आधुनिक शैली : भानुको सम्झना

- पेशल आचार्य

नेपालीभाषी हुनुको नाताले म यतिखेर भानुभक्तका बारेमा नकारात्मक कुरा लेख्ने या कथ्ने मुडमा छैन । मैले जुन भाषामा आफ्नो पहिलो रचना जानी जनानी लेखेँ अनि छपाएँ । मलाई जुन भाव र शैलीमा लेखनका विषयवस्तुहरू कथा, कविता र आख्यानका रूपमा पहिलेपहिले पनि आउँथे अहिले पनि आउँछन् ती विषयवस्तुलाई मैले जुन भाषामा आजपर्यन्त न्याय गरेको छु त्यही भाषाका आदिकवि भनेर चिनिएका भानुलाई म कथम् कदाचित् अनादर गर्ने पक्षमा छैन । अनि म उनको वकालत विपक्षमा पनि गर्न सक्दिनँ । नेपाली वाङ्मयिक क्षेत्रको पाठक र भावक अनि लेखक भएको नाताले कम्तिमा मबाट त्यो सम्भव छैन ।
नेपाली भाषाको उषाकालमा हिन्दी भाषाको राइँदाइँले नेपाली भाषका सेवीहरू गौरवगानका साथ टाउको उठाउन नसक्ने परिस्थितिमा पनि नेपालीहरूलाई सान र मान दिलाउने भानुको गौरवमय चिन्तन र प्रस्तुतिमा अहिले केही नेपालीहरूले नै अवमूल्यन गर्दै चित्रण गरेको देख्दा सुन्दा र पढ्दा समग्र मानसिकतामा नभएर केही पूर्वाग्रही मानसिकतामा खिया लागेको हो कि भन्ने भान भएको छ । यो गतिशील समयको चाप र पदचाप पनि होला तर चिरन्तन रूपले नेपाली र नेपाली भाषीको परिचय बोक्नुको नाताले मैले भानुलाई कुनै प्रकारका तुक र बेतुकका प्रसङ्गमा लिनु छैन । दिनु पनि छैन ।
म यतिखेर भानुको चित्रलाई विचित्र बनाउने उद्देश्यमा यो प्रयास गरिरहेको छैन । अनि छैन उनको विचित्रको व्यक्तित्वलाई केवल एउटा रङले कुनै कुची र कलमका साथ चित्र बनाउन खोज्ने चाहना ।
नेपाली भाषी हुनुको नाताले मैले नेपाल र नेपाल बाहिर छरिएर रहेका तमाम् नेपाली भाषाका सेवक अनि भावकलाई नेपाली भाषा मै आफ्ना रचनाहरू पढाएको छु । सिकाएको छु । अनि आनन्दित बनाएको छु । त्यसैगरी लेखनमा दरिएका उनीहरूका नेपाली भाषाकै पउलपउल रचनाहरू पढेको छु । यो मेरो नेपाली भाषाप्रतिको राग र अनुराग हो । लगाव हो । अनि आफू रहेसम्म नेपाली भाषा र भावलाई सम्मान दर्साउने मेलोमेसो हो ।
अँध्यारो युगमा बत्ती बाल्ने मानिस नै महान् हुन्छ । अँध्यारालाई लखेट्न उज्यालो नै चाहिन्छ । जति चिप्ला कुरा गरे पनि या जति नै खस्रा सन्दर्भ ल्याए पनि अँध्यारो आफैँमा सभ्यताको शत्रु हो । त्यसले कुनै पनि परिस्थितिमा समग्र मानवताको भलो गर्दैन । नेपाली कविता साहित्यको भक्तिकालका अग्रज कवि भानुभक्त आचार्य र इतिहासले बोलेका प्रथम कवि सुवानन्द दासका बारेमा अनेक तर्कहरू पनि विश्वविद्यालयमा अध्यापन गर्ने गराउने प्राध्यापकहरूले गर्ने गरेका छन् । आफूलाई अग्रगामी देखाउन चाहने कतिपय भृतक अध्यापनलाई जिवीकोपार्जनको माध्यम बनाएका भाषाका सेवीहरूको नियत र नीति त्यस्तो होला तर भानुका बारेमा जति नै मह मिसाएर गरिएको विष वमन किन नहोस् त्यो अवश्य पनि त्याज्य छ । उनको समयमा उनले जति कार्य गरे त्यो नै बास्तवमा महान् हो ।
मुख्य कुरा नै महान् हुन्छ । गतिलो सन्दर्भ नै सफल पनि हुन्छ ।
देश र भाषाको माया कस्तो हुन्छ त्यो देश र भाषाका अभावमा पीडित भएकाहरूलाई सोध्नुपर्ने हुन्छ । आमा नभएको सन्तानको हविगत कस्तो हुन्छ हुर्कदाँ, थाङ्ग्रा नभएको लहराको हविगत कस्तो हुन्छ फैँलदा, देश र भाषा नभएका व्यक्तिको गति र प्रगति त्यस्तै हुन्छ । रामायणमा त्यसै कहाँ भनिएको हो र ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ अनुभवनिश्रित ज्ञानले नै मानिसलाई महान् बनाएको छ । अनुभव नै संसारकी महान् जननी हुन् ।
आमा भनेकी संसारकी जनक हुन् । चाहे भाषा होस् चाहे भाव त्यसमा मातातत्वको संपुष्टता सन्निहित हुन्छ । अहिलेको समयमा नेपाली भाषाको जुन रूपमा फैलावट भएको छ त्यो हेर्दा हामी अहिलेका भाषा र भावका सेवकहरूको पनि शीर उँचो भएको छ । अहिले संसारका कुनै ठाउँमा नेपाली नपुगेको छैनन् । नेपालीले नगरेको पेसा छैन । नेपालीले नखेपेको दुःख छैन । हो पनि नेपाली अहिले संसारका हरेक दुःख खेप्ने एउटा दुखीया प्राणीमा गनिएको छ । नेपालीहरू संसारमा छरिएका छन् । नेपालीहरू संसारकै अति सौविध्यपूर्ण मुलुकमा भरिएका छन् । नेपालीहरूको सान र मान कुनै बेला बढेको थियो कुनै बेला घटेको छ । बढ्नु घट्नु संसारकै रीति हो । चत्र हो । यसरी समयको चक्रचालमा भइरहने कुरा हो ।
समय हो आफ्नै तालसुरमा बगिरहन्छ । चिरन्तन । निरन्तर । अविरल ।
संसारमा अहिले पनि हेरिल्याउने हो भने राज्यका लागि लडिरहेका अनेकौं जातजाति र भाषाभाषीहरू छन् । तिनीहरू आफ्नो पहिचानका लागि जन्मजन्मान्तर लडिरहेका छन् । मलाई कम्तिमा आफ्नो देश र भाषा नहुनुको पीडा छैन । जेजस्तो होस् मैले आफ्नो देश र भाषालाई मुटुभरिभरि माया गर्ने मेलो पाएको छु । आफ्ना जातजातिलाई सम्मान गर्ने शैली र संस्कार पाएको छु । यो मेरो भाषा र भावप्रतिको अनुराग मेरो शरीरले काम गर्न नछोडुन्जेलसम्म रहिरहन्छ ।
भानुलाई गाली र सत्तोसराप गरेर म आफूलाई धुरन्धर विद्वान भनाउने र भँजाउने मनस्थितिमा छैन । आफ्नो मन पनि छैन अनि छैन कसैले भानुको बारेमा नकारात्मकता सहित फूलबुट्टा भरेर भनेको सहन सक्ने पाइन ।
हामीले जसरी देशलाई एकीकरण गरेको मेसोमा राष्ट्रनिर्माताका रूपमा पृथ्वीनारायण शाहलाई एकीकरणका जनक मान्ने हो त्यसैगरी भाषाको एकीकरण गरेर उसबेला नेपालीभाषालाई जीवन्तता दिएको परिप्रेक्ष्यमा नेपाली भाषाका प्रथम अभियन्तालाई स्यालुट गर्नैपर्ने हुन्छ । यो आलेख पनि भानुभक्तप्रति सततः नमन गरेर लेखिएको सामान्य सम्झौटो हो ।
भानुभक्त मेरा पुर्खा हुन् । पुर्खा यो मानेमा भनिएको होइन कि मेरो उनीसँग नामथर मिलेको छ । जात मिलेको छ । अनि वर्ण मिलेको छ । या उनले लेख्ने भाषा र भाव मिलेको छ । यी होइनन् पुर्खाका सूचकहरू । पुर्खा त नेपाली हुनुको परिचयमा भनिएको हो । नेपाली हुनुको भाषा र भावमा थालिएको हो ।
यी सबै कुराहरू भन्दा पनि अहम् कुरा के भने हामी दुवै भाषा सेवीको भाषालाई सेवा गर्ने देवनागरी लिपि मिलेको छ । नेपाली शैली मिलेको छ । लवज मिलेको छ । भाव मिलेको छ । अनि मिलेको छ नेपाली हुनुको मासुको एउटा गतिलो मुटु पनि । मैले रत्तिभर स्वार्थतिरेक हिसाबले उनलाई पुर्खा मानेको होइन । नश्लीय चेतनाका हिसाबले म कसैलाई पनि आफ्नो गुरु या पुर्खा मान्न सक्ने मनस्थितिमा छैन । मैले जति देवकोटालाई मानेको छु उत्ति नै बैरागी काँइलालाई पनि मानेको छु । मैले जति ईश्वर वल्लभलाई नमन गरेको छु उत्तिकै हिसाबले प्रख्यात आख्यानकार पारिजातलाई पनि आदर्श बनाएको छु । अनि मैले जुन हिसाबले भूपि शेरचनलाई गरिमा दिएको छु त्यस्तै हिसाबले पनि धच गोतामेको लेखनीलाई सततः सुकामना गर्ने गरेको छु । किनकि ती सबै प्रातःस्मरणीय साहित्यकारहरू नेपाली भाषालाई माया गर्नेमा दरिन्थे । गनिन्थे । यो मेसोमा म सबैको चेलो हुन मन पराउँछु । उनीहरू सबै मेरा साहित्यिक गुरुमा दरिन सक्छन् ।
भाषा र भावको माया मानिसलाई किन हुन्छ ? भाषा र साहित्यको सेवागर्ने आदेश एउटा कलमजीवीलाई कसले दिन्छ ? किन दिन्छ ? मैले आजपर्यन्त बुझ्न नसकिरहेको कुरा हो –यो । संसारकै साहित्य र साहित्यकारलाई म आदर्श मान्छु । यो मेरो धर्म हो । भाषा बुझे पनि भाव बुझे पनि हामी कलमजीवीको धर्म भनेको भाषा र वाङ्मयिक सेवा भाव नै हो । आफूमा भएका रासौंरास भावनाका पुुञ्जलाई कलमका माध्यमबाट उठान गर्नु र सबैमा मिष्ठ तरिकाले प्रेषण गर्नु हाम्रो कर्तव्य हो । संसारका साहित्यकारको समग्रतामा जात हुँदैन । लिङ्ग हुँदैन । वर्ण हुँदैन । अनि हुँदैन हटक गर्ने पृथकाभिमुख सोच । ब्राजीलियन कवि होस् या बेल्जियमको आख्यानकार हामी सबैको भावलाई कदर गर्न मन पराउँछौं । नेपालका निबन्धकार हुन् या नेपल्सका समालोचक ती सबै यदी भाषासेवी हुन् भने हामी तिनीहरूको प्रशंसामा गीत गाउन चाहन्छौं ।
जानीनजानी या बुझीनबुझी गरेको नेपाली भाषाको मेरो करिब ३५ वर्षको सेवा भावको यो सामयिक कालचत्रमा कसैलाई भनी बिझाउने र गरी बिराउने मेरो आसय होइन । छैन । मैले यही माहोलमा भानुभक्तलाई लिएको छु । भानु मेरो मनमा भाषा र भावका रानु भएर रहेका छन् ।
मानिसलाई प्रथमतः उसको देश र राष्ट्रियताले चिनाउँदछ । त्यसपछि उसको भाषा र संस् कारको कुरा आउँछ । नेपालीहरूले इतिहासमा कहिले पनि कसैको दास या उपनिवेश भएर बस्नु परेन । यो हामी नेपालीहरूको अहोभाग्य नै हो । नेपालीहरू इतिहासमा निकै नाम कमाउन सफल जातिमा गनिन्छन् । विदेशी भूमिमा गएर विदेशीको इच्छा र आसयमा लड्ने कार्य गरे पनि उनीहरूले विदेशीहरूलाई आफ्नो शौर्य, वीरता र पराक्रम देखाउने कार्य गरेका छन् । दस्तावेज मै सही प्रथम र द्वितीय विश्व युद्धमै नेपालीहरूले विश्वलाई थर्काएबाट पनि हामी सहजै यो परिस्थिति थाहा पाउन सक्छौं । जर्मनी सम्राट कैजर विलियम द्वितीय आफ्ना सैनिकलाई संसारका सबै सैनिकहरूसँग लडाउन आदेश दिन सक्थे तर गोर्खाली सैनिक भनेपछि उनी यति डराउँथे कि उनका सिपाहीहरू पनि डरले पिसाब नै फेर्दथे । यो त भयो इतिहासको दृष्टान्त ।
अहिलेको स्थितिमा खिया लागेको छ । भनिन्छ, नि ‘बाबु लतिफती बेटा परबर’ हो स्थिति भयो त्यस्तै । नेपालीहरू अब विगतावस्थाका जस्ता छैनन् । उनीहरूको सान र मानमा गिरावट आएको छ । अहिले देशदेशावर गएर घुमेर अनेक पेसा र रोजगारीमा आबद्ध भएर नेपालीहरूले जुन अवस्थालाई भोगेका छन् लाग्छ अबको केही दसकमा नेपालीको त्यस्तो अनुभूति र अनुभवमा नेपाल उठ्छ । विकासका पथमा लम्कन्छ । गम्कन्छ नेपाल अनि विश्व रङ्गमञ्चमा चम्कन्छ । यो भोलिको अवस्था हो । यसरी नेपालीहरू विकसित हुन गए भने नेपालको भाग्य र नेपालीको भविष्य पनि कुनै दिन संसारलाई लिडिङ् गर्ने महान्महान् व्यक्तित्वका रूपमा फेरि इतिहासमा दर्ज हुन सक्छ । भविष्यका गर्भमा रहेको यस्तो नालीबेलीको रूपरङ्ग आगे कसरी बढ्छ त्यो हेर्न अझै बाँकी छ ।
अहिले चाहिँ नेपाल र नेपालीको चित्रण विश्व रङ्गमञ्चमा निको किसिमले भएको छैन । सकारात्मक हिसाबले भएको छैन । यो नेपालीहरूको वर्तमान अवस्थाको केही नकारात्मकताको चित्रण हो । यसले हामीलाई केही बेफाइदा भए पनि घुमाएर भन्दा केही फाइदा नै भएको छ । भनिन्छ नि रात पछि दिन आउँछ । दिन पछि रात आउँछ । हरेक कालो बादलभित्र चाँदीको घेरा हुन्छ । समस्याहरूले आफू सँगसँगै समाधानका उपायहरू पनि लिएर आएका हुन्छन् । आवश्यकता नै आविष्कारकी जननी हुन् । खाँचो भएपछि त्यहाँ गर्जो टारिन्छ । लडेर उठेपछि नै हिँडाइको मतलब थाहा पाउन सकिन्छ । परिश्रमले नै सफलताको द्योतन गर्दछ । घाममा हिँड्दा भएको पोलाइलाई एकैछिनको शीतलताले आनन्दित बनाउँछ ।
नेपाली भाषाको अवस्था नाजुक भएको परिस्थितिमा भानुले जुन किसिमको भूमिका निर्वाह गरेर नेपाली भाषा र साहित्यलाई अजरामर हुने गुन लगाए त्यो भने नेपाल र नेपाली रहेसम्म भानुको रहिरहने श्री हो । हामी यसैमा उनी आदिकवि भएकोमा गर्व गर्छौं । हामीलाई उनी दिगदिगन्तमा सम्झिरहनुको काइदा पनि यही नै हो ।
नेपालमा विगत् दुई तीन दसकको समय र परिस्थितिमा धेरै प्रकारका शासनको शैली फेरियो धेरै प्रकारका सिद्धान्त र चिन्तन शैली बोकेका अनेकानेक किसिमका विद्वान् नेताहरू विभिन्न पार्टी र समूहमा आए तर उहिलेका भानुका प्रतिको भक्तिभाव केही नेपालीमा रत्तिभर पनि कम भएको छैन । केही नेपालीले चाहिँ अहिलेको बद्लिँदो परिस्थितिमा भानुलाई नकारात्मक रूपले पनि लिने गरेका छन् । त्यो उनीहरूको स्वतन्त्रताको विषय र सोचको कुरा होला तर हामी समग्रमा भानुलाई जोजो नमन गरेर नेपाली भाषलाई बचाइराख्ने पक्ष र मेसोमा लागेका छौं त्यो परिस्थितिमा चाहिँ उनलाई गाली र सत्तोसराप गर्नुको कुनै तुक छैन ।
भाषाभनेको मानवीय सम्पत्तिहो । नेपालीभाषा अब नेपाली समाजको मात्र पेवाभएन । यो संसारभर बसोबास गर्ने सबै नेपालीको साझाभाषा बन्नगयो । नेपाली भाषाको इतिहासको बखानगर्ने हो भने यसको निकै लामो इतिहास खडा भैसक्यो । अब नेपालीभाषा ज्ञान र विज्ञानका अनेकानेक क्षेत्रोपक्षेत्रमा चहकिलो किसिमले चल्ने भैसक्यो । यो नेपाली भाषाका लागि पनि खुसीको चुरो कुरो भएको छ ।
भाषाको क्षेत्रमा एउटा उखान नै चलेको छ –‘बूढा मरे भाषा सरे ।’ भानुभक्तको समयको भाषालाई अहिलेको समयमा ल्याएर हेर्दा एक हदसम्म त्यो भाषाको लवजलाई आउट डेटेट भाषाका रूपमाभन्न सकिएला तर हामीले त्यो समयको भाषा र लवजलाई त्यही समयमै लगेर हेर्नुपर्ने हुन्छ । यो हाम्रो रहर होइन बाध्यता हो । नेपालीहरू अहिले विश्व परिभ्रमण गर्न सक्ने भैसकेका छन् । इच्छा होस् या बाध्यता नेपालीहरू प्रतिदिन हजार पन्ध्रसयका हाराहारीमा विदेशका भूमिमा आफूलाई नानाथरिका भूमिकामा अनुवाद गर्दै काम र मामको खोजीमा गएका छन् । देशविदेश चाहर्नु नेपालीको रहर नभएर एक प्रकारले बाध्यता नै भएको छ । धनी देश गए त उनीहरूलाई राम्रै फाइदा हुन पनि सकेको होला तर धेरैजसो नेपालीहरू अरब र नैऋत्यिक मुलुकलाई नै आफ्नो टार्जेट बनाएर जाने हुनाले नेपालीहरूको गति र गराँस अब त्यति राम्रो भएको पाइँदैन । यो नेपाली भाषीका नाताले हामीलाई सारै दःुखलाग्ने कुरा हो । दुःख लागेर के गर्नु र नेपालीको यो नियती नै बनिसक्यो ।
लेखको सार यति हो । भाषा र भावको अनादर गर्ने कुनै व्यक्ति पनि ग्राह्य हुन सक्दैन । त्यो त्याज्य हुन्छ ।

सहायक प्राध्यापक
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु