‘पागल’ ‘हामी बौलाहाहरू’ र ‘गोलघरको सन्देश’ कविताका तुलनात्मक अध्ययन- २

- गंगा अधिकारी

भाग १ बाट क्रमशः....

अध्याय चार
अनुसन्धानको निष्कर्ष

महाकवि लक्ष्मीप्रसाद देवकोटारचित ‘पागल’, कवि आनन्ददेव भट्टरचित ‘हामी बौलाहाहरू’ र कवि मोदनाथ प्रश्रितरचित ‘गोलघरको सन्देश’ यी तिनैवटा रचना प्रगतिवादी कविता परम्पराका उल्लेख्य र चर्चित कविता÷काव्यकृति हुन् । प्रजातान्त्रिक युगका नेपाली जनताका पीडा र मर्मलाई प्रस्तुत गर्ने महाकवि देवकोटारचित ‘पागल’, निरङ्कुश पञ्चायती शासन व्यवस्थाको पहिलो चरणको पञ्चायती शासकहरूको दबदबा रहेको समयका नेपाली जनताको सत्ताधारी शासक वर्ग र तत्कालीन शासन पद्धतिसँगको अन्तर्विरोधलाई प्रस्तुत गर्ने ‘हामी बौलाहाहरू’ र पञ्चायती व्यवस्थाको पतनोन्मुख समयको सत्ताधारीहरूको उन्माद र जनताको व्यवस्थाविरोधी क्रान्तिको परिवेश तथा नेपाली जनताको तानाशाही व्यवस्थामाथिको विजयोन्मुख अवस्थालाई चित्रण गर्ने ‘गोलघरको सन्देश’ राणा शासन उपरान्तका तिन पृथक् राजनीतिक परिवेशका रचना हुन् ।
अनुभूतिको आख्यानीकरणका दृष्टिले तिनवटै रचनामा झिनो आख्यान अँगालिएको देखिन्छ । कविताको आयामका दृष्टिले ‘पागल’ र ‘हामी बौलाहाहरू’ लघु आयामकै फुटकर कविताका रूपमा रहेका देखिन्छन् भने ‘गोलघरको सन्देश’ ले भने अपेक्षित विस्तार पाएर ‘लघुकाव्य’ वा ‘खण्डकाव्य’ कै आकार ग्रहण गरेको देखिन्छ । ‘पागल’ को आयाम सात फाँकी र १६० पंक्तिसम्म विस्तार भएको छ भने ‘हामी बौलाहाहरू’ ले नौ फाँकी र १२२ पंक्तिसम्म विस्तार पाएको देखिन्छ । ‘गोलघरको सन्देश’ मा लामा छोटा गरी ९२ फाँकी छन् ।
तिनवटै कविताले उठान गरेको विषय उस्तै उस्तै भए पनि तिनको रचनाको पृष्ठभूमि र परिवेश भने फरक छ । भर्खरै प्रजातन्त्रको उदय भएको परिस्थितिमा राजनीतिका अगुवाहरूले आफूलाई ‘पागल’ को लाञ्छना लगाएर अवसरबाट वञ्चित गरेको र तिनै अगुवा–टाठाबाठाहरूले सोझा निमुखा जनतालाई झुक्यानमा पारेर ठगेको र अन्यायमा पारेको परिस्थिति ‘पागल’ कविता रचनाको पृष्ठभूमि हो । आफूलाई भरपुर उपयोग गर्ने अनि अवसर आउँदा भने ‘पागल’ भनेर पन्छाउने र सोझा जनतालाई अनेक जाल–झेल रचेर ठग्ने टाठाबाठाहरूको कपटी र स्वार्थी व्यवहारप्रतिको कविको आक्रोशका रूपमा नै ‘पागल’ रचिएको देखिन्छ । ‘हामी बौलाहाहरू’ राजा महेन्द्रले असंवैधानिक कु गरी प्रजातन्त्र खोसेर पञ्चायती निरङ्कुशता लादेको राजनीतिक परिवेशमा रचित कविता हो । कविले भद्रगोल जेलमा बन्दी बनाइएका बौलाहाहरूको अवस्था देखेर यो कविता रचेको देखिन्छ भने बौलाहाहरूले बेहोरेको परिस्थितिमै तत्कालीन नेपाली जनताले भोगेको परिस्थिति र त्यस समयमा व्यवस्थाको विरोध गर्ने राजबन्दीहरूले भोग्नुपरेको नियति पनि प्रतिबिम्बित भएकाले ध्वन्यात्मक अर्थमा नेपाली जनताको पीडा र तत्कालीन राजबन्दीको अवस्था पनि कविता रचनाको पृष्ठभूमि बनेको देखिन्छ । ‘गोलघरको सन्देश’ चाहिँ निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको पतनोन्मुख अवस्थाको परिवेशमा रचिएको हो । चौतर्फी व्यवस्थाविरोधी आन्दोलनको हुरी चलिरहेको परिवेश यो काव्य रचना हुँदाको राजनीतिक परिवेश हो । त्यही व्यवस्थाविरोधी आन्दोलनका क्रममा पार्टी कामको सिलसिलामा गिरफ्तार भई कवि प्रश्रितले यातनापूर्ण बन्दी जीवन बिताइरहेको पृष्ठभूमिमा यस काव्यको रचना भएको देखिन्छ । पञ्चायती आततायीहरूले पञ्चायतविरोधी बन्दीहरूलाई अनेक ढङ्गबाट यातना दिएर व्यवस्थाको समर्थन गर्न लाउने, समर्थन नगरे मारिदिने जस्ता कार्य गर्ने गरेको त्यो परिस्थितिमा आफू भने जतिसुकै यातना सहनु परे पनि वा मारिनु नै परे पनि कहिल्यै जनताको आन्दोलनबाट विचलित नहुने दृढताको सन्देश सञ्चार गर्नु यस रचनाको अभीष्ट देखिन्छ ।
तिनवटै कवितामा विद्रोह÷विरोधको स्वर नै मुख्य अन्तर्वस्तुका रूपमा रहेको देखिन्छ । तिनवटै कविताले सत्ताधारी वा शासक वर्गसँगको जनताको अन्तर्विरोधलाई प्रस्तुत गरेका छन् । ‘पागल’ मा आफूलाई पागल ठान्ने समाज र निमुखा जनतालाई ठग्ने सत्ताधारी ठालुहरूसँगको कविको अन्तर्विरोध व्यक्त भएको छ भने ‘हामी बौलाहाहरू’ मा सतहमा बौलाहा बन्दीहरूको सज्जनहरूसँगको र ध्वन्यात्मक तहमा नेपाली जनताको शासक वर्गसँग अनि राजबन्दीहरूको सत्ताधारी शासक प्रशासक वर्गसँगको संघर्ष प्रकट भएको छ । ‘गोलघरको सन्देश’ मा भने निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाविरुद्धको क्रान्ति नै अन्तर्वस्तुका रूपमा आएको देखिन्छ । ‘पागल’ मा कविको विद्रोहचेतना कविमनको आन्तरिक उद्वेलन तथा सामाजिक अन्यायका विरुद्धको व्यङ्ग्य र आक्रोशका रूपमा आएको छ भने ‘हामी बौलाहाहरू’ मा त्यो वैयक्तिक विद्रोहचेत सामूहिक विद्रोहचेतका रूपमा अन्यायीहरू विरुद्ध चेतावनीको तहमा उत्रेको छ । ‘गोलघरको सन्देश’ मा कविको विद्रोहचेतना सामन्ती राजतन्त्रको अन्त र गणतन्त्रात्मक राज्यव्यवस्थाको स्थापनाको महायात्रातिर सङ्क्रमित हुँदो अवस्थामा देखिन्छ । यसरी तिनै कविताले प्रस्तुत गरेको मुख्य अन्तर्वस्तु विद्रोहचेत नै रहेको देखिन्छ ।
कविताले प्रकट गर्ने सन्देशका सन्दर्भबाट हेर्दा ‘पागल’ कविताले सुधारको सन्देश प्रस्तुत गरेको छ भने ‘हामी बौलाहाहरू’ ले पनि मूलतः सुधारकै चेतनालाई अघि सारेको छ । ‘पागल’ मा समाजका असङ्गत पक्षहरूप्रतिको कविको आक्रोश मात्र व्यक्त छ र त्यसमा परिवर्तन हुनुपर्ने पक्ष वा सुधारको चेतना त्यसैबाट सङ्केतित मात्र छ भने ‘हामी बौलाहाहरू’ मा चाहिँ त्यो सन्देश स्पष्ट रूपमा अभिव्यक्त भएर आएको छ । कविताले नै सुधार हुनुपर्ने पक्षको निर्देश गर्दै त्यो हुन नसके समाजकै रूपान्तरण गरिदिने चेतावनी प्रस्तुत गरेको छ । यी दुईबिचको मुख्य भिन्नता यही हो । ‘गोलघरको सन्देश’ ले भने सुधार होइन निर्विकल्प रूपमा समाजको आमूल रूपान्तरण नै हुनुपर्ने सन्देश प्रस्तुत गरेको छ ।
यस प्रकार तुल्य तिनवटा कविताको मात्र सन्दर्भबाट हेर्दा ‘पागल’ बाट ‘हामी बौलाहाहरू’ हुँदै ‘गोलघरको सन्देश’ सम्मको त्यो विद्रोही चेतनाको यात्रा त्यसैको क्रमिक एवम् चरणबद्ध विकासको रूपमा भएको देखिन्छ । अर्थात् त्यसको ‘पागल’ बाट थालनी भई ‘हामी बौलाहाहरू’ हुँदै ‘गोलघरको सन्देश’ मा उत्कर्ष भएको देखिन्छ भने कविताले प्रस्तुत गर्ने सन्देशको यात्रा पनि क्रमिक रूपमा सुधारमुखी चेतनाबाट क्रमशः उन्नत हुँदै राज्य व्यवस्थाकै समूल रूपान्तरमा पुगेर टुङ्गिएको देखिन्छ ।
लगभग डेढ–डेढ दशकको समयको पृथक् पृथक् राजनीतिक एवम् साहित्यिक परिवेश र कविता रचनाको आ–आफ्नै पृष्ठभूमिका कारणबाट तिनवटै रचनामा प्रगतिवादी वैचारिकताको प्रस्तुति रहे पनि त्यस वैचारिकताको स्तर, प्रस्तुति पद्धतिको भिन्नता र विद्रोही चेतको मात्राको अन्तरले तिनैलाई पृथक् पृथक् मूल्य प्रदान गरेको छ । यस अनुसार ‘पागल’ कविताको रचना प्रजातान्त्रिक वातावरणभित्रै देखिएका असङ्गतिबाट जन्मेको विद्रोहचेतका रूपमा, ‘हामी बौलाहाहरू’ निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको बिगबिगीका विरुद्धको जनताको आवाजका रूपमा र ‘गोलघरको सन्देश’ निरङ्कुश राजतन्त्रको उन्मूलनको लागि जनस्तरबाट उठेको न्यायप्रेमी, परिवर्तनकामी, मुक्तिकामी नेपाली जनताको क्रान्तिको अभिव्यक्तिका रूपमा भएको देखिन्छ ।
प्रगतिवादी वैचारिकताका दृष्टिले हेर्दा तिनवटै रचनामा प्रगतिवादको अभिव्यक्ति भएको पाइन्छ । त्यो अभिव्यक्ति ‘पागल’ मा स्वच्छन्दतावादी भावुकतामिश्रित प्रगतिवादी वैचारिकताका रूपमा आएको देखिन्छ भने ‘हामी बौलाहाहरू’ मा भने अभिधात्मक रूपमा भन्दा पनि ध्वन्यात्मक रूपमा शक्तिशाली भएर प्रगतिवादी वैचारिकता प्रकट भएको देखिन्छ । ‘गोलघरको सन्देश’ मा चाहिँ अभिधाप्रधान अर्थसापेक्ष भएको हुनाले कविको प्रगतिवादी वैचारिकता सहज बोध्य भएर देखा परेको छ । स्वच्छन्दतावादी भावुकताले बढी नै छोपिएर प्रगतिवाद देखापर्नु र द्वन्द्वात्मक हिसाबले पनि मूल वर्गशत्रुतर्फ नभई परिधीय पक्षप्रति लक्ष्यित हुनु माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले ‘पागल’ कविताको दुर्बल पक्ष हो तापनि भावुकता, कल्पनाशीलता, अभिव्यक्तिको सहजता जस्ता प्रवृत्तिहरूले कलागत उचाइमा भने यो अरू दुई रचनाभन्दा उच्च रहेको देखिन्छ भने यी तिनवटा मात्र रचनाको सन्दर्भमा भन्दा यसैबाट प्रगतिवादी वैचारिकताको उठान हुनु यसको धनात्मक पक्ष हो । ‘हामी बौलाहाहरू’ दोहोरो अर्थस्तर भएको बौद्धिक कविता हो । प्रगतिवादी वैचारिकता प्रस्तुत गर्ने आग्रह बढी देखिनु, भावुकता एवम् कल्पनाशीलता जस्ता कलागत पक्षहरूको कम मात्र स्पर्श हुनु र तत्कालीन निरङ्कुश राजनीतिक परिपाटीको आँखीडाहीबाट बच्नुपर्ने बाध्यताका कारण छानी छानी, तौली तौली शब्द र भावको संयोजन गर्नुपर्ने स्थितिले ‘हामी बौलाहाहरू’ कविता अरू दुईका तुलनामा केही दुर्बल देखिन्छ भने बौद्धिकताका दृष्टिले भने अरूभन्दा उच्च पनि देखिन्छ । ‘गोलघरको सन्देश’ चाहिँ ‘पागल’ मा झैं कलाले वैचारिकतालाई थिचेको र ‘हामी बौलाहाहरू’ मा झैं वैचारिकताले कलालाई किचेको स्थिति नभई दुवैको मध्यबिन्दुमा देखा पर्दछ । त्यसैले कला र वैचारिकताको सन्तुलित प्रस्तुति तथा माक्र्सवादी सौन्दर्यशास्त्रीय आदर्शको अनुकूलताका दृष्टिले पनि यो अरू दुवैभन्दा उच्च देखिन्छ ।
समग्रमा प्रगतिवादी वैचारिकताका हिसाबले अपेक्षाकृत दुर्बल देखिए पनि कलागत उचाइका दृष्टिले ‘पागल’ अरू दुवै रचनाभन्दा शक्तिशाली देखिन्छ । यसै गरी कलागत उचाइका दृष्टिले दुर्बल रहे पनि बौद्धिकताका दृष्टिले ‘हामी बौलाहाहरू’ शक्तिशाली रहेको छ भने वैचारिकताको प्रबल प्रस्तुतिसँगै कलागत मूल्यका दृष्टिले पनि सन्तुलित र स्वतः संयोजित रहनु ‘गोलघरको सन्देश’ को शक्ति बनेको देखिन्छ ।
तुल्य तिन रचनाको मात्र प्रगतिवादी वैचारिकताको अन्तर्विकासको स्थितिलाई नियाल्दा ‘पागल’ कविताबाट प्रगतिवादी वैचारिकताको उठान भएको देखिन्छ भने त्यसको विस्तार ‘हामी बौलाहाहरू’ मा र उत्कर्ष ‘गोलघरको सन्देश’ प्राप्त भई यो वैचारिक चक्र पुरा भएको देखिन्छ ।

परिशिष्ट
तुल्य कविताहरूको पूर्ण पाठ
पागल
लक्ष्मीप्रसाद देवकोटा
१.
जरूर साथी म पागल
यस्तै छ मेरो हाल

म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बास्नालाई स्वाद लिन्छु
आकाशभन्दा पातला कुरालाई छुन्छु
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन,
जसको आकार संसार जान्दैन,
म देख्दछु, ढुङ्गालाई फूल,
जब, जलकिनाराका जलचिप्ला ती,
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैं,
फूल झैं – एक किसिमका चकोर फूल ।
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी ।
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा–किनार । छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल ।
जरूर साथी म पागल
२३ यस्तै छ मेरो हाल ।
३.
तिमी चतुर छौ वाचाल ।
तिम्रो शुद्ध गणित–सूत्र हरहमेसा चलिरहेको छ,
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ ।
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौंले ।
तिम्रो गिदी छ साथी,
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफसिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ,
म तरल पद्य छु,
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी संग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो
तिम्रो संसार ठोस छ,
मेरो बाफ ।
तिम्रो बाक्लो, मेरो पातलो ।
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चीसो, मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई,
मेरो छ वेग काँढाको साथी ।
तिम्रो सुन र हीराको ।
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरूर साथी !
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल ।
४.
म माघको ठन्डीमा
ताराको सेतो प्राथमिक राम तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने ।
भस्मेश्वरबाट फर्कँदा सात दिन
टोल्हाएको देखेर,
भूत लागेको भने ।
एक सुन्दरीका केशमा समयका तुसाराको
पहिला छिर्का परेको देखेर,
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा,
मलाई छटाएको भने ।
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुलाहा भने ।
एक सुनसान औंशीले मलाई निशास भएर
म प्रलय वेदनाले उफ्रें ।
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे
र तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुजु्रुकहरूले
राँची पठाइदिए ।
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने “ए पागल, तेरो सास अझ मरेको छैन ।”
यस्ता कुरा भए साल, साल,
पागल छु साथी,
यस्तै छ मेरो हाल ।
५.
मैले नबाबको मदिरालाई खून भनेको छु ।
छिमेकी रण्डीलाई लास भनेको छु,
राजालाई गरीब ।
सिकन्दरलाई मैले गाली दिएको छु ।
महात्मा भनाउँदाको निन्दा गरेको छु ।
नगण्य व्यक्तिलाई तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख ।
तिम्रो स्वर्ग, मेरो नरक ।
तिम्रो सुन, मेरो फलाम ।
साथी ! तिम्रो धर्म मेरो पाप
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा ।
तिम्रो उन्नति, मेरो अवनति, साथी !
यस्तै छ मोलमोलाइको उलटपुलट ।
साथी !
तिम्रो विश्व, मेरो बाल ।
जरूर साथी ! म बिलकुल चन्द्राहत छु,
चन्द्राहत ।
यस्तै छ मेरो हाल ।
६.
म अन्धालाई दुनियाँको अगुवा देख्दछु ।
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु ।
विफललाई सफल देख्दछु ।
प्रगतिलाई अगति देख्दछु ।
या हुँला मै ऐचाताना,
या हुँदा मै दीवाना,
साथी ! मै दीवाना ।
७.
निर्लज्ज नेतृत्वको नीरस सरनाको
रण्डीको नाच हेर ।
जन अधिकारको डँडाल्नोको भाँच हेर ।
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूठले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता, साथी !
सल्केका गोलझैं राता ।
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
दुई कानले
मेरा आँखा सामुन्ने अमृत भनेर
तब हुन्छन् ठाडा मेरा रौं,
गगेनका सर्पकेश झैं, मेरा जिस्क्याइएका रौं, रौं ।
जब बाघले मिर्ग खान आँटेको देख्छु साथी
या ठूलो माछाले सानो,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
स्वर्गबाट चट्याङ परेको दिनझैं ।
ज्ब मानवले मानवलाई मानव ठान्दैन, साथी !
तब कडकडाउँछन् मेरा बत्तीसदन्ते बङ्गारा,
दुवै
जस्तो भीमसेनका दाँत ।
अनि,
प्रकोपले लाल, लाल, आँखाका डल्ला,
फनक्क घुमाएर, एक डबलले म,
यो अमानवको मानव जगत्लाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी !
उफ्रिन्छन् मेरा कलपूर्जा,
खलबल ! खलबल !
तूफान हुन्छ मेरो सास,
विकृत हुन्छ मेरो चहरा,
बल्दछ मेरो दिमाग, साथी
बडवानलझैं, बडवानलझैं ।
म वन खाने आगोझैं बहुला हुन्छु ।
बहुला, साथी !
काँचै निलूँ झैं विश्व विशाल ।
जरूर साथी !
म सुन्दर चकोर, असुन्दर–फोर,
कोमल – क्रूर,
चिडिया, स्वर्गाग्नि–चोर ।
तूफानपुत्र ।
पागल ज्वालामुखीको उद्गार,
भयङ्कर व्यक्तित्वपाल ।
जरूर, साथी !
सन्केमगज छु, सन्के,
यस्तै छ मेरो हाल ।
प्रगति २०१०




हामी बौलाहाहरू
आनन्ददेव भट्ट
(अहिलेसम्म हाम्रो राजधानीका जेलहरूमा बहुलाहरूलाई पनि देवानी, फौदारी मुद्दाका र सुरक्षा कानुन अन्तर्गतका बन्दीहरूसँगै थुन्ने चलन छ । सदर भद्रगोल जेलमा देखेका बौलाहाहरूलाई लिई यो कविता लेखिएको हो । त्यसैले बौलाहाहरूलाई जेलभित्र बर्बराइरहेको कल्पना गर्नु व्यावहारिक हुनेछ । –आनन्द)
१.
हामी बौलाहाहरू
सज्जनहरूका खेलौनाहरू
डन्डीबियो र गुच्चाहरू
बोराभित्र कोचिएका मकै र कोदाहरू
नबोल्ने देवताहरू वा बोल्ने तर बिग्रेका ग्रामोफोनहरू
कस्तो आनन्द ! दर्शक र बुद्धिमानहरूलाई हामीलाई उधिन्न
रछ्यानको माझमा कुखुराले खोतलेका किराहरू जस्तै
कुक्कुरले भेट्टाएका हाडका गन्हाउने टुक्राहरू जस्तै,
बाँदरले फेला पारेका जिउका लिखा र जुम्राहरू झैं
राँगोले उडाएको आफ्नो आङको छारो झैं,
आमा ! तिमीले बिर्सेर जन्म दिएका हामी अर्धमृत स्पन्दनहरू ।
२.
हामी खेल्न मन गर्छौं नदीका छालहरूसित
जसरी जिस्कन्छन् माझीका छोराहरू देबे्र हात र गोडा मात्रले पनि
हामी पाहार ताप्न खोज्छौं यो अग्लो ढिस्कोमा
सिंहले निस्फिक्री आङ ताने झैं गरी,
हामी स्वयम् खेलाडी हौं–यस विश्व टुँडिखेलमा
दगुर्ने र उफ्रने इच्छा छ खेलाडीहरूको झैं,
हामी स्वतन्त्रताको शुद्ध हावा सोस्न खोज्छौं प्वाँख हाली
हाँसले पानीबाट दूध छाने झैं गरेर ।
३.
आहा ! हामी हेर्न खुशी छौं त्यो विशाल हिमाल
संघर्ष प्रति विश्वासको अचल काल्पनिक शिव
उनका सेता केश र दाह्रीबाट खसेका नदीहरू कति पवित्र हुन,
हामी नुहाउँछौं तिनका जलमा जिउ माडी माडी
ओहो ! कस्तो छायाँ परेको त्यो नीलो र उज्यालो आकाशको !
रात र दिन दुवै देखिने छर्लङ्ग, राम्रो नराम्रो ऐना जस्तो,
त्यो पारी देखिने भरी मन परेकीको केश जस्तो कालो जङ्गल
र वारिपट्टिको त्यो मगमगाउँदो फूलबारी र बगैंचा
मेरी छोरीका राता ओठ र गाला जस्ता पाकेका फल भएका,
यी यो वारी ! हरीयै हरीयो सारीको भूर्इँ जस्तो
हाम्रा पाखुराका पसिना परेका छन् त्यसमा तपाईँकै जस्तो !
४.
हामीसित पनि जोवन छ र त्यसभित्र प्रेमको थैलो छ,
हाम्रो अधबैंशे शरीरलाई नहेप्नोस् — त्यसमा पनि अनुभव र शक्ति छ,
हाम्रो बुढ्यौली तपाईंकै जति उपयोगी छ
चाउरिएका गोला र सेप्रिएका हड्डी पनि बेलामा काम लाग्छन्,
हामीसित कुनै पनि नपुग्दो छ भने
मान्छे मात्रामा पाइने अभाव छ, विकासको साह्रो खाँचो छ ।
५.
तर महोदय हो ! तपाईंहरूले हामीलाई यो पर्खालभित्र हुल्नुभयो
किनभने हामी बौलाहा रे ! र सनकी रे !!
हामीलाई झिँगा डुबेको भात र मुसाले छेरेको दाल दिनुहुन्छ
किनभने हामीले मान्छेको श्रेणी आफैं गुमायौं रे ।
खोइ, हामीलाई बस्ने र सुत्ने कोठोसम्म दिनुभएको छ तपाईंले ?
हाम्रा पनि मगज छन् चिन्तन गर्न,
चाहिन्छन् किताब, कापी, कलम र कागज हाम्रा अनुभूति उतार्न
तर तपाईं हाम्रो मृत्यु मन पराउनुहुन्छ मनमनमा
र सुताउनुहुन्छ इँट्टा, सिमेन्ट, माटो र बालुवामा
ओढाउँदै हामीलाई भाङ्ग्रो, त्यो पनि बाँकी बसेको हाम्रै जतनमा
आहा ! हाम्रो रोग निको पार्ने तपाईं निरोगीहरू !
धन्य छ त्यो स्वस्थ खप्पर र मान्छेको भनिँदो मुटुलाई ।
६.
के तपाईं सज्जनहरू बाझ्नुहुन्न आपसमा कुक्कुरले झैं
एक टुक्रा हड्डीको निम्ति, अझ अर्काको भाग खोस्न भनी ?
के यहाँहरू राक्षसले झैं हाँस्ने र रुने गर्नुहुन्न
जाँड लाग्यो भनी र विरह चल्यो भनी ?
तपाईं्रहरूलाई महल चाहिन्छ सध्ये बन्न
र अनेकौं आइमाई चाहिन्छन् जिउको जाडो भगाउन,
मान्छेलाई तपाईं भन्नुहुन्छ जन्तु, दुई खुट्टे, जो त्यो सक्दैन,
र थाल्नुहुन्छ दिउँसै लुट्न आफ्नो महल र ऐशको तलो थप्न
तर आज हामीलाई कोच्नुभएको छ यो नरकमा
हाम्रो उद्धार गर्ने बहाना गरी, हाम्रो मुटु कलेजो चुसीचुसी ।
७.
महोदय, फकाउनोस् हाम्रा श्रीमती, दिदी बहिनी र आमाहरू
जस्लाई तपाईंले आफ्ना महलमा थुन्नुभएको छ र
कारभित्र धुरुधुरु ¥वाउनुभएको छ,
हामी कुनै आइमाईमाथि जाइलाग्ने छैनौं, किरिया खान्छौं,
फर्काउनोस् हाम्रा छाप्रा र खेतबारीहरू, हाम्रो जीवनका निम्ति
हामी तपाईंहरूका नाम छुच्याईं र अपशब्दका धूप हाल्ने छैनौं,
हामी आफ्नै जस्तो मेल गरी बस्ने छौं, दोस्रो प्रतिज्ञा गर्छौं
किन खोस्नुभएथ्यो हाम्रो क्रियाशीलतालाई र
लोभ्याउनुभएथ्यो जुवा, रक्सी र रण्डीबाजीतिर ?
भन्नोस् — “हामीले भूल गरेछौं, जानाजानी, क्षमा गर”
हामी तपाईंका दुःखमा ज्यानको बाजी लगाइदिनेछौं,
देशको झण्डा उच्चा राख्न फुक्नुहुन्थ्यो ढ्वाङ् होइन ?
लिनोस् हाम्रो एकएक थोपा रगत र दिनोस् आफ्नो पनि
सारा विदेशी नङ्ग्रा र पाइतालाहरू लखेट्न
हामी एटम बमका विस्फोटमा खरानी भै दिने छौं हाँसी हाँसी
हे हाम्रो उद्धारक नेपाली महाबली समाज
भन्नोस्, के गरौं हामी यो बन्धनभित्र २४ सै घण्टा चूप लागी ?
८.
हाम्रा यी उज्याला आँखाका नानी देखी तपाईंलाई थाहा हुन्छ होला
र एउटा निउँ पारी फोर्न खोज्नुहुन्छ
हामी त्यसको विरोध गर्छौं – उफ्रेर, कराएर, रोएर, भागेर जसरी नै होस
हाम्रा हाँसचाले हिंडाइ देखी तपाईं “यी त ठूला भएका ।” भन्नुहोला
र फलामे डण्डी डण्डीले भाँच्न खोज्नुहुन्छ
हामी त्यसको झन् ठूलो विरोध गर्छौं, आकाश थर्किने कोहोलो मच्चाएर
तपाईं हाम्रो गाँस र बासमै हमला गर्नुहुन्छ —
हामीले मीठो खायौं र स्वतन्त्र गीत गाई आफ्ना बिछ्यौनालाई
आराम दियौं भनेर
त हामी त्यसको पनि घनघोर विरोध गर्छौं, भित्तो फोरिदिन्छौं
हाम्रो लुगा छैन भनी हेलाँ गरी आङका लुगा सुद्धै पानीमा चोबल्नुहुन्छ
हामी पनि तपाईंलाई नरुझाई छोड्दैनौं
के गर्नु होला तपाईंहरूले बढी भन्दा बढी —
उही इँट्टा, ढुङ्गा र फलामले कुट्ने मार्ने होइन ?
त्यो फलामे चक्कामा लगी निल पर्ने गरी बाँध्ने होइन ?
नाङ्गा पीठ र टाउकामा बज्ने गरी गोद्ने होइन ?
— लौ त्यो पनि मञ्जूरै छ हामीलाई —
तर याद राख्नोस्, हामी एक होइनौं, जम्मै मिली
कराएको करायै गर्छौं — फेरि नारा लगायो नभन्नुहोला ।
एक थलोमा नबसी घुमेको घुम्यै गर्छौं — जुलुस झिक्यो नभन्नुहोला
हाम्रो बासको एक एक इँट्टा र बालुवा उधिनी मिल्काइदिन्छौं
ध्वंसात्मक र खर्चात्मक काम ग¥यो नभन्नुहोला,
अनि ... ...अनि ... ... पनि शान्तिले ... ... शान्तिले बस्न हिँड्न दिनुभएन भने
तपाईं आइलाग्दा जाइलाग्नेछौं – आत्मरक्षार्थ, क्रान्ति ग¥यो नभन्नुहोला,
कोर्रा, सङ्गीन, गोली र अगुल्टा देखाउनु भएछ भने
चपाचप समाती आएकै दिशातिर हिर्काई पठाउनेछौं
आफ्नो पनि ज्यानको माया नछोड्नुहोला
हे हाम्रो भाग्यदाता समाज !
९.
त्यसैले जे सुकै भन्नोस् वा ठान्नोस् तपाईंहरू
हामी आफ्नो स्वतन्त्रताको धुन छोड्दैनौं र भन्दै गर्छौं —
हामीलाई तपाईंले जस्तै मीठो मीठो खान दिनोस्
हामी पनि आफ्ना आमा र बाबुका छोरा ह्वौं
हामीले सन्तानको भोक र तिर्खा चिनेका छौं
हामीलाई युग युगदेखि खोसेको हाम्रो जेथा फर्काइदिनोस्
हामी दश नङ्ग्री गरेर दुई पेट पाल्ने धर्मका ह्वौं,
हामीलाई नयाँ नयाँ बन्दोबस्त गर्दिनोस्
हामी त्यसैका निम्ति कल्पी तरङ्गी भएका छौं,
मान्छे मात्रलाई मान्छे जस्तो पार्न झोली भिर्नोस्
गाउँ गाउँमा गई – चुस्नु नर्क हो भन्नोस्,
हामी त गाउँ घरकै ह्वौं – हाम्रो मुक्त स्वभावमा शङ्का नगर्नोस्
हामी त नाचिरहने बानीमा – भुइँ भत्कुन्जेल नाचिरहन्छौं, गाइरहन्छौं
त्यस्तै गाउने बानीमा – अभ्यास हुइन्जेल गाइरहन्छौं
लेक र बेंसी त हाम्रो मृग उफार्न – हामी एक ठाउँमा अल्मलिन्नौं अल्मलिन्नौं
खबरदार हामीमाथि फेरि हात छोड्नुहोला !
हामी त्यस्ता हावा खुस्केकाको गिदी ठीक पारिदिन्छौं
सज्जनवृन्द, हामी सित्तै बौलाएका छैनौं – दोषीलाई चपरीमुनि सुताइ छाड्नेछौं ।
नौलो राँको १, भरतपुर,



गोलघरको सन्देश
(लघुकाव्य)
मोदनाथ प्रश्रित
पहिलो संस्करण २०३९
छैटौं संस्करण २०५८
(‘गोलघरको सन्देश’ (लघुकाव्य) २०३७ साल भदौ १ गते भैरहवा जेल तोडी फरार भएपछि पुनः पक्राउ हँुदा मलाई सेन्ट्रल जेल काठमाडौंको गोलघरभित्र राखिएको बेला लेखिएको हो । यसलाई जेलभित्रबाट गोप्य रूपले बाहिर पठाइएको थियो र यो पहिलो पटक २०३९ सालमा प्रकाशित भएको थियो । त्यसपछि यसका पाँचवटा संस्करण र जम्मा २५, ०००० प्रति प्रकाशित भइसकेका छन् ।
यो छैटौं संस्करण अहिले सङ्कलित रूपमा प्रकाशित भएको छ ।
— लेखक)
जब सल्कँदै गए फेरि मुटुका दिया
अँध्यारो भाग्नथाल्यो देशबाट
“भूत–बंगला” का नरभक्षी पिचासहरू
तिल्मिलाउन थाले तर्सेर ।
अनि
जुगजुगभरि
औंसीकै रात थमौती गर्ने प्रस्ताव
पास ग¥यो तिनको सदनले
र फेरि पनि बन्दूकका काला फणा उठाउँदै
मध्येनि रातमा गाउँ झम्टनथाले तिनले ।
एक रात
ज्ब धर्ती थियो गाढा निन्द्रामा
अचानक झुक्याएर हामीलाई
तिनले आफ्ना खूनी पञ्जाले जकडे ।
बस् यत्तिमै पनि
मानौं इतिहासै थुन्ने ताल्चा भेट्टाए जस्तो गरी
गर्वले उन्मत्त छाती फुलाए ।
र तिनले भएभरको तागत निकाली आफ्नो,
मनोबल भाँच्न मेरो
शरीरमा लौराहरू भाँचे,
गोप्यता बकाउनलाई
बूट र बन्दूकका कुन्दाले खाँदे,
गतिहीन पार्न मलाई
नेल र हत्कडीले बाँधे,
जोश चिस्याउन मेरो
एक्लै बन्द कोठामा, जेलेर साङ्लाले
पुसमाघको सिमेन्टमा महिनौं पल्टाए ।
“काटे शरीर ढल्छ तर विश्वास ढल्दैन मेरो ।
मारे हाड–खोर गल्छ तर विचार गल्दैन मेरो ।”
यसरी तिरस्कृत हुँदा लगातार
सीप नलागेर केही
थाकेर आखिर,
चितामा खुट्टा पुग्नैआँटेका
मुखमा दागबत्ती पर्नैलागेका
प्रतिक्रियावादका नायकहरूले
लतार्दै लगेर कोचे मलाई
जेलको पनि महाजेलमा
गोलघरको साँगुरो खोरमा
र जंगी फलामे ढोकामा
भोटे ताला पड्काएर ढुक्क हुँदै
थोरै सन्तोषको सास फेरे ।
यौटा मान्छेलाई
मात्र यौटा निःशस्त्र मान्छेलाई,
दर्जनौं हाकिमहरू
र पचासौं भुसतिघ्रेहरूको
म्हिनौंको कसरतले
यतिसम्म गर्न सकेकोमा
ठूलो पौरख ठानेर गर्वले
सगरमाथाको शिखर छोए झैं
थुतुनाका पसिना पुछे
र किच्च मुर्दाको हाँसो हाँसे
भदौरे कोशी र गण्डकीका भेलको
एक मुठी पानी लोटामा हालेर
थुन्न खोजे झैं नदीहरूको बाढीलाई,
एउटा पाँचऔंले हत्केला
आकाशमा टँगाएर
छेक्न खोजे झैं सूर्यको जम्मै प्रकाशलाई,
विवेकहीन मूढहरू
खोरको कुची समाएर रमाउँदै
रक्सीको ध्याम्पामा हामफाले ।
विस्तरा नजिकै गुहुको नाली,
टाउकै फोर्ने उग्र दुर्गन्धी ।
मध्य रातको मशानघाट जस्तो
सुनसान अँध्यारो एक्लो खोरमा
भेडा झैं चुपचाप महिनौं जाकेर
मानसिक पीडाले निसास्सिने पारेर
गलाएर मलाई आत्मसमर्पणमा सुताउने
रम् रम् रक्सीको मिथ्यासपनामा
आततायीहरू एकछिन् व्यर्थै रमाए ।
आफ्नो गोलका एक दमालीको
यातनाको यस तेजावी खबरले
साथीहरू ।
तपाईंहरूको छाती पोलेको तातो सास आएर
मलाई यहाँ आगाले झैं छोइरहेछ ।
आमा !
तपाईंका ममतामय पीडाका आँसुहरू
यहाँ तप्किरहेछन् मेरा छातीमा ।
भाइ–बहिनीहरू !
सिरिङ्ग तिमीहरूका ज्यानमा उम्रेका काँढाहरू
यहाँ मेरो ज्यान छुन आइपुगेका छन् ।
प्रिये !
अनेकौं अनिदा रातले
आँसु बगेर टर्रा भएका तिम्रा आँखा
यहाँ मेरा आँखामा बिझाउन आइपुगेका छन् ।
हो, म अहिले जनद्रोहीहरूको
देशद्रोहीहरूको, युगद्रोहीहरूको
हत्यारा फाशिष्टहरूको
कठोरतम यन्त्रणागृहमा छु,
शैतानहरूका खुँखार दाह्रा र
तीखा नङ्ग्राहरूका बीचमा छु ।
यति मात्र हैन,
कुकुरले गन्हाउने मुखले
परेवाको बच्चा चपाए जस्तै
कुनै पनि बेला मलाई यिनीहरू
काँचै चपाउन सक्छन्,
भर्खरै कमरेड रत्न, हरि र “आजाद” हरूलाई
चपाएका राता दाँत गाड्न सक्छन्,
गंगा, नेत्र, कृष्ण, रामनाथ, वीरेनहरूलाई जस्तै
खोरबाट झिकेर बारुदले उडाउन सक्छन्
शुक्र, धर्मभक्त, दुर्गा आदिलाई झैं
नृशंस जल्लाद बनेर
फाँसीमा झुण्ड्याउन सक्छन् ।
तर बस् !
केही लछार्न सक्तैनन् त्यसभन्दा पल्तिर
यी कायरहरू, यी हुतिहाराहरू,
यी पुरातŒव संग्रहालयमा
लैजान तयार भएका माटाका मूर्तिहरू ।
शैतानहरूको मान्छे मार्ने पेशा हो, मारिरहेछन्
जनताको रगत र मासु खाने तिनको जात हो,
खाइरहेछन्,
अहिले “रातको अँध्यारोमा स्यालको राज” जस्तै
तिनकै छन् चर्का हुइयाँ
खोरका कुखुरा थुत्ने देशव्यापी एकताका नाद ।
देशको ढुकुटी मासेर
राष्ट्रलाई हरिकङ्गाल पारेर
विदेशमा कटाउन लाखौं युवा–सन्तान बेच्ने
काला हातले हिमाल मसारेर,
फोहरी नरभक्षी रोंसे–चोंसे थुतुनाले
गाइरहेछन् यिनीहरू राष्ट्रवादका गीत ।
विदेशी जारका सामु मातृभूमिलाई निर्वस्त्र पारेर
हजारौं चेली–बेटीलाई
बम्बई कलकत्ता र बैंककका बजारमा झारेर
फलाकिरहेछन् राष्ट्रिय आदर्श र सीताका गाथाहरू ।
जनताको रगतमा होली खेलेका राता पन्जाले
बुद्धको मूर्तिमा फूल चढाएर
खुकुरी र चुपी थन्काएका बगरे हातले
जैतुनको हरियो डाली हल्लाएर
उडाइरहेछन् आकाशमा शान्तिका परेवाहरू ।
हो पक्कै पनि यिनीहरूले
हत्या, दमन, जाल–झेल र षड्यन्त्रको
आफ्नो राजधर्म छोडेका छैनन्
र हामी पनि साहस, दृढता, संघर्ष, बलिदान,
देश र जनताका मुक्ति–अभियानको
आफ्नो जन–धर्म छोड्दैनौं ।
मेरा आँखामा अहिले
साम्नेका लस्करै खोरहरूमा छन् ।
सुन्दछु, उन्नाइस सय अठासी सालमा,
नयाँ राजनीतिको प्रभाती मिर्मिरेमा,
तिनमा परथे रे केही निर्भीक सिंहहरू,
तिनैमध्ये एउटा थिए
खोरभित्रै शहीद हुने मैनाबहादुर ।
अर्का थिए गर्जी गर्जी
भीमशम्शेरलाई थर्काउने सिंह
“प्रचण्ड गोर्खा” का बहादुर खड्गमान सिंह ।
“रूसका जारले तँ जस्ता राजद्रोहीलाई
हात्तीले कुल्चाउँथे”
भनी भीमे कराउँदा
“हो त्यस जारलाई रूसी जनताले कुल्चिसकेका छन् ।”
भनी उनले शिर ठाडो पारे,
र जब उनको ज्यानमा छडी भाँचियो शम्शेरका रीसको
“ईः नेपालको राजदण्ड पनि भाँचियो ।”
भनी उनले गर्विलो छाती फुलाए ।
ती ज्यूँदा सिंह
उ ः त्यसै सानो खोरमा कोचिएका थिए
बीस वर्षसम्म फलामे साङ्लामा जेलिएका थिए
र,
नेपाली इतिहासमा सबभन्दा कठोर यातना भोगेका थिए ।
त्यसबेला तिनी
वीरताको शानले चम्केका साँच्चैका “खड्ग” थिए,
देशका “मान” थिए, क्रान्तिका “सिंह” थिए ।
उनीहरूको गिरफ्तारीले
एकपटक कालो बादल छाए तापनि देशमा
“पिँजडा” भित्रबाटै ती प्रेरणाका आलोक थिए ।
त्यस कठोर अग्नि–परीक्षामा नझुकेको वीरले
दुई दशको बन्धनमा शिर ननिहुराएको ज्वानले,
खोरबाट निस्केपछि
थाम्नसकेन आफ्नो ओजस्वी इतिहास,
“खड्ग” पग्लेर झोल बन्यो शायद !
“मान” नुगेर अपमान भयो शायद !
“सिंह” लत्रेर स्याल भयो शायद !
हाय विडम्बना इतिहासको !
दुर्भाग्य यस हिमाली देशको !
यसरी पछिल्लो खड्गमान पल्टे तापनि हिमालबाट
मेरा सामुन्नेको खोरमा
निर्भीकतासाथ गर्जिरहेछ अघिल्लो खड्गमान
र मेरा रगत्का थोपा–थोपामा
दृढता, धैर्य र वीरताको ओज थपिरहेछ ।
त्यसअघि र पछि पनि
जसले यस हिमाली भेकको अँध्यारोबाट
“भूत–प्रेत” हरूको रजाइँ पन्छाउने अठोट गरे,
जसले रोएकी आमाको अनुहारलाई
नयाँ घाम झुल्काएर हँसाउने सङ्कल्प गरे,
जसले सबै सन्तानको निम्ति बराबर अंशको माग गरे,
र जसले आफ्नो स्वाभिमानी शिरलाई
निहु¥याउन कहिल्यै स्वीकारेनन् शत्रुका सामु
ती अनगिन्ती वीरहरूले,
ती आगो खाएर अँगार पार्नेहरूले,
यी कालकोठरीहरूमा डेरा पाएका छन्
र पीडाले कठाङ्ग्रिएका अनेकौं वर्ष
निर्भीक तपस्याले यहाँ बिताएका छन् ।
म देख्दैछु, झल्झली देख्दैछु
ती अङ्ग्रेजहरूका दरिला पदचिह्नहरू
यी “सेल” का भुइँभरि र आँगनभरि छापिएका छन्,
म देख्दैछु साम्नेका मोटा फलामे बारहरूमा
ती बहादुर पंजाहरूका हजारौं चिक्र–चिह्न टाँसिएका छन्,
म सुन्दैछु, तिनले भिरेका नेल हत्कडी र
गलफन्दीका गम्भीर ध्वनिहरू
र तिनको तालमा गाएका गीतहरू
यहाँका भित्ता भित्ताभरि रेकर्ड भएका छन् ।
गुञ्जायमान छन् आज पनि यी ओढारहरू
तिनका संघर्षमय वीरगाथाले
बताइरहेका छन् तिनका दृढ आराधनाको कथा
तिनकै धैर्य र खिइएका फलामे ढोकाहरूले ।
कैयौं वीरहरू यहीँभित्र शहीद भएका छन्,
तात्तातै यहीँबाट निकालिएर शहीद भएका छन्,
तिनका रगत्ले भिजेको छ यहाँको माटो ।
मुक्तिपछि पक्कै तीर्थस्थल हुनेछ यो क्रान्तिकारीहरूको
लाखौं जनता आएर यहाँ श्रद्धाञ्जलि चढाउनेछन्
ती वीरहरूलाई,
ती मुक्तियुद्धका सेनानीहरूलाई ।
मेरा स्मृतिपटमा झल्झली नाचिरहेछन् अहिले
ती कहिल्यै नगल्ने इस्पाती अनुहारहरू ।
यी सम्पूर्णका बीच जब म पाउँछु आफूलाई
बर्खे नदीका ढीक जस्तै भत्केर जान्छन्
मेरा सारा दुर्बलताहरू
शिकारीको बन्दुक देखेका मृग झैं बिजुली हुन्छन्
मेरा डर र त्रासहरू,
र म अनुभव गर्छु आफूलाई
खोरभित्रको एक दुर्धर्ष सिंह झैं
जो संजोगको फन्दामा यहाँ आएथ्यो
जो झुकेर खानेछैन कहिल्यै घाँस
र फुत्कनासाथ फेरि जङ्गलमा पुगी
झन्झन् जोडले दहाडिरहनेछ ।
मेरा छक्क परेका आँखाहरू
अगाडिको साँगुरो आँगनतिर दगुर्छन्,
अहा, कस्तो आश्चर्य !
यत्रा पर्खाल र बार–बन्देजको बीच पनि
सङ्गीनधारी पहरेदारहरूको घेराभित्र पनि
यो यातना शिविरको क्रूर छातीमा
हिंस्रक बङ्गाराहरूको माझ पनि
यस्ता कोमल, सुकुमार फूलहरू
धर्तीको सारा कोमलता र हरियाली
आफ्ना पालुवे हातमा समेटेर
उषाको जम्मै लाली, संसारको सारा मुस्कान र खुशियाली
आफ्ना रङ्गीविरङ्गी थुँगाहरूमा फक्राएर,
विश्वको सम्पूर्ण उत्कृष्टता
आफ्ना सुवासहरूमा गम्काएर
कति निर्भीकतासाथ मौलाउँदै
हाँसिरहेछन् निर्धक्क खित्का छाडेर ।
नहाँसुन् किन यी फूलहरू,
जब यी तिनै वीरले उमारेका सन्तान हुन्,
ती तपसीहरूका तपोवनका
दृढ तपस्याका यी साथी हुन् ।
मलाई लाग्छ, हाम्रा वीर शहीदहरूको पवित्र रगत्
मेरा साम्नेका गुलाफहरूमा मुस्कुराइरहेछ
“काँढाहरूका बीच हाँस्नु नै त साँचो जीवन हो” भन्दै
मेरा आँटको धर्तीमा नयाँ सगरमाथा उभ्याइरहेछ ।
म हातमा उठाउँछु भुईंबाट एक मुठी माटो
र जाँचेर हेर्छु,
ठहराउँछु, यो माटो नेपालकै माटो हो
मेरै देशको माटो ।
नाच्छन् आँखामा झरना, नदी र हिमालहरू
हरिया पहाड, पहेंला तराई र माटामुनिको खनिज भण्डार
हर्षले गद्गद् हुन्छ मेरो छाती ।
भावविभोर भै चिप्लेटी खेल्छु इन्द्रेनीको धुरीबाट ।
गोलघरभित्र पनि यस्ता फूल फुलाउन सक्ने
अहा ! कति साह्रै उर्वर छ मेरी आमाको छाती !
यहाँ राक्षसहरूको लूटले मात्र देश भोको–नाङ्गो भएको हो,
नत्र यहाँ कहिल्यै नसिद्धिने वैभवहरूको सुविशाल खानी छ,
हाम्री आमाको गर्भमा
करोडौं सन्तान रमाएर बाँच्नसक्ने
सम्पत्तिको अक्षय भण्डार छ ।
चारैतिरका दृश्य बन्द छन्
टाँगिएको छ चौघेरे पर्खालमाथि आकासे चँदुवा
हामीलाई “खुट्टा बन्द” गरेर लडाए पनि
“नजर बन्द” गराएर थुने पनि
म ढोका भित्रैबाट पनि देख्दैछुु
त्यस चँदुवा–आकाशलाई ।
कसले छेक्नसक्छ हाम्रा आँखा ?
म यहीँबाट पनि देखिरहेछु चराहरूको मुक्त उडान
दिल्ली र पेकिङ्ग जाने हवाईजहाजका बेगहरू,
मानव निर्मित स्पुतनिकहरूका
ग्रहमण्डलका परिक्रमाहरू ।
म पृथ्वीकी बहिनी–हाम्री सानिमा–चन्द्रमालाई
हजारौं कोश टाढा भए पनि देखिरहेकै छु
म पृथ्वीका बाबु–हाम्रा बाजे–सूर्यलाई
लाखौं कोश टाढा भए पनि देखिरहेकै छु
म आमाका मामाहरू ताराहरूलाई
करोडौं कोश टाढा भए पनि देखिरहेकै छु
एटलान्टिक र प्रशान्त महासागरबाट उठेका
बदलका दलहरू
आइपुग्छन् ममाथि रणघोषका साथ
र बिजुली पड्काउँछन्, पानी दर्काउँछन् ।
यिनीहरूको गति जस्तै
रोकिनसक्नु छ कसैबाट मान्छेको गति
कहाँ बाँधिन्छ मान्छे सय–पचास हातखुट्टा बाँधेर !
कहाँ रोकिन्छ यो पाँच अरबको सागर
झ्यालखानाका फुच्चे पर्खालको बाँध थापेर !
अहिले सुनसान मध्य रात छ,
पल्ला खोरका बौलाहाहरूको बर्बराहट पनि
थोरै बेरको निम्ति पातलो नीदको पर्दाले छोपिएको छ,
शायद ढोका थुनेर झुण्डिएको ताला मात्र जागै छ,
र मेरा जागा आँखालाई एक टकले ताकिरहेछ ।
उही उराठिलो तनावमा एकान्त वासमा
एक्लो बन्दी साथी निसास्सियो कि भनेर,
आफ्नो दौंतरी कक्रियो कि भनेर
साथी हो !
म बुझ्दैछु, तपाईंहरूको मन नरमाइलो र
अमिलो भएको छ,
“कतै ब्वाँसाहरूले मारिहाल्छन् कि” आशङ्काले
तपाईंहरूलाई बीचबीचमा झस्काइ पनि रहेको छ ।
तर नपरुन्जेल हो दमाली हो ! “डर” डरलाग्दो हुने
परिसकेपछि नेल र हत्कडी पनि बानी हुन्छन्
कालकोठरी पनि साथी हुन्छ,
कोर्रा, सिस्नो, खुर्सानी, आलपिन
बिजुलीको करेन्ट र जाडोको सिमेन्ट पनि
शरीरका सहज अभ्यास हुन्छन्
मृत्यु त झन् सजिलो महसुस हुनथाल्छ
यी यातनाहरूको बीच ।
एउटा देशभक्तले, एउटा क्रान्तिकारीले
अभ्यस्त हुनसक्नैपर्छ यी सारा चीजहरूसँग
म झिम्मिइसकेको छु यी सबमा ।
प्यारा कमरेडहरू,
कत्ति धन्दा नमान्नुहोस् !
अँहँ, सुर्तै नगर्नुहोस् !
म यहाँ त्रासले निभेको अँगार हैन,
आशैआशले झर्झराएको अगुल्टो जस्तै छु,
आततायीहरूको यस महारौरव नरकलाई
मृत्युञ्जयी भएर म थर्काइरहेछु ।
अतीतका वीरहरूले
त्यो अँध्यारो जुगमा
एक्लै भोगे यी सारा यातनाहरू
तर अहिले भाग्यमानी छौं हामीहरू
हाम्रा शरीर र मनका सारा घाउहरू
सहजै निको पार्न जुर्मुराएका छन्
हजारौं मुटुका स्नेह र सहानुभूतिहरू ।
अहिले म खोरमा छु तर छैन एक्लो,
म देखिरहेछु जंगलहरूका बीच, यो मध्यरातमा
तपाईंहरू बत्ती पनि नबाली दुछुम्–दुछुम् हिँडिरहेको
झल्झली देखिरहेछु ।
सुनिरहेछु यहाँबाट
चर्याप् चर्याप् सुकेका पात बजेको सुनिरहेछु ।
दोबाटातिर तपाईंहरूले
सासैसासले गरेका कुराहरू
बतास बनेर मेरा कानमा आइपुगेका छन्,
तपाईंहरूका कम्मरका पिस्तोलका चीसा टुप्पाले
मलाई यति टाढा पनि सहजै छोइरहेका छन् ।
अर्कातिर जुगौंदेखि अबला ठानिएका
हाम्रा आमा, दिदी–बैनी र चेली–बेटीहरू
डर र संकोचलाई लात्तीले हानेर
रूढीका बन्धनहरू च्यात्चुत् पारेर
निर्भीक सिंहिनी जस्तै
आँखा टल्काउँदै रातमा
उसरी नै जत्थाजत्थामा
अँध्यारो चिर्दै लम्किरहेछन् मुक्ति ज्वाला झैं
र तिनका पटुकीमा घुसारेका
खुकुरी र खुर्पाका इस्पाती धारहरू
म छक्छक्ती देखिरहेछु र बूढी औंलाले छामिरहेछु ।
एक ठाउँ हैन, देशैभरि
देशैभरि हैन, संसारैभरि
शान्तिका दूतहरू, निशाचरहरूलाई मास्न
निशाचरै बनेर हिँडेका तस्वीरहरू
यी मोटा भित्ता र पर्खालहरू छेडेर
रेडियो तरङ्गसँगै उडेर
एक्स–रेको बाटो आइरहेछन् मेरा आँखामा
र नाचिरहेछन् दिमागको टेलिभिजनमा ।
उः बिरालाको चालले पाइला हलुंग्याएर
साथीहरू गाउँनिर पुगिसके जङ्गल नाघेर
र सेता महलका चोर आँखा छल्दै
लुसुक्क सास रोकी निहुरेर
बुकुराहरूतिर लागे काँढे बारहरू पन्छाएर ।
अनि ढोकामा हलुँगो “ट्वाक्–ट्वाक्–ट्वाक् !”
भित्र पर्खिरहेका आँखाहरू सल्बलाए
मुटुहरू जुर्मुराए
उघ्रे ढोका सुस्तरी
तर जोडजोडले मिले खुशी र उत्साहका हातहरू,
न्यानोजोशिलो अभिवादनले
जङ्गलबाट आएका चीसा हत्केला र ज्यानहरू ताते ।
सानो टुकीको मधुरो प्रकाशमा
भित्तामा टाँगिएको रातो झण्डातिर,
महान् क्रान्तिकारीका ओजस्वी तस्वीरहरूतिर
सबका पुलकित आँखा चम्के,
कम्मरमा झुण्डिएका पिस्तोल र खुकुरीहरू
र कुनामा ठडिएका भाला र बन्दुकहरूले
एक–अर्कालाई सलाम ठोके ।
साढे बाह्र बज्यो,
दरबार र महलहरूका षड्यन्त्री पंचायत टुँगिसके
र मदिराको आहालमा डुबे भाइमारा नर–बंगूरहरू ।
ड्यूटी खटिएका दुई खुट्टे चारखुट्ट कुकुरहरूबाहेक
लमतन्न प¥यो परजीवी संसार ।
तर श्रमजीवीहरूका बुकुराहरूमा झुप्राहरूमा
टाठा छन् आँखा,
च्नाखा छन् मन–मस्तिष्क,
बाहिर सजग छन् बाटा–बाटामा, नाका–नाकामा
गस्तीमा तैनाथ, भालाधारी स्वयंसेवकहरू
भित्र चल्दैछन् अहिले
साना कमिलाहरूले
थूकले माटो मुछेर घर बनाउन सक्ने कुरा,
त्यहाँ चल्दैछन्
ससाना खोल्सा–खोल्सी मिलेर
ग्ण्डकी, कोशी, कर्णाली बन्नसक्ने कुरा,
अनि तिनै नदीहरूले गंगा
र गंगाहरूले समुद्र बन्ने कुरा
त्यहाँ सुनाइँदैछ, देशका आँधी–बेहरीको खबर,
त्यहाँ सुनाइँदैछ, जनताचको भुइँचालाले
शोषकहरूको संसार भत्कँदैगएको कुरा,
त्यहाँ सुनाइँदैछ, अनेकौं देश–देशान्तरका
मुक्तियोद्धाहरूका वीरताका कुरा,
ठूला देशले साना देशलाई हेप्न नसक्ने कुरा ।
त्यहाँ मुठी बोकेर सबले भन्दैछन्
हामी “पन्चान्नब्बे” हरू “पाँच” मान्दैनौं
बहुमतको रगत्ले ढाडिएको
“पाँचको पंचायत” मान्दैनौं ।
न हामी यो देशको मान्छौं
सामन्त, दलाल, नोकरशाह, भ्रष्टाचारी र तस्करीहरूको
गठबन्धनको पंचायत
न हामी विदेशको मान्छौं
साम्राज्य, उपनिवेश, युद्ध, प्रभुत्व र अणुबमहरूको
विश्वघाती पंचायत ।
अनि मध्येनी रातमा
देश र संसारको सारा अँध्यारो मेटाउन
रातो झण्डातिर फर्केर उठ्छन्
संकल्पले कस्सिएका दुर्जेय मुट्ठीहरू !
हैन, जुगौं जुगका भोका–नाङ्गाहरूमा
आज कस्तो जोशले ढाकेको !
चुसिएका, हेपिएका, निहुरेका, च्याँपिएकाहरूमा
आज यो अजेय मनोबल कहाँबाट ओइरिएको ?
बुलन्द छ आवाज
“जमिन्दारबाट जनताको सम्पत्ति फिर्ता गर्नुपर्छ सारा !
खोस्नुपर्छ विदेशीहरूबाट अर्थतन्त्रको लगाम !
साझा हो धर्ती, सबलाई चाहिन्छ गासबास !
सबलाई चाहिन्छ स्वतन्त्रता
सबलाई चाहिन्छ रोजगार !”
हैन,
यी घिउकिल्लीहरूमा हात्ती ढलाउने एकता कसरी आयो ?
यी हली, गोठाला र कमाराहरूमा
“मालिक” ताक्ने हिम्मत कसरी आयो ?
कस्तो पल्टा खाएको जमानाले !
यी जुगौंका शाशित, रैतीहरू, प्रजाहरू
बनाउँदैछन्, आज राजसत्ता खोसेर हाँक्ने योजना
कोर्दैछन् आज आफ्ना देशको
स्वतन्त्र, जनगणतन्त्र नेपालको
भव्य, सुन्दर, रमाइलो भावी सनौला तस्वीर !!
अरे, अर्को झुप्रोमा,
दशबाह्र वर्षे भाइबहिनीहरूको,
कलिला सुन्दर फूलहरूको जम्घट ।
एक बजिसक्यो
तर छैन पटक्कै नीद कसैका आँखामा,
चालू छन् त्यहाँ ल्यु हुलान्, स्वे र चंकाजहरूका कथा
ओठ निचोरे दूध आउने यी चिचिलाहरू,
गन्हाउँदैहोला तालुमा अझै ज्वानो न्वारानको !
तर क्रान्तिका सिपाही बन्ने सपना
नाचिरहेछन् तिनका चम्किला आँखामा ।
हैन, के नशा लागेको नौलो जुगको ?
नब्बे वर्षे थोते बाजेले पनि
“लड्नैपर्छ” भनी छाती ठोके,
चौरासीकी सेती बूढी आमैले पनि
“हामी जित्छौं” भनी मुठी उठाइन् ।
दुई बजिसक्यो
गाउँ–गाउँ, शहर–शहर, कुना–कुनामा
हक, इज्जत, अधिकारका प्रहरी बनेर
कोदाला, हथौडा, कलम, पुस्तक, खुकुरी र बन्दुक
जागा छन् सबका सब ।
सबैतिर देखिरहेछु–बैठकहरू, योजनाहरू, संघर्षहरू ।
नाचिरहेछ देशकै धमनीहरूमा
तातो रगत् “इन्कलाब’ को
गुञ्जिरहेछ उल्लास आँट र अठोटहरूमा
समवेत स्वर “जिन्दावाद” को !
यी साराका सारा दृश्यहरू
जताततै नाचिरहेको देखेर,
झुपुडे पाठशालाहरूमा
क्रान्तिको नयाँ शिक्षाले
जात–पातको मैलो पखाली
बाहुन, क्षेत्री, कामी, दमाईं, डुम, चमार आदिले
अँगालो मारेको सम्झेर
शोषकमाकुराले तामदानमा घुम्दै बुनेको
“पहाडी र मधिसे” को साम्प्रदायिक जालो च्याती
हिमालतराई भीर र मैदानले
काँधमा काँध जोडेको सम्झेर
“सदरिया र पर्वते” को भ्रमको पर्खाल भत्काउँदै
“तागाधारी” र “मतवाली” को भेदको भ¥याङ मिल्काउँदै
नेवार, तामाङ्ग, मगर, गुरुङ, बाहुन, क्षेत्री, राई, लिम्बू
थारू, बाजी, धिमाल, सतार, यादव आदि सारा जात,
एउटै झण्डामुनि
पाँच औंला जुटेर मुठी बने जस्तै
राष्ट्रको बलियो गाँठो कस्दै गएको सम्झेर
आर्य र मंगोलको भेद, धर्मधर्मको भेद
सबका सब बिर्सेर
अत्याचारी शासन ढाली नयाँ समाज जन्माउने
एउटै लक्ष्यमा, साझा ध्येयमा,
सिङ्गै देश जुर्मुराउँदै उठेको चहकिलो दृश्य सम्झेर
यहाँ मेरो उल्लास जुर्मुराएको छ पखेटा फर्फराउँदै
र यस अँध्यारो खोरमा पनि
अनुभव गर्दैछु बाह्र सूर्य झलमल्ल उदाए झैं ।
दौंतरीहरू !
तपाईंहरू सहित सिंगै देशको साथमा
मेरो रगत् पनि यहाँ जोशले उम्लिरहेछ,
त्यहाँका जुलुसका गगनभेदी नाराहरूको साथै
मेरा उत्साहको समुद्रमा पनि यहाँ ज्वार उर्लिरहेछ,
सिंगै राष्ट्रका विश्वासको सगरमाथाको साथ
मेरो आस्था र विश्वासको हिमाल पनि
यहाँ झन् झन् टाउको तन्काएर अक्कासिँदै छ,
त्यहाँ बगिरहेको चेतनाको आलोक
मेरा मन–मस्तिष्कमा लाखबत्ती बालेर आलोकित छ ।
देश जुर्मराएको छ आज नयाँ ऊर्जाले,
सरस्वतीका मन्दिरहरूबाट
युवा जगत्मा उर्लेको प्रचण्ड झञ्झावात
आज हल्लाइरहेछ तानाशाहीको कालो संसार !
कति साह्रै मिलेका हाम्रो देशका लालुपाते बैंसहरू
यी भावी नेपालका महान् निर्माता विश्वकर्माहरू,
मानौं आज सिंगै नेपाल यिनको मुठीमा आएको छ,
र यिनले “बन्द” भन्दा यो बन्द हुन्छ
“खुल” भन्दा खुला हुन्छ ।
हो, वास्तवमा यो देश
पशुपतिको हातमा हैन,
यिनै युवाहरूको हातमा आएको छ,
किनभने,
यो संसार शेषनागको टाउकोमा हैन,
युवाशक्तिकै पाखुरामा अडिएको छ ।
नयाँ ऊर्जाले
किसानको सागरमा पनि ज्वार थपिरहेछ
मजदूरको वायुमण्डलमा पनि आँधि थपिरहेछ
महिला संसारमा पनि भूकम्प थपिरहेछ
त्यसैले उथलपुथलले आलोकित छ देश
मनौं सिङ्ग देशमा चेतनाको मध्याह्न छाएको छ ।
किसान,
हो उही किसान–देशको जग
मिहिनेत, अपमान र दरिद्रताको निशान
जुगौंदेखि आकाश ताकेर, देवी–देउता भाकेर,
“मालिक, मालिक” घोकेर, पुर्पुरो ठोकेर,
भरेर आफ्ना रगत् र पसिनाले
भूपतिहरूको भन्सार
आफू सदैव बेरिएको हाडछालाले
जसका लालाबाला सधैं देखिन्छन् थाङ्ने माङ्ने
आज त्यही धर्ती–सन्तति
उभिँदैछ भूपतिहरूका सामु दुर्लङ्घ्य पहाड भएर
खोस्दै आफ्नो भूमि, रक्षा–किल्ला ठडाइरहेछ ।
शहरका कुनाकानी थाङ्ने बोरा ओढेर
गन्हाउने छिँडीमा कक्रिने त्यही मजदूर,
नयाँ जुगको कुंजी, जाग्रत युगको सपना !
सीमापारका ब्वाँसाले चुस्दै आएको आडखोर !
रातो–पीरो देखिँदैछ आज उत्साहले
“विश्वका ज्यामी – एक हौं” को महान् घोषले
डाँडा–काँडा तराईमा “मई दिवस” घन्काइरहेछ ।
हड्तालमा छ ऊ कारखानामा “बन्दी–ताला” पड्काएर
दलालहरूको नाकनाकमा सुर्तीको धूलो ठोकेर
फुत्काउँदैछ दाम्लो आफ्नी कामधेनुको
जबर्जस्ती विदेशी कुबेरहरूको पञ्जाबाट ।
हाम्रो गुरुकुल, शिक्षक समुदाय
देशको जाज्ज्वल्यमान आँखा, प्रभाती शुक्रतारा,
सिङ्गै राष्ट्रको मस्तिष्क,
लल्कारिरहेछ फासिष्टहरूलाई
भरदेशमा एकछिन् कलम–किताब रोकेर,
संकल्प दोहो¥याइरहेछ
बन्धक नबनाउने आफ्नो मस्तिष्क नोकरशाहहरूको
दासी हुन नदिने सरस्वतीलाई तानाशाहहरूको
कमारा हुन नदिने आफ्ना शिष्यहरूलाई
देशी–विदेशी लक्ष्मीपति र कुवेरहरूको ।
कर्मचारी,
प्रशासनयन्त्रको पार्ट–पुर्जा
नोकरशाहहरूका बूटले थिचिएको चेप्टो ढुङ्गा,
पड्कन तयार छ आज
हाकिमहरूकै थाप्लामा
भण्डाफोर चलाउँदैछ भ्रष्टाचारका अड्डाहरूमा
हाम्रा लेखक, कलाकार, बुद्धिजीवी
सामाजिक चेतनाका अग्रदूत
नचाउँदैछन् आफ्ना इस्पाती कलमका तरवार
रेट्दैछन् सारंगीमा आततायीका गला
”झिस्मिसे” “बिहानी” को चराको चिरबिर जस्ता
”लालुपाते” “अनुभूति” मा “जनताका गीतहरू” गुञ्जाउँदै
श्रमिकवर्गको “वेदना” का “सुस्केरा” का “लहर”
“कालीको छाल” जस्तै संगीतमा सुसेलेर
“रक्तिम सूर्य” उदाउने “जमर्को” ले “कटिबद्ध”
घुम्दैछन् “युगदूत” “जनजागरण” का “हलकारा”
गाँस्दै जनताको एकताको “शृङ्खला”
उठ्दैछन् शत्रुसित “मुकाविला” को संकल्प लिएर
सुनाइरहेछन् विश्वलाई “हिमाल” जागेको “सन्देश” ।
सामन्तहरूको “रामराज” मा
घरवार छोडेर वनबास लागेका,
प्रवासका गल्ली–गल्लीमा
भान्से, गोठाला, कुल्ली, दरवान, सिपाही आदिका
“बहादुर” को दर्जा पाएका
कोठी–कोठीमा मेनका, उर्वशी बन्न बाध्य भएका
हाम्रा सहोदरहरूमा पनि
आएको छ ‘मादल’ बनाई जागरणको ‘मिर्मिरे’
फुक्दैछन् “जनमानस” मा “नयाँ चेतना” को “करनाल”
र गर्दैछन् तयारी “हुरी” चलाई
“पसिना” खोस्ने आफ्नो, “नेपाल फर्केर” ।
राजनीतिको लामो फूट र गुटबन्दीबाट
बाहिर फ्याँकिदैछन्, आज दहिच्यूरेहरू,
पञ्चायती चर्पीमा नाक गाड्न पुग्दैछन् पतीत तŒवहरू
दरवारी जुठा टपरी र पैताला चाट्न पुग्दैछन् चमेराहरू,
त्यसैले बढ्दो छ एकता साँचा क्रान्तिकारीहरूको
हुँदैछ धु्रवीकरण संघर्षका शक्तिहरूको ।
यसरी जता हे¥यो उतै देखिन्छ, आज जागृतिको मिर्मिरे
जता छाम्यो उतै भेटिन्छ, आज उम्लेको तातो रगत्
जता फक्र्यो उतै सुनिन्छ, आज संघर्षको नयाँ विगुल
जता सुँघ्यो उतै पाइन्छ, भावी विजयको सुगन्धी संकेत ।
चारैतिरका यी विद्युत्मय सन्देशहरूको बीच
म कसरी सेनाउन सक्छु साथी हो !
म त उल्टै यस ऐतिहासिक घडीमा
दुश्मनहरूका टाउकामा फुट्नैलागेको
एटम बम जस्तै रन्किसकेको छु ।
अँध्यारो खोरबाट
जबजब सम्झन्छु महलले लुटेका झोपडीहरू
बाबाहरूका नाङ्गा करङ्का भाटा,
आमाहरूका फाटेका गुन्यू,
नानीहरूका भोक र चित्कारका आँसु,
दोपहरसम्म आगो नसल्केका अगेनाहरू,
रित्तैरित्ता फाटेका डाला, फाँक र ढकियाहरू ।
खालि यिनै यातनामय दृश्यहरू सम्झेर
म यहाँ थर्थराइरहेछु क्रोधले रूद्र बनेर
फुट्न खोजिरहेछ मेरा छातीबाट
प्रलयङ्कर ज्वालामुखी ।
म दुःखी छु देशका यिनै दुःखले
मेरो छुट्टै अर्को कुनै दुःख छैन,
म पिरिएको छु देशका यिनै पीरले
मेरो छुट्टै अर्को कुनै पीर छैन ।
मलाई लाग्छ
गरीबीको रेखाभन्दा पनि तल भासिएका
लाखौंलाख देशबन्धुहरूले
भरजीवन भोगेका नारकीय यातनाका सामु
म सुखी छु अहिले
यस यातनाकेन्द्रभित्र पनि पक्कै सुखी छु
म यहाँ फलामे बार हल्लाईहल्लाई
घन्काइरहेछु मुक्तिगीत !
उनीहरूले दिएको यातनालाई
तीब्र तिरस्कारले मैले थुकिदिएको छु ।
हो, मेरो आवाज
अग्ला पर्खालहरूले छेकिदिनाले
अहिले तपाईंहरूदेखि केही टाढा छ,
हो, मेरो ज्यान
डबल खोरभित्र थुनिनाले
अहिले तपाईंहरूदेखि थोरै छुट्टा छ,
तर मेरा विचार, सपना र भावनाहरू
संकल्प, विश्वास र कामनाहरू
सप्तगण्डकी र सप्तकोशीका संगमहरू जस्तै
गाँसिएका छन् साथी हो
संघर्षमा तपाईंहरूकै साथ !
दुश्मनका यन्त्रणा स्वीकारे पो मान्छे दुःखी हुन्छ
मैले त तिनलाई लात्तीले ठोकी फिर्ता गरिदिएको छु
त्यसैले म मुक्त छु शत्रुको यस खोरमा पनि
त्यसैले म फुक्का छु दुश्मनहरूको झेल्खानमा पनि
मैले हाकाहाकी भनिदिएको छु तानाशाहहरूलाई
मलाई काटेर पनि तिमीहरू
स्वतन्त्रताको उडानका हाम्रा पखेटाहरू काट्न सक्तैनौ,
मलाई मारेर पनि तिमीहरू
हाम्रो मुक्तिको अभियानलाई मार्न सक्तैनौ !
अप्रतिरोध्य छ हाम्रो
कोलम्बस र गागरिनको महायात्रा ।
यस देशका तीस लाख बुकुराहरूको खुशियाली बाहेक
जब मेरो अर्को कुनै छुट्टै स्वार्थ छैन,
यस देशका डेढ कोटी अनुहारको रौनक बाहेक
जब मेरो अर्को कुनै छुट्टै सपना छैन,
यस देशलाई जेलेका तमाम साङ्लाहरू चुँडाल्नु बाहेक
जब मेरो कुनै छुट्टै आकांक्षा छैन,
जब यसै निम्ति समर्पित छ मेरो सिङ्गो जीवन
र जब यसै निम्ति म मृत्युलाई पनि वरण गर्न
हाँसी हाँसी तयार छु,
कसले गलाउनसक्छ मलाई यातनाले ?
जसलाई यन्त्रणा सम्झिइरहेछन् शत्रुहरू
त्यो त कुनै इन्द्र, अप्सरा र कुबेरहरूले
गलाउन नसक्ने मेरो तपस्या हो,
त्यो त मेरा जीवनको अग्नि–परीक्षा हो ।
मान्छे जब सल्कन्छ मुक्तिको प्रतिज्ञाले
बाँध्न सक्तैन उसलाई कुनै नेल र हत्कडीले
मान्छे जब ब्यूँझन्छ स्वतन्त्रताको आकांक्षाले
थुन्न सक्तैन उसलाई कुनै जेल र पर्खालले
त्यसैले निर्भीक छु म यहाँ
झुकाउन सक्तैन कसैले मेरो सगरमाथा !
अजेय छ हाम्रो श्रमिक–मुक्तिको महायात्रा !
अमर छ हाम्रो मानव–मुक्तिको अभियान !
केन्द्रीय कारागार
गोलघर
२०३८।३।६
सन्दर्भ सामग्री सूची

अधिकारी, गंगाप्रसाद.
२०६५. अभिवीक्षण. भद्रपुर ः श्रीमती कान्ता अधिकारी ।
अधिकारी, रविलाल.
२०५६. प्रगतिवादी नेपाली समालोचना. पोखरा ः लेकाली प्रकाशन ।
खालिङ, दान.
२०६०. ‘बौलट्टीको बचाउमा’ महाकवि देवकोटा स्मारिका. भद्रपुर ः देवकोटा स्मृतिभवन. पृ.१९–२९ ।
गिरी, जीवेन्द्रदेव.
२०६६. ‘देवकोटाको पागल कविताको विश्लेषण’. दायित्व. पू. ६६ (असोज–मङसिर). पृ. १४३–१५० ।
चैतन्य.
२०६८. ‘गंगा कावेरी एक्सप्रेस र गोलघरको सन्देश ः तुलनात्मक अध्ययन’ मोदनाथ प्रश्रित ः केही अध्ययन.(सम्पा.डा.कपिलदेव लामिछाने). चन्द्रगढी ः जुही प्रकाशन. पृ.११५–१२३ ।
जोशी, कुमारबहादुर.
२०४७. देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन. काठमाडौं ः नेपाल राजकीय
प्रज्ञा–प्रतिष्ठान ।
झाँक्रीखोले.
२०६८. ‘पागल र हामी बौलाहाहरू’. हाम्रो सिर्जना. ६÷११, पू.११ (फागुन). पृ.९६–१०८
————————.
२०६८. ‘हामी बौलाहाहरूभित्र चौपट्ट भएका आनन्ददेव भट्ट. जुही ३१÷२, पू.६६ (असोज–
मङसिर). पृ.५७–७४ ।
डी.आर.पोखरेल (सम्पा.).
२०६८. हाम्रो सिर्जना (आनन्ददेव भट्ट अभिनन्दन अङ्क). ६÷१, पू ११, (फागुन अङ्क)
त्रिपाठी, वासुदेव.
२०५८. पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २.तेस्रो सं. काठमाडौं ः साझा
प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद.
२०५२ (२०३२ प्र.सं.). ‘पागल’. महाकवि लक्ष्मीप्रसाद देवकोटा एक व्यक्तित्व दुई
रचना. (ले. जनकलाल शर्मा). काठमाडौं ः साझा प्रकाशन ।
नेपाल, वसन्तकुमार शर्मा.
२०६६. ‘केही अनुभूति’. दायित्व. पू.६६, पृ.४६–५१ ।
पौड्याल, शालिकराम.
२०६८. ‘सामाजिक रूपान्तरणमा गोलघरको सन्देशको भूमिका”. जुही. पूर्णाङ्क ६५,
(मोदनाथ प्रश्रित विशेषाङ्क) पृ. ५६९–५७९ ।
प्रदीप, रामप्रसाद.
२०६८. ‘गौरीदेखि प्रश्रितसम्म’. जुही पू. ६५ पृ. ३–२८ ।
प्रश्रित, मोदनाथ.
२०४७. वैचारिक विकासको सन्दर्भमा लक्ष्मी प्रसाद देवकोटा. काठमाडौं ः गुनिलो प्रकाशन
—————————.
२०५८. ‘गोलघरको सन्देश’. मोदनाथ प्रश्रितका सङ्कलित रचनाहरू खण्ड २. काठमाडौं ः
पैरवीबुक्स. पृ.१९५–२२० ।
बन्धु, चूडामणि.
२०३६. देवकोटा. काठमाडौं ः साझा प्रकाशन ।
————————.
२०५२. अनुसन्धान तथा प्रतिवेद लेखन. काठमाडौं ः रत्न पुस्तक भण्डार ।
————————.
२०६७. (२०३६ प्र.सं.). देवकोटा. चौथो संस्क. काठमाडौं ः साझा प्रकाशन ।
भट्ट, आनन्ददेव.
२०२६. ‘हामी बौलाहाहरू’. नौलो राँको. अङ्क १. पृ.५३–५८ ।
शर्मा, जनकलाल.
२०५२ (२०३२ प्र.सं.). महाकवि देवकोटा एक व्यक्तित्व दुई रचना. दोस्रो संस्क.
काठमाडौं ः साझा प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु