“उज्जु डार्लिङ” माथि शाब्दिक बलत्कार

- डा. गोबिन्दसिंह रावत

जीवनी लेखनको थालनीको इतिहास मोतीराम भट्टले भानुभक्तका बारेमा उनलाई नेपालको आदि कविका रुपमा प्रतिष्ठापित गराएर शुरु भएको मानिन्छ । जीवनीको परिभाषाले कुनै व्यक्ती विशेषका बारेमा उनको जीवनसँग सम्बन्धित सकारात्मक (कुनै कुनै नकारात्मक पनि) जानकारीमूलक घटनाक्रमलाई विस्तारपूर्वक वर्णन गर्नु भन्ने बुझिन्छ भने प्रायः जीवनीको लेखन कार्य व्यक्ती विशेषको शेषपछि गरिने पनि परम्परा चल्दै आए तापनि आजको मितिमा यो परम्परामा तगारो लागि सकेको छ । आज व्यक्तीले आफ्नै व्यक्तित्वमाथि प्रकाश पार्न जीवनी लेख्ने गरेको पाइन्छ । कुनै एक व्यक्तीले अर्को व्यक्तीका बारेमा लेखिने जीवनी खोजमूलक र अनुसन्धानमूलक हुने गर्दछ भने व्यक्ती आफैले आफ्नो बारेमा लेखिने जीवनीमा अनुसन्धानको भन्दाबढी सम्झना शक्तीले काम गरेको हुन्छ । आजको मितिमा पहिलोभन्दा बढी दोस्रो तरिकाबाट जीवनी लेख्ने चलन चलेको छ । यसरी आफ्नो जीवनकालमा नै आफैले आफ्नो बारेमा जीवनी लेख्दा वा लेखाउँदा आफ्नो जीवनका वास्तविक यथार्थतालाई समेट्न सकिन्छ । वास्तवमा भन्ने हो भने जीवनी लेखन विधा अप्ठ्यारो विधा हो । यसमा अतीतलाई नियालेर वर्तमानमा राख्दा ईमान्दारीको महत्वपूर्ण भूमिका हुने गर्दछ । लेखकको ईमान्दारीता नै जीवनीको सफलताको कसी हो । त्यसैले ईमान्दारीता बिनाको जीवनी कोरा व्यक्तीवादी प्रचार मात्र ठहरिन्छ । आफ्ना अतीतलाई कोट्याएर त्यसबाट आफ्नो जीवनीको उदृेश्य पूर्तिका लागि चाहिने घटनाक्रमलाई मात्र सम्झदै लेखिने गरिन्छ । लेखकको इमान्दारितामा नै जीवनी निर्भर हुने भएकोले यो आफैमा अपठ्यारो विधा हो ।

समाज र राष्ट्रका लागि विशेष योगदान दिएकाहरुको जीवनी लेखिने चलन आदिकालदेखि नै चल्दै आएको छ । रामको जीवनी रामायण हो भने प्रभु क्राईष्टको जीवनी बाईबलमा पाइन्छ । राजामहाराजाबाट लिएर राष्ट्र सेवकहरुका बारेमा जीवनी लेखिने परम्परा पनि धेरै पुरोनो हो । लेखक साहित्यकारहरुको जीवनी पनि धेरै अगाडिदेखि लेखिदै आएको छ । समाजमा आफ्नो बेग्लै पहिचान बनाएर गएकाहरुको जीवनीहरु प्रेरणादायी पनि हुने गर्दछ । कसैले आफ्ना जीवनका विभिन्न मोडहरुलाई दैनिकी (डायरी) का रुपमा टिपोट गर्दै कालान्तरमा उनी आफै वा उनका आफन्तहरुबाट सम्झनाका लागि कृतिका रुपमा प्रकाशित गराउने प्रचलन पनि रहदै आएको छ । कुनै पनि कृति लेखनको पछाडि एउटा उदृेश्य लुकेको हुन्छ । लेख्ने उदृेश्य । त्यस्तै जीवनी लेखनको सन्दर्भमा पनि त्यो लागु हुने गर्दछ । त्यो उदृेश्य कतै प्रष्टिएर आएको हुन्छ भने कतै प्रष्टिएको हुँदैन । मैले भर्खर लगभग दुई महिना लगाएर (समय अभावले गर्दा) नेल्सन मण्डेलाको द लङ्ग वाक फर फ्रिडम पढी सकेको थिए । एउटा प्रेरणादायी जीवनी पढेपछि उज्जु डार्लिङ हात परेको थियो । हुन त हरिवंश आचार्यको चिनो हराएको मान्छे पढ्नका लागि पाइसेको थिए तर खलङ्गामा हमला पुस्कृत भएपछि त्यसलाई पढ्नतिर लागे । त्यसपछि उज्ज्वलको आफ्नो पुस्तकका बारेमा लेखीदिन अनुरोध गरेकोले उज्जु डार्लिङ पढ्न शुरु गरे ।

कलाकार उज्ज्वल भण्डारीद्वारा जीवनीका रुपमा लेखिएको उज्जु डार्लिङ मा उज्ज्वलको कलाकारिताको पहिलो कालखण्डको वर्णन पाइन्छ । उनका कलाकारिताले निरन्तरता पाईरहेकोले यसलाई मैले पहिलो कालखण्ड भन्न रुचाए । हुन त उनले यसलाई आफ्नो आत्मकथा नभनेर जीवन भोगाईका केही पल र उज्जु डार्लिङ बन्दाका अनुभूतिको संग्रह भन्न रुचाएका छन् (पृ. ११) । उनले यसलाई तेस्रोलिङ्गीको प्रतिनिधित्व गरेको भन्दै आफ्नो ६ वर्षको प्रशारणकालको अनुभवहरु समेटेका छन् । उज्जु डार्लिङ वास्तवममा हाम्रो समाजको एउटा वर्गको सकारात्मक पक्षको वकालत गर्दैै उनीहरुको समानताका लागि उठाइएको शब्दात्मक आवाजहरुको गुञ्जन हो । यसले लैंगिक आन्दोलनको अभियानमा वर्तमान समय र परिवर्तित समाजका विषयमा बोल्ने विश्वास लिन सकिन्छ ।समाजमा विद्धमान पुलिङ्ग र स्त्रीलिङ्गबाहेक पनि एउटा अंगका रुपमा रहदै आएको बेग्लै लिङ्गको उपस्थितिबाट अन्तरवार्तात्मक कार्यक्रमका रुपमा ए–वन टेलिभिजन च्यानलमा संचालन हुँदै आएको एउटा कार्यक्रमको नाम हो उज्जु डार्लिङ । कार्यक्रमका माध्यमबाट उनले भेदभाव विहीन समाजको परिकल्पना गर्दै त्यसको अवधारणालाई अगाडि सारेका छन् । यस क्रममा उनीसँगै उनका परिवारलले देखेका भोगेका र सहनुपरेका घटना र क्षणहरु ह्दयस्पर्शी नै छन् । उनको पुरुषार्थमाथिको प्रश्न चिन्ह एकातिर थियो भने अर्कोतिर दुई छोराका बाउ भईसकेकालाई एकाथरी समाजले के सोचे होलान भन्ने प्रश्न पनि टड्कारो रुपमा आएको छ । तेस्रोलिङ्गीका रुपमा परिचित भएका व्यक्तीको श्रीमती र बच्चाहरु पनि छन् भन्दा उनकी श्रीमती ले के कस्तो शब्दवाणहरुको सामना गर्नु प¥यो भन्ने असजिलो यथार्थका कुराहरुलाई उज्ज्वलले प्रष्ट रुपमा राखेका छन् । हुन त उज्जु डार्लिङको शीर्षकमा नै लिङ्ग र लिङबीच मतभिन्नता देखिन्छ । यसलाई उज्जु डार्लिङ भन्ने कि उज्जु डार्लिङ्ग भन्ने रहेकोले त्यसमा पनि लिङ्गमा भेद देखिएको छ ।

डिकुरा पब्लिकेसनबाट प्रकाशित उज्जु डार्लिङ पुस्तकका माध्यमबाट कलाकार उज्ज्वल भण्डारीले आफ्नो कलायात्राको रेखाङ्कित चित्रलाई शब्दमा उतारेर प्रस्तुत गरेका छन् । उज्ज्वललाई मैले बिहेपछि चिनेको हो । नातामा मामा ससुरा पर्ने भए तापनि हामीबीच दाजुभाइको सम्बन्ध रहदै आएको छ । गत महिना विशाल टोरोन्टोमा क्यानेडियाली नेपाली महिला संघले आयोजना गरेको तीज कार्यक्रममा कलाकारका रुपमा आएको बेला उनले आफ्नो यो पुस्तक मलाई दिदै मेरो विचार पोखिदिन अनुरोध गर्नु भएको थियो । कुनै बेला मञ्चमा ओरालेर कलाकारिताको गोरेटोमा हिड्न सिकाएको व्यक्ती आज चर्चाको शिखरमा पुग्दा आफैलाई गर्व लाग्छ । उनमा रहेको कलाकारिताको आभाष मैले पारिवारिक भेटघाटको क्रममा पाइसकेको थिए । उज्ज्वल र शैलेस त्यसबेला पनि (मञ्चमा आउनअघि) एकअर्काका पूरक भएर ठट्यौली कार्यक्रम गरेर परिवारलाई स्वच्छ मनोरञ्जन दिने गर्थे । २०३६ साल (सन् १९७९) मा नै सर्वनाम नाट्य समुहको जग राख्दै कीर्तिपुर क्याम्पसको अडिटोरियममा “मूर्दावादमा उठेका हातहरु” नाटक प्रदर्शन गरेपछि सर्वनामले निरन्तरता पाउँदै गयो । २०३७ सालदेखि प्रज्ञाप्रतिष्ठानको गाईजात्रा महोत्सवमा सहभागि भएपछि त्यसलाई पनि निरन्तरता दिदै गए । उज्ज्वलले नाटक गर्ने इच्छा गरेपछि समाप्त असमाप्त” र “दिन प्रतिदिन” लेखेर र निर्देशन गरेर उज्ज्वलको नाटक यात्राको थालनी गराएको थिए भने उज्ज्वल र शैलेसको विदुषकीय अभिनय प्रतीभाबाट परिचित भएकोले उनीहरुको इच्छा पु¥याउन आफ्नो प्रहर्सनमा सहभागी गराएर किङ्ग सोमा (त्यसताका गाईजात्राको पहिलो प्रस्तुतिमा राजाको सवारी हुने गथ्र्यो) नै प्रदर्शन गरेका थियौं । अनि पछि दुवैलाई सर्वनाममा सहभागी गराएपछि सर्वनामले प्रतिभाशाली कलाकार पाएको थियो । त्यसपछि प्रारम्भमा उज्ज्वल–शैलेस भण्डारी जोडीले गाईजात्राहरुमा आफ्नो बेग्लै छाप छाड्दै गईरहेको थियो भने शैलेसको अमेरिका पलायनपछि उज्ज्वल भण्डारीले उज्ज्वलले शैलेन्द्र सिंखडा, साम्दे शेर्पा, शिवहरी पौडेल आदिसँग जोडी बनाएर गाईजात्राको मौसममा दर्शकहरुलाई हाँस्यव्यंग्य प्रस्तुतिहरुबाट मनोरञ्जन पस्कदै आएका थिए । उनले हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र सन्तोष पन्त जस्ता राष्ट्रिय पहिचान भएका वरिष्ठ हाँस्य कलाकारहरुसँग समेत आफ्नो अभिनय प्रस्तुत गरेर प्रतीभा पस्केका छन् । सर्वनामका धेरै नाटक अनि टेलिचलचित्रमा हामी दुवैले सँगै अभिनय पनि गरेका छौं ।

मेरो क्यानाडा आगमनपछि शुरु भएको उज्ज्वलको “उज्जु डार्लिङ” का बारेमा धेरै प्रतिक्रियाहरु सुनेको थिए । राम्रा र नराम्रा । ती प्रतिक्रिया मेरो नेपालको बारम्बार भ्रमणको क्रममा हाम्रा आफन्तहरुबाटै बढी सुनिन्थ्यो । के गरेको त्यस्तो छ्या उज्ज्वलले ? कस्तो लाज लाग्दो ? तर यी कुराहरुले मलाई कुनै प्रभाव पर्दैन्थ्यो । म आफै पनि कलाकार र आफन्तहरुले पीठपछाडि नौटङ्कीबाट मलाई अलङ्कारित गर्दै आएको सुनेको थिए । उज्जु डार्लिङ कार्यक्रमका बारेमा उज्ज्वलले भनेपछि मैले सामाजिक सञ्जाल यु ट्युबमा भने हेर्ने मौका पाएको छु । उज्ज्वलसँग सामाजिक सञ्जाल फेस बुकका माध्यमबाट हाम्रो शब्दात्मक संवाद चलिनै रहेको थियो । अचानक उज्ज्वलले अमेरिकामा आएको बारे जानकारी गरायो । त्यसपछि हामीबिच फोनमा कुरा हुन थाल्यो । फोनबाटै “उज्जु डालिङ” पठाउने कुरा पनि चल्यो । अनि अचानक उज्ज्वल क्यानाडामा तीजको कार्यक्रमका लागि निम्त्याएको बारे जानकारी गराएपछि लगभग चार वर्षपछि हाम्रो भेट भएको थियो । क्यानाडा नेपाली महिलासँघको आयोजनामा टोरोन्टोमा आयोजित तीजको रमाईलो साँझ कार्यक्रममा मैले पहिलोपटक उज्जु डार्लिङलाई भेट्ने मौका पाए ।

पुस्तकभित्रको उज्ज्वल

जम्मा २६ अध्यायमा विभाजित “उज्जु डालिङ” मा उज्ज्वलको संक्षिप्त जीवनी र विस्तृत कलाकारिताका अध्यायहरु पढ्न सकिन्छ । पुस्तकको थालनी “मेरो कलायात्रा” बाट शुरुभएर “पाँच अङ्क साप्ताहिक र म” मा गएर टुङ्गिएको छ । यसमा सबैभन्दा लामो अध्याय पाँच पृष्ठको “मेरो कलायात्रा” र “महिला, विवाह र जोडी” आलि शीर्षकको रहेका छन् भने अन्य २४ वटै अध्यायहरु डेड पृष्ठको हाराहारीमा रहेका छन् । उनले आफ्नो “उज्जु डालिङ” टिभी कार्यक्रममा सहभागी भएकाहरु मध्ये विभिन्न क्षेत्रका ५१ जनासँग खिँचेका फोटोसहीत सामुहिकमा एउटा आफ्नो कार्यक्रमका युनिट सदस्यहरुसँग, एउटा अमेरिकाका अवैतनिक वाणिज्यदूतहरु प्रेमराजा महत र ऋषी ढकालसहित र एउटा रक्षा नेपाल संस्थाका बालबालिकाहरुसँग रहेको फोटो समावेश गरिएको छ । ५१ जना विभिन्न क्षेत्रका भनिएकोमा २० जना अभिनय क्षेत्रका, ९ जना राजनीतिक क्षेत्रका, ९ जना विभिन्न सामाजिक क्षेत्रका, ५ जना गायन क्षेत्रका र १० जना विभिन्न क्षेत्रबाट खेलाडी, प्रशासक, कार्यक्रम निर्माता, पत्रकार आदि रहेका छन् । आफ्नो कार्यक्रममा उनले विभिन्न क्षेत्रका कतिजना महानुभावहरुसँग साक्षात्कार गरेका थिए भन्नेबारेको विवरण पुस्तकमा पाइँदैन । यो पुस्तक लेखन उनको “उज्जु डालिङ” सँगको निरन्तरताको क्रममा लेखिएको हो वा “उज्जु डालिङ” को समाप्तीपछि लेखिएको हो भन्नेबारे पनि पुस्तक मौन छ ।

“उज्जु डालिङ” मूलतः उज्जवल भण्डारीको आत्मकथा हो । उनले यतिचाडै आफ्नो आत्मकथा लेख्नु पर्ने कारणबारे कतै लेखेका छैनन् । यो रहर हो वा बाध्यता अथवा भनौं कुनै उदृेश्यपूर्तिका लागि लेखिएको पुस्तक हो । यसको उत्तर उज्ज्वलसँगै होला । तर पुस्तककोको भूमिकामा ईमान्दारिता पूर्वक पूण्यप्रसाद प्रसाईले पुस्तकलाई उज्ज्वलको “बाध्यात्मक रहर” भनेका छन् भने अर्का भूमिका लेखक पदम गौतमले उज्ज्वलको “बाध्यताको रहर” भनेका छन् । दुवै भूमिकामा उज्ज्वलको “बाध्यता” आएकोले यसभित्रको बाध्यताका बारेमा लेखक÷कलाकार उज्ज्वल भण्डारीले कुनै दिन कुनै अर्को पुस्तकमा चर्चा गर्लान ।

पुस्तकमा उज्ज्वलले आफुलाई पढ्ने सन्दर्भमा सबैभन्दा मन नपर्ने कुराका रुपमा चर्चा गरेका छन् । यही वाक्यांश हरिवंश आचार्यले आफ्नो जीवनीरुपी पुस्तक चिनो हराएको मान्छे मा चर्चा गरेका छन् । दुवै कलाकार हाँस्य विधाका प्रयोगधर्मी हुन् । दुवैको जन्म धेरै सन्तानपछि काञ्छो सन्तानको रुपमा भएको छ । उज्ज्वल १५ औं सन्तानका रुपमा जन्मेका थिए भने हरिवंश छैटो सन्न्तानका रुपमा । अनि दुवैले आफ्ना कलाकारिताको मध्यान्तरमा जीवनका घटनाक्रम र विचारहरुलाई अक्षरमा उतारेका छन् । दुवैको लेखाईको सन्दर्भ र उदृेश्य बेग्ला बेग्लै होला । तर दुवै हाँस्य कलाकारका कृतिबाट पाठकले उनीहरुलाई अझ राम्ररी बुभ्mने र जान्ने मौका पाउने विश्वास लिन सकिन्छ ।

“उज्जु डालिङ” पुस्तक उज्ज्वलले आफ्नो कलाकारिताको बारेमा ईमान्दारीका साथ लेखेको पुस्तक हो । यसमा उनले आफु टुहुरो हुनको कथाबाट लिएर जीवनका व्यथाहरुको टिपोट गरेका छन् । एकजना कलाकारको सफलताको शिखरमा पुग्नअघि उसको जीवनमा देखापरेका विभिन्न उतरचढाउँका बारेमा बुभ्mन सकिन्छ । प्रतीभा सबैमा हुन्छ । त्यसलाई तिखार्ने र सपार्ने मौका कमैले पाउने गर्दछन् । त्यस्तै कमै मध्येका एक कलाकारका रुपमा देखापरेका एउटा प्रतीभा हुन उज्जवल भण्डारी । उनको “उज्जु डालिङ” पुस्तकभित्र उज्ज्वल उज्जु भन्नुअघिबाट लिएर टेलीदर्शकको डालिङ्ग बनेपछिसम्मको विवरण पाइन्छ । मूख्यतः पुस्तकले “उज्जु डालिङ” कार्यक्रमलाई माध्यम बनाएर उनले संक्रिणताले भरीएको हाम्रो नेपाली समाजलाई समयानुरुप परिस्कृत हुँदै जाने वातावरण निर्माण गर्न मञ्च प्रदान गरेको देखिन्छ । उनले कार्यक्रममा आफुलाई तेस्रोलिङ्गीका रुपमा प्रस्तुत गरेर संक्रिण समाजका विभिन्न क्षेत्र, वर्ण, वर्ग, जात, धर्म, समुदायको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तीहरुलाई बोलाएर हाँस्यव्यंग्यात्मक शैलीमा प्रस्तुति पस्केका छन् । त्यसैले छिछि थुथु र छ्या भन्नेहरुको उपस्थितिले कार्यक्रमलाई झन रोचक बनाइदिएका थिए ।

तेस्रोलिङ्गीको सन्दर्भमा कुरा गर्नु पर्दा क्यानाडालाई तेस्रोलिङ्गी समुदायका लागि स्वर्ग मानिन्छ भने टोरोन्टोलाई तेस्रोलिङ्गीहरुको राजधानी मानिन्छ । प्रत्येक वर्ष जुनको अन्तिम आईतबार टोरोन्टोमा अन्तर्राष्ट्रिय तेस्रोलिङ्गी महोत्सवको आयोजना हुँदै आएको छ । अहिले क्यानाडाको अन्टारियो प्रान्तका प्रिमियर (मुख्यमन्त्री सरह) सहित केन्द्रिय मन्त्रीमण्डलमा पनि तेस्रोलिङ्गीहरुको सहभागिता रहेको छ भने रहदै आएको छ । त्यसैले तेस्रोलिङ्गीहरुको अधिकारका लागि यहाँको सरकारसमेत दत्तचित्त भएर लागेको देखिन्छ । यसको प्रभाव अमेरिका, बेलायत, जर्मन, फ्रान्स हुँदै एशिया राष्ट्रहरुमा पनि पर्दै गएको छ । त्यसैको बाँछिटा नेपालमा पनि परेको छ । यसअघिको संविधानसभामा तेस्रोलिङ्गीको समेत प्रतिनिधित्व रहेकोबाट नेपाली समाज संक्रिणताबाट माथि उठ्दै गईरहेको आभास गर्न सकिन्छ । यस्तै सामाजिक संक्रिणतालाई संचार माध्यमको प्रयोगबाट आफैलाई एक तेस्रोलिङ्गीका रुपमा उपस्थित गराएर उज्ज्वलले संचालन गरेको “उज्जु डालिङ” कार्यक्रमलाई एउटा साहसिक कार्यको रुपमा लिन सकिन्छ । यस्तै साहसिक कार्यको दस्तावेजका रुपमा अहिले तपाईहामीसामु यो “उज्जु डालिङ” पुस्तकको रुपमा देखापरेको छ । यसलाई भोलीका समाजले एउटा कोसे ढुङ्गाका रुपमा लिन विश्वास गर्न सकिन्छ ।

“उज्जु डालिङ” पुस्तकमा उज्ज्वलले आफ्नो जीवनको कथाव्यथालाई मात्र नसमेटेर नेपाली समाजका बढ्दै गएको एउटा बेग्लै तेस्रोलिङ्गी समुदायको प्रतिनिधित्व गर्दै टेली कार्यक्रमका माध्यमबाट नेपालको सामाजिक एवम् राजनीतिक अवस्थाको चित्रण ईमान्दारी पूर्वक गरेका छन् । एउटा साधारण नागरिक सरह उनले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धेरै ठाँउमा सटिक व्यग्ंयभाव प्रकट गरेका छन् । उदाहरणका रुपमा केही वाक्यहरुलाई हेर्न सकिन्छ ः

“जड्याहा बाउले रक्सी खाएर आएर आमालाई पिट्दा छोराछोरीले टुलुटुलु हेरेजस्तै अवस्था भयो हामी नेपाली जनताको” (पृष्ठ ४४)

उज्ज्वलले “उज्जु डालिङ” का माध्यमबाट देशको अवस्थामाथि तीखो व्यंग्य प्रहार गर्न पनि पछि हटेका छैनन् । नेपालको वर्तमान अवस्थाप्रतिको विरक्तता, खिन्नता, उदासिनताका बारेमा उनले प्रसङ्गवस् धेरै ठाँउमा विस्तृष्णता पोखेका छन् । जातीयताका आधारमा समाज टुक्रिदै गएको देखेर उनले लेखेका छन् “हुँदा हुँदा अब त हाम्रा साथी र टोलवासीसँग नै हामीले भगवान पनि छुट्याउँछौं जस्तो लाग्छ” (पृ. ४९) । देशमा राजनैतिक परिवर्तन आए पनि मान्छेको सोचमा परिवर्तन नभएकोले मानवीय विश्वासमा कमी बढ्दै गएपछि मेरो र तेरोको भावना जरो गाड्दै गएको आभाष प्रकट गर्दै धेरै ठाँउमा मानवीय व्यग्ंय कसेका छन् । यस्ता व्यंग्यात्मक उद्गारहरु पुस्तकको धेरै ठाँउमा पोखिएका छन् ।

बहुदलअघिको अवस्थालाई शान्ती र डरत्रासहीन समाज रहेको तर अहिले वातावरणनै डरत्रासले भरिएको । समाजबाट जातीयप्रथा हराएको शताब्दीपछि फेरी मानिसहरु राजनीतिक स्वार्थका कारण जातले चिनिने भएका छन् । मानवीयता हराउँदै वैमनष्यता बढ्दै गएको समाजप्रति खेद प्रकट गर्दै उनले पहिला ओ बाजे, ओ बज्या कता ? भनेर साथीभाइले सोध्दा स्वभाविक लाग्ने ग¥थ्यो तर आज त्यसरी बोलाउँदा त्यसले मलाई हेपेको भन्दै हामी जोरी खोज्न थाल्छौं भन्दै मानिसको व्यवहारमा समेत परिवर्तन आउँदै गएको देखाएका छन् । यसको जड कारण उनले दलगत राजनीतिले निम्त्याएको विसङ्गतिका रुपमा लिएका छन् । जसले गर्दा मानिसमानिसका बीच सम्बन्धको विखण्डन भएकोमा अफसोच व्यक्त गरेको छन् । उनले पुस्तकका माध्यमबाट नेपालको सामाजिक र राजनैतिकसँगै मानवीय व्यवहार र आचरणमाथि प्रकाश पार्दै व्यवस्थामाथि पनि व्यग्ंय कस्न पछि परेका छैनन् । उनले देशको विभिन्न अवस्थासँगै स्वार्थीपूर्ण कार्यशैलीमाथि पनि प्रश्नात्मक चिन्ह लगाएका छन् ः “नेपालको मिडिया जगतले कहिल्यै पनि राम्रो र उपयुक्त कलाकारलाई चिनेन” (पृष्ठ ३७) भन्दै स्वार्थको बोलबाला संचार जगतमा समेत रहेको देखाएका छन् ।

उज्ज्वलले “उज्जु डालिङ” मा आफ्नो संघर्षको कथाव्यथाको चित्रणसँगै “उज्जु डालिङ” को निमार्णको क्रममा भोग्नुपरेका पीडा र अप्ठ्यारो क्षणहरुको फेहरिस्त देखाउँदै कार्यक्रम निमार्णमा आईपर्ने र परेका कष्टमय अवस्थाका बारेमा आफ्ना अभिव्यक्तीहरु पोखेका छन् । नेपालमा जन्मेका हुर्केका कलाकारीता गरेर सफलताको शिखरमा पुगे तापनि उनले बढी विदेशलाईनै प्राथमिकतामा राखेर नेपालसँग दाँजेका छन् भने भारतीय कलाकारहरुलाई सम्पन्नताको नजिक पु¥याएका छन् । नेपालको साधनस्रोतका बारेमा अनभिज्ञता देखाउँदै उनले विदेशी कलाकारलाई महानताको कसीले मूल्याङकन गरेको धेरै उदाहरणहरु पाइन्छन् । अझ आफुलाई नेपालमा जन्मेकोमा ग्लानीभाव पनि पोख्न पछि परेका छैनन् । कार्यक्रमलाई राम्रो बनाउन उनले गरेको मिहिनेत एकातिर छ भने अर्कोतिर कार्यक्रम निर्माणको क्रममा उनले भोग्नु परेका अप्ठ्यारा परिस्थितिहरु जस्तै बजेटको समस्याले गर्दा लुगा आफैले खोज्नु पर्ने, श्रीमतीले लुगा किन्दा रिसाएमा तपाईको लागि त हो नी भन्दा मौन बस्न बाध्य हुनु पर्ने प्रसङ्गरुले अमीलो सत्यमाथि प्रकाश पारेका छन् । उनले कार्यक्रमका बारेमा सबै कुराको बेलीविस्तार लगाए पनि कार्यक्रम निर्देशकको नाम भने कतै उल्लेख गरिएको देखिदैन । उनी आफै निर्देशक भएको पनि उल्लेख भएको छैन । साथै टेलीचलचित्रको प्राण मानिने क्यामरामेनको नाम पनि उनले कतै लिएका छैनन् । क्यामरामेन नै हो जसले कार्यक्रमलाई स्तरीयताको शिखरमा पु¥याउन सक्छ भने निर्देशकले त्यो स्तरीयतालाई अझ परिस्कार गर्ने काम गर्ने गर्छ । त्यसैले यी दुवैको नाम नआउनुको कारण बुझिएन ।

अन्त्यमा उनले पाँचको अंकसँगको आत्मीयतालाई पुस्तकको पुछारको अध्यायमा चर्चा समेत गरेका छन् । तर यो चर्चामा उनले आफ्नो जीवनको पहिलो हाँस्यव्यंग्य प्रस्तुति प्रज्ञाको गाईजात्रा महोत्सवमा किङ्क सोसमेत भएको “लामखुट्टे दि ग्रेट” को महत्वपूर्ण प्रसङ्ग छुट्याउनु भएको छ । यो प्रहर्सनमा उज्ज्वल मारवाडी सेठ भएर अभिनय गर्दा लामखुट्टे बढाएर लामखुट्टे धपाउने धुप बेचेर पाँच सयबाट पाँच हजार, पाँच लाख, पाँच करोड हुँदै पाँच अरब रुपिया कमाउने कुरा गर्छन । तर यो संवाद तत्कालीन पंचायत व्यवस्थामा राजालाई श्रीपाँच भनेर सम्बोधन गर्ने भएकोले काट्नु परेको थियो । त्यो पनि राजालाई देखाइसकेपछि कुनचाहिं चाकरीबाजले प्रज्ञालाई भनेपछि हामीले पाँचलाई चार बनाएका थियौं । त्यस्तै अर्को प्रसङ्गमा नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाले एकपटक परिवार नियोजन सम्बन्धी नाटक प्रतियोगिता गर्दा मेरो नाटक “घाम नलागेको घैंटो” मा उज्ज्वलले अभिनय गरेका थिए र उनले उत्कृष्ठ कलाकारको पुरस्कार पनि पाएका थिए ।

निष्कर्षमा भन्नु पर्दा उज्ज्वलको “उज्जु डालिङ” उनको आफ्नो संघर्षमय जीवनको टिपोट हो । कार्यक्रम संचालन भएपछि उनी आफै नयाँ परिचयका साथ तेस्रोलिङ्गीका रुपमा समाजमा परिचित हुँदै उनलाई ६० प्रतिशतले महिला, ३० प्रतिशतले तेस्रोलिङ्गी र १० प्रतिशतले वास्तविक केटा मान्ने गरेको खुलासा गर्दै उनलाई घरायसी सामान किन्दासमेत सर्वसाधरणले चियो चर्चा गर्ने गरेको र श्रीमतीको लागि सेनिटरी किन्दा उज्जुले आफैलाई किनेको भनेर उनको लिङ्गमाथि समेत संकाका धेरै रोचक प्रसङ्गहरुले पुस्तकलाई पठनीय मात्र नभएर मनोरञ्जनात्मक बनाईदिएको छ । एकै शब्दमा भन्नु पर्दा केही अतिशयोक्तीलाई छोडेर पुस्तक पठनीय, प्रसंशनीय, रोचकीय र व्यंग्यबाणले भरिएको छ । बढी आशावादी देखिएका उज्ज्वल अर्थात “उज्जु डालिङ” देशको विकास र परिवर्तनप्रति पनि आशावादी भएर भन्छन् ः “नेपाल थोत्रो ट्रक हो, पछाडिबाट कसैले घँचेडिरहेको छ र विस्तारै अलिअलि चल्दै छ ” ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु