१२ भाषाका ज्ञाता: हेमचन्द्र पोख्रेल

- नरेन्द्रराज प्रसाई

नेपाली परिवेशमा हेमचन्द्र पोख्रेल बहुआयामिक व्यक्तित्वका धनी थिए । उनी जसरी प्राध्यापनमा सक्रिय थिए त्यसरी नै साहित्यकारका रूपमा पनि प्रख्यात थिए । साथै समाजसेवाका फाँटमा पनि उनको र्समर्पण थियो । खास गरेर पूर्वाञ्चलीय शहर र बस्तीहरूमा उनको चल्ती थियो ।
पोख्रेलले २००७ सालदेखि धनकुटाको गोकुण्डेश्वर स्कुलमा पैतालीस भारू तलवमा पढाए । अनि त्यस स्कुलमा यिनले १४ वर्ष पढाए । साथै यिनले स्थापनाकाल अर्थात् २०१२ सालमा मासिक ५० भारु लिएर धनकुटा डिग्री कलेजमा पनि पढाए । त्यसघडी स्कुल र कलेज गरेर यिनले दैनिक १० पिरियड पढाउँथे । पढाउँदै जाँदा उनी त्यस कलेजको प्रिन्सिपलसम्म पनि भए । त्यसै फेरोमा उनी त्रिभुवन विश्वविद्यालयको सिनेटरमा पनि मनोनीत भए । साथै उनले त्रिविकै एकेडेमी काउन्सिलको सदस्यता पनि ग्रहण गरेका थिए । उमेरका कारणले २०५१ सालमा उनले प्राध्यापन पेसाबाट हात धुनु पर्यो ।
पोख्रेल चिन्तक र लेखक थिए । खास गरेर उनी संस्कृत वाङमयका विद्वान् थिए । उनीसँगर् इश्वर बराल संस्कृतभाषमा नै शास्त्रार्थ गर्न रुचाउने अर्का जोडा थिए । बरालले उनीसँग कहिले नेपालीमा बात मारेनन् ।
पोख्रेल बोल्न जति सिपालु थिए लेख्न पनि त्यति नै वीर थिए । उनी नेपाली, संस्कृत, अङ्ग्रेजी, नेवारी, हिन्दी, मैथिली, भोजपुरी, उर्दू र बङ्गाली भाषा लेख्न र बोल्न बराबरी सिपालु थिए । साथै उनी लिम्बू, जर्मन र फ्रेन्च भाषा पनि बोल्थे । उनले एघार भाषामा त लेखरचना नै गरेका थिए ।
पोखरेलले देवकोटाको 'लक्ष्मी निबन्धसङग्रह' हिन्दी भाषामा अनुवाद गरे । साथै उनले अन्य केही फुटकर कविताहरू पनि हिन्दी भाषामा अनुवाद गरे । तर खर्चको अभावमा उनका ती कृति प्रकाशनमा आएनन् । उनी नेवारी भाषासाहित्यमा पनि धाराप्रभाव भाषण गर्न सक्थे । उदाहरणका लागि नेवारी भाषाका महाकवि चित्तधर हृदयको महाकाव्य 'सुगतसौरभ' उनले खुवै राम्रो विश्लेषण गरेर नेवारी भाषामा नै भाषण गरेका थिए । उनलाई सो महाकाव्य पनि कण्ठ थियो ।
पोख्रेल बाल्यकालदेखि नै विलक्षण थिए । उनले १४ वर्षभएदेखि नै पुराण पनि वाचन गरे । त्यसैबेलाको डोरी बाटिँदै जाँदा उनका लेखरचनाहरू प्रकाशित हुन थाले । त्यही सिलसिलामा उनका पाँचवटा कृति प्रकाशित भए । धनकुटा स्कुलको यिनले 'हिमाञ्चल' नामक पत्रिकाको पनि सम्पादन गरे । उनले प्रायः रेडियो नेपाल र नेपाल टेलिभिजनबाट पनि प्रवचन दिए । तर विडम्बनाको कुरो, त्यही रेडियो र टेलिभिजनले उनको स्वर्गारोहणको समाचार सम्प्रेषण भने गरेन । उनीजस्ता विद्वानको कदर न राजदरबारले गरेको थियो नत सिहंहदरबारले नै गरेको थियो । उनले जनस्तरको गुणराज पुरस्कार र पदेन हिसावको त्रिवि रजत पदक चाहिं पाएका थिए ।
लीलाराम पोख्रेल र लोकमायादेवीका दोस्रो सन्तानका रूपमा १९८७ साल चैत शुक्ल रामनवमीका दिन धनकुटामा हेमचन्द्र पोखरेलको जन्म भएको थियो ।
पोखरेलले धनकुटामा आफ्ना बुबाका काखमा बसेर कखरा पढे । त्यसपछि उनी पढ्न सिन्धुली पुगे । अनि उनले हरिद्वार र वनारसमा उच्च शिक्षा ग्रहण गरे । वनारसबाट नै उनले साहित्याचार्य गरे ।
पोख्रेलका बालसखा पं.कृष्णप्रसाद वस्ती थिए र त्यसैले वस्तीकै सल्लाहले उनले वस्तीकी बहिनी पर्नेसँग प्रीति गाँसे । अनि १८ वर्षो उमेरमा उनले गौरीकान्त वस्ती र योगमायाकी एक मात्र सन्तान १५ वषर्ीय चन्द्रकलासँग लगनगाँठो कसे । साथै यी दम्पतिबाट २ छोरी र ५ छोरा जन्मे ।
पोख्रेलले आफ्ना सन्तानलाई पनि हरेक ब्यवहारमा आफूजस्तै पारङ्गत बनाउने चेष्टा गरे । उनी पनि सानैदेखि गीत गाउँथे, बाँसुरी र तबला बजाउँथे । उनी हार्मोनियम बजाउन पनि सिपालु थिए । उनले गानाबजानाका सम्पूर्ण सीप बाँचुन्जेल प्रदर्शनी गरिरहे । उनीझैं उनकी छोरी भारती गौतमले पनि नेपाली साहित्यमार्फ आफ्नो नाउँलाई देशदेशान्तरमा फैलाई रहेकी छिन् ।
पोख्रेल घर व्यवहारमा सारै रूचि राख्थे । उनी घरको सारा काम आफै भ्याउँन रूचाउँथे । उनी दुनाटपरी गाँस्थे, लुगा सिलाउँथे, सेलरोटी, मीर्ठाई र तरकारी पकाउन सिपालु थिए । उनी आफ्नो घरमा आफै लिपपोत गर्न मन पराउँथे । घरमा खाने चामल उनी आफै निफन्थे । साथै घरका लुगा धुने काम पनि यी आफै गर्थे ।
पोख्रेल प्रकृतिका सबै विषयमा आफ्नो सहकार्य जोड्न खोज्थे । त्यसैले यिनले आफ्ना घरबारीमा फलफूल र तरकारी आफै रोप्थे र आफै गोड्थे । उनका घरमा उनी विविध फूलबिरुवाहरू उमारिरहन्थे । जुनार, सुन्तला, हलुवावेद, लहरे आँपका रूख उनका बारीभरी हुन्थे । उनी बिहान, बेलुका र विदाका समयमा सधैं घरायसी काममा मात्रै घोटिन्थे ।
पोख्रेल आधुनिक र शास्त्रीय दुबै परम्परालाई मान्थे । उनी वैज्ञानिक औषधीमूलोदेखि धामीझाँक्रीसम्मको पनि काम गर्थे । गाउँलेलाई सानातिना रोग लागेको छ भने उनी झारफूक गरेर निको पार्थे । साथै उनी प्रकृति र आयुर्वेदिक प्रणालीबाट पनि उपचार गर्थे । त्यसैले धनकुटेहरूले उनलाई सानो डाक्टर भन्थे ।
पोख्रेलकी कान्छी छोरी आरतीले २४ वर्षो उमेरमा आत्महत्या गरिन् । त्यस घटनाले यी २०४० सालदेखि रन्थनिरहेका थिए । वास्तवमा त्यसबेलादेखि उनी मानसिक रूपमा कमजोर भएका थिए ।
पोख्रेलको जीवनमा उनकी पत्नी नै र्सवस्व थिइँन् । त्यसैले उनी श्रीमतीसँग एक रात छुटि्टनु पनि महाभारतको युद्ध जित्नुभन्दा सारो ठान्थे । यतिहुँदाहुँदै पनि उनकी पत्नी चन्द्रकलाले उनीभन्दा पहिले नै अर्थात् २०५२ सालमा पृथ्वी छाडिदिइन् । त्यस घटनाले उनका शिरमा ड्याम्मै आकाश खसेको अनुभूति भयो । त्यस घातमा उनी धुरुधुरु रोए । वास्तवमा उनी अर्कालाई सम्झाउन सिपालु थिए तर यिनकी पत्नीको निधनमा उनले आफूलाई विचलित नै बनाइरहे । त्यसपछि उनी बैराग्य नै भए । मीठो मानेर खाने र राम्रो लाएर हिंड्ने बानी परेका उनी त्यसपछि आफैमा लथालिङ्ग हुन थाले ।
पोख्रेललाई त्यस धनकुटाले हरेक पल रुवाउन थाल्यो । अनि उनले आफन्त माझ आफ्नी पत्नीका बारे बराबर भन्ने गरे 'म जे थिएँ चन्द्रकलाकै कारणले थिएँ ।' त्यसैले चन्द्रकलाको अभावमा उनले आफ्नो जन्मथलो पनि चटक्कै छाडिदिए । उनी २०५२ सालमा काठमाडौंमा छोरा किशोरलाई पछ्याएर बसाइँ सरे र त्यसपछि उनी धनकुटा पुगेनन् ।
काठमाडौं बसिन्जेल पनि पोख्रेलभित्रै बिचलनले छाइरहृयो । अमेरिकामा बसेकी उनकी छोरी भारतीले उनको हरेक माग पुर्याउन खाजिन् तर सकिनन् र उनका छोरा किशोरले उनलाई हरेक पल बोक्न खोजे तर सकेनन् । पत्नीवियोगले उनी मरणासन्नै भए । अन्ततः उनले आफ्नी पत्नीलाई नै पछयाए । भनौं २०५५ साल भदौ ७ गते ललितपुरको पाटन अस्पतालमा उनी स्वर्गीय भए ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2071

लेखकका अन्य रचनाहरु