मानव अधिकारको रक्षा

- डा. कपिलदेव लामिछाने

सडकमा मानिसहरू आउजाउ गरिरहेछन् । आउजाउ गर्न पाउनु पर्छ । जनताको हकहितको रक्षा हुनुपर्छ । सायद त्यसैले ठाउँठाउँमा सुरक्षाकर्मीहरू तैनाथ छन् । तिनीहरूका आँखा चनाखा छन् । फाल्तु कोही छिर्न नपाओस् । तिनीहरू हतियार र हाकिमका आदेशले नुहेका छन् । आन्दोलनकारीले जनताको हिँडडुल गर्ने, आउजाउ गर्ने, पढ्नेलेख्ने, आजीविका चलाउने काममा दखल दिन नपाऊन् भनी हाकिमले अराउँदा ‘हस साब !’ भनी स्यालुट ठोकेर आएका हुन् तिनीहरू । जनताको मानवअधिकारको रक्षा गर्ने रे ! दिक्क मान्दै थिए तिनीहरू । उ उताबाट मानिसहरू आइरहेछन् । आन्दोलनकारी हुन् कि ? बेला भएकै हो अब त । तिनीहरू सतर्क भए र हरेकलाई चेक गर्न थाले—
—एइ, तँ को होस् हँ ?
—म विद्यार्थी हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् नि ।
—म शिक्षक हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् ?
—म प्राध्यापक हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् ?
—म कर्मचारी हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् ?
—म किसान हुँ ।
—ए थुन यसलाई ।

—एइ, तँ को होस् ?
—म पत्रकार हुँ ।
—ल, थुन यसलाई ।

—एइ, तँ को होस् नि ?
—म वकिल हुँ ।
—लल, थुन यसलाई ।

—एइ, तँ को होस् ?
—म व्यापारी हुँ ।
—थुन यसलाई ।

—ए, तँ को होस् नि ?
—म उद्योगपति, उद्योगी हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?
—म मजदुर हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?
—म यातायात–व्यवसायी हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?
—म दुकानदार हुँ ।
—थुन यसलाई ।

—एइ, तँ को होस् नि ?
—म समाजसेवी हुँ ।
—थुन यसलाई ।

—अँ, तँ को होस् नि ?
—शब्दसारथि ! साहित्यकार हुँ म ।
—थुन यसलाई ।

—अनि, तँ को होस् नि ?
—म शिल्पी अर्थात् कलाकार हुँ ।
—थुन यसलाई ।

—तँ को होस् नि ?
—म ? म मगन्ते । केही देऊ न ।
—थुन यसलाई ।

—तँ को होस् नि ?
—म मानवअधिकारवादी हुँ ।
—हँ ! थुन यसलाई ।
.... .... .... ....

तिनीहरूले हरेकलाई सोध्दै गए, कसैले पनि आफूलाई जनता भनेन । कसैले आफूलाई आन्दोलनकारी भनेन । कसैले पनि आफूलाई ... कसैलाई पनि तिनीहरूले हतियार लिएको भेटेनन् । ...भए भरको खचाखच भिड चौकी, थाना र जेलमा भयो । सडक, बजार र बस्ती सुनसान, निर्जन भए । भित्र जनता, बाहिर सुरक्षाकर्मी । तिनीहरू जिल्ल परे कि अब कसको अधिकारको रक्षा गर्ने ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 भाद्र, 2071

लेखकका अन्य रचनाहरु