आख्यानकार विन्दया सुब्बासँग कुराकानी

- डा. राजकुमार छेत्री

यहाँले कविता, कथा, उपन्यास, लेख-निबन्ध, यात्रा- संस्मरण, अनुवाद तथा आध्यात्मिक साहित्य- चिन्तन र लेखनमा समेत आफ्नो सुदक्ष कलम चलाउँदै आउनुभएको छ । यहाँसंग म यो प्रश्‍न कविता विधाबाटै गर्ने लोभ गरेको छु । तपाईं आफ्ना कविता लेखनमा सम्प्रेषणलाई अर्थात् कवितात्मक सम्प्रेषणशीलतालाई कतिको महत्त्व दिनुहुन्छ ? तपाईं आफ्ना कविता लेखनको उद्देश्‍य र अभीष्‍ट के लाई मान्‍नुहुन्छ ? तपाईंको काव्यिक लक्ष्यभित्र जुन जीवन छ, त्यसलाई बुझाउनु पर्दा के भन्‍नुहुन्छ ?

कवितात्मक सम्प्रेषणशीलताबिना कविता कविता हुन्छ जस्तो मलाई लाग्दैन । यसोसले यसलाई सर्वोपरी महत्त्व दिन्छु म । सम्प्रेषणशीलता कविताको लक्ष्य हो , आभ्यन्तरिक सौन्दर्य हो । कविताबाट आफ्नो लेखनयात्रा आरम्भ गरेकी भए पनि तर पछि गएर मैले कथा र उपन्यासलाई आफ्नो मूल विधा बनाएँ । तर बेला बेला कविता पनि लेखें। कुनै भावविशेषलाई, स्थितिविशेष र त्यस स्थितिप्रति आफ्नो अनुभूति विशेषलाई अभिव्यक्ति दिनका निम्ति नै सायद कविता लेखें। मेरो कविता लेखनको उद्देश्‍य त्यही हो र यही नै कविताको सर्वमान्य उद्देश्य पनि हो कि ? मेरो काव्यिक लक्ष्यभित्र एउटा औधी संघर्षशील, जीवनप्रति सचेत र आघात-व्याघातमा मुछिएको एउटा जीवन छ , जसलाई नै अभिव्यक्त गर्न म कविता लेख्छु । तर कुनै सार्वभौम विषयलाई पाठकहरूमा सम्प्रेषण गर्नको निम्ति नै अधिक कविता लेखेकी छु मैले । आजका जल्दा -बल्दा सार्वजनिक विषयलाई लिएर लेखेकी केही कविताहरू पनि छन् मसँग । कहिले समयका लहरसँग बगेर, कहिले जन-आवाजहरूसँग सम्मिलित भएर पनि कविता लेखें मैले । लेखक भएकीले आफ्नो पनि कर्त्तव्य सम्झेर लेखें ।

अनुवाद कार्यतर्फ पनि यहाँ त्यतिकै उत्साही र सक्रिय रहनु भएको छ । हामी स्कूले विद्यार्थी छँदै यहाँले अनुवाद गर्नु जैनेन्द्रकुमारको त्यागपत्र उपन्यास पढ़ेका थियौं र तपाईंलाई पनि एकजना सफल अनुवादकको रुपमा चिनेका थियौं । भारतीय नेपाली साहित्यमा अनुवाद कार्यको प्रयोजनीयता, लक्ष्य र यसको सम्भावित भविष्यबारे केही बताई दिनु हुन्छ कि ? आजसम्मका आफ्नो अनुवाद कार्यमा यहाँले के कति सफलता र सन्तुष्टि पाएको अनुभव गर्नुहुन्छ ?

अनुवाद कार्यलाई नै विशेष कर्मको रुमा सम्पन्‍न गरुँला भन्‍ने कहिले सोचिनँ मैले । अध्ययनपछि कुनै साहित्यिक कृतिले कहिले असाध्य प्रभावित गरिदिएको खण्डमा यस्तो कृति हाम्रा नेपाली पाठकहरुले पनि पढ़न पाए हुने भन्‍ने भाव मनमा जाग्दा अनुवाद गर्ने काम भयो मबाट । जैनेन्द्रको त्यागपत्र अनुवाद गर्दा म मात्र उन्‍नाइस-बीस बर्षकी युवती थिएँ । त्यो उपन्यासमा एउटा यस्ती नारीको अनन्य चरित्र छ, जसले मभित्रको लेखकलाई साह्रै झक्‍झकायो र अनुवाद गरें । नेपाली भाषामा अनुदित त्यो औपन्यासिक कृति सन् १९७८ सालमा श्‍याम ब्रदर्स प्रकाशनबाट प्रकाशित भयो ।

प्रायः ४० बर्षपछि पुनः एउटा उपन्यास द्रौपदी सँग अति विमुग्ध भएँ म वस्तुगतरुपमा पनि र भावगतरुपमा पनि । त्यस कृतिको कलापक्ष अति उत्कृष्ट छ र वस्तुपक्ष पनि उत्तिकै सशक्त । भारतीय साहित्यकी एक उड़ियाभाषी महिला लेखक डा. प्रतिभा राय हुन्-यस उपन्यासकी स्रष्टा, जसको निम्ति भारतीय ज्ञानपीठकै मूर्तिदेवी पुरस्कारले उनी सम्मनित भइन् । प्रकाशोन्मुख छ- द्रौपदी । प्राचीन वेद-वेदान्तहरु अनुवादकै रुपमा जनमानससमक्ष आउँदा हामी हाम्रा इतिहास, संस्‍कृति र धर्मसँग परिचित छौं । अनुवादकै कारण आज विश्वससाहित्यसँग पनि परिचित छौं हामी। त्यसैले यसको प्रयोजनीयता अत्यन्त ठुलो छ ।

कलिलो अपरिपक्व उमेरमा अनुवाद गरेकीले त्यागपत्र - को अनुवादमा धेरै कमी-कमजोरीहरु पनि छन् , तर त्यस अनुवादले धेरै स्वागत र सराहना पनि पायो । द्रौपदी-कतिको सफल अनुवाद भएको छ भन्‍न सक्दिनँ तर यस्तो शास्त्रीय कृति अनुवाद गर्न पाएकीमा सन्तुष्ट छु । आफ्नै फुटकर लेख, कथा, र कविताहरु पनि हिन्दी भाषामा र एउटा –दुइटा रचना बङ्गला भाषामा अनुवाद गर्ने काम गरेकी छु । श्री सत्य साई सेवा सङ्गठन, दार्जीलिङबाट भगवान बाबाको जीवनी सत्यम् शिवम् सुन्दरम्- अङ्ग्रेजी भाग ३- को पनि अनुवाद गर्ने आदेश वा सौभाग्य पाएकी छु । भारतीय नेपाली साहित्यमा अनुवादको भविष्य राम्रो छ, अन्य भाषाका धेरै कृतिहरू अनुवाद भइरहेछन् , त्यसैगरी हाम्रो भाषाका कृतिहरू पनि भारतीय र अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद हुनुपर्छ ।

तपाईं आफ्ना कथा लेखनको सुरुसुरुको समय र अहिले तपाईंले लेखिरहनु भएको कथासिर्जनाको समयमा के कस्तो अन्तर आएको पाउनुहुन्छ, देख्नुहुन्छ ? कथासिर्जनाक्रममा वस्तुको चयन पहिले गर्नुहुन्छ कि पात्रको चरित्रलाई पहिले केलाउनु हुन्छ? कथामा वस्तु, पात्र र परिवेशमध्ये तपाईं कसलाई बढ़ी महत्त्व दिनुहुन्छ ?

मैले कथा लेख्न आरम्भ गरेको समय सत्तरको दशकलाई नेपाली साहित्येतिहासमा कथाको निम्ति सबैभन्दा उर्वर र सक्रिय समय मानिन्छ । कथा, कथा नै जस्तो लेखिने समय थियो त्यो । कथामा सबैभन्दा बढ़ी प्रयोग भएको दशक पनि त्यही नै थियो तर बीचको धारालाई समाएर मैले कथा लेख्न आरम्भ गरेकी थिएँ । आज कथा लेखनमा धेरै चिन्तन-धारा र नयाँ परिपाटीहरु आएका छन् । म आफैले पनि केही समयसम्म मनोविश्‍लेषणतर्फ कलम चलाउने चेष्टा गरें । समग्रमा कथा सिर्जनामा मद्वारा कहिले वस्तुको चयन अघि हुन्छ, कहिले पात्रको चयन । कहिले एउटा कविताको विषय जस्तो कुनै स्थितिप्रतिको तीब्र भावसंवेदनालाई , मात्र एक चोइटा अनुभूतिलाई पनि मैले कथाको विषय बनाएकी छु । कथामा परिवेश पनि अनिवार्य तत्त्व हो , तर प्राथमिकतामा वस्तु र पात्र नै आउँछन् ।

आजभोलि नेपाली कथामा देखा परेको शिल्प-संरचनागत नवीनता कथावस्तु चयनमा विविधतालाई तपाईंभित्रको सचेत र सक्रिय लेखक व्यक्तिले के कसरी मूल्याङ्कन गर्दै आएको छ ? कथालोचकहरू त आजको हाम्रो नेपाली कथामा पात्र-चरित्र नेपाली नै भए पनि कथाको जीवनमा भने नेपालीपन छैन भन्‍ने गुनासो गर्दैछन् । अतः आज लेखिँदै गरेका विविध प्रयोगमूलक कथा लेखनबारे तपाईंको के कस्तो मान्यता र धारणा रहेको छ ? एकजना जिज्ञासु पाठकको हैसियतले यो कुरा जान्‍न मन लागेको छ ।

नेपाली कथामा आज शिल्प-संरचनागत नवीनता, कथावस्तु चयनमा अति विविधता आएको छ । नेपालमा ध्रुवचन्द्र गौतम, परशु प्रधान, इन्दिरा प्रसाईं , किशोर पहाडी आदिले शिल्प- संरचनामा सदैव नवीनता ल्याउने चेष्टा गरे । चिन्तनमा नवीनता, संरचनामा नवीनता र प्रयोगमूलक कथा लेखनमा नेपाली साहित्यका शिखर प्रतिभा डा. इन्द्रबहादुर राई यहाँ पनि सर्वोपरि नै हुनुहुन्छ । तर यतातिर आजका कथाशिल्पीहरू विशेष युवा जमातले कथामाथि निक्‍कै नवीनता ल्याए । प्रवीण राई ‘जुमेली ’, सञ्जय विष्ट, प्रदीप गुरुङ, उदय थुलुङ र नीना राई आदि उल्‍लेखनीय छन् । गति मानिसको स्वभाव हो र परिवर्तन गतिको प्रकृति। कथा लेखनमा पनि यही कुरो सान्दर्भिक हुन् आउँछ । यही समयको माग पनि हो ।

‘आजको नेपाली कथामा जीवन भने नेपाली छैन ’भन्‍नेहरु जति छन् , विश्‍व-समस्य अंगाल्न चाहने स्रष्टाहरू हामी जातिय संवेदनाबाट माथि उठ्न सक्नुपर्छ भन्‍नेहरू पनि उतिकै छन् । अति जातियतावादी नारा नभइकन जीवन नेपाली हुनुपर्छ भन्‍ने मान्यता छ मेरो । तर नेपाली मात्र जीवन भएर त्यहाँबाट परतिर का जीवन , विचार र दृष्टिकोणलाई फैलाएर परतिरको संसारलाई पनि विषय बनाउनुहुन्‍न भन्‍ने विचारको खण्डन गर्छु म । लेखकीय चेतनाले, धर्मले छोएको विश्‍व-व्यथा, विश्‍वसमस्या सबै माथिको आकाश पनि हाम्रा कथाहरूको विषय हुनुपर्छ भन्‍ने मेरो विचार छ । आजको विभिन्‍न विचारधारा र प्रवृत्तिसम्मत कथाकारहरूको कथा सिर्जना पढ़्न पाइरहेछौं हामी । विश्‍वका सबै विविधताहरू त्यहाँ आउनेछन् , जो स्तुत्य छ ।

पश्‍चिमबाट सुरु भएको नारीवादी लेखनले आज हिन्दी, बङ्गला जस्ता विकसित तथा अत्यन्त नजीकको छिमेकी साहित्यमा समेत निकै विकास र हलचल मचाएको पढ़्न र सुन्‍न पाइन्छ । नारीवादी लेखन-चिन्तनतर्फ यता भारतका नेपाली लेखक-समालोचकहरूको सक्रियता के कस्तो रहेको देखिन्छ ? अझ यसो भन्दा राम्रो होला नारी विमर्शका दृष्टिले भारतका नेपाली साहित्य स्रष्टाहरूको सहभागिता, सक्रियता र व्यस्तता कतातिर उन्मुख रहेको देखिन्छ ?

नारीवाद राजनैतिक शक्ति, साहित्यिक शक्ति भएर चार-पाचँ दशकअघि नै पश्‍चिमी जगतमा आरम्भ भयो । हो , यसले पश्‍चिमका केही देशहरू हुँदै पूर्वतिर पनि आफ्नो गति र वर्चस्व देखायो । नेपाली साहित्य पनि यसबाट अक्षुण्ण छैन । भारतीय नेपाली साहित्यमा यस सिद्धान्तलाई लिएर लेख्ने भन्दा समालोचकहरूमा बढ़ी सक्रियता रहेको महसूस गर्छु म । डा. जस योञ्जन ‘प्यासी’, डा. मोहन पी. दाहाल, पेम्पा तामाङ, डा. कविता लामा यस धाराका अध्ययनशील समालोचकहरू हुन् । डा. पुष्पा शर्माले पनि यस दिशातर्फ कतै कतै कलम चलाएकी छन् । आजका हाम्रा युवा समालोचकहरू – जय क्याक्ट्स, प्रा. राजकुमार छेत्री, शारदा अधिकारी, देवराज शर्मा आदि नारीवादमाथि नै केन्द्रित नभए पनि नारी साहित्यकारहरूका केही कृतिहरूलाई मूल्याङ्कन गर्दै नारीवादमाथि विहङ्गम दृष्टि दिएका छन् । विन्द्या सुब्बाको निर्गमन, इन्द्रमणि दर्नालको ययाति, पुष्पा राईको मध्यान्तर, आदि कृतिहरूलाई यसै कसीमा राखेर उनीहरूले निर्भरयोग्य चर्चा गरेका छन् ।

भारतका नेपाली साहित्य स्रष्टाहरूले नारीवदी चिन्तनको आधारमा या यसै विचार र सिद्धान्तमा अड़िएर कथा, उपन्यास नलेखे पनि नारीवादी मान्यतामा सशक्तरुपमा उभ्याउन सकिने स्रष्टाहरू छन् । हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे, गोपालप्रसाद रिमालको मसान, विश्‍वेश्‍वरप्रसाद कोइरालाको तीन घुम्ती, र उनका फूटकर केही कथाहरू झैं संख्यात्मकरुपमा कम भए पनि भारतीय नेपाली लेखकहरुले पनि नारीवादी रचना र कृतिहरुको योगदान दिएका छन् । नारीवादी लेखनकी एक ज्वलन्त मशाल हुन्-पारिजात । पारिजातका अतिरिक्त जलेश्‍वरी श्रेष्ठ, सीता पाण्डे, इन्द्रमणि दर्नाल, पुष्पा राई, इन्दिरा प्रसाईं , पद्मावती सिंह , प्रेम प्रधान, माया ठकुरी आदि यस धाराका उल्‍लेखयोग्य स्रष्टाहरू हुन् । अन्य केही साहित्यकारहरूले पनि आफ्ना कृतिहरूमध्ये एकाध रचना र कृतिहरूमा यसतर्फ कलम चलाएका छन् ।

तपाईंको पौरखी हात र कलम साहित्यका प्रायः सबैजसो ( नाटक र समालोचना छोड़ेर , मैले पढ़न नपाएको हो कि ?) विधामा चलेको भए पनि आख्यान क्षेत्रमा बढ़ी परिचित र प्रसिद्धिसमेत कमाइसक्नु भएको छ । यसै सन्दर्भमा अघिदेखि सोधुँ-सोधुँ मनमा लागेको एउटा प्रश्‍न छ, तपाईंभित्रको एकजना सचेत र सक्रिय उपन्यासकार र कथाकार व्यक्तित्वमध्ये कसको उचाई अलिक बढ़ी भएको बोध गर्नु भएको छ ? कथा –उपन्यास सिर्जनाकालमा तपाईंलाई सधैँ लखेटिरहने, छायाँ बनेर अघिपछि देखा पर्ने कुनै त्यस्तो खास वस्तुस्थिति, पात्र-चरित्र तथा परिवेश छन् कि ?

आवश्‍कता महसूस गरे जस्तो गरी मैले प्रायः सबैजसो विधामा कलम चलाएँ । नाटक प्रकाशित गरिनँ तर आजका बाल-बालिका र युवाहरूलाई मार्गदर्शन हुने जस्तो एउटा-दुइटा आध्यात्मिक विषयक नाटक लेखें । समालोचना पनि फाटाक-फुटुक लेखें । लगन-उपन्यासको नारी पात्रलाई लिएर लेखेकी एउटा समालोचना श्री नरबहादुर भण्डारीद्वारा सम्पादित अर्चना-पत्रिकामा प्रकाशित छ । कार्यशाला र सेमिनारहरूमा आवश्यकता पर्दा केही समालोचकीय प्रवृत्तिसम्मत प्रबन्धहरू प्रस्तुत गरें , जसमा ‘स्वतन्त्रोत्तर भारतीय कथा साहित्य’ र ‘नेपाली साहित्यमा नारी लेखन :एक परम्परा’ उल्‍लेख गर्न चाहन्छु । कथा विधाप्रति नै मेरो बढ़ी रुचि रह्यो । पछि गएर उपन्यास विधाप्रति पनि मैले दायित्ववोध गरें । दुइवटा विधा नै मेरो कर्म र निष्ठा बराबर रहेको छ , अब उचाई यहाँहरूले नै नाप्नुहोला ।

प्रिय राज भाइ ! मभित्र कुनै एउटा उद्दीपक छ , प्रेरणाको एउटा निरन्तर उज्यालो जसले मलाई ‘तैंले लेखिरहनुपर्छ’ भनेर सदैव झकझकाइ रहन्छ । वस्तु, पात्र केही होइन केवल एक अनुभूति , एक श्रद्धा । यस बिम्ब र अनुभूतिलाई ‘मेरो देशको...’ कवितामा अभिव्यक्त गरें जो मेरो कविता संग्रह अन्तर्निहित-भित्र समावेश छ ।

सिर्जनात्मक साहित्य लेखनमा समाज-चेतना, जातीय चेतना तथा जातीय संस्कृतिको महत्त्वलाई यहाँले कुन रुपमा लिन खोज्नु भएको छ ? यस सन्दर्भमा पाठकहरूबाट तपाईं के कस्तो किसिमको प्रतिक्रियाको अपेक्षा राख्नुहुन्छ ?

साहित्य लेखेर जे जति सूचना , सन्देश र शिल्पका सामलहरू बटुलिरहेछु म , त्यो मेरो जाति र समाजकै निम्ति हो । आफ्नो जाति र समाजप्रतिको मायाबाट नै कसैको पनि साहित्यिक यात्रा आरम्भ हुन्छ भने जस्तो लाग्छ मलाई । तर यो कुरा पनि उतिकै साँचो र औचित्यपूर्ण हो कि एउटा साहित्यिकले जति जति लेख्दै जान्छ उ आफू आफ्नो जाति, समाज र जातीय संस्कृतिबाट उठेर सार्वभौम मूल्यबोधभित्र पस्दै जान्छ । यही उसको यात्राको प्रकृति हो । मैले टेकेको धरती , ग्रहण गरेकी हावा मेरै समाजभित्रको भए पनि चेतनागतरुपमा म आफै परतिरको संसार पनि विचरण गर्न चाहन्छु ।

सिर्जनाका क्षणहरूमा कहिले म केवल एक स्रष्टा रहन चाहन्छु , मात्र एक साहित्यशिल्पी रहन चाहन्छु, न स्री र न पुरुष, न कुनै जातिभेद, न कुनै वर्गभेद । केवल एक स्रष्टा जो जीवन बुझ्नलाई अनन्तदेखि तृषित छ , मान्छे भएकोमा जो केवल मानव-मूल्यबोध खोजिरहेको हुन्छ ।

नेपाली भाषा-साहित्य र समाजसेवा गरे वापत नेपाली साहित्य-समाजबाट तपाईं पनि धेरैवटा पुरस्कार –सम्मानले सम्मानित हुनुहुन्छ । तपाईंले पाउनु भएको पुरस्कार, सम्मान र प्रतिष्ठा तपाईंको मात्र होइन, त्यो त समाज, जाति, साहित्यको पनि सम्मान हो । युद्ध लड़दा एक्ला –एक्लै लड़नु परे पनि युद्धपछिको विजय र सफलता त्यो लड़ने एक्लो व्यक्तिको मात्र हुँदैन , भनिन्छ नि ! कतिजना मानिसहरू पुरस्कारले लेखकलाई बिगार्छ भन्‍ने धारणा राख्छन् भने कोही चाहिँ पुरस्कारै पाइएन भनी गुनासो समेत गरेको सुनिन्छ । कतिजना भने लेखनको बलले भन्दा पुरस्कारको बल र मानले मात्र माथि उठेकाहरू पनि छन् , भनिन्छ । पुरस्कारलाई तपाईं कुन स्थान राख्नुहुन्छ ? प्रेरणा र प्रोत्साहनको रुपमा या त आफ्नो कृतिको सम्मान र मूल्याङ्कनको रुपमा ? यसबारे तपाईंका विचारहरू जान्‍न मन लागेको छ ।

यसको उत्तर मैले धेरै ठाउँहरूमा दिएकी छु । पुरस्कारलाई मैले खाँटी प्रेरणाको रुपमा लिएँ र लेख्नकै निम्ति ठूलो दायित्ववोधको रुपमा लिएँ तथा त्यस प्रेरणा र दायित्ववोधबाट जन्मेका सबै कर्महरू समाज र जातिकै निम्ति । पुरस्कारले लेखकलाई बिगार्छ भन्‍ने धारणा म राख्दिनँ मेरो व्यक्तिगत अनुभवको आधारमा पनि । यो सायद पुरस्कार प्रापकको मनोवृतिमाथि पनि निर्भर गर्छ होला । हो, पुरस्कार सब समय पाउनुपर्ने हकदारले नै पाउँछन् भन्‍ने पनि शत-प्रतिशत विचार छैन मेरो , कारण धेरैले आफ्नै चेष्टा ,व्यक्तिगत सम्बन्ध र खेतीको भरमा पनि पाउँछन् पुरस्कार र कतिले त लगानीसम्म पनि गरेको सुन्‍न पाइन्छ ।

भागवत गीताले ‘काम गर फलको आशा नराख’ भन्छ । तर आशा राखे पनि, नराखे पनि सही कर्म गर्नेलाई फल पनि अवश्‍य प्राप्त हुन्छ । सुकर्म सदैव फुल्छ ,फल्छ यही सही हो र प्रकृति पनि यही नै । पुरस्कारलाई म प्रेरणा र प्रोत्साहनको रुपमा लिन्छु । अवश्‍य यो मूल्याङ्कन हो भनेर यसै विश्‍वास र धारणामा ग्रहण गरिन्छ र सम्मान पनि हो यो । तर सम्मान पाएकै राम्रो हो , मागेको ,हत्याएको राम्रो होइन । त्यहाँ ‘सम्मान’-शब्दको अपव्याख्या हुन्छ । स्वतः मूल्याङ्कनबाट निष्पक्ष सम्मान प्राप्त गर्नु ठूलो आत्मसन्तोषको विषय पनि हो ।

वर्त्तमान समयमा पाठकहरू साहित्यप्रति पलायन र विमुख हुँदै गइरहेको स्थिति छ । साहित्यप्रति पाठकको र अझ ग्राहक -पाठकमा घट्दो रुचिलाई विचार गर्दा अबको साहित्य लेखन कस्तो हुनुपर्ने र साहित्यकारको सामाजिक दायित्व के कस्तो रह नुपर्ने भन्‍ने लाग्छ ? यसकालमा साहित्य अध्ययन र लेखनमा निरन्तररुपमा लागिपरेका युवा पुस्ताका अध्ययनशील साहित्यालोचकहरूमध्ये पेम्पा तामाङ, डा. कविता लामा, जय क्याक्ट्स, देवराज शर्मा आदिका साहित्यालोचनागत शिल्प-शैली तथा सक्रियता, सहभागिता र भूमिकाबारे संक्षेपमा केही प्रकाश पारिदिनु हुन्छ कि ?

वर्तमान पिँढ़ीका सचेत, ओजस्वी र अध्ययनशील साहित्यालोचकहरूको सूचिमा अझै एउटा नाम सगर्व लेख्नुपर्छ- प्रा.राजकुमार छेत्री । महाविद्यालय, विश्‍वविद्यालयमा नेपाली विभागका प्राध्यापकहरू प्रायः धेरै नै समालोचकहरू छन् , कारण विद्यार्थीहरूलाई आफूले पढ़ाएका विषयहरूलाई नै समालोचकीय सबल दृष्टिकोण र परिपाटी दिएर नेपाली साहित्यका पाठकहरूसमक्ष पनि प्रस्तुत गरेका पढ़न पाइरहेका र पढ़ेर लाभान्वित हुन पाइरहेका छौं हामीले । डा. घनश्‍याम नेपाल, डा. गोकूल सिन्हा, डा. जस योञ्जन ‘प्यासी’, डा. जीवन नामदुंग, श्री शरद् छेत्री, श्री हस्त नेचाली आदिले नेपाली साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहेका छन् । अघि-अघिका पूर्वाग्राही र प्रायोजित समालोचनाको परम्परामा आज एउटा अचानक परिवर्तन , स्वतन्त्र हावा र खुल्‍ला मानसिकता खेलिरहेको अनुभव गर्छु म । विशेष आजको युवा साहित्यालोचकहरूले कुनै राम्रो कृति पढ़ेर प्रतिक्रिया हुनसाथ आफ्नो दृष्टिकोण , टिप्पणी र समीक्षाहरू लेख्ने गरिरहेछन् । कलाको क्षेत्रमा यो प्रगतिको सूचक हो, जसको निम्ति स्वागत व्यक्त गर्नुपर्छ हामीले ।

वर्तमान समयमा पाठकहरू साहित्यप्रति पलायन र विमुख हुँदै गएको कुरो पनि सत्य हो । तर यति हुँदा हुँदै पनि साहित्यका पाठकहरू छन् , जो सचेत छन् , अध्ययनशील छन् । हालसाल धेरै मात्रामा भइरहने साहित्यिक कार्यक्रम र त्यस कार्यक्रमहरूमा उपस्थित भीड़बाट पनि यस कुराको अनुमान लाउन सकिन्छ । सबै पिँढ़ीका साहित्यकारका कृतिहरू प्रकाशित भइरहेका छन् । यतिका लेखकहरू जन्मनु पनि त साहित्यप्रतिकै अनुराग र सेवाको उदाहरण हो । हो, यो एउटा तितो सत्य नै हो कि कुनै शर्तबिना, आर्थिक सहभागिताको मागबिना कृतिहरू प्रकाशित गरिदिने प्रकाशकहरू छैनन् , बिक्री –वितरक छैनन् । लेखकहरू आफैले यी सबै भूमिकाहरू पनि पालन गर्नुपर्छ । विभिन्‍न स्तरका र विभिन्‍न रुचि भएका पाठकहरू छन् । त्यस पक्षलाई पनि ध्यान दिँदै लेखकहरूले लेख्नुपर्ने बेला आएको छ । लेखकहरू स्रष्टा र द्रष्टा हुन्छन् तर आजका सचेत पाठकहरूले कहिले लेखकहरूलाई मार्गदर्शन पनि गरिरहेका हुन्छन् ।

साहित्यकारको सामाजिक दायित्वबारे सदैव चर्चा भइरहेकै छन् । नेपाली साहित्यालोचकहरू जहाँ-जहाँ साहित्यकारहरूको चेतना पुगेको छ त्यहीँ –त्यहीँ उनीहरूको कलमले छोएका कुराहरूलाई विश्‍लेषण गर्नपटी लागेका छन् । सिर्जनात्मक क्षेत्रमा पनि र आलोचकीय क्षेत्रमा पनि भारतीय नेपाली साहित्यले एउटा व्यापक क्षितिज र आकाश उघारेको छ । यही समयको ठूलो उपलब्धी हो ।

नसोधुँ जस्तो लागेको यो प्रश्‍न तर सोध्छु , यही एउटा अन्तिम प्रश्‍न सोधेर तपाईंदेखि विदा लिन्छु । हाम्रो समाजमा एकातिर सामाजिक चेतना वा सामाजिक परिवर्तनको सर्वप्रमुख माध्यम बनाएर निरन्तर साहित्य साधनामा लाग्नेहरू पनि कम संख्यामा छैनन् । कोही चाहिँ पद (कुर्सी), प्रतिष्ठा र पुरस्कारको दौड़मा लागेका देखिन्छन् , तर तपाईं भने निरन्तर, अनवरतरुपमा साहित्य साधनामा लागिरहनु भएको छ । अन्य क्षेत्रमा लागेर रातरात आर्थिक स्तरले सम्पन्‍न हुने समयमा तपाईं भने साहित्य लेखनमा... आज जीवन र समयको यो मोड़मा आइपुग्दा तपाईंलाई कतै पीड़ाबोध ,पश्‍चातापबोध त भएको छैन ?

मलाई कुनै पीड़ाबोध र पश्‍चातापबोध भइरहेको छैन राज भाइ । तपाईंले जुन भौतिक प्राप्ति, ऐश्‍वर्य-आरामको उल्‍लेख गर्नु भयो ती सबै प्रलोभनदेखि विपरित साधनाद्वारा जीवनमा आन्तरिक मूल्यबोध खोज्ने चेष्टामा छु , यही मेरो निम्ति खुसी र आत्मसन्तोषको विषय हो । बरु, आज जुन गति र व्यस्ततामा छु , मैले लेखनारम्भ गरेकी समयको दृष्टिकोणले त्यो गति चाप्न ढीलो गरें भने जस्तो लाग्छ । सिर्जनाको क्षण मेरो निम्ति सबैभन्दा बढ़ी आनन्दको क्षण हो । मेरो लेख-रचना पढ़ेर पाठकहरूले ममाथि आस्था प्रकट गरिदिँदा अरू आनन्दित हुन्छु म । त्यसप्रकारको आनन्द सायद त्यो पद, पुरस्कारको र कुर्सीको खेलमा प्राप्त हुँदैन होला । म जानी जानी यो पद, कुर्सीदेखि टाड़ो पनि बस्छु । सृजनशील लेखकहरू यस्तो दौड़ र स्पर्धाभन्दा टाड़ै बसेको राम्रो हो भन्‍ने विचार पनि छ मेरो , तथापि कसैको त्याग र परिश्रममा एउटा संस्था फूल्छ, फल्छ । फेरी विपरीत मानसिकता भएकाहरूका कारण एउटा विशुद्ध साहित्यिक संस्था लबी र व्यवसायको अड्डा पनि बनिन्छ ।

भारतीय नेपाली नारी साहित्यिक मञ्च वसुधा भारतीय परिप्रेक्ष्यमा समयको एउटा माग हो । सृजनशील नारीहरूको कर्म र धर्म पनि हो , कारण यसले बर्षौदेखि कलम बिसाएर बसेका नारीहरूलाई पुनः उज्यालोमा ल्याउने र प्रेरणाको अभावमा नलेखिरहेका प्रतिभाशाली नारीहरूलाई गतिमा ल्याउने अति महत्त्वपूर्ण कामहरू गरेको छ । टापु-टापु जस्ता भएर बसेका नारी स्रष्टाहरूलाई एउटा मञ्चमा, एउटा आकाशमुनि भेला गर्ने काम गरेको छ –वसुधाले । वसुधा-लाई तथापि पद र कुर्सीको द्वन्द्व-प्रतिद्वन्द्वदेखि अक्षुण्ण र स्वाधीन राखेका छौं । पद केवल औपचारिकताको निम्ति मात्र छ यहाँ तर कतैबाट पनि कुनै चापविहीन, वाध्यताविहीन ।

साहित्य एक उत्पादक विषय हो , कलाको क्षेत्रमा सबैभन्दा उच्‍च कला पनि मान्छु म साहित्यलाई । हो, यसलाई काम नलाग्ने, वहियात र ‘टाइम पास’-को साधन मात्र मान्नेाहरूको पनि कुनै कमी छैन । जीवनलाई चित्रण गरिदिने ,व्याख्या गरिदिने , मानिसको सपना र मनोजगतलाई बुझाइदिने र अन्धकारमा पनि बाटो देखाइरहने कलाहरूमध्ये सर्वोपरी कला साहित्य नै हो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 जेठ, 2071

लेखकका अन्य रचनाहरु