आमाको पिरलो

- डा. कपिलदेव लामिछाने

“आमा, सन्चै हुनुहुन्छ ?” हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो ।
“बाबू नितेश ! कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त ।” उनले छोराको टाउको मुसार्दै भनिन् ।
नितेशले भन्यो, “सन्चै छु । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।”
उनले भनिन्, “म यहीँ ठिक छु बा ।”
ऊ कड्क्यो, “यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।”
भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, “यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत ।”
उसले भन्यो, “अब हामी सबै उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।”
उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन् ।
एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, “हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोर्डिङ पास लिन्छु । कतै नजानु होला ।”
ऊ भित्र पस्यो ।
उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । “टिकट नपाएर पो हो कि ?” उनी सोचिरहिन् । समयले नेटो काट्यो, तर उनले छोराले बसालेको बेन्च छाडिनन् ।
“आमै, एक्लै किन यति बेरसम्म ?” एयरपोर्टको एक कर्मचारीले सोध्यो ।
उनले यथार्थ बताइन् ।
कर्मचारीले अमेरिका जाने यात्रुको सूची हे¥यो र भन्यो, “तपाईंको छोरा नितेश हो ? ऊ त चार घन्टा अघि नै उडिसक्यो ।”
उनी ढलिन् । कर्मचारीले पानी छम्केर उठायो ।
उनी बेचेको घरमा पुगिन् र एउटा कोठा भाडामा लिएर बस्न थालिन् । एक दिन घरवालाले भन्यो, “तपाईं सारै बृद्ध हुनु भो ¤ एक्लै कति दुख गर्नुहुन्छ । कतै आफन्तकहाँ गएर बस्नुस् न ¤”
उनले भनिन्, “जाने थिएँ । छोरो आएर खोज्ला भनेर मात्रै यहाँ बसिरहेकी छु ।”

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2071

लेखकका अन्य रचनाहरु