नअस्ताउने ताराझैं

- जगन्नाथ पौडेल नूतन

तपाईंहामी जन्मिदा जगत हाँस्छ, तपार्इंहामी रुन्छौं । तर जीवन यस्तो हुनुपर्छ, तपाईंहामी मर्दा हाँस्दै मरौं, र जगत सारा रोओस् । खैर यी कुरा बुद्धका लागि सही । बुद्ध मान्छेबाहेक केही होइन, भौतिक शरीरका दृष्टिले । उनी विचारमा बुद्ध थिए, बुद्धत्वको सार त्यहाँनेर रहन्छ । संसारमा एक सेकेन्डमा सयौं मानिसहरुले भौतिकी बिसाउँछन् । तिनको कुनै सरोकार राख्दैन दुनिया । राखेर भ्याउँदैन पनि । किनकि ती सामान्य नियमभित्रका चरित्र मात्र थिए । जन्मेपछि मर्ने प्रकृतिको सामान्य नियमभित्रका । तपाईंहामी पनि सामान्य नियम पार गर्ने कुनै अजीव व्यक्ति परेनौं । त्यसको मतलब त्यस्तो खालको महानतम् विचार र व्यवहार हामी प्रस्तुत गर्न सक्दैनौं । तर हामीलाई लागिरहेको हुन्छ ती कार्य बुद्धका भन्दा महान् छन् । लाग्नुले खासै अर्थ राख्दैन हुनुले राख्दछ अर्थ । महान्ताको मापन र सीमा पनि छैन, कत्तिको लाई मान्ने महान् । कलिमा अरुलाई नदुःखाउने मानिस स्वतः महान् हुन्छ किनकि त्यस्तो व्यक्ति दुर्लभमा पर्दछ । अरुका लागि मरिहाल्नु पनि पर्दैन महान्ताको लागि, न बुद्धलेझैं राजदरबार नै त्याग्नु पर्छ । बस नदुःखाउने बन्न सकौं । तर मानिसका लागि सबैभन्दा अप्राप्य वस्तु त्यही गुण होला । नदुःख्ने र नदुःखाउने कुरा त सम्भव नै छैन । अलिकति नदुःखाईकन त कुनै क्षण काट्न गाह्रो भइसकेको छ मानवका लागि । बरु जति धेरै दुःखाउन सक्यो त्यो दिन त्यति नै सफल हामी कलिपात्रका लागि । हाम्रो संस्कार बनिबसेको चर्या हो यो । विज्ञानले भन्ने गरेको असम्भव भन्ने कुरा दुनियामा केही पनि हुँदैन भन्ने कुरा पनि यहींनेर गलत साबित हुन्छ । कलिमा पनि एउटा क्षेत्रका अत्यन्त न्यून व्यक्तिहरु महान्ताबाट पोषित भएको अनुभव यो पंक्तिकारलाई छ । अनौठो अनुभव यो पनि छ त्यही क्षेत्रका केही खल चरित्रहरु अत्यन्त निकृष्ट र पीडक भइबसेका छन् जसले त्यस पवित्र क्षेत्रलाई नै कलंकित पारिरहेछन् । संसार यस्तै फूल र काँडाहरुको संगम हो । ती काँडाहरु फूलको महिमा बढाउनकै लागि हुनुपर्छ सायद । त्यो क्षेत्र हो शिक्षा । त्यस्ता व्यक्ति हुन् शिक्षक । फूल र काँडा । पंक्तिकार यहाँ काँडाको कुरा गर्दै छैन । फूलको । बस फूलको ।
यहाँ पंक्तिकारको मनमा एक कोमल, निस्कलंक र सुगन्धी फूल हुन् तुलसीनाथ ढकाल गुरु । जसलाई प्रकृतिले ईश्वरीय मथिंगलमा अर्चना सामग्रीको रुपमा प्रेषित गरिसकेको छ, यही २०७१ जेठ ४ गतेका दिन । अगाडि नै उद्धृत गरियो कि हामी हाँसेर मरौं जग सारा रोओस् गुनले । यस्तै अवस्था महसुस भयो पंक्तिकारलाई त्यस दिन तुलसी गुरुको मृत खबर सुन्दाको घडी ।
गुरु कहिल्यै बिझाउनु भएन, विद्यार्थीको माझमा । उहाँ घरयासी कामसँगै गुरुकर्ममा निक्खर हुनुहुन्थ्यो । पढाएको कुरा बुझाउनु उहाँको सामान्यभन्दा सामान्य गुण थियो । घरयासी काम र बोझले निछ्रुप्प हुँदा पनि उहाँले पढाइका कुरालाई पर सार्नुभएन । परीक्षाको दृष्टिकोणले उहाँले बोलेका कुराहरु जति सत्य हुन्थे त्यत्ति नै जीवनको परीक्षा उत्तीर्ण गर्न दिएका वचनहरु अर्थपूर्ण र ग्राह्य हुन्थे । जीवनमा कायर भई बाँच्ने होइन माहिर भइ जाग्ने हो भन्ने उहाँको मान्यता थियो । उहाँको सात्विक आचारविचार पक्कै पनि वर्तमानका सर्वभक्षक शिक्षाकर्मीहरुलाई मार्गदर्शक थिए । साकाहारी जीवनशैली र संस्कृत वांमयको सूक्ष्म अध्ययन गरेका उनी दक्ष, कुशल, स्पष्ट वक्ता, सहृदयी र शिष्यप्रति बढी संवेदनशील गुरु थिए । साँचो अर्थमा गुरुको अर्थ उहाँका लागि उपयुक्त थियो । अन्य गुरुहरुले माया गरेर फकाएको भन्दा उहाँले गाली गरेर सम्झाएका कुरा बढी प्रिय र अर्थपूर्ण हुन्थेै, यस्तै लाग्थ्यो ।
यी कुरा नारायण माविका चकले कोरेका भित्ताहरु अहिले पनि बोलिरहँदा हुन् । ढाका टोपी लगाउने गुरु पुकारिने त्यो निर्दोष चरित्रले हामीलाई किन माया मारे होला भनी । पुराना टिनका पाताका ती केही हिस्साहरु पनि बिहानी शीतसँगै रुँदा हुन्, निस्पाप त्यो व्यक्तिको आकृति ओढेर । पुराना पानी चुहिने घरका छानाहरु अहिले रंगीचंगी र भव्य भए हुन् तर तिनले गुरुको गुरुतालाई कति ओत दिइरहेका छन्, त्यो विषय बढी महत्वपूर्ण होला । अमृतहरुका त्याग तपस्याले सिंचित ती माटोढुंगाहरुले कति उज्याला गुरुहरु भेट्यो र कति भेट्ला त्यो विषय पनि त्यत्तिकै महत्वपूर्ण होला । अर्को कुरा गुरुतायुक्त गुरुको कदर गर्न नारायण उमावि कत्तिको संस्कारित भइबसेको छ, त्यो विषय अझ गहिराइपूर्ण होला । नारायण उमाविको विकासको गजुरको अग्लाइको जगमा तुलसी गुरुहरुका हड्डी खिइएका छन् भन्ने कुराको मर्मबोध सबैलाई भइदियो भने गुरुप्रतिको स्मरण सार्थक होला । गरुहरुप्रति सम्मान गर्नुपर्छ भन्ने कुराको सानो झिल्काले समाज मार्गदर्सित होला । समयको गतिसँगै सबै कुराहरु परिवर्तित हुनु स्वाभाविक हो तर तिनले मुख्य मर्मलाई छाडेर गए भने ती अस्वाभाविक भइदिन सक्छन् । त्यो अस्वाभाविकताको पगरी नारायण उमाविले नपहिरियोस् शुभकामना ।
यो पंक्तिकार अहिले नारायण उमाविको स्पर्शले भेट्ने गरी समीपबाट ओहोरदोहोर गर्दा शरीर फुलेर आउँछ अनि मन स्तब्ध हुन्छ । र उनको सम्मानले शिर एक पटक निहुरिन्छ अनि सोचाइ उब्जिन्छ, वास्तवमा वर्तमानमा पनि तुलनात्मक रुपमा नेता, वकिल, डाक्टर, कर्मचारीहरुको भन्दा बढी सम्मानित छ, शिक्षकहरुको सेवानिवृत्त जीवन । चामलमा बियाँबाहेक । शिक्षण सेवाबाट निवृत्त भएका व्यक्तिहरु भ्रस्ट र लाचारीको पगरीबाट प्रायः मुक्त हुन्छन् । यस्तै गुरुहरुको महिमाले हुनुपर्छ ।
ती गुरुले हिंंडेका काली गण्डकी तीरका ढुंगाहरु ढुंगा नै छन् । ती पहराहरु आफ्नो विशाल चट्टानी स्वभावमा कहीं विचलित छैनन् तर उनका गतिशील र कोमल पाइलाका गतिहरुले कति सार्थक हिंडाइ पार गर्यो यो जो कोहीले मापन गर्न सक्दैन । ऊ बलेवा र कुश्मा गर्यो, कुश्मा र बलेवा गर्यो तर कतिलाई जीवनका अप्ठ्यारा जंघार तर्ने बनायो । आफू वारिवारि रह्यो तर सबैलाई खोली तर्न सिकायो । कतिका विचारमा परिवर्तन ल्यायो, कतिलाई क ख सिकायो, कतिलाई वाचाल बनायो, कतिलाई कवि, कतिलाई विश्व प्रसिद्ध इन्जिनियर, कतिलाई वैज्ञानिक र कतिलाई शिक्षक नै । यो उनको जीवन्त गुणको प्रतिफल हो । तर समाज यस्ता सूक्ष्म विषयप्रति संवेदनशील छैन भन्ने कुरा सबलाई चेतना भया ।
समाज निर्जीव नै भइबसेछ भने पनि आखिर तुलसीनाथ गुरुको गुरुता सधैं सम्मानयोग्य छ । उनको पार्थिव शरीर विलुप्त भए पनि उनको गुरुताले निर्माण गरेको इतिहास सधैं जीवित रहने छ । उनको चिर स्मरण नअस्ताउने ताराझंै चम्किरहने छ ।
मृत आत्माप्रति चिर शान्तिको कामना ।
(लेखक स्व. तुलसीनाथ ढकालका स्कुले जीवनका शिष्य हुन् ।
)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु