वरिष्ठ समालोचक डा. बासुदेब त्रिपाठीको एक संक्षिप्त परिचय

- बसन्त श्रेष्ठ

साहित्य र साहित्यकार / साहित्यकार र साहित्य
यिनै हुन् भाषा साहित्यका उज्ज्वल नक्षत्रका रबि
संधै भरि जीबन भरि यीनले छर्नेछन् जताततै
सुन्दर देशको / सुन्दर छबी ! !


"लेखनाथ पौड्यालको व्यक्तित्वको विश्लेषण तथा मुल्यांकन" बिषयको शोध ग्रन्थमा त्रिभुबन बिश्व बिद्यालय बाट नेपाली बिषयमा बिध्याबारिधिको उपाधि प्राप्त गर्ने पहिलो ब्यक्ति भै यसै ग्रन्थमा बि.स. २०३४ सालको मदन पुरस्कार जित्ने साहित्य साधक विदुषीको नाम हो डा. बासुदेब त्रिपाठी !
नेपाली भाषा साहित्यमा अनवरत सेवा गर्नु भै बि.स. २०६१-२०६३ साल सम्मको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको उप कुलपति बन्न सफल हुनु हुने बरिष्ठ समालोचक तथा काब्य पुरुषको नाम हो डा. बासुदेब त्रिपाठी !
नेपाली भाषा र साहित्य लाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागि बि.स. २०४४ सालमा संयुक्त राष्ट्र संघको बार्षिक साधारण सभालाई नेपाली भाषामै सम्बोधन गर्ने व्यक्तिको नाम हो डा. बासुदेब त्रिपाठी !

छातीमा तनहुँ छ बाल्य बयको त्यो सम्झनाको धन
प्यारो जन्मथलो जहाँ शुरु भयो यो जिन्दगी गुन्जिन !
पुस्तौंका श्रमसीपका स्मृति कथा छन् खेतबारीहरु
छन् बान्ना पर्खाल लिस्नु छपनी डिही तगारीहरु
बस्तीका घरबाट गोठ सबमा छन् शिल्पका सम्झना
जाँतो पिध्नु र कुट्नु ओखल ढिकी ग्राहस्थ्यका सिर्जना !!



आफ्नो जन्म स्थानको बारेमा बडो मार्मिक सम्झना प्रस्तुत गर्नु हुने डा. बासुदेब त्रिपाठीको जन्म
बि.स. १९९९ साल चैत्र १३ गते गण्डकी अंचलको तनहुँ जिल्लाको भानु नगर भन्सार भन्ने ठाउँमा पिता प्रेम दत्त र माता गोमा कुमारी त्रिपाठीका ज्येष्ठ पुत्रको रुपमा भएको हो | वहांको प्रारम्भिक शिक्षा दिक्षा तनहु मै भए पनि बि. स. २०१३ सालमा काठमाण्डौ आए पछी सम्पूर्ण बाँकी शिक्षा काठमाण्डौ मै सम्पन्न भएको हो | पढ्नमा तेज र जेहेन्दार बिद्यार्थीको रुपमा कहलिनु भएको डा. त्रिपाठी ले नेपाली, अंग्रेजी र संस्कृत बिषयमा प्रथम श्रेणीमा प्रथम भै २०२२/२०२४ र २०३४ सालमा महेन्द्र बिद्या भुषण र २०२४ सालमा लारी स्वर्ण पदक समेत जित्नु भएको थियो |
बि.स. २०१७ सालमा हिमाल इंग्लिस मिडिल स्कुलको प्राचार्य बनेर शिक्षण पेशामा संलग्न हुनु भएका डा. त्रिपाठीले निरन्तर रुपमा करिब ४५ बर्ष सम्म शिक्षण पेशा अपनाउनु भएको थियो | यसै क्रममा वहाँले काठमान्डौ स्थित त्रिचन्द्र कलेज, पद्मकन्या कलेज, बानेश्वर क्याम्पस, रत्न राज्य लक्ष्मी कलेज, काठमाण्डौ भ्याली र त्रिभुबन बिश्व बिध्यालयमा समेतमा अध्यापन गर्नु भएका वहाँ त्रिभुबन बिश्व विद्यालयको नेपाली बिभाग प्रमुख र त्रिभुबन बिश्वबिद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीन समेत बन्न सफल हुनु भएको थियो |
एकै क्षेत्र तथा अझ भनौ एकै पेशामा एउटा जीबनमा ४५ बर्ष सम्म निरन्तर अध्यापन गरि नेपाली भाषा तथा साहित्यको लागि अनगिन्ति सम्भाबनाहरुको उत्तराधिकारी उत्पादन गर्न सक्नु वहांको विशिष्ट प्रतिभा, लगनशीलता र प्रतिबद्दता हो भन्ने कुरामा कुनै बिबाद छैन |
बि.स. २०२० सालमा "हिमाली साहित्य" प्रतिनिधि संकलनको सह सम्पादन बाट साहित्यिक क्षेत्रमा प्रवेश शुरु गर्नु हुने सरल, शान्त र मिजासिलो ब्यबहारका धनी डा. त्रिपाठीले थुप्रै कविता संग्रह, समालोचना संग्रहको प्रकाशन र थुप्रै साहित्यिक कृतिका सम्पादन समेत गर्नु भएको छ | छन्दमा कविता लेख्नु हुने डा. त्रिपाठी आफ्ना छन्द कविता लाई परिष्कारका जलपले खुबै सिंगारेर सुन्दर बनाउन अति सिपालु मानिनुहुन्छ | वहाँका सात भागमा विभाजित लामो कविता "राजकुमारी बासबदत्ता" प्रज्ञा प्रतिष्ठान बाट प्रकाशन हुने "कविता" पत्रिकामा बि. स. २०२४ सालको बर्ष ३ अंक ३ मा प्रकाशित भएको थियो | प्रज्ञा प्रतिष्ठान बाटै वहाँका खण्ड काब्य "अर्द्ध नारिश्वर" २०३९ सालमा प्रकाशित भएको थियो | वहाँका अन्य मुख्य प्रकाशित कृतिहरु हुन् - तिन थुंगा (काब्य संग्रह) २०४५, नव पल्लव (गीत संग्रह) २०४६, देशको महिमा (खण्ड काब्य) २०४५, जीबन रोज्नु होस् (सम्बाद ग्रन्थ) २०५२, सम्झना कुन्ज (कविता, गीत र काव्यको संग्रह) २०६६, जीबन कुन्ज (२०६७), श्रीजन कुन्ज (२०६७), रचना कुन्ज (२०६९) र मधु कुन्ज (२०७०) छन् |
पश्चिमी साहित्यको पनि उत्तिकै अध्ययन र सिर्जना गर्नु हुने वहाँले ज्याक डेरिडा प्रति लेख्नुहुन्छ -
भाषाले सत्य भन्दैन संदिग्ध सब अर्थ छन्
सर्ब वांगमय लीलाको गरि हेर विनिर्मित
क्या विलक्षण मेधाबी गुरु हे ज्याक डेरिडा
खडा पश्चिम साम्राज्य पुर्बे पनि पस्यौ अब !!! ( डेरिडा प्रति)

वहाँका आलोचनात्मक प्रकाशित कृतिहरु हुन् -
नेपाली कविताको सिंहावलोकन (२०२७) / नेपाली गध्य नाटकको समालोचना "विचरण" (२०२८), पाश्चात्य समालोचनाको शैद्धान्तिक परम्परा (२०३०), साहित्यकार पहल मान सिंह स्वाँर को पुनर्मूल्यांकन (२०३३), लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मुल्यांकन (२०३४) र साहित्यकार झपटबहादुर रानाको जीवनीको एक झलक (२०४५) प्रकाशित भएका छन् | त्यस्तै वहाले नेपाली भाषा तथा साहित्यका बिभिन्न पत्र पत्रिका र पुस्तकहरुको पनि सम्पादन तथा सह सम्पादन गर्नु भएको छ | ति हुन् -
हिमाली साहित्य प्रतिनिधि संकलन (२०२०), मनै (देबकोटाको खण्ड काब्य संग्रह) २०३९, नेपाली बृहत शब्दकोष बिशेष सम्पादक (२०४०), लेखनाथको प्रतिनिधि कविता संग्रह (२०४२), तिर्थ मन्जरी (२०५८), छन् |
वहाँले सम्पादन गर्नु भएको बाल काब्यहरु हुन् -
कागजको ढुंगा (२०५८), सन्तको छाता (२०५८), जुन तारा (२०६२), पिजडाको सुगा (२०६५) आदि छन् |
त्यस्तै वहाँले सम्पादन गर्नु भएको नेपालका प्रतिनिधि साहित्यिक पत्रिकाहरु हुन् -
जयतु संस्कृतम, सिंहनाद, रचना, गरिमा र वांगमय आदि छन् |
वहां थुप्रै कृतिहरुका सह लेखक पनि हुनुहुन्छ ति कृति हरु हुन् "निम्न माध्यमिक नेपाली व्याकरण र रचना २०४८ र साहित्यकार प्रा. दैबज्ञ राज न्यौपाने : जीवनी, कृतित्व र अभिनन्दन २०६६ प्रमुख छन् |
प्रष्ट बक्ता, स्पष्ट विचार र तार्किक क्षमताका धनी डा. त्रिपाठी ले बि.स. २०२० सालमा "हिमाली साहित्य"को सह सम्पादन बाट आफ्नो साहित्यिक धरातलमा अवतरण गर्नु भएका वहाँका साहित्य सिर्जना निरन्तर आज पर्यन्त चलिरहेकै छ | हाल वहाँ बृहत नेपाली शब्दकोष र नेपाली साहित्यको इतिहास लेख्न र तयार पार्नमा ब्यस्त हुनहुन्छ | नेपाली भाषा र साहित्यको लागि आज पर्यन्त अविछिन्न रुपमा सेवा गरे बापत वहाँलाई थुप्रै मान, सम्मान, पुरस्कार, र सार्बजनिक अभिनन्दन समेत गरिएको छ | समयको अभाबले गर्दा म ति सम्पूर्ण अभिलेख यहाँ उल्लेख गर्न असमर्थ छु तर पनि केहि मुख्य मुख्य पुरस्कारहरु लाई यहाँ म समेट्ने प्रयास गर्ने नै छु |
बि.स. २०१८ सालमा पश्चिम छात्र गोष्ठीमा कवितामा स्वर्ण पदक प्राप्त गर्नु भएर आफ्नो विजय यात्रा शुरु गर्नु भएका वहाँले बि.स. २०२५ सालमा रत्न श्री पदक, बि.स. २०३२ सालमा गोरखा दक्षिण बाहु चौथा, २०३७ सालमा गोरखा दक्षिण बाहु तेश्रा, मदन पुरस्कार २०३४ सालमा, झपट पुरस्कार २०४५, भारती खरेल पुरस्कार २०५१, छिन्नलता पुरस्कार २०५३, दीप रत्न साहित्य सम्मान २०५४, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार २०५७, रास्ट्र कबि माधब घिमिरे पुरस्कार २०६०, लेखनाथ साहित्य पुरस्कार २०६८, आदीकबी भानुभक्त पुरस्कार २०६९, महाकबी देबकोटा पुरस्कार २०७०, हरिहर शास्त्री सावित्री देबी साहित्य पुरस्कार २०७१ र भानुभक्त पुरस्कार २०७१ केहि उल्लेखनीय पुरस्कार हुन् |
नेपाली भाषा तथा साहित्यमा अनवरत सेवा प्रदान गरे बापत थुप्रै देश तथा बिदेशमा वहाको सार्बजनिक अभिनन्दन समेत भएको छ | ति केहि स्थानको म यहाँ उल्लेख गर्न गैरहेको छु -
खरसांग कलेज दार्जीलिंग मा बि.स. २०४२ साल, देउराली क्लब बानेश्वर काठमाण्डौ २०५२, प्रतिभा समुह २०५४, बुढा निलकन्ठ स्कुल काठमाण्डौ २०५४, पद्म कन्या क्याम्पस २०५६, पस्चिमान्चल वांगमय प्रतिष्ठान २०५८, हरि सांस्कृतिक केन्द्र २०६३, ७१ औं जन्मोत्सबमा प्राज्ञिक अभिनन्दन २०७०, ७२ औं जन्मोत्सबका अबसरमा डा. बासुदेब त्रिपाठीको श्रष्टा एक द्रष्टा अनेक ग्रन्थको लोकार्पण तथा सम्मान प्रदान - सम्माननिय राष्ट्रपति डा. रामबरण यादब ज्यु बाट राष्ट्रपति भवनमा २०७१ सालमा |
अस्तु !

भर्जिनिया, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु