गोमन साँप जस्तै तरकारी र आँप ?

- शिखण्डी

गिरधारी निस्केर गयो ।
गएको केहि समयदेखि मलाई, वास्तवमा म यतिखेर नयां नेपालको अति प्रदुषित, अधिक विषादीयुक्त राजधानी काठमाण्डौमा बसिरहेको छुं भन्ने अनुभव भइ रहेको छ । गएको तीस वर्ष अगाडि नेपाल खाल्डो छिर्दा पंचायती राज्यको राजधानी थियो यो खाल्डो । त्यसबेला केही समयका लागि मात्रै यो खाल्डोमा आइएको थिइयो । किनभने नेपाल खाल्डो भनेको बस्ने ठाउँ होइन भन्ने बाजेका मुखारविन्दबाट सुनिँदै आइएको थियो । बाजे सात दिनलाई राजधानी आउँथे र चौथो दिन गाउँ फर्कि सक्थे ।
बाजेबाट त्यस किसिमको स्कुलीङ्ग प्राप्त यो तोरीलाहुरेको मन पनि काठमाण्डौमा लामो समय रहने थिएन । तर अचम्म, राजधानीको चुम्बकले यसलाई यसरी तान्यो कि आजसम्म यो राजधानी खाल्डोमै टाँसीएर रहेको छ । यो त भो पँचायत कालको कुरो । त्यस पछि बहुदलीय प्रजातन्त्रीक राज्यको (जो सधैं शिशु प्रजातन्त्रकै अवस्थामा रह्यो, २०६३ को शुरुवात सम्मै) राजधानी भयो, यो नेमुनीको खाल्डो । अहिले संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको अति विकसित, दुर्गन्धीत, प्रदुषित, विषादितलगायतका विशेषण जडित् राजधानी भएको छ, काठमाण्डौ खाल्डो ।
गणतन्त्र भन्ने शब्द छिमेकी मुलुकका अथवा त्यो भन्दा पनि परका मुलुकका समाचारहरुमा सुन्दै आएको हामीले । यसरी आफ्नै देशको नाम अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र राजाको बदलामा राष्ट्रपति सुन्न पाउंनु पनि हाम्रोलागि भाग्य कै कुरो हो । यसलाई तपाईहरुको मात्रै हैन शिखण्डीको भाग्य पनि दह्रो नै रैछ भनेर त भन्नै पर्छ जस्तो लाग्छ, हैन ? किनभने भाग्य दह्रो नभएको भए यसरी अहिलेका कमालका चर्तिकलाहरु कसरी हेर्न पाइन्थ्यो होला र । गणतन्त्रमा गनतन्त्र, रणतन्त्र, डनतन्त्र, धनतन्त्रलगायतका तन्त्रहरुको स्वाद क्या मज्जाले उपभोग गर्न पाइएको छ ! यो पनि त भाग्य नै हो तपाई हाम्रो । यति सानो समयमा यति ज्यादा सुख !
म तपाईंलाई सुनाउँ, पहिले खाल्डोमा गाडिनै चल्थेन, खाल्डोमा रहेका केही पेट्रोल साहुहरु दिनभरी ग्राहक कुर्दा कुर्दाको हैरान हुन्थे । पंचायतकाल त्यस्तो थियो । बहुदलमा फेरबदलनै ब्यापक भो । कहिले गोरे कालेसंग त कहिले काले गोरेसंग । कहिले दांयां बायांसंग त कहिले बांयां दायांसंग । ‘सबैलाइ पालैपिलो मौका र मौकामा चौका पार्ने दाउ, सबै आउ, गरि खाउ र माल बनाउ,’ छन्द कविका छन्द कविता जस्तै ।
तीस वर्ष अगाडिको नेपाल खाल्डो कति चिसो कति । पानी पनि फालाफाल । गाडी पनि यति कम की राजधानी जस्तै नलाग्ने । बहुदल आए पछि त यो चिसो खाल्डोमा नभएका लामखुट्टेहरुले, गर्मीले, भिडभाडले, पानी र पेट्रोलको हाहाकारले, फोहोरकोे दुर्गन्धले आम नेपालीलाई दुःख दिन थाल्यो । राजधानीको फोहोर भन्दा पनि दुर्गन्धपूर्ण भ्रष्टाचारले पो बहुदल भनेको यस्तो हुन्छ भन्ने मान्यता स्थापित गर्दै लग्यो । अनि यसरी देखिँदै गोे अलिक फरक खालको बहुदलीय राजधानी ।
गणतन्त्रको गर्भाधान संगै खाल्डोमा झन अभावै अभाव भित्रिए पछि अब चै गणतन्त्र पुरै र पक्कै आएको यस्ले निस्कर्ष निकाल्यो । तैंले किन निष्कर्ष निकाल्ने भन्नु होला तपाईं । खैर, त्यति मात्रै कहां हो र, यो सात आठ वर्षमा चुलीएको महंँगाइ, महँगाइसंगैको अभाव र अभावसंगै फैलिएको असुरक्षाले, प्रदुषित वातावरणले, विषादीयुक्त तरकारी र फलफुलको आपूर्तिले अनि युरियामलको प्रयोग भएजस्तै मौलाएको भ्रष्टाचारको खेतीले मलाई सँघीय लोकतान्त्रीक गणतन्त्र नेपालको राजधानी काठमाण्डौमा आफु बसीरहेको जोडदार गराएको छ । के गर्ने, यस्को लेखकस्व कहिले पनि युरियामल हाले जस्तो फस्टाउन सकेन । सधैं दिन्छु दिन्छु मै यसले कति यस्ता लेखौटहरु लेखिसक्यो । सायद यो पनि संघीय लोकतान्त्रीक गणतन्त्रकै उपलब्धी हो !
मेरा मित्र गिरिधारी बेलाबेलामा मिथिलानगरीबाट राजधानीको दुर्गन्धीत वातावरणबाट अभ्यासरत रहन समय समयमा आइनै रहन्छन । एक पटक काठमाण्डौमा खानेपानी तथा ढल निकास संस्थानले बाँडेको पानीमा पानीको मात्रा कम र ढलको मात्रा अधिक भएको बेला पनि उनी आइपुगेका थिए पानीको स्वाद चाख्नलाई ।
एक पटक यस्तै चार पाँच वर्ष अगाडि उनी अर्थात गिरधारी भाई काठमाण्डौ आइपुगे र मसंग घुमघामका लागि निस्के । हामी दुवै दोस्त टेम्पोमा चढेर दुइचार ठाम गएम । त्यस बेला काठमाण्डौ महानगर महा फोहोर नगरको रुपमा विकसित भएको थियो र सर्बत्र फोहरको सगरमाथा ठडिएको थियो । त्यसैबेला मेरा मित्रको अनुहारमा चमक देखियो । उनको चमकदार मुहार देखेर म अचम्भीत भएं । सोधे के भयो ? किन एक्कसी चाउचाउमा घर चिठ्टा परे जस्तै गरि चम्कियौ तिमी ?
गिरधारीले अर्धमुदित आंखा उघार्दै जवाफ दिए, ‘कति मिठो सुगन्ध । दुध डढेको जस्तै । डढेको दुधको सुगन्धले मलाई आफ्नै तिरको चिया संझायो ।’ उनले अाँखा खोलेर भने, ‘बरु फर्कंदा एक एक कप चिया यतै खानु पर्ला ।’
उनको कुरा सुनेर मैले सफा टेम्पोको बाहिर नजर दिएं । कहि कतै केहि थिएन, सिबाय फोहरको डुंगुर बाहेक । अनि थियो त राजधानी काठमाण्डौको सहि पहिचान गराउने एकतमासको दुर्गन्ध । खै कसरि हो, त्यो दुर्गन्धलाई मेरा मित्रको घ्राणशक्तिले डढेको दुग्धगन्धमा परिणत ग¥यो मलाइ थाहा भएन । अनि मैले भनेको थिए गिरधारीलाई, ‘यस्तो राजधानीय दुर्गन्धलाइ पनि तिम्रो घ्राणशक्तिले दुग्धगन्धका रुपमा ग्रहण ग¥यो । वास्तवमा राजधानीमा तिमिहरु जस्ताकैै खांचो छ । बरु यतै घरजम गर्न आउ ।’
मेरो कुरा सुनेर उसले एकफेर अमिलो अनुहार लगायो । मैले मनमनै सोचें जेहोस नयां नेपालको नयां अनुभव मेरा मित्रले पनि अनुभव गर्न पाए ।
केही दिन अगाडि फेरि आइपुगे गिरधारी आँपको टोकरी बोकेर एकाबिहानै । मलाई लाग्यो यस पटक यो विषादीयुक्त तरकारी र फलफूल चाख्न आइपुग्यो । उता सधैं गिरधारीलाई देखेर झर्किने मेरी घरबुढी भने यतिखेर उसको मानमनितोमा लागेकी थिइ । यो आठौं आश्चर्य आँपको टोकरीले गरेको थियो । यदि उसको साथमा आँपको टोकरी नहुँदो हो त एक कप चिया पनि मैले नै बनाउनु प¥थ्यो । मैले झारे उसलाई, ‘यार खबर गर्नु पर्छ आउने बेलामा म बसपार्कसम्म आउँने थिए ।
यतिखेर उल्टो उही नै पड्कयो, ‘मलाइ एक कल फोन त गर्नुपर्छ तैले तरकारी र आँपको लागि । राजधानीमा बसेर विषादी खाएर हुन्छ सधैं ? मलाई फोन गरेको भए गाउँको फ्रेस तरकारी र आँप पठाउँथे । पत्रिकामा पढेपछि पो त मलाई थाहा भो कि यहाँ त उताका विषालु साँप भन्दा पनि विषधारी आँप र तरकारी काठमाण्डुमा बिकिरहेको छ ।’
गिरधारीको कुरोले मेरो आँखाको कुनो रसाए । साथी होस त यस्तो । एककप चिया सुर्केपछि उ उठ्यो ‘म हिँडे’ भन्दै । ‘कहाँ ?’ मैले प्रश्न गर्दा उ भन्दै थियो, ‘मेरो क्षेत्रका सभाषदहरुलाई थर्काउन जान्छु म अब । गोमन साँप भन्दा पनि जहरिलो तरकारी र आँपको उपचार त तिनले गर्लान नी ?’

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 भाद्र, 2071

लेखकका अन्य रचनाहरु