अलबिदा पराजुली बा !

- छविरमण सिलवाल

जतिबेला काठमाडौं शहरमा म एक्लो थिए, जीवन जिउने उपक्रममा सडक नापिरहेको थिए । मेरा काँधमा थुप्रै जिम्मेवारीहरु थुप्रिएका बखत कागजमा आफ्ना मनका पीडाहरुलाई उतारेर राख्ने गर्दथे । आखिर ति त कविता भएछन् । र, ति कविताहरु नवकविता र कान्तिपुर दैनिकमा छापिएको बखत म निकै खुशि भएको थिए । कुनै ताकेता र चिनजानै नभएको म बबुरोका कविताले स्थान पाएको मा म आफै छक्क पर्दथे । यी दुई कविताले म साहित्यकार भएको पो रहेछु । यी नै कविता मार्फत पराजुलीसरले पूर्वएकनम्बर पुस्तकमा काभे्र मेथिनकोटका साहित्यकारको लिस्टमा मेरो नाम उल्लेख गर्नु भएको रहेछ । यो देख्दा खुशिले फुरुङ्ग भएको थिए म । मैले उहाँको पुस्तक थुप्रै पढेको र आफ्नै जिल्लाको भनेपछि उहाँलाई भेट्नै चौचौ बढ्योे । मेरो स्कुल देखिकै सहपाठी शिबर्शकर हुँमागाईँ प्रहरीमा जागिरे थिए, उनको पोस्टिङ् केन्द्रिय कारागारमा थियो । म एक्लै भएको बखत र बिदाको दिन त्यही मेसमा खाना खान बोलाउँदथे । एकदिन बाहिरै बसेर खाना खाइरहेको थियौ, त्यहाँ प्रकाश काफ्ले टुप्लुक्क आइपुगे । उनले मलाई पराजुली सरले भेट्न चाहेको कुरा बताए । म एउटा शहरमा जीउन संधर्ष गरिरहेको बबुरोलाई सम्झने कोही त रहेछ जस्तो लाग्यो । प्रकाश काफ्ले त उहाँकै घरमा बस्ने रहेछन् । उनकै साथ लागेर पहिलोपटक म भोटेबहालस्थित उहाँको निवासमा पुगेको थिए एक साँझ । त्यस पछिका दिनहरुमा उहाँ मेरो साहित्ययात्रामा सच्चा गुरुका रुपमा रहनु भयो । मलाई मागर्निर्देशन गर्नुभयो । नजानेका कुराहरु सिकाउँनु भयो । केही समय पत्रपत्रिकामा रचनाहरु छापिएनन् भने मलाई गाली गरेर तपाईले आजकल लेख्न छोड्नु भएजस्तो छ, नलेख्ने भए मकहाँ नआउनु होला भनेर लेख्न प्रेरित गर्नुहुन्थ्यो । उहाँ साहित्यमा लाग्न चाहने सबैलाई प्रेरित गर्नुहुन्थ्यो । उहाँको समिप्यबाट मैले धेरै कुराहरु सिकेको छु । साहित्यिक पत्रकार संंघका अध्यक्ष तथा रचना पत्रिकाका सम्पादक रोचक घिमिरेज्यूले भने जस्तै, ‘नेपाली भाषा लेखनलाई शुद्ध, स्तरीय र सुरुचिपूर्ण बनाउन पराजुलीले व्यक्तिगत र संस्थागत रुपबाट गरेको योगदान अतुलनिय रहेको छ । मातृभाषाको श्रीबृद्धिका निम्ति उनले आफ्नो सम्पूर्ण जीवनकै लगानी गरेका छन् भन्नु अत्युक्ति हुँदैन ।’
उहाँ एउटा सिङ्गै संस्था हुनुहुन्थ्यो । पुस्तकालय स्थापना, साहित्यिक संस्था स्थापना, पुस्तक सम्पादन, भाषा साहित्यको सेवामा अहोरात्र खटिनु हुन्थ्यो । र, उहाँको आत्मविस्वासले कुनै कार्य पनि अधुरा हुन दिएको थिएन, निरन्तर लागिरहेर पूर्ण गरेरै छाड्ने बानी उहाँमा थियो । माधबलाल कर्माचार्यले भने जस्तै आत्मविश्वासले उनलाई आत्मबल दियो अनि आत्मबलले उनलाई इच्छाशक्ति दिई आजका उनी बनाइदियो । जीवनको उत्तरार्धमा उहाँले “जगदम्बा–श्री”पुरस्कार प्राप्त गर्नुभयो । “जगदम्बा–श्री”पुरस्कार दिने घोषणा भए पछि उहाँले भन्नुभया,े यसपटक मान्छे चिनेछ मदनपुरस्कार गुठीले । हामी “मदनपुरस्कार” र “जगदम्बा–श्री”बाट सम्मानित दुवै स्रष्टा काललाई जितेर बाँचेका छौं । धेरै खुसी लागेको छ । जगदम्बा–श्री पुरस्कारबाट पुरस्कृत हुने समाचारहरु पत्रपत्रिकामा प्रकाशित भएको थियो । रात भरी शुभचिन्तकहरुको फोनहरु आइरहें । कोही घरमै आएर शुभकामना दिए । साहित्ययात्रामा लाग्दा आफ्नो उत्तरार्ध वयमा भेटिएको विशेष खुसीको क्षण नै “जगदम्बा–श्री”बाट सम्मानित भएको कुरा वताउनुभएको थियो । उक्त कार्यक्रममा उहाँले भन्नुभयो यो खुसी म ब्यक्ति कुष्णप्रसाद पराजुलीको मात्र होइन–नेपाली भाषा–साहित्यमा रत्तिने, रमाउने र स¥याउनेहरुको पनि खुसी हो । यो खुसी निसासिँदो सङ्घर्षपछि मलाई भन्ज्याङको वटवृक्ष देख्ने नेपाली भाषा–साहित्यका पे्रमीहरुको ओठओठमा खेलेको मुस्कानको खुसी पनि हो । मैले त्यसबेला अनुभूति गरें, हो यो खुसी हामी सवै को हो । नेपाली भाषा साहित्यका शिखर पुरुषको सम्मानले आज हामी पनि सम्मानित भएका छौ ।
नेपाली भाषा–साहित्यको सेवा, सृजना र साधनामा चचलीपुइँया खेल्दाखेल्दै उहाँ उनानअसिऔं भन्ज्याङ काट्दैं हुनुहुन्थ्यो । तर अहिले उहाँले काललाई जित्न सक्नु भएन, हामीमाँझबाट बिश्राम लिनु भयो । उहाँ भन्नुहुन्थ्योः–‘भाषाको प्रचुर बिकास हुन नसकेको देश मुर्कट्टा हुन्छ । साहित्य–संस्कृत र कलाले सम्पन्न नभएको देश पनि मृतराष्ट्र हो । हामी भाषा–सहित्यमा चुलुम्मिनेहरु ठाडो र सग्लो शिर उठाएर गर्व गर्छौ । त्यस्तै वाणीका माध्यममा आफ्नो देशलाई जीवित राष्ट्रको रन्को दिने प्रयत्न गरिरहेकाछौँ । स्रष्टाहरु बन्दुकको गोली पड्काउदैनन्, तर कलमका बोली नसुसेली पनि सक्तैनन् । हाम्रो जस्तो देशमा उनिहरुको छातीमा घाउ लागेको सत्ताले देख्न सकेको छैन । बडो बिडम्बना छ । रगत र मसीमा देशको पीडालाई गति दिने क्रम जारी छ । हामीलाई अरु केही चाहिँदैन, देशको अलिकति माया र मानिसका मनको शितल छाया पाए पुग्छ । हामी भ्रान्तिका सपना देख्दैनौँ, शान्तिका सपना देख्छौ । हाम्रा प्रत्येक शब्दका चरण हरण हुन नसकुन्, शान्तिले वरण गर्न पाइरहोस् ।’ कृष्णप्रसाद पराजुलीका जिवनका चाहनाहरु यस्तै थिए ।
लेखनमा उहाँ कहिल्यै थाक्नु भएन रोगले च्यापी रहँदा पनि भाषा साहित्यको चिन्तामा डुब्नुहुन्थ्यो,केही गर्न सकिएन भनेर गुनासो गर्नुहुन्थ्यो । हामीलाई लाग्दथ्यो उहाँले धेरै गर्नुभएको छ, । लाखौ पाठकको मनको सुमन प्राप्त गर्न सफल हुनु भएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका थुप्रै–थुप्रैको माया बटुलीसक्नु भएको छ । सुनकोसी साहित्य प्रतिष्ठानको स्थापना देखि कृष्ण साहित्य सदनको साथै आफ्नै ऊर्जस्विता एवं बाच्ने उपक्रममा लगाएर अनवरत भाषा–साहित्यकै सेवामा लागिरहनुभएको थियो र लाग्ने प्रण गर्नूहुन्थ्यो । उहाँको यो दायित्वबोधले उहाँको अन्तेम घडिसम्म पनि उहाँलाई पच्छयाई रहेको थियो । कविता काव्य ८, लोक साहित्य ३,भाषिक कृति ३, निवन्ध प्रवन्ध ः११, कथा एकाङ्की ः ३, गीतकविता ः १०, कथा ः ७, बाल भाषा सिर्जना ः४ पुस्तक सहित ४९ ओटा बिधागत कृतिहरु प्रकाशित भै सकेकाछन् । दुई दर्जन भन्दा वढि पुस्तकहरुको सम्पादन पनि गरिसक्नु भएको छ । उहाँको नित्य साघना र तपस्याले गर्दा आज उहाँ यसरी शिखर चढ्न सक्नु भएको हो । साधना विना कुनै कुरा सम्भव नहुने कुरा उहाँ वताउनुहुन्थ्यो ।
“मैले बालककालदेखि किशोर हुँदा र युवाकालमा पनि धेरथोर गीत गाँए । उल्लासका ती क्षण बिर्सेर पनि बिर्सिन सकिन्न । अहिले उमेर र स्वास्थ्यका कारणले गाउने क्रम घट्दैगएको छ, तर मेरो मन भने जहिले पनि अफ्नै किसिमले गाइरहेको हुन्छ । म भित्रभित्रै नगुनगुनाई लेख्न पनि सक्तिनँ,बस्न पनि सक्तिनँ । मेरो गीतिसृजना त्यसै गुनगुनको परिणाम हो । म भन्दै आएको छु–गीत कुलकुलाउँदो भावको गेय अभिब्यक्ति हो । गीतमा ह्ृदय गाँसिने भएकोले यसको स्वरुप कोमल हुन्छ । सरल,संवेध र ह्ृदयस्पर्शी हुनु गीतको विशेषता नै हो । गीतका यिनै तत्वले मेरो मनलाई मुहुनी लगाउँछ अनि म गीतमा लय हुन्छु र बग्दै जान्छु । मेरो बाँच्नुको एउटा दहि«लो आधार गीत पनि भएको छ ।”
गीतको बारेमा उहाँले व्यक्त गर्नुभएको यी हरफहरुले उहाँलाई युगौयुगुम्म जिबन्त राखिरहने छ । हो यस्तै छ उहाँको रचनाहरु र रचनाजस्तै पराजुली उहाँको जीवन यात्राले विश्राम लिए पनि उहाँको काव्यिक सौन्दर्यको सुवास हामीले निरन्तर लिई रहने छौ.। अलबिदा पराजुली बा !

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 जेठ, 2071

लेखकका अन्य रचनाहरु