विक्रय वस्तु

- डा. कपिलदेव लामिछाने

बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो । मकै धेरै पोलिसक्यो । बिक्दा होइनन् । मकै खाऊ न भाइ, ताजा–ताजा छन् । मिठा छन् । खाऊ कति सस्तो छ । फलाउन कति गारो छ । खाऊ न बैनी । ... बिर्खे हैरान भयो । बिक्दो होइन । कति कराओस् ? मकै बेचौँला । पैसा पारौँँला । छोरीको फिस तिरौँला । उसको कत्रो सपना थियो । ऊ निराश फक्र्यो ।

एक दिन चमेली मकै पोल्न बसी । राता गाला घाम र आगोले झनै राता भएका हुन्थे । उसका हात मकै पोल्नमा तल्लीन हुन्थे । स्कुले मिड्डी लगाएर बसेकी थिई । सुडौल पिरम्ला देखिन्थे । त्यसमा निश्छल हाँसो र निधारमा बग्दा पसिना । ऊ मकै पोलिरहेकी हुन्थी । यसलाई कति हो ? भनी सोध्ने, मकै किन्ने र त्यहीँ उभिएर खानेको धुइरो लाग्यो । डोकामा ल्याएका मकै सकिन थाले । बिर्खेले अर्को डोको मकै ल्यायो । त्यो पनि सकियो । अर्को पनि सकियो ।

साँझ बिर्खेले सोध्यो– मैले त्यति राम्रोसित पोलेका मकै पनि बिक्दैनथे, तैँले त गजपै गरिस् । के भो यस्तो ? बिर्खेका अनुहारमा प्रसन्नता थियो । चमेलीले लजाउँदै भनी– जमाना नै यस्तै छ बा ! जमाना बुझ्नुपर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 आसाढ, 2071

लेखकका अन्य रचनाहरु