सिण्डिकेटको सास्तिमा मुस्ताङी मुस्कान

- गोपाल झापाली

म्याग्दीको बेनी पुग्दा सम्म कक्रिएका २ थान गोडा १६ घण्टा पछि तन्याक तुनुक हुनु अघिनैं पहाडी रोमाञ्चकताले उत्तेजना भर्न थालेको थियो । मुङ्लिन देखि पर्वत हुँदै बेनी पुग्दा सम्म मनमा ‘बेनीको बजार’ गीत मनमा फुरि रहेको थियो । तर पहाडी पौरखले उजिल्लिएका फाँट हेर्दा हेर्दै गाउन भ्याईन ।
कुस्मा देखि बेनी सम्म छरिएको पहाडी आभा झापाको उखुम छिचोलेर पुग्नेहरुका लागि कम उत्ताउलो थिएन । कसै कसैले कन्याम र भेडेटारसँग तुलाना गरि रहे पनि मेरा लागि पहिलो तस्विर बनेका ति दृश्य कुमारीनै थिए, त्यसैले हेर्न भ्याएँ, तुलाना भ्याईन । मुस्ताङ्को जोमसोम हुँदै मुक्तिनाथ सम्मको कल्पना बेनीको बेजोड सौन्दर्यमा भुलाउने लालचा पूरा भएन, अरुका गोडा बेनी देखि घाँसा(म्याग्दीको शीर र मुस्ताङ्को पाउ जोडीएको ठाँउ) पुग्ने बसमा बन्दि भई सकेका थिए ।
करिव १५ मिनेटको बेनी बसाईले एउटा डर लाग्दो दृश्य मनमा जगाई दियो । स्थानीय यातायात व्यवसायी सँघका बाहेक अरु सवारी साधनले मुस्ताङ् देख्नै नपाउने नियम सिंहदरवारमा खुम्चिएको नेपालले थाहै पाएको रहेनछ । थाह त के पाउदैन थियो, तर थाह नपाएको स्वाङ्को मस्तिमा उघ्राई रहँदो रहेछ, काठमाण्डौको नेपाल । त्यो नेपालले सिण्डिकेटको व्यवस्था पहिल्यै हटाए पनि यो नेपाल सम्म त्यो नियम आई सकेको रहेनछ । बन्दोबस्ति गरेर लगिएको सवारी सधान पनि बेनीमा बेस्याहार पारेर स्थानीय व्यवसायीले बनाएको नियममा बाँधीनुको धरै रहेन छ ।
बेनीका यातायात व्यवसायी संघका अध्यक्ष त भन्दै थिए,–‘तपाईहरुको गाडी यहिँ राख्नुस यहाँदेखि उत्ता लाने अनुमति छैन ।’ अनुमति कस्ले दिएको छैन अनुमति ? हाम्रो प्रश्न खस्न नपाउँदै–‘यहाँ सरकारले बनाएको होईन, हामीले बनाएको नियम चल्छ । हामीले दिएका छैनौं अनुमति अरु गाडी लान । तपाईहरु हाम्रै गाडीमा जानु पर्छ’–उनको उत्तरलाई पर्गेल्ने हिम्मत गरिएन । लुरुलुरु लागियो, सप्तमीको बोको जस्तो भएर उनका पछि ।
ज्यान त गाडीमै थियो तर कर्कलाको पातमा भए जस्तो भो, बेनी–घाँसा सडकको हविगतले । कालीगण्डकीको तिरै तिर उकालो लाग्दा यात्रा भरि सवैजसोको अनुहार पनि उस्तै कालो हुने । बेला बेलै साना नानीहरु अनि डराउने अरु पनि चित्याउँदा उस्तै कोलाहल । तर त्यो कोलाहल कालीगण्डकीको बहाव सम्म पुग्न पाउँदैन थियो । बस÷ट्याक्सीमै रुमलिन्थ्यो । अगाडीबाट कुनै सवारी साधन आएको छनक पाए वरै रोक्नु पर्ने वा पछाडी सारेर उसलाई बाटो दिनु पर्ने ।
यातायात व्यवसायीको यो एकाधिकार स्थानीयलाई पनि निको लागेको रहेन छ । बेनी मास्तिर रहेको गलेश्वर महादेवको उस्तै महिमा । पौराणिककालमा महादेवले शत्तीदेवीलाई बोकेर भौतारिंदा गला झरेको हुनाले गलेश्वर भनिएको किम्बदन्ति । यात्रुलाई निःशुल्क बसोबास र भोजनको समेत बन्दोबस्ति हुने । तर बेनी देखि सिण्डिकेट बाहेकका सवारी साधन लैजान नपाईने ‘कानून’ले गलेश्वर महादेव एक्ला पर्दा रहेछन्, श्रद्धालुले पनि श्रद्धा व्यक्त गर्नै नपाउने ।
घाँसा पुगे पछि सिण्डिकेटको उहि रुपको दोश्रो संस्करण भोग्नु पर्ने नियती । बेनीमै छोड्नु परेको आफ्नो सवारी साधन सम्झदै सिण्डिकेटले दिएको ट्याक्सि÷मिनीबसमा कोचिनु पर्ने । पर्यटक र श्रद्धालुलाई पोका पुन्तरा सम्हाल्नको उस्तै हैरानी । बेनी–मुस्ताङ् सिण्डिकेटकै भए पनि एउटै सवारी साधनमा जान नपाईने । भाडा कति तोक्न मन लाग्यो, तोके हुने सिण्डिकेटले । लाग्यो, बेनी देखि मुस्ताङ् सम्म देश त छ, माटो त छ, सौन्दर्य छ तर राज्य छैन । सरकारका गोडा त्यहाँ सम्म पुग्दै पुग्दैनन् । अनि आँखैमा टासिन आउने हिमाली छाँयाले भुलाउँदै गएको सिण्डिकेटको पीडाबाट झल्यास्स पार्छ, सडकमा आँ........गरेर बसेका खाल्डाहरुले ।
सिण्किेटको प्रभाव
१)
सिण्डिकेटका कारण स्थानीय यातायात व्यवसायीले चाहेका सवारी साधन मात्र चलि रहेका छन् । जसका कारण यात्रुहरुले आफु अनुकुलको वा आफ्नै सवारी साधन लिएर जान पाएका छैनन् । आफ्नै सम्पत्ती उपयोगको अधिकार कालिगण्डकीले बगाईदिन्छ बेनी पुगे पछि ।
२)हवाई ढुवानी गर्दा चर्को मुल्य तिर्न बाध्य मुस्ताङ्ी जनता सडक सञ्चालनमा आए पछि ढुवानीभाडा सस्तिनेमा मख्ख थिए । तर सिण्डिकेटका कारण स्थानीय यातायात व्यवसवायीका सिमित सवारी साधनमा जतिखेर पालो आउँछ र जति भाडा तोकिन्छ त्यहि भोग्न बाध्य छन् । सडक सुविधाको उपयोग गाडी चढ्नु बाहेक अरु छैन ।
३)मुस्ताङ्का एक दर्जन गाँउमा परम्परागत रुपमा रहेको स्याउ खेती व्यवसायीक बनि रहेको छ । एकै सिजनमा करोडौंको स्याउ उत्पादन हुन्छ । तर स्याउ व्यवसायीले आँफैले पनि ढुवानीको साधन उपयोग गर्न पाएका छैनन् । त्यसैले मुस्ताङ्ी किसानहरुले सिण्डिकेटकै कारण आर्थिक लाभ पनि अपेक्षित लिन सकेका छैनन् ।
४)आखिर सिण्डिकेटका बाहेक अरु सवारी साधन चल्न पाउँदैनन् भने सरकारले किन सडक स्तरोन्नत्तीमा करोडौं लगानी गर्छ ? सायद सिंहदरवारको नेपालले यहि सोचि रहेको छ । सिण्डिकेटका बाहेक अरु गाडी चल्न नपाएकै कारण म्याग्दी र मुस्ताङ्को साँचो सडकमा अल्झि रहेको छ ।
तर
जतिनै हण्डर र कहर पर्गेलेर भए पनि मुस्ताङ् पुगे पछि प्राकृतिक मुस्ताङले थाकेको तन र मनमा मल्हम लगाउँछ । हातैमा खेलाउन पाईन हिँउ । कुशल शिल्पिले बुट्टा भरे जस्ता खेतका गह्रा । आँखै भरि बिस्कुन लाग्ने हिमाली सौन्दर्य । कालीगण्डकीको फराकिलो गढतीर । महकदार हिमाली बनस्पती । सवै जसो आगन्तुक र पर्यटकका अचुक औषधी बन्छन् । अझै माथि, कागवेनी र मुक्तिनाथ सम्म पुग्नेहरुले यो भन्दा बढि प्राकृतीक महकमा रम्म पाउँछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2071

लेखकका अन्य रचनाहरु