विचराहरू

- माधव काफ्ले

एब्स्ट्रयाक आर्ट जस्तै लाग्छ जीवन मलाई, विचारको क्यानभासमा कोरिएका केही गणितीय रेखाखण्डहरू जस्तै । केही रोमाञ्च भए–भए झैं, केही रहर बढे–बढेझैं र केही रहस्य रहें झैं । मानौं भूत र भविष्यसँग गाँसिएका केही आशाका अवशेषहरू वर्तमान र विचारसँग बाँधिएका केही विषयहरू, चिन्तन र चरित्रसँग चिप्लिएका अन्तरश्चक्षुका डोबहरू कतै हाँसे झैं, कतै उकुस–मुकुस भएझैं धमिराको दिउल झैं सिङ्गो स्वरूप लिएर ठडिए पनि हिउँद, वर्षा र ग्रीष्मको प्रचण्ड राप र रश्मिले क्षत विक्षत हुँदै कतै भताभुङ्ग भएर फुत्किए झैं फालिए झैं ।
समयको लामो अन्तरालमा सीमाबद्ध भएका अनुभूतिहरू, गतिशील हुन बाँकटे हानेका विचारहरू, व्यथा र वेदनामा बहकिएर बगेका लिप्सात्मक दृष्टिकोणहरूको विरासतमा विशृङ्खलित व्यवधान अग्राखको चुरो बनेर मूलबाटामा ठडिएपछि जिन्दगी जिउनुको अनमोल अनुभूतिमा गाँसिएर गुम्फित हुनुभन्दा पनि अनावश्यक अर्थहरुको आसुरी आडमा उभिन खोज्ने हुनाले अभाव र अभिशापको पर्यायकारुपमा रूपान्तरित हुन खौज्दै गएकाले जीवनको परिभाषा झन् झन् मसाङ्ग्रिदै, झन्–झन् साँगुरिंदै र सिकसिकाउँदै गइरहेको छ । आग्रह र पूर्वाग्रहको सुम्लोलाई सिनित्त पारेर मनबाट निकालेर, मुटुबाट निचोरेर मिल्काउन सके जीवनमा धेरै इच्छा र आकाङ्क्षाका जुगुप्साहरू नियाल्न सक्छौं, अर्थ र अनर्थका विम्वहरू हेर्न सक्छौं, आशा र उत्साहका छविहरू छाम्न सक्छौं र प्रेरणा र प्रवृत्तिका पुञ्जहरू पाउन सक्छौं । जीवनको विराट् आबद्ध अनुभूतिका आयाम र अन्तरसम्वेदनालाई सँगाल्दै भनौं आत्मसात् गर्दै अघि बढ्ने हो भने संसारका अप्राप्य वस्तुका साथै आधारभूत आस्थाका अनमोल आधार शृङ्खलाहरू पाइन सकिँदो रहेछ जीवनबाट । झट्ट हेर्दा केही नबुझे÷नलागे÷नदेखिएता पनि हेर्दै जाँदा, बुझ्दै जाँदा र भोग्दै जाँदा बाँच्ने आधारका गुणतम रहस्यका पाटाहरू चलचित्रको छविजस्तै अर्को पछि अर्कोको रूपमा अनुभूति गर्न सकिंदोरहेछ । आफ्ना आँखा निश्छल भए, हेर्ने मन चोखो भए र विचार विवेकशील (सर्वजनहितायको पक्षमा) भए मान्छेले संसारका चिरउपलब्धिहरू जीवनमा नै सन्निहित भएको देख्छ र जीवनलाई सृष्टिको अनुपम उपहारका रूपमा ग्रहण गर्दै परिभाषा र व्याख्याको बाटो फराकिलो बनाउँदै बाँच्ने आधारलाई अझ दरो बनाउँदै लैजान कसैले रोक्न सक्ला जस्तो लाग्दैन ।
प्रकृतिका अनमोल उपलब्धिहरू मध्ये सर्वोच्च उपलब्धि नै मानव जीवन हो । मानव भएर मात्र उसमा चोखो अनुभूति भएन भने, सम्वेदनशीलता भएन भने, मानव–मानवबीचको अन्तरसम्बन्धलाई जोड्ने आत्मीयताको पौल प्रचुर मात्रामा भएन भने बाँच्नु र नबाँच्नुको औचित्य नै पो के हुन्छ र ? आफूले कज्याउन खोजेको सुख र सन्तोषका आधारहरू, अर्थ र उपलब्धिहरू, खुसी र रहरहरू सार्वजनिक गर्दै अरूलाई बाँड्न सके, तिर्सनाका निमित्त वस्तु–विनिमयको बुख्याँचाभन्दा माथि उठेर मनलाई फराकिलो र फाँटिलो बनाउन सके बाँच्नुको मजा नै अर्कै हुन सक्नेरहेछ ।
तर वर्तमान बेथितिको विरूप अनुहार बोकेर जिउनुको सार्थकतालाई सकस र सङ्कटको भुँमरीमा धकेल्न उद्यत भैरहेको छ, अनुभव र अनुभूतिको अजिङ्गर भएर उग्राइरहेको छ, अहारिस र अहङ्कारको काँचो वायु बनेर दौडिरहेको छ र त मान्छे पुर्खाहरूद्वारा प्रतिपादित परम्परागत मूल्य र मान्यताको मार्गलाई फराकिलो बनाउनको साटो म¥याकमुरुक पार्दैछ, मास्दै छ र मोलतोल गर्दैछ । विज्ञानका चरम उपलब्धिहरूको कुनै एकाइलाई आत्मसात् गर्ने बित्तिकै आफूलाई महान दार्शनिक र सु–संस्कृत विज्ञ ठान्ने मध्ययुगीन दास मनोवृत्तिबाट ग्रसित सङ्कीर्ण मानसिकता बोकेर हिंड्ने बगरेहरूलाई के थाहा बाँच्नुको गरिमा र महिमाको अर्थबोध । सम्पत्ति र सुविधालाई नै सबैथोक ठान्ने आजको सम्भ्रान्त समाजले प्रदर्शन गर्ने गरेका शिष्टता र सभ्यताको स्वरूप मखुण्डाधारी नर्तकीहरूको नृत्य जस्तै लाग्न थाल्दछ । यसले गर्दा पनि जीवनको महिमा र गरिमाको अर्थबोध झन्झन् चाउरिंदै, चेपिंदैं, चोइटिंदैं र चर्कर्दै गैरहेको दखिन्छ । उत्पादनशीलताको बलमा मान्छेले आर्जन गरेका अध्ययन र अनुसन्धानका तमाम उपलब्धिहरूमा पनि कता कता पटास र पगटा मिसिए झैं यस अर्थमा लाग्न थालिरहेछ कि त्यसको मूल्य र महत्ता उच्च हुँदाहुँदै पनि त्यसले जिउनुको सार्थकतालाई सम्पत्ति र शक्तिमा रूपान्तरित गर्दै व्यापार विनिमयमा बाँध्न खोजिरहेछ, बाँच्न विवश बनाइरहेको छ । मान्छेको जीवन मलाई लाग्छ सम्पत्ति र सुविधामाभन्दा पनि अमूल्य र प्रभावकारी हुनुपर्दछ । यसलाई वस्तुसँग दाँजेर हेर्नुभन्दा यसलाई स्वतन्त्रतापूर्वक उपयोग गर्नुपर्दछ भन्ने मेरो कोर्काली मानसिकता रही आएको छ । विज्ञानको चमत्कार विश्वव्यापी रूपमा बढ्दै गएता पनि विज्ञानले मान्छेमा उत्साह र आशाका मुजुरा उमारेता पनि अभावग्रस्त मान्छेलाई कुण्ठा र हीनताबोधको जस्केलाबाट गुज्रन विवश बनाउँदै छ एकातिर भने अर्कातिर विकीरण र विसङ्गति प्रकोपको थुप्रोले थिच्दै छ मान्छेलाई ।
स्वनिर्मित गुण र आधारहरूलाई अस्वीकार गरी यान्त्रिक तालिकामा मान्छेहरूलाई बाँच्न विवश बनाउनु नै जीवनप्रति घोर अपहेलना र अननुभूत गर्नु हो । भन्न त मान्छेले भौतिक सुविधाका लागि यसो गरिएको हो उसो गरिएको हो भन्ने झिनो तर्क तेस्र्याउन सक्छन् तर भौतिक सुविधा र सम्पन्नताले मान्छेलाई स्वावलम्बी बनाउनुको साटो परावलम्वित बनाउँदै गईरहेको सत्यलाई किमार्थ अस्वीकार गर्न सकिन्न । भौतिक सुविधा र सम्पन्नताले सिर्जना गरेका वेथिति र विकृतिको गोमनले छातीमा कुुँडुली मारेको देख्दादेख्दै पनि बाँच्न विवश छ मान्छे । मान्छेले आफ्नो श्रम र सीपलाई भौतिक सुविधा र सम्पन्नता भनौं सम्पत्ति सञ्चयका निम्ति सीमाबद्ध गरेता पनि यो प्रवृत्ति मलाई सोह्रै आना दुराग्रहयुक्त छ जस्तो लाग्दछ । सम्पत्तिले सम्पूर्ण वस्तु सङ्कलन गर्न सकिन्छ भन्ने सापेक्ष मानिसकता बोकेता पनि यो सोच सधँै चिरस्थायी नहुन पनि सक्छ । परिवर्तित समयको असन्तुलित शृङ्खलाले भोलि मान्छेलाई सम्पत्तिले सबै समस्याको समाधान गर्ने पूर्वाधार निर्माण गरे पनि अन्न उत्पादनमा ह्रास आएका बखत खाद्यान्न सङ्कलन गर्न असमर्थ भयो भने खाद्यान्नको वैकल्पिक स्रोत र साधन निर्माण नहुन्जेल सङ्कलित सम्पत्ति र सुविधाबाट पेट नभरिएपछि हुने मान्छेको हालत र हविगत कस्तो हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ । यस अर्थमा पनि सम्पत्ति र सुविधाले हामीलाई जीवनको गूढतम रहस्यबाट विमुख बनाउँदै कृतिमताको काँचुलीमा बाँच्न विवश बनाउँदै लग्दै छ । आफ्नो सीप र जाँगरलाई सुविधाका निम्ति समर्पण गरेको हुँदा जिउनुको नैसर्गिक गुण र आधारहरूमा ह्रासको पैरो निम्त्याएर अपाङ्ग र अनिर्णयका बन्दी हुँदै गैरहेको छौं हामी ।
यी सबैको कारक तत्व मलाई लाग्छ अपर्याप्त अध्ययन र आंशिक बौद्धिक सोंच र चिन्तन हो । विद्यार्जन जस्तो अति संवेदनशील र उच्च गरिमामय विषयलाई समयको सीमाना बाँधेर विविध विचारमा पोखिंदै र पखालिंदै गईरहेको मानिसकता बोकेको हुनाले हाम्रो जीवनप्रतिको दृष्टिकोण मधुरो र मालिनु हुँदै गैरहेको छ । गुरुकुल शिक्षामा विद्यार्थी घन्टा, हप्ता र महिनाभन्दा पनि तत् विषय ज्ञाता नहुन्जेल वर्षौंवर्षसम्म आश्रममा अध्ययन गरे पश्चात दीक्षान्त लिने हुनाले गुरुकुल शिक्षाका अधिकांश अनुयायीहरू अमर भए तर आजका दीक्षार्थीहरू समस्त साधन र स्रोतको उर्वर भूगोलभित्र बाँचेका हुँदा उनीहरूले आर्जन गरेका अध्ययन अधकल्चो र अपर्याप्ततामा अल्झिरहेझैं प्रतीत हुँदै छ । उच्चशिक्षाको ध्वाँस दिने स्नातकोत्तर तहबाट विभूषित व्यक्तिहरूलाई माध्यमिक स्तरको परीक्षामा पुनः परीक्षा दिन लगाउने हो भने ९५ प्रतिशत व्यक्ति उतीर्ण हुन हम्मे पर्दछ । त्यसमा पनि पचास प्रतिशतको हाराहारीमा विश्व विद्यालयका शिक्षक समुदाय पर्दछन् । विश्व विद्यालयमा अध्यापन गर्ने विद्वद्वर्गको विगतका शैक्षिक उपलब्धिका आधारहरू हेर्ने हो भने उनीहरूको शिक्षाको स्थिति सहजै अनुमान गर्न सकिन्छ । पटके परीक्षामा कञ्चटबाट पसिना चुहाएर उत्तीर्ण हुनेहरू नै आजका धुरन्धर विद्वान् भएका छन् भनौं हुँदै गएका छन् । वर्तमानमा व्यक्तिले ज्ञानको महत्तामा विशेष जोड दिनुभन्दा पनि विद्यार्जनलाई नै धनार्जनको स्रोत र साधन बनएका हुँदा अध्ययनको औपचारिकता मात्र निर्वाह गर्न खोजिंदैछ । आफूले अध्ययन गरेको कुनै पनि विषयमा निरन्तर रूपमा विज्ञ भइरहेको प्रमाण पेस गर्न नसक्नु नै यसको उदाहरण हो । पाठ्य पुस्तकहरूलाई केवल परीक्षामा पास हुने खुड्किलाको रुपमा मात्र प्रयोग गरिने परम्पराले पाठ्य–पुस्तकले दीर्घकालीन प्रभाव दिन त नभनौं त्यसमा सन्निहित गुणहरू ग्रहण गर्न चाहिरहेका छैनन् आजका मान्छेहरू ।
सर्ग र पङ्क्ति हैन पूरा महाकाव्य नै कण्ठस्थ पार्ने अग्रजहरू पनि भेटेको छु, त्यस्तालाई मैले महागुरु मानेको छु तर अध्ययनका क्रममा पढेका कुनै कविताका कुनै पङ्क्ति भन्नुपर्दा चट्चटी कन्पारामा पसिना चुहाउने विद्वान् नै भए पनि त्यस्तादेखि घिन लाग्दछ मलाई । औपचारिकताका निमित्त अध्ययन गर्ने अध्येताहरू बुद्धि बेचेर व्यावहारिक बनेको त देखियो तर विद्वान् भएको चाहिं देखिएन । विद्वान् र विवेकी बन्न त लगनशीलताका साथै अभ्यास, अनुभव र साधनामा समर्पण हुनसक्नु पर्दछ । अपवाद अर्कै कुरा हो तर वर्तमानमा जेजति बुद्धिजीवीहरू देखिएका छन् तिनीहरूले प्रदर्शन गर्ने गरेको पण्डित्याइँ देख्दा के लाग्छ भने तिनीहरूले ग्रहण गरेको विद्या भनौं बौद्धिकता भुसमाथिको लिउन जस्तै लाग्दैछ । यस्तो हुनुको पनि एउटा कारण छ –
बाँच्नुको निस्सारताबाट वौेरिएको विचार जसलाई हामी काखी च्याँपेर हिँड्दै छौं, त्यसैको जगमा हामी विद्वत्ताको बिल्ला भिरेर विद्यावारिधिको सपना सँगालेर हिंडिरहेका छौं एकातिर भने अर्कातिर यसको जगको निर्माण गेस पेपर र गाइडको माध्यमबाट गर्दैछौं । त्यो पनि मागेर । अनुपलब्ध अर्कै कुरा हो, उपलब्ध पाठ्यपुस्तक किन्न पनि कामज्वरो आएझैं ठान्छन् कति र कति पुस्तकालयलाई हाउगुजी ठान्दछन् । थेसिस र शोधग्रन्थ पनि कपाली तमसुक जस्तै लेख्यो बुझाइदियो; बस खत्तम ! त्यसको गरिमा र महत्वको औचित्यलाई अति सतही किसिमले आँकलन गरिंदैछ । सर्टिफिकेट लिनासाथ मान्छे आफूलाई विद्वताको चक्रवर्ती सम्राट् ठान्दछ तर आफ्नै उँचाइको ओतमा उभिएको औकातको कमजोर पाटो भने हेर्न अथवा स्मरण गर्न चाहँदैन । आफ्ना कमी कमजोरीहरूलाई सच्याउने यन्त्र भनौं आधार जुन किताब हो जसलाई उसले किन्न चाहेकै हुँदैन र यदि लाज–गाल किनेको भए पनि किलोको भाउमा बेचिसकेको हुन्छ अनि कहाँबाट उठोस् मान्छको चेतना माथि । अरू नसके पनि पाठ्यपुस्तकहरुको पुनर्अध्ययन पटकपटक भए÷गरे त्यो व्यक्ति विद्वान् हुन्छ, र आफूले अध्ययन गरेको विषयमा व्याख्याता हुन सक्छ । जससँग पुनः अध्ययनको आधारनै हुँदैन र जो पुनर्अध्ययनलाई नै काउछो सम्झन्छ उसले के बुझाउला अरूलाई विद्वताको विषयमा । त्यसैले पाठ्यक्रम मागेको भरमा व्यक्ति पास त हुन्छ तर विद्वान् हुन्छ भन्ने कुरामा मलाई विश्वास नै लागेको छैन ।
नेपाली साहित्यमा आफ्नो पदस्थापनाका निमित्त भगीरथ प्रयत्न गर्नेहरू पनि आफ्नो हैसियत र हुति हुँदाहुँदै पनि साहित्यिक कृतिहरू मागेर मोटाउन चाहँदै छन् एकातिर भने पत्रु गाइड र थोत्रा नोटको जुठो चाटेर विश्वविद्यालयको उपाधि हात लगाउन हतार गरिरहेका छन् । यसरी हासिल गरेको विद्याको विज्ञापन गर्दै बौद्धिकताको धाक लगाउन थाल्ने प्रवृत्ति आज पुष्पित र पल्लवित हुँदै गइरहेको देख्दा गोठाले नै भएपनि म तीन छक पर्ने गर्दछु । विद्याविना वौद्धिकताको कल्पना नै गर्न सकिन्न । जसरी सुविधा र सुखका लागि सम्पत्ति सञ्चित गरिन्छ भोक र भोजनका लागि खाद्यान्न सञ्चय गरिन्छ, त्यसरी नै बुद्धि र विवेकका लागि विद्या अर्थात पुस्तक सङ्कलन अध्ययन नगरी कहाँसम्म हुन्छ र ? मानवमस्तिष्कलाई स्मरणको भण्डार मान्ने हो भने पनि स्मरण पूर्णताका एवम् परिपक्वताका लागि पनि पुस्तक सञ्चय अपरिहार्य हुन जान्छ । ज्ञानका कुनै पनि आधार र अङ्गहरू विस्मृतिमा रुमल्लिए भने उपलब्ध सीप र ज्ञान नवीकरणका निम्ति तत्सम्बन्धी स्रोतवस्तुको आधार अपरिहार्य हुन आउँछ । यदि त्यो वस्तु आफूसँग सञ्चय नभएमा कुहिरोमा काग भौंतारिएझैं भौंतारिनुपर्दछ, जसरी आजका विद्वान् विदुषीहरू भौंतारिइरहेका छन् । यस अर्थमा पनि विश्वविद्यालयबाट जतिसुकै मोटो मानार्थ उपाधि हासिल गरे पनि मेरो दृष्टिमा ती सबै निम्सरा छन्, निरीह छन्, निर्वाङ्ग छन् र अतिशयोक्ति हुँदैन भने निस्तेज पनि छन् ।
नेपाली साहित्यले उल्लेखनीय उपलब्धि हासिल गर्न नसक्नु पनि यस्तै कलुषित तत्व हावी भएर हो । आफूले देखेको÷सोचेको र मनन गरको कुरा नै महान् हो । इतर विचारवालाले गरेको राम्रै र उपयोगी कुरा भए पनि त्यसलाई सिनो जस्तो ठान्ने महारोगबाट ग्रसित आजको विद्वद्वर्ग भएको हुँदा यस्तै प्रकृतिको विगविगी र उपवुज्रुग्याँइले गर्दा साहित्यको स्तरमापन यन्त्रको ढाड भाँच्चिएको पनि ।
जीवनबोधबाट बहकिएका यस्ता व्यक्तिहरू जो सम्पत्ति र सुविधाको दास भएर हिंडिरहेका छन् र अर्थलाई नै परमेश्वर ठान्दछन् तिनीहरूका लागि जीवन सिसिफसको कथा जस्तै अर्थहीन हुँदै गैरहेको छ र जो जीवनलाई नै जिउनुको एउटा यन्त्रको रूपमा उपयोग गर्न चाहन्छन् ती बिचराहरू बाँचेर पनि मरेतुल्य हुँदै गइरहेका छन् र तिनीहरूले फूलबुट्टा भरेर उचाल्न खोजको अस्तित्व अन्यौलग्रस्त अन्धकारको भुमरीमा रुमाल्लिइरहेझैं लाग्छ मलाई ।

चन्द्रनिगाहपुर, रौतहट ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 आसाढ, 2071

लेखकका अन्य रचनाहरु