फेसबूक भित्ता

- रामकुमार पण्डित क्षेत्री

“फेसबूक भित्तामा साह्रै राम्रो स्ट्याटस आ’को छ रे । यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे । त्यसलाई मन पराउनेहरू लाख पुगिसके रे । प्रतिकृया लेख्ने चाहिँ आधालाख पुगे रे । हजुरले चाहिँ लाइक गर्नु भो’ त्यसलाई ?” फतरफतर गर्दै मलाई श्रीमतीले सोधी । यस्तै प्रश्न अरु साथीहरुले फोन गरेर सोधे । अनि इस्टमित्रहरुले पनि सोधे । मैले सबैलाई एउटै जवाफ दिएँ ः “भ्याएकै छैन । म छिट्टै हेरेर लाइक हानी दिउँला ।” कसरी भ्याउनु ? समय भएको बेला बत्ती नहुने, बत्ती भएको बेलामा इन्टरनेट नहुने, इन्टरनेट भएको बेलामा केही न केही काम आइलाग्ने । बल्लबल्ल सबैथोक मिलेको बेलामा फेसबूक खोलेँ । खोल्नासाथ ठूलो व्यक्तिको स्टयाटस आइहाल्यो । धेरैले मन पराएको कुरो माथीमाथी बस्नु फेसबूकको नियम हो । तीनको स्टयाटस पढेँ ः
“साथी हो, मलाई रुघा लाग्यो । हाच्छ्यु !”
म अलमल्ल परेँ । यस्तो स्ट्याटस पनि कसरी हिट भा’को? अनि बिरामी भएको कुरालाई कसरी मन पराउँ ? उपचारको विधि लेखेर प्रतिक्रिया दिउँ भने, रुघाको औषधि नजान्ने को चाहिँ होला र ? त्यसमाथि पनि त्यहाँ पचासौ हजारले त केही न केही लेखेकै थिए । स्वास्थ्य लाभको कामना सहित डक्टरैजस्तो भएर औषघीको सल्लाह धेरैले दिएकै थिए । त्यसैले मैले प्रतिक्रिया पनि जनाइन । अनि त्यहीँ एकजना पुरुषले असाध्यै राम्रो सल्लाह दिएका थिए । त्यसलाई मन पराउने मेरै लाइक पहिलो भयो । मैले उनको नाममा क्लिक गरेँ । उनको पाना खुल्यो । आफ्नो भित्तामा उनले तीन दिन अघिदेखि सुन्दर कविता लेखेर राखेका रहेछन् । आश्चर्य, त्यहाँ उनी वाहेक अरु एकजनाले पनि मन पराएको र प्रतिक्रिया दिएको पाइनँ ।


सिमलटार, काठमाण्डौँ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु