जागिर

- विजय सागर

ताराप्रसाद भण्डारी मित्र कृष्णबहादुर के.सी.को साथ पवनमा चिया पिउँदै थिए ।
एउटा जोडी पवनको काउण्टरमा देखा परे । केही अर्डर गरे । ठूला ठूला ७।८ मिठाईका वट्टाहरु झुण्ड्याएर फर्के ।
ताराप्रसाद त्यस जोडीलाई अपलक हेरि रहेको देखेर कृष्णबहादुरले सोधे – को हुन र तिनीहरु ?
पहिला मेरो घरमा डेरा गरी बस्थे – ताराप्रसादले जवाफ दिए ।
अनि ? – कृष्णबहादुरले पूनः प्रश्न गरे ।
अहिले आफ्नै तीन तले घरमा बस्छन् – ताराप्रसादले जवाफ फर्काए ।
सुनका व्यापारी हुन ? – कृष्णबहादुरले सोधे ।
हैन ! हैन ! – ताराप्रसादले भने – जागिर खान्छन् ।
कहाँ खान्छन् त जागिर ? – कृष्णबहादुरले अचम्म मान्दै सोधे ।
आयल निगममा ! – ताराप्रसादले जवाफ दिए ।

भैरहवा

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2071

लेखकका अन्य रचनाहरु