अनौपचारिक संस्कृति

- आन्ना ढुङ्गेल

हप्तामा एकपटक शनिवार आउँदा पनि निकै खुशी लाग्न थालेको छ । यो शनिवार भने यसो पशुपतिनाथतिर जाउँ कि भनी म हिंड्दै थिएँ । निकै लामो समयपछि आज बाल्यकालको साथीसँग ललिता भेट भयो । मैले त चिन्नै सकिन । उनलाई पनि कन्फ्युज भएरै होला मेरो अगाडि टक्क अडिइन् । मैले माक्स खोलें । उनी पनि झन् नजिक आइन् । केही बेरपछि दुबै एक अर्कोमा चिरपरिचित भयौं । वातावरण सहज भयो । करिब १५ वर्षपछि हाम्रो भेट भएको रहेछ । दुबैले आफ्ना सामान्य स्थितिको बारेमा भलाकुसारी ग¥यौं । उनी एक सामाजिक कार्यक्रममा सहभागिता जनाउनका लागि हिंडेकी रहिछिन् । उनलाई भेट्ता म जति खुशी थिएँ उनी मभन्दा पनि ज्यादा खुशी भएको अनुभव गरें । क्षेत्रफलकै हिसाबले हेर्ने हो भने काठमाण्डौ कति नै ठूलो ठाउँ हो र ? तर देशको राजधानी जस्तो ठाउँ, सबै व्यस्त । यस शहरको व्यस्तता अनि बाक्लो बसोबास, यसैले पनि हाम्रो भेट नभएको हुन सक्छ । आजको दिन पनि राम्रै रहेछ संयोगले तिमीसँग भेट भयो, मैले भनें ।
उनी मुस्कुराइन् । म एक्लै थिएँ । ललिता भने आफ्ना श्रीमानसँग रहिछिन् । उनले आफ्नो श्रीमानसँग पनि परिचय गराइन् । कार्यक्रमका लागि समय भइनसकेकाले हामी सँगै पशुपतिनाथतिर गयौं । पशुपति मन्दिर प्रवेशद्वार नजिकै केही दृष्टि गुमाएका महिला पुरुषको समूह बस्ने गर्दछ । प्रायः शनिवारको दिन त्यहाँ उनीहरूले हार्मोनियम बजाउँदै गीत गाउँछन् । म प्रायः पशुपति जाँदा आउँदा यस समूहलाई आफूले सकेको धेरथोर सहयोग गर्दछु । त्यसपछि हामी पशुपति परिसरकै सानो चिया पसलमा एकछिन बस्यौं । सँगै चिया पियौं र रमाइला रमाइला कुराकानी ग¥यौं ।
केहीबेरको बसाइपछि उनले मलाई पनि उक्त कार्यक्रममा जानुपर्छ भन्ने अनुरोध गर्न थालिन् । सो कार्यक्रम डिल्लीबजारमा हुँदै रहेछ । शनिवारको दिन, म पनि केही फुर्सदिलो नै थिएँ । त्यसमा पनि बल्ल यतिका समयपछि उनीसँग भेट भएको अनि एक–आपसमा दिल खोलेर कुरा गर्न पाएको मेरो खुशीको सीमा नै रहेन । त्यसैले पनि उनको अनुरोधलाई स्वीकारें । मलाई पनि यस्ता सामाजिक कार्यक्रममा सरिक हुन मन नलाग्ने कहाँ हो र ? हामी सरासर डिल्लीबजारतिर लाग्यौं र कार्यक्रम हलमा प्रवेश ग¥यौं ।
हामी पुग्दा हल लगभग भरिसकेको थियो । कार्यक्रममा सहभागीहरूमध्ये आधाभन्दा धेरै महिलाहरू नै थिए । हाम्रो समाजमा महिलाहरूको स्तर केही हदसम्म भए पनि माथि उठ्दै गरेको देख्ता मलाई निकै खुशी लाग्यो । यो कार्यक्रम मेरो मनले भनेजस्तै हुँदैछ भन्ने लाग्यो । कार्यक्रम हलमा जम्मा हुनुभएका पुरुष दाजुभाइहरूले महिलाहरूलाई हौसला प्रदान गरिरहनु भएको देख्ता त झनै खुशी लाग्यो । कार्यक्रमको विषय थियो ‘समाजमा महिलाको स्थान उच्च हुनुपर्छ’ । कार्यक्रम सञ्चालिका महिला नै हुुनुहुन्थ्यो भने प्रमुख अतिथिको स्थान पनि महिलालाई नै दिइएको थियो । यत्तिकैमा कुनै प्राविधिक कठिनाइका कारण निर्धारित समयभन्दा कार्यक्रम केही ढिला सुरु हुँदै भन्ने जानकारी कार्यक्रम सञ्चालिकाबाट पाइयो ।
हामी फेरि एकछिन कार्यक्रम हलबाट बाहिर निस्क्यौं र गफगाफमैं व्यस्त रह्यौं । कार्यक्रम पनि महिलासँगै सम्बन्धित भएकाले हाम्रो गफगाफ पनि त्यसै अनुरूप चल्दै थियो । महिलामाथि भएका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधका विषयमा कुरा उठे । हामी दुई बीच चलेको कुराकानी लगभग लगभग कार्यक्रमको विषयसँग मिल्दोजुल्दो भएकाले त्यहाँ एकपछि अर्को गर्दै १०–१२ जनाकै समूह बन्यो । त्यसैमध्ये विनीता नाम गरेकी एकजनाले महिला सहभागीले भनिन्– “सबै महिलाहरूलाई सामाजिक कार्यमा प्रोत्साहित गराउन पुरुषको ठूलो हात रहेको हुन्छ । प्रत्येक घर घरबाट महिलालाई पुरुषको साथको अनिवार्यता छ । प्रोत्साहन र प्रशंसाले नै महिलाको उठान सम्भव छ ।” यस्तै यस्तै उनले बीच बीच उखान तुक्काहरू जोड्दै, सामाजिक परिवेशलाई पनि समेट्दै महिला विकासका र उत्थानका बारेमा धेरैबेर बोली नै रहिन् । उनले बोलेको मैले ध्यानपूर्वक सुनिरहें । म उनको बोल्ने शैली र मीठो स्वरले मन्त्रमुग्ध भएँ ।
एकपछि अर्को गर्दै प्रायः सबैले अनौपचारिक रूपमा आ–आफ्नो धारणा राखिसकेका थिए । केवल कार्यक्रमलाई औपचारिकता दिन भने बाँकी थियो । अनौपचारिक रूपमै भए पनि मैले ललितालाई आफ्ना विचारहरू राख्न आग्रह गरें । मेरो आग्रहलाई स्वीकार गर्दै उनी बोल्न थालिन्– कुनै समय यस्तो थियो कि छोरीलाई रजस्वला हुनुभन्दा अगाडि नै कन्यादान गरिदिने अर्थात् बालविवाह गर्ने । जबकि उनीहरू विवाहको अर्थसित पनि परिचित थिएनन् । बाबु आमाको, इच्छा अनुरूप विवाह गर्नैपर्ने, चाहे वृद्ध नै किन नहोस् । विवाह पश्चात् पनि बुढ्यौलीका कारण होस् या कुनै दुर्घटनाको कारण जुनसुकै अवस्थाले पनि उनको श्रीमान्को मृत्यु भयो भने बृद्धा होस् वा युवती या बालिका नै किन नहोस् मृत पतिसँग जिउँदै जल्नुपथ्र्यो । हजारौं, आमा र दिदी बहिनीले यसरी नै जल्दै आए । त्यति बेलाको समाजका मानिस सोच्न पनि सक्दैनथे, यो संस्कार हटाउन सकिन्छ भनेर । चिता जलिरहँदा भाग्ने पत्नीलाई लौरो वा ढुङ्गाले हिर्काएर तिनै समाजका मानिसले मार्थे । ढुङ्गा र लौरो प्रहार गरी गरी मार्ने पनि हाम्रो समाजका पुरूष वर्ग हुन् । तर, समयसँगै मानिसमा आएको चेतना र परिवर्तनले यस्ता चलन हट्न सफल भयो । यस्ता धर्म र संस्कृतिका नाममा हुने विकृतिको अन्त्यका लागि पनि हाम्रै समाजका पुरुष वर्गको योगदान रहेको छ । केही वर्ष अघिसम्म विधवाले रातो सारी, टीका, चुरा लगाउने कल्पनासम्म पनि गरिँदैनथ्यो । अहिले त्यसलाई पनि समयले सहज बनाइदिएको छ, यस्तो प्रताडना हटिसकेको छ, । यसमा केवल महिला मात्रको योगदान भने होइन । यस्ता कार्यहरूले सफलता पाउँदै जानुमा यसै समाजका पुरुष बुवा, दाजु भाइहरूको पनि ठूलो देन रहन गएको छ । दिनानुदिन सामाजिक सुधारका सङ्केत देखिएका छन् । समाजमा रहेका यस्ता उच्च विचारशील महिला–पुरुष सबैको हामीले खुलेर प्रशंसा गर्न कहिल्यै कन्जुस्याँइ गर्न हुँदैन । लौ त साथी हो ! विशेष प्राविधिक कठिनाइका कारण आजको यस कार्यक्रमलाई औपचारिकता दिन नसकेको म कार्यक्रमका सञ्चालकका तर्फबाट माफी माग्न चाहन्छु । धन्यवाद ।
कार्यक्रमलाई औपचारिकता दिन नसकेको हामीलाई पनि कुनै किसिमको खल्लो महसुस भएन । सबैजना उठेर आ–आफ्ना बाटो लाग्यौं ।

नयाँ बानेश्वर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 2 श्रावण, 2071

लेखकका अन्य रचनाहरु