साहित्यकार तथा पत्रकार गोपीकृष्ण ढुंगानासँग संवार्ता

- पेशल आचार्य

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा भएका समानता र असमानता बताइदिनुहोस् न ?
समयसँगै बदलिन्छन् सन्दर्भहरू । शैली, व्यवहार र जीवन जीउने कलासमेत बदलिन्छन् र बदलिएका छन् पनि । उसबेला (३१ वर्षअघि) म नौ वर्षको हुँदा घरका दर्जनजति परिवारका सदस्य (अझ आफूभन्दा ठूला सबै) ले भनेको सबै काम गर्ने सानोबालक तर अहिले मेरो छोरो अञ्चित (९ वर्षको) केवल बुबाआमासँग बस्छ र केही काम नअह्राए हुन्थ्यो भन्छ । दुईवटा काम गर्नु पर्दा ‘सबै काम मैलाई भन्नुपर्छ ?’ भन्छ । ऊ सहर (राजधानी) मै जन्म्यो र यही परिवेशमा हुर्किरहेछ तर म सुदूरपूर्व (मेचीको झापाको गौरादह गाविसको हाँसखोरा) मा जन्में, हुर्कें ।
बिहानभरि टाक्राटुक्री घरायसी काम (भ्याइनभ्याई) र स्कुलबाट फर्किएपछि गाईभैंसी वा बाख्रा चराउन खेत, खोला वा खाडी जानु पथ्र्यो । मैले नलुकाई भन्नुपर्छ, २०५८ र २०६८ साल गरी क्रमशः एमएड अंग्रेजी र पत्रकारितामा स्नातकोत्तरका साथै नेपालीमा बिए सकेको ममा भन्दा कक्षा तीनमा पढिरहेको ऊ कतिपय कुरामा ‘कन्फिडेन्स’ छ । वर्षको तुलनामा हेर्ने हो भने यो उमेरमा त के एसएलसी सक्दा पनि ममा यति ज्ञान थिएन जुन उसमा अहिल्यै छ ।
तीन वर्षको हुँदादेखि उसले कार किन्ने माग राखेको उसका सामु मैले अझै त्यो सोच्न सकेको छैन । स्वाभाव भने बाबुछोराको उस्तै छ । भावुक र नरम छ मजस्तै । आँखासामू बाहेकका घटनामा ऊ विश्वस्त ढंगले ढाँट्न सक्छ तर मैले आजसम्म ढाँटेको छैन (अपवादबाहेक), नपरोस् पनि (किनकी एउटा गल्ती छोप्न सय गल्ती बोल्न म चाहन्नँ) । एक घण्टा हिँडेर स्कुल पुग्ने बाबुको छोरोलाई लिन पु¥याउन घरआँगनमै स्कुलबस आउँछ ।

२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो त यहाँले ?
धैरैलाई धेरैको आशिर्वाद भएको पाउँछु । तर अचम्म मलाई आजसम्म कसैको आशिर्वाद प्राप्त भएको छैन, जेजति प्रगति गरेको छु सबै आफ्नै विवेक र मिहिनेतले गरेको छु । हजुरबुबा पुष्पलाल र हजुरआमा बाटुलादेवीको आशिर्वाद छ । र छ पछिल्ला ११ वर्षदेखि पत्नी कमला अत्रीको साथ, सहयोग र सल्लाह । मध्यम वर्गीय परिवार भए पनि खेती गर्ने चलन र हली भए पनि काम आफू पनि गर्नु पर्छ भन्ने सामाजिक मान्यतामा रहेका कारण मैले नगरेको काम केही छैन । मलाई राजधानी आएपछि साहित्य, पत्रकारिता र शिक्षण पेशामा चिन्नेहरूलाई पत्याउन गाह्रो पर्ला, बिहान चारदेखि साँझ पाँच बजेसम्म हलो जोत्ने मान्छे मै हुँ ।
जुनेली रातमा रातको ११, १२ बजेसम्म धानका बिटा बोकेर (समूहमा) काम फत्ते गर्ने पनि मै हुँ । बिहान दुई, तीन बजेदेखि (समूहमा) उज्यालो छर्लंग हुँदासम्म धान झारेर कुन्यू सक्ने पनि मै हुँ । महिलाले (सामान्यतः) रोप्ने धान कतिपय महिलाभन्दा छिटो रोप्ने पनि मै हुँ । खेतका आली लगाउनेदेखि बिउ उखेल्ने, मल बोक्ने, पाटा गोड्ने, पाटा पाकेको गिजेमिजे फोहोरपानी भएको खाडीमा पसेर दिनभरि पाटा धुने पनि मै हुँ । जुका र भ्यात्लुङको पिरलोको कुरा नगरौं ।
बिएड पढ्न धनकुटा र त्यसपछि एमएड पढ्न काठमाडौं आएको केही वर्षसम्म मेरा हातका ठेला साक्षी थिए । यी हातका स्पर्श जोकसैलाई पनि सजाय हुन्थ्यो । विवाह गर्दासम्म गतिलो जागीर थिएन । ऋण गरेर पत्रकारिता पढेको थिएँ । किनकी दुःखजेलो गरेर एमएड गराउने बुबाआमालाई त्यसपछि ‘म आफैं गरेर खान्छु पैसा नपठाउनु’ भनेको थिएँ । विवाहपछि पनि कति रात भोकै बितेका छन् । जीवनमा रमाइलो के हो ? हामी दुईलाई अझै थाहा छैन ।

३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?
अरुले भनेको कुरो सत्य रहेछ, जीवन संघर्ष हो । माथिकै उत्तर काफी छ मेरो जीवन बुझ्न । तर मैले बुझेको जीवन अपरम्पार छ, बुझिनसक्नु छ । जति बुझ्दै गयो उति बुझ्नु पर्ने कुरा थपिइरहन्छन् । जन्मेदेखि नमरुञ्जेल जीवनलाई बुझिरहनु पर्छ पनि नत्र अपुरै भइन्छ । हरेक जीवन खुला किताब हुन् कसले कति पढ्न सक्छ भन्ने हो । जीवनलाई धेरै कोणबाट अध्ययन, मनन र विश्लेषण गर्नु पर्छ । एउटै व्यक्ति बुबा, छोरो, हजुरबुबा, नाती, मामा, भाञ्जा, ज्वाई, भिनाजु, सालो, जेठु, ससुरो, दाजु, भाइ, साथी, शिक्षक, पत्रकार, साहित्यकार अनि यस्तै थुप्रै बन्छ, उसलाई कुनै एउटा मात्र बुझ्नु नै गलत हो ।

४) के रहेछ त वास्तबमा जिन्दगी ?
जिन्दगी भगवान्ले पृथ्वीमा संघर्ष गर्न दिएको सर्वोत्कृष्ट उपहार हो जुन अनुपम छ । जीवन बुझे र यसलाई जीउन जाने यो ‘सभ्य र भव्य’ छ नत्र यो ‘नराम्रो र नर्क’ पनि हो । म पत्याउँछु, कसले कस्तो भाग लिएर जन्म लिएको हुन्छ भन्ने हिसाबमा पनि जीवन स्वर्ग र नर्क हुन सक्ला तर त्यसलाई आफ्नो वशमा पार्न सक्ने क्षमता र विवेक आफूले बनाउनु पर्छ । सकारात्मक सोच, स्पष्ट धारणा र व्यवहार अनि आफ्नै सिद्धान्त र स्वाभिमानमा बाँच्ने मानिसले जीवनमा सफलता प्राप्त गर्छ । आफ्ना लागि सबैले गर्छन् अरुका लागि गर्न सक्ने मानिसले केही कमाउँछ जीवनमा ।

५) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
जीवनमा सन्तुष्ट हुन सकिएन भने दुःखमात्र पाइन्छ भन्ने बुझेको छु । मेरो मान्यता छ, जे भयो ठिक भयो, जे भइरहेछ ठिक छ र जे हुनेछ त्यो पनि ठिक हुनेछ । कुनै काम भएन भने अर्को राम्रो काम हुनका लागि हो भन्ने बुझ्छु । एमएड पढ्न काठमाडौं आएको म काभ्रेको एउटा गाउँमा माविको अंग्रेजी शिक्षक हुन नसक्दा अहिले पत्रकार बन्ने सौभाग्य पाएको मान्छे हुँ म ।
घरपरिवारले सम्पत्तिभन्दा संस्कार सिकाएका कारण म यो अनुशासित र विश्वासिलो पात्रमा परिणत भएको छु सायद । सन्तुष्ट हुने कारणहरू केही छैनन्, केवल सोचले मानिसलाई सन्तुष्टि दिन्छ । सोच फराकिलो पार्न अध्ययन र सु–संगत चाहिन्छ । तपाईले चाहे वा नचाहे पनि त्यो काम भएरै छोड्छ भने किन दुःख मान्ने ? एसएलसीमा फेल हुनु भयो, आफन्त कसैको निधन भयो, के रोएर त्यो फिर्ता हुन्छ र ?

६) यहाँका प्रकाशित कृतिहरू कति छन् ? तपाईं अझै कुन–कुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
कृति कति भन्दा पनि सिर्जित रचना वा विषयवस्तु अनि त्यसमाथिको प्रस्तुति शैली कस्तो छ भनेर मूल्यांकन गर्न सके स्रष्टाप्रति न्याय हुनेछ । यद्यपि स्रष्टाको पहिचान कृतिमा छ । मैले एसएलसी (२०४७ साल) दिनुअघिदेखि जानीनजानी र बुझीनबुझी लेख्न थालेको हुँ । साहित्य सिर्जना एवं लेखनको औपचारिक सुरुवात भने २०५६ सालमा एमएड पढ्न कीर्तिपुर बसेदेखि हो । ‘मौनताका रातहरू’ २०६० गजल संग्रहबाट सुरु भएको कृति प्रकाशन आफैंभित्र २०७१ दोस्रो गजल सङ्ग्रहका रूपमा छ । रुम टु रिडबाट बालकथा कृति फुच्चे हात्ती र साझा प्रकाशनबाट बालकथा संग्रह कमिलाको डाक्टर प्रकाशित छन् ।
साहित्यिक पत्रकारिताको भाषिक अध्ययन, मभित्रको म (कविता संग्रह) सानी जुली (बालकथा संग्रह, कारको कल्पना (बाल—एकांकी) आमाको माया (बाल—एकांकी), नेपाली बाल साहित्यकारको जीवनी, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको जीवनीका तीन पुस्तक, शब्द श्रृङ्खला (साहित्यिक रिपोर्टिङ आलेखहरूको संग्रह र वार्ताभित्र व्यक्तित्व (साहित्यिक स्रस्टासँग) आदि प्रकाशोन्मुख छन् । दर्जन बढी कृति सम्पादन गरिसकेको छु भने दर्जन गीत रेकर्डिङ भएका छन् ।

७) तपाईंलाई आफ्ना मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुने गर्छ ?
मौलिक हुन् वा शोधपरक, कृति प्रकाशन गर्नु भनेको सन्तान जन्माउनु हो । अझ कतिपय कृतिलाई त नौ महिनाले पनि पुग्दैन । वर्षौंपछि पाउने फल कस्तो हुन्छ त्यो शब्दमा व्यक्त गर्न सकिन्न । आजसम्म पहिलो कृतिबाहेक पैसा हालेर प्रकाशन र रेकर्डिङ गर्नु परेको छैन मैले । कतिपय स्रष्टा पसिना जोगाएर कृतिमा खर्चिइरहेका छन्, तिनलाई सोध्नु पर्छ अनुभूति त । कृति पाठकले शब्द शब्द केलाएर पढिदिए भने मलाई स्वर्गीय आनन्द लाग्छ । कतिपय सन्दर्भमा कृति निकाल्नु ठूलो कुरो होइन, तर खास स्रष्टालाई यो निकै ठूलो उपलब्धी हो, उसको चिनारी हो, सर्वस्व हो ।

८) मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
पहिले कति फरक पथ्र्यो भन्न सक्दिनँ तर एक दसकयता राजधानी र मोफसलमा कुनै फरक छैन । सूचना प्रविधिको विकासले सबै ठाउँ सहर भइसकेको छ । जोश, जाँगर र इच्छा भए उपलब्ध र संभव नहुने केही छैन । बाउपुस्तामा पोखराका सरुभक्तदेखि युवापुस्तामा इटहरीका मनु मञ्जिलको उदाहरण काफी छ । राजधानी बस्ने सबै स्रष्टाको उचाई देवकोटा र राष्ट्रकवि आदिजस्तो कहाँ छ र ?

९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?
जसरी बाँच्नका लागि दाल, भात, तरकारी आवश्यक छ त्यसरी नै जीवनलाई लाग्ने भोक मेटाउन यौन आवश्यक हुन्छ । यौनमा माया मिसाइएको छ भने दाम्पत्य जीवन पनि सुमधुर हुन्छ र अन्ततः यौनले मानिसलाई ‘रिफ्रेस’ बनाउँछ । यसैगरी, साहित्य पनि जीवन र जगतसँग जोडिएको हुन्छ । जीवनसँग जोडिएर आउने कुरा यौन साहित्यमा आवश्यक नहुने कुरै भएन । प्रस्तुति निरर्थक ढंगले गरिएको छ भने भिन्दै कुरो हो नत्र साहित्यमा यौनको उपस्थिति अत्यावश्यक हुन्छ । यौनविनाको जीवनजस्तै हो यौनविनाको साहित्य पनि । यसले पाठकलाई ‘रिफ्रेस’ बनाउँछ ।

१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ? उल्लेख नै गर्नु पर्दाका अवस्थामा कस्तो अवस्था छ ?
जनआन्दोलनअगाडि भन्नाले कतिसम्म जाने भन्ने प्रश्न उठ्छ यहाँ, देवकोटा वा भानुभक्तसम्म ? वा केही दसकमात्र ? समकालीन परिवेशमा द्धन्द्ध, जनयुद्ध, राजतन्त्रविरुद्ध र जनताको जीतजस्ता विषयमा केन्द्रीत कृति बढी पाइएका छन् । लाग्छ, अबको साहित्य विकास, आर्थिक सम्वृद्धि र सकारात्मक चिन्तन र सोचतर्फ मानिसलाई अघि बढाउने ढंगले आउने छन् । केही दसकअघिको मात्र कुरा गर्ने हो भने विशुद्ध साहित्यिक कृति र तत्कालीन समाज र परिवेशलाई समेट्ने खालका छन् ।
११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷गैरआख्यान कृतिमध्ये कस–कसका कुन–कुन कृतिहरू कुन हदसम्म मन पर्छन् ? नामै किटेर भन्नु पर्दा के–के हुन् ?
मलाई सबैभन्दा बढी मन पर्ने विधा नियात्रा हो, त्यसपछि उपन्यास । क्रमशः कथा, कविता, गीत र गजल । केही वर्षदेखि बालसाहित्य लेख्न थालेकाले मनपर्ने साहित्य बाल पनि हो । यसरी हेर्दा सबै विधामा केही राम्रा र केही ठिकै अनि केही सामान्य कोटीका कृति प्रकाशित छन् । केही सर्वोत्कृष्ट लागेका छन् । तिनलाई अन्तर्राष्ट्रिय बजार पु¥याइनु पर्छ । केही राष्ट्रिय स्तरमा मेची काली पु¥याइनु पर्ने खालका छन् । बाँकी लेखक र प्रकाशकको पहुँचले पुग्ने हुन् । सबै लेखक र पाठकका आँखामा परीक्षण भइसकेका कृतिहरूलाई मैले के वर्गीकरण गर्नु ?

१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ?
विश्वमा करोडौं मानिस जन्मिएकै थिए तर मलाई नै भगवानले किन जन्माएका होलान् ? यो प्रश्न मलाई पनि गर्न मन लागिरहेको थियो । लाग्छ, भगवानले अनुहार र उस्तै शरीर दिए पनि प्रत्येक मानिस फरक छ । जसरी फरक मानिसका फरक विशेषता, स्वाभाव र व्यवहार आदि फरक हुन्छन् त्यसरी नै प्रत्येक साहित्यकारले लेख्ने साहित्य फरक हुन्छ । जसरी नेपाल विविधताभित्रको एकतामा रमाएको छ त्यसरी पाठक पनि विविध साहित्यकारका लेखनीमा रमाएका छन् । एउटाले नदेखेको विषय त्यही ठाउँ वा सन्दर्भमा अर्को साहित्यकारले देख्छ र लेख्छ । जसरी उही चामल, दाल र तरकारी फरक मानिसले पकाउँदा फरक स्वाद हुन्छ त्यस्तै हुन्छ साहित्य पनि ।

१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग के–कसरी भइरहेको छ ? किन साहित्यकारहरू यो वाद या विचारमा कित्ताकाट गरेर बाँडिएका होलान् ?
जति सुने बुझेको छु त्यो काफी छैन मेरा लागि उत्तरआधुनिकताको बहस गर्न । यसमा पनि गुटबन्दी छ । कोही यसका समर्थक र कोही विरोधी । अहिले मुलुकमा संघीयताको बहस जारी छ । विषय उठान र बैठान हुन नहुने होइन । कहिलेकाँही अनावश्यक वादविवादमा हामी अल्झिन्छौं तर सबैले भन्न खोजेको कुरो उही हुन्छ, फरक बुझाई र भनाईको शैलीमा हुनसक्ला । अन्तिम सत्य त त्यही हो, आखिर हामी उही नेपाली न हौं । साहित्यमा पनि यस्तै भइरहेछ । अनावश्यक गुटबन्दी भइरहेछ । मलाई लाग्छ, कमजोर मनस्थिति हुनेहरू गुटबन्दीमा लाग्छन् । हाम्रालाई यता तान्छन् र राम्रालाई उता पार्छन् । राम्रा कसैको गुलाम गर्ने पक्षमा हुँदैन र त उ कसैको हुन सक्दैन । परिवेशको धमिलो बादल नफाटुन्जेल यो वातावरण रहिरहन्छ तर जुन दिन छर्लंग घाम लाग्नेछ त्यो दिन नीलो आकाश देखिनेछ । ती दिनदेखि राम्राको गरिमा महसुस हुनेछ ।

१४) यतिको उमेरको भइसक्नुभयो, अबको समय जीवनमा के गर्ने धोको रहेको छ ?
हो, यतिबेला चालिस टेकेको अवस्था हो मेरो । आधा जीवन बिताइसकेछु । लाग्छ, जीवनमा गर्नु पर्ने कामको आधा काम मैले गरेको छैन । म साहित्यिक सिर्जनाप्रति आफैं असन्तुष्ट छु । मैले जति पुस्तक अध्ययन गर्नु पथ्र्यो आफूले सक्ने विधामा जति कलम चलाउनु पथ्र्यो त्यति गर्न नसकेकोमा असन्तुष्ट छु । एमएड पढ्न थाल्दा २०५६ सालदेखिमात्र औपचारिक रूपमा साहित्यको यात्रा थालेको मैले २०६० सालमा एउटा कृति निकाल्ने र एउटा सम्पादन गर्ने काम गरें ।
त्यसपछि उस्तै पेशा रोज्ने क्रममा पत्रकारिता रोजें र अन्नपूर्ण पोष्ट दैनिकमा प्रवेश गरें । तर नयाँ विधा भएकाले म होमिएँ जसका कारण मैले साहित्यलाई झन्डै एक दसक पाखा लगाउनु प¥यो । उता नहोमिएको भए पाँच सय जनाबाट छनोट हुँदै अन्नपूर्ण पाष्टमा प्रवेश गरेको मैले पत्रकारितामा यो ‘स्पेस’ बनाउन सक्ने थिइनँ । पत्रकारिताकै आधारमा मेरो साहित्यिक वृत्त फराकिलो, सहज र सफल भएको छ । हतारको साहित्यसँगै फुर्सदको साहित्यलाई प्राथमिकता दिएर कृति लेखनमार्फत् आफ्नो र देशकै शीर उचो राख्ने प्रयत्न गर्नेछु ।
१५) स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?
विद्यार्थी कालदेखिका साथी हेर्ने हो भने मैले सन्तुष्टी लिने ठाउँ छन् । त्यसपछि कलेजका साथीहरू हेर्दा पनि सफल र असल बनेको सूचकहरू भेट्टाएको छु । कोसँग तुलना गर्ने हो त्यो थाहा भएन । पारिवारिक अवस्था हेर्ने हो भने एक हजुरबुबाका चार बुबा र दुई फुपुका गरी डेढ दर्जन हामी नातिनातिनामा हालसम्म उदाहरणीय बन्ने सौभाग्य पाएकै छु । लाग्छ यी सब भन्ने कुरा हुन् । मलाई लागेको छ मेरो प्रतिस्पर्धा कसैसँग हुन्न, आफैंसँग गर्नुछ ।
म कति सफल र असल मानिस भन्ने कुरा साहित्य, पत्रकारिता र शिक्षणसँग सम्बन्धित सबैले मूल्यांकन गरेकै हुनुपर्छ । आफैंलाई मूल्यांकन गर्दा त सबैले आफूलाई राम्रै भन्ला नि होइन र ? म बसेको समाजमा पनि मूल्यांकनको कसीबाट भाग्न सकेको छैन, परेको छैन । असल र सफलको अन्तिम विन्दू भेटेको छैन, प्रयत्नमा छु । चाहन्छु कसैको आँखामा म नबिझाउँ । कसैको हीतविपरित नसोचौं, सके सहयोग गरुँ नसके दुःख नदिउँ भन्ने मेरो जीवनको सिद्धान्त हो ।
१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसले लेखिरहेको साहित्यलाई तपाईंले कस्तो मूल्याङ्कन गर्नु भएको छ ?
कोही सुरुमै लेखक हुँदैन, मानिसबाटै लेखक बन्ने हो । डायस्पोराको कुरा गर्ने हो भने यो अवस्था बढी छ । कामका लागि पुगेकाहरू लेखक बनेर फर्किएका छन् । साहित्यको सामान्य सिद्धान्त भने हुन्छ पीडापछि सिर्जना सुरु हुन्छ । एकाधबाहेक पीडा पाएकैले लेखेको साहित्य चलेको छ । एउटा उदाहरण कृष्ण धराबासीको आधा बाटो । धनकुटामा बिएड पढ्दा सोही जिल्लावासी जीवन देवान भाइलाई साहित्य थाहा थिएन । छुट्टिएको १० वर्षपछि फेसबुकबाट भेट भयो ।
मलेसिया पुगेका देवान भाइको पुछारमा ‘गाउँले’ जोडिएको रहेछ । उसलाई न म साहित्यकार र पत्रकार बनें भन्ने थाहा थियो । फेसबुकबाट दुवैले दुवैको लेखनी थाहा पाउँदा अचम्म महसुस भयो । उनले मलाई कथा संग्रहको भूमिका लेखिदिन भने । कथा पढ्दा ‘त्यो मानिस’ ‘कथाकार’ हुन् भन्न मजैले सकें । केही मानिस भने विदेशमा पुगेर लेखनका नाममा ‘रहर’ मात्र गरिरहेका छन् । नेपालमा रहँदा साहित्यको ‘स’ नसुन्ने वा सुन्न नचाहने मानिस पनि कम्तिमा साहित्यप्रेमी बनेका छन्, पाठकको संख्या त थपिएको छ ।

१७) नेपालका साहित्यिक गुट उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ? कसरी ?
यसको उत्तर प्रश्न नम्बर १३ मै दिइसकेको छु ।

१८) कागजका खोस्टामा सीमित रहेका तथाकथित नेपाली साहित्यिक संस्थाहरू र पुरस्कार लेनदेनमा गन्हाएका त्यस्ता संस्थाहरूले एउटा ऊर्जाशील लेखकलाई साहित्य लेख्नका लागि के भरथेग गर्न सक्ने स्थिति छ, नेपालमा अहिले ?
भरथेक को कुरा भरपर्दो छैन । साहित्यको श्रीवृद्धिका लागि संस्था चाहिन्छन् तर नेपालमा आवश्यकताभन्दा बढी छन् । आवश्यकताले भन्दा रहरले बढी जन्मिएका छन् । त्यसैले योजनावद्ध ढंगले चलेका छैनन् । स्रष्टालाई उभो लगाउन भन्दा आफ्नो स्वार्थ पूरा गर्न वा आफू उभो लाग्ने बाटो समाउने बहानामा पुरस्कारको लेनदेन भइरहेको अवस्था छ ।

१९) प्रकाशन गृहहरूको अहिलेको नेपाली पुस्तक व्यवसायमा भएको आक्रामक उपस्थितिले साहित्य लेखनका लागि लेखकलाई र पठनका लागि पाठकलाई कस्तो दिशानिर्देश गर्दै कतातिर लैजाँदै छन् जस्तो लाग्छ तपाईंलाई ?
राम्रा साहित्य पनि आएका छन् । लेख्दै जाँदा खारिने कुरो हो साहित्य । केही ठिकै र केही सामान्य कृति पनि प्रकाशकले छापेका छन् । प्रकाशक नपाए लेखकले पुस्तक निकाल्न पाउने उनीहरूको स्वतन्त्रताको कुरो हो, कति स्तरीय कृति किन्ने त्यो पाठकको विवेकको कुरो हो । केही प्रकाशक स्तरीय कृति प्रकाशनमा लागि परेका छन् ।

२०) नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?
औंलामा गन्न सकिने केही कृति छन् जो विश्वस्तरका छन् । तर बाँकीलाई तुलना गर्न मिल्दैन । विश्व साहित्यको दाँजोमा पुग्न नेपाली साहित्यकारलाई समस्या होइन । तर त्यो वातावरण यहाँ छैन । एउटा लेखक ढुक्कै लेखेर बाँच्न पाउने दिन आए, सरकारले साहित्यमा उल्लेख्य लगानी गर्ने समय आए, गुटबन्दीको सट्टा सहकार्यको संस्कृति सुरु भए र लेख्नुअघि सोही विधाका स्वेदशी र विदेशी दर्जनौं कृति पढ्नुका साथै पाण्डुलिपीलाई कम्तिमा १० पटक सम्पादन गर्ने हो भने ‘त्यो दिन’ टाढा छैन । त्यसपछि कृति अर्को साहित्यकारबाट पनि ‘सम्पादन’ जरुरी छ ।

२१) नेपाली साहित्यलाई अनुवाद गर्न किन सरकारी र गैरसरकारी स्तरबाट उदासिनता देखाइएको होला त ?
नेपालमा महिला मन्त्रालयमा पुरुष मन्त्री बन्ने परम्परा छ । संस्कृति नबुझेका संस्कृतिमन्त्री बन्छन् । खास साहित्यकार सम्बन्धित मन्त्रालय, विभाग वा प्रज्ञा प्रतिष्ठान पुग्दैनन् । अनि योजना कसरी बन्छन् साहित्य विकासको ? दीर्घकालीन विकासको कुरा त धेरै टाढाको । छनोट समिति बनाएर मापदण्ड पूरा गरेका कृतिलाई स्वदेश र विदेशका भाषामा अनुवाद गरेर बिक्री वितरण गर्न सकेमात्र पनि नेपाली साहित्यले विश्व साहित्यमा आफ्नो दमदार उपस्थिति जमाउने थियो । साहित्यलाई अनुत्पादक क्षेत्र ठान्ने सरकारी र गैरसरकारी संघसंस्थाको ‘बुद्धिमा बिर्को’ लागुञ्जेल यस्तै हुन्छ ।

२२) तपाईंको मृत्यु चिन्तन कस्तो छ ?
शाश्वत सत्य हो मृत्यु । सबैलाई थाहा छ एक दिन मर्नै पर्छ । यो गीत ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन । भागेर जाऊँ कुन ठाउँ जाऊँ, मान्छे नमर्ने सहर हुँदैन...’ को भाव बुझ्न सके काफी हुनेछ । आफन्तको मृत्युमा मानिस रुन्छन् । भावुक प्राणी भएकाले संवेदनशील हुनु स्वाभाविक हो तर बुझ्ने मानिस अचेल रुन छाडिसके । हो, आखिर उसले÷उनले छोडेको कुरा अन्तिम सत्य हो, रोएर फर्कदैन भने किन रुने ? जुन कुराको विकल्प नै छैन भने त्यसमा किन दुःखमनाऊ गर्ने ? आखिर उजस्तै आफूले पनि मृत्युको दिन त लिएरै आएका छौं । कोही धरतीमा आउँदा किन खुसी मान्छौं, त्यस्तै त हो नि कुनै दिन ऊ धरतीबाट विदा हुने कुरो पनि । लाग्छ, मानिसमा बुझाई कम छ ।

२३) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
लेख्न हतारिनु हुँदैन, अझ सचेत हुनपर्ने कुरा छाप्न हतारिनु हुँदैन । केहीपटक लेखेपछि धेरैपटक सम्पादन गरे गालेर बनाएको सुन हुन्छ सिर्जना । जुन विधा लेख्ने हो त्यस्तै सिर्जना वा लेख कम्तिमा एक दर्जनवटा पढ्नु पर्छ । सुनजस्ता सिर्जना छैनन् भने तपाई धाउनु पर्छ तर छन् भने अरु तपाईलाई खोज्दै धाउनेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2071

लेखकका अन्य रचनाहरु