विपीका आख्यानको मार्क्सवादी पठन

- डा.कुमारप्रसाद कोइराला

सारसङ्क्षेप
यो लेख विपीका आख्यानमा प्रतिविम्बित सामाजिक पक्षलाई माक्र्सवादी दृष्टिकोणले अध्ययन गर्ने उद्देश्यले लेखिएको हो । यसका लागि नवमाक्र्सवादी उत्तरमाक्र्सवादी विचारलाई सैद्धान्तिक आधार बनाइएको छ र विश्लेषणात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । विपी माक्र्सवादी साहित्यकार होइनन्, तापनि उनले माक्र्सवादलाई संसारको व्याख्या गर्ने राम्रो दर्शन मानेका छन् । उनले साहित्यमा माक्र्सवादको मात्र प्रयोग हुनुपर्छ भन्ने कुरामा चाहिँ सहमति जनाएका छैनन् । यही कारणले गर्दा उनका आख्यान शास्त्रीय माक्र्सवादी दृष्टिले भन्दा नवमाक्र्सवादी उत्तरमाक्र्सवादी दृष्टिले पठनीय भएका छन् । यस दृष्टिले अध्ययन गर्दा उनका कथाले मनोविश्लेषण मात्र गरेको देखिँदैन, नेपाली समाजमा विद्यमान वर्गीय द्वन्द्व र शोषणको चित्रण पनि गम्भीर किसिमले गरेको देखिन्छ । तिनमा वर्गीय द्वन्द्व र शोषणका कारण आर्थिक अवस्थाका साथै यौनिकता, लैङ्गिकता र पितृसत्तात्मक सामाजिक संरचना पनि रहेका देखिन्छन् । उनका उपन्यास मनोविश्लेषणात्मक भएर पनि विचारकेन्द्री बनेका छन् । उनका उपन्यासमा माक्र्सवादी चिन्तक ग्राम्सी, फ््रयाङ्कफर्ट स्कुलका नवमाक्र्सवादी एडोर्नो, हर्बर्ट मार्कस, फ्रान्सेली संरचनावादी माक्र्सवादी चिन्तक लुइस अल्थुसर, समाजशास्त्री मिसेल फुको आदिका विचारद्वारा विश्लेषणीय भएका देखिन्छन् । उनका उपन्यास समाजलाई देखाउने ऐना जस्ता छैनन्, न तिनमा वर्गीय द्वन्द्व र शोषणको कारण आर्थिक अवस्थालाई मात्र बनाइएको छ । तिनले जातीय, यौनिक, लैङ्गिक, सांस्कृतिक आदि पक्षलाई पनि वर्गीय द्वन्द्व र शोषणका कारण बनाएका छन् । तिनले माक्र्सवाद र फ्रायडवादलाई जोड्ने काम गरेका छन् । तिनले विचारधारालाई माक्र्सवादले जस्तो भ्रमपूर्ण चेतनाका रूपमा प्रस्तुत गरेका छैनन्, न त्यसलाई शोषण गर्ने हतियारका रूपमा मात्र प्रस्तुत गरेका छन,् बरु विचारधाराले व्यक्तिका जीवनमा सकारात्मक असर पनि पार्दछन् भनेर देखाएका छन् । त्यसरी नै उनका उपन्यासले समाजमा प्रचलित सङ्कथनका माध्यमबाट शक्तिको प्रयोग गरिन्छ र यो दमन गर्ने हतियार मात्र नभएर सिर्जनात्मक पनि हुन्छ भनेर प्रस्तुत गरेका छन् । विचारलाई अमूर्त वस्तु हो र भाषाले त्यसलाई मूर्त पार्छ भनेर पनि उपन्यासले सिद्ध गरेका छैनन्, बरु भाषाभित्रै हुने विचारले समाजलाई देखाएका छन् । उनका उपन्यास एकार्थक र एकस्वरात्मक नभएर बह्वर्थक र बहुस्वरात्मक बनेका छन् । यिनै कारणले गर्दा विपीका आख्यान नवमाक्र्सवादी वा उत्तरमाक्र्सवादी विचारका आधारमा पठनीय र महŒवपूर्ण बनेका देखिन्छ ।
शब्दकुञ्जिकाः दमित अनुदात्तता, दर्पणावस्था, वर्गीय द्वन्द्व, विचारधारा, व्यक्ति सिद्धान्त, सङ्कथन, सामाजिक सङ्गठन ।

१.विषय प्रवेष
विपी नेपाली साहित्यमा अपरम्परित र नवीन दृष्टिकोण भएका आख्यानकारका रूपमा सुपरिचित छन् । उनी आख्यान लेख्दा विषयवस्तु र चरित्रभन्दा विचारलाई महŒव दिन्छन् । उनी माक्र्सवादी आख्यानकार होइनन् र उनले माक्र्सवादी सौन्दर्यशास्त्रका आधारमा आख्यान सिर्जना पनि गरेका छैनन् । उनलाई मनोविश्लेषणपरक, विचारपरक आख्यानकारका रूपमा नै चिनिन्छ । आख्यान अध्ययनका अनेक सिद्धान्त र मान्यता छन् । तीमध्ये माक्र्सवादी पठन पनि एक हो । यो समाजपरक समालोचनाको एक हाँगो हो । आख्यानमा चित्रित सामाजिक पक्षको विवेचना कि त गैरमाक्र्सवादी दृिष्टले कि त माक्र्सवादी दृष्टिले गर्न सकिन्छ । विपीका आख्यानले पर्याप्त मात्रामा माक्र्सवादी पठनको सम्भावना देखाउँछन् र पाठकलाई माक्र्सवादी अर्थ निकाल्न आह्वान गर्दछन् । पाठकले विपीका आख्यानबाट माक्र्सवादी विचारको अनुभव गर्न सक्दछन्, त्यसैले यस लेखमा माक्र्सवादी दृष्टिलाई सैद्धान्तिक आधार बनाई विश्लेषणात्मक विधिको प्रयोग गरी विपीका आख्यानको अध्ययन गरिएको छ ।

२. विपीको साहित्य सम्बन्धी वैचारिक अवधारणा
विपीको राजनीतिक र साहित्यिक यात्रा भारतबाटै सुरु भयो । उनी राजनीतिमा गान्धीवादी वा अहिंसावादी हुँदाहुँदै आतङ्कवादी सङ्गठनमा लागे, जेल परे, पाँच महिनापछि छुटे । भारतका प्रसिद्ध कम्युनिस्ट नेता श्रीपाद अमृत डाँगेलाई भेटेपछि उनी माक्र्सवादतिर आकर्षित भए । वनारसको कलेजमा पढ्दा माक्र्सवादी पठन समूह निर्माण गरे र त्यस समूहको प्रमुख बने । बुखारिन, लेनिन, ट्राटस्की, माक्र्स, प्लेखानोभ आदिका किताब पढे । आफू सम्पादक भएर दि सोसलिस्ट नामक पत्रिका प्रकाशन गरे, तर विपीको साहित्य र उनका साहित्य सम्बन्धी विचारको अध्ययन गर्दा उनी कट्टर माक्र्सवादप्रति त्यति विश्वस्त देखिँदैनन् । उनी राजनीतिमा प्रजातान्त्रिक समाजवादी व्यवस्थाका पक्षपाती थिए । देशमा यही व्यवस्था लागु हुनुपर्छ भनेर उनले आजीवन सङ्घर्ष गरे । साहित्यमा पनि उनी बहुविचारका पक्षपाती भएर देखिएका छन् । उनी माक्र्सवादी हुन्, उनका रचनामा माक्र्सवादी दृष्टिकोण पाइन सक्छ, तर उनी माक्र्सवादका यन्त्रवादी प्रत्यक्षवाद, स्तालिनवादी रूढिवादका विरोधी देखिन्छन् । उनले लेनिनले भनेझैं साहित्यलाई पार्टीको प्रचारको माध्यम बनाएका छैनन् । शिल्पवादलाई अमान्य ढानेका छैनन् । उनले स्टालिनको जस्तो साहित्यलाई पार्टीको मुखपत्र बनाउनुपर्छ भन्ने कुराको समर्थन गरेका छैनन् । त्यस्तै उनले माओले जसरी साहित्य जनमुखी हुनुपर्छ, पार्टीको मद्दतमा आउनुपर्छ भनेर वकालत पनि गरेका छैनन् । यति हुँदा हुँदै पनि विपी माक्र्सीय विश्वदृष्टिकोणको खुलेर प्रशंसा गर्दछन् । आर्थिक आधारबाट समाज गतिशील हुन्छ, त्यसैले आर्थिक व्यवस्था मूल कुरा हो, सामाजिक ढाँचा आर्थिक व्यवस्थाका आधारमा खडा हुन्छ, वर्गसङ्घर्ष जसमा शोषण सन्निहित हुन्छ, त्यो अनिवार्य सामाजिक नियम हो, जसको लोप पुँजीवाद चरम सीमामा पुगेपछि हुन्छ र त्यस गतिशील आर्थिक नियमकै आधारमा नयाँ समाजवादी व्यवस्था स्वतः लागु हुन्छ भन्ने माक्र्सवादी दृष्टिकोण क्रान्तिकारी छ भनेर विपीले भनेका छन् ( कोइराला, २०५८, पृ.१५१) । विपीको विरोध केमा देखिन्छ भने जस्तोसुकै उदार सिद्धान्त पनि मतावलम्बीहरूका हातमा अनुदार भएर जान्छ र त्यसले सनातन धर्मको रूप लिन्छ । माक्र्सका कट्टर अनुयायीले माक्र्सवादलाई त्यस्तै अनुदार बनाए । उनीहरू यति सङ्कीर्ण हुन थाले कि उनीहरूका दृष्टिमा माक्र्सले लेखेका ग्रन्थमा नपाइने कुरा सबै असत्य भए । विपीले यस्तो प्रवृत्ति तानाशाहका धाईसुसारेमा मात्र हुन्छ भनेका छन् । विपी आफूलाई उदार माक्र्सवादीका रूपमा चिनाउन चाहन्छन् । उनी साहित्यमा प्रगतिशीलता नामक निबन्धमा लेख्छन्,
विश्वमा जहाँ जति जति वैज्ञानिक आधारमा ज्ञानको विस्तार भइरहेको छ, ती सबै साहित्यका आधारशीला हुन् । माक्र्सको अनुसन्धानको छाप साहित्यमा निश्चय नै पर्नुपर्छ, माक्र्सको मात्र किन ? फ्रायडको सिद्धान्तको प्रतिविम्ब साहित्यमा नहोस् ?...आर्थिक, वैज्ञानिक, मनोवैज्ञानिक क्षेत्रमा ठूला ठूला अनुसन्धानात्मक कार्यहरू तेजीका साथ हुँदै छन् । मानवसभ्यता यी यावत् अनुसन्धान कार्यको सामूहिक परिणाम हो । साहित्य हो सभ्यताको प्रतीक (कोइराला, २०५८, पृ.१५२) ।
त्यसरी नै विपीले साहित्य मजदुर वर्गका लागि लेखिँदैन भनेर स्पष्ट पारेका छन् । मनमोहन भट्टराईलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेका छन्, “सबभन्दा तल्लो स्तरसम्म साहित्य पुग्छ जस्तो मलाई लाग्दैन । वास्तवमा कला फुर्सदी वर्ग (ष्भिकगचभ अबिकक) को देन हो । म यसलाई बचष्कतयअचबतष्अ उचयमगअत मान्दछु” (कोइराला, २०५८, पृ. ७३) । उनी वास्तवमा कट्टर माक्र्सवादी होइनन् । उनी नवमाक्र्सवादी हुन् । परम्परागत माक्र्सवाद र द्वन्द्वात्मक भौतिकवादमा रहेका त्रुटि हटाउन थुप्रै सिद्धान्तकार र समूहले नवमाक्र्सवाद निर्माण गरेका छन् । यसको निर्माणमा ग्राम्सी, हर्वर्ट मार्कस र अन्य फ््रयाङ्कफर्ट स्कुलका समाजशास्त्री र मनोविज्ञानशास्त्रीको ठूलो योगदान रहेको छ । सामाजिक दृष्टिले वेबरको व्यापक सामाजिक असमानता, सामाजिक स्तर र शक्तिको बुझाइ, विश्लेषणात्मक माक्र्सवाद, आलोचनात्मक सिद्धान्त र फ्रान्सेली संरचनात्मक माक्र्सवाद आदि पनि नवमाक्र्सवादमा जोडिएका छन् । त्यस्तै उत्तरमाक्र्सवादले पनि माक्र्सवादलाई उदार र बहुलवादी विचारको समर्थक बनाउँदै लगेको देखिन्छ । यस दृष्टिले हेर्दा विपीको उदारवादी माक्र्सवादी दृष्टि माक्र्सवादी समालोचनाको फ््रयाङ्कफर्ट स्कुलसँग तुलनीय देखिन्छ । यस स्कुललाई नवमाक्र्सवादी स्कुल पनि भनिन्छ । गौतम (२०५९) ले उद्धृत गरेअनुसार, “माक्र्सवादका यन्त्रवादी प्रत्यक्षवाद, स्टालिनवादी किसिमको रूढिवादको कडा आलोचना गर्दै यस (फ््रयाङ्कफर्ट स्कुल) ले माक्र्सवादमा फ्रायडवादलाई गाँसिदिएको छ” (पृ.२५) । फ्रयाङ्कफर्ट स्कुलले नारीमुक्तिमा जोड दिन्छ । बुद्धिमत्तापूर्ण तरिकाले वातावरणीय समस्यालाई हेर्ने गर्छ । कला र साहित्यको राजनीतिक प्रकृतिलाई मान्दछ र द्वन्द्वात्मक किसिमले सामाजिक, आर्थिक जगले सांस्कृतिक प्रासाद निर्मित हुन्छ भनेर पनि मान्दछ । यस दृष्टिले हेर्दा विपीका कृतिमा आर्थिक कारणले समाजमा वर्गीय द्वन्द्व भएको देखाइएको छ र कला र साहित्यको राजनीतिक प्रकृतिलाई स्वीकारेको पनि देखिन्छ, तर उनका साहित्यले साहित्यमा माक्र्सवादी दृष्टि मात्र आउनुपर्छ अन्य विचार आउनु हुँदैन भनेर मानेको भने देखिँदैन । शर्मा (२०७०) ले प्रकाशित गराएको विपीको पत्र अनुसार विपी माक्र्स जस्तै द्वन्द्ववादी देखिन्छन् । उनका विचारमा समाज अटोमेटिक रूपमा परिवर्तन हुँदैन । समाजमा दुई पक्ष हुन्छन् । एउटा यथास्थितिको र अर्को परिवर्तनको । यी दुवै पक्षबीच तानातान भइरहन्छ । यथास्थितिको पक्षले समाजलाई एक ठाउँमा अड्याएर राखेको हुन्छ । यसले मान्छेलाई आआफ्नो थान्को र पेसामा राखेको हुन्छ, गाँस, बास र कपास उपलब्ध गराएको हुन्छ । परिवर्तनको पक्षले यथास्थितिमा अडिरहन दिँदैन, अगाडि बढ्न सिकाउँछ । प्रारम्भमा परिवर्तनकारीलाई समाजको अप्रगतिशील तŒवबाट दण्डित लाञ्छित गरिन्छ, तर पछि समाज त्यसैको अनुकरण अनुशरण गर्न थाल्छ । विपीका आख्यानमा समाजका यी दुवै पक्षबीचको द्वन्द्व देखाइएको छ । वास्तवमा विपी समाजमा विद्यमान वर्गविभेद र वर्गसङ्घर्षको कारण आर्थिक मात्र नभएर अन्य कारण पनि हुन सक्छन् भन्ने दृष्टिकोण राख्दछन् । विपीका आख्यान हेर्दा जाति, संस्कृति, लिङ्ग, समाजको पितृसत्तात्मक संरचना, व्यक्तिका सामाजिक मान्यता विरोधी तीव्र चाहना, व्यक्तिको निजी अस्तित्व र वैयक्तिक स्वतन्त्रता आदि पनि वर्गविभेद, वर्गसङ्घर्ष र समाज परिवर्तनका कारण बनेका देखिन्छन् । उनी साहित्यलाई जीवन जस्तै व्यापक मान्दछन् र साहित्यमा समग्र जीवनको प्रतिविम्ब हुनुपर्छ भन्दछन् । वर्गविभेद र वर्गसङ्घर्षको कारण आर्थिक मात्र हो अरू होइनन् भनेर आर्थिक कारणलाई मात्र साहित्यको विषयवस्तु बनाउने तथाकथित प्रगतिशील साहित्यप्रति उनी विमति जनाउँछन् । उनी वास्तवमा बहुविचारवादी हुन् । उनले एकलवादी विचारको विरोध गरेका छन् र साहित्यमा बहुविचारको सन्निवेश हुनुपर्छ भन्ने मान्यता प्रस्तुत गरेका छन् । उनी वास्तवमा उत्तरमाक्र्सवादी जस्ता देखिन्छन् । त्यसैले उनका कथा र उपन्यासलाई नवमाक्र्सवादी वा उत्तरमाक्र्सवादी सिद्धान्तका आधारमा अध्ययन गर्नु उपयुक्त हुन्छ ।
३. विपीका कथाको नवमाक्र्सवादी उत्तरमाक्र्सवादी पठन
विपीका कथाले मान्छेका चेतन र अवचेतन मनको द्वन्द्व मात्र देखाएका छैनन्, नेपाली समाजको वर्गीय द्वन्द्व पनि देखाएका छन् । आर्थिक अवस्थालाई वर्गीय द्वन्द्वको कारण ठान्ने कथामा महाराजको सबारी, दोषी चश्मा, रिक्सा तान्ने, मधेसतिर जस्ता कथा पर्दछन् । पवित्रा, हरिदत्त, कर्नेलको घोडा, स्वेटर, श्वेतभैरवी जस्ता कथामा पनि वर्गीय द्वन्द्व फेला पार्न सकिन्छ । यी कथामा कथाकारको सहानुभूति गरिब, अकिञ्चन, निमुखा र धनी वर्गको विरोध गर्न नसक्ने हेपिएका वर्गप्रति रहेको देखिन्छ । कथाकारले यस्ता वर्गका व्यक्तिलाई कथाका प्रमुख चरित्र बनाएका छन् । महाराजको सबारी कथाका गाउँले मजदुर धने, गने, रामे र श्यामे, दोषी चश्माको केशवराज, रिक्सातान्ने कथाको धनवीर, मधेसतिर कथाका विधवा र गोरे आदिका दुःख, वेदना, कष्ट र मनोद्वन्द्वको विश्लेषण गरिएको छ । पवित्रा कथाकी पवित्रा अपाङ्ग, असुन्दर र गरिब भएकै कारणले अविवाहित छे । कर्नेलको घोडा कथाकी कर्नेल्नी गरिब भएकै कारण बूढो कर्नेलसँग बिहा गर्न विवश भएकी छे । स्वेटर कथाकी मैयालाई नोकरसँग प्रेम गर्ने भनेर हेला गरिन्छ । श्वेतभैरवी कथाकी फगुनी गरिबीकै कारण गौना हुन नसकेर यौनकुण्ठामा बाँच्न बाध्य भएकी छे । यसरी कथाकारले उच्च वर्ग र निम्न वर्गका पात्रबीच आर्थिक कारणले द्वन्द्व वा विभेद भएको देखाएर धनी वर्गले गरेको आर्थिक शोषणकै कारणले गरिबको अवस्था दयनीय भएको कुरा प्रकट गरेका छन् । धनी र गरिबबीचको यही विभेद वा द्वन्द्व नै समाज परिवर्तनको कारण हो भनेर पनि कथाले व्यञ्जित गरेका छन् ।
विपीका कथाले वर्गीय द्वन्द्वको कारण आर्थिक अवस्था मात्र नभएर यौनकुण्ठा पनि हुन्छ भनेर पनि देखाएका छन् । यस्ता कथामा रिक्सातान्ने, मधेसतिर, हरिदत्त आदि पर्दछन् । मधेसतिर कथाकी विधवा पति बनाउन चाहेको गोरेसँग आर्थिक र यौन दुवै कारणले द्वन्द्व गर्न पुग्छे । रिक्सातान्ने कथाको धनवीरे प्रेमिका धनमायासँग यौनकुण्ठाका कारण र मालिकसँग आर्थिक कारणले द्वन्द्व गर्छ । हरिदत्त पैसा प्राप्तिका लागि व्यापार र प्रेम प्राप्तिका लागि प्रेमिकाको चाहना गरिरहन्छ । यसरी विपीका कतिपय कथाले माक्र्सवाद र फ्रायडवादलाई जोड्ने काम गरेका छन् ।
विपीका कथामा लैङ्गिक विभेद पनि सामाजिक द्वन्द्वको कारण बनेर आएको देखिन्छ । लैङ्गिक विभेद देखाउने कथामा बिहा, कर्नेलको घोडा, पवित्रा, होड, कथा, स्वेटर, मधेसतिर, सान्ननी, राइटरबाजे जस्ता कथा पर्दछन् । यी कथालाई नवमाक्र्सवादी नारीवादी कथा पनि भन्न सकिन्छ । यी कथामा नेपाली समाजमा के कस्तो नारी विभेद छ र त्यसबाट नारीहरू कति शोषित र पीडित छन् भनेर देखाइएको छ ।
विपीका कथाले शासक वर्गबाट हुने शोषण र दमनको चित्रण गरेका छन् । यस्ता कथामा महाराजको सबारी, दोषी चश्मा, एक रात जस्ता कथा पर्दछन् । महाराजको सबारी र दोषी चश्मा कथामा व्यक्त शोषण र दमनको चर्चा माथि नै भइसकेको छ । एक रात कथामा स्वेच्छाचारी, अधिनायकवादी र प्रजातन्त्र विरोधी शासन व्यवस्थाको विरोध गर्ने क्रान्तिकारी युवालाई शासकले मृत्युदण्ड दिएको र उसले माफी मागे मृत्युदण्डलाई आजीवन कारावासका बदलिदिने शासकको आश्वासन अस्वीकार गरी मृत्यदण्ड वरण गर्ने त्यो वीर युवाको बलिदान देखाइएको छ । त्यस्तै पितृसत्तात्मक समाजमा पुरुष शासक र नारी शासित छन् भनेर पनि देखाइएको छ । यसरी विपीका कथाले उदारवादी माक्र्सवादी विचार प्रकट गरेको देखिन्छ ।
४. विपीका उपन्यासको नवमाक्र्सवादी वा उत्तरमाक्र्सवादी पठन
साहित्यलाई पार्टीको प्रचार माध्यम वा मुखपत्र सम्झने, माक्र्सले भनेका वाहेक अन्य विचारलाई असत्य र वाहियात ठान्ने पुरातनपन्थी माक्र्सवादी सिद्धान्तका आधारमा विपीका उपन्यास माक्र्सवादी नहुन सक्छन् किनभने विपीका उपन्यासले माक्र्सवाद मात्र ठीक हो, यो वाद मात्र वैज्ञानिक छ, समाजलाई व्याख्या गर्ने अन्य वाद हावादारी हुन् भनेर वकालत गरेका छैनन् । विपीका उपन्यासले माक्र्सवादको यस्तो एकोहोरो वकालत नगरेकाले नै होला पुरातनपन्थी कट्टर माक्र्सवादी समालोचक प्रश्रित (२०५३), भट्ट (२०५३) र कुमार (२०५३) ले विपीका उपन्यासलाई अवसरवादी, व्यक्तिवादी र छाडावादी विचारका वाहक भनेर तिनको खोइरो खनेका छन् । विपीलाई पुँजीवादका पृष्ठपोषक र उनका उपन्यासले देखाएका माक्र्सवादेतर जीवनदृष्टिलाई हावादारी ठह¥याएका छन् । उनीहरूले विपीका उपन्यासमा रहेका नेपाली समाजमा विद्यमान सामाजिक आर्थिक असमानता, पुरुषप्रधान समाजमा हुने नारी उत्पीडन, जातीय वर्गीय, लैङ्गिक विभेद जस्ता समाज रूपान्तरणका बाधक तŒवको विरोध गर्ने महŒवपूर्ण सामाजिक पक्षको उल्लेख समेत गरेका छैनन् । विपीका नवमाक्र्सवादी विचारको चर्चासम्म गरेका छैनन् । पूर्वाग्रही भएर विपीका फ्रायडवादी जीवनदृष्टिको आलोचना मात्र गरेका छन् । विपीका उपन्यासको यस्तो पठन कट्टर माक्र्सवादी राजनीतिबाट प्रेरित र पूर्वाग्रही देखिन्छ । यहाँ विपीका उपन्यास कसरी नवमाक्र्सवादी वा उत्तरमाक्र्सवादी विचारका वाहक बनेका छन् भन्ने कुरा देखाउने प्रयास गरिएको छ ।
द्वन्द्वात्मकताका दृष्टिले हेर्दा विपीका प्रायः सबै उपन्यासमा विभिन्न किसिमका द्वन्द्व प्रदर्शित भएका देखिन्छन् । नरेन्द्र दाइ उपन्यासमा वर्गीय, जातीय, मनोवैज्ञानिक, लैङ्गिक द्वन्द्व प्रदर्शित छन् । नरेन्द्र धनी वर्गको र मुनरिया गरिब वर्गकी चरित्र हो । ती दुवैका माध्यमबाट समाजका धनी र गरिबबीच हुने द्वन्द्व व्यञ्जित भएका छन् । नरेन्द्र पहाडिया क्षत्री हो भने मुनरिया मधेसकी तल्लो जातकी विवाहिता हो । नरेन्द्रमा जातीय अहम् देखिन्छ भने मुनरियामा देखिँदैन । यी दुवैको सम्बन्धबाट माथ्लो जात र तल्लो जातका बीचको द्वन्द्व देखाइएको छ । यसमा वैयक्तिक इच्छा र सामाजिक मान्यताबीचको द्वन्द्व पनि देखाइएको छ । नरेन्द्र र मुनरियाबीचको यौन सम्बन्ध सामाजिक मान्यता विपरीत देखिन्छ । यौन तृप्तिका लागि उनीहरूले सामाजिक मान्यता तोडेका छन् । मुनरियाका माध्यमबाट आर्थिक विपन्नता र यौनकुण्ठाबीचको द्वन्द्व देखाइएको छ । तीन घुम्ती उपन्यासमा वर्गीय, जातीय र यौनद्वन्द्व देखाइएको छ । इन्द्रमाया धनी परिवारकी केटी हो भने पीताम्बर गरिब परिवारको केटो हो । पीताम्बर ब्राह्मण हो भने इन्द्रमाया नेवार हो । उपन्यासका पुरुष पात्र पीताम्बर र रमेश परनारीसँग यौन सम्बन्ध राख्छन् । इन्द्रमायाले पनि परपुरुषसँग यौन सम्बन्ध राखेकी छ, तर समाजले पुरुषको यौन स्वच्छन्दतालाई स्वीकार गरेको देखिन्छ भने स्त्रीको यौन स्वच्छन्दतालाई अस्वीकार गरेको देखिन्छ । यी तीनवटै कारणले इन्द्रमाया र पीताम्बरको अन्तरजातीय प्रेम र विवाहले सामाजिक मान्यता पाउन नसकेको देखिन्छ । सुम्निमा उपन्यासमा जातीय, सांस्कृतिक र यौनद्वन्द्व देखाइएको छ । सोमदत्त ब्राह्मण हो । ऊ आफूलाई उच्च जातको सम्झन्छ । उसमा जातीय अहम् छ । सुम्निमा किराँती हो । उसमा सोमदत्तको जस्तो जातीय अहम् छैन । ती दुवैका सम्बन्धबाट जातीय द्वन्द्व व्यञ्जित भएको छ । सोमदत्त ब्राह्मण संस्कृति मान्दछ भने सुम्निमा किराँत संस्कृति मान्दछे । यी दुवैको सम्बन्धबाट सांसारिक प्रेमप्रधान किराँत संस्कृति र आध्यात्मिक प्रेमप्रधान ब्राह्मण संस्कृतिबीचको द्वन्द्व व्यञ्जित भएका छन् । सोमदत्त सुम्निमा तथा पुलोमा र सोमदत्तबीचको सम्बन्धबाट यौनद्वन्द्व प्रकट भएका छन् । बाबु, आमा र छोरा उपन्यासमा व्यक्तिगत इच्छा वा स्वतन्त्रता र सामाजिक मान्यताका बीच द्वन्द्व देखाइएको छ । उमा र उसको पहिलो पतिका माध्यमबाट व्यक्तिगत इच्छा र उसका दाजु र बाबुका माध्यमबाट सामाजिक मान्यता व्यञ्जित भएका छन् । उमाका यौनेच्छा र सामाजिक मान्यताबीचको द्वन्द्वले उसको जीवन व्यर्थ र निस्सहाय बनेको देखिन्छ । हिटलर र यहूदीमा नेपाली समाजसँग सम्बन्धित द्वन्द्व छैनन् । यसमा त वैश्विक समस्यासँग सम्बन्धित वैचारिक द्वन्द्व छन् । यसमा विशेष प्रकारको जातीय द्वन्द्व, पूर्वीय अध्यात्मवाद र पश्चिमी भौतिकवाद, नियतिवाद र कर्मवाद, युद्ध र शान्ति तथा कट्टर राष्ट्रवाद र उदार विश्वमानवतावाद वा अन्तरराष्ट्रवादबीचको द्वन्द्व देखाइएको छ । यसमा रुसको स्लाभ जाति र जर्मनीको आर्य जाति तथा आर्य र अनार्य जातिबीचको द्वन्द्व देखाइएको छ । नारायण, सुनील भट्टाचार्य र उपन्यासको समाख्याताका माध्यमबाट पूर्वीय अध्यात्मवाद र रेवा, अङ्ग्रेज, स्विडेनकी होटेल्नीका छोराछोरी जस्ता पात्रका माध्यमबाट पश्चिमी भौतिकवादको चर्चा गराई दुवै विचारबीचको द्वन्द्व देखाइएको छ । नारायण, हिटलर, सुनील भट्टाचार्य आदिका माध्यमबाट नियतिवादी विचार र यहूदीहरूका माध्यमबाट कर्मवादी विचार देखाई दुवै विचारबीचको द्वन्द्व प्रदर्शन गरिएको छ । नियतिमा विश्वास गर्ने हिटलर र नियतिवादी पूर्वीय अध्यात्मवाद वा गीतादर्शनका माध्यमबाट युद्ध सम्बन्धी र युद्धोत्तर जर्मनीको अवस्थाको चित्रण र समाख्याताका माध्यमबाट शान्ति सम्बन्धी विचार प्रकट गरी ती दुवै विचारबीचको द्वन्द्व प्रदर्शन गरिएको छ । हिटलरका माध्यमबाट कट्टर राष्ट्रवादी र नारायण र समाख्याताका माध्यमबाट उदार मानवतावादी वा अन्तरराष्ट्रवादी विचारको चर्चा गरी दुवै पक्षबीचको द्वन्द्व प्रदर्शन गरिएको छ । द्वन्द्वात्मकताका दृष्टिले अन्य उपन्यासभन्दा यो नितान्त भिन्न देखिन्छ । मोदिआइन उपन्यासमा देवत्व र मनुष्यत्व जस्ता दुई विपरीत गुणबीच द्वन्द्व देखाइएको छ । मान्छे सांसारिक प्राणी हो । उसमा देवत्वको प्रवेश भयो भने ऊ मानव रहँदैन, महामानव हुन्छ । उसबाट सांसारिक वा सामाजिक गुण हराउँछन् भन्ने विचार प्रस्तुत गरिएको छ । कृष्ण र अर्जुन पात्रका माध्यमबाट देवत्व र नारी पात्रका माध्यमबाट मनुष्यत्व सम्बन्धी विचार प्रस्तुत गरिएका छन् । निष्काम कर्मका नाममा गरिने मानव संहार वा युद्ध देवताको कार्य होला, मनवताको हुनसक्दैन । यसबाट मानव समाज कहिल्यै निको नहुने घाउ लिएर जन्मजन्मान्तर बाँच्न बाध्य हुन्छ भनेर देखाइएको छ ।
शासकद्वारा शोषितमाथि गरिने शोषणको चित्रणका दृष्टिले विपीका उपन्यास महŒवपूर्ण लाग्दछन् । विपीका उपन्यासमा शासकद्वारा शासितहरू शोषित पीडित भएको देखाइएको छ । उनका उपन्यासमा निरङ्कुश शासक, उच्च जात जातिका व्यक्ति, खास जातिको संस्कृति र पुरुषवर्ग शासकीय भूमिकामा र निरङ्कुश शासनबाट मुक्ति चाहने गरिब जनता, तल्लो जात जातिका व्यक्ति र पराजित जातिको संस्कृति र नारीवर्ग शासितको भूमिकामा देखिएका छन् । नरेन्द्र दाइ उपन्यासमा नरेन्द्र र उसका कार्यलाई ठीक ठान्नेहरू शासकको भूमिकामा र गौरी, मुनरिया र नरेन्द्रका कार्यको विरोध गर्नेहरू शासितको भूमिकामा छन् । तीन घुम्तीमा इन्द्रमायाका आमाबाबुहरू, पीताम्बर र उसका साथीहरू शासक र इन्द्रमाया शोषितको भूमिकामा छे । सुम्निमामा आर्य जाति र उनीहरूको संस्कृति, सोमदत्त, आत्मवादी जीवनदृष्टि शासक र किराँत जाति र उनीहरूको संस्कृति, सुम्निमा, शरीरवादी जीवनदृष्टि र सोमदत्तकी पत्नी शासितको भूमिकामा आएका छन् । बाबु, आमा र छोरामा पुरुषवर्ग र पुरुषवादी विचारका अनुयायी नारी शासक र पुरुषवादी विचारको विरोध गर्ने नारी शासितको भूमिकामा देखिन्छन् । हिटलर र यहूदीमा हिटलर, आर्य जाति, अध्यात्मवाद, पुरुषवर्ग र युद्ध शासकको भूमिकामा र यहूदी र स्लाभ जाति, भौतिकवाद, नारी वर्ग र शान्ति शासितको भूमिकामा आएका छन् । मोदिआइनमा देवता, अध्यात्मवाद वा स्वर्गीय सुखको चाहना गर्नेहरू शासक र मानवता, भौतिकवाद वा मत्र्यसुखको कामना गर्नेहरू शासितको भूमिकामा आएका छन् । विपीका विचारहरू शासितका पक्षमा देखिन्छन्, किनभने उनी पनि शासितवर्गकै उपन्यासकार हुन् । उनका औपन्यासिक पात्रहरू शासकको दमन, शोषण र उत्पीडनबाट मुक्त हुन पनि चाहन्छन्, तर उनीहरूमा शासकका विरुद्धमा क्रान्ति वा विद्रोह गर्ने साहस भने त्यति देखिँदैन । इन्द्रमाया मात्र यस्ती पात्र हो जसले शासकवर्गको विरोध गरेकी छे । उसलाई छोडिदिने हो भने विपीले इन्द्रमाया जस्ता क्रान्तिकारी पात्र निर्माण गर्न सकेको देखिँदैन । उनका पात्र इन्द्रमाया जस्ता विद्रोही र क्रान्तिकारी किन हुन सकेनन् भनेर ग्राम्सीको हेजेमनि, अल्थुसरको विचारधाराको व्याख्या र फुकोको सङ्कथनका आधारमा विश्लेषण गर्न सकिन्छ ।
एन्टेनियो ग्राम्सी (सन् १८९१–१९३७) इटलीका ठूला माक्र्सवादी चिन्तक हुन् । उनको हेजेमनि नामक प्रसिद्ध अवधारण छ । हेजेमनि भनेको प्रभावशाली वर्गद्वारा सामाजिक, सांस्कृतिक, वैचारिक र आर्थिक प्रभावको प्रयोग गर्नु हो । अर्को शब्दमा भन्दा शासक वर्गले शासित वर्गमाथि गर्ने प्रभुत्व हेजेमनि हो । ग्राम्सीका विचार अनुसार शोषित वर्गले शासक वर्गका विचार, मूल्य र नेतृत्व उनीहरूको शारीरिक र मानसिक अवस्थाले अह्राएर स्विकारेका होइनन्, न सिद्धान्तले सिकाएर नै मानेका हुन् । उनीहरूले त्यसो गर्नाका उनीहरूका आफ्नै कारण हुन्छन् । वर्गसङ्घर्षमा विचार र विचारधारा संलग्न हुन्छन् । विचारद्वारा नै क्रान्ति हुन्छ र त्यसलाई रोक्ने काम पनि विचारले नै गर्दछ । ग्राम्सीले हेजेमनिका दुई रूप देखाएका छन् । राजनीतिक समाज र नागरिक समाजले गर्ने प्रभुत्वको प्रयोग । ग्राम्सीको यस अवधारणा अनुसार विपीका उपन्यास हेर्दा शासितको भूमिकामा रहेका पात्रहरूले शासकको भूमिकामा देखिएका पात्रका विचार, मूल्य र नेतृत्व उनीहरूको शरीर र मनले अह्राएर स्विकारेका छैनन्, न शासकवर्गका सिद्धान्तले सिकाएर नै त्यसो गरेका छन्, बरु उनीहरूले आफ्नै कारण वा विचारले स्विकारेका छन् । उनीहरूमध्ये कुनै शासकवर्गको विरोधै नगर्ने खालका छन् भने कुनै विरोध गर्न चाहन्छन्, तर फेरि आफै चित्त बुझाएर विरोध नगरी बस्दछन् । राजनीति समाजको प्रभुत्व वा शासनसत्ता वा सैनिक वा राज्यका कानुनको प्रभुत्वबाट प्रभावित सुम्निमा उपन्यासका किराँत र भिल्लहरू तीन घुम्तीको पीताम्बर र हिटलर यहूदीका लेबनानका अरब जाति, इजरायल र जर्मनीका यहूदी जातिहरू तथा मोदिआइनकी नारी पात्र देखिन्छन् । किराँत वा भिल्लहरू आफ्नै कारणले क्षत्रिय राजकुमारको आज्ञा मान्दछन् र राजकुमारले हिंसा नगर्नू भनेका ठाउँमा मारकाट नगरेर अर्कै ठाउँमा गर्दछन् । पीताम्बर शासनसत्ताको विरोधमा जेल त पर्छ, तर बिस्तारै उसभित्रको त्राmन्तिकारी धार उसकै कारणले बोधो हुँदै गएको देखिन्छ । हिटलर र यहूदीका लेबनानका अरब जातिहरू यहूदीलाई अत्यचारी हुन् भन्दछन्, त्यस्तै यहूदीहरू पनि हिटलरको क्रूरता, नृशंसता र यहूदी जातिको संहारको विरोध गर्छन् तर त्यो विरोध उनीहरूकै कमजोर विचार र आचरणका कारण अशक्त भएको छ । मोदिआइनकी नारी पात्र आफ्नै स्वाभाविक मानवीय कमजोरी (दया, माया आदि) का कारण अथवा देवता हुन नसकेका कारण युद्धको समर्थन गर्न सक्तिन । नागरिक समाजको प्रभुत्व वा सांस्कृतिक, धार्मिक, नैतिक, सामाजिक मूल्य, मान्यता र प्रचलनका रूपमा रहेका वैचारिक प्रभुत्वबाट प्रभावित पात्रमा नरेन्द्र दाइका गौरी, मुनरिया, सुम्निमाका सुम्निमा, पुलोमा, बाबु, आमा र छोराका उमा र उसकी आमा, मोदिआइनकी नारी आदि पर्दछन् । विपीका उपन्यासमा पितृसत्ताले यस्तो वैचारिक प्रभाव सिर्जना गरेको छ, जसबाट नारीवर्ग स्वतन्त्र हुने इच्छा हुँदा हुँदै पनि हुन चाहँदैनन् । उमा र उसकी आमा उनीहरूका पिता र पतिको विचारबाट शासित छन् । सुम्निमा सोमदत्तको ब्राह्मण संस्कृतिबाट शासित छे भने पुलोमा सोमदत्तको पुरुषप्रधान विचारबाट शासित छे । मोदिआइनकी नारी पात्र देवत्वबाट शासित छे भने नरेन्द्र दाइका गौरी र मुनरिया पुरुषसत्तात्मक विचारबाट शासित छन् । यिनीहरू पुरुषको शासनबाट मुक्त हुन खोज्दैनन्, बरु त्यसैलाई स्विकारेर बस्न खोज्छन् । उनीहरूले शासितका विचारलाई आन्तरिकीकरण गरेका छन् । नारीहरू पनि पुरुषवादी विचारका वाहक हुनपुगेका छन् । नारीहरूले शासित भएर बस्नमा नै हाम्रो कल्याण हुन्छ भन्ने दृष्टिकोण राखेको देखिन्छ । विपीका उपन्यासले यस्तै वैचारिक विडम्बना देखाएर त्यसप्रति व्यङ्ग्य गरेको देखिन्छ ।
लुइस अल्थुसर (सन् १९१८–१९९०) फ्रान्सेली माक्र्सवादी दार्शनिक हुन् । उनलाई संरचनावादी माक्र्सवादी र विचारधाराका सिद्धान्तकार भनेर पनि चिनिन्छ । उनको (क्ष्मष्ययिनथ बलम क्ष्मष्ययिनष्अब िक्तबतभ ब्उउबचबतगकभकस् त्यधबचमक बल भ्लखभकतष्नबतष्यल) भन्ने प्रसिद्ध निबन्ध छ । यो निबन्ध माक्र्स र ग्राम्सीका विचारबाट मात्र नभएर फ्रायडको अवचेतन मन र लकाँको व्यक्ति सिद्धान्त वा बालकको दर्पणावस्था भन्ने धारणाबाट पनि प्रभावित देखिन्छ । अल्थुसरले सामाजिक सङ्गठन भन्ने अवधारणा अघि सारेका छन् । नारङ्ग (सन् २०००) ले उद्धृत गरे अनुसार अल्थुसरका विचारमा, “समाज सामाजिक (एचबअतष्अभक) व्यवहारहरूबाट जोडिएको, तर भिन्न स्तरमा गठित हुन्छ” (पृ.१९७) । सामाजिक सङ्गठन तीन परस्पर भिन्न, तर एकअर्कासँग सम्बन्धित धरातलबाट युक्त हुन्छ, ती हुन्ः अर्थशास्त्रीय धरातल, राजनीतिक धरातल र विचारधारात्मक धरातल । यीमध्ये सामाजिक सङ्गठनमा आर्थिक धरातलको भूमिका प्रभुत्वशाली हुन्छ । अल्थुसरले स्पष्ट पारे अनुसार सामाजिक सङ्गठनको एकापट्टि विचार हुन्छ भने अर्कापट्टि विज्ञान हुन्छ । ती दुवैका बीचमा कला हुन्छ । यी सबैको प्रकार्य र प्रभाव भिन्न भिन्न हुन्छ । माक्र्सवादले कलालाई विचारको एक रूप हो भनेर मानेको थियो भने यिनले त्यसको विरोध गरेका छन् । उनका विचारमा, “कला वा महान् साहित्यिक कृतिले यथार्थको व्यवस्थित ज्ञान गराउँदैन, न त्यो कुनै वर्गको विचारधाराको अभिव्यक्ति मात्र हुन्छ” (नारङ्ग, सन् २०००, पृ.१९८) । विचारधारा व्यष्टिहरूको व्यवहार र वृत्तिबाट संयोजित भएर तथा सामाजिक सङ्गठनमा व्यष्टिहरूको वास्तविक स्थितिबाट उत्पन्न हुन्छ । अल्थुसरका विचारमा माक्र्सवादले भनेझैँ विचार अमूर्त अवधारणाको समुच्चय होइन, यो त विमर्श, विम्ब र मिथकहरूको प्रतिनिधित्व भएको त्यस्तो संयन्त्र हो, जो मानिसले भोगेका वास्तविक स्थितिसँग जोडिएको हुन्छ । अर्का शब्दमा भन्दा विचारधाराले विश्वसँग वास्तविक र काल्पनिक दुवै प्रकारको सम्बन्ध राखेको हुन्छ । अल्थुसरका विचारमा विचारधारा कुनै त्यस्तो वस्तु होइन, जसलाई बुर्जुवा वर्गले श्रमजीवी वर्गमा लादिदिएका हुन्छन् । विचारधाराहरू सामाजिक संस्थानमा निर्माण गरिन्छन् र महŒवपूर्ण बनाइन्छन् । यस्ता संस्थानलाई विचारधारात्मक राज्य संयन्त्र (क्ष्मष्ययिनष्अब िक्तबतभ ब्उउबचबतगकभक) भनिन्छ । यस्ता विचारहरू राज्यका दमनकारी संयन्त्र अर्थात् पुलिस, सेना, कानुन आदिभन्दा भिन्न हुन्छन् । समाजमा अनेक प्रकारका विचारधारात्मक संस्थान हुन्छन् । तीमध्ये शिक्षासंयन्त्रको भूमिका सर्वाधिक हुन्छ । यस संयन्त्रले व्यक्तिका मनमा यस्ता मूल्य स्थापित गरिदिन्छ, जसलाई समाज वा सामाजिक सङ्गठनले पनि अनुमोदन गरेको हुन्छ । यसलाई प्रभावकारी बनाउने काम परिवार, कानुन, सञ्चार र कलाले गर्दछन् । यसरी विचारधाराको वास्तविक स्थान व्यक्ति हुन्छ र विचारधाराले नै मान्छेलाई व्यक्तिका रूपमा निर्मित गरिदिन्छ । बुर्जुवा विचारधारा अनुसार व्यष्टि स्थायी व्यक्ति हो, त्यसैले ऊ अर्थको उद्गम स्रोत हो भन्ने मानिन्थ्यो, तर अल्थुसरले ससुरको अर्थको उद्गमक मानवीय मस्तिष्क होइन भाषिक व्यवस्था हो, जसमा अर्थको सम्भावना विभेद अनुसार स्थापित हुन्छ भन्ने भनाइसँग र नवफ्रायडवादी लकाँको व्यक्ति सिद्धान्तसँग सहमति जनाउँदै नयाँ विचार प्रस्तुत गरेका छन् । उनका विचारमा बालकको मस्तिष्क फुटेको अण्डा जस्तै जता पनि ढल्कने खालको हुन्छ । बालक जब दर्पणावस्थामा पुग्छ, अनि उसको परिचय प्रक्रिया सुरु हुन्छ र ऊ म बाह्य विश्वभन्दा फरक रहेछु भन्ने बोध गर्दछ । अर्थात् ऊ विश्वसँग काल्पनिक सम्बन्ध स्थापित गर्दछ । भाषातन्त्रमा पस्नेबित्तिकै उसको अस्तित्व व्यक्तिका रूपमा स्थापित हुन्छ र ऊ समाजमा प्रचलित विभिन्न खालका विचारधारासँग काल्पनिक सम्बन्ध स्थापना गर्न थाल्छ । यसरी विचारधाराले व्यक्तिलाई एकातिर वास्तविकतासँग परिचित गराइरहेको पनि हुन्छ भने अर्कातिर वास्तविकताबाट टाढा पनि पारिरहेको हुन्छ । विचारधाराहरू उसका अवचेतन मनमा गढेर बसेका हुन्छन् र ऊ तिनैबाट सञ्चालित हुन्छ ।
अल्थुसरको विचारधारा सिद्धान्तका आधारमा विपीका उपन्यासको अध्ययन गर्दा के देखिन्छ भने उनका उपन्यासले खास वर्गका मात्र विचार प्रस्तुत गरेका छैनन्, न तत्कालीन समाजको यथार्थलाई व्यवस्थित रूपमा प्रस्तुत नै गरेका छन् । विपीका उपन्यासमा माक्र्सवादले भनेझैँ विचार अमूर्त अवधारणाको समुच्चयका रूपमा प्रस्तुत नभएर व्यष्टि पात्रका वृत्ति र व्यवहारबाट प्रकट भएका देखिन्छन् । उनका उपन्यासले तत्कालीन समाजका व्यक्तिहरू विभिन्न सामाजिक संस्थानले निर्माण गरेका विचारधाराबाट कसरी प्रभावित भएका र जीवन बिताइरहेका छन् भनेर देखाएका छन् । उनीहरूले एकातिर आफूलाई समाजको एक एकाइका रूपमा स्विकारेर, समाजका मूल्य मान्यता मानेर त्यसैमा मोहित भएर जीवन बिताइरहेको र अर्कातिर सामाजिक मूल्य मान्यताले उनीहरूका वैयक्तिक चाहनामा अवरोध पु¥याउँदा उनीहरू ती सामाजिक मूल्य मान्यताबाट विमोहित भइरहेको पनि देखाएका छन् । विपीका उपन्यासका पात्रको व्यक्तित्व निर्माण समाजमा प्रचलित विभिन्न किसिमका विचारधारा (आर्थिक, सामाजिक, राजनीतिक, जातीय, सांस्कृतिक, लैङ्गिक आदि) बाट भएको छ अथवा तिनको चेतन र अवचेतन मनको निर्माण पनि विचारधाराबाटै भएको देखिन्छ । यसरी विपीका उपन्यासले विचारधारालाई माक्र्सवादले भनेझैँ भ्रमपूर्ण चेतनाका रूपमा स्विकारेको देखिँदैन र विचारधारालाई शासकले शोषितलाई दमन गर्ने उपकरणका रूपमा मात्र मानेको पनि देखिँदैन । तिनले समाजमा व्यक्तिको वास्तविक अवस्था बोध गराउने र तिनीहरूसँग काल्पनिक सम्बन्ध स्थापना गरी समाजसँग विद्रोह मात्र नगरे सम्झौता गरी जीवन बिताउन पनि सिकाइरहेको पनि देखिन्छ ।
मिसेल फुको (सन् १९२६–१९८४) फ्रेन्च दार्शनिक हुन् । उनी विचारका इतिहासकार, समाजशास्त्री, सामाजिक सिद्धान्तकार, चिन्तक र साहित्य समीक्षकका रूपमा प्रसिद्ध छन् । उनले शक्ति र ज्ञानका बीचको सम्बन्ध स्पष्ट पार्दै शक्ति र ज्ञानलाई सामाजिक संस्थानहरूका माध्यमबाट सामाजिक नियन्त्रणका लागि कसरी प्रयोग गरिन्छ भनेर बताएका छन् । भाषाको सामाजिक सांस्कृतिक पक्षलाई सङ्कथन (म्ष्कअयगचकभ) वा विमर्श भनिन्छ । सङ्कथन भनेको विचार, अभिवृत्ति, दृष्टिकोण, धारणा आदि सबै हो । समाजमा भाषाका माध्यमबाट जे जति कुरा गरिन्छन् र लेखिन्छन् ती सबैको संयोजनबाट सङ्कथन बन्दछन् र ती कालान्तरमा सत्य तथ्यका रूपमा समाजमा प्रचलित र स्थापित हुन्छन् । भाषाका माध्यमले संयोजित भएका यस्ता सत्यहरू शाश्वत नभएर अस्थायी र परिवर्तनशील हुन्छन् । ती विशेष राजनीतिक र ऐतिहासिक परिस्थितिमा जन्मेका हुन्छन् । उप्रेती (२०६८) ले उद्धृत गरे अनुसार फुकोले सङ्कथनका तीन पक्ष हुन्छन् भनेका छन् । ती हुन्ः शक्ति, सत्य र चित्रण वा प्रतिविम्ब (च्भचभकभलतबतष्यल) । भाषिक सत्यहरू समाजमा प्रचलित शक्ति सङ्घर्षसँग बाँधिएका हुन्छन् । माक्र्सवादी विचारमा शक्तिको स्रोत आर्थिक हुन्छ, तर फुकोको मत भने यसभन्दा भिन्न देखिन्छ । उनका विचारमा शक्तिको स्रोत आर्थिक मात्र नभएर समाजका राजनीतिक, सांस्कृतिक, सामाजिक आदि पक्षका साथै व्यक्तिको अन्तर्मन, परिवार, समाज, राष्ट्र र संसार पनि हुन् । शक्तिको अभ्यास सङ्कथनले गराउँछन् । माक्र्सवादी दृष्टिमा शक्ति आर्थिक र सामाजिक शोषणको माध्यम मात्र हो भने फुकोका विचार अनुसार शक्ति शोषण र सिर्जना दुवैको माध्यम हो । शक्तिबाट परिवर्तनशील अस्थायी सामाजिक सत्यहरूको निर्माण भइरहन्छ । शक्तिहरू इतिहास, राजनीति र अर्थतन्त्रका स्थानीय जालभित्र निर्मित हुन्छन् र तिनले स्थानीय सामाजिक संरचनालाई प्रभाव पारिरहन्छन् । त्यसैले संसारमा शक्तिको प्रयोग र त्यसको प्रतिकार भइरहन्छ ।
फुकोका विचार अनुसार हेर्दा विपीका उपन्यास भाषिक सङ्कथन मात्र देखिन्छन् । तिनले समाजमा प्रचलित आर्थिक, राजनीतिक, सामाजिक, यौनिक, सांस्कृतिक, जातीय, लैङ्गिक आदि सङ्कथनबाट निर्मित सत्य र शक्तिबीचको सङ्घर्ष देखाएका छन् । उनका उपन्यासले माक्र्सवादले जस्तो शक्तिको स्रोत आर्थिक मात्र हो भनेर देखाएका छैनन्, न शक्तिलाई आर्थिक र सामाजिक शोषणको माध्यमका रूपमा मात्र चित्रण गरेका छन्, बरु शक्तिलाई शोषण र सिर्जना दुवैको माध्यम बनाएका छन् । उनका उपन्यासमा शासक वर्ग, धनी र सामन्त, पुरुष, यौनिकता, खास जाति र संस्कृति तथा अध्यात्मवाद शक्तिको प्रयोगकर्ता र शासित, गरिब वर्ग, नारी, खास जाति र संस्कृति, भौतिकवाद आदि शक्तिको प्रतिकारकर्ताका रूपमा आएका छन् । उनका उपन्यासले ती शक्तिहरू स्थानीय सत्यबाट निर्मित भएका छन्, त्यसैले ती शाश्वत छैनन्, अस्थायी र परिवर्तनशील छन् भनेर पनि देखाएका छन् ।
माक्र्सवादी विचार अनुसार समाजको आर्थिक ढाँचालाई जग भनिन्छ र त्यही जगमा विचारधाराको भवन खडा हुन्छ । साहित्यले पनि त्यही विचारधाराको प्रतिनिधित्व गर्छ र वर्गीय स्थितिलाई नै देखाउँछ । विपीका उपन्यासले शासकवर्ग र शासितवर्गबीचको सङ्घर्ष वा वर्गविभेद देखाएका छन्, तर त्यसको कारण आर्थिक मात्र हुन्छ भन्ने कुरालाई मानेका छैनन् । उनका उपन्यासले आर्थिक अवस्थाका साथै समाजको पितृसत्तात्मक संरचना, लिङ्ग, जाति, यौन आदिलाई पनि वर्गीय विभेद र वर्गसङ्घर्षको कारण मानेको देखिन्छ ।
फ््रयाङ्कफर्ट स्कुलका चिन्तक हर्बर्ट मार्कस (सन् १८९८–१९७९) ले माक्र्सवाद (राजनीति) र मनोविज्ञान (यौनबीच) को सम्बन्धका बारेमा दमित अनुदात्तता (च्भउचभककष्खभ मभकगदष्mिबतष्यल) भन्ने अवधारण प्रस्तुत गरेका छन् । यस धारणा अनुसार युद्धोत्तर आम संस्कृतिमा यौनिक उत्तेजनाको बाहुल्य हुन्छ । यस्तो बाहुल्यले राजनीतिक दमनलाई सबल पार्न मद्दत पु¥याउँछ । यदि मानिसहरू अवाञ्छित यौन उत्तेजनाबाट ग्रस्त छन् भने उनीहरूको राजनीतिक शक्ति समाजलाई सकारात्मक परिवर्तन गराउनतिर प्रवृत्त नभएर हिंस्रक र क्रूर भई अरूलाई दमन गर्नतिर प्रवृत्त हुन्छ । मार्कसले युद्धपूर्वको युरोप र अमेरिकाको एकआयामिक बुर्जुवा जीवन पद्धतिको लेखाजोखा गरेर आलोचनात्मक सिद्धान्त परिष्कृत गरेका छन् । हर्बर्ट मार्कसको दमित अनुदात्तता अवधारणका आधारमा विपीका उपन्यासलाई हेर्दा तीन घुम्ती र हिटलर र यहूदीका पात्रमा त्यस्तो प्रवृत्ति देखिन्छ । तीन घुम्ती उपन्यासको पात्र पीताम्बर निरङ्कुश शासन व्यवस्थाको विरोधी छ । ऊ जीवनमा ठूलो उद्देश्य बोकेर अघि बढेको छ र समाजलाई परिवर्तन गर्न चाहन्छ, तर प्रेमविवाह गरेर ल्याएकी पत्नी इन्द्रमायालाई शङ्काको दृष्टिले हेर्छ । आफू चाहिँ बाहिरका केटीसँग सल्कन्छ, तर पत्नी उसका राजनीतिक साथीहरूको भेलामा कुरा सुन्न आई भनेर ऊ पत्नीलाई विषात्त भावनाले भन्छ, “साथीहरूको भेलामा तिमीलाई बढी आनन्द आउँछ हगि...यत्रो पुरुष समाजमा तिमी मात्रै त एउटी नारी छ्यौ नि ! त्यसैले तिम्रो मूल्य तिमीलाई लाग्दो हो धेरै बढ्न गएको छ कसो ?”(पृ.१४) । यसरी पत्नीलाई शङ्का गर्ने पीताम्बर जेल पर्छ । इन्द्रमाया रमेशबाट छोरी प्राप्त गर्छे । यो कुरा थाहा पाएर पीताम्बर पत्नीसँग झन् टाढा हुन्छ र अन्त्यमा पत्नीलाई कि छोरी छोड्नुपर्छ कि पति छोड्नुपर्छ भनेर भन्छ । यी सबै कार्य पीताम्बरका दमित अनुदात्त यौन प्रवृत्तिबाट प्रेरित देखिन्छन् । हिटलर र यहूदीमा विपीले युद्धोत्तर समाजमा व्याप्त दमित यौनमूलक अनुदात्त आम संस्कृतिको चित्रण गरेका छन् । लेखक जेलबाट छुटेर औषधि गर्न बम्बई गएका हुन्छन् । उनी गर्मीले गर्दा राति कोठामा सुत्न नसकी घुम्न निस्केका वेला बाटामा व्यभिचार दूतले तपाईंलाई यहूदी वा लेवनानकी अरबी कुन केटी मिलाइदिऊँ भनेर भन्छ । यहूदीले लडाइँ गरेर लेवनानका अरबी जातिलाई तहस नहस पारेको र इजरालबाट भागेर हिँडेका यहूदीको कारुणिक अवस्थाको चित्रणपछि बम्बैको वेश्याबजारमा अरबी र यहूदी केटी बढी उपलब्ध भएको देखाउनुको मतलब विपीले युद्धोत्तर समाजमा व्याप्त अनुदात्त यौनसंस्कृतिको सङ्केत गर्न खोजेको देखिन्छ । इजरायलबाट भागेको यहूदी गोल्डबर्गको विवाह बेलायतकी विधवा पसल्नीसँग गराएको, गोल्डबर्गको छोरो युवक याकुव र बूढी मैकडोनाबीचको अवाञ्छित यौन सम्बन्धको प्रसङ्ग, जर्मनीको बर्लिन सहरकी सैनिकद्वारा बलात्कृत गाइड थियोडोराको कारुणिक कथा, किशोरी इल्जेको वेश्यावृत्तिको कथा, हिटलरको बन्दी शिविरको हेरचाह गर्ने खोरन्डो सैनिक लियोनार्ड र वेश्या डोरिसको कथा, हिटलरको बन्दीगृहमा हुने यहूदीको नृशंस हत्या र नारीमाथि हुने निर्मम बलात्कारका घटनाको उल्लेख, मेजर्नी नामक पात्रले सैनिकहरूका लागि चलाएको यौनव्यवसायको वर्णन र लियोनार्डद्वारा भनाइएको “लडाइँको मैदानमा दुइटा कुराको मात्र ध्याउन्न हुन्छ– या मान्छे मार, या कुनै आइमाईलाई आफ्नो तिघ्रामुनि पार”(पृ.१००) भन्ने भनाइ आदिले पनि युद्धोत्तर समाजको दमित यौनअनुदात्ततालाई नै व्यञ्जित गरेको देखिन्छ । यसरी विपीका उपन्यासले दमित यौन भावना भएका राजनीतिज्ञहरू समाज रूपान्तरणपट्टि नलागेर अरूलाई यौन दमन गर्नतिर प्रवृत्त हुन्छन् र उनीहरूको राजनीतिक उदात्तता दमित यौनका कारणले दमनमा रूपान्तरित हुन्छ भनेर देखाएका छन् ।
साहित्यमा यथार्थको चित्रण कसरी गरिन्छ भनेर माक्र्सवादीहरूले पाँच प्रतिमान प्रस्तुत गरेका छन्, ती हुन्ः प्रतिविम्ब प्रतिमान, उत्पादन प्रतिमान, प्रजनक प्रतिमान, निषेधात्मक ज्ञान प्रतिमान र भाषाकेन्द्रित प्रतिमान । विपीका उपन्यासको सामाजिक यथार्थलाई यी पाँचै प्रतिमानका आधारमा जाच्न सकिन्छ, तर यहाँ निषेधात्मक ज्ञान प्रतिमान, प्रजनक प्रतिमान र भाषाकेन्द्री प्रतिमानका आधारमा मात्र विवेचना गरिएको छ ।
फ््रयाङ्फर्ट स्कुलका चिन्तकहरूमध्ये थियोडोर डब्लु एडोर्नो विशेष उल्लेख्य छन् । यिनी निषेधात्मक ज्ञान प्रतिमानका प्रवक्ता मानिन्छन् । गौतम (२०५९) ले उद्धृत गरे अनुसार एडोर्नोका विचारमा “कला र सत्य परस्पर दूरीमा उभिन्छन् र यही दूरीले गर्दा कलाकर्मबाट यथार्थको आलोचना गर्ने सुविधा प्राप्त हुन्छ” (पृ.२७) । एडोर्नोका विचारमा कला सत्यको सार हो, विम्ब हो, फोटो जस्तो नक्कलको उत्पादन होइन । कला वास्तविक जगत्को निषेधात्मक ज्ञान हो । यस दृष्टिले विपीका उपन्यास हेर्दा तिनमा नेपाली समाज ऐनामा देखिएजस्तो देखिएको छैन । तिनमा आँखाले देखिने नेपाली समाजको बाहिरी अनुहार नभएर विचारले देखिने भित्री अनुहार प्रतिविम्बित भएको देखिन्छ । लुसियन गोल्डमेनका विचारमा साहित्य यथार्थको अनुकरण होइन । उप्रेती (२०६८) ले उद्धृत गरे अनुसार गोल्डमेनका विचारमा–
हरेक सामाजिक वर्ग वा समूहका विशिष्ट प्रकारका मानसिक संरचना हुन्छन् । त्यस समूहबाट आएका लेखक, विचारक, दार्शनिक र कलाकारले आआफ्ना वर्गका मानसिक संरचनालाई सिर्जना मार्फत व्यक्त गर्ने गर्दछन् । लेखकले आफ्नै वर्गको मानसिक संरचना व्यक्त गरिरहेको छु भनेर थाहा नपाउन सक्छ, तर ती अवचेतनकै रूपमा व्यक्त भइरहेका हुन्छन् (पृ.१६४) ।
यथार्थलाई यस रूपमा अभिव्यक्ति दिने प्रतिमानलाई उत्पत्तिमूलक वा प्रजनक प्रतिमान भनिन्छ । यस प्रतिमानका आधारमा विपीका उपन्यासमा व्यक्त यथार्थ हेर्दा विपीले पनि आफ्नै वर्गको नेपाली समाजको मानसिक संरचनाको विश्लेषण गरेको देखिन्छ । विपी मध्यम वर्गीय समाजका उपन्यासकार हुन् । उनका उपन्यासमा मध्यम वर्गीय नेपाली समाजको मानसिकता व्यक्त भएको छ । भाषाकेन्द्री प्रतिमान बाख्तिन स्कुलसँग सम्बन्धित छ । यसले रूपवाद र माक्र्सवादलाई जोड्ने कार्य गरेको छ । यस स्कुलका मान्यता अनुसार समाजलाई भाषाबाट अलग गर्न सकिँदैन । गौतम (२०५९) ले उद्धृत गरे अनुसार, “भाषामा विचारधारा आबद्ध हुन्छ र विचारधारा सामाजिक आर्थिक क्षेत्रकै भएकाले त्यसै मार्फत साहित्य सामाजिक आर्थिक क्षेत्रसँग गाँसिन जान्छ” (पृ.२८) । यसले भाषालाई मूर्त र गतिशील ठान्दछ । परिस्थिति अनुसार भाषाले नानाथरीका अर्थ प्रकट गर्दछ । यो एक स्वरात्मक नभएर बहुस्वरात्मक हुन्छ भनेर मान्दछ । शास्त्रीय माक्र्सवादले भने भाषालाई अमूर्त वस्तु मान्दछ । विचारधारा सामाजिक आर्थिक क्षेत्रको मानसिक छाया हो र यसले विचारधारालाई मूर्त पार्दछ भन्ने दृष्टिकोण प्रस्तुत गर्दछ । बाख्तिन यस भनाइका विरोधी देखिन्छन् । उनले भाषा गत्यात्मक हुन्छ, सामाजिक हुन्छ र परिस्थिति अनुसार अनेक अर्थ दिन सक्ने हुन्छ भनेका छन् । यस प्रतिमानका आधारमा विपीका उपन्यास बहुस्वरात्मक र बह्वर्थक लाग्दछन् । उपन्यासको भाषा सुन्दर, कलात्मक र व्यञ्जनात्मक छ । आलङ्कारिक भाषाले गर्दा उनका विचार नाराका रूपमा नआएर कलाका रूपमा आएका छन् । उनका भाषाद्वारा व्यक्त विचार नेपाली समाजकै भएकाले उनका उपन्यास पनि नेपाली समाजसँग गाँसिएका छन् ।
५. निष्कर्ष
विपीका जीवनमा गान्धीवादले मात्र होइन माक्र्सवादले पनि गम्भीर प्रभाव पारेको देखिन्छ । उनी माक्र्सवादी विचारमा विश्वास गर्दछन् र त्यसको द्वन्द्वात्मक भौतिकवादी दृष्टिलाई स्विकार्छन् पनि, तर उनी माक्र्सवादका कट्टर र पुरातनपन्थी अनुयायी भने हुन चाहँदैनन् । उनी साहित्यमा एउटा मात्र विचार आउनुपर्छ भन्ने कुरामा पटक्कै विश्वास गर्दैनन् । उनी मानव सभ्यताको विकासमा अनेक विचारको योगदान रहेको छ र साहित्य पनि सभ्यताकै प्रतीक हो भन्ने विश्वास व्यक्त गर्छन् । उनी आफ्ना आख्यानमा अनेक प्रकारका विचार प्रयोग गर्दछन्, त्यसैले उनका आख्यान मनोविश्लेषणात्मक मात्र नभएर विचारकेन्द्री पनि भएका छन् । उनी वास्तवमा नव माक्र्सवादी वा उत्तरमाक्र्सवादी आख्यानकार जस्ता देखिन्छन् ।
उनका कथाले मान्छेका चेतन र अवचेतन मनको द्वन्द्व मात्र देखाएका छैनन्, वर्गीय द्वन्द्व पनि देखाएका छन् । समाजमा देखिने अनेक प्रकारका शोषण र दमनको चित्रण गरेका छन् । समाजका कुरीतिप्रति व्यङ्ग्य गरेका छन् । परम्परित माक्र्सवादले वर्गीय द्वन्द्वको आधार आर्थिक अवस्थालाई मात्र मान्दछ, तर विपीका कथामा वर्गीय द्वन्द्वको कारण आर्थिक अवस्थाका साथै यौनकुण्ठा, पितृसत्तात्मक सामाजिक संरचना, लैङ्गिक विभेद आदि पनि हुन् भनेर देखाइएको छ । त्यसरी नै विपीका उपन्यासमा मानवीय मनका विविध अवस्थाको चित्रण मात्र नभएर विभिन्न प्रकारका सामाजिक द्वन्द्वको चित्रण पनि भएको देखिन्छ । नरेन्द्र दाइ र तीन घुम्तीमा वर्गीय, जातीय र लैङ्गिक द्वन्द्वको चित्रण गरिएको छ भने बाबु, आमा र छोरामा मूलतः लैङ्गिक द्वन्द्व देखाइएको छ । सुम्निमामा जातीय, सांस्कृतिक र लैङ्गिक द्वन्द्व देखाइएको छ भने हिटलर र यहूदीमा वैश्विक परिवेशमा आधारित जातीय र सांस्कृतिक, पूर्वीय र पाश्चात्य जीवन दर्शन, नियतिवाद र कर्मवाद, युद्ध र शान्ति, कट्टर राष्ट्रवाद र उदार विश्वमानवतावादका बीचको द्वन्द्व प्रस्तुत गरिएको छ । मोदिआइनमा भने देवत्व र मनुष्यत्वका बीचको द्वन्द्व प्रदर्शित छ । यसरी विपीका उपन्यासले आर्थिक अवस्थालाई मात्र आधार बनाएर समाजको चित्रण गरेको देखिँदैन । समाजमा विद्यमान अनेक प्रकारका द्वन्द्वात्मक अवस्था देखाएर समाजका अनेक पाटाको चित्रण गरेको देखिन्छ ।
शोषक र शोषितको सम्बन्धको चित्रणका दृष्टिले पनि विपीका उपन्यास महŒवपूर्ण र उल्लेख्य देखिन्छन् । उनका उपन्यासले समाजमा विद्यमान आर्थिक शोषणको मात्र चित्रण गरेका छैनन् र शोषणको आधार आर्थिक अवस्था मात्र हो भनेर पनि मानेका छैनन् । उनका उपन्यासमा निरङ्कुश शासक, उच्च जात जातिका व्यक्ति, खास जातिको संस्कृति र पुरुष वर्ग, अध्यात्मवाद आदि शासकीय भूमिकामा र निरङ्कुश शासन सत्ताबाट मुक्ति चाहने समाज, तल्लो भनेर मानिएको जात जाति, पराजित जातिको संस्कृति, नारी वर्ग र भौतिकवाद शासितको भूमिकामा आएका छन् । विपीका उपन्यासले वास्तवमा शासित वर्गकै हितमा आफ्नो शक्ति देखाएका छन् । ग्राम्सीको हेजेमनि अवधारणका आधारमा हेर्दा विपीका उपन्यासमा राजनीतिक र सामाजिक दुवै समाजको प्रभुत्वको चित्रण गरिएको पाइन्छ । तिनमा कानुनी, सांस्कृतिक, धार्मिक, नैतिक, वैचारिक आदि अनेक प्रभुत्वबाट चेपिएको जगत् देखिन्छ । उनका औपन्यासिक चरित्रहरू ती विविध प्रभुत्वबाट मुक्त हुन त खोज्छन्, तर आफ्नै कारणले प्रभुत्वलाई आन्तरिकीकरण गरेर प्रभुत्वका वाहक भएर बाँचिररहेका देखिन्छन् । विपीका उपन्यासले यही विडम्बनापूर्ण अवस्थाको चित्रण गरेका छन् ।
लुइस आल्थुसरको विचारधाराको व्याख्याका आधारमा हेर्दा विपीका उपन्यासले न सामाजिक यथार्थलाई व्यवस्थित रूपमा देखाएका छन्, न तिनले कुनै खास वर्गका विचार नै प्रस्तुत गरेका छन् । तिनले कलाका आँखाले देखिने यथार्थलाई प्रतिविम्बित गरेका छन् । तिनमा विचार अमूर्त वस्तुका रूपमा नआएर औपन्यासिक चरित्रका वृत्ति र व्यवहारसँग सम्बद्ध भएर आएका छन् । चरित्रहरू समाजमा प्रचलित अनेक विचारधाराबाट प्रभावित छन् । ती विचारबाट उनीहरू दमित र पीडित मात्र भएका छैनन्, सिर्जनशील र परिवर्तनशील पनि भएका छन् । मिसेल फुकोको सङ्कथन अवधारणाका आधारमा हेर्दा विपीका उपन्यास भाषिक सङ्कथनले निर्मित देखिन्छन् । तिनले समाजमा प्रचलित अनेक प्रकारका सङ्कथनबाट निर्मित सत्य र तिनै सत्यका आधारमा बनेका शक्तिका बीचको सङ्घर्षको चित्रण गरेका छन् । परम्परित माक्र्सवादले जस्तो शक्तिको स्रोत आर्थिक अवस्था मात्र हो र शक्ति शासितलाई दबाउन मात्र प्रयोग गरिन्छ भनेर पनि देखाएका छैनन् । विपीका उपन्यासले शक्तिको प्रयोगकर्ता व्यक्ति हो । व्यक्तिपरकताको बोध भाषाबाटै हुन्छ । शक्तिको प्रयोगकर्ता र प्रतिकारकर्ता बीचको निरन्तर सङ्घर्षबाटै सत्य निरूपित हुँदै जान्छन्, स्थानिकता, ऐतिहासिकता र राजनीतिक कारणले सत्य शाश्वत हुन पाउँदैनन्, ती स्थानिक, गतिशील र परिवर्तनशील हुन्छन् भनेर पनि व्यञ्जित गरेका छन् । हर्बर्ट मार्कसको दमित अनुदात्तता अवधारणा अनुसार हेर्दा विपीका उपन्यासले माक्र्सवाद र फ्रायडवादलाई जोड्ने काम गरेको देखिन्छ किनभने तिनले शासक वर्गको राजनीतिक उदात्तता दमित यौन अनुदात्ततामा रूपान्तरित भएको र त्यसबाट पनि शासित दमित शोषित भएको यथार्थ प्रकट गरेका छन् ।
साहित्यमा यथार्थ चित्रण गर्ने माक्र्सवादी प्रतिमानमध्ये उत्पत्तिमूलक वा प्रजनक प्रतिमानका आधारमा हेर्दा विपीका उपन्यासले लेखककै वर्गको अर्थात् मध्यम वर्गीय समाजको मानसिक अवस्थाको चित्र प्रस्तुत गरेका छन् । निषेधात्मक ज्ञानप्रतिमानका आधारमा हेर्दा उनका उपन्यास माक्र्सवादले भने जस्ता समाजलाई देखाउने ऐना भएका छैनन् । तिनले विचारले देखाउने समाजको भित्री अनुहार देखाएका छन् । भाषाकेन्द्री प्रतिमानका आधारमा हेर्दा उनका उपन्यासले माक्र्सवादले जस्तो अमूर्त भाषाका माध्यमबाट विचार मूर्त पारेका पनि छैनन्, बरु भाषालाई सामाजिक वस्तु ठानेर त्यसैभित्र रहेका विचार देखाएका छन् र ती विचारबाट तत्कालीन समाज व्यञ्जित भएको छ । त्यसैले उनका उपन्यास एकार्थक नभएर बह्वर्थक र बहुस्वरात्मक भएका छन् । यसरी माक्र्सवादी दृष्टिले हेर्दा विपीका आख्यान परम्परित माक्र्सवादीभन्दा भिन्न नवमाक्र्सवादी वा उत्तरमाक्र्सवादी जस्ता देखिएका छन् ।


सन्दर्भसूची
उप्रेती, सञ्जीव (२०६८), सिद्धान्तका कुरा, काठमाडौँः अक्षर क्रिएसन नेपाल ।
कुमार, अमर (२०५३), “माक्र्सवादी आलोचकको दृष्टिमा विश्वेश्वरप्रसाद कोइरालाको नरेन्द्रदाइ उपन्यास,” विश्वेश्वरप्रसाद कोइरालाः समालोचना र विचारमा, (सम्पा.) जीवनचन्द्र कोइराला, काठमाडौँः वी.पी. अनुसन्धान तथा सेवाकेन्द्र, (पृ.२५६–२६०) ।
कोइराला, जीवनचन्द्र.सम्पा. (२०५३), विश्वेश्वरप्रसाद कोइरालाःसमालोचना र विचारमा, काठमाडौंः विपीअनुसन्धान तथा सेवाकेन्द्र ।
कोइराला, जीवनचन्द्र.सम्पा. (२०५८), विपी कोइरालाका छरिएका सामग्री, (दो.सं.), काठमाडौंः मनिका कोइराला ।
कोइराला, विश्वेश्वरप्रसाद (२००६), दोषी चश्मा, वाराणसीः प्रशान्त प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०३९), श्वेतभैरवी, काठमाण्डुः चेतना साहित्य प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०५४), सुम्निमा (पाँचौं सं.), ललितपुरः साझा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०५५), जेल जर्नल, (ते.सं.), ललितपुरः जगदम्बा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०५६), मोदिआइन, (पाँचौं सं.) ललितपुरः साझा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०६३), नरेन्द्र दाइ (सातौं सं.), पुलचोकः साझा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०६६), हिटलर र यहूदी (सातौं सं.), पुलचोकः साझा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०६७), बाबु, आमा र छोरा (छैटौं सं.), पुलचोकः साझा प्रकाशन ।
कोइराला, विपी (२०६८), फेरि सुन्दरीजल, (जेल डायरी २०३३–३४), पुनर्मुद्रण, ललितपुरः जगदम्बा प्रकाशन ।
कोइराला, विश्वेश्वरप्रसाद (२०७०), आफ्नो कथा, (पाँचौं सं.), पुलचोकः साझा प्रकाशन ।
गौतम, कृष्ण (२०५९), आधुनिक आलोचनाः अनेक रूप अनेक पठन, (दो.सं.), ललितपुरः साझा प्रकाशन ।
गौतम, सिद्धिनाथ सम्पा.(२०४८), वीपी स्मृतिग्रन्थ, काठमाडौंः राष्ट्रिय अभिनन्दन समिति ।
त्रिपाठी, वासुदेव (२०५३), “कथाकार विश्वेश्वरप्रसाद कोइराला र उनको शत्रु कथाः एक चर्चा,” विश्वेश्वरप्रसाद कोइरालाः समालोचना र विचारमा, (सम्पा.) जीवनचन्द्र कोइराला, काठमाडौंः विपी अध्ययन तथा सेवाकेन्द्र, (पृ.३६९–३८२) ।
त्रिपाठी, वासुदेव (२०५८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग २, (तृ.सं), पुलचोकः साझा प्रकाशन ।
नारङ्ग,गोपीचन्द (२०००), संरचनावाद उत्तरसंरचनावाद एवं प्राच्य काव्यशास्त्र, अनु.देवेश, नयी दिल्लीः साहित्य अकादमी ।
प्रश्रित, मोदनाथ (२०५३), “सुम्निमालाई लेखककै जीवनदर्शनको पृष्ठभूमिमा हेर्दा,” विश्वेश्वरप्रसाद कोइरालाः समालोचना र विचारमा, (सम्पा.) जीवनचन्द्र कोइराला, काठमाडौँः वी.पी.अनुसन्धान तथा सेवाकेन्द्र, ( पृ.१७६–१८०) ।
भट्ट, गोविन्द (२०५३), “तीन घुम्ती कि छाडावादलाई स्वीकृति ?” विश्वेश्वरप्रसाद कोइरालाः समालोचना र विचारमा, (सम्पा.) जीवनचन्द्र कोइराला, काठमाडौँः वीपी.अनुसन्धान तथा सेवाकेन्द्र, पृ.२२०–२२७) ।
शर्मा, रमेशनाथ (२०७०), “विपीको अप्रकाशित चिठी” अन्नपूर्ण पोस्ट, मङ्सिर २९ गते, पृ.४ ।
शर्मा, विष्णु (२०५३), “विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यासमा सामाजिक जीवनको सन्दर्भ,” विश्वेश्वरप्रसाद कोइरालाः समालोचना र विचारमा, (सम्पा.) जीवनचन्द्र कोइराला, काठमाडौंः विपी अध्ययन तथा सेवाकेन्द, (पृ.१३०–१३६) ।

प्राध्यापक
त्रि.वि.पद्मकन्या क्याम्पस, काठमाडौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु