एक झोला इन्द्रेणी सरसरती पढ्दा

- सदानन्द अभागी

यो कवितासङ्ग्रहका कृतिकार मुकुन्द प्रयास हुनुहुन्छ र प्रकाशन झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपालले गरेको छ । मूल्य रु १५०÷– राखिएको यस कृतिमा प्रकाशकीय जनार्दन गोठालले लेल्ेख्नु भएको छ । यस कृतिमा मुकुन्द प्रयासजीले न त आफ्नो व्यक्तिगत विवरण नै दिनु भएको छ न कि शुभ कामनाका अक्षरहरूको चाङ्गनै लगाउनु भएको छ । केवल आफ्ना कुरा भनेर सानो अवधारणाबाट कृति पढिदिने अनुरोध गर्नु भएको छ भने मुकुन्दजीले तरेली युक्त सङ्गीत नै कविता हो कि भनेर प्रश्न राख्नु भएको छ । यस कृतिमा साना ठूला गरि ३७ वटा कविताहरू समावेश गरिएका छन् । कविता गद्यशैलीमा लेखिएका छन् । कविता मध्यम खालका, न लामा न धेरै छोटा तर महजस्तै मीठा, जति पढ्यो उति पढौं पढौं लाग्ने खालका यी कवितामा समसामयिकताले भरिएका, राष्ट्रप्रेमले ओतप्रोत, भावनाका भेलहरू एकनासले बगेका, समनताको खोजीमा दौडेका र मानवीय संवेदनाले भरिएकाछन् । यी कविताले मानव मन मस्तिष्कलाई आकर्षण गर्छन् भन्ने लाग्छ मलाई ।
‘देश, मधेश र पहाड’, कविताले सामाजिक सद्भाव बोकेको छ । यी तीनै स्थानको आफ्नो आफ्नो अस्तित्व बोकेका छन् र यी तीनै स्थानमा अवस्थित समाजको अन्योन्याश्रय सम्बन्ध छ । पहाड बग्न हुँदैन र मधेश छोपिनु हुँदैन भन्दै मधेशलाई पहाडतिर उक्लियोस् भन्ने धारणा राखिएको छ ।
‘अपुग समय’, कवितामा कामहरू असीमित छन् सबै कामको लागि समय दिनुपर्छ र समय पुग्दैन त्यसमा पनि देशको चिन्तनमा अवश्य ध्यान दिनुपर्छ भन्ने धारणा बोको छ कविताले ।
‘रित्तो जवाफ’, कवितामा यसमा छोरालाई प्रतिक मानेर केही नलेखिएको समयको कुन पातो पल्टाएर पढ्ने, बरु विद्रोहको गीत गाउने, भोट नहालेको, झण्डा नबोकेको, बन्दुक नसमाएको ,अँध्यारो घामको सहाराले कसरी खोज्ने अक्षर, रङ्ग्याउने मन्दिर या मन्दिर बाहिर लागेको ताल्चा भत्काउने अधिकार, कस्तो हुन्छ देश, सीमाना वाङ्गिएको, मिलेर बस्न नसक्ने अक्षर किन पढ्ने, सुसाएर गएको बतास कहिले फर्कने, कसरी फरफराउन पाइन्छ साथीको ओठमा मुस्कान, आदि प्रश्न छोराले राख्नु बाबाको रित्तो जवाफ पछि ‘ डिल माथिबाट बुङ्ग हाम्फालेर भन्छ बाबा ! तपार्इँ पनि हामफाल्न सक्नु हुन्छ ?’ आज देश र जनताले भोगेका तथा देखिएका तमाम समस्याहरूको जवाफ दिने कोही छैनन् भन्ने यथार्थबोधी छ कविता ।
‘लेउतीको बगर र टोपी’, यस कवितामा मानव जीवनलाई प्राकृतिक प्रकोपले असर पार्ने कुरा तथा त्यसबाट प्राप्त हुने नोक्शानमा आधारित भएर गरिबीले सताएको मानव जीवनमा प्राकृतिक प्रकोप कहिले वरदान हुने त कहिल अभिशाप हुने धारणा पोखिएको छ – ‘म यतिबेला लेउतीको बाढीलाई ईश्व्र सम्झि रहेछुँ ।’
‘देश’ कवितामा कविले राष्ट्रप्रेमले भरिएका भावनाहरू पस्कनु भएको छ –
‘पसिना र देश उस्तै उस्तै हुन्
आफ्नो पसिनान नमिठो गनाउँदैन
आफ्नो देश बिरानो हुँदैन ।
बास्तवमा देशको माटो र श्रममा कविको अमिट मायाले जरो गाडेको छ । माटोप्रति जनताको गहिरो प्रेम हुनैपर्छ ।
‘तिम्रो प्रश्न र मेरो प्रश्न’, यस कवितामा प्रकृतिप्रदत्त कर्महरू निरन्तर आफ्ना्े मार्गमा चल्दछन् । तिनबाट प्रदान गरिने सबै कुराहरू पनि निरन्तर नै प्राप्त भै रहेका छन् । तर यहाँ देखिएको जातीयतामा समनता छैन र यहाँ विभेद छ किन भन्ने प्रश्न उठाइएको छ –
‘तिम्रो प्रश्न थियो
म अछुत हुनका पीडाले
किन रुवाउँछ तिमीलाई ?
तिमी ब्राह्मण हुनुको हर्षले
किन हसाउँदैन मलाई ?
र मेरो प्रश्न थियो
तिम्रो अछुत हुनको पीडाले
किन रुवाउँछ मलाई ?
म ब्राह्मण हुनाको गर्वले
किन हसाउँदैन तिमीलाई ?
‘परिचय’, कवितामा मानवले कामको आधारमा तुलना गरेर नामाकरण गर्दैमा मान्छेको परिचय खुल्दैन भन्दै कवि भन्छन् –‘यी... हेर्नुहोस् त म रङ्जस्तो पनि देखिन्न, कलमजस्तो पनि देखिन्न , म ठ्याक्कै म जस्तो छु, म मुकुन्द प्रयास जस्तै छु ।’ संसारका बस्तुहरूको आफ्नै किसिमको पहिचान हुनुपर्छ र छ भन्ने धारणा व्यक्त गरिएको छ कवितामा ा
‘मेरो छोरो र अँध्यारो सपना’, यस कवितामा कविले अँध्यारोमा केही देखिदैन केवल सपनामात्र देखिन्छ भन्ने धारणा पोखेका छन् । अबश्यमेव उज्यालोको खोजीको चाहना हो यो ।
‘खटन’, यस कवितामा मानव भएर जन्मेर बन्धनमा परेको, नागरिकताले देशमै सीमित र विश्व विचरणको लागि पासपोर्टको आबश्यकता रहेकोले नागरिकता र पासपोर्ट नचाहिने काग र बाध भएर किन जन्मिएन भन्दै प्रश्न राखिएको छ ।
‘सहर आउ सारङ्गीहरू’, कवितामा ग्रामिण जीवनमा र सहरीया जीवनको तुलना गर्दै स्वच्छ, ताजा, इमानदारिता, अपनत्व र प्राकृतिक वातावरणमा बाँचने जीवनलाई छाडेर, सहरीया जीवनमा विरानो जीवनमा तड्पिनको लागि सारङ्गलिाई सहर पस्ने भनि व्यङ्ग कसिएको छ ।
‘नानीहरू’, यस कवितामा पनि कविले आकाशजस्तो सफा कथा लेख्न र आफ्नै आगनको सजीव चित्र कोर्ने चाहना रखेका छन् र पूmलजस्तै फक्रन र नानीजस्तै बाटोभरी पखेटा फिजाएर खेल्न पाउने मुक्त जीवनको चाहना राखिएको छ । स्वतन्त्र भै विचरण र बालख जीवनको अनुभूतिलाई पस्कन खोजीएको छ ।
‘हराएको कविता’, यस कवितामा संसारिक घटनाक्रममा व्यङ्ग कसिएको छ र भनिएको छ –कतै हाड खिइने कतै रोदन, कतै सप्त कोशी टाल्न पर्ने, आदि वेथितिमा राग अुराग, हिसाब, वेहिसाब, हराउने जति बेइमानी गरे पनि नगन्हाउने, इमानदारिता नचाहिने, झमकलाई पढ्न नपर्ने आयिदले गर्दा अस्थिपञ्जरहरूसँग कविता नसाट्ने धनकुटामा कविता नपढने किनकी यस्तो बेलामा काव्य हराउँछ र कविता हराउँछ भनिएको छ । समसामयिक परिस्थितिलाई केलाउन र मूल्याङ्कन गर्न खोजेको छ कविताले ।
‘म नायक’, यस कवितामा ‘लगातार चलचित्र हेरेपछि, आफै नायक झै लाग्छ, छम छम नाचेर कलाकार लैबरी साटिरहन्छु, तर मेरी नायिका मेरो नजिक आएर अहिले नूनका कुरा गर्दिनन्, कहिल्यै जूनका कुरा गर्दिनन् ’ भन्दै श्रमको मूल्य र प्रकाशको खोजी गरिएको छ ।
‘वाचन’ वाचन गर्दा घमण्डको साथमा भन्नु भन्दा के बोली रहेंछु भन्ने यथार्थता थाहा हुनु पर्दछ र प्रतिकारलाई पनि ध्यान दिनुपर्दछ भनिएको छ ।
‘ किसान,’ किसानको परिश्रममय जीवनमा भोग्न पर्ने हरेका श्रमखुट््िकलालाई समाउँदै, रोपहार वैंस भेलजस्तै हो, गोडमेल विनाको हिलाम्य लक्ष हो सपना भन्दै समाचारमा बनाएका सरकारी कुलाहरू र मकैको ढोडजस्तै हो जीवन भनिएको छ । किसानको श्रर्ममार्मिकता र मानवजीवनको क्षणिकतालाई तुलना गरिएको छ कवितामा ।
‘अजम्बरी मान्छे’, यस कवितामा पनि कविले मानवीय सम्वेदना र मानवले मानवप्रति गर्ने विभेदका घटनाक्रमलाई जोड्ने प्रयास गरेका छन् । मान्छे विभेदको भीरबाट लड्नु, खान पाउने र नपाउनेको कथा लेख्न नपर्ने, भारी बोक्ने र नबोक्ने को पसिना सुघ्न नपर्ने, गरिबीमा लेखिएका किताब र हुनेखानेमा लेखिएका महाकाव्य आदि विभेद हुँदा हुँदै पनि प्रकृति आफ्नो गतिमा हिडीरहेको छ, मानव नाङ्गो अवस्थाबाट सभ्य अवस्थामा आउँदा पनि मानिस आफैसँग झुकिएको छ तर पनि मानिसको अन्तरभाव सकिएको छैन र मान्छे रहुन्जेल मान्छे सकिदैन । त्यसोहुँदा मान्छे अजम्बरी छ भनिएको छ ।
‘पारिजात र पारिजातहरू’ यस कवितामा कविले वाद भन्दा माथि उठेर पारिजात पढ्नु र धूनभन्दा माथि उठेर नारायणगोपाल सुन्नु, शिरिसको पूmल, पारिजातले जन्माएको छोरो,काठमाण्डौको विद्रोह, चितवनले जन्माएको सहिद धनकुटामा लेखिएको शान्ति गीत र गाइएको प्रेमगीत आदिको साथै वाद भन्दा माथि उठेर पारिजात खोतलीरहेको धारणा पोखिएको छ कवितामा ।
‘आगो र पानी’ यस कवितामा परिस्थिति अनुकुलको आवश्यक्ता हुन्छ भन्दै आगोले सिङ्गो सभ्यता डढाउने र पानीले संरचना विगार्ने भए पनि सल्किदैन आगो पानीको काखमा, बल्दैन पानी आगोको रापमा भनिएको छ । आफ्नो आफ्नो अस्तित्व आफ्नो ठाउँमा हुन्छ र कसैको अस्तित्व कसैले विनास गर्न सक्दैन भन्न खोजीएको छ ।
‘प्रेम सर्बस्व’ यस कवितामा अमर र अमिट प्रेमको चाहना गरिएको छ । प्रेमको खाडल खनेको कसैलाई थाहा नहोस् भनिएको छ ।
‘शुभकामना’, यो कवितामा शुभकामनाले विविध खाले घटनाक्रम र चुनौतीलाई रोक्न सकेको नदेखिए पछि शुभकमना आदान प्रदानको औपचारिकता निभाउने या न निभाउने दुविधामा रहेर कविले ‘परिवर्तनको संघारमा उभिएर निराशाको गीत गाउन नहुने, झुल्किएको घाम उदाउँदैन भन्न नहुने यो सुनौलो बिहानीमा औपचारिकता नै सही, इतिहासको अन्यौलग्रस्त मोडमा उभिएर अन्तिम पटक मङ्गल कामना र शुभ कामनाहरू’ भन्ने निर्णय लिएका छन् ।
‘इतिहास’, यस कवितामा इतिहासलाई जसरी पढे पनि हराएको सीमास्तम्भ र भेटिएको जङ्गे पिल्लर कसैले खोज्ने छैन भन्दै इतिहासले प्रष्ट्याउने यथार्थलाई जानकारी गराउने प्रयास गरिएको छ ।
‘पहिरो’, यस कवितामा पहिरो कहिले आउँछ, पहिरोले के गर्छ र यसले निम्त्याउने अनिष्टतालाई केलाउँदै मानव जीवनसँग गाँस्न खोजीएको छ साथै बाँचुन्जेल धिसारी रहनु पहिरो र थामी रहनु जिन्दगी भनिएको छ ।
‘घण्टी र मन्दिर’, यो कविता सानो छ तर यसले जातीय कुसंस्कार जातिय विभेदलाई प्रष्ट्याएको छ –‘ जब घण्टी बज्न थाल्यो घण्टी बजाउने मन्दिर भित्र देखियो घण्टी बनाउने मन्दिर बाहिरै छेकियो । ’
‘मान्छे भएको दिन’, मानिसले आफ्ना शरीरको मानवीय अस्तित्वलाई तहसनहस पारेर आफ्नो अस्तित्वलाई आँफैले पिएर मात्र मान्छे भएको महसुस गर्दछ –
आफ्नै रगत हो
चाटैं निहुरिएर
अनि पो मान्छे भएँ जस्तो लाग्यो
साच्चै !
पूर्ण मानव भएँ जस्तो लाग्यो
‘जीवनको गीत’ कवितामा समय गतिशील छ , यस गति अघि नै विहानीको न्यानो घाम र साँझको सामीप्यलाई छाम्ने काम, जीवनको उपलब्धी प्राप्त गर्ने, पुर्खाको मेटिन लागेको अस्तित्वलाई बचाउन,े लाजले नबगेका आँशु सँगै तलतलसम्म जमेका रहरको तलैयाबाट, वाइपङ्खी विद्रोह बाट उम्किदै गतिशील बर्तमानसँग सम्झौता नगरी, अटुट सुरसरगम वेदको ्त्यहींबाट उठाउन सक्नेगरि जीवनको गीत गाउने धारणा राखिएको छ ।
‘लादेन पहिचान’, कवितामा तथानाम सपनाहरूले उडाउन खोज्दा खोज्दै र थामिदा थामिदै लादेन हल्लिरहन्छ, आत्मा संतुष्टि छ गालीमा भनेर पोको पारेर लादेनले लुकाइ रहन्छ, यही माटोमा जन्मिएको हो लादेन, शिरदेखि पाउसम्म धनकुटाले लादेनलाई चिन्द छ र ‘यहीं उभिएर दाँजीरहेछु लादेनको पहिचान र मेरो पहिचान’ भनिएको छ ।
‘हजुरबा र शान्ति,’ कवितामा हजुरबाले गायत्री जप्दै अब शान्ति हुन्छ भन्दै कल्पना गर्नु, गीता पढेर अब शान्ति होस् भन्दै कामना गर्र्नु, निकोटिनको गहिराईमा डुबेर शान्ति नजिकै छ भन्नु, हरक्षण शान्तिको अनुभूत गर्न खोज्नु, केटा केटीको मौनतामा तिमीहरू बोले मनमा शान्ति मिल्छ भन्नु, संसार छाडेर जानेबेलामा एक घुड्की पानी देऊ शान्ति मिल्छ कि भन्नु, पानी निलेपछि हजुरबा शान्त हुनु तर शान्तिको अनुभूत भए नभएको थाहा नपाउनु भनिएको छ । मानवले जीवनमा शान्ति खोज्छ र शान्तिको अनुभूति गर्नु पर्छ भन्ने धारणा पोखिएको छ कवितामा ।
‘बाडुलीमा तिमी’ यस कवितामा अरु कसैले नभएर तिम्रो अन्तस्करणमा गोठालोमा बजाएको पिपिरिको पात, असारे भाका, पूजामा जाग्राम बसेको रात र जुहारीको कारणले सम्झेर लागेको बाडुली भनिएको छ ।जीवनका घटनाक्रमको याद आउने धारणा पोखिएको छ ।
‘परदेशी दशैं’, यो कवितामा विदेशमा बसेर स्वदेशको दशैंको याद आउनु र अभावको दशै नआयोस् दशैजस्तै दशै. आवस् भन्ने कामना गरिएको छ ।
‘प्रेम’, यस कवितामा कहिल्ये नदेखे झै हेरिरहनु, केशराशीलाई सुम्सुम्याउनु, आकाशको जूनलाई टोलाएर हेर्नु, क्षितिजलाई औंलाले देखाउनु, यस्तो क्रिया प्रेममय वातावरणमा हुन सक्छ भन्दै असल प्रेमीको खोजी, प्रेममा चलेको संसार, के तैंले प्रेम गरेको छस् भन्ने र आखिर प्रेम हुन्छ कस्तो भन्ने प्रश्न राखिएको छ । प्रेममा पर्दाको पहिचान गर्ने लक्षण र प्रेमको परिभाषाको खोजी ।
‘खेती’, यस कवितामा खेत बारीमा जे रोपे पनि स्वतन्त्र रूपले र स्वविवेकले खुसीले रोप्नु पर्छ भन्ने धारणा राखिएको छ ।
‘अपालन’ कवितामा एकलाई ठीक लागेको अर्कोलाई ठीक नलाग्न सक्छ, सत्य ठीक हो, कालो र सेतो छुट्ट्याउन सक्नु पर्ने, जानी जानी कुर्कुचातिरबाट अज्ञान बाटो हिड्न नहुने कसैले हो भन्दैमा हो सही थाप्न नहुने, आफ्नो जीवन विरुद्ध आँफै उजुरी दिन नहुने कसैको बकपत्रमा तथा खाली कागजमा ल्याप्चे लगाउन नहुने अठोट प्रकट गरिएको छ ।
‘यो निराशा होइन,’ क्यालेन्डरमा लेखिएका गते बार सबै उही नै विभिन्न आकार र प्रकारमा छापिने र हरेक बर्ष एक थपिने बाहेकको परिबर्तन तथा क्रमभङ्ग पाइदैन, लोक तन्त्र लेखेर के हुन्छ, क्यालेन्डरको पातो पल्टाए पछि नयाँ विहानीले चराको गीत गाउँदैन भने समयले केटाकेटीका सपनालाई बाटो देखाउँदैन भने भो अब म क्यालेन्डर पल्टाउँदिन भन्ने धारणा पोखिएको छ । समयसापेक्ष परिवर्तनको खोजी गरिएको छ कवितामा ।
‘सहिदः कोलाहलयुक्त मौनधारण’, कवितामा सहिदले देखेका सपना, त्यागबाट प्राप्त हुन नसकेको उपलब्धीको बारेमा प्रकाश पारिएको छ । साँचो बोल्न नहुने, शासकले गाएका कर्कश गीतहरू सुनिदिनु पर्ने नसुनि दिएकोमा सहिद हुनुपर्ने, बलिदान पछिको सपना सपनामै रहेको र अझै पनि बन्दुक तेर्सिएको छ । आफन्तको आँसु पुछिएको छैन, यस देशको माटोमा उभिएर रुन्चे भाषण गर्नेहरूले निर्लज्य भाषण गरिरहेका छन् र –
बर्षको कुनै एक दिन
तिम्रो सालिक छेउ उभिएर
कोलहालयुक्त मौन धारण गर्दछन्
र वाँकी दिन हराउँछन्
स्वार्थको अँध्यारो खाडलभित्र
तिमी भने
हाँसिरहेछौ तिम्रो सालिक जस्तै
सहिद जस्तै हाँसिरहेछौ
आज देशमा सहिदप्रतिको गरिएको व्यवहार र भएको यथार्थलाई पस्केको छ कविताले । मार्मिक छन् पोखिएका धारणाहरू ।
यसपालीको दशैं’, वेरोजगारीले गर्दा विदेशिएका, पढेलेखेका यवायुवतीले सहरमा सपना किन्न गएका र सपनामै सहरमा हराएका र त्यही सहरमा हरायो देशको सपना, सपनानै हराए पछि केलाउने टीका र के खेल्नु पिङ भन्दा भन्दै पनि दशैंले निरन्तरता पाएको हुँदा दशैंका कामना र शुभ कामनाहरू बाँढ्नै पर्नेभो भनिएको छ ।
‘समय’ कवितामा समय बलवान भएको र रातैपिच्छे त्यही समयमा निदाउने सपनाको तर घटनाक्रममा छाडिएको समयको बारेमा तर्क गरिएको, स्वीकारेको समय र अस्वकिारिएको समय आज पनि घुमिरहेको छ भन्ने धारणा आएको छ ।
‘र छुट्न नहुने बुदाहरू’ कवितामा यसपाली संबिधान लेखिएमा पहिलो बुँदामा सडकले भारी बोक्नेहरूको अधिकार खोसेकोले सडक नखनियोस्, दोस्रो बुँदामा देशले आफ्नै श्रम गर्न पाउने अधिकारको सुनिश्चित होस् , युवाको कमाइले देश चल्न नहुने हुँदा रेमिट्यान्स नभित्रिने कुरा, लेखियोस् । तेस्रो बुँदामा बिरामी अस्पताल लाँदा बाटोमै नमरोस् र घरमै मर्न पाउने सुनिश्चित हुनको लागि अस्पताल र औषधी बन्दगरियोस् । चौथो बुँदामा बिद्यालयहरू बन्द गरियोस् किनकी बुझ्न हुँदैन सत्य कुरा बालकले, पाँचौं बुँदामा आमाहरू, दिदीहरू र भाउजूहरूलाई लेख्नपर्ने कुरा सोध्नु पर्ने, छौटौं बँुदामा प्रेमीका गुनाशाहरू, असहमतीहरू, बाढीबाट जोगिएकाहरू, गोलीबाट बचेकाहरू, जोगिन गाह्रो आँखाहरूको, मनहरूको ढुकढुकीहरूको, रातो रङको र अटेछ भने कुनै बुँदामा कविता लेख्नेहरूका कुराहरू लेखी दिनु भनिएको छ भन्दै व्यङ्ग कसिएको छ ।बास्तबमा देश र जनताले भोगेका यथार्थ कटुसत्यलाई पहिचना गरेको छ कविताले ।
यस कवितासङ्ग्रहमा समावेश गरिएका कविताहरू, नेपाली परिवेशमा देशकाल परिस्थितिहरूलाई नियाल्दै भावनाका भेललाई बगाउँदै, सुन्दर शान्त र न्यायपूर्ण समाजको परिकल्पना गर्दै, निर्माण गरिएका छन् । कविता पढ्दा सरल लाग्छन् तर तार्किक छन् र भावलाई बुझ्न मन र मस्तिष्कको लगानी गर्नै पर्दछ । सरल र सुवोध भाषामा लेखिएका यी कविताको बनोटलाई केलाउँदा पनि समसामयिकतालाई अङ्गाल्दै, सामाजिक, आर्थिक, राजनीतिक मार्गलाई पहिचान गर्दै, बिकृति र बिसङ्गतिमा व्याङ्ग कस्तै कविता लेखनको उदेश्यलाई प्रष्ट्याउन खोजेका छन् । त्यसोहुँदा कविता युगबोधी, भावबोधी, जीवन र जगतबोधी राष्ट्रप्रेम र राष्ट्रियताले भरिएका छन् । कविको भावना र धारणालाईकदर गर्दै, कवितामय जीवनको कामना गर्दै्, विदा चाहान्छु ।

कावासोती नगर पालिका वार्ड नं ७, शान्तिचोक नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 25 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु