कफी मिटिंग

- नम्रता गुरागाईं

के हामी कफी खांदै ओपनिंग जबको बारेमा कुरा गर्न सक्छौ ..? जेकले प्रस्ताब राख्यो । मान्छेहरु फास्टफुडका रेष्टुरेन्टहरु पर्किन्समा,
स्टारबक्समा अन्तरवार्ताका लागि गएको सुनेकीले किन नहुनु हुन्छ भनी तुरुन्तै जवाफ फर्काएं । केही दिन अगाडिमात्रै कम्प्युटरका सफटवेरलाइ कसरी अपरेसन गर्छेस भनेर सोध्नु सोधिसकेको थियो । मनमा किबोडका दांत झिकेजस्तै सफटवेरका एउटा एउटा टयाबहरु झिकेर घर लगे भैहाल्यो नि, काम लागे चलाउंला नलागे फालिदिउला, के सोध्छ होला र...? बनाउन पो आउदैन त बिगार्न त आइ हाल्छन नि भन्छु भनेको त अर्के अर्के प्रश्न सोधेर धुरुक्कै पार्याथ्यो । धेरैजसो प्रश्नका सजिलै उत्तर दिएपनि केही केहीले दांतमा ढुंगा लागेजस्तै पार्याथ्यो । तैपनि घुमाएर सजिलै बनाइदिएर कुराको विट मारेकी थिएं । अब के सोध्नु छ र बोलाएको होला, कौतुहलता झनझन बढेर आयो । यसले मलाइ सांच्चै जागीरको अफर नै गर्न बोलाएको हो त ...? के यो मप्रती पोजेटिभ छ त ...? अथवा यतिकै झुडयाउन मात्रै बोलाएको...? यसकै पो अब टेष्ट गर्नुपर्यो भन्दै उसको इमेल पर्खिएर बसें । नभन्दै कफी मिटिंगका लागि तुरुन्तै समय र बार समेत तोकेर पठायो । मैले ओके भनेर फर्काइदिंए ।

कफी खाने कुराले निकै खुल्दुली मचायो । कसरी खाने होला त जेकसंग कफी...? हतार हतार पिए दांत र जिब्रो एकै डल्लो पर्ने हो कि, अथवा कुरा गर्दागर्दै विर्सिएर पछि पानी पिएजस्तो तनतनी पिएर सिनित्तै पो पार्ने हो कि, के गर्ने गर्ने भयो । अन्तरवार्ताका लागि बोलाउंदा उसका बानी ब्यहोरा कस्तो छ, टिममा मिलेर काम गर्न सक्छ कि सक्दैन, त्यही हेर्नका लागि बोलाएका हुन्छन अरे । दुइ चार जना मान्छे भएको टिमको त के कुरा र..बेलाबेला दुइ तीनसय मान्छेलाइपनि कन्ट्रोल गरेकै हो त्यो त गाह्रो भएन । अब बेहोरा चाहिं कस्तो देखाउने हो त भन्ने कुरा सोचेर निन्द्रा लाग्न छोडयो । मनमा अपठयाराहरु खेल्न थाले । एकमनले चियापनि नखाएजस्तो जंगली चाहिं न हो न ...? उहिले त चिउरा समेत हालेर स्वामस्वामी खान्थिस त...? अनि खुटटा हल्लाइ हल्लाइ अरुलाइ भए नभएका गफपनि दिन्थिस त ..? हो त्यस्तै गफ दे न..? उबेला त रेडियो बोलेको भएपनि बन्द गर्नुहुन्थ्यो जस्तै पार्थिस नि भन्यो । अर्र्काे मनले फेरी बिर्गेको रेडियोजस्तो भटट....टट.. गरिस भने कफी खानपनि विर्सिन्छेस, के बोल्नुपर्छ त्यो पनि र्बििर्सन्छेस नि, ठीक्क बोल भन्दै ठोक्यो । त्यो ठीक्क भनेको चाहिं कति हो नि...? पहिलो पटक चिनेको मान्छेसंग भेटदा बोलेजस्तो नाम ठेगाना, आराम, विराम मात्र सोधे अन्तरवार्ताको चुरो नै विर्सिने हो कि ..? अथवा घनिस्ट मित्रसंग कुरा गरेजस्तो गर्दा घर ब्यवहारबाट कुरा निस्की देश विदेश सम्म पुगेर उसकै दिमाग पो एक फन्को घुमाइदिने हो कि ..? कस्तो हो त ठीक्क भन्या भन्दै धेरै प्रश्नहरुले मलाइ एकैचोटी घोचे तर कफी मिटिंग कसरी सुल्झाउने उत्तर आएन ।
चिनी नहाली खाएको कफी गफमा कुरै टररो र तितो भएर चिनारीमै जागिरको पुर्णविराम लाग्ने त हैन अथवा धेरै चिनी हालेर जिब्रै भित्र पसेर बोल्नै नसक्ने त होइन...? अझै नानाभांती कुरा खेल्न थाले । कफी मिटिंगका लागि धेरैं प्राक्टिस हुन थाले । घरमा चियाको साटो कफीका गफ धेरै निस्कन थाले । बेला बेला त लन्च र डिनरमा पनि कफी नै खाने हो कि जस्तो लाग्न थाल्यो ।

दुखी मोरालाइ अन्तरवार्ताका लागि रिकरुटरका भुतहरु यति खनिइ सके कि भनेर साध्य छैन । हप्तामा दुइ तीनवटाले फोनमै दिमाग खाइरहेको हुन्छन । यो जागीर त पक्कैपनि आफनै लागि हो जस्तो गर्छन । तलबको कुरासम्म सोधिसक्छन अनि अर्कोपटकबाट त्यो फोन आउदैन । उनिहरुले सोधेको प्रश्नको उत्तर दिन अभ्यस्त भैसकेकोले के सोध्छ होला भन्ने प्रश्नहरुपनि कण्ठै भइसके । बेलाबेला त मैले पढेको वेबसाइट
पढे कि क्या हो भन्नु जस्तै गरी प्रश्न सोध्छन तर पनि उनिहरुका घुमेका प्रश्नको जवाफ चित्त बुझने दिनै पर्यो । रिजुमी नै पठाएका हेर्ने हो भने त पचास नाघिसक्यो तर अहिले भने अर्को पटकपनि फोन गरेकोले मेरो जागिरे आसा झांगिएर आयो । फलोअपमा परिएकोले कफी मिटिंगको
प्राक्टिस दह्रै गर्न थालें ।
धेरैपटकको कफी अन्तरवार्ताको प्राक्टिसपछि आफुलाइ बलियो भएको ठानेर ओछयानतिर लागें । एकछिनमा चिया र कफीको मारामार पर्न थाल्यो । सस्तो र सजिलै किन्न पाउने भएकोले यो घरमा पहिला मलाइ ल्याइ अहिले तं महंगो कफी मेरो भाग खान आउने...? भन्दै चिया बोतलबाट पोखिन थाल्यो । कफीपनि के कम र । उसले तेरा जमना गए अब बाबै, यत्रो बदलिंदो जमानामा मान्छे मेरा पछि नलागेर तंलाइ मुखमा झुण्डयाएर हिडिरहन्छन कि क्या हो..? हो त्यही भएर मपनि आजदेखि यो घरमा आएको भनेर धम्कीको भाषा बोल्न थाल्यो । चिया सानैदेखि मुखभित्र पसेपनि आधुनिक जमनामा कफी को चुस्की पनि लिनै पर्ने मलाइ उनिहरुलाइ छुटयाउन गाह्र्रै पर्यो । मेरा चिया र कफी झगडा गरेको पर बसेर त्यही मोरो जेक पो हेरिरहेको रहेछ । हैन आगो त यसैले पो लाएछ कि क्या हो..? नत्र किन त्यहा आएको होला त ...? मनमा कुरा खेल्न थाले । उसलाइ सोधिहाल्नपनि भएन तर कसरी मिलाउने हो चिया र कफीकोे झगडा बढो मुस्किलमा थिएं म । अन्तरवार्ता लिने मान्छेले हेरिराखेकोले टालटुल मात्रैपनि गर्न भएन । जेकलाइ देखाउनैका लागिमात्र भएपनि चिया र कफीलाइ मिलाउन आफना सबै रणनितिहरु प्रयोग गर्न थालें । एक्ला एक्लै पारेर उनिहरुलाइ संझाएं । नभन्दै एकछिनमा चिया र कफी मिलेपनि । उनिहरु मिलेपछि ल म पास भएं भन्दै उठदा पो ब्युझिएं । थुक्क... सपना देखेको पो रहेछ । यही मेरो कफी मिटिंग भएको भए जागीर त हातैमा.... । तरपनि सपनामा त्यत्रो मुददा मिलाइ सकेपछि विपनामा नमिल्ने त कुरै हुदैन नि ... । पास हुन बांकी त्यही एउटा अन्तरवार्ता न हो कसो नहोला त ..?

नर्थ क्यारोलाइना

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु