कलेजका ती दिनहरू : एक नोस्टाल्जिक फ्लासब्याक

- नवीन पौड्याल

सन् 1991 सालको अगस्ट महिना। उच्चतर माध्यमिक पास गरेर कलेजमा भर्ना हुने समय। विद्यालयको कठोर अनुशासन प्रणालीमा विहान नौ बजीदेखि बेलुकी तीन-बीससम्म कक्षामा पढ्नुपर्ने व्यवस्थाबाट मुक्ति पाउने उन्मुक्त वातावरणको मिठो चाह। दाजुहरूको कुरा सुनेरै कलेजप्रति विशेष आकर्षण उत्पन्न भएको थियो। त्यहीँमाथि आफु केटाहरूले मात्र पढ्ने विद्यालयबाट जाने भएकाले कलेजमा केटा-केटी दुवै कक्षामा पढ्न पाइन्छ, सो कस्तो हुन्छ होला भन्ने उत्सुकता। हुन ता आफुले पहिले सिलगढी कलेज पढ्न कोशिशचाँहि गरेको थिएँ। यद्यपि सिलगडी कै आवासीय प्रमाणपत्र र राशिनकार्ड चाहिने पर्नाले सिलगडी कलेजको चक्कर छाडेँ। आफ्नै ठाँउको कालिम्पोङ कलेज छँदैछ,किन अरूतिर भौंतारिएँछु जस्तो पनि लाग्यो। त्यहाँ सजिलै भर्ना लिएँ। आफु पढेको एस यू एम आई विद्यालयबाट आएका साथीहरू त धेरै थिए, कुमुदिनी विद्याश्रमबाट आएका दुइ-चार केटाहरू पनि नयाँ साथी भए। कलेज लागेको धेरै दिनसम्म केटीहरू साथी भएनन् तर पछिदेखि भने उनीहरू पनि हाम्रो ग्रुपमा मिल्न आए।
कलेजमा पहिलेदेखिनै अनर्सको कक्षा शुरू भएको थिएन। लगभग् एक महिनापछि अनर्सको निम्ति प्रवेश परीक्षा सम्पन्न भयो। आफुलाई आफ्नो रूचिअनुसारको नेपाली अनर्स पढ्ने इच्छा थियो। त्यसको प्रवेश-परीक्षा सहजै पास गरी नेपाली अनर्स लिएँ। कतिजनाले परीक्षा दिए कुन्नी, अनर्स लिँदा हामी चारजना मात्र भयौं। आर्ट्स् तर्फ अरू कसैले पनि कुनै विषयमा अनर्स लिएनन् (हुनता राजनितीशास्त्रमा दुईजनाले अनर्स लिए पनि छिटै छोडिदिए)। हामी चारजनाले पनि तीन वर्षको अन्तरालपछि नेपाली अनर्स लिएका थियौं। नेपाली अनर्स लिनेमा यो संस्मरणकारबाहेक चन्दा छेत्री, एरिना छेत्री र रिता थापा थिए।
अनर्स क्लासको पहिलो दिनमा नै प्रा देवकुमार प्रधान सरले नेपाली साहित्यसम्बन्धी दस प्रश्न सोध्नुभयो र हामीले प्रायः सबै उत्तर दियौं। हामीले कुनै क्लास पनि छोड्दैनथियौं। अनर्स क्लास बेसीजसो रूम नं 2 व 4 मा हुनगर्थ्यो र प्रायजसो आफै स्टाफ रूममा गएर सर-गुरूमालाई अनर्स क्लासबारे जनाउनुपर्थ्यो। प्रा कुमार छेत्री सरले अत्यन्त राम्रो पढाउनुहुन्थ्यो। वहाँले सोध्दै, बुझाउँदै र कुनै खाता नहेरी नोट्स लेखाउनुहुन्थ्यो। वहाँले एकचोटि बुझाएपछि छर्लङ्गै पारिदिनुहुन्थ्यो। शायद लाग्छ, जिल्लाभरिका कलेजका सबैभन्दा राम्रो नेपाली पढाउने प्राध्यापक-प्राध्यापिकाहरूमध्ये कुमार सर पनि एक हुनुहुन्थ्यो। वहाँको पढाउने कला हामी शिक्षकहरूले अपनाउनुपर्ने देखिन्छ।अमृत खालिङ सरले पनि राम्रो पढाउनुहुन्थ्यो तर वहाँ भने अन्य काममा बढी व्यस्त हुनाले कोही कोही बेला क्लास बिराउनुहुन्थ्यो। यद्यपि अधिकतर हामी अनर्सकालाई त पढाउनुभयो। वहाँले मधुर स्वरमा निकै गम्भीर तवरले बुझाएको बिर्सन सकिन्न। प्रा सुधा गुरूङ भने अत्यन्त कडा, छुच्ची लाग्ने तर हामी अनर्सकालाई भने माया गर्नुहुन्थ्यो। वहाँले खुबै मिठोसँग लेखाउँदै-बुझाउँदै गर्नुहुन्थ्यो। देवकुमार प्रधान सरले भने छिटे-छिटो नोट्स लेखाउनुहुन्थ्यो। वहाँले किताब भने खोजी-खोजी ल्याइदिनुहुन्थ्यो। तीन वर्षसम्म वहाँहरूको छत्र-छाँयामा हाम्रो अनर्ससहितको स्नातकीय कलेजियन जीवन बिताउन पायौं।
त्यतिबेला दुई वर्ष पढेर दुई अन्य ऐच्छिक विषयसहित पार्ट वान र तेस्रो वर्ष पढेर अनर्स विषयमा मात्र पार्ट टु गरी कलेज सकिन्थ्यो। पास कोर्स पढ्ने त दुई वर्षमा एकैचोटि बी ए फाईनल दिएर कलेज सकिन्थ्यो। प्रथम वर्षबाट दोस्रो वर्ष पुग्न कलेजमा इन्टर्नल एक्जाम सम्पन्न हुन्थ्यो र सबैलाई पास गराउने चलन थियो। हाम्रो पार्ट वान अनर्सको र दुई वर्षे ऐच्छिक नेपालीको सिलेबस एउटै थियो। हाम्रो पार्ट वान एक्जाममा हामी चारजनामध्ये एउटी साथीको ऐच्छिक अर्थशास्त्र विषयले गर्दा फेल बनाउँदा हामी तेस्रो वर्षमा तीनजना मात्र भयौं। यसरी साथी छोडिँदा हामी तीनलाई साह्रै खल्लो लागेको थियो। हामी तेस्रो वर्ष पढ्दा अरू पास कोर्स पढ्ने जम्मै साथीहरू छुटिसकेकाले हामी अनर्सका तीनजना मात्र साथी-साथी थियौं। एउटा संयोग के मिल्यो भने हाम्रो ब्याचमा तीनजना केटी र म एउटा केटा (नाम भयो नवीन) औ हाम्रो ठिक एक ब्याचपछि नेपाली अनर्समा तीनजना केटा (सुमन बस्नेत, विनोद छेत्री र रमेश सुब्बा) र एउटी केटी थिईन्, नाम थियो नवीना। हामीले 1994 सालको सेप्टेम्बरमा हुनुपर्ने सरेर नोभेम्बरमा पार्ट टु एक्जाम दिएर पास गरेका हौं। एक पल्ट हामी थर्ड ईयर अनर्समा हुँदा डिबेट फाईनलको दिन हल खचाखच भएको थियो। डिबेट सकिएर फलाफल घोषणा गर्नुभन्दा अघि खालिङ सर कलेजको नयाँ पत्रिका लिएर मञ्चमा गई माइक्रोफोन समाती कलेज गभर्निङ बडीका तत्कालीन अध्यक्ष एवं साहित्यकार श्री एम एम गुरूङको सन्देश सुनाउनु भयो जसमा त्यस सालको उक्त पत्रिकामा प्रकाशित दुईवटा रचना अत्यन्त उत्कृष्ठ रहेकामध्ये पासाङ शेर्पाको कविता र मेरो एउटा भाषिक लेख हुन् तथा यी दुईजनालाई शुभेच्छा र बधाई छ भन्ने आशय थियो। म भिडबीचबाट उठ्ता सबैले मलाई प्रसंशात्मक नजरले हेरेका थिए। मलाई साह्रै खुशी लागेको थियो र त्यस घटनाले पनि मलाई लेख्ने प्रेरणा मिलेको हो।
अरू विषयका शिक्षकहरू सम्झँदा, इतिहास विषयका एक जना शिक्षक बि के रोयले पढाउँदा क्लास कन्ट्रोल नभएर हल्ला मात्र हुन्थ्यो। पछि उनको बद्लीमा आउने प्रा शैलेन देवनाथले भने राम्रो पढाउँथे। प्रा एच एस छेत्री सरले इतिहास राम्रो पढाउने। राजनितीशास्त्र पढाउनेमध्ये प्रा एम एन भट्टाचार्यले भने अति सुन्दर व्याख्या गरीदिने। वहाँको क्लास प्राय कसैले मिस नगर्ने। उनी साँच्चै राम्रो पढाउने एक नमूना हुन्। प्रा रिञ्जी नाम्चू मेम र प्रा टी के दासले पनि उत्कृष्ट पढाउने। प्रा सि के सुब्बाको पढाउने तरिका अपठ्यारो हुनाले त्यति आकर्षण हुँदैनथियो।
तिनताक हामी सिधा-साधा विद्यार्थी थियौं। हामीले छक्का-पञ्जा बुझेकै थिएन। कतिपय साथीहरू कलेजको स्टुडेन्ट यूनियनमा लागेका थिए। दोस्रो वर्षमा हुँदा भने तत्कालीन चल्ती विद्यार्थी संगठन मन नपरेर आफ्ना साथीहरूसँग लागी अर्को विद्यार्थी संगठनमा केही दिन खटेका थियौं। मेरा साथीहरू सुधीर घले, नारायण छेत्रीहरू कलेजको यूनियनमा संलग्न थिए। हाम्रो अध्ययनकालमा एकपल्ट कलेजको एन एस एसको एकसय जना जतिको टोली चौध माइलको रविलाल दाहाल जुनियर हाइस्कूलको खेल मैदान बनाउन गएका थियौं। त्यो 1992 सालको मई महिनाको तीन दिने क्याम्पमा साह्रै रमाइलो भएको थियो। त्यस क्याम्पमा हामी कला र विज्ञानका छात्र-छात्रा गएका थियौ। साथमा प्राचार्य डा जी एस योञ्जन, प्रा कुमार छेत्री, प्रा सुधा गुरूङ, प्रा अमृत खालिङ र प्रा सुवोध कुमार जस (बाङला विभाग), श्री बलभद्र शर्मा सम्मिलित हुनुहुन्थ्यो। प्राय तीन दिन जसो दिनभरि स्कूलको ग्राउण्ड बनाउन बेल्चा-फरूवा र कराईमा भरेको माटो पास गर्ने काम गरेका थियौं। दिनभरि काम गर्दा शरीर थाकेको हुन्थ्यो। त्यस क्याम्पको समयमा बेलुकी सम्पन्न मनोरञ्जनात्मक कार्यक्रममा साथी अर्जुन खवासले गीत गाएर र नाथनियल लेप्चाले जोक भनेर हामीलाई साह्रै हँसाएका थिए। कालिम्पोङ कलेजबाट बिदा लिई उत्तर बंगाल विश्वविद्यालय पुगेका प्रा डा सुबोध कुमार जसले पनि उक्त क्याम्पको सम्झना गर्छन्। त्यतिबेला डा जी एस योञ्जनको नेतृत्वमा वृक्षरोपन कार्यक्रम पनि सम्पन्न भएको थियो। अहिले ती बिरूवाहरू बढेर रूख भएको हुनुपर्छ। त्यस क्याम्पमा गएका मेरा एक प्रिय साथी सन्तोष बस्नेतले केही दिनपछि आत्महत्या गरेछन्। उनी छैटौं कक्षादेखिका मेरा साह्रै मिल्ने साथी थिए। त्यही क्याम्प नै उनीसित भएको अन्तिम भेट रहेछ। त्यसैगरी अर्को एकपल्ट हामी मिल्ने ग्रुपका बीसजना जति साथीहरू मिलेर डेलो डाँडा घुम्न गएका थियौं। डेलो हिडेर गई गुम्यौं, फोटो खिच्यौं र वरिपरि गोलबद्ध भई बोकेर लगेका खाजा बाँडेर खायौं।
मेरा ब्याचका कलेजियन साथीहरू अब त धेरै बिर्सिसकियो। हुन पनि पढ्ने विद्यार्थीहरू बगुन्द्रै हुन्थे। हाम्रो ब्याचमा कलातर्फ मात्र अढाई-तीनसय जनाजति थियौं होला। पेदोङ, डुवर्सतिरबाट पनि साथीहरू पढ्न आएका थिए। कतिजनासित त नबोली, नामै थाहा नभई र सामान्य परिचय नभई कलेज सकियो। केही तिब्बती साथीहरू अरूसित घुलमिल नगरी आफ्नै समुदायबिच मात्र हुन्थे। केही घनिष्ठ र सम्झिएका साथीहरूमध्ये कृष्ण गिरी, हेमन्त गुरूङ, कुमार थापा, गीता छेत्री, मीरा छेत्री, कृष्टिना धमाला, रेनरिप रोङ्गोङ, सुशील प्रधान, बीरबल सुब्बा, एकराज राई, सरूणा लामा, ब्रजलाल लिम्बु (आसामका), गोपाल सापकोटा, राजेन थापा, बिनु छेत्री, सावित्री छेत्री, अल्बिना लामा, फिरोज कुरेशी, जरीन नाज, रेणुका सुब्बा, मङ्गला राई, हेम सुब्बा, अर्जुन खवास, उपेन्द्र प्रधान, हेम छेत्री, तेजकुमारी, श्रीमती मुन्ना प्रधान(राई), रमेश तिरूवा, विजय सुन्दास, विप्लव दाहाल, पद्मा शाक्य, मालती राई, राजेश विश्वकर्म, सुनिता छेत्री, बनिता राई, किरण प्रधान, सरिता पौड्याल, पूनम छेत्री, थुप्देन भुटिया, सोफिया लेप्चा, सन्ध्या पाण्डे, सुधीर घले, इन्द्रवीर राई, फुपछिरिङ भुटिया, सन्तोष बस्नेत, पुरण सिटोङ आले, हिमालचन्द्र राई, राजेश राई, याङकी भुटिया, रिनामित लेप्चा, बसन्त कानु, यसबिन्द्र प्रधान र मेरा अनर्सका प्यारा साथीहरू चन्दा, एरिना, रिता प्रमुख थिए।
यी साथीहरूमध्ये थुप्देन भुटिया एक सफल गायक बने, कृष्ण गिरी व्यवसायी बनेको छ, कुमार थापा जनता कलेजको कर्मचारी, सुधीर घले सिङ्गापुरमा, बीरबल सुब्बा दुबईमा छन्, सोफिया लेप्चा डब्लू बी सी एस अफिसर बनेकी छन्, बनिता राई नर्स बनेकी छन्। बिजय सुन्दास नेता भएको छ, भने देवराज ठकुरी डुवर्सको कुनै एउटा चियाकमानमा मेनेजर भएको छ। रिनामित लेप्चा लोले हाइ स्कूलमा स्थायी शिक्षिका बनेकी छन्। हेम सुब्बा सरकारी कर्मचारी भए, राजेश राई फुड एण्ड सप्लाईका कर्चाचारी, एकराज राई ई एफ आर जवान भएका छन्। यी एउटै ब्याचका साथीहरूमा सुशील प्रधान र रेनरिप रोङ्गोङले जोडी बनी कलेज पढ्दा-पढ्दै र पछिबाट कुमार थापा र अल्बिना लामाले बिहा गरेका छन्। उता विज्ञान विषय पढ्ने हाम्रा ब्याचका साथीहरूमा रविन तामाङ, विकाश कालिकोटे, विकाश छेत्री, तपन शर्मा, बिकेन्द्र सुब्बा, नाथनियल लेप्चा, साइमन पिटर याँग, ओथनियल प्रधान, राजु नयपाल, दिपेन्द्र शर्मा आदिको नाम याद आउँछन्। यी साथीहरूमध्ये कतिजनासित अझै पनि मित्रता य़थावत् छ। कति बितेर गइसके। सन्तोष बस्नेत, पुरण सिटोङ आले, रिञ्जिङ भुटिया, सारा लेप्चा अहिले यस संसारमा छैनन्। त्यस्तै गरी हामीलाई पढाउने गुरूहरूमा प्रा देवकुमार प्रधान, प्रा अमृत खालिङ, प्रा सि के सुब्बा बितेर गइसकेका छन्।सम्झने क्रममा मेरा प्रिय दाजु ज्ञानेश्वर शर्मा सम्झन्छु जसले मलाई कलेजसम्बन्धि दिशा-निर्देश दिन्थे, माया गरी एक वर्ष जसो सधैं कलेज लान्थे। जो कलेजमा मभन्दा एक वर्ष सिनियर थिए। उनकै किताब र नोट्सबाट मैले दुई ऐच्छिक विषय इतिहास र राजनितीशास्त्र पढेको थिएँ। आजभन्दा तीन वर्षअघि उनी कुबैतमा दुर्घटनामा परी देहावसान भएका हुन्। उनी मेरा दाजु मात्र नभई एक असल मित्रजस्ता थिए। अहिले कलेजका दिनहरू सम्झँदा उनी पनि मेरो मानसपटलमा स्वतः आइहाल्छन्।
कलेजको शैक्षिक ब्यवस्था सुधार्न तत्कालीन प्रिन्सिपल डा जी एस योञ्जनले निकै प्रयास गर्नुभएको हो। उनलाई श्री बलभद्र शर्मा, प्रा अमृत खालिङ, प्रा कुमार छेत्री, प्रा रिञ्जी नाम्चू आदिले सहायता गरेका थिए। विशेषगरी परीक्षाको समयमा केही साथीहरू नकल गर्नेहरूलाई धेरै नियञ्त्रण गरिएको थियो। कलेजमा बेला-बेलामा तर्क-सभा हुन्थ्यो भने भित्ते पत्रिका पनि निस्कन्थ्यो। तर्क सभामा सुधीर घले, रमेश विश्व, हेमन्त गुरूङहरू साह्रै राम्रो बोल्थे। यसैगरी बेला-बेलामा कोही विद्वान डाकी वार्ता- गोष्ठी पनि हुन्थ्यो। विद्यार्थी यूनियनको तर्फबाट बर्सेनी सम्पन्न हुने स्वागत र विदाई समारोह अत्यन्त भव्यताका साथ हुन्थ्यो। त्यस्ता कार्यक्रममा साथीहरू हेमन्त गुरूङ, अस्विनी मंग्राती, सुधीर घले आदिले गीत गाएका थिए। केही नकारात्मक कुराहरू पनि थिए। कलेजमा विद्यार्थी संगठनका लागि चल्तीमा रहेको दलका बाहेक अरू विद्यार्थी संगठन गर्न चाहे केही दादाहरूद्वारा धम्क्याइन्थ्यो र डरसरीको माहौल बनाउँथे। त्यतिबेला गान्तोकमा सम्पन्न डेन्ज-93 भने विविध प्रतियोगितात्मक उत्सवमा हाम्रो कलेजबाट अँग्रेजी रक गीत गाउने र युनियनका केटाहरू मात्र भाग लिन गान्तोक गएका थिए। गोर्खाल्याण्ड आन्दोलन भर्खर सकिएको थियो तर त्यसको तुष सकिएको थिएन। परीक्षामा नकल गर्ने चलन पूरापूरी हटेको थिएन र घरमा नपढ्नेहरू नकल गर्ने प्रयास गर्थे।
जे होस्, कालिम्पोङ कलेजमा बिताएका दिनहरू अविष्मरणीय छन्। समयको धपेडीले पनि ती सुनौला दिनहरू मेटाउन सक्दैन। ती दिनहरूमा आफ्ना पारिवारिक झैं-झमेला र सङ्घर्ष थिएन। हामी उन्मुक्त भई कलेजमा शैक्षिक कार्य सम्पन्न गर्थ्यौँ। बुद्धिभन्दा रहर बेसी, कर्तव्यभन्दा कल्पना बेसी, ज्ञानभन्दा भावना बेसी थियो। ती कति मिठा र रमाइला दिन थिए। अहिले समयको छालमा हेलिएर हामी कता-कता पुग्यौं। सम्झन्छु मेरा प्रिय साथीहरू, मेरा आदरनीय गुरूहरू। मेरो मगजमा स्मृतिहरू सल्बलाउँछन्। अब त ती दिन फर्केर आउदैन तर ती रमाइला दिनहरू सम्झँदा स्वाद पनि, विस्वाद पनि, कता कता खुशी, कता कता नोस्टाल्जियाले अँठ्याउँछ। यो संस्मरण लेख्दा पनि एक प्रकारले भावुक भई त्यही विगतको कलेजियन जीवनको सुनौलो संसारमा मानसिक विचरण गर्नपुगेँछु।

सहायक प्राध्यापक
स्नातकोत्तर नेपाली विभाग
दार्जीलिङ सरकारी महाविद्यालय

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 जेठ, 2071

लेखकका अन्य रचनाहरु