सलाद बनाइँदै छ देश

- पेशल आचार्य

शनिबार मेरा लागि सँधै सिर्जनात्मक हुने गरेको छ ।
त्यसैले होला शनिबार आएपछि मेरो मन चङ्गा भएर नीलाकाशमा कावा खान थालिहाल्छ । पहिलेपहिले हातले लेख्ने ती समयमा म प्रायः साथी भाइहरूलाई र घरबाहिर पढ्न या जागिरका शिलशिलामा बसेका बेला घरमा चिठीपत्र लेखेर प्रत्येक शनिबार बिताउँथे । लेख्नेपढ्ने काम गर्ने भएकाले र पेसाले सो एकदिन छुट्टी हुने भएकाले पनि म केही न केही लेखिरहने वा पढिरहने गर्छु । यो मेरो एकान्तिक सिर्जनात्मक कार्य हो । यो कर्म गरेको लगभग ३५ वर्ष बितेछन् अब त ।
धन्यवाद ! आजको शनिबारलाई । पेसाबाट हुने कहिले कहिलेको फुर्सद्लाई उपयोग गर्दै म यो साप्ताहिक पत्रिकामा नियमित हुने प्रयास गर्दछु ।
कवि विधान आचार्यको एउटा २०४५ सालतिर ‘मधुपर्क’ मासिकमा प्रकाशित एउटा कविता थियो । शीर्षक त बिर्सिएँ तर भाव यस्तो थियो –‘दिन आज पनि सित्तै गयो । मन आज पनि रित्तै भयो ।’ त्यो कविताले मलाई भित्रसम्म छुने हुनाले किनकिन यद्यपि निकै मन पर्छ । जुन कविताले शनिबारको दिनलाई केही पनि नगरी बिताउँदा मनमा हुने खिन्नता र उदासिनता जो हाम्रो मनमा छाउँछ हो त्यसैलाई नै कविताले आफ्नो भावोद्गारमा उजागर गर्न खोजेको छ । त्यो कविता त्यसबेला निकै चर्चित थियो । आजका नयाँ पुस्ताका कविहरूले त्यो कवितालाई कसरी लिएका छन् ? पढेका छन् छैनन् मलाई केही थाहा छैन ।
गएको भदौ १४ गते पनि म केही न केही पढिरहेको थिएँ । विगत् २ महिनादेखि मेरो काखे कम्प्युटरको बेट्री डाउन भएकाले साउन र भदौ महिनालाई मैले पढ्ने महिनाको रूपमा लिएको थिएँ । दसैँमा त म केही न केही नयाँ पुस्तकहरू पढ्ने गर्थें । सो अनुसार यसपालि पनि पढेँ । तर सो २ महिनासम्म मैले नेपाली भाषामा लेखिएका करिब ३५ वटा जति किताब पढेँ हूँला । कतिपय नेपाली लेखकहरूको लेखन हैसियत र विषय चयनदेखि मलाई कुरीकुरी लागेर आयो । लेखनमा अझै जिम्मेवारी बोध नगर्ने र पाठकलाई विचरा कै शैलीमा देखेर आफ्नो मनज्ञानले जे देखेको छ त्यही गन्थन लेख्ने परम्पराले नेपाली साहित्यको विकास हुन नसकेको हो जस्तो मलाई लाग्यो ।
भारतमा तीन प्रकारका साहित्यिक कृतिहरू छन् । पहिलो स्तरीय साहित्य जसले भारतीय साहित्यको प्रतिनिधित्व गर्दछ । दोस्रो रेलवे साहित्य जो स्तरीय हुँदाहुँदा पनि बाजारीकृत गरी यात्राका लागि यात्रुलाई रोमाञ्चित हुने गरी लेखिएको हुन्छ । त्यसमा हलुका यौनको मसलाको प्रयोग गरिएको हुन्छ । अनि हुन्छ तेस्रो थर्ड क्लास वर्गको साहित्य जसले सोह्रदेखि पच्चीस वर्षका युवायुवतीलाई लक्षित गरी साहित्य लेखिएको हुन्छ र जसमा पूरै भल्ग्यारिटी समेटिएको हुन्छ । समाजको चित्रण गर्ने क्रममा त्यो साहित्यले आफैँ समाजमा धमिरा लगाएको हुन्छ । तर त्यसको बजार त्यहाँ खपिनसक्नुको हुन्छ ।
नेपालमा अहिले साठीको दसकमा बजारमा विभिन्न साजसज्जामा आएका उपन्यास बहुल पुस्तकको हविगत देख्दा भारतीय थर्ड क्लास स्तरको साहित्यभन्दा पनि गए गुज्रेको रहेको छ । यो परिस्थिति हुन त धेरै वर्ष रहँदैन । आफैँ धमिलो पानी सङ्लिएझैँ हुन्छ तर अलिक वर्ष यहाँका नेपाली लेखकले पाठकहरूलाई पोर्नो साहित्य पढाउने भए ।
नयाँनयाँ विषयमा अनुसन्धान गरेर रोचक नलेख्ने र साहित्यिक लेखनमा जोखिम नमोल्ने हो भने अबका पाठकहरूले कुनै पनि लेखक र उसको सिर्जनालाई २ कौडीको पनि ठान्दैनन् । मै हूँ भन्ने लेखकहरूको कृति एकहप्ता पनि नटिकी बजारबाट हराएको मैले पाएको छु । हुन त यो माहौल बजारवादले सिर्जना गरेको हो । विज्ञापन गर्ने प्रवृत्तिमा आएको बढोत्तरी र समूह निर्माण गरी हल्ला गर्ने अनि तेरोमेरो शैलीमा प्रायोजित लेखनको संस्कार नेपाली साहित्यमा विगत् केही समयदेखि हावी हुँदै गएको छ । यो उज्ज्वल भविष्यको द्योतक पक्कै होइन ।
गएको साउन र भदौमा मैले पढेका र मेरो दिमाग रन्थनिने गरी स्थान जमाएका पुस्तकहरूमा प्रयोगशाला, मेरो समय, खुुसी, तुइन, संसारलाई साढे पाँच फन्को, साया, ह्वाइट केन, मोदी, रुक्माङ्गद् कटुवाल, नेपोलियन र सुकुमार सपना, शनैः शनैः रेगिस्तानहरू, भाँचिएको लौरो, सफलताको कडी, सपना देख्नेहरूका लागि र केही ओसो रजनीशका पुस्तकहरू रहेका छन् । पढेर दिमागमा केके भरिएजस्तो लाग्ने अनि लेख्न थालेपछि क्रमशः घट्दै गएर रित्तोजस्तो लाग्ने संसारका सबैजसो लेखकहरूलाई हुनेगर्छ क्यार ! मलाई पनि त्यसै भयो । पहिले भरिएजस्तो अहिले रित्तिएजस्तो ।
म पनि दिनहूँ केही लेखिरहनका लागि केही न केही पढिरहनु पर्ने मानिस भैसकेको रहेछु । म काम गर्ने विद्यालयले हामी शिक्षकहरूको आग्रहलाई मध्य नजर गर्दै केही रूचिका साथ विद्यालयमा ‘पठन संस्कृति’ को बढावा दिनका लागि सयौंथरी पुस्तक किनेर पढ्ने व्यवस्था गरेकाले अब फेरि नयाँनयाँ र शीघ्रपढ्ने बानी ममा अलिअलि गरी पन्पिन थालेकोछ । यसले मेरो करिब ३० वर्ष अगाडिको आईए गर्दा र विराटनगरमा पढ्न बस्दाको बानीलाई पुनः दोहो¥याई दिएको छ । त्यसैले एकातिर खुसी लागेको छ तर समय व्यवस्थापनमा भने समस्या निम्तिएको छ ।
२०७१ भदौको २१ गते पनि ठ्याक्कै शनिबार परेको थियो । ‘छन्द र गजल लेखन कार्यशाला’ नामक १ दिने तालिमका लागि नेपाली छन्द कवितामा गतिलागतिला कविता लेखिरहेका समकालीन चर्चित युवाकवि देवी नेपाललाई राजधानीबाट मन्थलीमा प्रशिक्षकमा रूपमा बोलाइएको रहेछ । उनले त्यहाँ विभिन्न तहमा अध्ययनरत करिब ६० जना विद्यार्थी र छन्द तथा गजलका जिज्ञासु नवोदित कविहरूलाई एकदिने तालिम दिएका थिए । सो कार्यक्रमको आयोजना रामेछापस्थित जन साहित्यिक मञ्चले गरेको थियो । थोरै मानिसको जमघट भए पनि कार्यक्रम राम्रैसँग जमेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका रामेछापका प्रमुख जिल्ला अधिकारीलाई रामेछापका ५५ वटै गाविसका विशेषता भएका ५५ श्लोक र जिल्लाको १ श्लोक गरी ५६ श्लोकको छन्दोबद्ध कविता कवि देवी नेपालद्वारा लेखिएको र जन साहित्यिक मञ्चले बनाएको करिब ६ फिट लम्बाई र अढाई फिट चौडाईको फ्लेक्स प्रिन्टमा छापिएको जिल्ला र गाविसका परिचय एवम् विशेषता छन्दोबद्ध कविताका रूपमा रामेछाप जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक प्रदर्शन गरेर राखिएको छ । हेर्दैमा आकर्षक लाग्ने सो प्रिन्ट कविताले रामेछापमा पहिलोपटक घुम्न आउने आन्तरिक र वाह्य पर्यटकलाई एकपल्ट आकर्षित नगरी छाड्दैन ।
आजको यो विचारको शीर्षक सापटीचाहिँ छन्दकवि देवी नेपालबाट पाएको हूँ । मेरो गोरुको बाह्रै टक्का भन्ने सोच भएका र उल्टा बु्िद्धले राजनीति गर्दै आएका, संसद र संविधान सभाका सदस्यका रूपमा रहेका विभिन्न पार्टीका नेताहरू जो प्रायः आफ्नो लिँडेढिपी र भुत्तेतर्क छोडेर सहमति नमान्ने विशेषताले सुशोभित छन् तिनीहरूका बीचमा आठौं आश्चर्य भएर यदि कुनै सहमति भैदियो भने हाम्रो देश आगत माघ ८ गतेपछि अन्त्यहीन रूपमा सलाद बनाइँदै छ । अब चित्रबहादुर र कमल थापाहरूले टाउकै फोरी कसैगरी रोकेर पनि देशलाई संघीयतामा जानबाट रोक्न सक्दैनन् भन्ने आसयको छन्दोबद्ध कवितासङ्ग्रह उनले गत भदौ २८ गते शनिबार टुँडिखेलमा विमोचन गरेका छन् । मैले सो कार्यक्रमको अग्रिम निम्ता पाए पनि म उनको विमोचन समारोहमा उपस्थित हुन सकिनँ । त्यसमा आफैँलाई थक्थकी लागेको छ ।
आज यो विचार लेखेर सोही समारोहमा उपस्थित हुन नपाएको र आफ्ना मनमा लागेका केही सामयिक भावनाहरूको प्रस्तुत गर्दैछु ।
उनले सो कवितासंग्रहको अन्तर्यमा रहेका केही गाँठी कुरा हामीलाई २० गते राति नै सुनाएका थिए । सुन्नेमा हामी २ जना साहित्यिक प्राणी एक म र अर्को आख्यानकार माधव सयपत्री थियौं भने अर्का आयोजक मध्येका जसामञ्च रामेछापका अध्यक्ष होमराज श्रेष्ठ पनि थिए । रात्रीआराम गर्ने शिलशिलामा मन्थलीस्थित एस्एस् होटलमा उनी भन्दै थिए –जसरी तातोपानीमा कफी हाल्दा कफी आफैँमा बिलाएर गए पनि त्यो पानीलाई सुवासमय बनाएर कफीको स्वाद् अमर बन्दछ । त्यसरी नै मिलाउने भन्दैमा सधैँ सबैथोकको स्वाद् अमर हुँदैन । जस्तो मिलाउने भन्दैमा ग्रेभी सलाद बनाइदा त्यहाँ हालिने दही, चिनी, मरमसला र फलफूलका टुक्राहरूलाई जति नै मात्रामा पारखसाथ मिसाएर घोले पनि आफ्नो परिचय गुमाएर मौलिक स्वाद् दिँदैनन् । सलादमा कुनै पनि एक चिजको स्वाद् पनि अहम् रहँदैन÷हुँदैन । देश पनि संघीयतामा गएपछि सलादजस्तै हुन्छ । छन्दमा सो कविता सुनाउँदा अनिँदा हामीहरू श्रवणीय मधुरताले त्यसैत्यसै मख्ख प¥यौं ।
वस्तुगत व्याख्या कफी र सलादको भए पनि सन्दर्भगत विश्लेषण भने नेपालको आगामी लोकतान्त्रिक शासन व्यवस्थाअन्तर्गत संघीयताको अझ त्यसमा पनि जातीय पहिचान सहितको संघीयताको नै रहेको छ । यति सानो र सुन्दर अनि प्राकृतिक सम्पदामा धनी रहेको देशलाई सलाद बनाएर हामी कतै गल्ती त गर्दैछैनौं ।
नेपालका एकथरी नेताहरू संघीयता नभएको संविधानको कामै छैन भन्दैछन् । जसरी पनि देश प्रादेशिक शासनमा जानै पर्छ भन्दैछन् । अर्कोथरीहरू नेपाललाई पुरानै हिन्दूराज्य र धर्मसापेक्ष मुलुक बनाउनुपर्छ भनेर न्वारानदेखिको बल झिकी आन्दोलनमा समेत गएका छन् । रोचक कुरा त के छ भने संविधान सभाको चुनावलाई वहिष्कार गरेको अनि गोलमेच सम्मेलनबाट अनायासै बाहिरिएको ड्यास माओवादीले जसरी होस् संघीयतामा १४ वटा प्रदेश हुनैपर्ने सो पार्टीका अध्यक्ष मोहन वैद्यले रडाको झिकेका छन् । अर्कोतिर काँग्रेस र एमालेहरू ६ देखि बढीमा ७ प्रदेशहरू भए पुग्ने भनेर भन्दैछन् । कसैकसैले त अहिलेका विकास क्षेत्रलाई नै ५ प्रदेशहरूको खाकामा लैजानु पर्ने बताएका छन् । केपी ओलीले एकपटक त नेपाललाई ३ प्रदेश नै उपयुक्त हुन्छ भने । त्यो भनाइ पनि व्यवहारिक रूपमा मनासिव हो ।
सबै आफ्ना डम्फू बजाइरहेका छन् । अब हेर्नु छ कसको चाहिँ डम्फू बज्ने हो ? संविधान कुनै पनि मुलुकका लागि अजर र अमर दस्तावेज हुँदै होइन । यो समय र जन चाहनाअनुसार बदलिइरहन्छ । यसमा सामयिक संशोधन पनि हुन्छ । अनि फेरि एकलजातीय पहिचानका आधारमा संविधान बनाइँदा र प्रदेशको नामकरण गर्दा एक वा दुई जातिलाई नामकरणमा न्याय भएजस्तो भएपनि बाँकीलाई तिरष्कार गरेको भान प¥यो भने त्यसबाट हुने विद्रोहको परिणामको जिम्मा कसले लिने ? यो प्रश्नको उत्तर अहिले संविधान बनाउन लागेका सबै पार्टीका नेताहरूले सोचेका छन् ? प्रश्न यहाँनेर पनि छ ।
हुन त विकासका लागि संघीयता नै पउल साध्य होइन । चीनमा कम्युनिज्म छ अनि त्यहाँ कस्तो विकास छ ? तर त्यहाँ संघीयता छैन । भारतमा संघीयता छ तर चीनभन्दा औशतमा कम विकास छ तर ऊ पनि चीनसँग विकासे प्रतिस्पर्धा गर्दैछ । यति हुँदाहुँदै अहिले मंगलयानका साथ ऊ मंगलग्रहमा पुगिसकेको छ । कतारमा कट्टर राजतन्त्र छ तर त्यहाँ हेर्नुस् त कस्तो विकास छ । बेलायतमा शिष्ट प्रजातन्त्र र संवैधानिक राजतन्त्र छ तर हेर्नुस् त कस्तो विकास छ । त्यसैगरी जापानको पनि स्थिति हेर्नुस् । एसियाको विकासे मंजिल हेर्न जापान गए हुन्छ । ए बाबा हो, शासन व्यवस्थाले देशको विकास हुने हो कि नेतृत्वको प्रतिबद्धताले हुने हो ? यस्तो सजिलो कुरा पनि हाम्रा नेता भनाउँदाहरूले नबुझेको या बुझेर पनि बुझ पचाएको देख्दा हामीलाई अचम्मै लाग्छ बा । हाम्रा शासकहरू पिसाब फेर्दा त विदेशीको आदेश पर्खने रैछन् जुन कुराको भेद प्रयोगशाला पुस्तकले खोलिसकेको छ । अनि अब यहाँ कसैको विश्वास पनि गर्न सकिने स्थिति रहेन ।
यसो किन भएको हो भने हामीकहाँ बूढाले राजनीति गरेर युवाहरू बेरोजगार भएको अवस्थाले यस्तो भएको हो । विदेशमा चाहिँ युवाहरू राजनीति गर्छन् अनि बूढाहरू आराम गर्छन् । जो नयाँनयाँ सोच गर्नसक्छ । जसमा असिम सपनाहरू पूरागर्ने जोशजाँगर छ ऊचाहिँ अल्लारे बनेर हल्लिएर हिँडछ । जो बूढो छ केही नयाँ सोच्नै सक्दैन । रोगी छ । पिलन्धरे छ । केही नयाँ काम गर्नै सक्दैन ऊ चाहिँ देशको सत्तामा विराजमान छ अनि कहीँ हुन्छ विकास ? प्रगति । उन्नति । संवृद्धि । भो मरिगए हुँदैन । हुँदैहुँदैन ।
साठी वर्ष पुगेपछि सबै पेसा या रोजगारीबाट रिटायर्ड हुने सिष्टमजस्तै राजनीतिबाट पनि अनिवार्य अवकास वा सन्न्यास लिने परम्पराको विकास अब हुनै पर्छ । कृपया यसलाई अनादर गरेको नठानियोस् अहिलेका प्रधानमन्त्रीजस्ता रोगी व्यक्तित्वले जस्तोसुकै अल्लाउद्दिनको छँडी प्राप्त गरे पनि देश विकासका नाममा पटक्कै अगाडि जान सक्दैनन् । केही दिन अगाडि फेसबुकमा प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदा सार्वजनिक भएका फोटाहरू जसले जसरी खिचेर अपलोड भएथे त्यसलाई हेर्दा पनि हामी नेपालीले आफ्नो नुर गिरेको अनुभव गरेका छौं । जसकसैले जेसुकै मक्सदले फोटो खिचेर अपलोड गरेको भए पनि प्लिज हाम्रा सरकार प्रमुखलाई अब आइन्दा विदूषक नबनाइयोस् । उनको कार्यकाल बरू सुस्त भए पनि बितोस् । हामीलाई लिनुदिनु केही छैन । देशको बेइज्जत हुने राँङरंगेलीका फेहरिस्तहरू भविष्यमा सार्वजनिक संजाल माध्यममा नआऊन । कुनै व्यक्तित्वको माध्यमबाट देशको बेइज्जत हुने काम नहोस् । देशको आदर त सबैले समान रूपले गर्नुपर्छ ।
शासक भनेका त व्यावहारिक रूपमा पनि नरेन्द्र मोदीजस्ता हुनुपर्छ राजनीतिक र विकासका तरङ्ग ल्याउन सक्ने खुबीका । उनी भारतमा प्रम भएपछि हेर्नुस् त कस्तो जोशजाँगरले अघि बढेका छन् । कस्ताकस्ता तरक्कीका काम भएका छन् । ग्रामीण जनतालाई बैँकिङ सेवाको पहूँचमा ल्याउनका लागि अभियानै संचालन गरेका छन् । पचास करोड मानिसलाई बैँङ्कको कारोबारमा ल्याउन उनी अभियानै सञ्चालन गरेर हिँडेका छन् । भारतलाई सफाइ गर्ने र आउँदो गान्धी जयन्तीको २ सय वर्षगाँठ मनाउँदा सम्पूर्ण भारतलाई सिनित्त सफागर्ने उनको अभियानमा अहिले नामुदभन्दा नामुद सेलिब्रेटीहरू पनि साथ दिइरहेका छन् ।
हामी अहिले करिबकरिब ‘फेल्ड’ हुनै लागेको राष्ट्रमा अन्योल र अस्थिरताबीच तीन पुस्तासम्म पनि संविधानसंविधान भनेर राजनीतिक आन्दोलन गरिरहेका देशका नागरिक हौं । केही समय अघिसम्म यो देशलाई कृषिप्रधान मुलुक भनिन्थ्यो तर २०४६ भन्दा पछिको समयमा देश नेताप्रधान र सहिद उत्पादन गर्ने मूर्दाशान्ति भएको मुलुक जो भएको छ ।
दन्त्यकथाको एकादेशको कथाजस्तो भएको छ –मेरो मुलुक । अहिले यहाँ ‘छ’ भन्ने कुराभन्दा पनि ‘छैन’ भन्ने कुराहरूको नै लामो ताँती लाग्नसक्छ । अहिले देशमा जताततै बिग्रेभत्केका क्षेत्र र खण्डहर कार्यस्थलहरू मात्रै रहेकाछन् । माओवादीको १० वर्षे विद्रोहले देशलाई अझै ५० वर्ष पछाडि धकेलेको महसुस गर्नेहरू पनि छन् । माओवादीहरू सेबोटेज र फ्युजन भन्थे तर सेबोटेज चाहिँ गरेछन् अन्त्यमा आफैँ कन्फ्युजनमा परेछन् भन्नेहरू पनि छन् । अनि कोहीकोही त माओवादी आन्दोलनले यस्तो चेतनाको विकास र विस्तार ग¥यो कि जुन विकास र विस्तार २० वटा विश्वविद्यालयहरू खोलेर खरबौंखरब खर्च गर्दा पनि नहुने चेतनाको विकास भयो भन्नेहरू पनि छन् । जनता बवुराले कस्को कुरा मान्ने र कस्को कुरा चैँ सुन्ने ? यतिखेर सबैभन्दा बिलखबन्दमा नेपाली जनताहरू नै परेका छन् ।
यो देश प्रकृतिले दिएको तर नेताहरूले बिगारेको देश हो –एकजना लेखकले मार्मिक भएर विदेश पलायन हुनेबेलामा भनेको कुरा हो यो । यसमा कति दम छ । त्यो त म अहिले भन्न सक्दिनँ तर यति मात्र भन्न सक्छु कि अब नेपालमा अहिले राजनीति गरिरहेको पुस्ताले भोलिको नयाँ नेपालको खाका कोर्न सक्दैनँ । किमार्थ सक्दैन । न भिजन न मिसन । केही नभएपछि भ्याकुममा कुनै देश बनेका उदाहरण संसारमा छैन । सिङ्गापुर कसरी बन्यो ? जापान कसरी सम्पन्न भयो ? दक्षिण कोरियाको समुन्नतिको कारण के हो ? फ्रान्स, जर्मन, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियाहरू कसरी बनेका हुन् ? त्यो यहाँ राजनीति गर्नेहरू सबै महोदयले अझ खासगरी कर्मकाण्डीय रूपले पुरातन शास्त्रको दक्षिणपन्थी राजनीति गर्ने र अर्कोतर्फ माक्र्सवादलाई अचुक तिलश्मी आख्यान बनाए्र उग्रवामपन्थी राजनीतिको फुटपरक जजमान गर्नेहरूले राम्ररी बुझ्नु आवश्यक छ । जसको जीवनमा कहिल्यै परिवर्तनका लालीत्यमय ज्योत्स्नाहरू आएनन् तैपनि म्याथम्याटिक्सको फर्मूला रटेँझैँ अझै सूत्रबन्दीमा क्रान्तिलाई जप गरिरहेका छन् । दाइँ शैलीमा आफू घुम्ने अनि जनतालाई पनि घुम्न बाध्य पार्नेहरूले भारतमा आरम्भमा ७ प्रदेश थियो भन्ने किन नबुझेका होलान् । प्रदेश आवश्यकता हो भने त्यो समाधान पनि हो । देशले जति सक्छ थेग्न उति नै राख्न पाउनु पर्छ । नत्र प्रदेशकै व्यवस्थापनका लागि देश फेरि कंगाल नबनोस् ।
नेपालका नेताहरू राजनीतिक क्रान्तिलाई सफल बनाउने नेताहरू त हुन् तर व्यवस्थापन गर्न नसक्ने सावित भएका छन् । नत्र किन यत्रो २५ वर्षदेखि प्रजातन्त्रको अभ्यास गरिसक्दा पनि सिद्धान्तको राजनीति गर्ने नेताहरूमा सद्बुद्धि नपलाएको ? केले उनीहरूलाई जनताका पक्षमा भटाभट काम गर्न रोकेको हो ? स्वास्थ्य, शिक्षा र संचारमा संसारले मारेको फड्को हामीले मार्न किन नसकेको हो ? जलविद्युत्का क्षेत्रमा किन हामी पछि परेका हौं ?प्रश्नहरू छिचिमिराझैँ भररररर उत्पन्न हुन सक्छन् ।
के देश सलाद जस्तै हुन्छ त । यदि त्यस्तो हुन्छ भने आगामी माघ ८ गते देश टुक्र्याउने संविधान नबनोस् । कम्तिमा संविधान नबनेको अस्थिरता र अन्योलमा हामी समुद्रमा जहाज पल्टिएर पौरिएका वा हेलिएका भए पनि हामी बाँचेका त छौं हाम्रो देश त टुक्रिएको छैन । बरू । संविधान जारी भएको भोलिपल्टदेखि यो देशले फेरि अन्त्यहीन सकस बेहोर्नु प¥यो भने त्यसबेलामा हुने सबै प्रकारका हत्या र हिंसाको जिम्मा कसले लिने ? निनानसेकमा चित्रबहादुर नै ठिक छन् कि जस्तो पनि लाग्दैछ –एक कोणबाट । यहाँ अरू कै लागि संघीयता र जातीय पहिचान भनेका नेताहरूको बास्तविक परिहान चाहिँ के हो ? उत्तरको अपेक्षा छ । अहिलेलाई सबैमा चेतना भया ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु