मेरो पनि ‘सायाङ्’

- सिरुखर्के जेठा

मलेसिया प्रवेश गरेको तीन महिना पनि पूरा भएको थिएन । नयाँ थिएँ, जसले जे अह्राए पनि मान्नुपर्ने । नेपालीले नै आफूमाथि षड्यन्त्र गरिरहेको पनि नबुझ्ने लाटो । घाममा ट्रली धकेल्दा–धकेल्दा हाडछाला बाँकी रहेका एकजना दाइ थिए– पुत्रमान राई । सधैँ त हैन, कहिलेकाहीँ म पनि जानुपथ्र्यो घाममा ट्रली धकेल्न । ती दाइ आएदेखि यही काममा रहेछन् । घामले डढेर कालै भइसकेका । सुकेका चक्रक्कै ।

यो ठाउँको बारेमा, मान्छेहरूका बारेमा, नेपालीहरूका बारेमा दाइले मलाई धेरै कुरा सुनाएर बाठो बनाएका थिए । आफ्नो तरुनो अवस्थाका कुराहरू गरेर ‘टाइमपास’ गराउँथे । हाँसेर, जिस्केर हैरानै पार्थे कहिलेकाहीँ । चालिसेले समातिसकेको थियो तर स्वभाव बच्चाको जस्तो थियो । सोँच्थेँ म– यो अवर्णनीय दुःखलाई बिर्सने उपाय यही अप्नाएका होलान् यी दाइले । जोसँग पनि हाँस्ने जिस्कने (अझ हातै हालेर) गरेर आफ्नो दुःख कम गराउने उनको यही आविस्कार थियो होला । माया लागेर आउँथ्यो उनलाई देख्दा ।

यसबीच दुईजना नेपाली केटाहरू स्टोरमा थपिए, नयाँ भएर । एकजना त चिनेकै मान्छे परेछन् । अर्कोचाहिँ झापा जिल्लाको । प्रवीण थियो उसको नाम । ऊ पनि ट्रलीमा काम गर्न आएपछि हामी दुई यति नजिक भयौँ कि एक–अर्कालाई ‘तँ’ भनी सम्बोधन गर्न थाल्यौँ । कहिलेकाहीँ सँगै भागेर इलिगल बन्ने कल्पना ग¥याँै र फेरि सँगै मिलेर ‘भो’ त्यसो नगरौँ पनि भन्यौँ । पढेलेखेको थियो ऊ । अँग्रेजी पनि राम्रो आउँथ्यो उसलाई तर मान्छेको मूल्य नभएको यो ठाउँमा उसको क्षमताको मूल्य खोज्नु मूर्खता हुन्थ्यो ।

ऊ आएपछि मलाई अलि निस्कन पर्दैनथ्यो बाहिर । कहिलेकाहीँ साँझमा कस्टमरको भीड लाग्दा, ट्रली पु¥याउन धौ–धौ पर्दा ‘ट्रली ब्याय’लाई सहायता गर्न ‘स्टोरब्याय’हरू पनि आउनुपथ्र्यो । त्यस्तोमा कहिलेकाहीँ म पनि पर्थेँ । साँझमा बाहिर निस्कनु त्यसै पनि रहर हुन्थ्यो सबैलाई । कहिलेकाहीँ त ट्रली भन्दा धेरै मान्छे हुन्थ्यौँ । ट्रली धकेल्न बाहिर निस्केको बहाना बनाएर काम ठग्नेहरूको पनि कमी थिएन ।

चीनिया नयाँ वर्ष आइपुग्यो । व्यापार–व्यवसायमा उल्लेख्य बृद्धि हुने समय रहेछ यो । कामको चाप दिन–दिन बढिरहेथ्यो । कामको चाप बढ्नु भनेको हाम्रो दुःख बढ्नु थियो । पसिनाको त कुरै नगरौँ । धारो बग्थ्यो शरीरबाट ।

यस्तैमा एकदिन हामीले काम गर्ने सुपरमार्केटकै कम्पाउण्डमा भाडा तिरेर एउटा काष्ठ उद्योगले आफ्नो शो–रुम राख्यो । कस्टमर सर्भिसका निम्ति एउटी केटी खटिन थाली । गोरी थिई, पातली थिई । राम्री थिई सिधै भन्नुपर्दा । नाक अलि लामो, चुच्चो परेको आम मले युवतीको तुलनामा । आँखा पनि अलि ठूलै । साँच्चै, राम्री थिई ऊ ।
आउनेजाने ग्राहकहरूसँग मजाले हाँसेर कुरा गर्थी । सहयोग गर्थी । कसैले केही सोध्यो भने झर्को नमानी जवाफ दिन्थी । त्यहाँ आउने ग्राहकहरूको अक्सर प्रश्न मूल्यसँग जोडिएको हुन्थ्यो । उसको त्यो मोहनी रुपसँग हामीलाई केही लिनुदिनु थिएन ।
उसको सुन्दरतामाथि दुई–चारपटक टीकाटिप्पणी ग¥यौँ हामीले तर त्योभन्दा अगाडि बढ्न हामी रोकियौँ ।

अनि आयो ‘हरिराया’ अर्थात् रमदानको पर्व । एक महिने उपवाससहित निस्कर्षमा बडो उल्लासमय वातावरणमा मनाइने मुसलमानहरूको चाड ।

त्यो केटी, जसको नाम हामीलाई थाहा थिएन, थर ठेगाना केही थाहा थिएन । हामी पनि उसको निम्ति अपरिचित केटाहरू थियौँ । तर उसको नजर हामीमाथि निरन्तर गडिरहेथ्यो । विशेष ममाथि । यो कुरा मलाई पनि थाहा थियो, प्रवीणलाई पनि । प्रवीणले त उसलाई ‘भाउजु’ भनी बोलाउन लागेको थियो अब ।

उसले मलाई मायालु आँखाले हेर्दा मलाई पनि कस्तो–कस्तो लाग्थ्यो । जता जान्छु घाँटी तन्काइ–तन्काइ हेर्थी ऊ मलाई । उसको अनुहारमा रुमानी भाव देख्थेँ । आँखामा पनि प्रणय अपिल । मेरो मनले मलाई सोध्यो– ‘मायाको पनि एउटा सर्वोच्च तह हुन्छ । तैँले उसलाई प्रेमिका हैन, एउटी बहिनीको रुपमा निःस्वार्थ माया गर्न सक्दैनस् ?’ तर मैले उसलाई बहिनी भनी बोलाउन सकिनँ । कारण, उसको हेराइमा म उसको दाजु थिइनँ । बहिनीको साइनोले बोलाउन नसकेपछि म ऊसँग केही कुरा पनि गर्न सकिनँ । ऊसँग बोल्न सकिनँ । बस्, आँखैले कुरा हुन्थ्यो हामीबीच । तर मेरो कुरामा सदैव प्रतिवाद गर्ने कोही थियो– ‘मेरो मन’ ।

एक साँझको कुरा हो । धेरैदिनसम्म छातीभित्र गुम्साइराखेको कुरो पुत्रमान दाइसामु पोखेँ मैले–
“यो केटीले किन मलाई नै हेरिरहन्छे ?”
पुत्रमान दाइ जोस्सिए र भने–
“लु आइजा, मो कुरा गराइदिन्छा आहिलै । लु आ आइजा ।”

मेरो हात जबर्जस्ती तानेर उनले मलाई घिसार्न लागेका थिए । त्यो केटीले मुस्कुराउँदै मलाई नै हेरिरहेकी थिई । हामीबीच भएको कुराकानी उसलाई थाहा थिएन । मलाई त्यसरी घिसार्नुमा पुत्रमानको के उद्देश्य छ, ऊ त्यसप्रति पनि अनभिज्ञ थिई । ऊ मलाई हेरेर किन हाँसी त्यो मलाई थाहा भएन । पुत्रमानको केटाकेटीपन माथि या मेरो आनाकानीमाथि, खै’ ?

बल्लतल्ल आफ्नो हात फुस्काएर म भागेँ । पुत्रमान त्यही केटीतर्फ जाँदैथिए । मलाई डर त लागेन, तर लाजले मलाई ऐंठन नै पारिरहेथ्यो । आफ्नो वरिपरि प्रलय भएझैँ लागिरहेथ्यो । अनि मन–मनमा आफूलाई दोषी ठहर पनि गर्दैथिएँ म– ‘तँ पनि बिग्रिस् है ?’

एउटा अँध्यारोजस्तो ठाउँमा उभिएर मैले अब पुत्रमानको चर्तिकला हेर्नु थियो । हात हल्लाई–हल्लाई म भएतर्फ देखाउँदै उनी के–के बोलिरहेथे । त्यो केटीको अनुहारमा उत्साहपूर्ण हाँसो छरिएको थियो । अन्तिममा पुत्रमानले “बोले ?” (हुन्छ ?) भनेर सोध्दा उसले आफ्नो शीर स्वीकारोक्तिमा दुवै कुमतर्फ झुकाएर हल्लाई । मेरो धरती डग्मगाइरहेथ्यो । पाइतला भासिँदै गइरहेजस्तो महसुस गर्दैथिएँ म ।

पुत्रमान दाइले मलाई खोज्दै आए । लुकेको देखेर हाँस्दै ‘तोँ नामर्द’ भने । त्यसपछि आफूले त्यो केटीसँग मेरो कुरा गरिदिएको सुनाए । ‘त्यो केटाले तिमीलाई माया गर्छ’ भन्दिए रे तिनले । उनले भनेअनुसार त्यो केटीले मेरो देश कुन हो ? भनेर सोधी रे । धर्म कुन मान्छ ? भनेर सोधी रे । अनि कति वर्ष भयो मलेसिया आ’को ? भनेर पनि सोधी रे । दाइले ‘सबैकुरो मिलाएर ठीक–ठीक भन्दे’को छु, आब तोँ आफै कुरा गर् बज्ज्या’ भन्दै गर्दा मेरो मुखबाट निस्कियो–
“तिमी आफै, आफ्नै लागि कुरा गर बूढा ।”
“बुहारीलाई मो के भन्ने ?” भनेर हाँस्दैथिए पुत्रमान ।

त्यसदिन पछि मेरो जीवनचर्या असामान्य जस्तो भयो । योभन्दा अगाडि मैले बढ्नु हुँदैन भन्ने मलाई राम्रै थाहा थियो । तर चिन्ता मलाई यस कुरामा थियो कि त्यस गोरीले पुत्रमानको कुरालाई पत्याएकी भए ? मैले उसलाई मायाप्रेम गरेको भन्ने पुत्रमानको जाली कुरा साँच्चै ठानेकी भए ? के सोँच्ली उसले मलाई ? थुप्रै प्रश्नहरूको बज्र एकैपटक सहनुप¥यो मैले ।

अर्को एक साँझ प्रवीण र पुत्रमान त्यो शो–रुमभित्र प्रवेश गरे । सँगै थिएँ, भाग्न पनि सकिनँ । गएँ उनीहरूसँगै । त्यो केटी कति खुसी भई ! अनुहार उज्यालो थियो उसको । मेरो नजिक आउँदा लाजले भुतुक्क भई । उसको अवस्था बुझेको थिएँ । उसको मनोविज्ञान सम्झेको थिएँ । उसको व्यवहारले मलाई पनि लाज लाग्न थाल्यो । सुटुक्क बाहिर निस्किएँ । प्रवीण र पुत्रमानले के–के सोधिरहेका थिए– फर्निचरकै बारेमा । ऊ भन्दै जाँदैथिई । मैलेचाहिँ बोल्ने मौका जो महिनौँपछि आएको थियो, त्यसलाई पनि गुमाएँ ।

त्यहाँबाट निस्कने बेलामा प्रवीणले– “ओ.के. भाउजु, गइयो हामी त ।” भन्यो नेपालीमा । पुत्रमानले पनि नेपाली भाषामै भने– “हे हे मेरो त बुहारी होला क्या रे ! हे हे जितले नेपाल लैजान्छु भन्छ, सक्छ कि कुन्नि ?....हे हे ।” यी दुईजनाको कुरा केही पनि नबुझेर त्यो केटी मुस्कुराइरही । टीठलाग्दो अनुहार थियो उसको ।

मैले पुत्रमान र प्रवीणलाई त्यो रात राम्रैसँग भनेँ–
“यो कुरा हामीबाट बाहिर नजाओस् । जे तिमीहरूले सोँचिरहेछौ, मैले त्यस्तो सोँचेकै छैनँ । म यहाँ नोकर बनेर काम गर्न आएको मान्छे हुँ । मायाप्रेमको कुरा सोँचेर हिँड्ने मेरो शोख छैन न त फूर्सद नै, बुझ्यौ ?”

प्रवीण त चुप्प थियो । पुत्रमान दाइलेचाहिँ मलाई नामर्द भन्दै जिस्क्याइरहे ।
यस घटनाको केही दिनभित्रै मेरो प्रेम–कथा (जो साँचो थिएन) पूरा सुपरमार्केटमा फैलिएछ । नजिकका ‘सोल्टी’हरूले कानमा आएर सम्झाउन थाले–
“सोल्टी, घरबार बिर्सन त भएन नि । टाइमपास गर्ने हो तर यतै जीवन बिताउने कुरो त .................”

बाटोमा हिँडिरहँदा पनि त्यो केटीलाई देख्दा ‘जित सोल्टीको सायाङ्’ भन्दै कुरा गरेको देखेँ, सुनेँ । सोँच्दै नसोँचेको घटना थियो मेरो लागि यो । बाहिर निस्कने मन लाग्नै छाड्यो । त्यो केटी मलाई देखी भने अनावश्यक भावुक हुन्थी । टोल्हाउँथी । मैले त्यसरी उसलाई सोँचेकै थिइनँ, उसले सोँच्दीरहिछ । यो सब काम पुत्रमानको थियो । त्यो साँझ उनले ती झूटा कुरा नगरिदिएको भए सायद यस्तो हुने थिएन ।
विस्तारै म ट्रलीमा काम गर्न भनेर बाहिर निस्कन छाडेँ । प्रवीण कराउँथ्यो भित्र आएर–
“त्यो केटीले तँलाई मन परा’की छे । तँैले धोका दिइस् त्यसलाई ।”
पछि म फ्रोजेनमा गएँ । प्रवीण पनि मेन्टिनेन्स डिपार्टमा गयो । पुत्रमान दाइले पछिसम्मै मलाई ‘तोँ नामर्द’ भन्न छाडेनन् ।
अचानक घर फर्कनुपर्ने भयो । त्यतिञ्जेलसम्म मभित्र भएको त्यस केटीप्रतिको मोह कत्ति पनि बाँकी थिएन । साथीभाइबीचको हल्लीखल्ली पनि शान्त भइसकेको थियो । तर त्यो केटी अझै सामान्य अवस्थामा थिइन । पुत्रमानले सुनाइरहन्थे–
‘तेरो भाइ त कस्तो निष्ठूर’ भनिरहन्छे मोलाई पो । मोइले के गोर्ने ? सुकेकी छे म जस्तै ।”

त्यही बाटो हिँड्नुपर्दा एक पललाई हेर्थेँ ऊतिर । साँच्चै दूब्लाएकी थिई ऊ ।

२०१० अप्रैल १२, सोमबार
साथीहरूसँग केलाङ् सहर पुगेँ । अरु त के नै गर्नु थियो र, किनमेलको नाममा एउटा सुटकेस किनेँ । साँझ सुपरमार्केटमा पसेँ । निस्कँदा सुटकेस मसँगै थियो र हिँड्नुथियो त्यही फर्निचर शो–रुमको अगाडिबाट ।
सुटकेस घिसार्दै अगाडि बढेँ । नचाहेर पनि आँखा गयो त्यतै । त्यो केटी मलाई हेरेर अँध्यारो भई । मचाहिँ सरासर होस्टेलमा आइपुगेँ ।
हामीबीच केही कुराकानी हुन सकेन । ऊ लजाउँथी । म डराउँथे कुरा झन् अगाडि बढ्ला भनेर । अहिले सोँच्छु– बोलेर सबैकुरा उसलाई बताइदिनुपथ्र्यो मैले । उसलाई त्यतिका महिना अन्धकारमा राख्नु मेरो पनि गल्ती थियो । धेरै हैन, एकपटक त बोल्नुपथ्र्यो म ।

चाइनीज न्यू इयर र हरिराया अहिले पनि आइरहन्छ फर्केर । त्यो केटी बिहे भएर कतै नगएकी भए त्यहीँ होली । पुत्रमान दाइलाई त्यस्तै अवस्थामा छाडेर आएको थिएँ । मलाई सोध्छे होली कि कुन्नि, कहाँ गयो ? भनेर ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 भाद्र, 2071

लेखकका अन्य रचनाहरु