कवि जयन्तकृष्ण शर्माको काव्यिक भावभूमि र शिल्पचेतना

- डा. राजकुमार छेत्री

कवि जयन्तकृष्ण शर्मा, समकालीन भारतीय नेपाली कविता लेखनमा देखा परेका युवा जमातका अत्यन्त उत्साही र प्रतिभाशाली सर्जकहरूको बाक्लै हुलमा पनि अब स्पष्ट देख्न र चिन्न सकिने अनुहारहरूमध्ये एक हुन् । नेपाली साहित्य र समाजले कवि जयन्तकृष्णबाट दुइवटा सिङ्गो र खाइलाग्दा कविता कृतिहरू १.सदनको मझेरीमा माटोको बास्नाल (सन् २००१) र २. संसदमा आँसु बोल्छ ( सन् २०१२) प्राप्त गरिसकेको छ। सन् अस्सीको दशक उसो नेपाली कविताको क्षेत्रमा भारतको असम-पूर्वाञ्चल भूमि निकै उर्वर रहेको देखिन्छ । कवि हरिभक्त कटुवाल ,पुष्पलाल उपाध्यायपछि भविलाल लामिछाने, नव सापकोटा, युद्धवीर राणा , होमबहादुर क्षत्री प्रभृति कविहरूको पछिपछि नयाँ नयाँ कवितात्मक बान्की,शिल्पशैली तथा नवीन दृष्टिकोण र चिन्तनलिएर देखा पर्ने नव पुस्ताका उदीयमान कवि जयन्तकृष्णमा काव्यात्मक सौन्दर्य चेतनाको निकै परिष्कृत स्वरूप देख्न पाइन्छ । आफू राजनीति विज्ञानका विद्यार्थी-अध्यापक भएका हुनाले विश्वमा देखा परेका विविध राजनैतिक, समाज-सांस्कृतिक सिद्धान्त, दर्शन र चिन्तनसित परिचित रहेकाले पनि हुन सक्छ उनका प्रायः सबै जसो कविताहरूमा यी विविध सिद्धान्त-दर्शन र वैश्विक गतिविधिहरूको धेरथोर छाप परेको देखिन्छ।कवितामा, तर त्यी सिद्धान्त र दर्शनका कुराहरू कोरा सिद्धान्तको रूपमा अभिव्यक्त नभइ काव्यात्मक सौन्दर्य चिन्तनले अभिसिञ्चित भइ सुन्दर सिर्जनाको रूपमा अभिव्याक्ति भएको पाइन्छ । यसर्थ उनको काव्यिक धरातल निकै फराकिलो र काव्यिक चिन्तनको परिधि विस्तृत बन्दै गएको स्पष्ट देखिन्छ ।
युवाकवि जयन्तकृष्ण नेपाली, हिन्दी, असमीया र अङ्ग्रेजी भाषामा बराबर बोल्न-लेख्न मात्र होइन आकर्षक भाव र स्वर-शैलीमा कविता वाचन गर्ने एक उत्साही कवि पनि हुन् । हुन त कवि जयन्तलाई भेटेर उनकै मुखारवृन्दबाट प्रत्यक्ष रूपमा कविता वाचन गरेको सुन्ने सौभाग्य मलाई आजसम्म जुरेको छैन । तथापि सन् २००१ सालदेखि उनको प्रत्येक साहित्यिक गतिविधिसित म धेरथोर अवगत हुँदै आएको छु । म उत्तर बङ्गाल विश्वविद्यालयमा पीएच. डी.को निम्ति शोध-कार्यारत् छँदा उनकै दाइ दीपज्यूबाट सदनको मझेरीमा माटोको बास्नाि कविता सङ्ग्रह प्राप्त गरेको थिएँ । त्यसताक दीप पनि गणित विषयमा शोधकार्य गर्दै थिए अनि हामी एउटै छात्रावासमा बस्थ्यौं। सोही समय नेपाली विभागबाट हाम्रै सक्रियता र सहभागितामा प्रकाशनमा आएको साहित्य सन्देश-(त्रयमासिक साहित्यिक समाचार बुलेटिन)को प्रवेशाङ्कमा सूचनाको निम्ति छोटो निरूपण पनि लेखियो । त्यसपछि सन् २०१३ को जनवरी महिनातिर हुनुपर्छ उनको दोस्रो कविता कृति संसदमा आँसु बोल्छ डाकद्वारा प्राप्त गरें । यति लामो समयावधिमा पनि हाम्रो कहिल्यै भेट हुन सकेन । उनी सिलगढी आउँदा म केहीदिनलाई काठमाण्डौ पुगेको रहेछु अनि म गुहावाटी पुग्दा उनी चाहीँ थाइल्याण्डतिर उडेका रहेछन् । कवि किरणकुमार राईज्यूले जस्तो कवि जयन्तजीलाई सभा-समारोहमा मात्र होइन अझ घरैमा पनि भेटेर कविता सुन्ने, कविताबारे विचार-विमर्श गर्ने सौभाग्य भने मैले आजको दिनसम्म पनि पाएको छैन । उनका दुइवटै कविता कृतिहरू प्रेमपूर्वक पढें, तर पनि कविताहरू पढेर म कहिल्यै अघाइनँ । मेरो धित मरेन, मरेको छैन। यस अघि पनि धेरै चोटी उनका कविताबारे लेख्नेल लोभ गरें तर लोभ गरे जस्तो आँट पुर्यािउन सकिनँ । कवितालाई म अत्यन्त आदर र श्रद्धा गर्छु, पुजा गर्छु, यसैले पनि कविताबारे विना साधना, विना ज्ञान र परिश्रम बोल्न-लेख्न मलाई साँच्चै डर लाग्छ । कतिजना साभार समालोचकहरूले त टापटिपे र अरूकै विचारहरूलाई साभार गरी लेखेको ,बोलेको पनि भेटेको छु । कविताबारे राम्रो अध्ययन गर्नेले नै कविता कृतिको गहन अनुशीलन गर्न सक्छन् भन्ने मलाई लाग्छ । सायद आज म यहाँ गर्जो टार्ने काम मात्र गर्दैछु ।
जयन्तकृष्णजी राजनीति विज्ञानका गम्भीर अध्येता प्राध्यापक त हुँदै हुन् , त्यस अतिरिक्त उज्ज्वल भविष्य र सम्भावना बोकेका उदीयमान कवि, कुशल अनुवादक, योग्य सम्पादक र जोशिला तार्किक-वक्ता पनि हुन् । उनले हालसम्म कार्लार कारने एटोपाल चकुपानी ( ), तकसीर गल्प-(मलयालम कथाकार तकसी शिवशङ्कर पिल्लैको कथासङ्ग्रह ), मुख्यमन्त्री (मराठी लेखक विष्णु वामन शिरवाडकरलिखित नाटक ), खहरे ( शिवकुमार राईलिखित कथा सङ्ग्रहको असमीया भाषामा ), प्लेटफार्म (के. बी. नेपालीको उपन्यासलाई असमीया भाषामा ) प्रभृति कृतिहरु अनुवाद गरी प्रकाशनमा ल्याइसकेका छन् । साहित्यिक पत्रिका कामरूपा, लोहित-पुत्र तथा गुवाहाटी विश्विविद्यालय शिक्षक संस्थाको जर्नल प्रज्ञा-को समेत सम्पादन गरेका छन् । कवि जयन्तका कतिपय कविताहरु अङ्ग्रेजी, हिन्दी, बङ्गला आदि भाषाहरूमा अनुदित रूपमा प्रकाशनमा आएका छन् भने उनका प्राज्ञिक तहका शोधपरक लेखहरू विभिन्न राष्ट्रीय र अन्तराष्ट्रीय जनर्लहरूमा प्रकाशित भएको जानकारी पाइन्छ ।
सदनको मझेरीमा माटोको बास्ना प्रकाशनमा आएदेखि यता आजसम्म पनि निकै प्रशसा, लोकप्रियता र सफलता समेत पाउँदै आएको छ । ससंदमा आँसु बोल्छ-ले अझ धेरै चर्चा-परिचर्चा,विचार-विमर्श हुँदै तथा समालोचनाहरू लेखिँदै आएको कुरा हाम्रो अघि दृष्टान्त छ । दोस्रो काव्य कृतिले अझ पहिलो कृतिको तुलनामा निकै नै सफलता हासिल गरेको कुरो अध्येताहरूका अध्ययन-अनुशीलनपरक लेखहरूबाट थाह पाउन सकिन्छ । उनका प्रायः सबैजसो कविताहरू साधारण कुरामा मात्र सीमित नबनी साहित्य र साहित्येतर क्षेत्रका गम्भीर अध्ययन-अध्यापनबाट पोषित छन् । कवि जयन्त समकालीन विश्व-समाजमा दिनोदिनो भइरहेको घटनाको ज्ञान र सूचना राख्छन् ।तिनै ज्ञानानुशासनको अध्ययनबाट प्राप्त विभिन्न सूचनाहरूलाई समेत आफ्ना कवितामा कथ्यसन्दर्भ अर्थात् विषयवस्तु बनाइ कलात्मक रूप दिइ काव्यात्मक सौन्दर्य प्रदान गरेका छन् ।
कवि जयन्तका कविताहरूमा स्थानीयदेखि लिएर अन्तराष्ट्रीय जगत् अर्थात् विश्वका पल्लो गाउँहरूलाई समेत कवितामा सम्बोधन गरिएको पाइन्छ । अधिकांश कविताहरूमा जातीय अस्तित्व चेतनाको प्रश्नतदेखि लिएर वैश्विक चिन्तनलाई समेत सरल र सहज काव्य-शैलीमा अभिव्यक्त गरिएको भेटिन्छ । अतः उनको कविताको काव्यिक भावभूमिमा मानवतावादी चेतना, विश्वसमाजप्रति समभाव, युगीन पिडाबोधले ग्रस्त र त्रस्त तथा पूर्वीय-पाश्चात्य दर्शनगत प्राचीन-अर्वाचीन विविध प्रतीक र मिथक-योजना तथा विविध सन्दर्भहरूको उल्लेख, स्थानीय र जातीय आस्तित्विक चेतनालाई निकै गम्भीरतापूर्वक समायोजन गरिएको भेटिन्छ । उनको कविता सिर्जनाको वस्तुश्रोत र कथ्यवस्तु-योजनाको प्रकृति र प्रवृति विविध स्वरुपका छन् । अतः उनको कविता लेखन सरल-सहज मार्ग भएर विस्तारै-विस्तारै गम्भीर प्रकृतितिर उन्मुख रहेको देखिन्छ ।
कवि जयन्तका दुवै सङ्ग्रहमा सङ्गृहीत कविताहरूमा स्थानीय समस्यादेखि लिएर विश्वसमाजको समेत गम्भीर चिन्तन, मानिसको व्यक्तिगत सोंचदेखिलिएर जातीय आस्तित्विक र सास्कृतिक चिन्तनसम्मलाई कथ्य-भावभूमिको रूपमा टिपेर कलात्मक ढङ्गमा सजाएका छन् । उनका अधिकांश कविताहरू वाचन गर्दा सरल-सहज जस्तो लागे पनि कथ्य वस्तु-योजना भने विस्तृत आयाम र आयतन बोकेको , गम्भीर प्रकृतिका चिन्तनप्रधान रहेका भेटिन्छन् । उनका तीन चौथाइ कविताहरूमा जातीय चेतना सशक्त रुपमा अभिव्यञ्जित भएको पाइन्छ । जातीय आस्तित्विक चेतनाले कविलाई सदैव पीडा दिएको छ । युगीन पीडाबोधले जयन्तभित्रको जागरुक कवि मान्छेलाई उकुस-मुकुस, तहस-नहस र क्षत-विक्षतको स्थितिमा समेत पुर्यााउन खोजेको छ । कतिपय कविताहरू सरल वाचनमा जागरणधर्मी कवि धरणीधर शर्मा कोइराला, जातीय कवि अगमसिंह गिरी र दुख र वेदनाका कवि हरिभक्त कटुवालले हिंडेका गोरेटोबाट पनि कहीँ कतै डोहोरिन खोजेको थाह गर्न सकिन्छ । यस सन्दर्भमा उनको श्री नरबहादुर उर्फ नरमाने शीर्षक कवितालाई दृष्टान्तको रूपमा लिन सकिन्छ-
(क) घरभरि कपडा नरमाने नाङ्गै
घरैभरि भए पनि लुगाको थाक
लगाउने हक् छैन विचाराको
नरमानेको हक् छैन ।
.....................................
हक् भनेको त बर्खाको झरी त होइन
भ्यागुता टर्टराउँदै झर्रर दर्किन्छ,
हक् बाटोको धुलो पनि होइन मटर दगुर्दै हरर उड्छ ।
हक् भनेको पाखुरा होलान, संग्राम ।
हुन सक्छने मास्तिर उचालिएका हात ।
......................
अनि अत्याचार पनि फेरि
उसै माथि चाहिँ चल्छ ।
..........................
काटेर भुट्न नरमानेलाई सजिलो छ
नरमाने सोझो छ,
नरमाने लाटो छ, नरमाने लुटिएको छ ।
( संसदमा आँसु बोल्छ, पृष्ट. ४९-५०)
****************************
(ख)घाँस काट्न भनी नाउ लिएर नजाउ है माझी दाइ
मान्छेको लाश मात्र भेट्नेछौ
माछा मार्न भनी जाल नफैलाउ है माझी दाइ
गोरू र भैसीको हड्डी पाउनेछौ ।
घाँस पनि नकाट, माछा पनि नमार
हे मेरी आमा
जिउनका लागि खेती पनि नलाऊ
परिश्रम सबै बाढीले डुबाउनेछ ।
किनेर खाउँला भनी बजार पनि नजाऊ
बजारमा साह्रै महँगी छ,
भोक मेट्न भनी पटुकी पनि नकस
चर्खा चलाउनै गाह्रो छ ।
(अनिकालको चेताउनी)
कवि जयन्तको काव्यलेखनको सबल पक्षहरूमध्ये विश्व-(समाज) चेतना पनि एक हो । उनको न धर्म न जात, भियटनामका अस्पतालमा जन्मिएको, मल्टिनेसनल, विश्वरूपा शीर्षक कविताहरूमा विश्व समाज चेतना मुख्य रूपमा पाइन्छ । यी कवितामा विश्व-समाजको चिन्तनमा निकै गम्भीर बनेका देखिन्छन् । कतिपय कवितामा आजको विशेष गरी नव पुस्तामा दिनप्रतिदिन बढ्दै गएको ग्रामीण जीवनदेखि उदासीनता र पलायनवृत्ति, डिजिटल भाषा र साइबर संस्कृतिको दासत्वमा परी आफ्नो मातृ भाषा , साहित्य र जातीय संस्कार-संस्कृतिप्रति उदासीन रहेको, शहरीकरणको बढ्दो होडबाजीको कारण खेतीयोग्य जमीनमा ठूलठूला भवनहरूको निर्माण, विसङ्गतिपूर्ण र अव्यवस्थित जीवन शैलीप्रति कोमल ढङ्गमा व्यङ्ग्य प्रहार गर्न खोजिएको छ । उनका कतिपय कवितामा निराशा भाव पनि नभेटिने होइन तथापि उनको सम्पूर्ण कविताको मूल भावभूमि तथा स्वर-सन्धान गर्दा उनी निराशावादी कवि भने पटक्कै लाग्दैनन् । विसङ्गत जीवन र समाजमा पनि सङ्गतिको चाह र खोज गरेका छन् ।उनी आफ्ना धेरजसो कविताहरूमा मानवतावादी जीवनदर्शन व्यक्त गर्न नै सरिक रहेका देखिन्छन् । कवि कुनै पनि देश, जात ,धर्म र रङ्गभन्दा माथी उठेको भेदभावहीन समाजको कामना गर्छन् –
(क) डाक्टर,
एक थोपो नलागे
दशै थोपा रगत झिकेर
भन त परीक्षा गरेर लेबमा
के जातको मान्छे म
धर्म नै मेरो के हो ।
( न धर्म न जात, पृ. १७, संसदमा आँसु बोल्छ )
**************************
(ख)हिलै भए पनि हात
कन्याउँ निधार भन्दा त
रक्तामे पारेर सिउँदो
खुत्रुक्क पो झर्छ है
डम्म अघाएको जुको ।
(विश्वरूपा, पृ. १०५, संसदमा आँसु बोल्छ)
कवि जयन्तले आफ्ना प्रायः सबै जसो कविताहरूमा वर्तमान विश्वसमाज र जीवन-जगतलाई अत्याधिक प्रभाव पार्ने विषयहरूमध्ये साइबर संस्कृति अनि यसको सकरात्मक र नकरात्मक पक्षहरूलाई निकै गम्भीरतापूर्वक लिएका छन् । कवितामा साइबर संस्कृतिले मानव समाजलाई आवश्यकता भन्दा ज्यादै सुविधाभोगी र पङ्गु समेत बनाएको कुरोको सङ्केतन छ । विशेष गरी आजको युवा पुस्ता कम्प्युटरलाई नै सबै थोक मानेर आफैआफ ह्रासोन्मुख बन्दैछन् । जसको फलस्वरूप आजको युवा पुस्ताको सिर्जनशीलतामा ह्रास आएको छ। मानिसहरू दिनप्रतिदिन संवेदनहीन र बोक्रे बन्दै गइरहेका छन् । साँच्चै भन्ने हो भने आजको युवा पुस्ता साइबर कल्चरमा फँसेको छ, डुबेको छ । इन्टरनेटले गर्दा सुदूर पूर्व र पश्चिमका देशहरू वल्लो र पल्लो कोठा वा गाउँको बासिन्दा बराबर बनेको छ । अतः विश्व खुम्चेर एउटा सानो गाउँ सरह बनेको छ आज । सिर्जनशीलता हराउँदै गएको समाजमा जानी नजानी डिजिटल भाषा प्रयोग गर्दै डिजिटल सस्कार-संस्कृतिको दास बनेर माया-प्रेमविहीन एक्लो र बेग्लो भएर सहरमा बस्नुकभन्दा कविलाई अभावको पर्याय बनेको गाउँ-घर नै कता हो कता प्यारो र आफ्नो लाग्छ । हुन पनि गाउँ भनेको गाउँ नै हो । गाउँको आफ्नोपन र माया-प्रेमलाई विश्वको जति नै ठूलो सहरको भव्यता र सुख-सुविधाले पनि आफ्नो बनाउन सक्तैन । गाउँको नैसर्गिक प्रेम र आफ्नोत्वलाई कवि नगेन्द्र गोर्खा( गाउँको माया), मिलन बान्तवा(म गाउँमा गाउँ खोज्दैछु, गाउँ र सहर), रेमिका थापा(गाउँमा कविताहरू), सञ्जय बान्तवा(त्यो गाउँ त्यो बस्ती), भूपाल राई ( दाजै कविता गाउँमै छ), विद्रोही साइँला (कहिले ब्यूँझेला मेरो गाउँ) प्रभृति कविहरूले गाउँबारे राम्रा र खाइलाग्दा कविताहरू सिर्जना गरेका छन्।यस सन्दर्भमा कवि जयन्त पनि गाउँको चोखो, छलकपटविहीन र आडम्बरहीन प्रेमले लालयित भइ गाउँ फर्केर जाने मन बनाएका छन् –
सुतेर उठेर बिहान
सफ्टवेर-डाउनलोडको
डिजिटल भाषा सुन्न भन्दा
मलाई मेरै गाउँ फर्केर जान मन छ ।
...............
गुहालीदेखि बाटोसम्मै लहरिएको गोबर –मेरो गाउँ
बाँसघारीदेखि मकैबारीसम्मै-मेरो गाउँ
ठूला साना धेरै बाँदरको हूल- मेरो गाउँ ।
( फर्केर गाउँ, पृ. १४, संसदमा आँसु बोल्छ)
कवि जयन्तका कविता संसारमा सहर, गाउँ, अक्षर, शब्द, देश, रगत, समय आदि जस्ता शब्दहरूको निकै पल्ट आवृत्ति भएको भेटिन्छ । दृष्टान्तका निम्ति हाम्रो देश,निग्रो मित्रले रगतका अक्षरले लेखेको पत्र, शब्द-ब्रह्म, फर्केर गाउँ, सहर रून्छ, साधनाको अक्षर, शीर्षक कविताहरूलाई लिन सकिन्छ । कविका निम्ति गाउँ भनेको सब थोक हो तर सहर चाहिँ संवेदनहीन र स्वार्थी आडम्बरी मानिसहरू बस्नेे बस्ती, अमानवीय, अराजकता , आफ्नोपनको अभाव, विसङ्गत, असुरक्षा, आतङ्क, विकृत, कुरूप, अप्राकृतिक, कर्कश, अपुगको पर्याय पनि हो । तर आज गाउँ पनि सहरलाई अनुकरण गर्न खोजेर गाउँको स्वरूप निकै कुरूप र विकृत बन्दै गएको वस्तुस्थितिलाई कविले यसप्रकार उल्लेख गरेका छन्-
(क) तर अहिले सुतेर उठ्दै, आफ्नै कलेजाको
यहाँ डाउनलोड गर्ने तरखर छ
व्यस्ततामा एक्सिडेन्ट भए, निको पार्न हैन,
बील बनाउन –यहाँ डाक्टर तैयार छ ।
मरी नै गए श्मशानमा यता दाउरा बेच्नेको मुनाफा छ
मान्छे बाँच्दा पनि यहाँ व्यवसाय छ,
मर्दा पनि व्यवसाय छ ।
(फर्केर गाउँ, पृ. १४, संसदमा आँसु बोल्छ)
(ख) गाउँका सबै खबरहरू त भनिसक्नै गाह्रो पर्छ
तैपनि माथिल्ला घरमा माइला बडाबाको छोराले
प्रिन्टर-स्केनर समेत सिलगढीबाट
कम्प्युटर किनेर ल्याएको कुरा
अहिले गाउँको खुशीको खबर छ
इन्टरनेटको निम्ति पनि आवेदन गरेको
गाउँले ठाउँ भएर...
खै कनेक्शन नै मिलेको छैन ।
(खबर राम्रै छ, पृ.६२, संसदमा आसुँ बोल्छ )
उनका कवितामा पीडाबोध निकै सबल रूपमा देखा पर्छ । आजको मान्छेले चाहेर-नचाहेर पनि विसङ्गतिपूर्ण जीवन बाँच्न बाध्य भइरहेको स्थिति छ । तर कवि निराशावादी भने पटक्क देखिँदैनन्, नैराश्यपूर्ण स्थितिमा पनि आशाको दियो बालेर उज्यालो दिनको प्रतीक्षामा छन् । उनको कवितामा विसङ्गतिपूर्ण बचाँइमा पनि सङ्गतिको खोज छ । जेनेरेसन ग्याप, खबर राम्रै छ, संसदमा आँसु बोल्छ, लिलाममा छ जीवन, हावामा मिठास बुझ्ने मन, राजनीति, शरणार्थी, मान्छेको रहर, हास्नो सकेको छैन, मन्त्री हुने कथा,जाँतामा पिस्सिएको प्रभृति शीर्षक कविताहरूमा युगीन पीडाबोध अभिव्यक्त भएको पाइन्छ ।
कवि जयन्तका कतिपय कविताहरू आख्यानात्मक स्वरूपका छन् भने कतिपय प्रगीतात्मक र नाटकीय संवादात्मक संरचनाका पनि छन् । यस ढाँचाका कविताहरूमा सदनको मझेरीमा माटोको बास्नाआ, साधारण, निग्रो मित्रले रगतका अक्षरले लेखेको पत्र, गोदावरी तटदेखि कालाहाण्डिसम्म, अब कुन चाहिँ साँचो, मकाएको घर, म्यानोलिनको मन, बुढो सिटीबसमा उम्रिएको महानगर, तेजपुरमा निमन्त्रण, झुप्रा-झुप्रामा अब टाइगर हिल्स्, बाटोमा स्याल कराउँछ, श्री नरमाने उर्फ नरमाने, संसदमा आँसु बोल्छ, खबर राम्रै छ, तथा संत्रस्त समय अनि भोलिको सभ्यता प्रभृति शीर्षक कविताहरूमा सूक्ष्म कथानकताका साथसाथै संवाद-प्रयोग र दृश्य-योजनाको निकै राम्रो समायोजन भएको भेटिन्छ । यसका अतिरिक्त यमराजको हड्डी, बाँध तोडिएको ब्रह्मपुत्र, घामपानी, घरैमा, आज दधिची, उकुस-मुकुस सहरमा, गौंथलीको बिहे भयो, बाटामा स्याल कराउँछ शीर्षक कविताहरूमा कतैकतै लोकगीतको प्रसङ्ग तथा दृश्यात्मकताको सफल प्रयोग भएको भेटिन्छ । उनका एक तिहाइ कविता रचनाहरूमा भूगोल, इतिहास, लोकविश्वास आदि वस्तुस्रोतबाट विविध वस्तुसन्दर्भ अर्थात् अन्तर्पाठहरू टिपेर वर्तमान जीवन जगतसँग सापेक्षित तुल्याइ नवीन दृष्टिकोण प्रदान गरिएको भेटिन्छ । दृष्टान्तका निम्ति म्यानोलिनको मन- शीर्षक कवितामा प्रसिद्ध उपन्यासकार अर्नेष्ट हेमिंगवेको विश्वप्रसिद्ध उपन्यास द ओल्ड म्यान एण्ड द सी-को एक उदार युवा पात्र म्यानोलिनलाई काव्यिक भावभूमिको मूल आधार बनाइएको छ । नेपाली प्रसिद्ध लोकगीत नाचन झिल्के नाचन सेलोलाई कवि जयन्तले बाटोमा स्याल कराउँछ- कवितामा समकालीन जीवन-जगत्‍सँग जोड्ने प्रयास गरेका छन् भने जेनेरेसन ग्याप- शीर्षक कवितामा नेपाली जातीय संस्कृतिको एउटा अङ्ग मानिने जोगीले राती फेरी लाउने संस्कारलाई आजको जीवन-सन्दर्भसित जोडेका छन् । अघि-अघिका फेरिवाल जोगीहरूले आफ्नो तन्त्रमन्त्रको अलौकिक शक्तिद्वारा जनसाधरणका निम्ति असम्भव लाग्नेत कुराहरूलाई पनि सम्भव पार्थे तर आज त्यी शक्तिहरू साधनाको अभावमा दिनप्रतिदिन लोप हुँदै जाँदैछ भन्ने विषयलाई इङ्गित गरिएको छ । दृष्टान्तका निम्ति प्रस्तुत कविताबाट सानो अंश टिपौं-
रातभरी फेरी फुकेर लखतरान परेका योगीदाइ
तगारो नागेर विहान आँगन टेक्दा
भएछ ठिक्क बाछा लाउने बेला ।
गुहाली छेउको आँपको फेदीमा डढेल्नो कन्याइरहेको सेती गाई
आत्तिएको बुझियो योगीदाइको प्रवेशमा
ठाडो घाँटी लाएर योगीदाइपट्टि
फ्रीज भए गाई-बाच्छाहरू जम्मै ।
(जेनेरेसन ग्याप, पृ.५५, संसदमा आँसु बोल्छ )
कवि जयन्तका प्रायः सबैजसो कविताहरूमा वर्तमान समय र विश्वसमाज नै मुख्यरूपमा बोलेको छ , आजको युग र युगको पीडाजन्य अनुभूति अभिव्यक्त भएको छ । नेपाली कविताको महाकाशमा देवकोटापछि विजय मल्ल र वल्लभ-काइँलाहरूले कविताको आयतन अझ फराकिलो बनाए । नेपाली कविताको साँघुरो घेरो तोडेर चिन्तनको फाँट निकै फराकिलो समेत तुल्याए ।कवि मल्लले आफ्ना काव्यजगतमा मिसिसिपि, भोल्गा, ह्वाङ हो, अमेजन, नील आदि नदीहरूलाई विश्वका साझा नदीको रूपमा ग्रहण गरे झैं कवि जयन्तले आफ्नो काव्यसंसारमा बह्मपुत्र नदीदेखिलिएर गङ्गा, यमुना, टिस्टा, गोदावरी,मेची-महाकाली तथा अमेजन आदि जस्ता विश्वका प्रसिद्ध नदीहरूलाई साझा रूपमा लिएका छन् । अतः कवि मल्लले झैं युवाकवि जयन्तले पनि विश्वलाई नै साझा घरको रूपमा लिएका छन् । उनका कवितामा असम-पूर्वाञ्चल क्षेत्रका विभिन्न गाउँ-ठाउँ, सहर-वस्तीको उल्लेख मात्र होइन भारत वर्ष र विश्वकै विभिन्न राष्ट्रहरूलाई उनले आफ्ना कवितामा सम्बोधन गरेका छन्, काव्यात्मक अभिव्यक्तिमा ससम्मान स्थान दिएका छन् । दृष्टान्तका निम्ति असम-पूर्वाञ्चलका तेजपुर,अरूणाचल, कार्विआङलङ, पथरूघाट, लेखापानी, कामाख्या, नीलाचल, बुढाछपडी, मणिपुर, इम्फाल, तुरा, सेरापुञ्जी, बारपत्थर, कोहिमा, सिंग्री-सितलमारी, चान्दमारी, लावरगुरि, रङासुक, बालिझोडी, नागशंकर, इटानगर, खाटरबाडी, चट्टग्राम, लोख्रा, तेजपुर विश्वविद्यालयका साथसाथै काञ्चनजङ्घा, पाक्योङ, रुम्तेक-गुम्पा, पेमेञ्ची-गुम्पा, गान्तोक-छांगु, रिनाक,सिङताम, गेजिङ बजार, दार्जिलिङ , नालापानी, दिल्ली-बम्बई,,सुगौली, मथुरा, लाहोर,अयोध्या,तिरूपति आदि भूभागको नाम ससम्मान उल्लेख गरिएको भेटिन्छ । यसै क्रममा साइबर संस्कृतिले नजिक तुल्याएको विश्वका विभिन्न गाउँ-( देश, राष्ट्र)-हरूलाई पनि कविले आफ्ना कविताहरूमा सम्बोधन गर्न चाहेका छन्, दृष्टान्तका निम्ति त्यी राष्ट्र र प्रमुख सहरहरूका नाम लिन परेमा पशुपति( नेपाल),सोमालिया, बोस्निनया, मक्का, बेथेलेहम, रोम, क्रेमलिन, अफ्रिका, म्यानमार, साइबेरिया, बर्लिन, हिरोशिमा, नागाशाकि, पेरू, अर्जेन्टिना, केनिया, पाकिस्तान, ग्रीनल्याण्ड, फीनल्याण्ड, लङ्का, नामिबिया, अमेरिका, जर्मनी, ग्रीस, जर्मन, भियटनम, इथिउपिया,बङ्गलादेश, भुटान, तिब्बत, मङ्गोलिया आदि नामहरूलाई लिन सकिन्छ ।
कवि जयन्तका कविताहरूमा ठेट वा झर्रा नेपाली शब्द-प्रयोगका साथसाथै अङ्ग्रेजी भाषा मार्फत भित्रिएका शब्दहरू तथा असमेली भाषाको प्रभाव पनि प्रशस्त परेको देखिन्छ । उदाहरणको निम्ति जुठेल्नो, बियाड, पोस्तक,फलेक, लठारो, अघेनु, ओच्छ्यान, बार्दली, पड्के, कुराउनी, डाडु, आहाल, चिनु-चपेटो, पात्रो, अलच्छिनी, खबटा आदि जस्ता झर्रा वा ठेट नेपाली शब्दको प्रयोग भएको पाइन्छ भने अङ्ग्रेजी र अङ्ग्रजी भाषा मार्फत आएका शव्द-शव्दावलीहरूमा डाक्टर, हाइटेक कम्प्युटर, डष्टबिन, थेसिस्कोप, सफ्टवेर-डाउनलोड, डिजिटल, जेनेरेसन ग्याप, कमाण्ड, फ्रीज, प्रिन्टर, स्केनर, इलेक्ट्रोनिक, एक्सिडेन्ट, ष्टियेरिङ, ड्राइभर, मिथेन ग्यास, ट्रिगर, स्टेनगन, मसीनगन, सिटिबस, मिसाइल, कर्फ्यू,रिङ मास्टर, डाइनामाइट, ब्लड ब्याङ्क, पेटेन्ट, कमिशन,गोल्डन-हेण्डचेक, ग्यास चेम्बर, बेलट बक्स, काउन्ट, ट्याक्टर, यूनिफर्म, डायल, लोडसेडिङ, इन्ट्रान्स, नोटबुक, इन्टरनेट, इ-मेल, रिटायर, कनेक्सन, ओभर ब्रिज, कन्भोकेसन, मेडेल, प्लेटफर्म, इन्डियागेट, हार्ट एटेक, युक्लिप्टस्, लाइन आदिलाई लिन सकिन्छ । कवितामा असमेली भाषाका कोपीदाउ, बँदिया, कडो, अँठिया कोल, भुर, बाउधान, मर्लान्त,उलाउ, घूर-घूँवा, कुर्नेस, लडिपुच्छर, प्यावा, बाच्छा(बाछा), नागेर( नाघेर), बगर्याल्लै, चुर्ल्लुप्पै, कलप, आमोई साथै अरबी-फारसी मूलबाट आएका केही शब्दहरूमा कफिन, दफन,... जस्ता शब्दहरूलाई दृष्टान्तको रूपमा लिन सकिन्छ । जयन्तका कवितामा डिजिटल भाषा, रगतको पेटेन्ट, कंक्रिटको जङ्गल, ष्टियेरिङको चेपमा, पुरानो सिटीबस, ओभरब्रिजको रेलिङमा, आयोगको रिपोर्ट, सिटीबसको आत्मसँग, डाक्टरनी काकी, नोटबुकमा कोरिएका, डिनामाइटको बिस्फोटमा, ब्लड ब्याङ्कको रगत, निजामूद्धिनको प्लेटफर्म, बसको नम्बर जस्ता कुट-मिश्रित शब्द-शब्दावाली प्रयोगका साथसाथै बेदनाको अश्रु, शान्तिको ढुक्कुर, रगतको खोला, रगतको फगुवा, रगतको झरी, विभेदको पहाड, रातो घाम, प्रभातीस्नारन, राजघाटमा आँसु, संसदमा आँसु, शान्तिवनमा आँसु, भ्रमरको गान, पुतलीहरूको मुस्कान प्रभृति क्रियायुक्त र क्रियामुक्त पदावलीको पनि यथास्थान प्रयोग भएको भेटिन्छ ।
कवि जयन्तका कवितामा मुना-मदन, सुनकेशरी रानी, दिक्पाल,वैतरणी, दधिची, नरसिहं अवतार, अशोकले कलिङ्गमा बगाएको रगत शब्दावलीको प्रयोगद्वारा मिथकीय स्वरुप प्रदान गर्न खोजेका छन्। कवि धर्म, रङ्ग र जातमा पक्षपात गर्दैनन् , सबैप्रति उनी समभाव राख्नर खोज्छन् यसैले उनको कवितामा मन्दिर,मस्जिद, गुम्पा (गुम्बा),चर्च, कुरान-श्वसरीफ, श्री मद्भागवत् गीता, बाइबल-टेष्टामेन्ट सबैको उल्लेख छ।उनको काव्यालोकको मन्दिरमा ऊँ जय जगदीश हरे,भजन गुञ्जिरहन्छ, गुम्पा(गुम्बा-राज)हरूमा ऊँ माणि पद्मे हूँ , मस्जिदमा अल्लाहू अकबर तथा चर्चहरूबाट गड ब्लेश यू जस्ता महावाणीहरू निरन्तर गुञ्जिरहन्छन् ।
कविताभित्रै जयमाया आउँछे, रने, म्यानोलिन र सान्तियागो पनि सन्दर्भवस् आउँछन् । कवितामा लेलिन, नेलशन माण्डेला, पुटिन, जवाहरलाल, स्वामी विवेकानन्द, एनफ्राङक, कान्ट,काफ्का, भूपेन हजारिका, निकानोर पार्रा, कृष्णबहादुर नेवार, जस्ता विश्व प्रसिद्ध व्यक्तित्वहरूको साथसाथै लक्ष्मीप्रसाद देवकोटा, इन्द्रबहादुर राई, हरिप्रसाद राई गोर्खा, पुष्पलाल उपाध्याय, जयनारायण लुइँटेल, गीता उपाध्याय, ज्ञानबहादुर छेत्री, काशीनाश उपाध्याय, किरण कुमार राई प्रभृति कवि-साहित्यकारहरूको परोक्ष उपस्थितिले पनि उनको कविता लेखन यात्रा निकै फराकिलो भएको लाग्छ । कवि जयन्तका उत्कृष्ट कविताहरूमा साधारण, म हावामा उडिरहेको एउटा मुक्त चरो हुँ, हाम्रो देशः हाम्रो प्राण, निग्रो मित्रले रगतका अक्षरले लेखेको, म मान्छे, तेजपुरमा निमन्त्रण, खबर राम्रै छ, संसदमा आँसु बोल्छ, उकुस-मुकुस सहरमा शिरोनामित कविताहरूलाई लिन सकिन्छ ।
समकालीन भारतीय नेपाली कवितामा धेरै विषय रहेकोले वस्तुको व्यापकता रहेको स्पष्ट देखिन्छ । विशेषतः सामाजिक-सांस्कृतिक, राजनैतिक, आर्थिक, शैक्षिक क्षेत्रमा देखिएका अव्यवस्था, विसङ्गति र विकृति, मानवतावाद र मानवमूल्यको हनन, विश्वबोध र समयपिडा तथा संस्कृति-चेतना आजको कविता लेखनले समेटेको र समेट्न खोजेको मुख्य विषयवस्तुहरू हुन् । कवितामा मानवताको खोजी,मानवीय अस्तित्वको खोजी, विसङ्गत जीवनको चित्रण, जीवनको विसङ्गतिबोध, मानवीय जीवनको मूल्यहीनता, ह्रासोन्मुख मानवीय चरित्र, विश्वासको सङ्कट र संवेदनहीनता जस्ता कुराहरू कवि जयन्तका कवितामा यत्रतत्र सर्वत्र पाइन्छन् । वितृष्णा, अन्योलग्रस्त जीवन, आडम्बरी समाजको सग्लो चित्रण, दिशाहीमता, दिनोदिन यान्त्रिक बन्दै गइरहेको वर्तमान समाजको उदाङ्गो चित्रण पनि उनका कविता लेखनका मुख्य वस्तु सन्दर्भहरू हुन् । आर्थिक असमानता र अनुशासनहीनता, ठूला-बढाहरूका सुविधाभोगी प्रवृत्ति, युवाहरू विदेश पलायन, युगीन विश्वसमस्याको सग्लो अभिव्यक्ति, विश्ववन्धुत्व र विश्वमानवतावादी दृष्टिकोणलाई उनका प्रायः सबै जसो कविताहरूले अङ्गाल्न खोजेको छ ।
युवाकवि जयन्तकृष्ण शर्माका दुवै कविता सङ्ग्रहमा सङ्गृहीत कविताहरूको अवलोकनबाट हामी कविताका साधारण पाठकहरू के निष्कर्षमा पुग्छौं भने उनी समकालीन काव्यधार समाइ कविता लेख्नम सक्ने एकजना प्रतिभाशाली कवि हुन् । केही अग्रज प्रयोगवादी कविहरुका झैं उनका कविताहरू थरथर काम्दै र घरिघरि शब्दकोश पल्टाउँदै कविता पढ्नु पर्ने स्थिति हामीलाई आइपरेको छैन । उनको कविताहरू पढ्दा दिक्क लाग्ने केही त्यस्तो स्थितिको सामना आइपर्दैन । हामी जयन्तका कविताहरू करले होइन तर काव्यात्मक सौन्दर्य चेतनाको लोभले पनि पढ्दा रहेछौं । दुवै सङ्ग्रहका अधिकांश कविताहरु छोटा-छरिता छन् । छोटा-छरिता भएकैले त्यी कसिला , बलिया र खदिँला पनि छन् । त्यसै त्यी कविताहरू पठनीय र लोभलाग्दा पनि भएका छन् । कविताले दिने सन्देश गम्भीर प्रकृतिका भए पनि कविता पढ्दा क्लिष्ट र दुरूह भने पटक्कै लाग्दैनन् । कविताको आयतन छोटो भइकन पनि बलिया, कसिला,खदिँला, पठनीय र गम्भीर हुनु, सरल-सहज-सरस भाषाशैलीमा गहिरा , गहकिला , खदिँला कुराहरू भन्न सक्नुठ, स्थानीय र जातीय प्रसङ्गहरूको उल्लेख गर्दै विश्व-जनीन समाजका समकालीन परिदृश्यलाई सङ्केत गर्नु, श्यामव्यङ्गको प्रयोगद्वारा विसङ्गतिपूर्ण समाज-व्यवस्थामा पनि सङ्गतिको आशा राख्नुल नै उनको कवितालेखनको मूलभूत वैशिष्ट्य र उपलब्धि हुन् ।

सहायक प्राध्यापक,
स्नातकोत्तर नेपाली विभाग,
दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु