बौलाएका छैनौं – दोषीलाई चपरीमुनि सुताइ छाड्नेछौं । (भट्ट, २०२६ ः ५८)
यसै गरी त्यही जनविरोधी सामन्ती शासनव्यवस्थाको अन्याय, अत्याचारका विरुद्ध क्रान्ति गर्ने क्रान्तिकारी योद्धाहरूको अवस्थाको पनि यथार्थ स्थिति माथिका सन्दर्भहरूले स्पष्ट पार्दछन् । पञ्चायती जेलमा कोचिएका राजबन्दीहरूमाथि प्रहरीबाट गरिने दुव्र्यवहार, उनीहरूलाई दिइने मानसिक र शारीरिक यातना, उनीहरूका परिवार र छोरी–चेलीमाथि पञ्चहरूले गर्ने घृणित व्यवहारको दुरुस्त चित्र माथि वर्णित सन्दर्भहरूले देखाउँछन् ।
कविताभित्र बौलाहाहरूले भोग्नुपरेको हविगतको वर्णनले तत्कालीन अवस्थामा पञ्चायती व्यवस्थाविरोधी राजबन्दीहरूको यथार्थ अवस्थाको झल्को पनि प्रस्तुत गर्दछ । पञ्चायती प्रशासनबाट राजबन्दीका परिवारलाई अनेकौं मानसिक यातना दिने, मण्डलेहरूद्वारा डर, त्रास देखाउने, राजबन्दीका परिवारका महिलाहरूको अस्मितामाथि हमला गर्ने, राजबन्दीहरूलाई जेलभित्र अनेकौं यातना दिने, अस्वस्थकर खाना दिने र चिसो सिमेन्टीमा सुताएर परोक्ष किसिमबाट उनीहरूको मृत्युको कामना गर्ने सन्दर्भहरू कवितामा वर्णित बौलाहाहरूले भोगेको परिस्थितिसँग दुरुस्त छन् । त्यसैले यो कविता पञ्चायती जेलमा यातनामय जीवन बिताइरहेका राजबन्दीहरूको अवस्थाको यथार्थ चित्र पनि हो ।
यस प्रकार ‘हामी बौलाहाहरू’ कविताले पञ्चायती व्यवस्थामा जनताले पाएको दुःख, सत्ताधारीहरूले उनीहरूमाथि गरेको अन्याय, त्यस अन्यायबाट मुक्तिका लागि जनतामा आएको चेतना र विद्रोहको सङ्केत पनि ‘बौलाहाहरू’ को अभिव्यक्तिमार्फत प्रस्तुत गरेको छ भने त्यो अन्यायी व्यवस्था विरुद्धको अभियानका क्रममा बन्दी बनेका क्रान्तियोद्धाहरूको अवस्थालाई समेत यस यस कविताले सङ्केत गरेको छ ।
२.२.३ गोलघरको सन्देश कविताको अन्तर्वस्तु
कवि मोदनाथ प्रश्रितरचित ‘गोलघरको सन्देश’ गद्यलयात्मक मझौला आकारको कवितात्मक रचना हो । आयामका दृष्टिले खण्डकाव्यकै स्तरको यस रचनालाई रचनाकार स्वयम्ले लघुकाव्य भनेका छन् । कुनै सर्ग वा खण्डमा विभाजित नगरी एउटै कविता प्रवाहमा रचिएको प्रस्तुत लघुकाव्यमा कुनै सङ्ख्याङ्कन नगरिएको भए पनि कविताका पंक्तिगुच्छ वा फाँकीहरूलाई भने स्पष्ट रूपमा छुट्याइएको देखिन्छ । ती पंक्तिगुच्छ वा फाँकीहरूको संख्या गणना गर्दा लामा–छोटा गरी ९२ वटा फाँकीमा कविता संरचित भएको देखिन्छ । पंक्तिसंख्या असमान र अनियमित रहेका यस्ता पंक्तिगुच्छहरू दुई पंक्तिदेखि २६ पंक्तिसम्मका रहेका छन् ।
प्रस्तुत लघुकाव्य निरङ्कुश पञ्चायती व्यवस्था र त्यसको मूल आधार तानाशाही राजतन्त्र विरुद्ध कम्युनिस्ट पार्टीले चलाएको आन्दोलनका क्रान्तियोद्धा साथीहरू तथा न्यायप्रेमी र मुक्तिकामी नेपाली जनताका नाममा काठमाडौं केन्द्रीय कारागारको गोलघरभित्र यातनापूर्ण कैदी जीवन बिताउँदै गरेका कवि मोदनाथ प्रश्रितको सन्देशको रूपमा आएको छ ।
झिनो आख्यानसूत्रको प्रयोग भएको यस काव्यमा स्वेच्छाचारी राजतन्त्र र निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनतामा आएको चेतना, त्यसलाई दबाउन र आफ्नो अन्यायी राज यथावत् राख्न सत्ताधारीद्वारा जनविरोधी काला कानुनहरूको तर्जुमा गरी यसका आधारमा व्यवस्थाविरोधीमाथि दमन र धर–पकडको शृङ्खला चलाउनु, त्यही क्रममा कवि प्रश्रित पक्राउ परी जेल परेकोसम्मका घटना काव्यको पृष्ठभूमिका रूपमा आएका छन् । यसरी जनताको मुक्तिका लागि गरिएको आन्दोलनका क्रममा जेल परेका कवि प्रश्रितलाई दिइएको यातना, त्यसपछि केन्द्रीय कारागारको साँगुरो यातनागृह गोलघरमा स्थानान्तरण र त्यहाँ उनले पाएको असह्य र दारूण यातनाका सन्दर्भहरू कवितामा वर्णित छन् । जेलबाहिरका क्रान्तिकारी मित्रहरूको लगनशीलता, जेलभित्रै पनि विभिन्न समयका क्रान्तिकारीहरूले गरेका बलिदानी सङ्घर्ष आदिको उत्प्रेरणाले गर्दा गोलघरको त्यस्तो दारूण यातनाबाट पनि कविको आस्था र विश्वासमा कुनै विचलन नआएको बरु झन् झन् कर्तव्यपथमा डटिरहन नयाँ ऊर्जा थपिएको सन्देशसहित जनताको. मुक्तियुद्धमा होमिएका क्रान्तिकारी मित्रहरूलाई क्रान्तिको बाटोमा अडिग रहिरहन गरिएको आग्रह जस्ता कुराहरू काव्यका मुख्य अन्तर्वस्तु हुन् । काव्यको चौथो फाँकीबाट प्रारम्भ भएको कविमाथिको प्रहरीहरूको यातनाकै वर्णन प्रायः काव्यभरि रहेको छ । बीच बीचमा कठोरतम यातना सहेर पनि आफ्नो बाटोमा अडिग रहन कविलाई मिलेको उत्प्रेरणा, मुलुकका शासकहरूबाट भए गरेका जनविरोधी क्रियाकलाप, मुलुकका धेरै क्रान्तिवीरहरूको वीरताको सम्झना, आमा, भाइबहिनी, श्रीमती र क्रान्तिमा लागेका योद्धा साथीहरूका लागि सन्देश जस्ता कुराहरूको चर्चा पनि यथाप्रसङ्ग काव्यभित्र समेटिएका छन् ।
अनेकौं कठोर यातना सहेर पनि आफूलाई विचारमा दृढ रहिरहन युद्धको मैदानमा रहेका आफ्ना क्रान्तिकारी योद्धा दमालीहरूको सहानुभूति, आफ्नी आमाको ममता, आफ्नो यातनाको खबरले आतङ्कित र रोमाञ्चित भाइ–बहिनीहरूको अवस्था, पत्नीका पीडापूर्ण अनिदा रातहरू आदिले कविलाई उत्प्रेरणा दिएका छन् । जनद्रोही, देशद्रोही, युगद्रोही, हत्यारा, फासिस्टहरूको यन्त्रणागृहमा भए पनि, थुप्रै क्रान्तिकारीहरूको ज्यान लिए झैं आफ्नो पनि कुनै पनि बेला हत्या हुनसक्ने भए पनि मुलुक र जनतालाई मारेर, जालझेल र पाखण्डको राज चलाइरहेका शासकहरूका क्रियाकलापले अझ कविलाई आफ्नो कर्तव्यप्रति दृढ बनाएका छन् ।
गोलघरभित्र कवि प्रश्रित मात्र होइन उनीभन्दा अघि पनि थुप्रै मुक्तियोद्धाहरूले यातनापूर्ण बन्दी जीवन बिताएका थिए, जसमध्येका एक योद्धा खड्गमान सिंहको वीरताको पनि बखान कविले यथाप्रसङ्ग गरेका छन् । अनेक निर्मम यातनासहित बिस वर्षसम्म यस्तै कालकोठरीमा बिताउँदा पनि शिर ननिहुराएका खड्गमान सिंहको दृढता पनि कवि प्रश्रितका लागि प्रेरणाको आलोक बनेको थियो । त्यस्ता दुर्जेय वीर खड्गमान सिंहले पनि खोरबाट बाहिर निस्केपछि आफ्नो ओजस्वी इतिहास थाम्न नसक्नु इतिहासकै विडम्बना भए पनि कवि प्रश्रित अघिल्लो खड्गमानको वीरताबाट सधैं उत्प्रेरित भइरहेका छन् ः
यसरी पछिल्लो खड्गमान पल्टे तापनि हिमालबाट
मेरो सामुन्नेको खोरमा
निर्भीकतासाथ गर्जिरहेछ अघिल्लो खड्गमान
र मेरा रगतका थोपा–थोपामा
दृढता, धैर्य र वीरताको ओज थपिरहेछ । (प्रश्रित, २०५८ ः २०३)
यी पंक्तिहरूले कवि प्रश्रितको यातना सहन गर्ने धैर्य र क्रान्तिका लागि फलाम जस्तै भएर डटिरहने उत्प्रेरणा जगाउन खड्गमान सिंहको ओजपूर्ण, धैर्यपूर्ण र वीरतापूर्ण दृढ चरित्रले पर्याप्त ऊर्जा दिएको स्पष्ट पार्छन् ।
यी र यस्तै यस्तै अनगिन्ती वीरहरूको तपस्या र बलिदानले कैयौं वीर सहिदहरूका उत्सर्गले मुक्तियुद्धका कैयन् सेनानीहरूका कहिल्यै नगल्ने इस्पाती अनुहारले कविलाई आफ्नो अठोटमा दृढ रहन बल दिएको छ । आफूभित्रका दुर्बलताहरू यिनै यिनै उत्प्रेरणाहरूले गर्दा नै हटेर गएको अनुभूति कविलाई भएको छ ः
यी सम्पूर्णका बीच जब म पाउँछु आफूलाई
बर्खे नदीका ढीक जस्तै भत्केर जान्छन्
मेरा सारा दुर्बलताहरू
शिकारीको बन्दुक देखेका मृग झैं बिजुली हुन्छन्
मेरा डर र त्रासहरू,
र म अनुभव गर्छु आफूलाई
खोरभित्रको एक दुर्धर्ष सिंह झैं
जो संजोगको फन्दामा यहाँ आएथ्यो
जो झुकेर खानेछैन कहिल्यै घाँस (प्रश्रित, २०५८ ः २०५)
कवि खोरभित्र थुनिएकै ठाउँबाट बाहिरका अनेकौं दृश्यहरू देखेको अनुभूति पोख्छन् । उनी कहिले उनका युद्धरत साथीहरूलाई जेलभित्रै प्रश्रितलाई मारिदिने हो कि ? भन्ने आशङ्काले झस्काएको कुरा सम्झिन पुग्छन् भने कहिले मध्यराततिर अन्धकार पनि नभनी निशाचर बनेर निशाचरलाई नै मास्न क्रान्तिदूतहरू हिँडेको कल्पना गर्न पुग्छन् । कहिले भूमिगत रूपमा सभा, सङ्गठन गरेको, क्रान्तिका लागि योजनाहरू बनाएको, आन्दोलनकारी मुठीहरू उठाएर हुङ्कार गरेको देखिरहेका छन् भने कहिले जुगौंदेखिका भोका–नाङ्गा र हेपिएकाहरूमा पनि जोश र मनोबल बढेको, घिउकिम्लीहरूमा पनि हात्ती ढलाउने एकता र हली गोठालाहरूमा पनि मालिक ताक्ने हिम्मत पलाएको देख्दछन् । बाल, वृद्ध, युवा सबैमा युद्ध गर्ने जोस उम्रेको, सबै क्षेत्रबाट आ–आफ्ना औजार लिएर ‘इन्कलाब जिन्दावाद’ को समवेत स्वर गुञ्जाएको, पाठशालाहरूमा पनि भेदभावरहित समाज निर्माणको शिक्षा दिइएको, साम्प्रदायिक जालो च्यातिएको, सबै एउटै लक्ष्यमा लागेको देखेर कवि अत्यन्त उल्लसित बनेर यसो भन्न पुग्छन् ः
आर्य र मंगोलको भेद, धर्मधर्मको भेद
सबका सब बिर्सेर
अत्याचारी शासन ढाली नयाँ समाज जन्माउने
एउटै लक्ष्यमा, साझा ध्येयमा,
सिङ्गै देश जुर्मुराउँदै उठेको चहकिलो दृश्य सम्झेर
यहाँ मेरो उल्लास जुर्मुराएको छ पखेटा फर्फराउँदै.. (प्रश्रित, २०५८ ः २१४)
यसरी आफू बन्दी भए पनि जनतामा नयाँ ऊर्जा थपिएको, युवा शक्तिका हातमा देश आएको, किसान, मजदुर, शिक्षक, कर्मचारी, लेखक, कलाकार, बुद्धिजीवी सबै वर्ग आ–आफ्ना ठाउँबाट उठेको, नक्कली क्रान्तिकारी जुठा टपरी र पञ्चायती तानाशाहीका पैताला चाट्न पुगे पनि साँचा क्रान्तिकारीहरूको एकता झन् बलियो भएको अनुभव कवि जेलभित्रैबाट गरिरहेका छन् । त्यसैले चारैतिर विजयको सङ्केत यसरी देखिँदै छ ः
यसरी जता हे¥यो उतै देखिन्छ, आज जागृतिको मिर्मिरे
जता छाम्यो उतै भेटिन्छ, आज उम्लेको तातो रगत्
जता फक्र्यो उतै सुनिन्छ, आज संघर्षको नयाँ विगुल
जता सुँघ्यो उतै पाइन्छ, भावी विजयको सुगन्धी संकेत । (प्रश्रित, २०५८ ः २१८)
त्यसैले कविको उत्साह यसरी झन् जागेको छ ः
चारैतिरका यी विद्युत्मय सन्देशहरूको बीच
म कसरी सेनाउन सक्छु साथी हो !
म त उल्टै यस ऐतिहासिक घडीमा
दुश्मनहरूका टाउकामा फुट्नैलागेको
एटम बम जस्तै रन्किसकेको छु । (प्रश्रित, २०५८ ः २१८)
कवि अँध्यारो खोरबाट महलको झोपडीमाथिको अत्याचार र शोषण सम्झेर क्रोधले रौद्र बन्दै आफूभित्र विद्रोहको प्रलयङ्कर ज्वालामुखी फुट्न लागेको अनुभूति गर्दछन् । त्यसैले कविलाई देशका यिनै दुःख र पीरले दुःखी भएको अनुभूति छ । लाखौं लाख जनताले भोगेको दुःखका सामु कवि आफूलाई यस्तो यातनाका बिच पनि सुखी रहेको अनुभव गर्दछन् र आफ्ना विचार, सपना र भावनाहरू अनि सङ्कल्प, विश्वास र कामनाहरू जनताको संघर्षमै गाँसिएको सन्देश पनि प्रस्तुत गर्दछन् । त्यसैले कवि खोरभित्र पनि स्वतन्त्रताको अनुभूति गरिरहेका छन् । उनी आफ्नो जीवन मुलुकको स्वतन्त्रता, जनताको खुसी र समृद्धिकै लागि समर्पित ठान्दछन् । त्यसैले जतिसुकै यन्त्रणा दिए पनि तानाशाहहरूले आफ्नो तपस्या भङ्ग गर्न सक्ने छैनन् भन्ने अठोट व्यक्त गर्दै मुक्तिको प्रतिज्ञा एवम् स्वतन्त्रताको आकांक्षा लिएर अघि बढेको हुनाले आफूलाई कुनै जेल र पर्खालले थुन्न नसक्ने र आफ्नो सगरमाथा कसैले झुकाउन नसक्ने उद्घोष गर्दछन् । उनले थालेको श्रमिक मुक्तिको अभियान कहिल्यै रोकिने छैन भन्दै कवि भन्छन् ः
अजेय छ हाम्रो श्रमिक–मुक्तिको महायात्रा !
अमर छ हाम्रो मानव–मुक्तिको अभियान ! (प्रश्रित, २०५८ ः २२०)
यस प्रकार ‘गोलघरको सन्देश’ कविता जनता र मुलुकको मुक्तिको अभियानमा लाग्ने क्रममा मुलुकको तानाशाही सत्ताद्वारा षड्यन्त्रपूर्वक पक्राउ गरी क्रूरतम यातनासहित केन्द्रीय कारागारको यातनागृह ‘गोलघर’ भित्र बन्दी बनाइएका कविको तर्फबाट आ–आफ्ना कार्यक्षेत्रमा क्रियाशील रहेका मुक्तियोद्धा साथीहरूलाई सन्देश हो । यहाँ काव्यनायक कविले उक्त सन्देशका क्रममा जतिसुकै यातना सहनु परे पनि आफू अविचलित भई आफ्नो कर्तव्यपथमा अडिग रहने अठोट व्यक्त गर्नुका साथै सहयोद्धा क्रान्तिकारी साथीहरूलाई पनि मुलुकको मुक्ति संग्राममा दृढतापूर्वक लागिरहन पनि उत्प्रेरित गरेका छन् ।
२.२.४ कविताका अन्तर्वस्तुको विश्लेषण ः तुलना र निष्कर्ष
तुल्य तिनवटै कविताको प्रमुख समानता भनेको विद्रोह वा विरोधको स्वर नै हो । तिनवटै कविताले सत्ता वा संस्थापन पक्ष÷ सत्ता पक्षसँगको समाख्याता वा वक्ताको विरोध र असन्तोषलाई जाहेर गरेका छन् । ‘पागल’ मा समाख्याता÷वक्ता÷काव्यनायकलाई पागल ठान्ने समाज र निर्धालाई ठगेर, निमुखा सोझा र इमान्दारलाई शोषण गरेर झुक्यानमा पारेर आफू एकछत्र मोज गर्ने शासक र बाठाटाठाहरूप्रतिको काव्यनायक÷समाख्याताको विरोध देखिन्छ भने ‘हामी बौलाहाहरू’ मा पनि सतहमा बौलाहाहरूमाथि, ध्वन्यात्मक तहमा शोषित पीडित नेपाली जनतामाथि र अझ अर्को तहमा राजबन्दीहरूमाथि पञ्चायती शासन व्यवस्था र यसका सञ्चालकहरूले गरेको जाल–झेल, अन्याय, शोषण, दमन, थिचोमिचो आदिको विरोध गर्दै सम्बद्ध पक्षलाई यसो नगर्न समाख्याताको चेतावनी छ । ‘गोलघरको सन्देश’ मा यी दुईभन्दा पनि अघि बढेर निरङ्कुश एवम् फासिस्ट पञ्चायती व्यवस्था र त्यस व्यवस्थाको मूल आधार तानाशाही राजतन्त्रका विरुद्धको प्रत्यक्ष क्रान्तिलाई नै प्रस्तुत गरिएको छ ।
‘पागल’ कवितामा कवि देवकोटालाई पागल भनी आरोप लगाउने समाजप्रति कविको व्यक्तिगत आक्रोश छ भने यही आक्रोशको अभिव्यक्तिका क्रममा कविले समाजमा भएका ‘सिंहले मृग खाने’ वा ‘ठुला माछाले सानो माछा खाने’ जस्ता होची–अर्घेलीबारे समेत चर्चा गर्दै आफू आक्रोशित हुनु र पागल झैं देखिनुको कारण यही सामाजिक अन्यायलाई देखाएका छन् । यहाँ वैयक्तिक तहमा, आफ्नै भावनाको परिवृत्तमा कविको आक्रोश रुमल्लिएको छ । सत्ताधारीहरूको पीपलपाते अभिव्यक्ति “रण्डीको नाच” बनेको छ । समाजमा जनअधिकारको “डँडाल्नोको भाँच” भएको छ । सोझा र निमुखा जनतामाथिको जालझेल र शोषणबाट कविको मन मर्माहत भएको छ । यिनै विसङ्गतिबाट मर्माहत बनेको कविको जुर्मुर केवल दधीचिको हड्डीको जादूगरी शक्तिको आमन्त्रण र त्यसबाट उपर्युक्त सारा बिब्ल्याँटाहरू सखाप पार्ने परिकल्पनामै सीमित देखिन्छ । कविको त्यो दधीचि अस्त्र पनि कल्पनामै सीमाबद्ध हुनाले कविको चेतनाको जुर्मुर कविकै अन्तरात्माको मुर्मुरमा मात्र सीमित बनको छ । यसबाट समाजको त्यो जाली–झेली र अन्यायी समुदायको रौं मात्र पनि हल्लिएको छैन बरु सद्दे कविलाई उनीहरूले नै ‘पागल’ भन्ने बिल्ला भिराइदिएका छन् । यसरी ‘पागल’ कविताले विद्रोहको आगो नै ओकले पनि त्यो कविको अन्तरात्माको जुर्मुर र मुर्मुरमै मात्र सीमित बन्न पुगेको छ । ‘पागल’ कविताको ‘म’ मा मात्र सीमित वैयक्तिकता ‘हामी बौलाहाहरू’ मा आइपुग्दा ‘हामी’ बनेर सामूहिक अभिव्यक्ति बन्न पुगेको छ । यहाँ जेलमा कोचिएका बौलाहाहरूको सन्दर्भ होस् अथवा पञ्चायती निरङ्कुश शासनमा जकडिएका नेपाली जनता हुन् वा कैदी राजबन्दीहरूकै सन्दर्भ होस् कविताका तिनवटै अर्थसापेक्षबाट त्यो विरोधको स्वर कवि व्यक्तिमा मात्र सीमित नरही सिङ्गो वर्गकै समवेत आवाज बन्न पुगेको छ । त्यो आवाज ‘पागल’ मा झैं व्यक्ति कविको अन्तरात्माको जुर्मुर र मुर्मुरमा मात्र सीमित नरही सम्पूर्ण विस्थापित पक्षको संस्थापित पक्षलाई एउटा खरो चेतावनीका रूपमा आएको छ । यहाँका कवि ‘पागल’ का देवकोटा झैं आफूभित्र मात्र मुर्मुरिँदैनन् बरु अन्यायी, अत्याचारी, जाली–झेलीहरूलाई सुध्रन सल्लाह दिँदै संयमित भाषा र नम्र शैली तर कडा शब्दमा खरो चेतावनी पनि दिन पुग्छन् । आफूहरूमाथि फेरि हात नछोड्न खबरदारी गर्दै नटेरेमा “दोषीलाई चपरीमुनि सुताई छाड्ने” चेतावनी दिने ‘हामी बौलाहाहरू’ को वक्ताका तुलनामा ‘पागल’ को वक्ता त्यस्ता दोषीहरूप्रति बढी नै आक्रोशित तर निर्धो देखिन्छ । ‘हामी बौलाहाहरू’ को कवि दोषीहरूलाई नम्र र सम्मानपूर्ण तर कडा शब्दमा आफ्ना गल्ती कमजोरी सुधारेर न्यायपूर्ण बाटोमा लाग्न खबरदारी गर्छ र त्यसो नगरे दण्ड समेत दिने हिम्मत देखाउँछ तर ‘पागल’ को कवि दोषीहरूका दोषहरूप्रति आक्रोश मात्र पोख्छ दोषीलाई दण्ड दिने क्षमता राख्दैन केवल भावनात्मक रूपमा त्यस्ता सामाजिक दोषहरूले नै आफूलाई पागल (विद्रोही) बनाउने गरेको स्पष्टीकरण मात्र दिन्छ । कविताको समग्र अन्तर्वस्तुबाट सुधारको अपेक्षा झल्के पनि प्रत्यक्ष रूपमा कवि त्यो दोषी पक्षलाई कुनै चुनौती वा खबरदारी प्रस्तुत गर्न सक्दैन ।
‘गोलघरको सन्देश’ को वक्ता÷समाख्याता यी दुईभन्दा अझ अगाडि छ । उ त स्वयम् क्रान्तियोद्धा हो । जनविरोधी राज्यव्यवस्थाका विरुद्धको क्रान्तिको सन्दर्भ नै प्रस्तुत कविताको मूल अन्तर्वस्तु हो । त्यसैले ‘पागल’ वा ‘हामी बौलाहाहरू’ मा आएको सामाजिक दोषप्रतिको विरोध, विद्रोही चेत वा खबरदारी वा चेतावनी मात्र नभई मुक्ति संग्राममा लागेको एउटा क्रान्तिकारी योद्धा कविको अन्यायी, आततायी सत्ताविरुद्धको ललकार वा हुङ्कार नै ‘गोलघरको सन्देश’ बनेर आएको छ । मुक्ति संग्राममा संलग्न रहँदा रहँदै पक्राउ परेर अनेकौं असह्य यातनाहरूका बिच ‘गोलघर’ मा बन्दी बनेका कविको विचार, दृढ इच्छाशक्ति, सत्ताधारीका सामु दुर्जेय छन् कसैले उनलाई गलाउन र ढलाउन सक्ने छैन ः
“काटे शरीर ढल्छ तर विश्वास ढल्दैन मेरो ।
मारे हाड–खोर गल्छ तर विचार गल्दैन मेरो ।” (प्रश्रित, २०५८ ः )
त्यसैले ‘गोलघरको सन्देश’ का कवि ‘पागल’ का कवि झैं चेतनाको तहमा मात्र विद्रोही छैनन् र ‘हामी बौलाहाहरू’ का कवि झैं खबरदारी र धम्की÷चेतावनीसम्म मात्रमा पनि सीमित छैनन्, बरु उनी त जीवन नै क्रान्तिका लागि समर्पित गरेर जनताको मुक्तियुद्धमा समाहित भएका छन् । उनी त सशस्त्र क्रान्तिका लागि हतियार उठाएर रणमैदानमा उत्रेका क्रान्तिकारी दस्ताका एक सदस्य हुन् । सशस्त्र युद्धको सङ्केत गर्ने यी पंक्तिहरू यसका नमुना हुन् ः
तपाईंहरूका कम्मरका पिस्तोलका चीसा टुप्पाले
मलाई यति टाढा पनि सहजै छोइरहेका छन् ।
...तिनका पटुकीमा घुसारेका
खुकुरी र खुर्पाका इस्पाती धारहरू
म छक्छक्ती देखिरहेछु र बूढी औंलाले छामिरहेछु । (प्रश्रित, २०५८ ः २०९)
कविताका यी पंक्तिहरूमा कम्मरमा पिस्तोल, पटुकीमा घुसारिएका खुकुरी र खुर्पा जस्ता हतियार बोकेका प्रसङ्गहरूले कवि हतियारबन्द आन्दोलनका एक सक्रिय सदस्य हुन् भन्ने कुरा स्पष्ट पार्दछन् ।
यसरी सशस्त्र क्रान्तिकै एक सदस्य भएकाले ‘गोलघरको सन्देश’ कविताका कवि केवल शब्दमा मात्र नभई शस्त्रबन्द विद्रोहमै उत्रिएका छन् । जनताको मुक्तिका लागि जीवन नै उत्सर्ग गर्ने प्रण बोकेका कविको आस्था र विश्वास गोलघरभित्रका असह्य र दारूण यातनाका बिच पनि उत्तिकै अपराजेय बनेको देखिन्छ । आफ्नो दृढ अठोटका सामु गोलघरको यातना त के मृत्यु नै वरण गर्नुपरे पनि हाँसी हाँसी मर्न कवि तयार देखिन्छन् । कविको यो अभिव्यक्तिले उक्त कुराको पुष्टि हुन्छ ः
र म अनुभव गर्छु आफूलाई
खोरभित्रको एक दुर्धर्ष सिंह झैं
जो संजोगको फन्दामा यहाँ आएथ्यो
जो झुकेर खानेछैन कहिल्यै घाँस (प्रश्रित, २०५८ ः २०५)
जनताको मुक्तिको पीपासा शान्त गर्ने महाअभियानमा कविलाई कहिल्यै एक्लो भएको अनुभूति छैन, हजारौं मुठीहरू उनका समर्थनमा उठेका छन् । ‘पाँच’ र ‘पन्चान्नब्बे’ को यो युद्धमा पाँचको पञ्चायत अवश्य ढल्ने कुरामा कवि विश्वस्त रहेका छन् ।
यसरी यी तीन कविताको अन्तर्वस्तुको तुलना गर्दा ‘पागल’ कवितामा कवि देवकोटाको विद्रोह चेत वैयक्तिक रूपमा कविका अन्तर्मनको हुँडलो र सामाजिक अन्यायका विरुद्धको आक्रोशका रूपमा आएको देखिन्छ । त्यो विद्रोही चेत ‘हामी बौलाहाहरू’ मा आइपुग्दा ‘म’ बाट ‘हामी’ बन्दै वैयक्तिकताको घेराबाट फुत्कँदै सामूहिक चेतका रूपमा अझ स्तरोन्नत भएर आएको देखिन्छ भने त्यो विद्रोही चेतना कार्यात्मक अभिव्यञ्जनाका रूपमा ‘गोलघरको सन्देश’ मा मुखरित हुन पुगेको छ । कविको दुर्जेय हुङ्कारसँगै युगौंदेखिको सामन्ती राजको अन्त–अन्त हुन लागेको स्थितिसम्मको विद्रोहयात्रा नै यसको मूल अन्तर्वस्तुसन्दर्भ बनेको छ । अर्थात् देवकोटाको विद्रोह चेत ‘म’ र ‘तिमी’ को वैयक्तिक द्वन्द्वमा साँघुरिएको छ भने भट्टको विद्रोह चेत ‘म’ बाट ‘हामी’ र ‘तिमी’ बाट ‘तपाईंहरू’ को सामूहिकचेतना÷वर्गचेतनाका रूपमा मुखरित भएको देखिन्छ । ‘गोलघरको सन्देश’ का कविको क्रान्तिचेतना गोलघरभित्रको साँगुरो परिवृत्तभित्रको ‘म’ को वैयक्तिक पीडाका रूपमा आएको भए पनि त्यो चेतनाको सीमित दायरा ‘म’ बाट ‘तपाईंहरू’ (क्रान्तियोद्धा साथीहरू र निजी पारिवारिक परिवेशसमेत) र ‘उनीहरू’ पीडक शासकहरूसम्मको फराकिलो दायरासम्म फैलिएको देखिन्छ । त्यसैले ‘गोलघरको सन्देश’ को काव्यनायक कवि सबैका लागि आप्त उपदेष्टाका रूपमा प्रस्तुत हुँदै समग्र क्रान्तिचैतन्यको प्रतिनिधि समेत बन्न पुगेको छ । यसरी देवकोटाको ‘पागल’ वैयक्तिकचैतन्य हो भने ‘हामी बौलाहाहरू’ का बौलाहाहरू वर्गचेतना अनि ‘गोलघरको सन्देश’ को चेतना समग्र क्रान्ति चेतना हो ।
यसरी ‘पागल’ बाट ‘हामी बौलाहाहरू’ अनि ‘हामी बौलाहाहरू’ बाट ‘गोलघरको सन्देश’ सम्म आउँदा एउटै मूल अन्तर्वस्तुको क्रमिक विकास चक्र पुरा भएको देखिन्छ । त्यो मूल अन्तर्वस्तु भनेको विद्रोह चेत नै हो जसको बीजाधान ‘पागल’ मा भएको देखिन्छ भने त्यसको स्पष्ट स्वरूप ‘हामी बौलाहाहरू’ मा देखिन्छ । ‘पागल’ बाट ‘हामी बौलाहाहरू’ हुँदै अघि बढेको त्यो विद्रोह चेतले ‘गोलघरको सन्देश’ मा आइपुग्दा कार्य रूप प्राप्त गरेको देखिन्छ । त्यसैले देवकोटाको ‘पागल’ बाट प्रारम्भ भएको विद्रोहात्मक अभिव्यक्तिकै समुन्नत रूप ‘हामी बौलाहाहरू’ र त्यसको प्रयोगात्मक कार्यरूप ‘गोलघरको सन्देश’ हो भने यी तिनवटै कविता एउटै अन्तर्वस्तुका तिन चरणबद्ध कडी हुन्, तिनको पार्थक्य भनेको स्वरूप र मात्राको मात्र हो । ‘पागल’ विद्रोहको प्राथमिक स्वरूप हो, चेतनाको जुर्मुर र मुर्मुर हो । ‘हामी बौलाहाहरू’ मा त्यो जुर्मुर र मुर्मुर अनि बढी स्पष्ट रूपमा खबरदारी र चेतावनीको तहसम्म अघि बढेको छ भने ‘गोलघरको सन्देश’ त्यसको कार्यान्वयनकै तहमा उक्लेको र ‘हामी बौलाहाहरू’ ले प्रस्तुत गरेको चेतनालाई निर्णायक तहमा पु¥याउन लागेको स्थितिको अभिव्यक्तिका रूपमा आएको छ ।
प्रस्तुतिको अर्थस्तरलाई हेर्दा ‘पागल’ कवितामा कविताको शीर्षक र शीर्षपंक्तिले कवि आफू पागल भएको सकारे पनि कविताको मूल अन्तर्वस्तुले त्यसको निषेध गरेको छ । यसरी अपागल व्यक्तिलाई पागल भनिएको हुनाले यसको अर्थस्तर लाक्षणिक रहेको छ । ‘हामी बौलाहाहरू’ कवितामा सतहमा बौलाहाहरूलाई प्रस्तुत गरेर त्यसका माध्यमबाट नेपाली जनता र अर्को तहमा नेपालका राजबन्दीसमेतको स्थितिलाई व्यञ्जित गरेबाट यसको अर्थस्तर व्यञ्जनात्मक÷ध्वन्यात्मक रहेको देखिन्छ । ‘गोलघरको सन्देश’ मा भने नेपाली क्रान्तिको सन्दर्भलाई यथातथ्य रूपमा प्रस्तुत गरिएकाले यसको अर्थस्तर अभिधात्मक÷यथार्थपरक देखिन्छ । यद्यपि तिनवटै कवितामा तिनवटै तहको अर्थस्तरको उपस्थिति भने नभएको होइन तापनि मात्राको प्रधानताले ‘पागल’ लाक्षणिकताप्रधान, ‘हामी बौलाहाहरू’ व्यञ्जनात्मकता÷ध्वन्यात्मकता प्रधान र ‘गोलघरको सन्देश’ प्रधानतः अभिधात्मक रहेका छन् ।

तेस्रो अध्याय तिन
प्रगतिवादी वैचारिकताका आधारमा कविताका अन्तर्वस्तुको तुलना
३.१ प्रगतिवादी वैचारिकता ः सैद्धान्तिक परिप्रेक्ष्य
माक्र्सद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै प्रगतिवादी वैचारिकताको आधारभूमि हो । प्रगतिवादी वैचारिकताको प्रणयन माक्र्सवादपूर्वका धेरै चिन्तकहरूका विचारको संश्लेषणद्वारा भएको पाइन्छ । भौतिकवादी÷यथार्थवादी चिन्तनको जगमा उभिएको माक्र्सवादी दर्शनको पहिलो कडी हिगेलको द्वन्द्ववाद हो । हिगेलले कुनै पनि वस्तुको विकास द्वन्द्ववादी प्रक्रियाबाटै हुन्छ भनेर द्वन्द्वात्मक पद्धतिलाई जीवन–जगतको विकासको अनिवार्य आधार माने पनि निरपेक्ष सत्यलाई जगत् सृष्टिको मूल कारण मानेकाले उनको द्वन्द्ववादी चिन्तन आदर्शवादको घेराबाट बाहिर निस्कन नसकेको देखिन्छ । अर्का चिन्तक फायरबाख दृश्यमान जगत्लाई नै एक मात्र सत्य मान्ने भौतिकवादी चिन्तक हुन् तर उनले पनि जीवन जगतको विकासबारेको द्वन्द्ववादी प्रक्रियालाई नपक्री धार्मिक–नैतिक दृष्टिकोणकै पछि लागे । यसरी फायरबाखले भौतिकवादलाई स्वीकारे पनि उनको चिन्तनको पनि मूल आधार भनेको धार्मिक–नैतिक दृष्टिकोण नै थियो । अर्कातिर चाल्र्स हाल जस्ता समाज चिन्तकले पनि समाज विकाससम्बन्धी अवधारणालाई अघि बढाएको पाइन्छ भने माक्र्सले आफूपूर्वका यिनै तिन चिन्तकका चिन्तनको संश्लेषण र एकीकरण गर्दै र तिनका परिहार्य दृष्टिकोणलाई मिल्काउँदै माक्र्सवादको स्थापना गरे र उनका मित्र एङ्गेल्सले आफ्ना महŒवपूर्ण पत्रहरूका माध्यमबाट त्यसको व्याख्या विश्लेषणको क्रम अघि बढाए (त्रिपाठी, २०५८ ः १५०) ।
अर्कातिर साहित्यिक चिन्तन र प्रयोगको सन्दर्भ पनि छ । मूलतः हिगेलियन दर्शनका अनुयायी बेलिन्स्कीले साहित्यमा समाजवादी दर्शनलाई आत्मसात् गरेको देखिन्छ भने बेलिन्स्कीपूर्व बाल्जाकका रचनाहरूमा पनि द्वन्द्वात्मक पद्धतिको प्रयोग हुने गरेको देखिन्छ । बेलिन्स्कीपछि हर्जन, चेर्निसेब्स्की, दोब्रोल्युबोब आदि चिन्तक तथा स्रष्टाहरूले माक्र्स एङ्गेल्स आउनुपूर्व नै साहित्यका क्षेत्रमा एउटा दरिलो समाजवादी आधारस्तम्भ खडा गरेको देखिन्छ (अधिकारी, २०६५ ः ३०) । यसरी विभिन्न व्यक्तिहरूका समाजवादी दृष्टिकोण, चिन्तन र प्रयोगको शृङ्खला र हिगेल, फायरबाख तथा चाल्र्स हालका दृष्टिकोणको समष्टिमा नै माक्र्सवादले आफ्नो आधारभित्ती प्राप्त गरेको देखिन्छ ।
उपर्युक्त विश्लेषणबाट माक्र्सले हिगेलको द्वन्द्ववादी दृष्टिकोण, फायरबाखको भौतिकवादी दृष्टिकोण र मानव समाजको विकासमा वर्गद्वन्द्वको भूमिका हुन्छ भन्ने हालको दृष्टिकोण लिएर माक्र्सवादको प्रणयन गरेको देखिन्छ ।
माक्र्सले प्रतिपादन गरेको भौतिकवादले वस्तुलाई प्रथम सत्य र विचारलाई त्यसको प्रतिरूप मान्दछ । त्यसैले माक्र्सवादले चेतना भन्ने कुरा कुनै परम् वा दैवी तŒवबाट होइन वस्तुको गुण र स्वभावबाट जन्मन्छ भन्ने विचार राख्दछ ।
द्वन्द्वात्मक भौतिकवादले भौतिक पदार्थमा हुने विपरीत गुणका बिचको द्वन्द्वबाट पदार्थमा परिवर्तन आइरहन्छ भन्ने मान्यता राख्दछ । वस्तुका बिचको यो द्वन्द्व कुनै एउटा बिन्दुमा पुगेर अन्त भई त्यस वस्तुले कुनै नयाँ गुणात्मक वा परिमाणात्मक स्वरूप प्राप्त गर्दछ । पुनः त्यो नयाँ स्वरूपभित्र रहने विपरीत गुण वा धर्मका कारण वस्तुमा पुनः नयाँ द्वन्द्व सृजना हुन्छ र वस्तुले अर्को स्वरूप प्राप्त गर्दछ । यो प्रक्रियालाई क्रिया–प्रतिक्रिया–संश्लेषण वा वाद–प्रतिवाद–संवाद (थेसिस–एन्टिथेसिस–सिन्थेसिस) को प्रक्रिया भनिन्छ । माक्र्सवादले भौतिक जगतको विकासको मुख्य आधार नै वस्तुको यही गतिशीलतालाई मान्दछ । यो नै द्वन्द्वात्मक भौतिकवाद हो । यही प्रक्रियाबाट समाजको पनि विकास हुन्छ । यसै मान्यता अनुरूप समाजको विकासको अध्ययन गर्ने माक्र्सेली पद्धतिलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । स्टालिनका अनुसार द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरू समाजिक जीवनका अध्ययनमा पनि विस्तारित हुँदा सामाजिक जीवनका घटनाहरू – समाज र समाजको इतिहासको अध्ययन गर्नका निम्ति पनि प्रयोग हुन्छन् र यसरी विस्तार र प्रयोग भएको द्वन्द्ववाद नै ऐतिहासिक भौतिकवाद हो (अधिकारी, २०५६ ः ३ मा उद्धृत) । ऐतिहासिक भौतिकवादले समाजको विकासक्रमको अध्ययन गर्दछ । यस अन्तर्गत समाजको अर्थव्यवस्था, उत्पादन सम्बन्ध, सामाजिक भेदभाव र त्यसबाट वर्गको उदय, वर्गद्वन्द्व जस्ता कुराहरू पर्दछन् । समाजको रूपान्तरणमा वर्गद्वन्द्वको महŒवपूर्ण भूमिका हुने कुरा स्वीकार्दै ऐतिहासिक भौतिकवादले समाजको विकास क्रमलाई आदिम साम्यवाद, दास युग, सामन्त युग आदिमा समाज रूपान्तरित हुँदै आएको ऐतिहासिक तथ्यलाई अघि सार्दछ ।
यसरी द्वन्द्वात्मक भौतिकवाद र त्यसैको सिद्धान्तका आधारमा समाज विकासको अध्ययन गर्ने ऐतिहासिक भौतिकवादको समन्वित रूप नै माक्र्सवाद हो । यसै माक्र्सवादी दर्शनप्रभावित वैचारिकता नै प्रगतिवाद हो । त्यसैले प्रगतिवादले साहित्यमा माक्र्सवादी वैचारिकताको अपेक्षा गर्दछ । “प्रगतिवादी साहित्यले राजनीतिक, आर्थिक र सांस्कृतिक वर्गद्वन्द्वका रूपमा कृतिमा अन्तर्निहित सामाजिक यथार्थतालाई ग्रहण गर्दछ” भन्ने एङ्गेल्सको भनाइ र “प्रगतिवादी लेखकहरूले सर्वहारा वर्ग र व्यापक जनसमुदायलाई महŒव दिनुपर्छ” भन्ने ऐनान गोष्ठीमा माओको अभिव्यक्ति (अधिकारी, २०६५ ः ३६ मा उद्धृत) ले प्रगतिवादी साहित्यको स्वरूपबारे स्पष्ट पार्दछन् जसअनुसार प्रगतिवादी साहित्य समाजका बहुसंख्यक श्रमशील जनताको शोषण, उत्पीडनबाट मुक्तिका लागि र समाजका राजनीतिक, आर्थिक र सांस्कृतिक आमूल परिवर्तनका लागि हुने देखिन्छ ।
समष्टिमा वर्गद्वन्द्व र क्रान्तिचेत, सबै खाले शोषण, अन्याय, जालझेल, अत्याचार आदिको तीव्र विरोध र विद्रोहको अभिव्यक्ति, सम्पन्न, सबल वा संस्थापित वर्गप्रति घृणा र विपन्न, दुर्बल वा विस्थापित वर्गप्रति सहानुभूति, अन्ध परम्परा, रूढिवाद, आदर्शवाद आदिको विरोध, शोषणमूलक सामाजिक व्यवस्थाको विरोध र समाजवादी एवम् न्यायपूर्ण नवसमाजको स्थापनाको आकांक्षा, यथार्थपरक अभिव्यक्ति, अतिभावुकताको बहिष्कार, सरल र सुबोध्य भाषाको आग्रह आदि प्रगतिवादी साहित्यमा परिलक्ष्यित हुने विशेषता हुन् । यिनै विशेषतासँग मिल्दा जुल्दा पक्षहरूका आधारमा यहाँ प्रस्तुत तिनवटा कविताकृतिको तुलनाद्वारा तिनको प्रगतिवादी वैचारिकताको निरूपण गरिन्छ ।
३.२ पागल कविताको प्रगतिवादीे वैचारिकता
‘पागल’ कवितालाई कवि देवकोटाको उत्कृष्ट प्रगतिवादी कविताका रूपमा लिने गरिन्छ । ‘पागल’ कसरी प्रगतिवादी कविता हो वा होइन र प्रगतिवादी कवितामा हुनुपर्ने के–कस्ता वैशिष्ट्यहरूको के–कस्तो उपस्थितिका आधारमा यस कवितालाई प्रगतिवादी कविताको दर्जा दिइएको रहेछ भन्ने कुराको लेखाजोखा गरिनु आवश्यक छ ।
यस दृष्टिबाट ‘पागल’ कवितालाई हेर्दा यस कवितामा भावनाको प्रबल ज्वारसँगै सामाजिक चेत पनि सशक्त रहेको देखिन्छ । कविताका सात फाँकी वा पंक्तिगुच्छमध्ये छवटा फाँकीसम्म कविको आक्रोश भावको तुफानी ज्वारभाटा भएर बेगिएको छ भने सातौं फाँकीमा पुगेपछि त्यो स्वच्छन्दतावादी भावधारासँगै सामाजिक चेत पनि एकाकार भएर साथै अघि बढेको देखिन्छ । कविताको छैटौं पंक्तिसम्म कविताको एउटा स्थिति र त्यसपछि आर्को स्थिति देखिन्छ । अघिल्लो स्थिति भनेको स्वच्छन्दतावादी विद्रोहात्मकता हो भने पछिल्लो स्थिति त्यस सँगसँगै प्रगतिवादी चेतको सहसंयोजन पनि हो । अघिल्लो स्थितिमा कवि आफूलाई ‘पागल’ भनिएको पीडामा आक्रोशित हुँदै र आफूभित्रै हुँडलिँदै आवेग संवेगका उत्ताल तरङ्गमा बत्तिएका छन् भने पछिल्लो स्थितिमा कवि समाजसचेत हुँदै र भावको ज्वारबाट संयमित र सन्तुलित हुँदै समाजमा भएका अन्याय, अत्याचार, जालझेल, झुटप्रपञ्च, छक्कापन्जाका विरुद्ध खनिएका छन् । अघिल्लो स्थितिमा कविको वैचारिकता स्वच्छन्दतावादी चेतको घेराभित्रै सीमित देखिन्छ । यो स्थितिलाई यी पंक्तिहरूले प्रमाणित गर्दछन् ः
जसको अस्तित्व लोक मान्दैन,
जसको आकार संसार जान्दैन (पागल, २ ः ६, ७)
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौंले ।
तिम्रो गिदी छ साथी, मेरो मुटु (पागल, ३ ः ५–८)
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने “ए पागल, तेरो सास अझ मरेको छैन ।”(पागल, ४ ः २२–२५)
विफललाई सफल देख्दछु ।
प्रगतिलाई अगति देख्दछु । (पागल, ६ ः ५, ६)
यी पंक्तिहरूलाई हेर्दा यहाँ कवि आफ्ना मनका आवेग–संवेगलाई अत्यन्त वेगवान बनाएर अभिव्यक्त गरिरहेका छन् । पागलपनको गलत आक्षेपले पीडित र मर्माहत कविको आक्रोश तुफानी वेगसँगै बेगिँदै अघि बढेको देखिन्छ । त्यसैले आक्रोश, विद्रोहात्मकता, द्वन्द्वात्मकता जस्ता केही प्रगतिवादी अभिलक्षण देखिए पनि सामाजिक सचेतता र त्यसभित्रको पनि खास स्थितिको चित्रणको आग्रह गर्ने प्रगतिवादी चेतका दृष्टिले हेर्दा ती प्रवृत्ति स्वच्छन्दतावादी अभिव्यञ्जनाकै शैलीका रूपमा आएको हुनाले कविताका यी पंक्तिहरूले प्रगतिवादको खासै छनक प्रस्तुत गर्दैनन्, बरु तिनले कविको स्वच्छन्दतावादी भावुकता एवम् विद्रोहात्मकताको अभिव्यक्ति भउको कुरालाई पुष्टि दिन्छन् ।
कविताको पछिल्लो स्थितिमा आइपुग्दा भने सामाजिक अन्याय र बेथितिप्रतिको कविको विरोधका स्वरहरू निकै तिख्खर बनेका देखिन्छन् । यो स्थितिमा कवि नेताहरूका निर्लज्ज तथा दहीच्युरे चरित्रका विरुद्ध मात्र खनिँदैनन् अझ पत्रकारितामा हुने झूठको खेती, निमुखा दुनियाँमाथिको छल–प्रपञ्च, ठुलाले सानालाई थिचेको मिचेको, मानवले मानवलाई मानव नठानेको अवस्था देखेर भयङ्कर, प्रलयङ्कर बन्न चाहन्छन् । उनी साँच्चीकै पागल बन्न चाहन्छन् । यो अन्यायी अमानवीय संसारलाई अग्निज्वालामय आँखाले हेर्दछन् । कविलाई यो विशाल विश्व नै काँचै निलुँ झैं लाग्छ । दधीचिका आत्माको बल उनलाई आफ्ना मकाएका हड्डीमा पसे झैं लाग्छ । दधीचिको हड्डीले सज्जनको रक्षा गरे झैं, ग्रीक पुराकथाको प्रमिथसले स्वर्गाग्नि चोरेर मानव कल्याण गरे झैं मानव कल्याण गर्न मन लाग्छ ।
कविताको सातौं फाँकीमा अभिव्यक्त विचारका यी सारभूत कुराहरूका आधारबाट केही प्रगतिवादी वैचारिकताका बुँदाहरू उल्लेख गर्न सकिन्छ । यसअनुसार क्रान्तिचेतनाको अभिव्यक्ति, द्वन्द्वात्मकता, सामाजिक परिवर्तनको चाहना, मानवतावाद, सामाजिक अन्यायमाथिको व्यङ्ग्य र विरोध जस्ता प्रगतिवादका खास विशेषताहरू कवितामा भेटिन्छन् । यस दृष्टिबाट ‘पागल’ कवितालाई हेर्दा यसभित्र द्वन्द्वात्मकता प्रबल रूपमा रहेको देखिन्छ । त्यो द्वन्द्वात्मकता माक्र्सेली वर्र्गद्वन्द्वका रूपमा नभएर समाजका संस्थापन पक्षमा देखिएका असङ्गतिविरुद्ध कविको वैयक्तिक द्वन्द्वका रूपमा आएको देखिन्छ र त्यो पनि कार्यात्मक तहको द्वन्द्वका रूपमा नभई वैचारिकतामा मात्र सीमित देखिन्छ । वर्गद्वन्द्व भनेको खास आर्थिक सम्बन्ध भएका निश्चित आर्थिक दुरी भएका दुई भिन्न वर्गका बीच हुने प्रत्यक्ष सङ्घर्ष हो जसमा विपन्न वा दमित वर्गले सम्पन्न वा दमनकारी वर्गमाथि अन्ततः विजय पाउँछ । ‘पागल’ कवितामा भने यस्ता दुई वर्गका बीचको नभई सोझा, सिधा निमुखा जनतामाथि अन्याय र थिचोमिचो गर्नेहरूविरुद्ध कवि स्वयम्को द्वन्द्व छ । यहाँ अन्यायीहरू विरुद्ध अन्यायमा पर्नेहरू क्रियाशील देखिँदैनन्, केवल कविको आक्रोश मात्र त्यस्ता अन्यायी विरुद्ध विद्रोह ओकल्छ ः
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर ।
जन अधिकारको डँडाल्नोको भाँच हेर ।
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूठले ललकार्छ, (पागल, ७ ः १–६)
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
दुई कानले
मेरा आँखा सामुन्ने अमृत भनेर (पागल, ७ ः ९–११)
जब बाघले मिर्ग खान आँटेको देख्छु साथी
या ठूलो माछाले सानो, (पागल, ७ ः १४–१५)
यी पंक्तिहरूलाई हेर्दा कविताको अघिल्लो स्थितिको कविको आफूमाथि लगाइएको वैयक्तिक आक्षेपविरुद्धको आक्रोश पछिल्लो स्थितिमा आइपुग्दा सामाजिक बेथितिविरुद्ध लक्ष्यित हुन पुगेको देखिन्छ । यहाँ कवि राजनीतिक व्यवस्था होइन त्यस व्यवस्थाका सञ्चालकहरूका स्वार्थी व्यवहारप्रति आक्रोशित छन् । नेतृवर्गमा कथनी र करनीमा फरक हुनु, तिनका जालझेल र झुठमुठबाट निमुखा जनता आहत हुनु जस्ता कुराबाट कवि आक्रोशित बनेर पागल झैं भएका छन् । गिरी (२०६६ ः १४५) का अनुसार २००७ को परिवर्तनपछि पनि समाजमा परिवर्तन आउन नसकेको र जालझेल एवम् छलछाम चलेकोमा कवि आक्रोशित बनेका छन् । त्यसै आक्रोशबाट उनी “वन खाने आगो झैं बहुला” (पागल, ७ ः ३४) भएका छन् । कविको यस आक्रोशभित्र सामाजिक परिवर्तनको चाहना समेत अन्तर्निहित छ । यो चाहना नै प्रगतिवादी वैचारिकताको एउटा प्रबल पक्ष हो । यहाँ कवि सामाजिक बेथितिविरुद्ध वैचारिक क्रान्ति चाहन्छन् जुन क्रान्तिले सारा अन्याय बढारेर न्यायपूर्ण समाजको स्थापना गरोस् ।
कविता आद्यन्त रूपमा द्वन्द्वमय छ । कविताको अघिल्लो स्थितिमा सामाजिक दृष्टिकोणसँग कविको दृष्टिकोणको द्वन्द्व छ । समाजले जीवनलाई हेर्ने दृष्टि र कविले हेर्ने दृष्टि विपरीत भइदिँदा त्यो द्वन्द्व उपस्थित भएको छ । त्यो द्वन्द्व हृदय पक्षधर कवि र मष्तिष्क पक्षधर समाजका बिच केन्द्रित छ । त्यो द्वन्द्व कविताको अघिल्लो स्थितिमा स्वच्छन्दतावादी भावुकताकेन्द्री छ भने पछिल्लो स्थितिमा समाजकेन्द्री वस्तुपरक छ । पछिल्लो स्थितिमा कवि समाजसचेत बनेर त्यहाँका असङ्गतिविरुद्ध जाइलागेका छन् । समाजका विविध अन्याय, जालझेल, ढाँट–छल–प्रपञ्च देखेर कवि क्रोधले ज्वालामुखी बनेका छन् ः
तुफानपुत्र !
पागल ज्वालामुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल (पागल, ७ ः ४१–४३)
यहाँ आएको द्वन्द्व वर्गद्वन्द्वका रूपमा भन्दा पनि सामाजिक असङ्गतिका विरुद्ध कविको व्यक्तिगत वैचारिक द्वन्द्वका रूपमा आएको देखिन्छ । यहाँ द्वन्द्वमा उत्रनुपर्ने वर्ग द्वन्द्वप्रति नै उदासीन र असचेत देखिन्छ र केवल कविको चेतना मात्र ती विसङ्गतिविरुद्ध द्वन्द्वरत छ त्यो पनि भावनात्मकता प्रबल वैचारिक रूपमा विद्रोहको तहमा मात्र । यहाँको कवि विद्रोही बनेर विसङ्गतिविरुद्ध चिच्याउँछ तर युद्धमा ओर्लनुको साटो ‘बहुला’ हुन्छ । त्यसै गरी ‘पागल’ को कवि सामाजिक वर्गद्वन्द्वका माध्यमबाट होइन मायावी÷रहस्यात्मक÷जादुगरी बलद्वारा समाजका होची–अर्घेली सम्याएर समाजको उपचार गर्न चाहन्छ । यसको प्रमाणका रूपमा दधीचि र स्वर्गाग्निचोर (प्रमिथस) का पौराणिक मिथकहरूलाई अघि सार्न सकिन्छ । कवि भन्छन् ः
मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी ! (पागल, ७ ः १६–१७)
म सुन्दर चकोर, असुन्दर–फोर,
कोमल – क्रूर,
चिडिया, स्वर्गाग्नि–चोर ।
तूफानपुत्र । (पागल, ७ ः ३८–४१)
यहाँ आएको दधीचि र स्वर्गाग्नि–चोर (प्रमिथस) को मिथकीय सन्दर्भबाट कवि समाजका बिब्ल्याँटाहरूलाई जनबल र शस्त्रबलले भन्दा पनि रहस्यात्मक÷मायावी अस्त्रको प्रयोगबाट समाप्त पार्न चाहन्छन् भन्ने सङ्केत मिल्छ । यसर्थ कविको विश्वास भौतिकवादी द्वन्द्ववादमा भन्दा पौराणिक–काल्पनिक रहस्यात्मक÷मायावी शक्तिमा बढी रहेको हो कि ? भन्ने स्थिति देखिन्छ । त्यसैले कविताको पछिल्लो स्थितिमा देखिने प्रगतिवादी वैचारिकताका केही अभिलक्षणहरूलाई पनि स्वच्छन्दतावादी विद्रोहकै भावनात्मक अभिव्यञ्जनाले बिटुल्याएको जस्तो देखिन्छ । तैपनि कविका ‘युगवाणी’ कालयताका अन्य कविताहरूका समेत सापेक्षतामा हेर्दा प्रस्तुत कविताले प्रगतिवादी वैचारिकतालाई पनि यसै स्वच्छन्दतावादी भावुकतासँग सँगै अघि बढाएको कुरालाई भने नकार्न मिल्दैन नै । अतः प्रस्तुत द्वन्द्वको सन्दर्भलाई पनि यसै आधारबाट हेर्न भने सकिन्छ ।
प्रगतिवादी वैचारिकताको छनक कविताको पाँचौं फाँकीमा पनि पाउन सकिन्छ । यहाँ कविले नबाबको मदिरालाई खून भनेका छन्, छिमेकी रण्डीलाई लास अनि राजालाई गरिब । सिकन्दरलाई उनले गाली दिएका छन् भने महात्माको निन्दा गरेका छन् । महापण्डितलाई महामूर्ख, गुफातपस्वीलाई भगुवा र मिथ्याका मञ्च चढेकालाई काला नटुवा देखेका छन् । यी सबै सामन्तवादी–साम्राज्यवादी युगका प्रतिनिधि हुन् । उपर्युक्त अभिव्यक्तिबाट यहाँ सामन्तवाद–साम्राज्यवादको पनि विरोध भएको देखिन्छ । यसरी कवितामा सामन्तवाद–साम्राज्यवादको विरोध वा त्यसप्रति तिखो व्यङ्ग्य प्रहार भएको हुनाले यसलाई प्रगतिवादी वैचारिकताकै एउटा कडीका रूपमा लिन सकिन्छ ।
यस प्रकार कतिपय सन्दर्भमा स्वच्छन्दतावादी रहस्यवाद र मायावी संसारको आमन्त्रण जस्ता केही प्रवृत्तिहरूबाट बिटुलिएको भए पनि द्वन्द्वात्मकता एवम् विद्रोहात्मकता, सामाजिक अन्याय, सामन्तवादी–साम्राज्यवादीका प्रतीक राजा, नबाब, सिकन्दर जस्ता कतिपय पक्षको विरोध गरिएको जस्ता कतिपय प्रवृत्तिका कारण ‘पागल’ कवितामा स्वच्छन्दतावादी रहस्यवाद प्रभावित प्रगतिवादी वैचारिकताको प्रबल प्रस्तुति रहेको देखिन्छ ।
३.३ हामी बौलाहाहरू कविताको प्रगतिवादी वैचारिकता
प्रगतिवादी वैचारिकताका दृष्टिले ‘हामी बौलाहाहरू’ एक सशक्त कविता हो । प्रगतिवादी वैचारिकताका विविध विशेषताहरू यस कवितामा पाउन सकिन्छ । यस कवितामा पाइने वर्गद्वन्द्व र क्रान्तिचेतको प्रस्तुति नै यसको सबैभन्दा टड्कारो पक्ष हो । कवितामा आद्यन्त रूपमै दुई भिन्न वर्गका बिचको वैचारिक एवम् व्यावहारिक द्वन्द्वको अभिव्यक्ति पाइन्छ । यहाँ सतहमा बौलाहाहरू र सज्जन भनिनेहरूका बिचको सशक्त द्वन्द्व पाइन्छ भने ध्वन्यात्मक तहमा यो द्वन्द्व मुलुकका सामन्त वर्ग र जागरुक जनताका बिचको र अझ भित्री अर्थमा मुलुकका शासक–प्रशासक र क्रान्तिकारी राजबन्दीहरूका बिचको द्वन्द्व पनि हो ।
कविताको अभिधात्मक अर्थसन्दर्भले बौलाहाहरूमाथि सज्जन भनिनेहरूले गरेको दमनलाई देखाउँछ भने ‘बौलाहा’ भनिएकाहरू पनि वास्तवमा बौलाहा नभएर बौलाहा बनाइएका हुन् भन्ने कुराको छनक यी पंक्तिहरूले दिन्छन् ः
आहा ! हाम्रो रोग निको पार्ने तपाईं निरोगीहरू !
धन्य छ त्यो स्वस्थ खप्पर र मान्छेको भनिदो मुटुलाई (भट्ट, २०२६ ः ५५)
यस अभिव्यक्तिमा बौलाहाहरूको निरोगी र सज्जन भनिनेहरूमाथि चोटिलो व्यङ्ग्य छ । यहाँ सज्जन भनिनेहरूले बौलाहाहरूको उपचार गर्न होइन तिनका धन–सम्पत्ति र श्रीमती–आमा–चेलीहरू स्वच्छन्द भोग्नका लागि बौलाहाहरूलाई जेलमा कोचेका छन् ः
तपाईंहरूलाई महल चाहिन्छ सध्ये बन्न
र अनेकौं आइमाई चाहिन्छन् जिउको जाडो भगाउन,
....थाल्नुहुन्छ दिउँसै लुट्न आफ्नो महल र ऐशको तलो थप्न
तर आज हामीलाई कोच्नुभएको छ यो नरकमा (भट्ट, २०२६ ः ५५)
महोदय, फर्काउनोस् हाम्रा श्रीमती, दिदी बहिनी र आमाहरू
जस्लाई तपाईंले आफ्ना महलमा थुन्नुभएको छ र
कारभित्र धुरुधुरु ¥वाउनुभएको छ (भट्ट, २०२६ ः ५६)
यी अभिव्यक्तिहरूले यहाँका बौलाहाहरू आफ्नो होस, चेत गुमाएका नभई सचेत तर जानाजान अन्यायमा पारिएकाहरू हुन् भन्ने सहजै स्पष्ट पार्छन् । यी अभिव्यक्तिहरू बौलाहाका अनर्गल प्रलाप नभई एक सचेत र सद्दे तर बौलाहाको बहानामा जाली–झेलीहरूबाट बन्दी बनाइएका व्यक्तिहरूको हो भन्ने कुरा छर्लङ्ग छ । उनीहरू आफूलाई बन्दी बनाएर आफ्नो सर्वस्वमा फटाहा, जाली–झेलीहरूले राज गरिरहेका छन् भन्ने कुरा स्पष्ट पारिरहेका छन् । त्यसैले उनीहरू अब यो सबै सहेर नबस्ने स्थितिमा पुगेका छन् । उनीहरू सज्जन भनिनेहरूसँग प्रश्न गर्छन् ः
भन्नोस्, के गरौं यो बन्धनभित्र २४ सै घण्टा चूप लागी ? (भट्ट, २०२६ ः ५६)
यसरी सधैं चुप लागेर बस्ने होइन, त्यो अन्याय, अच्याचार र अव्यवस्थाका विरुद्ध विभिन्न ढङ्गबाट युद्ध गर्ने अठोट पनि उनीहरूको छ । उनीहरू अब आकाशै थर्किने गरी विरोधको स्वर उराल्न चाहन्छन्, जुलुस निकाल्न, क्रान्ति गर्न चाहन्छन् । आइलाग्नेमाथि जाइलाग्ने र मौका परे ज्यान लिन पनि पछि नपर्ने भन्दै समाजसँग गाँस, बास र कपासका लागि लड्ने चेतावनी पनि दिन्छन् । अन्याय जारी रहे र आफ्ना मागहरू पुरा नगरिए दोषीहरूलाई चपरीमुनि सुताइछाडने समेत उनीहरूको चेतावनी छ । यस प्रकार ‘हामी बौलाहाहरू’ कवितामा वर्गद्वन्द्व र क्रान्तिकारी चेतनाको प्रबल एवम् सशक्त प्रस्तुति रहेको देखिन्छ । त्यो वर्गद्वन्द्व र क्रान्तिचेत नै प्रस्तुत कविताको मूल वैचारिक आधार बनेको छ ।
अर्थको अर्को तहमा समाजका उच्च र निम्नवर्गबीच द्वन्द्व छ । बौलाहाहरू निम्न वर्गीय शोषित पीडित जनताका प्रतीक हुन् भने सज्जन भनिनेहरू समाजका शोषक–उत्पीडक वर्गका प्रतीक हुन् । यस दृष्टिबाट हेर्दा पनि यस कवितामा वर्गद्वन्द्व र क्रान्तिकारी चेतनाको सशक्त अभिव्यक्ति भएको पाउन सकिन्छ । व्यवस्थाका नाउँमा अव्यवस्थाका बन्दी बनाइएका सोझा–निमुखा जनतामा मुलुकको राजनीतिक व्यवस्था र त्यसका हर्ताकर्ताका काला कर्तुतहरूबारे चेतना जागृत भइसकेको छ । सोझा निमुखा जनता अब शोषण, अन्याय र उत्पीडनका विरुद्ध जागेका छन् र उनीहरू त्यो बन्धन चुँडाल्ने अभियानतिर अग्रसर हुनै लागेका छन् ।
उपल्लो र शासक वर्गले तल्लो र शासित वर्गलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारलाई कविताका सुरुकै पंक्तिमा यसरी सङ्केत गरिएको छ ः
हामी बौलाहाहरू
सज्जनहरूका खेलौनाहरू
डन्डीबियो र गुच्चाहरू
बोराभित्र कोचिएका मकै र कोदाहरू...
रछ्यानको माझमा कुखुराले खोतलेका किराहरू जस्तै
कुक्कुरले भेट्टाएका हाडका गन्हाउने टुक्राहरू जस्तै,
बाँदरले फेला पारेका जिउका लिखा र जुम्राहरू झैं
राँगोले उडाएको आफ्नो आङको छारो झैं (भट्ट, २०२६ ः ५३)
माथिल्लो वर्गले विपन्न एवम् शोषित–पीडित वर्गलाई र शासक वर्गले निर्धा जनतालाई मान्छेको रूपमा नलिई कुनै अचेतन वस्तुलाई झैं हेर्ने गरेको कुरा कविताले प्रस्तुत गरेको तत्कालीन यथार्थ हो । समाजमा उपल्ला वर्गले तल्लो वर्गलाई र शासकहरूले शासित वर्गलाई हेर्ने दृष्टिकोण पनि यही नै हो । श्रमशील, सोझा र निर्धा जनतालाई तत्कालीन अवस्थामा कुनै जड वस्तु वा पशुप्राणी सरह हेर्ने र व्यवहार गर्ने गरिएको स्थितिलाई यी पंक्तिहरूले स्पष्ट पार्दछन् । यो ‘बौलाहाहरू’ का रूपमा नेपाली जनताले बेहोरेको यथार्थ वस्तुस्थिति हो ।
जनताको चाहना शासक वा सत्ताधारी वर्गका जनतालाई हेर्ने यस्ता तुच्छ दृष्टिकोणभन्दा विपरीत छ । उनीहरूमा पनि चेतना छ, उनीहरूका पनि आफ्नै रहर र चाहनाहरू छन्, जुन कुरा सत्ताधारीहरूले बलात् कुल्चिदिएका छन् । यति मात्र होइन उनीहरूमा अब आफ्नो हक–अधिकारबारे चेतना पनि जागृत भइसकेको छ । उनीहरू अब आफूले पाउनुपर्ने हक–अधिकार के हो र समाज एवम् मुलुकप्रति आफ्नो दायित्व के हो भन्नेबारे पनि सचेत देखिन्छन् र आफूले समाज र मुलुकलाई पु¥याउन सक्ने योगदानबारे पनि जानकार छन् । तर, सज्जन भनिने शासकहरूले उनीहरूका ती सबै कुरा षडयन्त्रपूर्वक पैतालामुनि दबाएर राखेका छन् र उनीहरूका सारा क्षमता बेकार बनाइदिएका छन् । शासक वर्गले उनीहरूलाई मुलुकप्रतिको दायित्व र कर्तव्य निर्वाह गर्नबाट विमुख बनाइदिएका छन् र सम्पूर्ण नागरिक हक–अधिकारबाट वञ्चित गरिदिएका छन् । बौलाहाहरूका अभिव्यक्तिका रूपमा जनताका भाव र विचारहरू कवितामा यसरी अभिव्यञ्जित भएका छन् ः
हामी पाहार ताप्न खोज्छौं यो अग्लो ढिस्कोमा
सिंहले निस्फिक्री आङ ताने झैं गरी,
हामी स्वयम् खेलाडी हौं–यस विश्व टुँडिखेलमा
दगुर्ने र उफ्रने इच्छा छ खेलाडीहरूको झैं (भट्ट, २०२६ ः ५४)
... यी यो वारी ! हरीयै हरीयो सारीको भूर्इं जस्तो
हाम्रा पाखुराका पसिना परेका छन् त्यसमा तपाईंकै जस्तो !
हामीसित पनि जोवन छ र त्यसभित्र प्रेमको थैलो छ,
हाम्रो अधबैंशे शरीरलाई नहेप्नोस् — त्यसमा पनि अनुभव र शक्ति छ,
हाम्रो बुढ्यौली तपाईंकै जति उपयोगी छ
चाउरिएका गोला र सेप्रिएका हड्डी पनि बेलामा काम लाग्छन् (भट्ट, २०२६ ः ५४)
खोइ, हामीलाई बस्ने र सुत्ने कोठोसम्म दिनुभएको छ तपाईंले ?
हाम्रा पनि मगज छन् चिन्तन गर्न,
चाहिन्छन् किताब, कापी, कलम र कागज हाम्रा अनुभूति उतार्न (भट्ट, २०२६ ः ५५)
यी पंक्तिहरूमा बौलाहाका प्रलापका रूपमा नेपाली जनताका आकाङ्क्षाहरू अभिव्यक्त भएका छन् । यहाँ जनताका चाहनाहरूको अभिव्यक्तिका साथै गाँस–बास–कपास र अभिव्यक्ति स्वतन्त्रताको माग प्रस्तुत भएको छ जुन कुरा तत्कालीन निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाका सामन्तवादी एवम् अन्यायी शासनसत्ताले बलात् खोसेर राखेको थियो । अन्याय अत्याचारका विरुद्ध आवाज उठाउनेहरूलाई अनेक जाल–झेल गरी पक्राउ गरेर जेलमा सडाइन्थ्यो, अनेकौं छलछाम र षडयन्त्रमा फसाएर सामान्य मानवीय अधिकारबाट पनि वञ्चित राखिन्थ्यो । उपर्युक्त पंक्तिहरूबाट नेपाली जनताले भोग्नुपरेको तत्कालीन अवस्थाको झल्को पाइन्छ भने जनतामा पनि आफ्ना हक, अधिकार र कर्तव्यप्रतिको चेतना र चासो क्रमशः ब्युँझदै गएको र जनता त्यस्ता अन्यायी शासन व्यवस्थाप्रति असन्तुष्ट रहेको स्थिति समेत स्पष्ट हुन्छ । यति मात्र होइन, जनता जागरुक भइसकेका र उनीहरूले त्यस्तो अन्यायी व्यवस्थाका विरुद्ध क्रान्तिको राँको सल्काउने अठोट पनि गरिसकेको स्थितिलाई पनि कविताका यी पंक्तिहरूले स्पष्ट पारेका छन् ः
तर याद राख्नोस्, हामी एक होइनौं, जम्मै मिली
कराएको करायै गर्छौं — फेरि नारा लगायो नभन्नुहोला ।
एक थलोमा नबसी घुमेको घुम्यै गर्छौं — जुलुस झिक्यो नभन्नुहोला
...तपाईं आइलाग्दा जाइलाग्नेछौं – आत्मरक्षार्थ, क्रान्ति ग¥यो नभन्नुहोला,
कोर्रा, सङ्गीन, गोली र अगुल्टा देखाउनु भएछ भने
चपाचप समाती आएकै दिशातिर हिर्काई पठाउनेछौं
आफ्नो पनि ज्यानको माया नछोड्नुहोला (भट्ट, २०२६ ः ५७–५८)
खबरदार हामीमाथि फेरि हात छोड्नुहोला !
हामी त्यस्ता हावा खुस्केकाको गिदी ठीक पारिदिन्छौं
सज्जनवृन्द, हामी सित्तै बौलाएका छैनौं –
दोषीलाई चपरीमुनि सुताइ छाड्नेछौं । (भट्ट, २०२६ ः ५८)
यी पंक्तिहरूले अन्यायी शासनव्यवस्थाका विरुद्ध न्यायप्रेमी र स्वतन्त्रताप्रेमी जनताको क्रान्तिको अठोटलाई अभिव्यक्त गर्दछन् । यी पंक्तिहरूमा व्यक्त जुलुस झिक्नु, नारा लगाउनु, क्रान्ति गर्नु जस्ता पदावलीहरू निषेधात्मक रूपमा प्रयुक्त भएका छन् तर तिनले प्रकारान्तरबाट तिनै तिनै क्रियाकलापका माध्यमबाट सत्ताधारीहरूलाई परास्त गर्ने कुरा व्यक्त गरेका छन् । यति मात्र होइन यी पंक्तिहरूमा जनताका हक–अधिकारहरू बहाल नभए, उनीहरूको गाँस–बास–कपासको व्यवस्था नभए, अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति नपाए सशक्त रूपमा क्रान्ति गर्दै दोषीलाई चपरीमुनि सुताइदिने चेतावनी समेत व्यक्त भएको छ ।
यस प्रकार ‘हामी बौलाहाहरू’ कविताले व्यञ्जित गर्ने ध्वन्यार्थमा पञ्चायती सामन्तवादी शासन व्यवस्थामा सोझा निमुखा जनतामाथि शासकहरूले गरेको शोषण, अन्याय र उनीहरूले पाउनुपर्ने गाँस–बास–कपास तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता नागरिक हकबाट कसरी वञ्चित राखिएको थियो भन्ने कुरालाई देखाउँदै त्यस्तो निरङ्कुश व्यवस्थाका विरुद्ध जनतामा आएको चेतना, त्यस व्यवस्थालाई ढाल्न क्रान्ति गर्ने जनताको अठोट र दोषीहरूलाई कार्वाही गर्ने चेतावनी समेत दिइएको छ । यसबाट अन्यायी राज्यव्यवस्थाका विरुद्ध न्यायप्रेमी जनताको सशक्त द्वन्द्व प्रकट भएको देखिन्छ भने त्यस्तो अन्यायी व्यवस्था र त्यसका सञ्चालकहरूका विरुद्ध क्रान्ति गर्ने अठोट समेत चेतावनीपूर्ण भाषामा अभिव्यक्त भएकाले द्वन्द्व र क्रान्तिकारी चेत कवितामा सशक्त र जीवन्त रूपमा अभिव्यक्त भएको देखिन्छ ।
अर्थको अर्को स्तरमा यस कवितालाई राजबन्दीहरूको अभिव्यक्तिका रूपमा पनि अथ्र्याउन सकिन्छ । यस ढङ्गबाट कवितालाई अथ्र्याउँदा पञ्चायती व्यवस्थाका विरुद्ध आवाज उठाउने सचेत र सङ्घर्षशील व्यक्तिहरूलाई व्यवस्थाका पक्षधरहरूले हेर्ने दृष्टिकोण, उनीहरूमाथि गर्ने दुव्र्यवहार जस्ता कुरालाई देखाएको छ । सत्ताधारीहरूले क्रान्तिकारीहरूको सम्पत्ति हडपेको, तिनका आश्रित र आमा, श्रीमती, चेलीहरूमाथि दुव्र्यवहार गरेको, अनेकौं झुटा मुद्दा लगाएर गिरफ्तार गरी जेलमा कोच्ने गरेको, जेलभित्र पनि अनेकौं असह्य यातना दिने गरेको जस्ता कुराहरू तत्कालीन यथार्थ हुन् । यसका साथै कवितामा प्रस्तुत बौलाहाहरूको प्रलापका सन्दर्भबाट जनताको हक–अधिकार र गाँस–बास–कपासका लागि क्रान्ति गरिरहने र अन्ततः त्यस्ता अन्यायीहरूलाई दण्डित गरिछाड्ने अठोट पनि स्पष्ट हुन्छ । यस अर्थबाट पनि यस कवितामा वर्गद्वन्द्व र क्रान्तिकारी चेतना सशक्त रूपमा व्यक्तिएको देखिन्छ । यो पनि प्रगतिवादी वैचारिकताको एउटा प्रमुख कडी हो ।
‘हामी बौलाहाहरू’ कवितामा पाइने प्रगतिवादी वैचारिकताको अर्को महŒवपूर्ण पक्ष सामाजिक अन्याय, जालझेल, शोषण, उत्पीडन जस्ता सामाजिक विसङ्गतिको विरोध हो । कवितामा समाजमा हुने यस्ता मानवताविरोधी क्रियाकलापको स्पष्ट चित्र प्रस्तुत गर्दै त्यस्ता क्रियाकलापप्रति सशक्त विरोध जनाइएको छ । कविताका सुरुकै पंक्तिहरूमा मान्छेलाई मान्छेको रूपमा नभएर पशुका रूपमा व्यवहार गरिएको कुरा उठाइएको छ । निर्धा व्यक्तिहरूका हक–अधिकारलाई कुल्चँदै शक्तिशालीहरूले उनीहरूमाथि अनेक प्रकारबाट थिचोमिचो र शोषण गरेका छन्, उत्पीडन र यातना दिएका छन् । त्यस्ता शक्तिशालीहरूले जनतामा जाग्रत चेतनालाई कुण्ठित पार्दै त्यस्ता सचेत व्यक्तिहरूलाई षडयन्त्रपूर्वक बौलाहाको बिल्ला भिराउँदै जेलमा बन्दी जीवन बिताउन बाध्य पारिदिएका छन् । शक्तिशाली वर्गले भने तिनै निर्धा र दुर्बलहरूका धन सम्पत्तिमाथि रजाइँ गरेका छन् र तिनका आमा, श्रीमती र चेलीहरूलाई आफ्नो विलासको माध्यम बनाएका छन् । उनीहरूले निर्धा निमुखा व्यक्तिहरूलाई मानिसको हैसियतमा बाँच्न चाहिने गाँस–बास र नागरिक हकको स्वतन्त्रताबाट समेत वञ्चित गरिदिएका छन् । यस्तै ‘हामी बौलाहाहरू’ कविता सामाजिक अन्यायका विरुद्धको सशक्त आवाजका रूपमा पनि प्रस्तुत भएको छ । कवितामा युगौं युगदेखि शोषण र अन्याय हुँदै आएको कुरालाई यसरी प्रस्तुत गरिएको छ ः
हामीलाई युग युगदेखि खोसेको हाम्रो जेथा फर्काइदिनोस् (भट्ट, २०२६ ः ५८)
यो अभिव्यक्तिले नेपाली जनता तत्कालीन अवस्थामा मात्र होइन, युगौं युगदेखि सामन्ती शोषणबाट पीडित छन् भन्ने कुरालाई सङ्केत गर्छ । यस पंक्तिले निर्धाको जायजेथा सामन्तहरूले युगौं युगदेखि लुट्दै आएको तथ्यलाई स्पष्ट पार्दछ । अब यस्ता सामन्ती शोषण–उत्पीडनका विरुद्ध जनतामा चेतना मात्र जाग्रत भएको छैन उनीहरूले त्यसका लागि सशक्त सङ्घर्ष समेत गर्ने अठोट पनि गरिसकेका छन् । त्यसैले चेतावनीकै भाषामा शोषक सामन्तहरूलाई आत्मसमर्पण गर्न र क्षमा माग्न समेत उनीहरू यसरी आग्रह गर्दैछन् ः
भन्नोस् — “हामीले भूल गरेछौं, जानाजानी, क्षमा गर” (भट्ट, २०२६ ः ५६)
यसो नभए दोषीलाई चपरीमुनि सुताइदिन पनि पछि नपर्ने चेतावनी पनि दिइरहेछन् ः
हामी त्यस्ता हावा खुस्केकाको गिदी ठीक पारिदिन्छौं
सज्जनवृन्द, हामी सित्तै बौलाएका छैनौं – दोषीलाई चपरीमुनि सुताइ छाड्नेछौं । (भट्ट, २०२६ ः ५८)
यस अभिव्यक्तिबाट समाजमा रहेका वर्षाैंदेखिका शोषण, दमन, उत्पीडन र अन्याय अब समाजमा टिक्न नसक्ने आशाको सञ्चार पनि भएको छ । युगौंदेखिको सामन्ती दासता अब नेपाली समाजबाट सधैंका लागि समाप्त हुन लागेको सङ्केत गरिएकाले कविताले अब जनताका अधिकारको सुनिश्चितता हुने, समाजमा रहेको अन्याय, जालझेल, शोषण सधैंका लागि समाप्त हुने आशावादी स्वर प्रस्तुत गरेको देखिन्छ ।
३.४ गोलघरको सन्देश कविताको प्रगतिवादी वैचारिकता
प्रगतिवादी काव्यपरम्पराकै एउटा सशक्त काव्यकृतिका रूपमा ‘गोलघरको सन्देश’ लाई लिइन्छ । मुलुकमा एकछत्र अन्यायी एवम् आततायी राज गरिरहेको तानाशाही पञ्चायती व्यवस्था र त्यसका सञ्चालक सामन्ती राजतन्त्रका विरुद्धको क्रान्तिमा होमिएको र त्यही क्रममा क्रूर तानाशाहहरूले गिरफ्तार गरी जेलको पनि महाजेल मानिने केन्द्रीय कारागारको गोलघरमा अतिशय यातनाका साथ बन्दी बनाएको एउटा अटल र दृढ विचार भएको क्रान्तिकारी योद्धा कविको आ–आफ्ना कार्यक्षेत्रमा क्रियाशील क्रान्तियोद्धाहरूका नाममा सन्देशका रूपमा आएको अभिव्यक्ति नै ‘गोलघरको सन्देश’ कविता हो । काव्यका नायक कवि मोदनाथ प्रश्रित स्वयम् हुन् । गोलघरभित्रको अतिशय यातना खप्दै पनि कसरी एउटा मुक्तियोद्धा कवि आफ्नो अभियानमा कटिबद्ध भएर लागिरहेको छ भन्ने देखाएर आफ्ना सहयोद्धाहरूमा क्रान्तिप्रति उत्प्रेरणा र उत्साह भर्न यो काव्य रचिएको देखिन्छ । काव्यभित्र पञ्चायती व्यवस्थामार्फत सामन्तवादी राजतन्त्रले जनताको शोषण, अन्याय, अत्याचार गरेको र त्यस विरुद्ध आवाज उठाउनेहरूलाई अनेकौं झुट्टा मुद्दामा फसाएर जेलमा सडाउने गरेको, अनेक बहाना बनाएर त्यस्ता बन्दीहरूको हत्या गर्ने गरेको, सामन्तवादी व्यवस्थालाई यथास्थितिमा राखिछाड्न अनेकौं काला विधिविधानको तर्जुमा गरी त्यसै मार्फत विरोधी–विद्रोहीहरूलाई दबाएर राखेको, गोलघरमा कविलाई आततायीहरूले अतिशय यातना दिएको जस्ता घटनाहरू काव्यभित्र वर्णित यथार्थ वस्तुस्थिति हुन् । गोलघर जस्तो भयङ्कर यातनागृहमा थुनिएकाले त्यहाँ दिइने असह्य यातनाका कारण आफूलाई मारिएको वा कुनै पनि बेला मारिन सक्ने अथवा आफ्नो क्रान्तिकारी आदर्शबाट स्खलित भएको जस्ता आसन्न परिणतिको आशङ्का आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहेका साथीहरूमा नआओस् र यसबाट उनीहरूमा निराशा नआओस् भन्ने ध्येयले यो काव्य रचिएको देखिन्छ । यो काव्य गोलघरमा बन्दी रहेको योद्धाका तर्फबाट जनताको मुक्तिका लागि भइरहेको युद्धप्रति रहेको कटिबद्धताको सन्देशका रूपमा प्रस्तुत गरिएको छ ।
प्रगतिवादी वैचारिकताका दृष्टिबाट यो काव्यलाई हेर्दा यसभित्र पाइने अभिव्यक्तिको प्रमुख वैचारिक आधार भनेको नै वर्गद्वन्द्व र क्रान्तिचेतना हो । मुख्य विषय नै क्रान्ति रहेको यस काव्यमा द्वन्द्वका अनेक पक्षको प्रस्तुति रहेको देखिन्छ । काव्यमा आएको मुख्य सन्दर्भ निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्था र यसको प्रशासनसँग कविको वैयक्तिक द्वन्द्वका रूपमा देखिए पनि त्यो द्वन्द्व कविको वैयक्तिक नभएर समग्र न्यायप्रेमी नेपाली जनताको वर्गीयद्वन्द्वसँग गाँसिएको छ । काव्यनायक स्वयम् क्रान्तिकारी, परिवर्तनकामी नेपाली जनताका प्रतिनिधि क्रान्तियोद्धाका रूपमा काव्यमा देखिएका छन् । त्यसैले यहाँ काव्यनायक कविको वर्गयुद्ध क्रान्तिकारी वर्गको प्रतिनिधिका रूपमा मुलुकमा एकछत्र साम्राज्य फैलाएको निरङ्कुश र तानाशाही चरित्रको सामन्ती राजतन्त्र र यसका अङ्गप्रत्यङ्गसँग रहेको देखिन्छ । यहाँ एकातिर मुलुकको शासक वर्ग छ जो सामन्ती हैकम चलाएर न्यायप्रेमी जनतालाई पैतालामुनि दबाएर राज गर्न चाहन्छ । सामन्ती अधिनायकवादी जहानियाँ राजतन्त्र र उसले नै सञ्चालन गरेको निरङ्कुश तानाशाही पञ्चायती व्यवस्था अनि त्यस व्यवस्थाका अरौटे–भरौटे पञ्च भनिनेहरू एकातिर छन् भने अर्कातिर काव्यनायक कवि (समाख्याता) को पक्षको वर्ग छ जो त्यस्तो सामन्तवादी, अधिनायकवादी, अन्यायी, आततायी जहानियाँ राजतन्त्र र त्यसको जनता चुस्ने मूल हतियार बनेको तानाशाही पञ्चायती व्यवस्थालाई समेत समूल नष्ट गर्न चाहन्छ । यिनै दुई भिन्न पीडक र पीडित वर्गका बिचको सशक्त द्वन्द्व नै यस काव्यमा आएको मुख्य विषय हो । त्यही द्वन्द्वको नेतृत्व गर्दै र भूमिगत रूपमा जनतालाई जगाउँदै हिँड्ने क्रममा काव्यनायक कवि वर्गदुस्मनहरूको गिरफ्तमा परेका हुन् ।
कविले गोलघरभित्र पाएको अतिशय यातना र उनको दृढता, खोरभित्रै सहिद बनेका मैनाबहादुर र प्रचण्ड गोर्खाका खड्गमान सिंहको वीरता, नेपाली जनताले भूमिगत रूपमा गरेका पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रविरोधी क्रान्तिका योजना र गतिविधिहरू, आन्दोलनलाई बल पु¥याउन मुलुकभरबाट प्रकाशित विभिन्न प्रगतिशील प्रकाशनहरूको समेत सन्दर्भ कविताको उक्त मूल सन्दर्भसँग जोडिएर आएका छन् । यी पक्षहरू काव्यका त्यसै वर्गद्वन्द्वसँग सन्दर्भित भएर आएका पूरक सन्दर्भहरू हुन् जसलाई वर्गद्वन्द्वकै अनेक आयामका रूपमा बुझ्न सकिन्छ ।
यहाँ कवि सामन्तवादी राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध आफैं क्रान्तिमा संलग्न छन् । सामन्ती शासनव्यवस्थाका हिमायतीहरू बन्दी बनेका कवि र उनीहरू जस्ता क्रान्तिकारीहरूलाई बलपूर्वक जेलमा सडाउन चाहन्छन् र अनेकौं अत्याचार र यातनाका बलमा तर्साएर गलाएर आफ्नो र आफ्ना प्रभुहरूको स्वेच्छाचारी शासन सत्तालाई निरन्तरता दिन चाहन्छन् भने कवि र उनीहरू जस्ता क्रान्तिकारीहरू त्यस्तो अन्यायी, अत्याचारी, स्वेच्छाचारी शासन व्यवस्थालाई नै समूल नष्ट गरी जनताको सार्वभौमसत्ता स्थापित गर्न चाहन्छन् । मुलुकलाई स्वतन्त्र एवम् जनताको सार्वभौमसत्तासम्पन्न बनाउन चाहन्छन् । सत्ताधारीहरू भने यथास्थितिलाई नै कायम राख्न चाहन्छन् त्यसैले उनीहरूले त्यही अनुसारका नीतिहरू निर्धारण गरेर विरोधीहरूलाई दबाउने कुकृत्यमा लागेका हुन् । त्यसै सिलसिलामा कवि प्रश्रितलाई पनि आततायीहरूले झुक्याएर पक्राउ गरी गोलघरमा कोचेका छन् । यही अवस्थालाई कवि कवितामा यसरी चित्रण गर्दछन् ः
जुगजुगभरि
औंसीकै रात थमौती गर्ने प्रस्ताव
पास ग¥यो तिनको सदनले
र फेरि पनि बन्दूकका काला फणा उठाउँदै
मध्येनि रातमा गाउँ झम्टनथाले तिनले ।
एक रात
जब धर्ती थियो गाढा निन्द्रामा
अचानक झुक्याएर हामीलाई
तिनले आफ्ना खूनी पञ्जाले जकडे । (प्रश्रित, २०५८ ः १९७)
यसरी एकातिर बन्दी कविको वर्ग छ जो शोषित, पीडित र अन्यायमा परेका जनताको मुक्तिका लागि युद्धमा होमिएको छ भने अर्कातिर मुलुकको शासक वर्ग छ जो आफ्नो सामन्ती शासन व्यवस्थालाई नै युगयुगसम्म कायम राख्न चाहन्छ र त्यसकै माध्यमबाट मुलुक र मुलुकबासीको दोहन गरेर पुस्तौं पुस्तासम्म मोज गर्न चाहन्छ । यी दुई क्रान्तिकारी र सत्ताधारी वर्गका बिचको द्वन्द्व नै प्रस्तुत काव्यको प्रमुख वैचारिक आधार हो ।
“काटे शरीर ढल्छ तर विश्वास ढल्दैन मेरो ।
मारे हाड–खोर गल्छ तर विचार गल्दैन मेरो ।” (प्रश्रित, २०५८ ः १९८) भन्दै काव्यभित्रका बन्दी कवि प्रश्रित जनताको मुक्तियुद्धमा समर्पित भएर जनताको विजयप्रतिको अटल विश्वास र त्यसप्रतिको आफ्नो दृढ संलग्नतालाई प्रकट गरिरहेका छन् । त्यस्तो एक्लो तर दृढनिश्चयी र स्वाभिमानी क्रान्तिकारीका विरुद्ध दर्जनौं व्यक्तिहरू खनिएर गोलघरमा भोटेताल्चा मारेर थुन्न पाउँदा सत्ताधारीहरू आफूले ठुलै पौरख गरेको ठान्न पुग्छन् । यहाँ क्रान्तिकारी कवि एक्लै देखिए पनि उनी एक्लै छैनन्, उनी एउटा नदीको भेलका प्रतिनिधि हुन् जसलाई थुन्न असम्भव छ । उनी आकाशमा धप्धपाएका सिङ्गै सूर्य हुन् जसको रापलाई हत्केलाले छेक्न असम्भव छ । त्यसैले कवि ती आततायीहरूको यस्तो मिथ्या सपनालाई व्यर्थ ठहराउँदै तिनलाई यसरी मूढको संज्ञा दिन पुग्छन् ः
थुन्न खोजे झैं नदीहरूको बाढीलाई,
एउटा पाँचऔंले हत्केला
आकाशमा टँगाएर
छेक्न खोजे झैं सूर्यको जम्मै प्रकाशलाई,
विवेकहीन मूढहरू (प्रश्रित, २०५८ ः १९९)
रम् रम् रक्सीको मिथ्या सपनामा
आततायीहरू एकछिन् व्यर्थै रमाए (प्रश्रित, २०५८ ः १९९)
यी बन्दी कविलाई आततायीहरूले गलाउने, झुक्याउने प्रयास गर्नु नै बेकार छ, किनभने उनी यस्ता यातना र आतङ्कबाट विचलित हुनेवाला छैनन् । बन्दी कवि सत्ताधारीहरूलाई जनद्रोही, देशद्रोही, युगद्रोही, हत्यारा र फासिस्ट भन्दै तिनले जति नै यन्त्रणा दिए पनि, कुनै पनि समय उनको हत्या समेत गर्न सक्ने भए पनि देश र जनताका मुक्तिअभियानको मार्गबाट आफू कहिल्यै विचलित नहुने दृढता व्यक्त गर्दछन् । खोरभित्रै सहिद भएका मैनाबहादुर र प्रचण्ड गोर्खाका खड्गमान सिंहको वीरतापूर्ण इतिहासबाट पनि कविले आफ्नो दृढ अठोटलाई अझ दरिलो बनाउन उत्साह र ओज पाएका छन् । पछिल्लो खड्गमान सिंह सिंहबाट लत्रेर स्याल हुन पुगे पनि अघिल्लो खड्गमानको वीरतापूर्ण इतिहासले बन्दी कविलाई सधैं आफ्नो अठोटमा दृढ रहन उत्साहित गरिरहेको छ । कविको अठोट यस्तो छ ः
म अनुभव गर्छु आफूलाई
खोरभित्रको दुर्धर्ष सिंह झैं
जो संजोगको फन्दामा यहाँ आएथ्यो
जो झुकेर खानेछैन कहिल्यै घाँस (प्रश्रित, २०५८ ः २०५)
बन्दी कवि र उनको वर्ग मुट्ठीभर शासक वर्गको अन्याय, अत्याचार, शोषण, उत्पीडनविरुद्ध सङ्घर्षमा ज्यान अर्पेर लागेको छ । त्यसैले यसरी थालिएको महाभियान कदापि रोकिने छैन चाहे गोलघरभित्र जति नै यातना खप्नुपरोस् । त्यसो त गोलघरभित्रको यातनाको विवरण कम रोमान्चकारी पीडादायक छैन र पदे पदे हत्याको खतरा समेत उनीमाथि मडारिइरहेको छ । तर त्यो असह्य पीडाको स्थिति पनि उनलाई बानी परिसकेको छ ः
“कतै ब्वाँसाहरूले मारिहाल्छन् कि” आशङ्काले
तपाईंहरूलाई बीचबीचमा झस्काइ पनि रहेको छ ।
तर नपरुन्जेल हो दमाली हो ! “डर” डरलाग्दो हुने
परिसकेपछि नेल र हत्कडी पनि बानी हुन्छन्
कालकोठरी पनि साथी हुन्छ,
कोर्रा, सिस्नो, खुर्सानी, आलपिन
बिजुलीको करेन्ट र जाडोको सिमेन्ट पनि
शरीरका सहज अभ्यास हुन्छन्
मृत्यु त झन् सजिलो महसुस हुनथाल्छ
यी यातनाहरूको बीच । (प्रश्रित, २०५८ ः २०८)
यो युद्ध कविको एक्लो युद्ध होइन । यसमा सारा न्यायप्रेमी जनताको सक्रिय साथ छ । यहाँ कविको कुनै व्यक्तिगत स्वार्थ छैन । कवि यही कुरालाई सङ्केत गर्दै भन्छन् ः
म दुःखी छु देशका यिनै दुःखले
मेरो छुट्टै अर्को कुनै दुःख छैन
म पिरिएको छु देशका यिनै पीरले
मेरो छुट्टै अर्को कुनै पीर छैन (प्रश्रित, २०५८ ः २१९)
मेरा विचार, सपना र भावनाहरू
संकल्प, विश्वास र कामनाहरू
सप्तगण्डकी र सप्तकोसीका सङ्गमहरू जस्तै
गाँसिएका छन् साथी हो
संघर्षमा तपाईंहरूकै साथ (प्रश्रित, २०५८ ः २१९)
यस कविताभित्र वर्गद्वन्द्व र क्रान्तिको चेतना मात्र होइन प्रत्यक्ष क्रान्तिको कथा नै अभिव्यक्त छ । म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासमा चित्रित क्रान्ति गर्ने भूमिगत शैलीको अनुकरण गर्दै पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध त्यसबेला नेपालमा भूमिगत रूपमा क्रियाशील नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) ले भूमिगत रूपमा सञ्चालन गरेको क्रान्ति अभियान र जनपरिचालनको दुरुस्त चित्र पनि काव्यभित्र उतारिएको छ । यहाँ एकातिर सारा न्यायप्रेमी, मुक्तिकामी जनता, आमा–दिदी–बहिनीहरू सत्ताधारी निशाचरहरूलाई सखाप पार्न र न्यायप्रेमी जनताको स्वतन्त्र राज कायम गर्न आफू पनि निशाचर नै बनेर बिरालोकै चालमा राती राती लालझण्डा अगाडि गोलबन्द हुँदै क्रान्तिको योजना बनाइरहेका छन् भने अर्कातिर शासक र तिनका अरौटे–भरौटेहरू ती जनताका न्यायप्रेमी आवाजलाई कुल्चँदै क्रान्तिकारीहरूलाई षडयन्त्रपूर्वक, बलपूर्वक समात्दै जेल–नेल र यातना दिँदै अनि हत्या समेत गर्दै जनताको क्रान्तिलाई असफल पार्ने दुश्चेष्टामा संलग्न छन्,तर जनताको शक्ति अजेय छ, दुर्जेय छ । त्यसैले कवि भन्छन् ः
मान्छे जब सल्कन्छ मुक्तिको प्रतिज्ञाले
बाँध्न सक्तैन उसलाई कुनै नेल र हत्कडीले
मान्छे जब ब्यूँझन्छ स्वतन्त्रताको आकांक्षाले
थुन्न सक्तैन उसलाई कुनै जेल र पर्खालले (प्रश्रित, २०५८ ः २२०)
अजेय छ हाम्रो श्रमिक–मुक्तिको महायात्रा !
अमर छ हाम्रो मानव–मुक्तिको अभियान ! (प्रश्रित, २०५८ ः २२०)
यसरी एकातिर बन्दी कवि प्रश्रित गोलघरभित्रको असह्य यातना र कठोर यन्त्रणाहरू सहँदै र पाइला पाइलामा मडारिइरहेको मृत्युको सम्भावनाका बिच पनि निरङ्कुश र जनविरोधी व्यवस्थाका विरुद्ध दुर्जेय किल्ला बनेर उभिएका छन् भने जेलबाहिर न्यायप्रेमी नेपाली जनता पनि त्यस्तो अन्यायी शासनव्यवस्थाको समूल अन्त्यका लागि दिन रात नभनी लागेका छन् । उनीहरू व्यक्तिगत स्वार्थलाई त्यागेर मुलुक र जनताको मुक्तिको महासङ्ग्राममा होमिएका छन् । यो व्यवस्थावादी वर्गसँगको जनताको वर्गीय युद्ध हो र यो युद्ध काव्यमा प्रस्तुत वर्गद्वन्द्वको अर्को आयाम पनि हो ।
वर्गद्वन्द्वको अर्को पक्ष नेपाली जनता र सत्ताधारीबीचको द्वन्द्व हो । भूमिगत रूपमा नेपाल कम्युनिस्ट पार्टी (माले) ले चलाएको अभियानअन्तर्गत त्यसका नेता कार्यकर्ताहरूबाट पाएको प्रशिक्षणबाट श्रमजीवी जनतामा पञ्चायती व्यवस्था र सामन्ती राजतन्त्रविरुद्ध जागरण आइसकेको छ । दरवार, व्यवस्था र यसका सञ्चालकहरूबाट भएको शोषण, अन्याय, जालझेल, उत्पीडनबारे जनता पूर्णतः परिचित भइसकेका छन् । तमाम श्रमजीवी, न्यायप्रेमी जनतामाथि सीमित व्यक्तिहरूले गरेको शासन अब जनताका लागि स्वीकार्य छैन भन्दै कवितामा जनताको अकाट्य निर्णयलाई यसरी व्यक्त गरिएको छ ः
त्यहाँ मुठी कसेर सबले भन्दैछन्
हामी “पन्चान्नब्बे” हरू “पाँच” मान्दैनौं
बहुमतको रगतले ढाडिएको
“पाँचको पन्चायत” मान्दैनौं (प्रश्रित, २०५८ ः २११)
त्यसैले अब जनता त्यस्तो जनविरोधी, जनघाती व्यवस्थाविरुद्ध एकजुट भएर उठिसकेका छन् । के बुढा–बुढी, के तरुण, के केटा–केटी सबै एक भएका छन्, जनविरोधी व्यवस्थाको समूल अन्त्य र जनवादी र न्यायप्रेमी राज्यव्यवस्थाको स्थापनाका लागि न्यायप्रेमी जनतामा दरिलो एकता स्थापित भएको छ । जातीयता, क्षेत्रीयता, सदरिया र पर्वते, आर्य र मङ्गोल सबै भेदभावका कुरा बिर्सेर एक भई नेपाली जनता अत्याचारी शासनको सट्टा नयाँ समाज जन्माउनका लागि कटिबद्ध बनेका छन् र त्यो जनताको समवेत शक्ति सत्ताधारीका लागि दुर्लङ्घ्य पहाड बनेर उभिँदै छ । सधैं निर्धा देखिने जनता आज सबल बनेर जागेका छन् । यही कुराको चित्रण यी पंक्तिमा भएको छ ः
आज त्यही धर्ती–सन्तति
उभिँदैछ भूपतिहरूका सामु दुर्लङ्घ्य पहाड भएर
खोस्दै आफ्नो भूमि, रक्षा–किल्ला ठडाइरहेछ (प्रश्रित, २०५८ ः २१६)
सामन्तवादी राजतन्त्रात्मक व्यवस्थाविरुद्ध न्यायप्रेमी मुक्तिकामी जनताले सशक्त संघर्ष गरेका छन् । संषर्घका क्रममा जुगौंदेखि अबला भनेर पछि पारिएका नारीहरू समेत आफूमाथि लादिएका सम्पूर्ण रूढिका बन्धन चुँडालेर हतियार लिएर निर्भीकतापूर्वक सिंह झैं युद्धमा होमिएका छन् ः
अर्कातिर जुगौंदेखि अबला ठानिएका
हाम्रा आमा, दिदी–बैनी र चेली–बेटीहरू
डर र संकोचलाई लात्तीले हानेर
रूढीका बन्धनहरू च्यात्चुत् पारेर
निर्भीक सिंहिनी जस्तै
आँखा टल्काउँदै रातमा
उसरी नै जत्थाजत्थामा
अँध्यारो चिर्दै लम्किरहेछन् मुक्ति ज्वाला झैं
र तिनका पटुकीमा घुसारेका
खुकुरी र खुर्पाका इस्पाती धारहरू
म छक्छक्ती देखिरहेछु र बूढी औंलाले छामिरहेछु । (प्रश्रित, २०५८ ः २०९)
सामन्ती राजतन्त्रका निशाचरहरूलाई मास्न नेपाली जनताले पनि निशाचरै भएर हिँडेका सन्दर्भहरू, भूमिगत भएर राती राती आन्दोलनका योजना बनाएका, जनचेतनाको विस्तारका लागि अघि बढाइएका प्रचार अभियानहरू, रातारात बस्ती बस्तीका झुप्रा बुकुराहरूमा भएका ससाना बैठकदेखि लिएर ठुल्ठुला गोष्ठी र सम्मेलनहरू, पार्टीका लालझण्डाका अगाडि मुट्ठी उठाएर क्रान्तिकारीहरूले आत्मसात् गरेका कसमका सन्दर्भहरू, जीवन क्रान्तिमै अर्पेर जनतालाई सामन्ती दासत्वबाट मुक्त गराइ छाड्ने अठोटका विवरणहरू काव्यमा कतै प्रत्यक्ष र कतै साङ्केतिक रूपमा अभिव्यक्त भएका छन् । जब सामन्तीका दलालहरू, जनताका दुस्मनहरू रक्सीको मातले मस्त हुन्छन् अनि जनताका दूतहरू जनतालाई जगाउँदै, सामन्तवादीविरोधी चेतनाले जनता ब्युँझाउँदै हिँड्दै छन् । त्यसकै फलस्वरूप न्यायप्रेमी जनता सामन्तवादी व्यवस्थाविरुद्ध एकजुट भएर संघर्षमा उत्रेका छन् । जुगौंदेखिका भोका नाङ्गा जनतामा जोस र मनोबल पलाएको छ । हली, गोठाला, ज्यामी र कमाराहरूमा ‘मालिक ताक्ने’ हिम्मत पनि जागेको छ । हिजोसम्मका शासित रैतीहरू आज तानाशाहहरूबाट राज्य सत्ता खोसेर आफैं हाँक्ने योजना बनाउँदै छन् । जनता–जनताका बिचको भेदभाव मेटिएर सबै एकै लक्ष्य, एउटै उद्देश्य प्राप्तिका लागि केन्द्रित भएका छन् । जनताको आवाजको बुलन्दीसँगै देश जुरुक्कै उठेको छ । जनतामा थपिएको नयाँ ऊर्जाले सिङ्गै देश अब उनीहरूकै हुनलागेको छ । त्यसैले कविता भन्छ ः
हो, वास्तवमा यो देश
पशुपतिको हातमा हैन,
यिनै युवाहरूको हातमा आएको छ,
किनभने,
यो संसार शेषनागको टाउकोमा हैन,
युवाशक्तिकै पाखुरामा अडिएको छ । (प्रश्रित, २०५८ ः २१५)
जुगौंदेखि हेपिएका, थिचिएका मजदुर, किसान, महिलामा आएको जागृतिले मुलुक नै उथलपुथल भएको छ । हिजोसम्म हेपिएका जनता आज सामन्तीहरूका लागि दुर्लङ्घ्य पहाड बनेर उभिएका छन् । मुलुकका हरेक तह र तप्काका जनसमुदाय एक भएर सामन्ती सत्ताविरुद्ध मैदानमा उत्रेका छन् । अब जनताका सामुन्ने कुनै शक्ति पनि टिक्न नसक्ने भएको छ । यसबाट भावी विजयको पनि सङ्केत मिलेको छ ः
यसरी जता हे¥यो उतै देखिन्छ, आज जागृतिको मिर्मिरे
जता छाम्यो उतै भेटिन्छ, आज उम्लेको तातो रगत्
जता फक्र्यो उतै सुनिन्छ, आज संघर्षको नयाँ विगुल
जता सुँघ्यो उतै पाइन्छ, भावी विजयको सुगन्धी संकेत । (प्रश्रित, २०५८ ः २१८)
यस प्रकार ‘गोलघरको सन्देश’ लघुकाव्यले नेपाली जनता र सामन्ती शासनव्यवस्थाका बिचको वर्गीय द्वन्द्वलाई सशक्त रूपमा प्रस्तुत गर्नुका साथै जनताले विजय प्राप्त गर्न लागेको स्थितिलाई समेत देखाएको छ । नेपाली जनताको यही आसन्न विजयको परिकल्पनाबाट कवि स्वयम्ले पनि नयाँ ऊर्जा प्राप्त गरिरहेका छन् जसका कारण उनी नेल, हत्कडी र असह्य यातनाका बिच पनि दृढ भएर आफ्नो अभियानमा अडिग रहन सकेका हुन् । यही कुरालाई कवितामा यसरी व्यक्त गरिएको छ ः
चारैतिरका यी विद्युत्मय सन्देशहरूको बीच
म कसरी सेनाउन सक्छु साथी हो !
म त उल्टै यस ऐतिहासिक घडीमा
दुश्मनहरूका टाउकामा फुट्नैलागेको
एटम बम जस्तै रन्किसकेको छु । (प्रश्रित, २०५८ ः २१८)
द्वन्द्वको अर्को पक्ष ‘प्रचण्ड गोर्खा’ का खड्गमान सिंह र १९८८ मा सहिद भएका मैनाबहादुरले राणा शासनविरुद्ध देखाएको वीरता रहेको छ । कवि÷काव्यनायक प्रश्रितले आफूलाई जेल, नेल र यातनाका बिच पनि दृढ रहेर कर्तव्यपथमा अडिग रहन उत्प्रेरित गर्ने कारकका रूपमा मैनाबहादुरको सहादत र ‘प्रचण्ड गोर्खा’ का वीर खड्गमान सिंहको वीरत्वपूर्ण गर्जनको ऐतिहासिक सन्दर्भलाई समेत अघि सारेका छन् । यही खोरमा १९८८ सालमा मैनाबहादुरले राणा शासनका सामु झुक्नुको सट्टा सहज रूपमा मृत्यु रोजेको र खड्गमान सिंहले भीम शमशेरलाई समेत थर्काएको प्रसङ्ग उक्काउँदै कवि प्रश्रितले खड्गमानले यसै गोलघरमा देखाएको वीरत्वपूर्ण क्रियाकलापले समेत आफूमा ऊर्जा भरेको उल्लेख यसरी गरेका छन् ः
त्यसबेला तिनी
वीरताको शानले चम्केका साँच्चैका “खड्ग” थिए,
देशका “मान” थिए, क्रान्तिका “सिंह” थिए ।
उनीहरूको गिरफ्तारीले
एकपटक कालो बादल छाए तापनि देशमा
“पिँजडा” भित्रबाटै ती प्रेरणाका आलोक थिए । –प्रश्रित, २०५८ ः २०२)
कविले त्यही वीर खड्गमान ‘सिंह’ बाट ‘स्याल’ हुन पुगेको विडम्बनाको पनि उल्लेख गर्दै पछिल्लो खड्गमान दुर्भाग्यवस लत्रन पुगे पनि बिस–बिस वर्षसम्म त्यही साँगुरो खोरमा थुनिएर, फलामे साङ्लामा जकडिएर कठोर यातना सहेर पनि राणा शासनलाई थर्काउने सिंह बनेको त्यो वीर खड्गमान आफ्ना लागि समेत शक्तिको स्रोत बनेको उल्लेख गरेका छन् ।
खड्गमान र मैनाबहादुरले गरेको यो संघर्ष राणाशाही विरुद्धको वर्गीय संघर्ष हो । उनीहरू अत्याचारी राणाहरूबाट मुलुक र मुलुकबासीलाई मुक्त गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि युद्धरत छन् । त्यसैले उनीहरूको युद्ध व्यक्तिगत नभएर राणाशाही विरुद्ध जनताको युद्ध हो; शासक वर्गका विरुद्ध जनताको वर्गीय युद्ध हो । यो यस काव्यमा प्रस्तुत वर्गद्वन्द्वको अर्को पक्ष हो जुन द्वन्द्वको मूल प्रकृति र राजतन्त्रात्मक पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनको मूल प्रकृति एउटै रहेको छ । यसबाट प्रचण्ड गोर्खाका वीरहरूले गरेको क्रान्ति र वर्तमान समयको क्रान्तिको अभीष्ट एउटै हो भन्ने स्पष्ट हुन्छ । त्यसैले यहाँ कवि प्रश्रित त्यो क्रान्तिबाट पनि उत्साहित र उत्प्रेरित बनेका देखिन्छन् ।
काव्यमा खड्गमान प्रकरणभन्दा अघि र पछिका पनि कैयन् न्यायप्रेमी, परिवर्तनकामी व्यक्तिहरू यस्तै अभियानहरू चलाउने क्रममा पक्राउ परी यस्तै कालकोठरीहरूमा यातनामय दिन काट्न बाध्य भएका थिए भने कतिले खोरभित्रै र कतिले खोरबाहिर लगिएर सहादत हुनु परेको थियो । कवितामा यस्ता वीर सेनानीहरूको बखान पनि गरिएको छ । त्यस्ता कैयन ज्ञात–अज्ञात वीर वीराङ्गनाहरूका रगतले यहाँको माटो भिजेको कुरा यस काव्यमा वर्णित छ । त्यस्ता निर्भीक योद्धाहरूको त्याग र बलिदान पनि वर्गद्वन्द्वकै अर्को पाटो हो ।
यस प्रकार ‘गोलघरको सन्देश’ लघु काव्यमा विविध आयामबाट वर्गद्वन्द्वलाई प्रस्तुत गरिएको छ । वर्गद्वन्द्वका ती बहुविध पक्षहरूमध्ये क्रान्तिकामी, मुक्तिकामी नेपाली जनताका प्रतिनिधिका रूपमा काव्यनायक कविले गोलघरभित्रको यातनापूर्ण जीवन भोग्दै सत्ताधारी तानाशाहहरूसँग गरेको सङ्घर्ष नै प्रमुख विषय बनेको देखिन्छ । त्यसै मुख्य विषयसँग अन्तर्सम्बन्धित भएर नेपाली जनता र निरङ्कुश सरकारका बिचको द्वन्द्वका साथै विभिन्न समयमा ज्ञात–अज्ञात क्रान्तिकारी वीर–वीराङ्गनाहरूले गरेको बलिदानपूर्ण सङ्घर्ष र राणा शासनविरुद्ध प्रचन्ड गोर्खाका मैनाबहादुर र खड्गमान सिंहका सङ्घर्षहरू आएका छन् । कवि प्रश्रितमा क्रान्तिप्रतिको उत्साह र वैचारिक दृढताका लागि प्रमुख उत्प्रेरक तŒवका रूपमा यी सङ्घर्षहरूको सन्दर्भ आएको देखिन्छ । सारतः अन्यायी सत्ताका विरुद्ध नेपाली जनताको न्यायपूर्ण वर्गसङ्घर्ष नै ‘गोलघरको सन्देश’ काव्यको मुख्य वैचारिक आधार हो र यही नै प्रस्तुत काव्यको प्रगतिवादी वैचारिकताको प्रमुख पक्ष पनि हो ।
यस बाहेक प्रगतिवादी वैचारिकताका अन्यान्य विविध पक्षहरू पनि काव्यभित्र आएका छन् । काव्यले युगौं युगदेखि अन्याय, अत्याचार, उत्पीडन र सामन्ती दासताको जाँतोमा पिसिएका निर्धा निमुखा जनताका पक्षमा आफूलाई उभ्याउँदै अन्यायीहरू विरुद्ध जागरणको स्वर उरालेको छ । त्यस्ता अन्याय र सामन्ती दासताका विरुद्ध जनतामा आएको जागृतिको बखान गर्दै प्रस्तुत काव्यले अब त्यस्ता जनविरोधी तŒवको अन्त्य नजिक आइसकेकाले जनताको विजय सुनिश्चित भएको उज्यालो भविष्यको सङ्केत पनि गरेको छ । यी पंक्तिहरूले यही कुरातर्फ सङ्केत गरेका छन् ः
जता फक्र्यो उतै सुनिन्छ, आज सङ्घर्षको नयाँ बिगुल
जता सुँघ्यो उतै पाइन्छ, भावी विजयको सुगन्धी सङ्केत (प्रश्रित, २०५८ ः २१८) ।
काव्यले क्षेत्रीय, जातीय, धार्मिक, सांस्कृतिक, लैङ्गिक आदि विविध प्रकारका विभेदहरूलाई बिर्सेर सबै क्षेत्रका, सबै धर्मका, सबै सांस्कृतिक पृष्ठभूमिका, सबै नश्लका नेपालीहरू एक भई साझा उद्देश्य र साझा ध्येयमा लागेको परिकल्पनाद्वारा विविधताभित्रै एकताको सन्देश प्रस्तुत गरेको छ । जनताको साझा लक्ष्य सामन्ती व्यवस्थाको समूल उच्छेद नै हो । त्यसैले प्रस्तुत काव्यले जनतामा रहेका जातीय, क्षेत्रीय, साम्प्रदायिक, सांस्कृतिक आदि अनेकन प्रकारका वैविध्यहरू केवल सामन्तहरूले जनतालाई विभाजित गरेर एकछत्र राज गर्न प्रयोग गरेका हथ्कन्डा मात्र हुन् भन्नेतर्फ सङ्केत गर्दै अन्ततः जनता त्यो भ्रमजालबाट मुक्त बनेर आफ्ना वर्गदुस्मन खत्तम गर्ने मार्गतिर प्रवृत्त हुन लागेको कुरालाई अघि सारेको छ । यसरी यस काव्यले मानिसलाई विभाजित गर्ने एउटै मात्र आधारका रूपमा वर्गीय विभेदलाई देखाउँदै विपन्न वा सर्वहारा वर्गमाथि सामन्त वर्गले अनेकौं बहाना बनाएर शासन गर्ने गरेको कुरालाई अघि सारेको छ भने त्यही विपन्न वा सर्वहारा वर्गको सामन्त वर्गमाथिको विजयलाई देखाउने प्रगतिवादी वैचारिक चेतलाई नै मुख्य रूपमा प्रकट गरेको छ । काव्यमा प्रस्तुत वर्गद्वन्द्वको मूल आधार पनि यही वर्गीय विभेद हो । काव्यमा चित्रित यो पाटो पनि प्रगतिवादी वैचारिकताको एउटा मुख्य पाटो हो ।
धार्मिक–आध्यात्मिक रहस्यवादको विरोध वा त्यसप्रतिको अविश्वास पनि काव्यले अघि सारेको अर्को वैचारिक पक्ष हो । यो पनि प्रगतिवादी वैचारिकताको एउटा प्रमुख वैशिष्ट्य हो । काव्यमा जगन्नियन्ता भनिएको ईश्वरको परिकल्पनाप्रति अविश्वास र विरोध प्रकट भएको छ । यो मुलुक पशुपतिनाथको हातमा छ अनि यो संसार शेषनागको टाउकामा अडेको छ भन्ने भ्रामक धार्मिक–आध्यात्मिक मान्यताको खण्डन गर्दैै संसारको सर्वोच्च शक्ति भनेको मानवीय शक्ति नै हो, अरू कुनै देव–देवी वा रहस्यात्मक तŒव होइन भन्ने प्रगतिवादी मान्यतालाई काव्यले यसरी अघि सारेको छ ः
हो, वास्तवमा यो देश
पशुपतिको हातमा हैन,
यिनै युवाहरूको हातमा आएको छ,
किनभने,
यो संसार शेषनागको टाउकोमा हैन,
युवाशक्तिकै पाखुरामा अडिएको छ (प्रश्रित, २०५८ ः २१५) ।
काव्यले नेपाल र नेपालीको अस्तित्वमाथि हुने गरेका विदेशी शक्तिको हस्तक्षेपको सन्दर्भ पनि उठाएको छ । काव्यमा विदेशीहरूको सेवामा नागरिक पठाउने कुराको घोर निन्दा र विरोध गरिएको छ । मुलुकका सत्ताधारीहरूले लाखौं युवाहरूलाई विदेश पठाएको, नेपाली चेलीहरूलाई बम्बइ, कलकत्ता र बैंकक पठाएर विदेशी जारका सामु मातृभूमिलाई निर्वस्त्र बनाएको, मुलुकको इज्जत प्रतिष्ठाको धज्जी उडाएको जस्ता प्रसङ्ग काव्यमा आएका छन् भने मुलुकमाथि हुने गरेको विदेशीहरूको थिचोमिचो र हस्तक्षेपको पनि यस काव्यले सशक्त विरोध गरेको छ । यस प्रकारको विदेशी प्रभुत्ववाद र साम्राज्यवादको विरोध पनि काव्यमा पाइने प्रगतिवादी वैचारिकताको एउटा पक्ष हो । काव्यमा मुलुकभित्रको पञ्चायतको मात्र होइन बाहिरको साम्राज्यवाद, उपनिवेशवादको समेत विरोध गर्ने र विदेशीहरूको प्रभुत्वबाट मुलुकलाई मुक्त गरिछाड्ने जनताको उद्घोष यसरी व्यक्त भएको छ ः
न हामी विदेशको मान्छौं
साम्राज्य, उपनिवेश, युद्ध, प्रभुत्व र अणुबमहरूको
विश्वघाती पंचायत (प्रश्रित, २०५८ ः २११)
दलालहरूको नाकनाकमा सुर्तीको धूलो ठोकेर
फुत्काउँदैछ दाम्लो आफ्नी कामधेनुको
जबर्जस्ती विदेशी कुबेरहरूको पञ्जाबाट । (प्रश्रित, २०५८ ः २१६)
प्रगतिवाद विश्वलाई एउटै सूत्रमा बाँध्न चाहने अन्तर्राष्ट्रियतावादी विचार पनि हो । वर्गविहीन, राज्यविहीन, भेदभावरहित समाजको चाहना राख्ने प्रगतिवादी दृष्टिकोण पनि यस काव्यमा कतिपय सन्दर्भमा आएका छन् । काव्यनायकले यही कुरालाई आज नेपाली जनता जुन लक्ष्य र उद्देश्यका साथ आन्दोलनरत छन् त्यही लक्ष्य र उद्देश्य बोकेर त्यही शैलीमा संसारकै न्यायप्रेमी जनताहरू सामन्ती अधिनायकत्वलाई मास्न लागि परेको कुरालाई सन्देशका रूपमा काव्यमा यसरी व्यक्त गरेका छन् ः
एक ठाउँ हैन, देशैभरि
देशैभरि हैन, संसारैभरि
शान्तिका दूतहरू, निशाचरहरूलाई मास्न
निशाचरै बनेर हिँडेका तस्वीरहरू (प्रश्रित, २०५८ ः २०९)
देश र संसारको सारा अँध्यारो मेटाउन
रातो झण्डातिर फर्केर उठ्छन्
संकल्पले कस्सिएका दुर्जेय मुट्ठीहरू ! (प्रश्रित, २०५८ ः २१२)
“विश्वका ज्यामी – एक हौं” को महान् घोषले
डाँडा–काँडा तराईमा “मई दिवस” घन्काइरहेछ । (प्रश्रित, २०५८ ः २१६)
काव्यभित्र आएका यी विविध सन्दर्भहरूले एकातर्फ मुलुकभित्रका विदेशी दलालहरू र विदेशी साम्राज्यवाद, प्रभुत्ववाद, उपनिवेशवाद जस्ता प्रवृत्तिको सशक्त विरोध गरेको देखाउँछन् भने अर्कातर्फ न्यायप्रेमी नेपाली जनताले फासिस्ट सत्ताका विरुद्ध गरेको संघर्षलाई संसारकै न्यायप्रेमी जनताको संघर्षसँग जोड्दै त्यो संघर्षलाई एउटा अप्रतिरोध्य महायात्राका रूपमा परिकल्पना गरेर संसार नै बदल्न थालिएको अन्तर्राष्ट्रिय महाभियानसँग जोडेका पनि छन् । कविताको यस उद्धृतांशले यसै कुराको पुष्टि गर्दछ ः
अप्रतिरोध्य छ हाम्रो
कोलम्बस र गागरिनको महायात्रा (प्रश्रित, २०५८ ः २२०)
यस प्रकार प्रस्तुत काव्यमा प्रगतिवादी वैचारिकता अन्तर्गत वर्गद्वन्द्वका विविध आयामहरूको प्रस्तुतिका साथै विविध खाले सामाजिक अन्याय, जातीय, क्षेत्रीय, सांस्कृतिक आदि विविध पक्षबाट जनतालाई विभाजित गर्ने विभेदकारी तŒवहरू, धार्मिक–आध्यात्मिक रहस्यवाद, विदेशी हस्तक्षेप र साम्राज्यवादी–प्रभुत्ववादी प्रवृत्ति आदि विविध तŒवहरूको समेत विरोध गरिएको छ भने नेपाली जनताको मुक्तिको संघर्षलाई संसारकै जनताको मुक्ति संग्रामकै एक अङ्गका रूपमा समेत चित्रण गरिएको छ ।
३.५ प्रगतिवादी वैचारिकताका दृष्टिले तुलना र निष्कर्ष
प्रगतिवादी आधारभूत मुख्य चेतना भनेको वर्गीय चेतना हो । वर्गीय चेतना एवम् वर्गसंघर्षका दृष्टिबाट हेर्दा केही मात्रात्मक एवम् पद्धतिगत भिन्नता रहे पनि तुल्य तिनवटै कृतिमा वर्गचेतनाको उपस्थिति देखिन्छ । तिनवटै कवितामा वर्गीय आधारमा द्विधाविभक्त समाज रहेको छ । त्यो विभाजन वर्गीय आधारकै विभाजन हो । तिनवटै कृतिमा शासक वर्ग र शासित वर्गका बिचको वर्गीय तनाव र द्वन्द्व मुखरित भएको देखिन्छ ।
‘पागल’ कविताभित्रको समाजमा एकातिर “डँडाल्नो भाँचेर श्रम गर्ने” श्रमिक वर्ग छ भने अर्कातिर “रन्डीको नाच” मा रमाउने सामन्त वर्ग छ । यी दुई वर्गबिच प्रत्यक्ष द्वन्द्व नदेखिए पनि श्रमी वर्गमाथि देखिएको अन्याय र जालझेलले कविको मन अत्यन्त आक्रोशित बनेको छ, अन्यायविरुद्ध मुर्मुरिएको छ । यहाँ अन्यायी पक्ष र अन्याय सहने एउटा पक्ष निष्क्रिय देखिए पनि वा उनीहरू कविको विद्रोहचेतनाप्रति उदासीन देखिए पनि कविमनभित्रको मुर्मुर र तनावले द्वन्द्वको छनक भने दिएको छ । ‘पागल’ मा अभिव्यक्त द्वन्द्व सामाजिक वर्गद्वन्द्वका रूपमा प्रत्यक्ष रूपमा नदेखिई कविको वैयक्तिक मानसिक द्वन्द्वकै रूपमा देखिन्छ तापनि कविमा समाजमा रहेका बेथितिविरुद्ध आफैं बौलाहा बनेर खनिने चाहना वा आवेग÷उत्तेजना सृजना भएको स्थिति छ । यसले कविको त्यो विद्रोह व्यक्तिगत स्वार्थका लागि नभई सम्पूर्ण दमित र पीडितहरूको सामूहिक हितका लागि प्रकट भएको देखाउँछ । त्यसैले यो कविको वैयक्तिक मात्र नभई अन्यायमा परेका समग्र वर्गको अन्यायीविरुद्धको वर्गद्वन्द्वकै रूपमा आएको देखिन्छ । यहाँ कविको आक्रोश र उत्तेजनाले सामाजिक अन्यायविरोधी चेतनाको जागरणतर्फ सङ्केत गरेको छ । ‘हामी बौलाहाहरू’ मा वर्गीय द्वन्द्व अलि स्पष्ट रूपमै मुखर भएको देखिन्छ । यहाँ अभिधात्मक अर्थस्तरका साथै ध्वन्यात्मक अर्थस्तरबाट व्यक्त दुई तहको अर्थ समेत गरी द्वन्द्वका तिन आयामको प्रस्तुति देखिन्छ । ‘पागल’ मा कविमनको मुर्मुर र एकपक्षीय तनाव मात्र देखिन्छ, समाजमा रहेका अन्याय र बेथिति देखेर कवि मन उद्वेलित मात्र हुन्छ, अन्यायी संसारमाथि जाइलाग्ने कल्पनामा मात्र सीमित देखिन्छ । ‘हामी बौलाहाहरू’ मा भने पीडित वर्ग स्वयम् सचेत छ र ऊ आफूमाथि भएका अन्यायविरुद्ध जाइलाग्ने स्थितिमा देखिन्छ । ‘पागल’ मा पीडित एवम् पीडक पक्ष दुवै उदासीन देखिन्छन्, केवल कविको सचेत मन मात्र सक्रिय भएर अन्यायको विरोध गर्दछ । ‘गोलघरको सन्देश’ चाहिँ क्रान्तिकै अभिव्यक्ति भएको हुनाले र स्वयम् काव्यनायक कवि नै क्रान्तिवीरका रूपमा रहेको हुनाले वर्गद्वन्द्वको सर्वाधिक सशक्त अभिव्यक्ति यसमै मुखरित भएको देखिन्छ । द्वन्द्वका बहुविध पक्षहरूको अभिव्यक्ति यस काव्यमा प्रकट भएको छ । काव्यनायक कवि प्रश्रितको संघर्ष गोलघरका आततायी प्रहरी र मुलुकको सत्ताधारी वर्गसँग, न्यायप्रेमी नेपाली जनताको संघर्ष जनताको मुक्तिका लागि निरङ्कुश राजतन्त्रात्मक शासन व्यवस्थासँग र मैनाबहादुर खड्गमान सिंहको संघर्ष राणाशाहीसँग जीवन्त बनेर देखिएको छ । यीबाहेक विभिन्न समयमा जनताको मुक्तियुद्धमा होमिएका कैयन् वीरवीराङ्गनाहरूका बलिदानपूर्ण एवम् सहादतपूर्ण संघर्षहरूको समेत सन्दर्भ काव्यभित्र वर्णित छ ।
यस प्रकार वर्गचेतनाका आधारबाट हेर्दा तिनवटै रचनामा वर्गविभक्त समाज रहेको देखिन्छ भने तिनै रचनाभित्र आएको समाज शोषण, उत्पीडन, अन्यायग्रस्त छ र तिनवटैमा त्यस्ता अन्याय, शोषण आदिबाट उन्मुक्तिको आकांक्षा व्यक्त भएको छ । त्यस आकांक्षाको अभिव्यक्ति तिनवटै रचनामा वर्गीय आधारबाटै भएको छ । अन्याय, शोषणबाट उन्मुक्तिको माध्यम वर्गद्वन्द्व नै हो । त्यो वर्गद्वन्द्व ‘पागल’ कवितामा अभिव्यक्त कविको आक्रोशमा साङ्केतिक रूपमा आएको छ भने ‘हामी बौलाहाहरू’ कवितामा अन्यायविरुद्ध संघर्ष गर्ने र अन्यायीलाई चपरीमुनि सुताइछाड्ने चेतावनीको स्तरसम्म स्पष्ट रूप लिएर देखिएको छ । ‘गोलघरको सन्देश’ भने मुख्यतः वर्गसंघर्षकै अभिव्यक्ति भएकाले यसभित्र भने संघर्षका अनेक आयामहरू समेत सशक्त रूपमा प्रस्तुत भएको पाइन्छ । यस काव्यमा जनताको हतियारबद्ध युद्धकै सन्दर्भ समेत आएको हुनाले केवल कल्पना र चेतावनीका रूपमा मात्र नभई प्रत्यक्ष वर्गद्वन्द्वकै अभिव्यक्ति भएको स्पष्ट रूपमा देखिन्छ ।
प्रगतिवादी वैचारिकताको अर्को पाटो क्रान्तिचेतना हो । तिनवटै रचनामा क्रान्तिचेतनाको अभिव्यक्ति भएको छ । वर्गीय दृष्टिकोणमा क्रान्तिको लक्ष्य वर्गदुस्मन हुन्छ । यी तिनवटै रचनाभित्र वर्गदुस्मनविरुद्धको क्रान्तिचेतको अभिव्यक्ति पाइन्छ । ‘पागल’ मा वर्गदुस्मनका रूपमा जालझेल गरेर र छलप्रपञ्च रचेर निर्धा र सोझालाई झुक्याउने, दुःख दिने व्यक्तिहरूको समूह रहेको देखिन्छ भने ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ मा भने मूलतः तत्कालीन शासन व्यवस्था र त्यसका सञ्चालकहरू रहेका छन् । ‘पागल’ मा वर्गदुस्मन व्यक्ति मात्र छन् ती पनि असङ्गठित रूपमा । त्यहाँ अन्यायी वा पीडकहरूलाई कुनै साङ्गठनिक शक्तिको बल प्राप्त छैन । त्यहाँको राजनीतिक परिवेश प्रजातान्त्रिक भएकाले त्यहाँ व्यवस्थाले होइन त्यस व्यवस्थाका आडमा कुत्सित उद्देश्य भएका स्वार्थी तŒवहरूले मात्र जनतालाई सताएका हुन् । यस कारण ‘पागल’ मा व्यक्त क्रान्तिचेत यिनै दुराचारीहरूविरुद्ध मात्र लक्ष्यित छ । देवकोटाको वैयक्तिक आक्रोश त्यही उपचारको लक्ष्यमा केन्द्रित रहेको छ । ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ मा भने अन्यायीहरू÷वर्गदुस्मनहरू संगठित रहेका देखिन्छन् । उनीहरूलार्इृ निरङ्कुश एवम् सामन्ती राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको अडेसो प्राप्त छ । त्यसैले ‘पागल’ को भन्दा यी दुईको वर्गदुस्मन बढी सशक्त र जटिल प्रकृतिको हुनु स्वाभाविकै हो । यहाँ ‘पागल’ मा झैं व्यक्तिका दुष्प्रवृत्ति मात्र नासेर पुग्दैन, सिङ्गै व्यवस्थाको समूल उच्छेद आवश्यक छ । यद्यपि ‘हामी बौलाहाहरू’ का वर्गदुस्मन पनि व्यक्तिकै रूपमा देखिन्छन्, त्यहाँ कुनै शासन पद्धति वा राजनीतिक व्यवस्थाको उल्लेख छैन तापनि कविता रचना हुँदाको परिवेश र कविताभित्रको विषयवस्तुका आधारबाट हेर्दा त्यहाँका वर्गदुस्मन कुनै राजनीतिक पद्धतिकै अडेसो लागेको छर्लङ्ग हुन्छ । त्यसैले ‘हामी बौलाहाहरू’ भित्रका ‘सज्जनहरू’ तत्कालीन निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाकै परिचालकहरू हुन् र तिनीहरूको मूल आधार बनेको तत्कालीन शासन व्यवस्थाकै समाप्ति ‘हामी बौलाहाहरू’ को पनि अभीष्ट हो । तर पनि भट्टको क्रान्तिको पहिलो अभीष्ट सुधार रहेको देखिन्छ त्यसपछि मात्र परिवर्तन वा सामाजिक रूपान्तरण । उनले अन्यायीहरूसँग प्रथमतः सुधारको माग गरेका छन्, त्यो नभए मात्र क्रान्तिका माध्यमबाट ‘अन्यायीलाई चपरीमुनि सुताइछाड्ने’ अठोट व्यक्त गरेका छन् । भट्टको यो ‘नत्रवाद’ ले क्रान्तिको पहिलो अभीष्ट समाजको आमूल रूपान्तरणलाई भन्दा पनि सुधारलाई बनाएको देखिन्छ, त्यसपछि मात्र व्यवस्थाको समाप्ति । ‘गोलघरको सन्देश’ भने क्रान्तिकै अभिव्यक्ति भएको हुनाले त्यहाँ स्पष्ट रूपमा व्यवस्था र त्यसभित्र सक्रिय पक्षहरू नै वर्गदुस्मन रहेको कुरा छर्लङ्ग नै छ । ‘गोलघरको सन्देश’ का कविलाई ‘हामी बौलाहाहरू’ का कविलाई झैं चेतावनीको भाषाले सत्ताधारीहरूमा परिवर्तन हुने कुरामा रत्तिभर विश्वास छैन भन्ने स्पष्ट छ । ‘हामी बौलाहाहरू’ मा कवि भट्ट सत्ताधारीको चरित्र र व्यवहारमा परिवर्तन हुने कुराप्रति किञ्चित् मात्रामै भए पनि आशावादी देखिन्छन् तर ‘गोलघरको सन्देश’ का प्रश्रितमा त्यो आशा पूर्णतः समाप्त भइसकेको छ । उनी सत्ताधारीमा हुनसक्ने परिवर्तनबाट सन्तुष्ट हुन पनि सक्दैनन्, त्यसैले उनी त्यो व्यवस्था र त्यसको आधार बनेको सामन्तवादी निरङ्कुश राजतन्त्रको अन्त्य र जनगणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापनाका लागि ज्यान त्यजेर नै समर्पित भएका देखिन्छन् । त्यसैले यस काव्यले जनगणतन्त्र नेपालको स्थापना नै क्रान्तिको मुख्य लक्ष्य रहेको कुरालाई स्पष्टै उल्लेख गरेको छ ।
यस प्रकार ‘पागल’ ले सुधारलाई क्रान्तिको लक्ष्य बनाएको देखिन्छ भने ‘हामी बौलाहाहरू’ ले प्रथमतः सुधार र द्वितीयतः सामाजिक परिवर्तन÷रूपान्तरणलाई आफ्नो क्रान्तिको अभीष्ट लक्ष्य बनाएको देखिन्छ । ‘गोलघरको सन्देश’ ले भने यी दुई रचनाभन्दा अघि बढेर व्यवस्थाकै समूल उच्छेदका साथ समाजको आमूल रूपान्तरणलाई नै क्रान्तिको अभीष्ट बनाएको देखिन्छ । यसरी यी तिनवटा रचनामा उत्तरोत्तर रूपमा क्रान्तिको लक्ष्य सामाजिक रूपान्तरण र राज्यव्यवस्थाकै परिवर्तनतर्फ क्रमिक रूपमा उन्नत हुँदै गएको देखिन्छ ।
सबै प्रकारका अन्याय, शोषण, जालझेल, उत्पीडन, अत्याचार आदिका विरुद्ध विद्रोहको अभिव्यक्ति प्रगतिवादी वैचारिकताको अर्को पक्ष हो । तुल्य तिनैवटा रचनामा यस्ता अन्याय, जालझेल, अत्याचार, शोषण–उत्पीडन आदिका विरुद्ध सशक्त विद्रोह प्रकट गरिएको छ । ‘पागल’ मा ‘अपागल’ कवि (देवकोटा) लाई ‘पागल’ बनाइएको सन्दर्भबाट मात्र होइन निर्धा र लाटा सुधा जनतालाई जाली र बेइमानीहरूले झुक्याएको, ठगेको र शोषण–अन्याय गरेको सन्दर्भबाट समेत आक्रोशित बनेर कवि देवकोटाले त्यसका विरुद्ध सशक्त विद्रोह बोलेका छन् भने ‘हामी बौलाहाहरू’ मा पनि बौलाहाहरू अन्यायपूर्वक, जालझेलपूर्वक र षडयन्त्रपूर्वक जेलमा थुनिएको परिस्थितिबाट कविमा विद्रोह जन्मेको छ । अभिधात्मक तहबाट मात्र होइन, ध्वन्यात्मक अर्थसापेक्षबाट समेत यस कवितामा अन्याय र जालझेलविरुद्ध विद्रोहको अभिव्यञ्जना भएको छ । ‘गोलघरको सन्देश’ मा अझ युगौंदेखिको सामन्ती दासता, शोषण, थिचोमिचो र अन्यायका विरुद्ध क्रान्तिको शङ्खघोष गरिएको छ । यो काव्य सामन्ती अन्याय अत्याचारकै विरुद्ध विद्रोहको अभिव्यक्ति हो । त्यसैले यसले सामन्तवादी सत्ताका विरुद्ध विद्रोहका ज्वारहरू नै सिर्जना गरेको छ । ‘पागल’ मा कवि देवकोटाको भावुकता जाल–झेल–प्रपञ्च र सामाजिक अन्यायका विरुद्ध सर्वाधिक सशक्त बनेर खनिएको देखिन्छ । कविको स्वच्छन्दतावादी भावुकता पूर्वीय–पाश्चात्य पौराणिक मिथकीय सन्दर्भहरूको समेत सहारा लिँदै समाजका विसङ्गतिहरू विरुद्ध बडवानल झैं विदग्धकारी, प्रलयङ्कारी बनेर वर्षिएको देखिन्छ । प्रगतिवादी विद्रोहात्मकता अन्य दुई रचनामा सहज–स्वाभाविक अभिव्यक्तिका रूपमा सरल बनेर अभिव्यक्तिएको देखिन्छ । विद्रोहकै अभिव्यक्तिका रूपमा तिनवटै रचना आएका छन् भने विद्रोह–चेतनाको अभिव्यक्ति÷प्रकटीकरणको सशक्तता भने स्वच्छन्दतावादी कलात्मकताको स्पर्श एवम् विविध मिथकीय सन्दर्भका कारण ‘पागल’ मा बढी देखिन्छ । यसै हुनाले अरू दुई रचनाका तुलनामा ‘पागल’ को विद्रोहात्मकता बढी मर्मभेदी र जीवन्त पनि बनेको देखिन्छ ।
अन्ध परम्परा, धर्मान्धता, रूढिवाद आदि पक्षहरूप्रतिको विरोधका हिसाबले ‘पागल’ केही कमजोर देखिन्छ । स्वच्छन्दतावादी रहस्यवादको प्रभाव कवितामा स्पष्ट देखिन्छ भने केही आध्यात्मिक एवम् मिथकीय सन्दर्भको परिकल्पना पनि भएकाले कवितामा त्यस्ता रहस्यात्मक तŒवको विरोध हुनुको सट्टा तिनकै सहयोग लिइएको स्पष्ट हुन्छ । ‘हामी बौलाहाहरू’ मा त्यस्ता पक्षको उल्लेख भएको पाइन्न । एक ठाउँमा काल्पनिक शिवको सन्दर्भ आएको भए पनि त्यो हिमालयको स्वरूपसँग सम्बद्ध रहेकाले खास उल्लेख्य देखिँदैन । ‘गोलघरको सन्देश’ मा भने विभिन्न सन्दर्भमा यस्ता रहस्यात्मक विषयको चर्चा भएको देखिन्छ । त्यस्ता प्रसङ्गमध्ये भूतप्रेतलाई रहस्यमय तŒवका रूपमा नभई जनता सताउने अन्यायीहरूका रूपमा चित्रण गरिएको छ भने मुलुकलाई पशुपतिले रक्षा गरेका छन्, संसार शेषनागको टाउकोमा अडेको छ जस्ता भ्रामक धारणाको खण्डन गर्दै मुलुक र संसारलाई हाँक्ने शक्ति त्यस्तो काल्पनिक शिव वा शेषनाग नभई युवा शक्ति नै भएको सत्य प्रस्तुत गरिएको छ । यसै गरी जातीयता र विविध खाले साम्प्रदायिक विभेदको पनि यसमा विरोध गरिएको छ । ‘पागल’ र ‘हामी बौलाहाहरू’ मा भने यस्ता साम्प्रदायिकता सम्बन्धी सन्दर्भहरू आएका छैनन् ।
समग्रमा भन्दा क्रान्तिको चाहना र द्वन्द्वात्मकताको प्रस्तुति, सामाजिक अन्याय र जालझेल जस्ता कुराप्रतिको विरोध र विद्रोह एवम् मानवतावादको अभिव्यक्ति ‘पागल’ कवितामा प्रस्तुत प्रगतिवादी वैचारिकताका आधारहरू हुन् भने ‘हामी बौलाहाहरू’ मा पनि प्रायः तिनै कुराहरू अलि बढी वैचारिक स्पष्टता तथा यथार्थपरक एवम् वस्तुपरक अभिव्यक्तिका साथ आएका छन् । ‘गोलघरको सन्देश’ सामन्तवादी निरङ्कुश सत्ताका विरुद्धको क्रान्तिकै अभिव्यक्ति भएको हुनाले प्रगतिवादी वैचारिकताका सबै जसो विषय यसभित्र समेटिएको देखिन्छ ।
प्रस्तुतिको पद्धतिका हिसाबले ‘पागल’ मा प्रस्तुत प्रगतिवादी वैचारिकता स्वच्छन्दतावादी भावुकताको उच्च ज्वारसँगै लपेटिएर बढी अन्तर्निविष्ट भएर आएको देखिन्छ । प्रस्तुति पद्धतिका दृष्टिले ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ दुवै बढी यथार्थपरक एवम् वस्तुपरक देखिँदा देखिँदै पनि यस प्रकारको भावुकताको किञ्चित् स्पर्श भने ‘गोलघरको सन्देश’ मा पनि भएकै देखिन्छ । प्रगतिवादी काव्यशिल्पले यथार्थपरक र वस्तुपरक अभिव्यक्तिकै आग्रह राख्ने हुँदा ‘पागल’ मा देखिने भावुकताको आधिक्यलाई ऋणात्मक पक्षकै रूपमा लिन सकिए पनि भावुकताले कलात्मकतालाई उठाउने र कलात्मकता विना काव्य काव्य नभएर विचारको थुप्रो वा नारा मात्र हुने भएकाले त्यस्तो भावुकताको किञ्चित् प्रयोग प्रगतिवादी साहित्यले पनि स्वीकार्नै पर्ने देखिन्छ । यस दृष्टिकोणबाट हेर्दा ‘गोलघरको सन्देश’ मा कलात्मकता र विचारको समुचित सन्तुलन भएकाले नै यसले ‘हामी बौलाहाहरू’ का तुलनामा काव्यात्मक उचाइ प्राप्त गरेको देखिन्छ भने ‘हामी बौलाहाहरू’ को वैचारिकता बढी ठोस र शुष्क बनेर आएको देखिन्छ । सार के हो भने ‘पागल’ कवितामा वैचारिहताभन्दा भावुकताको ज्वार बढी, ‘हामी बौलाहाहरू’ मा भावुकताभन्दा वैचारिकता प्रबल र ‘गोलघरको सन्देश’ काव्यमा दुवैको सन्तुलन यी तिन रचनाबिचको प्रस्तुतिगत भिन्नता हो । यसर्थ प्रगतिवादी वैचारिकताका दृष्टिले ‘गोलघरको सन्देश’ काव्य यी तिनमध्ये उत्कृष्ट देखिन्छ ।
अर्थसापेक्षका हिसाबले ‘पागल’ कवितामा लाक्षणिक अर्थको प्रधानता देखिन्छ भने ‘गोलघरको सन्देश’ काव्यको अर्थसापेक्ष अभिधात्मक नै रहेको छ । ‘हामी बौलाहाहरू’ कवितामा भने अभिधात्मकताका साथै अन्योक्तिमूलकता÷ध्वन्यात्मकता समेत रहेको देखिन्छ । बौलाहाहरूलाई ध्वन्यात्मक अर्थमा नेपाली जनता तथा क्रान्तिकारी बन्दीहरूको सन्दर्भ समेत गरी दुई तहबाट अथ्र्याउन सकिने देखिन्छ । यसर्थ यसका अर्थका तिन तह देखिन्छन् । यसरी ‘पागल’ लाक्षणिक अर्थप्रधान, ‘हामी बौलाहाहरू’ ध्वन्यात्मक÷अन्योक्तिमूलक अर्थप्रधान र ‘गोलघरको सन्देश’ अभिधात्मक अर्थप्रधान रहेका देखिन्छन् ।
३.६ प्रगतिवादी वैचारिकताका दृष्टिले मूल्याङ्कन र निष्कर्ष
खास गरी २००६–००७ सालतिरैदेखि समाजवादी विचारतिर झुकाउ राख्न थालेका देवकोटाले ‘कृषिबाला’ जस्तो वर्गद्वन्द्वको सशक्त प्रस्तुति भएको गीतिनाटक, ‘ईश्वरवाद र अनीश्वरवाद’ जस्तो निरीश्वरवादी चेतनाको प्रस्तुति रहेको निबन्ध र ‘तरुणतपसी प्रदक्षिणा’ जस्तो माक्र्सवादी सौन्दर्यशास्त्रीय आधारमा गरिएको समालोचनाका माध्यमबाट माक्र्सवादी वैचारिकता र साहित्य एवम् सौन्दर्यशास्त्रप्रतिको आफ्नो आकर्षण र झुकावलाई देखाइसकेका हुन् । देवकोटाको यही वैचारिक परिप्रेक्ष्यमा रचना भएको ‘पागल’ यसै कारण पनि स्वच्छन्दतावादी भावुकताको मात्र उपज नभई समाजसचेत र अझ प्रगतिवादी वैचारिकताकै उपज भएको कुरा स्पष्ट हुन्छ । ‘पागल’ नेपाली काव्य परम्पराकै उत्कृष्ट प्रगतिवादी कविता हो भन्ने विभिन्न समालोचकहरूको मूल्याङ्कनको मुख्य आधार पनि यही नै हो । यद्यपि कविताभित्र प्रगतिवादी वैचारिकतासचेत कवि देवकोटाको अन्तर्विरोध मूल वर्गदुस्मनसँग नभई त्यसका परिधीय पक्षमै सीमित देखिन्छ तापनि समाजमा देखिने जालझेल, छलप्रपञ्च, शोषण, जालझेल, ठगी, अन्याय जस्ता सामाजिक दुष्प्रवृत्तिबाट समाजलाई मुक्त पार्ने आकांक्षा पनि प्रगतिवादी वैचारिकताकै एउटा महŒवपूर्ण पाटो हो । भर्खरै प्रजातान्त्रिक व्यवस्थाको भुकभुके उज्यालो मुलुकले पाउन लागेको त्यो परिस्थितिमा उनले समाजभित्र जुन विसङ्गति भोगे, देखे र अनुभूत गरे त्यसैसँगको अन्तर्विरोध मात्र ‘पागल’ कविताका रूपमा प्रकट भएको हो । त्यसैले ‘गोलघरको सन्देश’ मा प्रगतिवादी वैचारिकताको शास्त्रीय मर्यादा अनुकूलका अधिकांश पक्षहरू जसरी स्पष्ट र वस्तुगत रूपमा देखिएका छन् ती सबै यसमा नदेखिनु त्यति अस्वाभाविक पनि होइन नै । अर्को कुरा, कवि देवकोटाको त्यो वैचारिकता स्वच्छन्दतावादी भावुकताको चापमा परेर अझ झिनो रूपमा मात्र प्रकट भई कविको वैयक्तिक पीडा, असन्तोष र तज्जन्य आक्रोशको अभिव्यक्ति प्रबल भएर देखिनु प्रगतिवादी सौन्दर्यशास्त्रीय दृष्टिमा अझ ऋणात्मक पक्ष नै बन्न पुगेको स्थिति रहेको देखिन्छ । त्यस्तै, मानवताको रक्षाका लागि आफूलाई मेटाएर आफ्नो हड्डी समेत दान गर्न सक्ने पूर्वीय पौराणिक पात्र दधीचि र मानव कल्याणका निम्ति स्वर्गाग्नि चोरेर मानवलाई प्रदान गरी दण्डको भागी बन्ने पश्चिमी पुराकथाको महान् मानवतावादी पात्र प्रमिथस झैं देवकोटा पनि आफैं पीडित वर्गको उद्धार गर्नका लागि पीडक वर्गप्रति जाइलाग्न चाहन्छन्, पीडित वर्गलाई भने अघि सार्दैनन् । पीडक वर्गका विरुद्ध पीडित वर्ग आफैं अग्रसर भई युद्ध÷संघर्षद्वारा पीडकलाई परास्त गर्नुपर्ने प्रगतिवादी सौन्दर्यशास्त्रीय मान्यताका दृष्टिले यो पनि ‘पागल’ कविताको दुर्बल पक्षकै रूपमा रहेको देखिन्छ । यसरी वैचारिक प्रस्तुतिका दृष्टिले प्रगतिवादी सौन्दर्यशास्त्रीय मान्यताका आधारमा हेर्दा अन्य दुई रचनाभन्दा ‘पागल’ कमजोर नै देखिन्छ भने स्वच्छन्दतावादी कलात्मक उचाइका दृष्टिले भने यसले अरू दुवै रचनालाई निकै पछि पारेको छ । अथवा यसो भनौं; ‘पागल’ स्वच्छन्दतावादी कलात्मकताका दृष्टिले ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ भन्दा निकै शक्तिशाली देखिन्छ भने माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले तीभन्दा उत्तिकै कमजोर पनि ।
‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ दुवैको रचना निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको दबदबापूर्ण एवम् आततायी राज हुँदाको परिवेशमा भएको हो । ‘पागल’ रचना हुँदाको डेढ दशकपछि ‘हामी बौलाहाहरू’ र त्यसको त्यति नै पछि ‘गोलघरको सन्देश’ प्रकाशित भएकाले यी तिन रचनाको रचनाकालको दूरी लगभग समान नै रहेको देखिन्छ । यसमध्ये ‘पागल’ र ‘हामी बौलाहाहरू’ बिचका डेढ दशकमा मुलुकको राजनीतिक व्यववस्थामै परिवर्तन भएको देखिन्छ भने पछिल्ला दुईको रचनाकालको राजनीतिक व्यवस्था एउटै भएर पनि त्यसको आन्तरिक परिवेश भने केही फरक रहेको स्थिति देखिन्छ । पञ्चायती व्यवस्था लागु भएको लगभग एक दशकपछि रचना भएको ‘हामी बौलाहहरू’ र त्यसको डेढ दशकपछि प्रकाशित ‘गोलघरको सन्देश’ दुवै रचना कविद्वयका प्रगतिवादी वैचारिकताको प्रतिबद्धताकै अभिव्यक्ति हुन् । दुवै कवितामा मुलुकको तत्कालीन राजनीतिक व्यवस्थाको अन्त्यको आकांक्षा व्यक्त भएको देखिन्छ । ‘पागल’ ले व्यवस्थाको परिवर्तन नभई त्यसभित्रका दोषहरूको निर्मूलनको अपेक्षा राखेको छ भने व्यवस्था स्वयम् नै खराब रहेकाले पछिल्ला दुई रचनामा भने व्यवस्थाकै परिवर्तनको चाहना अभिव्यक्त भएको देखिन्छ । यद्यपि ‘हामी बौलाहाहरू’ मा मूल लक्ष्य व्यवस्थामा परिवर्तन भन्दा पनि सुधारको चाहना बढी मुखरित भएको देखिन्छ तापनि सुधार नभएको स्थितिमा त्यसले पनि समाज रूपान्तरणकै अभीष्ट अघि सारेको हुँदा दुवै रचनाको चाहना व्यवस्थाकै परिवर्तन रहेको स्पष्ट हुन्छ ।
दुवै रचनाको परिवेश एउटै भए पनि तिनका स्रस्टाहरूको वैयक्तिक परिवेश भने भिन्न देखिन्छ । ‘हामी बौलाहाहरू’ का कवि आफ्नो सार्वजनिक पहिचानलाई समेत बचाउँदै साङ्केतिक रूपबाट मात्र आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने बाध्यात्मक परिस्थितिमा देखिन्छन् भने ‘गोलघरको सन्देश’ का कवि यी सबै कुरा माया मारेर जीवन समेत त्यसै क्रान्तिका लागि अर्पेर क्रान्तिमा होमिएका क्रान्तियोद्धा भएकाले उनलाई कतैबाट बच्नुपर्ने वा कुनै कुरा लुकाएर व्यक्त गर्नुपर्ने बाध्यता देखिँदैन । यसै कारण यी दुईको प्रस्तुति पद्धति केही पृथक् रहेको देखिन्छ । ‘गोलघरको सन्देश’ लघुकाव्य अभिधावृत्ति प्रधान रहेको छ जसबाट जीवनको यथार्थ वा वास्तविकता यथातथ्य रूपमा अभिव्यक्त भएको छ भने ‘हामी बौलाहाहरू’ मा भने अन्योक्तिमूलक÷ध्वन्यात्मक प्रस्तुतिको सहारा लिएर मुख्य सन्देश वा कथ्यलाई प्रच्छन्न ढङ्गबाट व्यक्त गरिएको छ । ‘गोलघरको सन्देश’ मा चाहिँ स्वयम् कवि प्रश्रित नै क्रान्तिमा संलग्न हुने क्रममा पक्राउ परी जेल–नेल भोगिरहेका छन्, अब उनलाई पक्राउ परिएला, जेल परिएला भन्ने कुनै तनाव छैन । यसर्थ उनी आफ्ना अनुभूतिको अभिव्यक्ति खुल्ला ढङ्गले यथातथ्य रूपमा व्यक्त गर्नका लागि स्वतन्त्र छन् । त्यसैले उनले व्यवस्थाविरुद्धको जनविद्रोहलाई यथातथ्य रूपमा वस्तुपरक ढङ्गले अभिव्यक्त गरेका छन् भने ‘हामी बौलाहाहरू’ का कवि त्यति स्वतन्त्र नभएका कारण उनले बौलाहाहरूलाई प्रत्यक्ष रूपमा उभ्याई तिनीहरूका अभिव्यक्तिभित्रै आफ्नो मुख्य अभीष्ट भावलाई लुकाएर प्रस्तुत गरेका छन् । त्यसैले यहाँ भट्टको व्यवस्थाविरोधी विचार बढी अन्तर्निविष्ट र बढी बौद्धिक चातुर्ययुक्त बन्न पुगेको छ । प्रश्रित आफ्ना अभिव्यक्तिलाई विना रोकटोक प्रस्तुत गर्न स्वतन्त्र छन् भने भट्टलाई शब्दहरू तौली तौली, छानी छानी र विचारलाई पनि छामी छामी प्रस्तुत गर्नुपर्ने बाध्यता छ । यस कारण ‘गोलघरको सन्देश’ का प्रश्रित बढी नै सहज, बढी नै संवेद्य र बढी नै मर्मस्पर्शी बनेर आएका छन् भने भट्ट त्यसको तुलनामा अलि कृत्रिम, केही मात्रामा शुष्क र बढी मात्रामा बौद्धिक चातुर्ययुक्त देखिन्छन् ।
यस विश्लेषणबाट ‘पागल’ बाट ‘हामी बौलाहाहरू’ हुँदै ‘गोलघरको सन्देश’ सम्म आइपुग्दा यी तिनवटै रचनाको रचनाकाल र प्रगतिवादी वैचारिकताको ऊध्र्वमुखी विकासयात्राको एउटा श्रेणीक्रम नै निर्धारण भएको देखिन्छ जसमा प्रगतिवादको प्रारम्भिक बीजाधान ‘पागल’ कवितामा, त्यसको अङ्कुरण ‘हामी बौलाहाहरू’ मा र प्रस्फुटन र स्पष्ट कार्यान्वयन चाहिँ ‘गोलघरको सन्देश’ मा भएको स्पष्ट देखिन्छ । यस हिसाबले ‘पागल’ प्रगतिवादी वैचारिकताको प्रारम्भिक तह हो भने ‘हामी बौलाहाहरू’ माध्यमिक र ‘गोलघरको सन्देश’ उत्कर्ष बिन्दु हो ।
प्रस्तुतीकरणको कलात्मकता हिसाबले हेर्दा भने ‘पागल’ मा कला र व्यङ्ग्यको चाप अधिक देखिन्छ भने ‘हामी बौलाहाहरू’ मा बौद्धिकताको उच्च प्रस्तुति देखिन्छ । ‘गोलघरको सन्देश’ मा भने स्वाभाविक र सहज प्रस्तुतिका साथै वैचारिकताको प्रकटीकरणमा वस्तुपरकता र यथार्थताको पौल रहनाले यो प्रगतिवादी सौन्दर्यशास्त्रीय आदर्शको सबैभन्दा अनुकूल पनि देखा पर्छ । अतः यी तिनैमध्ये कला र व्यङ्ग्यचेतका दृष्टिले ‘पागल’ कविता उच्च देखिन्छ । बौद्धिकताको उच्च प्रस्तुति तथा अन्योक्तिमूलकताको शक्तिका दृष्टिले ‘हामी बौलाहाहरू’ शक्तिशाली रहेको छ भने प्रगतिवादी वैचारिकताको सहज प्रस्तुति र माक्र्सवादी सौन्दर्यशास्त्रीय आदर्शको अनुकूलताका दृष्टिले ‘गोलघरको सन्देश’ उत्तम देखिन्छ ।
क्रमशः....

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु