साहित्यकार माधव सयपत्रीसँग संवार्ता

- पेशल आचार्य

(माधव सयपत्री रामेछापको अतिदुर्गम गाउँ फुलासीको प्राविमा अध्यापन गर्दै नेपाली साहित्यमा उदाएका नव आख्यानकार हुन् । उनले फरकफरक विधाका आठवटा कृति नेपाली साहित्यको भन्डारलाई दिइसकेका छन् । उनको पछिल्लो औपन्यासिक कृति ‘सीमान्त विचलन’ रत्न पुस्तक भण्डारले २०६९ मा बजारमा ल्याएको छ । सोही औपन्यासिक कृतिका कारण उनी नेपाली साहित्यमा अहिले विशेष चर्चामा छन् । प्रस्तुत छ – कवि तथा साहित्यकार पेशल आचार्यले लेखन, जीवन र समसामयिक सवालमा उनीसँग गरेको स्रष्टा संवार्ता –सम्पादक )

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
सम्झँदा पनि गज्जबै लाग्छ । हामीलाई र हाम्रा नानीहरूलाई प्रकृतिले त समान व्यवहार ग¥यो नै तर जीवनशैलीका हिसाबले आकाशजमिन कै अन्तर छ । दैनिक छ घन्टा हिँडेर प्राथमिक स्कुलमा शिक्षा लिइयो । अर्काको घरमा भाँडा माझेर माध्यमिक शिक्षा हासिल गरियो । कापीकलम भनेको बेला पाइएन । भोकले कति सतायो कति ? झाडीमा लुकाएर राखेका कोदोको रोटी काँचो पल्टिएको अरूले नै टप्काइदिएको सम्झँदा रमाइलो पनि लाग्छ । यस्ता कुरा छोराछोरीलाई सुनाउँदा उनीहरू दन्तेकथा सुनाएजस्तो मान्छन् । अहिले उनीहरू फोनबाट ‘बाबा, पैसा छैन । छिट्टै पठाइदिनु न ।’ भन्छन् । पैसाको रूखै भएजस्तो गर्छन् । जसरी पनि पु¥याइदिनै प¥यो । यो सुविधा मैले पाएको भए म कति धेरै पढ्थे हूँलाजस्तो लाग्छ । उनीहरू ‘साइबर दुनियाँ’ मा हुर्किरहेका छन् । म ‘फाइबर दुनियाँ’ मा हुर्किएँ (फाइबर भनेको कोदो, फापर, सख्खरखन्ड भनेर बुझौँ) । भौतिक सुविधाको हिसाबले त कहीँ कतै समानता छैन ।
२) यहाँनेर आइपुग्न केकति मेहनत गर्नुभयो त यहाँले ?
दिलोज्यानले लागियो नि ! तर किन लागियो ? के पाइन्छ भनेर लागियो ? प्रश्नहरू उठ्न सक्छन् । पहिले कापीमा लेखेर पठाइयो । कमै छापिए । टाइप गराउन २ घन्टा तल झरेर रातभरि अनिँदो बसियो । चिनजानका साथीहरूलाई मेल गर्न लगाइयो । आपूmसँग सीप नभएपछि कहाँ सम्पादन गर्नु ! मेलबाट रचना पठाउन थालेपछि अलि बढी छापिन थाले । मेरो काममा साथीहरूले सक्दो सहयोग पनि गरे । अहिले गाउँमा बत्ती आएको छ । कनीकुथी आपैmँ टाइप गर्छु । ‘काम चलाउ’ नेट जोडेर मेल गर्छु । यो अवस्था आउनु त मेरा लागि डा.बाबुराम भट्टराईको भन्दा ठूलो ‘ब्रेक थु्र’ नै हो ! त्यसरी नलागेको भए त्यो कुवाबाट यसरी किन बाहिर निस्किन सकिन्थ्यो होला र ! तपाईंलाई पनि थाह छ सर, दुुर्गम गाउँमा एक दसकअघि के नै सुविधा थियो र । त्यस्तो ठाउँबाट उठेर आम पाठकसम्म पुग्नु कम कठिन छैन । जीवनमा साहित्यबेगर अरू केही पनि छैनजस्तो लाग्यो । रोग, भोक र शोक केही भनिँएन । त्यही लगावले एकहदको सफलता मिल्यो ।
३) जीवनलाई बुझ्दै हुनुहुन्छ ? वा बुझिसक्नुभयो ?
जीवनप्रतिको हेराइ र बुझाइ त आप्mनो स्तरको हुन्छ नै । तर साहित्यको सामान्य एउटा विद्यार्थीले के बुभेmँ भन्नु ? बुद्ध, स्वामी विवेकानन्द जस्ताले त राम्ररी जीवन बुभ्mन सकेनन् । जीवन बुझेर र पढेर सकिँदैन । मलाई त जीवन भ्रम पो हो किजस्तो लाग्न थालेको छ । सपनाजस्तो क्या ! हामी बाँचेको भनिएको समय नै भ्रम त हैन ! कतिपय बुज्रुकहरू ‘मैले जीवन बुभेmँ’ भन्छन् । के बुझे तिन्ले ? जीवनका आयामहरू के हुन् ? सार्वभौम उत्तर कसैले पनि दिन सक्दैन । तिनले यत्ति भनिदिऊन्, मान्छे किन जन्मिन्छ ? मरेपछि कहाँ जान्छ ? अरूले लेखेको किताब पढेर स्वर्ग नर्कको कित्ताकाँट गर्ने अधिकार टपरेहरूलाई छैन । सबैले जीवन हैन, व्यवहार बुभ्mने हुन् । हामी जीवन भोगाइमा परिपक्व हुँदै जाने हो । हाम्रो जीवन बुभ्mने त प्रकृतिले हो । हामी फगत् फकिर हौँ ।
४) के रहेछ त बास्तवमा जिन्दगी भनेको ?
पानीको फोका । उठ्छ, बिलाउँछ । सम्बन्धहरूको भ्रम । जुट्छ, छुट्टिन्छ । मैले बुझेको यत्ति हो ।
५) कृतिहरू कति छन् ? तपाईं अझै कुनकुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
कविता, नाटक, कथा, बालकथा, बालउपन्यास, उपन्यास गरी आठ कृति प्रकाशित छन् । बालउपन्यास, बालकथा, कथासङ्ग्रह चारवटा कृति प्रकाशनको तयारीमा छन् । एउटा उपन्यासको सामान्य खाका तयार गरेको छु । त्यसलाई प्रकाशन गर्न हतार गर्दिनँ । राम्ररी सम्पादन गरी निकाल्ने विचार छ । विलकूल सामाजिक उपन्यास । कविता लेख्ने धोको मरेको छैन । तर जीवन्त कविता लेख्न सकेको छुइनँ । कवितामै दर्ज हुने खालको ‘कविता’ दिन पाए हुन्थ्यो । कविता माभ्mने काममा लागेको छु । अचेल म ।
६) तपाईंलाई आफ्नो मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ?
एउटी नारीले प्रशव पीडाबाट उन्मुक्ति पाएजस्तो र साहित्यको सागरमा एकथोपा पानी थपेँजस्तो लाग्छ ।
७) जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने कारणहरू बताइदिनुहोस् न ।
मैले भनेँ नि, मलाई त जीवन नै भ्रमजस्तो लाग्छ । भ्रममा के सन्तुष्टि खोज्नु ! खैर, भ्रम नै सही, जुन जीवन म बाँचिरहेको छु त्यसमा म सन्तुष्ट नै छु । मानिसहरू फरकफरक पाटाबाट सन्तुष्ट भएको जिकिर गर्छन् । पैसा, पद र सम्मानभन्दा पनि लेखनको कारणले म सन्तुष्ट छु । पैसा, पद र सम्मानले कसलाई पुगेको छ र ! मभित्रको लेखक व्यक्तित्व सन्तुष्ट छ । यत्ति भए मलाई पुग्छ ।
८) मोफसलीय साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
नेपाली साहित्यका अघोषित ठेकेदारहरू, मिडिया सत्तासीन लेखकहरू केन्द्रभङ्ग भइसकेको हल्ला गर्दैआएका छन् । तर तिनीहरूले नै साहित्यलाई केन्द्रीकृत पारिरहेका छन् । कसैले गाउँमै आप्mनो कृति सार्वजनिक ग¥यो भने बिग मिडियाले त्यसको समाचार कभरेज गर्छन् ? गर्दैनन् । सदरमुकाममा साहित्यक कार्यक्रम गर्दा त समाचारदाताले रिपोर्टिङ्ग गर्दैनन् । तपाईंले देखिरहनुभएको छ । मोफसल साहित्य ओझेलमा छ । राम्रो लेख्नेका पनि रचनाले पत्रिकामा स्थान पाउँदैनन् । चाकरी गर्दै हिँड्ने कै बोलवाला छ । पत्रपत्रिकामा देखिएकै छ नि ! मोफसल साहित्य निगाहमा बाँचेको छ । चिनजान र निरन्तरको लगावले कोही माथि आए होलान् । त्यस्ता नगण्य छन् । तर अहिले रचना बाहिर ल्याउन पत्रिका नै चाहिन्छ भन्ने छैन । फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा लेखिदियो भनेपनि धेरैले पढ्न सक्छन् । मोफसलमा बसेर लेख्नेहरू कमजोर छैनन् । मात्र अवसरको खाँचो छ ।
९) साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ?
पढ्नेको रूचिको विषय हो यो । किशोरपुस्ता पाठकलाई त यौनविषय आएकै राम्रो । यौन निरपेक्ष विषय होइन । प्राकृतिक कुरा हो । प्रकृतिलाई निषेध गर्ने ताकत त कसैको छैन नि ! साहित्यमा यौन आउनुपर्छ । तर शिष्ट शैलीमा । वीपीका आख्यानमा आएको यौन के पढ्नै लाज लाग्नेखालको छ र ? यौन विषयलाई साहित्यमा कसरी घुसाउने, त्यो त लेखकको कला हो । अश्लील वस्तुलाई शाब्दीकरण गर्ने शब्द नेपाली भाषामा छैनन् र ? ‘खेलौना’ कै अनुशरण गर्नुपर्छ भन्ने छैन । ह्वाङ्गै देखाउने होइन । मेरो उपन्यास ‘सीमान्त विचलन’ मा यौन प्रशस्त आएको छ । तर मैले त्यसलाई लुकाएर देखाउने प्रयास गरेको छु । हैन र !
१०) सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ त ?
साहित्य समाज र समयसँग सापेक्ष हुन्छ । लेखकले आपूm बाँचेको समय लेख्छ । ‘रूपमति’, ‘अविरल बग्दछ इन्द्रावती’, ‘शिरीषको पूmल’, ‘पागल वस्ती’, ‘एकचिहान’, ‘लीलाम’ आदि कृतिहरू सबै आप्mनो समयका प्रतिनिधि आख्यानहरू हुन् । कविता, कथा वा अन्यमा पनि त्यस्तै हो । समयले नै साहित्यलाई परिमार्जन गर्दोरहेछ । ‘गुणरत्न माला’ पनि त साहित्य नै हो । महाभारत त महाकाव्य मात्र होइन, महाआख्यान पनि हो । समकालीन केही लेखकहरू बढी जिम्मेवार भएर लेख्न थालेका छन् । आख्यानमा पनि अनुसन्धानपक्ष बलियो देखिएको छ । पछिल्लो समयका ‘तोदा’, ‘मलाया एक्सप्रेस’ ‘घामकिरी’ ‘हरियो साइकल’, ‘शोकमग्न यात्री’, ‘लोकेसन’, ‘धोवीघाट एक्सप्रेस’, ‘समानान्तर आकाश’, ‘जल्लादको मन’, ‘सपनाको समाधि’, ‘वल्लीको डायरी’, ‘अकल्पनीय’, ‘दमिनी भीर’, ‘चौबीस रिल’, ‘सेतो धरती’, ‘कर्णाली ब्लुज’, ‘चम्पारन ब्लुज’, ‘आप्mनै आँखाको लयमा’ (माफ गर्नुस्, सबैको नाम लिन सम्भव भएन ।) जस्ता आख्यानिक र गैरआख्यानिक कृतिले पनि वर्तमान कै प्रतिविम्ब उतारेका छन् । यो समय कवितामा श्रवण मुकारुङ, मनु मञ्जिल, प्रसन्न घिमिरे, हेम प्रभास, विप्लव ढकाल, विप्लव प्रतीक, सरस्वती प्रतिक्षा, सीमा आभास, ज्योति जङ्गल, वैजयन्ती मिश्र, जयन्ता पोखरेल, चन्द्रवीर तुम्बापो, निभा शाह, निमेश निखिल, पदम गौतम, विनोद विक्रम केसी, ठाकुर बेल्वासे, स्व. स्वप्निल स्मृति, हेमन यात्री, आदि बढी पढिने कविहरू हुन् । तिनका कवितामा पनि यै समय बोलेको छ । अहिले लेखक बढेका छन् । पाठक पनि बढेका छन् । २०४६ अघि र पछि प्रभावका हिसाबले त्यति फरक देखिँदैन ।
११) तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?
उत्तर दिनै गाह्रो भो त पेशल सर ! २०७० साल लागेपछि पनि थुप्रै कृति आएका छन् । कस्कोलाई राम्रो भन्नु ! कस्कोलाई कमजोर ! यति भनौँ साठीको दसक नेपाली साहित्यको उर्वरकाल हो । ‘राधा’, ‘सुकरातको डायरी’ ‘पल्पसा क्याफे’, ‘उर्गेनको घोडा’, ‘कर्णाली ब्लुज’, ‘सेतो धरती’, ‘लू’, ‘प्रेतकल्प’, ‘सकस’ जस्ता हेभिवेट आख्यानहरू आए । कवितामा पनि शक्तिशाली कृति आएका छन् । निबन्धमा त्यस्तै । बरू नाटक कम लेखिएका छन् । अनुभूतिजन्य र आत्मालापपरक कृति त झनै बढी लेखिएका र पढिएका छन् । आएका जति सबै राम्रा छन् भन्नेचाहिँ होइन है
१२) यतिका मान्छे साहित्य लेख्छन् ? तपाईंले नै परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो होला ?
मेरो लागि अरूले लेखिदिएर हुन्छ र ! फेरि मेरो विचार, अनुभूति त अरूले लेखिदिँदैनन् नि ! गाउँका किसान, शिक्षक, विद्यार्थी, महिला, सीमान्तकृत व्यक्ति÷समाजका भावना केन्द्रसम्म पुर्याउनु मैले मेरो दायित्व सम्झेको छु । त्यसैले पनि म मरिमेटेर लेखिरहेको छु । लेख्दा आनन्द पनि आउँछ ।
१३) उत्तरआधुनिकता भनेको के हो ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ?
आधुनिकता÷उत्तरआधुनिकताको बहस अब पुरानो भैसकेको छ । सूत्रमा बाँधेर लेख्न अब चाहेर पनि सकिँदैन । लेख्नु पनि हुँदैन । ९० को दशकमै पश्चिमतिर मरिसकेको वादलाई हामी ललिपप ठानेर किन चाटिरहने ? साँघुरो घेरामा लेखिएको साहित्यको आयाम पनि साँघुरो हुन्छ । तर नेपाली साहित्यमा केही लेखकहरू यसलाई सञ्जिवनी बुटी ठानेर हौवा खडा गरिरहेका छन् । केहीचाहिँ यसलाई निषेध गर्न लागिपरेका छन् । दुवै थरीको क्याम्पेनिङ्ग निरर्थक छ । ग्लोबलाइज्ड र डिजिटलाइज्ड भैसकेको दुनियाँमा ‘म यो चिजमात्र प्रयोग गर्छु’, ‘यो चीज छुँदैछुन्न’ भनेर हाम्रो व्यवहार चल्दैन । शास्त्रीय सूत्र अब डेट एक्स्पाएर भैसक्यो । यसबारे यति नै भनौँ ।
१४) अब जीवनको धोको के रहेको छ ?
रोगले छोएको पनि १५ वर्ष भइसक्यो । दिनहुँ स्मरणशक्ति गिर्दो छ । मानसिक तनाव कम गर्ने औषधि खाइरहेको छु । बाँचुञ्जेल खाइरहनुपर्छ । टन्न सम्पत्ति कमाएर सहरमा घर बनाएर बस्न सक्दिँन । यो धोको पनि छैन । जति बाँचिन्छ, लेखिरहन सकूँ । ‘फलानो लेखक दुर्गम ठाउँमा बसेर पनि साहित्यसेवा गरिरहेको छ है ’ भनून् । बस्, यत्ति नै ।
१५) स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ?
स्थान, काल, पात्रका आधारमा म आपूmलाई सफल मान्छु । तर मैले जुन इरादाका साथ अत्यन्त कष्ट गरी पढेको थिएँ, त्यो इरादा त पूरा भएन र हुँदैन पनि । २०४४ सालमा काठमाण्डूमा प्रथम श्रेणीमा एसएलसी पास गरेको मान्छे बलात् गाउँ फर्किनु प¥यो । मेरो ठूलो अवसर त्यै बेला गुम्यो । २० वर्ष म मरेर ब्यूँझिएको भन्दा पनि हुन्छ । अब मैले ठूलो कुरा खोजेर हुँदैन । मैले प्रावि शिक्षक मात्र भएर समय बिताएको भए मलाई दुःख लाग्ने थियो । अहिले साहित्यकारको सस्यानो परिचय बनिसकेको छ । यस हिसाबले मैले मलाई सफल मानेको छु ।
१६) विदेशी भूमिबाट अहिले विभिन्न मानिसहरूले लेखिरहेका साहित्यलाई तपाईंको विचार बाट कसरी मूल्याङ्कन गर्नु भएको छ ? विस्तृत रूपमा बताइदिनुहोस् न ?
भँुइफुट्टा भएर, देशै त्यागेर सुविधाभोगका लागि देश छाड्नेका लागि त के सहानुभूति राख्नु र ! त्यो अवसर आए हामी पनि जान्थ्यौँ होला । देश छाडी अन्यत्र गएपछि देश झनै खट्किने भएकोले पनि लेखकहरू नोस्टाल्जिक भएर उतै बसी लेखिरहेका छन् । कम्तीमा पनि देश त बिर्सेका रहेनछन् नि !
१७) अन्त्यमा, नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
एउटा सफल लेखक जन्मिन लामै समय लाग्छ । सितिमिति साधनाले लेखक भइँदैन । कापीमा क्यारक्यार केर्नेबित्तिकै लेखक, कवि बन्ने रहर नगरौँ । पहिले आपूm कुन विधामा सफल हुन्छु । त्यो खुट्टयाऊँ । त्यस विधाका स्वदेशी÷विदेशी लेखकका कृतिहरू पढौँ । भाषा खेलाउन जानौँ । आप्mनो शैली बनाऊँ । अरूको सीप जानौँ र आप्mनो फ्रेममा लेखौँ । सम्पादनमा विशेष जोड दिऊँ । किताब निकाल्न हतार नगरौँ । यसरी लेख्न थालियो भने नयाँ पूराना भन्ने विभेदै रहँदैन । नयाँबाट पनि राम्रो साहित्य जन्मिन सक्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 आसाढ, 2071

लेखकका अन्य रचनाहरु