ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

- होम सुवेदी

आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय पनि बित्ने सोचेर म लागें आम्बोटेतिर । मैले गाई चराएको भिरको बाटोबाट म हिंडिरहेको थिएँ, जाँदा जाँदै मेरा मनमा कुरा झुत्तिन थाले ।
उता मेरा वर्तमानको वासथलोमा मेरा केही सरकारी कर्मचारीहरू पनि छन् । उनीहरूले १० देखि ४ वा ५ बजेभित्र ता सरकारको तलब खाएबापत काम गर्नु पर्ने हो । काम कम गर्नु र घुस अघिक खानु उनीहरूको अभ्यासको विषय हो । यदि त्यसरी घुस खान पाइएन भने उनीहरूले अफिसको समयमा गर्नु पर्ने काम कुराहरूलाई जानेसम्मका उपायहरू गरेर छिरोलेर बिगार्छन् र छाडिदिन्छन् । अनि घुस मिलेन भने भोलिपल्ट पनि आलेटाले गरेर काम बिगार्दै अफिसको समय सक्छन् । आफैंले जानी जानी बिगारेको र बिग्रिएको कामलाई सपार्न भनेर माग फारम भर्छन् र ओभर टाइम खाएर फेरि सपार्छन् । यस्ता चोर खन्चुवा केही दौंतरीहरूको काम कुरो देखेर अहिले पनि मलाई उहिले हाम्रो घरमा भएको राघी गाईको सम्झना झल्झली आउँछ । यो कुरा उति सारो पुरानु पनि होइन । चोर्नमा सारै रिपु थियो राघी गाई । जङ्गलमा गाई बाख्रा चराउन गोठालो भएर जाँदाको सम्झना हो यो । त्यस गाईले हामी गोठालाहरूको दोहोलो काढेको थियो आजका कर्मचारीहरूले जनतालाई दोहोलो काढेझैं । हेर्दाहेर्दै विजुलीको गतिमा अघि कता सड्केर अर्काको बाली खाइदिन्थ्यो आजभोलिका जनताका सेवकहरूले जनताबाटै घुस खाएजसरी । मलाई अबगाल, गाली कुटाई समेत कति खुवाएको थियो थियो त्यस गाईले । त्यस गाईलाई थलो सुक्सुकाउँदो कहिल्यै पार्न सकिएन । फनफनी घुमेर, गोब्रयाएर, गहुँत्याएर अनि धलो भरी फन्को मारेर सारै फोहोरो पार्दथ्यो । उति हान्दैनथ्यो त्यस अर्थमा गुनी थियो । तर सारै चोर । त्यो राघी गाईको प्रकृति आजका सबैजसो र सबैतिरका कर्मचारीहरूमा देख्छु । त्यो दिन मलाई त्यही गाई चराएको भिर र त्यसले चोरेर खाएका पखेरा र पाखातिर जान मन लागरिहेको थियो । चालिस वर्ष पछि ।
त्यतिखेर म गोठालो थिएँ । गाई गोठालाको दिनचर्या के हुन्थ्यो र ? गाई भैंसी दुहुनु, थलाको गोबर सोहोर्नु, गाई चराउन जङ्गलतिर लानु, तिनलाई राम्रंरी अघाउन्जेल चराउनु, नहराई साँझमा घरमा लिएर आउनु, घर फर्कंदा सकेदेखि घाँसको भारी र नसके गाईको लागि ओच्छ्याउने सोत्तर मात्रै भए पनि लिएर आउनु, बाछापाडा गर्नु, घाँपानी गर्नु आदि ता हुन्थे । यी बाहेकको अरु कुनै दिनचर्या गोठालाको गाई खर्काउन लाँदा हुँदैनथे कमसे कम मेरा थिएनन् । आज म त्यही खर काटेको गाई खर्काएको, अरु धेरै गाईहरूसँग राघी गाई चराएको र गलेनी र कटुस टिपेर खाएको भिरमा छु । मैले आज भन्दा चालिस वर्ष अघि गाई चराएको, खर काटेको, घाँस काटेको र भारी बोकेको भिरमा मैले आज पाइला टेकें । यो भिर देखेर मलाई अलिक अनौठो लाग्यो । यस बाजिको मेरो पैत्रिक भिरको र घरको यात्रामा त्यही चोर राघी गाईको सम्झना आयो । त्यही भिरको बाटो गरेर म अर्काे गाउँमा जाँदै थिएँ, त्यही राघी गाईले चोरेर बाली खाएको छिमेकीको बारीबाट जाँदै थिएँ । बारी उही, वन उही, डाँडापाखा उही, हरियाली उही, सल्लो घारी उही, ऐसेलु पाकेका छन्, काफल पाक्न लाग्दैछन्, सल्लाका सिम्टा खसेका छन् । सबै सबै उही उही खालका छन् तर म भने फरक छु । अहिले म फुलेको छु, कपाल झरेको छ । उस बेलाको जस्तो गरी भिरमा हिंड्न सक्तिन । ममा फरक भएर पनि यहाँको भिरमा उति फरक देखिनँ । कतै कतै गाईबाख्रा चरिरहेका पनि छन् । अप्ठेरोमा बाख्राहरू घाँसका पिपिराहरू टिपेर चरिरहेका छन् । तर गोठाला भने मैले देखिनँ । किन गोठाला छैनन् हँ ? विना गोठाला गाईबाख्रा मात्रै अचेल चर्छन् कि क्या हो ! मलाई अलिक छक्क लाग्यो ।
बिना गोठाला गाई बाख्रा चर्दा रहेछन् कि कसो ? मलाई फेरि गहिरो प्रश्न मनभरि आइरहेको थियो । अकिल पर पुग्दा चप्लेटी ढुङ्गामा केही गोठालाहरू बसेर बडो रमाइलो गरिरहेका रहेछन् । ए यता पो रहेछन् गोठालाहरू । मेरो उत्सुकता आफैं मेटियो । मैले यस ढुङ्गामा कति पटक घाँस र खरका भारी बिसाएर पसीना पुछेको थिएँ । सायद आजका गोठालाहरू पनि भारि बिसाएर पसिना पुछ्तै होलान् । म सोच्तै थिएँ । ढुङ्गामा भुराभुरी मात्र रहेछन् झुरुम्म बसेका । मलाई चिन्ने कोही थिएनन् । उनीहरूका बाबुको पनि साथी थिएँ म । वा उनीहरूका हजुरबाबुको साथी पनि हुन सक्थें । अनि मलाई कसले चिनोस् ? कसले चिनोस् मलाई ? किन यी यसरी एकै ठाउँमा झुम्मिएका हुनन् मैले आफैंसँग सोधें अनि सोचें । नजिकै पुगेर यसो हेरेको गोठालाहरू ता हातमा मोबाइल पो खेलाइरहेका रहेछन् । उनीहरू एसएमएस गर्ने तरिका सिक्तै रहेछन् । नआएकोले बडो व्यग्र भएका रहेछन् ।
“अङ्कल !” एक बालिका गोठाल्नीले त्यस भिडबाट मलाई सोधी । केकाे अङ्कल हजुरबा भन्नु पर्दैन भनौ भनौ लाग्याे तर भनिन । र्ऊ १०, १२ की हुँदी हो । हेर्दा बडो प्यारी, थाम्मथुम्म परेकी, कपाल बाटेकी, राम्रै लुगा लाएकी र निकै हिसी परेकी थिई ।
“हजूरलाई एसएमएस गर्न आउँछ ? सिकाइदिनुुहोस् न ।” उसले मतिर उसको हातको मोबाइल तेस्र्याउँदै मलाई बडो सहज रुपमा फेरि कुरा राखी ।
म चकित परें । मैले गिठ्ठा र भ्याकुर खाएर रिंगेको यो भिरमा, मैले कलेटी परेको ओठ लिएर एक्लै हिंडेका यस भिरमा आज यस शैलीका बालबालिका ! आजका गोठालाहरूका हातमा मोबाइल ? मैले पानी पनि गुएँलाको धोद्राको पिएर खर काटेको यस ताङ्सेका भिरमा पानीको धारो ? एउटा खबर एक गाउँबाट अर्काे गाउँमा पुग्न तिन दिन लाग्ने यो गाउँ र भिरहरूबाट एसएमएस ? मैले ‘तिमी’ भन्दा माथिल्लो दर्जाको भाषै नजानेको यस ठाउँमा आजका बालबालिकाहरूमा मुखमा तपाईं र हजुर भन्न थालेका छन् रहेछन् । ‘हजुर !’ शब्दले मलाई सम्बोधन ! म तिन छक्क परिरहेको थिएँ । यहाँ ता आज मोबाइल पो आइपुगेछ ! कस्तो अचम्म ! आज गोठालाको हातमा मोबाइल, श्रमिकका हातमा मोबाइल ! समय निकै माथि पुगेको लाग्यो मलाई । अझै मसँग उक्त बालिकाले आग्रह गरिन् । अनि मैले एसएमएस गर्ने तरिका सबैलाई सिकाइदिएँ । र बाटो लाग्न खोजें । तर बालिकाले अझै केही जानिन र मलाई अझै पर्खाई । मसँग अझै केही सिकाइदिने उसको आग्रह आयो । केही क्षण पर्खिएँ ।
म साठी बर्सको उमेरमा आज आएर बल्ल बल्ल नयाँ विद्युतीय सामग्रीहरूलाई जानीनजानी उपयोग गर्दैछु । तर मेरा गाउँका बालबालिकाहरूले जन्मैदेखि विद्युतीय माध्यमहरूलाई उपयोग गर्न थालिसकेछन् । मेरो पुस्ताले खाली खुट्टाले हाइस्कुल पार गरेको थियो, आजका बालबालिकाहरू यहाँ पनि टाइ लगाएर बोर्डिङ् जाने ? कति चाँडो युगले काँचुली फेरेर कति माथिसम्म पुगेछ !’ मलाई आफ्नो युगमा पनि यस्तै साधन भएको भए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्यो । मैले ता टेलिफोन भनेको धनकुटाबाट धरानसम्म फलामे तार टाँगेर पुर्याएको मात्र देखेको थिएँ । त्यसबाट कसरी बोलिन्छ थाहा पनि थिएन । पहिलो पटक कालिम्पोङमा हो मैले टेलिफोनको सेटबाट कसैसँग कुरा गरेको ।
ऊ बेला मेरा हातमा पनि मोबाइल हुँदो हो त म पनि राघी गाई हराएको कुरा फोन गरेर सोध्ने थिएँ होला । ओल्लाघरे र पल्ला घरेहरूसँग खर काट्न जाने समयका लागि फोनबाट कुरा मिलाउँथें होला । घाँसको भारी पुगे नपुगेको कुरा सोध्न बटन थिच्ने थिएँ होला छिमेकी झ्याम्लेलाई । पँधेरामा पानी छ कि छैन भनेर सोध्न पँधेर्नीसँग मोबाइलमा एसएमएस गर्दाे हुँ । कुन ठाउँतिर बढी घाँस पाइन्छ भनेर जरायोटारका कान्छा रायासँग सोध्दो हुँ । कमसे कम राघी गाईले चोरेर बाली खाएको बारे सतर्क त भइँदो हो । गाली ता खाइन्नथ्यो । पिटाइ ता पर्दैनथ्यो । के के सोचें ।
तर आजका केटाकेटीले एसएमएसबाट के सोध्दा रहेछन् त ? मलाई जान्ने सुर चल्यो । अनि बालिकाको आग्रह पनि थियो । यसैले केही छिन त्यसै ठाउँमा म बसें । बालखहरू अकिल जान्ने रहेछन् । उनीहरूलाई कसैले सिकाइरहनु परेको थिएन । उनीहरू मस्त थिए । कुनै रिङ टोन बदल्नमा, कुनै गाना सुन्नमा कुनै वाल पेपर फेर्नमा त कुनै एसएमएस गर्नमा ।
“एसएमएसबाट के सन्देश कहाँको कसलाई पठाउने ?” मैले त्यही बालिकालाई सोधें ।
“घरमा मम्मीलाई नि कसलाई अब !” उसले अलिक नजिकिएको भावमा मसँग भनी ।
“ए !!” भन्दै मैले उसकी आमालाई गर्ने एसएमएसको सन्देश लेखिदिएँ । सन्देशमा उसले उसकी आमासँग आफ्नो टाई मैलो भएको र धोइदिनु पर्ने कुरा लेखाइमागी ।
“हरे.....!” मलाई तिन छक्क पर्नु पर्ने काम ता अब पो भयो । कत्रो ठूलो परिवर्तन ! कति अघि पुगिसकेछ मेरो गाउँ । भुराभुरीका माझमा बसेर हिंड्न मात्र लागेको थिएँ, बालिकाको मोबाइलमा उसकी आमाको फोन आयो । केही बेर रोकिएँ ।
“हजुर ? मम्मी ! किन फोन गर्या ?” उसले सोधी ।
“......................?”
“त्यहीं दराजमा छ । हेर्नु नि राम्रो गरी । मम्मी सुन्नु त ..... मेरो टाई धोइदिनु र जुत्तामा पालिस पनि गरिदिनु है । भोलि सिंहबाहिनी बोर्डिङमा डिबेट हुँदैछ, मैले त्यसमा भाग लिन जानैपर्छ अरे । सरले भन्नु भएको छ । लुगा सफा पारिदिनु है । नबिर्सिकन ?” उसले उसकी आमालाई भनी । म सुनिरहें । एउटा अचम्मको अवस्था बोध भइरह्यो । एक तमासको अनुभव भइरह्यो । कस्तो ठूला परिवर्तन, कति भिन्नता ! कति नवीनता !
“हरिलाई मिस कल गर् त !” सँगैको अर्काे एउटा केटाले अर्काे चाहिंंलाई भनेको सुनें ।
“किन ? तँ आफैं गर् न ।” उसले सोध्यो र अरायो ?
“मेरोमा ब्यालेन्स कम छ । नत्र म गरिहाल्थें नि ।” उसले भन्यो । उसले ता गाईहरू हराउलान्, कसैको बाली खालान्, उतापट्टि राम्रो हेर् भनेर अराउनलाई पो मिस कल गर्न भनेको रहेछ । थाहा पाएँ ।
उहिले मेरा पालामा यसरी कसैलाई अराउनु पर्दा ताङ्सेको भिरको ओल्लो डाँडोबाट पल्लो डाँडामा घोक्रो फुटाइफुटाई कराएर बोलाउनु पथ्र्योे तर आज दुरदराजका साथीहरूलाई गाई हेर्ने सल्लाह गर्न, घाँस काट्न बनतिर जान, स्कुल विद्यालय जान, कक्षाकार्यको त्रुटि सच्याउन, होमवर्कका समस्याहरू सुल्झाउन लगायतका अनेकौं काममा एसएमएस र मिस कल गरेका छन् । कल नै पनि गरेका छन् । कहाँ थिएँ म ? यी कहाँ छन् । कहाँ बुचे सुरुवाल र लँगौटी लगाएर गाउँ चहारेको म कहाँ टाइ लगाएर बोर्डिङ जाने यिनीहरू ! कहाँ ताङ्सेको त्यो भिर, कहाँ अहिलेको यो भिर ! म चकित थिएँ ।
एकै छिनमा उसलाई अर्काे फोन आयो ।
“गुड आफ्टरनुन सर ।” केटीले भनी । अनि उसको कुराबाट मैले थाहा पाएँ, उसले भोलिपल्ट डिबेटको तयारी गर्नका लागि उसका सरले हौसला दिइरहेका रहेछन् फोनबाट ।
‘‘दूरसञ्चारबाट मान्छेको जीवनलाई कति हानी कति लाभ !” शीर्षक रहेछ । उसले शीर्षक थाहा पाई । अनि फोन अफ गरेर घोरिन थाली । म पनि यो परिवर्तनको भविलाख देखेर अचम्ममा परें । अनि अघि आएको बाटोतिर यसो हेरेको मेरो भूतकाल अन्धकारले भरिएको कालो गर्तको रुपमा देखियो मेरै पछिपछि आइरहेको रहेछ । गन्तव्यतर्फको बाटोमा भने उज्यालो सम्भावनाहरू र भविष्यका लहरीहरू झलमल गरिरहेका पनि रहेछन् । मेरा दिव्य आँखाबाट यही दृश्य देखियो । यो के होला भन्दै र घोरिंदै म बाटो लागें ।
भद्रपुर, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2071

लेखकका अन्य रचनाहरु