छोटाका बारेमा बडा कुरा

- राजेन्द्र पहाडी

संसार साच्चिकै विचित्रको छ, यहाँ नाम, काम, चरित्र र स्वभावको सम्बन्धमा तादात्म्यताको कुनै साइनोसम्म नभएका मानिसहरुको संख्या निकै ठूलो छ । कौडी धन–पैसा साथमा नहुनेहरुको नाम धनबहादुर वा धनवीर रहेको देखिन्छ भने मनका कञ्जुसहरुको नाम मनप्रसाद भएको भेटिन्छ । बल नहुनेहरु बलबहादुर छन् भने सधैँ ध्वाँसे अनुहार लिएर हिँड्नेहरु खुशीराम छन् । सुखैसुखको आराम पोखरीमा पौडी खेल्नेहरुको नाम दुखीराम रहनु र आचरण, नैतिकता तथा व्यवहारमा कालो बोकेकाहरुको नाम सुन्दरप्रसाद हुनु पनि विधिकै विडम्बना मान्नुपर्ने स्थिति छ ।

नाम जे जस्तो भएकै भरमा काम, निष्ठा, भावना र कर्म पनि उस्तै हुनुपर्छ भन्ने अपेक्षा पनि कहिले काहीँ नमिल्दो हुन पुग्दो रहेछ । नाम मुताविक कै जीवन हुन्थ्यो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले आर्थिक अभावमा त्यतिका विधि दुःख, कष्ट उठाउनु पर्दैनथ्यो होला । सुनकुमारी नामधारी महिलाका नाक–कान बुच्चै हुनुको पीडा पनि नदेखेको कहाँ हो र ? त्यसो त व्यक्तिको सामान्य चिनारीका लागि राखिएको नाम र उसको कामका बीचमा के कस्तो सम्बन्ध होला ? यो खोज अनुसन्धानकै विषय हुन सक्दछ ।

प्रसङ्ग अग्रगन्य साहित्यसाधक, समाजिक अगुवा, धवलागिरि क्षेत्रका सिर्जन धरोहर तथा अग्रणी सोधकर्ता प्रेम छोटासँग जोडिएको छ ।

धवलागिरि अञ्चलको बागलुङ जिल्ला अन्तरगत बागलुङ बजारमा जन्मे हुर्केर नेपाली बाङ्मय क्षेत्रको श्रीबृद्धिमा अनवरत जुटिरहेका साहित्यसेवी प्रेम छोटाको विषयमा घोत्लिँदा सबैलाई लाग्न सक्छ, यो पात्र पनि नाम र कर्ममा सामिप्यता नभएको मानिस हो । नामले ‘प्रेम छोटा’ तर काम, सिर्जना, लगाव र परिश्रमले ‘प्रेम बडा’ । नेपाली भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति र समग्र नेपाली ग्राम्य पहिचानका प्रतिको गहिरो आकर्षण, निरन्तरको साधना र प्रेमिल सम्बन्धले प्रेम छोटालाई उचा कदको ‘भुइँ मान्छे’ को परिचय दिएको स्थिति देखिन्छ । तृणमूल तहमा रहेर बडेमानका कार्य सम्पादन गर्ने ‘ज्याद्रो मान्छे’ । मोफसलमा बसेर साहित्य कर्मको हुँकार छेड्ने ‘अभियन्ता’ ।

अग्रज पुस्ता प्रतिको अनन्य श्रद्धा, सम्मान, उदात्त भावना र आफू बाँचेको समाजको इतिहास, वर्तमान र भविश्यकाका प्रति यथोचित न्याय हुनुपर्छ भन्ने कामना राख्दै अविछिन्न साहित्यिक तथा सांस्कृतिक खोज अनुसन्धानमा जुट्नु छोटाको ‘मोटो’ पहिचान बनिसकेको अवस्था छ । यिनले अनुजहरुका आवाजलाई समिचीन बाणी दिन र अग्रताको बाटो निर्दिष्ट गर्न कन्जुस्याईँ नगरेकै कारणले यिनी सबैका लागि मायावी लाग्दछन्, प्रेमपूर्ण लाग्दछन् र उत्तिकै हार्दिक पनि । यस अर्थमा प्रेम छोटा साना–ठूला सबैका लागि उत्तिकै बन्दनीय, उदाहरणीय र सम्माननीय भै बाँचिरहेका छन् ।

एउटा पाको पुरानो साहित्य साधकका रुपमा प्रेम छोटाको जीवन सरसर्ती दृष्टिगोचर गर्दा बहुआयामिक प्रवृत्तिको देखिन्छ । यिनका सिर्जना, लेखनविषय, साधना, खोज, अनुसन्धान र अन्वेषणका पाटा पक्षहरु बहुविविधताले युक्त भएको पाइन्छ । मौलिक सिर्जनमा भन्दा तथ्य संकलन, खोज तथा अनुसन्धानमा यिनको रुची रहेको यिनका कामको लेखाजोखाबाट प्रष्टिन्छ । खासगरी धवलागिरि अञ्चललाई आफ्नो साहित्य सेवाको कर्मभूमि बनाएका छोटाले येनकेन प्रकारेण यस क्षेत्रको समग्र साहित्यलाई राष्ट्रिय बाङ्मयको मूल प्रवाहमा प्रवाहीकरण गर्न भरमग्दुर प्रयत्न गरेका छन् । यिनले आफ्नी ममतामयी आमाको स्मरणमा स्थापना गरेको रत्न–श्रेष्ठ पुरस्कार गुठी यस क्षेत्रकै सबैभन्दा पुरानो पुरस्कार संस्थाको रुपमा रहेको छ भने यिनको पहलमा स्थापना भएको पुस्तकालय र दीअ प्रकाशनको आफ्नै मौलिक पहिचान बनाइसकेको देखिन्छ ।

प्रेम छोटाले अञ्चलभित्र र बाहिर आफ्नो जुन परिचय स्थापित गर्न सकेका छन्, त्यसका साथमा उनले यस क्षेत्रलाई नै देशदेशावरमा आलोकित पनि गरिरहेका छन् । उनी साहित्यिक कर्ममा जहाँजहाँ पुग्छन् त्यहाँ त्यहाँ धवलागिरि क्षेत्रको साहित्यिक सुवास बाँढेर फर्किन्छन् । आफ्नो भूमिको महत्तालाई उजागर गर्दा आफ्नो पनि उचाई बढ्दै जान्छ भन्ने तथ्यमा यिनी राम्रैसँग एकाकार भएको देखिन्छ । धवलागिरिको साहित्यिक इतिहासलाई खनी खुन्तरी अन्वेषण गर्ने, दस्तावेजीकरण गर्ने, प्रकाशन गर्ने र यस क्षेत्रका साहित्यिक स्रष्टाहरुलाई दर्बिलो ओत प्रदान गर्ने काममा छोटाको अगुवायी प्रशंसनीय एवम् अनुकरणीय देखिन्छ । यस क्षेत्रका साहित्य स्रष्टा सर्जकका लागि यिनी बलियो मियो हुन् । मोफसलका एक सशक्त गुञ्जन हुन् यिनी ।

छोटाका बारेमा विभिन्न व्यक्ति व्यक्तित्वहरुले विभिन्न नाम, विशेषण र उपमाले सम्बोधन गरेको र उनको साहित्यिक योगदानको प्रसस्ती गाएको देख्न पढ्न पाइन्छ । भर्खरै छोटाकै पुत्ररत्नद्वय प्रेमेन्द्र श्रेष्ठ र युगेन्द्र श्रेष्ठले संयोजनको भूमिका निर्वाह गरी रत्न श्रेष्ठ पुरस्कार गुठीले प्रकाशन गरेको पुस्तक ‘‘हस्तलिखित अभिव्यक्ति अभिलेख सङ्ग्रह’’ (२०७१) मा नेपालका सात सयभन्दा बढी कवि, लेखक तथा साहित्यानुरागीहरुले साहित्यकार प्रेम छोटा र उनको नेपाली बाङ्मय क्षेत्रको क्रियाशीलताको बारेमा आ–आफ्ना अभिव्यक्तिहरु प्रस्तुत गरेका छन् ।

विभिन्न कार्यव्यापारको सन्दर्भमा बागलुङ पुगेको बेला रत्न श्रेष्ठ पुरस्कार गुठी र यस सम्बद्ध पुस्तकालयको भ्रमण गरेका व्यक्तित्वहरुबाट भिजिटर्स रजिस्टरमा लेखिएका अभिव्यक्तिहरुलाई संकलन गरिएको उक्त सङ्ग्रहको पहिलो भावनाको रुपमा नेपालका मुर्धन्य साहित्यिकार बालकृष्ण समलाई स्थान दिइएको छ । विसं. २०३० मा समले प्रेम छोटालाई ‘प्रेम बडा’ (पृष्ठ ४१) को रुपमा प्रशंसित गरेका छन् ।

जम्माजम्मी ४५६ पृष्ठमा फैलिएको उक्त सङ्ग्रहमा देशका थुप्रै विशिष्ठ साहित्यिक स्रष्टाहरु, प्रशासकहरु, अनुसन्धाताहरु, अन्वेषकहरु, राजनैतिक नेताहरु तथा सामाजिक जीवनका भिन्दाभिन्दै क्षेत्र सम्बद्ध व्यक्तिहरुले प्रेम छोटा र उनले नेपाली साहित्याकाशमा पु¥याएको योगदानका बारेमा संक्षिप्तमा चर्चा तथा टिप्पणी गरेका छन् । प्रस्तुत सङ्ग्रहमा कविवर माधवप्रसाद घिमिरे, योगी नरहरिनाथ, अम्बर गुरुङ, डा. तारानाथ शर्मा, स्वामी डा. प्रपन्नाचार्य, मोदनाथ प्रश्रित, लोकेन्द्रबहादुर चन्द, सरुभक्त लगायत अग्रज पुस्ताका थुप्रै व्यक्तित्वदेखि पछिल्लो पुस्ताका कैयन स्रष्टा तथा भावकका विचारोत्तेजक टिप्पणीहरुले प्रेम छोटाको साहित्यिक योगदानलाई यो वा अर्को कोणबाट छिन्द्रान्वेषण गरेको पाउन सकिन्छ ।

धेरै द्रष्टाले प्रेम छोटालाई फराकिलो हृदय, चित्त, धारणा, दृष्टिकोण र सोच भएका साहित्य सेवकका रुपमा चिनाउन चाहेका छन् । छोटाले आजसम्म जे जस्तो कर्म गरेका छन् त्यसले कालान्तरमा नेपाली नागरिकमा कल्याण बर्साउन सक्नेछ भन्ने विश्वास पनि लिएको देखिन्छ कतिपय मनोभावनाहरुमा । लगभग सबैजसो टिप्पणीकारहरुले साहित्यकार प्रेम छोटाको साहित्य साधनालाई मुक्त कण्ठले उजिल्याउन चाहेका छन् । उनीहरु भन्छन्– प्रेम छोटाले बागलुङमा बसेर जे गर्न सकेका छन् र जे गरिरहेका छन् यो नेपाली बाङ्मय माथिको श्रद्धा र ममताको समुल्लेखनीय उदाहरण हो । ‘कर्तव्यमार्गी’, ‘सुयोग्य माताको सुयोग्य पुत्र’, ‘साहित्यिक यज्ञको थालनीकर्ता’, ‘हृदयग्राही र चिरस्मरणीय अभियन्ता’, ‘सिद्धहस्त साहित्यकार’, ‘एक ज्योर्तिमय पुञ्ज’, ‘पवित्र समाजसेवक’, ‘बहुमुखी प्रतिभाका धनी’ आदि जस्ता उपमाहरुले छोटाको साहित्य कर्मलाई उजागर गरेका छन् विभिन्न व्यक्तिहरुले यस संकलन भित्र ।

देखिने गरी कुनै प्रतिफल नपाइने ‘खेती’ भनिने गरिएको साहित्य क्षेत्रमा लागेर प्रेम छोटाले आफ्नो उर्वर उमेर व्यतित गरेको कुरा सत्य हो । साहित्यिक खोज अन्वेषण र सिर्जनामा लाग्दा उनको जीवनका अरु पक्षहरुमा पक्कै पनि असहजताहरु आए होलान् । परिवारका सदस्यहरुको गुनासो सुन्नु प¥यो होला । छरछिमेकमा बेकामी भयो भनेर टिकाटिप्पणी भए होलान् । तर पनि तमाम चुनौतीका बावजुत छोटाले दरो मन गरेर आफूलाई अविश्रान्त साहित्यको सेवामा लगाइरहे । साहित्यमा लीन हुन पाउनु गर्वको विषय हो भन्ने भावाव्यक्ति दिने छोटाले आजको समयसम्म जे जती गरेका छन्, यदि उनले यति नगरिदिएको भए समग्र धवलागिरि र बागलुङ जिल्लाको साहित्यिक माहोल र परिचय आजको अवस्थामा पुगेको हुने थिएन भनी सहजै आँकलन गर्न सकिन्छ ।

मूलतः अनेक थरीका बाधा, अवरोध, असहजता, प्रतिकुलता र अड्चनहरुलाई सहर्ष स्वीकार गर्दै प्रेम छोटाले नेपाली साहित्य फाँटमा जे गरे त्यसैका कारणले आज उनी ‘प्रेम बडा’ का रुपमा परिचित छन् । अञ्चलभित्र सबै साहित्यकारले मान्ने सर्वोच्च स्थान पाउनु, नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद्को जिम्मेवारी सम्पादन गर्नु र भुपालमान सिंह पुरस्कार कोषको अध्यक्ष हुँदा समेत छोटामा अहमभावले स्थान लिएको देखिँदैन । उनी हिजो जस्ता थिए, आज पनि उस्तै सादगी, सहृदयी, सहयोगी, सदाचारी र समन्वयी छन् । भनिन्छ– ‘फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ प्रेम छोटा पनि सामाजिक मर्यादा र पदीय जिम्मेवारीमा जति जति उपरी स्थान प्राप्त गर्दै जान्छन्, त्यति त्यति सहज, सरस, सरल र समभावी लाग्दै जान्छन् । यो उनको चिन्तन पद्दति ‘बडा’ हुनुको मौलिकता हो भन्दा अतिशयोक्ति नहोला ।

अग्रज साहित्यकार प्रेम छोटाको साहित्य प्रतिको अविछिन्न समर्पण वास्तवमै अनुकरणीय र ग्रहणयोग्य छ । जीवनको ७० औं बसन्त पार गर्न लाग्दा समेत उत्तिकै जोशिलो, फुर्तिलो र उत्साहपूर्ण तरिकाले साहित्यका बारेमा चिन्तन मनन गर्ने, बहश चलाउने, साहित्यिक अभियानहरुको दर्बिलो नेतृत्व गर्ने कुरामा उनीमा कुनै कमी महशुस भएको देखिँदैन । देशभित्रका गाउँ, शहर, कुना, कन्दरा मात्र नभै विदेशमा विभिन्न मुलुकहरु समेत पुगेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिका पक्षमा वकालत गर्ने काममा उनमा झनै नयाँ जोश र जाँगर पलाएको प्रतित हुन्छ । साहित्य कर्मलाई धर्म ठानेर हिँडिरहेका प्रेम छोटा साहित्यसम्बद्ध गतिविधि गर्न पाउँदा आफूलाई विशेषखालको ‘जीवनदायिनी टोनीक’ प्राप्त भएको महशुष गर्दछन् ।

अनुजहरुलाई जति माया, प्रेम, स्नेह, संस्कार र छहारी दिन सक्यो त्यति आफूले उनीहरुबाट मान सम्मान प्राप्त गर्न सकिन्छ भन्ने कुरा यिनलाई राम्रैसँग बोध छ । त्यसैले यिनले नयाँ पुस्ताका सर्जकहरुलाई साहित्य क्षेत्रमा दृढ भएर लाग्न उत्साहित गर्दछन् । योग्यलाई पुरस्कृत गर्ने र सिकारुलाई इमान्दारीपूर्वक सिर्जन क्षेत्रमा निर्भिक भएर लाग्न प्रोत्साहित गर्ने यिनको बानी नै परेको छ । आफू आबद्ध संस्थामार्फत यिनले धवलागिरि एवम् मुलुकभित्रका थुप्रै स्रष्टा सर्जकहरुलाई सम्मानित र पुरस्कृत गरिसकेका छन् भने यो क्रमले निरन्तरता पाइरहेको छ । साहित्य र यससँग जोडिएका पुरस्कार तथा सम्मानलाई सुक्रि बिक्री र आदान–प्रदानको विषय बनाइनु हुँदैन भन्ने यिनको मत रहेको देखिन्छ । अञ्चलमा नै पहिलोपटक साहित्यिक पुरस्कार स्थापना गर्ने कामको श्रेय पाएका छोटा सुपात्रमा पुरस्कार पर्दामात्र पुरस्कारको गरिमा बढ्छ भन्ने दृष्टिकोण राख्दछन् ।

वास्तवमा, साहित्यको महासागरमा एक जनाको प्रयास, लगन र मेहेनतमात्र काफी हुँदैन । प्रेम छोटाले आजसम्म जुन भगिरथ प्रयत्न गरेर अञ्चलको साहित्यिक पहिचान स्थापित गरे, त्यसलाई अझै फैलाउन र विस्तारित गर्न अरुहरुसँगको सहकार्य, सु–सम्बन्ध र सहभागिता पनि त्यत्तिकै जरुरी छ । साहित्य क्षेत्रमा क्रियाशील संघसंस्थाहरु तथा नयाँ–पुराना पुस्ताका लेखक स्रष्टाहरुका बीचको सुमधुर समन्वय र सहकार्यबाट मात्र यस्तो अपेक्षा सम्भव हुन सक्दछ । तसर्थ अग्रगन्य साहित्यकार छोटाले खनेको साहित्यिक गोरेटोमा सबैलाई हिँडाउनका लागि उनी स्वयंका तर्फबाट र अन्यान्य साहित्यसेवीहरुका तर्फबाट आवश्यक भूमिका निर्वाह हुन जरुरी छ भन्ने कुरालाई बिर्सन सकिँदैन । यसो हुन सक्यो भने बागलुङ र धवलागिरि क्षेत्रको मात्र नभई सम्पूर्ण नेपाल राष्ट्रकै साहित्य क्षेत्रले दर्बिलो फड्को मार्न सक्ने कुरामा कसैको फरक मत रहँदैन ।

अन्त्यमा, आदरणीय बरिष्ठ साहित्यकार प्रेम छोटाज्यूको साहित्यिक योगदानको उच्च मूल्याङ्कन गर्दै उनको अनवरत साहित्यिक यात्रा थप उचाईमा पुग्न सकोस् हार्दिक सुभेच्छा प्रकट गर्दछु । उनका नयाँ–नयाँ कृतिहरु प्रकाशित हुँदै जाउन्, साहित्यिक तथा साँस्कृतिक सोध अनुसन्धानको क्षेत्रमा उनको क्रियाशीलता झन्झन् शिखरित हुन सकोस् सतत् शुभकामना ।

शिवालय बहुमुखी क्याम्पस, कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु