नेपाली लोकसंस्कृति शिखरपुरुष:धर्मराज थापा

- गोपीकृष्ण ढुंगाना

हिउँदे घाम तापेर रत्नपार्कमा बसिरहेका धर्मराज थापाले परशु प्रधानको जिज्ञासामा भनेका थिए, ‘मेरो काल आएजस्तो छ, म बिरामी पनि छु । मर्छु कि क्या हो ।’ त्यतिबेला, जतिबेला रत्नपार्क बनेको थिएन, टुँडिखेल नै थियो । ‘२०५२ सालतिरको मंसिर महिनाजस्तो लाग्छ, म स्वास्थ्यमन्त्रीको पिए थिएँं । फर्कने क्रममा टुँडिखेल (अहिलेको रत्नपार्क) मा पुगें । यसो हेरेको झोक्राइरहेका जनकवि केशरी देखें र सोधेको थिएँ’, वरिष्ठसाहित्यकार प्रधान सम्झन्छन् ।
भन्छन्, ‘उहाँले अचम्म गरी नसोचेको उत्तर दिनु भयो, सोच्न बाध्य भएँ । तर मैले भनें, बिरामी सबै हुन्छन्, बिरामी हुँदैमा काल आइहाल्छ र ? तपाई अझै धेरै बाँच्नु हुन्छ । केही भइहाले पनि तपाई जनमनमा बाँचिरहनु हुनेछ, कहिल्यै मर्नु हुन्न ।’ त्यसपछि थापाले प्रधानलाई ‘तपाईले भनेर कहाँ हुन्छ र ?’ भनेका थिए । प्रधानले भने, ‘कहिलेको बोली... भनेझैं भयो, उहाँलाई अझै धेरै बाँच्नु हुन्छ भनेको थिएँं । नभन्दै झन्डै दुई दसक बढी बाँच्नु भयो, कम से कम उहाँबाट देश र जनताले धेरै पाए ।’
नेपाली लोकसंस्कृति वाङ्मयका शिखरपुरुष
मृत्यु अन्तिम सत्य हो, त्यही सत्यको नजिक पुगे थापा पनि । पोखरा बाटुलेचौरका थापा ९२ वर्षको उमेरमा गत मंगलबार बिहान मृत्युलाई स्वीकार्न बाध्य भए । ‘धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छोडौला’ भन्ने उनले आफन्त र शुभचिन्तक सबैलाई रुवाएर गए । उनको निधनमा राष्ट्रले ‘राष्ट्रिय धरोहर’ लाई गुमाएको छ । जसबाट नेपाल र नेपालीलाई अपुरणीय क्षति भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्तले धर्मराजलाई ‘नेपाली लोकसंस्कृति वाङ्मयका शिखरपुरुष’ को संज्ञा दिँदै उनको निधनबाट अपुरणीय क्षति भएको बताउँछन् । भन्छन्, ‘मुलुकका ७५ वटै जिल्ला भ्रमण गरी लोकसंस्कृतिको अनुसन्धानका साथै जनशब्द र उखान बटुलेर गाउन सिपालु उहाँलाई ‘नेपाली लोकसंस्कृतिको राजदूत’ नै भन्दा पनि फरक पर्दैन ।’ खासगरि गन्धर्व जाति र सारंगीलाई मुलुक र मुलुकबाहिर चिनाउने काम गरेका थापा लोकसंस्कृतिका आधारशिला रहेको उनको भनाइ छ । उनी जनकवि मुलुक र मुलुकबासीकै गौरव र पोखरेलीका लागि झनै गौरव भएको बताउँछन् ।
उनलाई भुवनबहादुर भनेर चिन्नेहरू कमै होलान् । बुबा हर्कबहादुर र आमा मनमायाको कोखबाट १९८१ को साउने संक्रान्तिमा उनी पछि धर्मराजले चिनिएका हुन् । पाँच वर्षमै मातृवियोगको पीडा खेपेका उनी सानैदेखि भजन, कीर्तन, चुड्का र दोहोरीमा रुची राख्ने, सरिक र सक्रिय हुने गरेको पोखराकै धर्मराज बरालले जानकारी दिए। उनलाई त्यही रुचीले जनमानसमा भिजायो । बाटुलेचौरमै बरालिइरहेका भए सायद उनले आफूलाई सीमित राख्थे तर सतबिज छर्न काठमाडौं जानेहरू उनका लागि ‘टर्निङ प्वाइन्ट’ बने । धर्मराजले १९९६ सालमा सावित्रीसँग विवाह गरेकै वर्ष सतबिज छर्न आउनेहरूसँग काठमाडौं आए ।
गाइनेबाट गन्धर्व
काठमाडौं आएका धेरै आफैंमा हराएका छन् । तर धर्मराजले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सहसदस्य भएर लोकगीत संकलनको काम गरे । राष्ट्रकवि माधव घिमिरे भन्छन्, ‘लोकगीत संकलनसँगै लोकगायकहरूको परिचय राख्ने योजना बनाएर काम थालेका धर्मराजले गाइने जातिलाई गन्धर्वमा परिणत गरेर राम्रो काम गर्नु भयो । त्यसमा पनि परिचय कोषमा एकजनाको नाममा गन्धर्व बनाइदिएर गज्जव गर्नु भयो, नाम त भन्दिनँ उनको नाम खूब चल्यो ।’
राष्ट्रकवि घिमिरे विद्यार्थी जीवनमा ठमेलमा बस्थे । उनले जुन घर छोडेर डेरा सरे, लगत्तै धर्मराज थापा त्यही घरमा पुगे । घिमिरे सम्झन्छन्, ‘त्यहाँ पुगेर उनले डाँफें चरी पत्रिका निकाल्नु भयो । जसमार्फत् लोक गीत, भाका र साहित्यलाई उभो लगाउनु भयो ।’ गोरखापत्रमा काम गरिरहेका धर्मराजलाई एक दिन केदारमान व्यथितले भनेछन्, ‘कवि भएर पनि के कारिन्दा भएर बस्नु परेको ?’ सन्दर्भ पनि त्यस्तै भयो, उनले गोरखापत्रमा मुखिया पदमा जागीर खाँदा न्यूनवेतनको मुद्दा उठाएर कर्मचारीहरूसहित हडताल गरेको भन्दै जागीरबाट हटाइएको थियो । घिमिरे सन्दर्भ सुनाउँछन्, ‘व्यथितले स्वतन्त्र भएर लेख्नोस्, गीत गाएर हिँड्नोस् भनेपछि उहाँले दिनमा एउटा गीत लेख्ने र रानीपोखरीको छेउमा बसेर कविता लेख्दै साँझपख ओहोर दोहोर गर्नेहरूलाई पम्प्लेट बाँड्थे ।’
नेपालबाहिर लोकभाका
राजधानी छिरेपछि सुरुमा थापाले डिल्लीबजारमा अदालती फैसलाका नक्कल सार्ने काम थाले । पोखराकै धर्मराज बरालका अनुसार, २००१ सालमा थापाले गुठी बन्दोबस्त अड्डामा रहँदा पहिलोपटक ‘उद्योग’ पत्रिकामा ‘कुवा’ शीर्षकको कविता प्रकाशित गरेका थिए । थापाले २००५ सालमा बिजुलीअड्डामा खोलिएको नेपाल रेडियो (रेडियो नेपाल) मा गीत गाउने र कविता सुनाउँथे । त्यसपछि केआई सिंहको समर्थनमा ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ बोलको गीत गाउँदा उनलाई एक महिना जेल हालिएको थियो ।
जेलबाट निस्किएपछि उनी भारतको आसाम, देहरादून, दार्जिलिङ, सिक्किम, गुहावटी, भाक्सीजस्ता स्थानमा पुगी लोकगीत गाएका थिए । बरालले भने, ‘भारतीय नेपालीले नेपालको माटोको माया लिएर आउनु भयो भन्दै खुसीका आँसुसँगै स्वागत गर्थे रे ।’ तत्कालीन राजा महेन्द्रले थापालाई २०१३ सालमा ‘जनकवि केशरी’ को उपाधि दिएका थिए ।
जनकविको बिँडो थाम्दै तुलसी
गीत गाउने क्रममा २०११ सालतिर थापा धनकुटा पुगेका थिए । त्यतिबेला तुलसी दिवस कक्षा १० मा पढ्थे । उनी पढ्ने विद्यालयको ग्राउन्डमा भएको कार्यक्रममा थापाले विभिन्न जातजातिका लोकझ्याउरे गीतहरू गाएका थिए । ‘त्यही गायनबाट प्रभावित भएर मलाई आजसम्म लोक संस्कृति, गीत, भाका र साहित्यको प्रचार प्रसारका लागि शक्ति र सामाथ्र्य प्राप्त भएको छ’, दिवस भन्छन्, ‘उहाँबाट प्रेरित भएर पछि मैले क्रमशः लोकसाहित्यको सैद्धान्तिक अध्ययन र व्यावहारिक रूपमै अनुसन्धानसमेत गर्न थालें । र अहिलेसम्म लागिरहेछु ।’
दिवस २०२२ सालमा पद्मकन्या क्याम्पसमा पढाउन काठमाडौं आए । ‘लोकगीतलाई नृत्य र संगीत अध्ययनको अभिन्न अंग बनाउने क्रममा यसको पाठ्यक्रम बनाउने काम भयो’, आई ए र बिएका लागि लोकसाहित्यको पाठ्यक्रम बनाएको स्मरण गर्दै दिवस भन्छन्, ‘मैले जनकविकेशरीलाई स्रोतव्यक्तिका रूपमा बोलाउँथें ।’ लोक संस्कृतिका धनी थापाले हरियो डाँडामाथि हलो जोत्ने साथी, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउनजस्ता दर्जनौं लोकप्रियसहित सयभन्दा बढी गीत गाएका छन् । धर्मराजका लोकसंस्कृति, साहित्य, यात्रासंस्मरण आदि गरी २९ कृति छन् । उनले ‘मंगली कुसुम’ कृतिका लागि २०२५ सालमा मदन पुरस्कार र २०५७ सालमा जगदम्बा पुरस्कार पाएका थिए ।
धर्मराजको फूर्ति
वरिष्ठसंस्कृतिविद् सत्यमोहन जोशी र जनकविकेशरी धर्मराज थापा २०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा पाँच वर्षका लागि सहसदस्य भए । सहसदस्य प्राज्ञभन्दा एक तह मुनिको पद थियो । जोशीका अनुसार, उनीहरूसँगै विजय मल्ल, श्यामदास वैष्णव, रत्नध्वज जोशी, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराई र पोषण पाण्डेलाई चयन गरियो । तीमध्ये थापा र जोशीलाई लोकसंस्कृतिको काम जिम्मा दिइयो । ‘थापा लोकगीत संकलन गर्ने र गराउनेमा लाग्नु भयो’, जोशी भन्छन्, ‘म सिंजा प्रान्तमा गएर नेपाली भाषाको काम गरें । उहाँले गाइनेलाई गन्धर्व बनाएर राम्रो काम गर्नु भयो ।’
२०१५ सालमा डा. के आई सिंह प्रधानमन्त्री भए । सिंहको पार्टीमा लागेका थापाले उनको गुणगान गीत आदिबाट धेरै गरेका थिए । ‘सिंहका नाममा गीत गाएर धुमधाम गरेका थापालाई सिंहले पनि खूबै गरे’, जोशी सम्झन्छन्, ‘अरूलाई रोकटोक थियो तर प्रधानमन्त्री सिंहबाट थापालाई कुनै रोकटोक थिएन, उनी सरासर भित्र पसेर भेट्थे । त्यतिबेला थापाको फूर्ति कसैले हेरी नसक्नु थियो ।’
जोशीका अनुसार, थापाले तीन महिने त्यो प्रधानमन्त्री कालमा थापाले खल्ती पनि मजैले भरेका थिए तर त्यसपछि सेलाए । गाउँघरका अशिक्षितहरूले पोखेका भावनाहरूलाई थापाले संकलन गरेर आफ्नै बनाएको उनको भनाइ छ । भन्छन्, ‘तर खासमा ती सामुदायकै हुनु पर्ने हो । चाहे जे होस्, लोक क्षेत्रमा यत्तिको योगदान दिने अब को आउला ? हेरौं ।’
कलकत्ताको स्टुडियोमा धर्मराजको ठूलो फोटो
लोकगायक कुमार बस्नेतका समकालीन प्रेमप्रकाश मल्ल र लालबहादुर खातीसमेतलाई धर्मराज थापाले सहयोग र समन्वय गर्थे । रेडियो नेपालमा लोकदोहोरीकै फाँट हेर्ने भएकाले आपसमा काम हुन्थ्यो । रेडियो नेपालले २०१६ सालमा गीत रेकर्ड गर्न गायकहरूलाई भारतको कलकत्ता पठाउने भनी गोरखापत्रमा विज्ञापन छपायो । सडक विभागका कर्मचारी रविन्द्र शाहले कुमारलाई ‘तँ पनि गाउँछस् भर’ भनेर आफैं फर्म भरिदिएछन् । ‘अन्तर्वार्तामा बोलाइयो, मभन्दा अघि नारायण गोपालको रहेछ । म पस्दा पनि नातीकाजी, धर्मराज थापा, लक्ष्मण लोहनी, श्यामदास वैष्णव र प्रकाशमानले नारायणकै गुणगान गाइरहेका थिए’, कुमार भन्छन्, ‘आफू पुग्दा पनि कसैले वास्तै गरेनन् । एकछिनमा थापाले देखे कसरी यहाँ भन्नु भयो । उहाँले सबैलाई कुमार त भयंकर नाँच्छन् नि भन्नु भयो ।’
पछि परिणाम आउँदा कुमार पास र नारायण फेल भएको सूचना पाए कुमारले । त्यसपछि कलकत्ता पुग्दा कुमारले धर्मराजले हिन्दूस्तान रेकर्ड कम्पनिमा धेरै गीत रेकर्ड गराएको थाहा पाए । भन्छन्, ‘हुनत मलाई रेडियो नेपालले हिज मास्टर भ्वाईसमा रेकर्ड गर्न भनेको थियो तर हिन्दूस्तान नामको स्टुडियोभित्र पस्दा धर्मराजको ठूलो फोटो देखें । अचम्म लाग्यो, त्यत्रो प्रचार, त्यत्रो सम्मान भन्ने लाग्यो ।’ अहिलेको याक एण्ड यति होटलछेउमा २००८ सालमा नेपाल नाटक संघहुँदा कुमार आठ वर्षको उमेरमा केटी बनेर नाँच्न पुगेका थिए । उनले त्यहीँ पहिलोपटक धर्मराजलाई भेटेका थिए । तर बोलचाल भएन ।
तरुनी बनाएर नचाए धर्मराजले
२०१३ सालको कुरो हो । तौलिहवामा बुद्ध पद्म हाइस्कुलमा पढ्थे कुमार । आमा काठमाडौंबाट आएकाले बुटवल लिन पुगेका थिए उनी । बाटोमा मामा लोचन शमशेर थापा र धर्मराज थापा भेट भए । धर्मराजले भने, ‘ओहो, लोचन यी कुमार त भयंकर नाँच्छन् नि । यिनलाई हाम्रो कार्यक्रममा नाँच्न लैजाउँ ।’ त्यसपछि आमालाई घर पु¥याउने व्यवस्था मिलाएर धर्मराजले आफूलाई नाँच्न लगेको कुमार सुनाउँछन् । भन्छन्, ‘के आई सिंहको पार्टीको अधिवेशन रहेछ, मेरो नचाई देखेपछि सिंहले भारतको गोरखपुरमा पढ्न र मासिक पाँच सय भारु पठाइदिने घोषणा गरे ।’ तीन महिना पैसा दिएको तर आफूले गोरखपुरमा पढ्न छोडेको कुमार बताउँछन् । थप्छन्, ‘तरुनी बनेर नाँच्दा धेरैले मेरो शरीर छुने बहाना गर्दै शरीरभरि नोट सिउरिदिएका थिए । पछि गन्दा झन्डै २० हजार रूपैयाँ भएको थियो । धर्म दाइले विद्यार्थी जीवनमा गुन लगाउनु भएकै हो ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले देशभक्त प्रतिभा थापा शशरिर नभए पनि गीतमार्फत् जीवन्त भइरहने बताए । उनले भने, ‘जनताका भावना र समस्याहरूलाई जनभाकामा उतारेर उहाँले मुलुक र मुलुकबाहिर समेत पु¥याउनु भएकाले उहाँ कसैबाट विलय हुनु भएको छैन, हुनु हुन्न पनि ।’

लोकगायक एवं लोकगीत अन्वेषक धर्मराज थापाका कृतिहरू
पञ्चायती प्रजातन्त्र, रत्न जुरेली (गीतिकाव्य, २००३), वनचरी (२००४), रानीपोखरी २(००९), कोसेली (२००९), कालीको लहर (२००९), बिलौना (२०११), तिलोत्तमाको भेल (२०११), शीतलपाटी (कविता संग्रह, २०१२), मिरमिरेको रन्को (२०१४), श्री ५ को पृथ्वीको अर्ती (काव्य, २०१४), निर्वाचन लहर (२०१५), मेरो नेपाल भ्रमण (२०१६), श्री ५ महेन्द्रको सवाई (२०१६), मिर्मिरेको रन्को (२०१९), भेटघाट (२०२०), पहाडी संगीत, हाम्रो लोकगीत (२०२२), मंगली कुसुम (खण्डकाव्य, २०२५), गण्डकीका सुसेली (२०२६), सगरमाथाको सेरोफेरो (लोकसाहित्य, २०३१), चितवन दर्पण (२०३२), दिव्य चौतारी (काव्य, २०३५), गोलसिमल (२०३६), तनहुँका फूलबारी, वासन्ती–वसन्त (२०३८), लोकसंस्कृतिको घेरामा लमजुङ, लोक साहित्य विवेचना र नलदमयन्ती ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 4 कार्तिक, 2071

लेखकका अन्य रचनाहरु