जडौरी दर्शन र जुठो टपरी

- माधव काफ्ले

वाणी प्रकाशन विराटनगरको छैठों वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रम समाप्त हुने बेलामा मित्र विवश पोखरेलज्यूले एउटा सात पेज जतिको लिखत थमाइ दिनुभयो । यसो हेरेको भोलिपल्टको पहिलो सत्रमा सञ्चालन हुने कार्यपत्रको मिसिल रहेछ ‘आधुनिक कथा र उत्तरआधुनिक काल’ शीर्षकको प्रतिलिपि । सरसर्ती पढें, पढ्दापढ्दै कञ्चनबाट चट्चटी पसिना आउन थाल्यो; खिपेर पढनै सकिनँ । सन्दर्भ सूचिमा पुग्न नपाउँदै काल विभाजनको काँचो वायुले मेरो उत्साहका कलिला मुन्टाहरूलाई कुटुकुटु टोक्न थालेको हुँदा भनन रिंगटा लागेर भाउन्न होला जस्तै भयो । अलिधेरै नबुझेर र अलिअलि बुझ्न खोजेर पनि यस्तो भएको हो । म जस्तो ग्वाँचे लेखकलाई त्यस्ता महत्वपूर्ण र उपयोगी कार्यपत्रहरू त्यति आवश्यक नभएको हुँदा विश्व विद्यालयमा अध्यापन गर्दा काम लाग्छ भनेर डा. घनश्याम न्यौपाने परिश्रमीज्यूलाई थमाउँदै पन्सिएँ ।
कार्यपत्र अरूलाई हिल्ला लगाएर पन्सिन खोजेता पनि त्यस कार्यपत्रको शीर्षकले भत्भती पोलिरह्यो । धेरै दिनसम्म । त्यो कार्यपत्र मेरो लागि एउटा जिराहा केटालाई तह लगाएर लाइनमा ल्याउन कसैले पानीमा चोबेको झरिलो सिस्नु निर्दयितापूर्वक नाङ्गो डँडाल्नामाथि झ्यामकी झ्याम हानिरहे झैं भइरहेको थियो ।
हुन सक्छ, म भ्रममा छु । यदि भ्रममा छु भने पनि आयातीत विचारको गलगाँड झुुन्ड्याएर टरटराउनु भन्दा त्यही भ्रममा डुब्न चाहन्छु । किलो दूध बेची चौथाइ मदिरा सेवन गरेर आधुनिकता प्रदर्शन गर्दै धर्मभीरु न भएको दावी गर्ने काँट र छिमलको वर्गमा आफू नपरेकोले जुन परिवेश, परिस्थिति, संस्कार र संस्कृतिमा हुर्कें, बढें मलाई त्यही संस्कार–संस्कृति प्यारो लागेको छ । मेरो संस्कृति आधुनिक हुन नसके पनि मेरो संस्कार वैज्ञानिक दृष्टिले उपयुक्त हुन नसके पनि सामाजिक जीवन पद्धति प्रगतिशील हुन नसके तापनि म यसको प्रभावमा चुर्लुम्म डुबेको मान्छे यसैमा भिज्दै जाऊँ, यसैमा डुब्दै जाऊँ÷रमाउँदै जाउँ, यसबाट अलग हुन चाहिं सम्पूर्ण नसाहरूलाई चिरेर जीवनलाई नै फेर्न सक्नुपर्छ, त्यो तागत ममा छैन । औकात पनि छैन । त्यसैले जे छ त्यसैमा म सन्तुष्ट छु, तृप्त छु ।
ब्राह्मण परिवारमा हुर्केको मान्छे म । बाहुन हुँ वा होइनँ थाहा छैन । विचारको वेधशालामा मुछिंदै र मडारिंदै जाँदा हुन सकें वा सकिन त्यो पनि थाहा छैन तर हजुर्वाले अक्षरारम्भ ‘असतो’मा सद्गमय’ भनेर वेदको ऋचाबाट नै सुरु गरिदिनु भएको हुँदा त्यसको प्रभाव त नभनौं धङधङी चाहिं छ ममा, अझैं मेटिएको छैन । संसारमा रहेका सम्पूर्ण वस्तुको सार तत्व सहितको आत्मज्ञान मैले वेदमै देखेको छु । वेदमा परम्परावादी संकीर्ण सोचको सिंगाने प्रलाप भन्दा पनि जीवनलाई गतिशील तुल्याउने व्यबहारिक विषय र जिउंदा प्रशंगहरु छन् । मन गढन्ते औतारी बयानको चक्रावातबाट अलग्गिएर आंखा उघार्ने हो भने जीवनो पयोगी धेरै प्रभावकारी दर्शन भनौं सारको उज्यालो संसार भेटिन्छ झैं लाग्दैछ त्यहां ।अपरिपक्व नै सही, मेरो आस्था, मेरो आदर्श, मेरो संस्कार, मेरो संस्कृतिको केन्द्रविन्दु नै वेद हो र यो कालान्तरसम्म पनि रहिरहने छ ।
थाहै नपाई समय अगाडि बढिरहेछ । समयसँगै हिड्न नसकेको कारणले नै म पछि परेको हुँ, तर अरूको सिको गरेर समयलाई उछिन्दै हिंड्ने रहर पनि ममा छैन । अरूले घोडा चढेको देखेर कोही धुरी चढेर गर्व गर्छ भने गरोस् । मलाई त त्यसो गर्न लाज लाग्छ । मेरो परम्पराले, मेरो संस्कारले’ त्यसो नगर् ! माधे त्यसो नगर; भनेर थुम्थुम्याउँदै आएको हुँदा म सक्तै सक्तिनँ त्यसो गर्न । गर्न थाल्यो कि खुट्टा लगलग काम्न थाल्दछन,मन बटारिन थाल्दछ, मुटुमा ऐठन पर्न थाल्दछ । यो मेरो लाचारी अथवा कमजोरी पक्ष भएता पनि मनमा अलिकति पनि हीनताबोध छैन, भनौं हुँदैन ।
जहाँसम्म विचारको कुरा छ त्यसमा पनि मेरो पूर्वाग्रह नै छ । संस्कृत वाङ्मयको त कुरै छाडौं संस्कृत साहित्य पनि मेरो पकड र पहुँच भन्दा धेरै परको कुरा हो तर त्यस संस्कारसँग आफू आबध्द भएको हुँदा त्यसको टापटिपे प्रभावबाट मुक्त हुन सकिनँ । अन्य भाषाको तुलनामा संस्कृत साहित्यका अनुवादित पुस्तकहरू बग्रेल्ती पाइने हुँदा त्यही अनुवादको जगमा उभिएर’ देवसेत्वा सवित’ु......बाट अध्ययन आरम्भ गरें । पूर्वीय साहित्यमा काव्यात्मक अङ्लकार र अध्यात्मिक चेतना मात्र नभएर एक जीवन सम्पन्न भएपछि अर्को जीवनमा सर्दै जाने प्राणमय तत्वको सारका साथै उच्च आचरणयुक्त प्रेरणादयी जातीय जीवनका सांस्कृतिक आलेख र सत्यको केन्द्रविन्दुमा घुमेको सौन्दर्यात्मक साहित्य सन्निहित भएको हुन्छ भन्छन् विद्वानहरु । तिनै कुराहरूले आपसी सद्भाव र सदाचारका अमरगाथाले ओतप्रोत भएको पूर्वीय वाङ्मयको गौरवमय इतिहासलाई महिमामण्डित पारेर मेरो मुटुको धमनीहरूमा उमङ्गका छाल उरालेर छचल्किन थालेपछि म त्यसैको छत्रछायाँमा बामे सर्न थालें । आफू नेपाली बुझी टोपल्ने भएको हुँदा यी कुरा संस्कृतका अनुवादित कृतिमार्फत बुझ्ने मौका पाएँ । हिजो अंग्रेजीबाजाहरुका सामु अज्ञानताले लुत्रे कान लगाउनु पर्दा संस्कृतका अनुवादित कृतिहरु पढेर ठूलो अपराध गरिएछ झैं लागेता पनि आज गर्व लागिरहेको छ । यद्यपि उपहास र तिरस्कारको पर्याय बनेकोे संस्कृत साहित्यको सहायता भनौं ज्ञानको भरमा उभिन खोज्नु भनेको अछुत हुनु सरहको व्यवहार मौलाउँदै जान थालिरहेको छ समाजमा । उच्च संस्कारको समृद्धिको,शिक्षाको पर्याय बनेर संसारभरि नै मडारिंदै जान थालेको अंग्रेजी भाषाकोे आडम्बरी तुवाँलोले ढाकेको परिवेशमा बाँचेर संस्कृत साहित्यको फुटानी छोड्नु भनेको परम्परावादी दास मनोवृत्ति अँगालेर अघि बढ्न खोज्नु सरह भएको परिप्रेक्ष्यमा मेरा कट्मिरा संस्कृतवादी धारणा सोच र प्रवृत्तिहरूलाई अंग्रेजीका साना–साना शब्द एवम् वाक्याँशहरुले खिल्ली उडाइरहेका छन्, खिज्याइरहेका छन्, खिसीटयुरी गरिरहेका छन् । भौतिक सुविधायुक्त आजको आधुनिक युगमा कनिकुथी नै भए पनि आफूलाई प्रबुद्ध हुँ भन्ने देखाउन दुईचारवटा अंग्रेजी शब्दलाई कलकलाउँदो मातृभाषाको कोख अथवा कण्ठमा घुसाउन नसके, घुमाउन नसके, घोलेर लेपन लगाउन नसके सभ्य नहोइने, शिष्ट नदेखिने र शिक्षित नबनिने यथार्थलाई आत्मसात् नगर्ने मजस्तो फुसुने लेखकले शिक्षित समुदायका अगाडि सदैव खुम्चिनु पर्दोरहेछ, प्राज्ञिक समुदाय अगाडि पुङ्माङे र पिछडिएको हुनुपर्दो रहेछ, पाङ्दुरे र पिलन्धरे हुनुपर्दो रहेछ ।
औपनिवेशिक साम्राज्य खडा गरेर अंग्रेजहरूले शासन गर्दा अधिकांश व्यक्तिहरू बँधुवा मजदुर भएर बाँच्न विवश थिए र कतिलाई त बाँधेरै पनि कज्याएका थिए, काबुमा राखेका थिए र काम लगाएका थिए । त्यसको थिचोमिचो र उत्पीडनबाट अमलेख हुन त्यतिखेर विश्व नै उरालिएको थियो, उर्लिएको थियो र उचालिएको थियो । सयौं वर्षको बलिदानपूर्ण आन्दोलन मार्फत् औपनिवेशिक साम्रज्यका सिङ र खुर काटेर स्वतन्त्र भएको भए पनि अझै त्यसको धङधङीले हामी आक्रान्त छौं, भयभीत छौं, त्रस्त छौं । हिंजो पश्चिमाहरूले मान्छेलाई बाँधेर कज्याएका थिए; आज उसले बाँधेको छैन, र बाँध्नु पनि परेको छैन तर आज स्वयम् मान्छे बाँधिन तम्सिँदै छन् । तयार छन्, तत्पर छन् । एउटा जोदाहा जरासन्धको चरणमा घोप्टिएर “ममाथि निगाह होस् प्रभु ! ममाथि कृपा दृष्टि हुन्छ भने म बाँधिन बेरिन जे गर्नु परे पनि तयार छु” भन्दै एउटा वर्ग जो आफूलाई सम्भ्रान्त हुँ भन्ने ठान्छ, सभ्य हुँ भन्ने ठान्छ, शक्तिशाली हुँ भन्ने ठान्छ, त्यो वर्ग विनासर्त, विनासुविधा उसको चरणको दास भएर चरणामृत लिन छेपारीका पाङ्ग्रा खुस्काएर हाम्फालिरहेको छ र उसको इसारामा सही थाप्दै एउटा निरीह राष्ट्रका निर्दोष नागरिकहरूको बाँच्न पाउने वैयक्तिक अधिकारलाई बलात्कार गर्न मुख मिठ्याउँदै बमवर्षक विमानद्वारा त्यहाँको भौगोलिक संरचनालाई ध्वस्त पार्न अहम्को बारुद वर्साउँछ, अत्याचारको आँधी उराल्छ र तुजुकको तुफान खडा गरेर दासताको दसी देखाउन उद्यत हुँदैछ र आफ्ना रक्तरञ्जित हातले जुँगा मुसार्दै आफू मानवतावादी भएको दावी गर्छ । कहालीलाग्दो वीभत्स नरसंहार गर्न नसके आजको मान्छे मानवतावादी हुन सक्तैन अर्थात् मिचाहा मान्छेले मान्छे मार्न नसक्नेहरूलाई मानवतावादको दज्र्यानी चिन्ह दिँदैन, चेप र चोकेमा परेका निरीह नागरिकहरूको स्वाभिमानलाई चेपेर पिना बनाउँदै मुण्डन गर्नु नै अहिले उनीहरुको मत सम्प्रदाय र धर्म भइरहेको छ । यदि कुनै पनि व्यक्ति सरकार र समुदायले त्यसो गर्न नसके प्रजातन्त्रवादी नठानिने, नठहरिने हुँदा प्रजातन्त्रवादी हुनको निमित्त अथवा भएको देखाउनको निमित्त पनि कोखमा छुरा अर्जापेर अर्काको पिठ्युँमा छुरी हान्न मान्छे उद्यत छ आतुर छ र त्यो प्रवृत्तिको अनुशरण गर्नेहरूनै आजका कुशल शासक र सत्ताका प्रमुख दावेदार बन्दै गएका छन् । पूर्वीयाहरूलाई पश्चिमाहरूले त्यही सिकाउँदै आएका छन् । पश्चिमाहरुको सिको नगर्ने हो भने मान्छे सभ्य हुनै सक्दैनन्, शिक्षित हुनै सक्दैनन्, सम्पन्न हुनै सक्दैनन् । सभ्य हुन र सभ्य भएको देखाउन पनि पूर्वले पश्चिमाहरूको जुठो टपरी चाटिरहेका छन् । चाट्न लम्किरहेका छन् ।
म अलि बहकिएँ क्यार ! ज्यादतीको चिराइतोले मन हुँडलेर चिमोटेपछि चोइटाएपछि म आफूलाई सम्हाल्नै सक्तिनँ र सुरु गर्न पुग्छु अप्रासङ्गिक एकाकी आर्तनाद ! के गर्नु, त्यस्तै बानीले मेरो लेखनको लक्ष्यलाई नै धुजाधुजा पार्न पुगेको छ र मेरो सजीव अस्तित्वलाई रसातलतिर धकेल्न उद्यत भइरहेको छ ।
भन्दै थिएँ, उपनिवेश कालमा अंग्रेजहरूले विश्वव्यापी रूपमा अंग्रेजी भाषा र साहित्यको प्रचार–प्रसार गर्नुको पछाडि क्रिश्चियनालिज्मको प्रचार–प्रसार पनि थियो । त्यस समयदेखि लिएर आजसम्म अप्रत्यक्षरूपमा अंग्रेजी साहित्यले प्रोटेष्टेन्ट अथवा क्याथोलिक सम्प्रदायको विउ छर्ने काम गरेको देखिन्छ । पुनर्जागरणकाल पहिलेको साहित्य र त्यसपछिको साहित्यको सूक्ष्म अधययन गर्ने हो भने त्यस्ता धेरै खिच्चा कुराहरु अंग्रेजी साहित्यमा देख्न सकिन्छ । औपनिवेशिक कालमा अंग्रेजहरूले शासन हत्याएर देश कज्याउने काम मात्र गरेनन् उपनिवेशको जालमा जेलिएका राष्ट्रको भाषा, संस्कृति, साहित्य, कला र इतिहासको अध्ययन अनुसन्धान गरेर अंग्रेजी भाषा साहित्यको प्रभुत्व र गरिमालाई महिमामण्डित पार्ने काम पनि गरे । इतर अंग्रेजी भाषाको वर्चस्व र भाषिक संरचनालाई ध्वस्त पार्नु पनि उनीहरूको लक्ष्य भएको हुनाले माध्यम भाषाको रुपमा अंग्रेजी प्रचार गरेको नौटङ्की गरी विभिन्न भू–भागका उत्तमोत्तम विचारग्रन्थ–ज्ञान र उपलब्धिहरूलाई किल्किल्याउने÷कज्याउने र कच्याककुचुक पार्ने काम गरेर आफ्नो भाषिक उपनिवेश कायम गरी छाडे ।
(यसो भनेर मैले अंग्रेजी साहित्यको विरुद्ध वीष वमन गरेर अंग्रेजी साहित्यमा केही पनि छैन भन्न खोजेको चांहि पटक्कै होइन । विश्वका उत्तमोत्तम कृतिहरू र अथाह ज्ञान भण्डारको आलेख अंग्रेजीमै छ,र त्यसको प्रभाव सर्वव्यापीरुपमा संसार भरमा फैलंदै पनि छ भन्दैमा मौलिक पहिचान भएका कुनै पनि भाषा र साहित्यको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्नु–अपहेलना गर्नु उचित हुँदैन भन्न खोजेका मात्रे हुँ ।)
माक्र्सको साम्यवादलाई नै लिऊँ । माक्र्स जन्मनुभन्दा सयौं वर्ष पूर्व साम्यवादलाई पूर्वले प्रयोग गरेर आफलिसकेको अवधारणा हो यो । मातृसत्तात्मक जनपद र त्यसबाट सङ्क्रमण हुँदै पितृसत्तात्मक जनपदतिर उन्मुख हुने अवस्थामा जनवाद–समाजवाद र साम्यवादलाई हाम्रा पूर्वजहरूले व्यवहारमै उतारेको कुरा त हामीले अंशको रूपमा बाँड्ने बराबरीको अवधारणाले नै पुष्टि गरिरहेको छ । अप्राप्य वस्तु बाँडेर खाने परम्परा, ‘वसुधैव कुटुम्वकम्’ र ‘अतिथि देवो भव’को हाम्रो आदर्श नै साम्यवादी आस्थाको अवशेष हो । तर हामीले हाम्रा पूर्वजहरूको वैचारिक निष्ठालाई ऐंजेरु ठानी हाम्रै पुर्खाहरुरूको विचारको जुठो खानेहरूको वचनलाई अमृतवाणी ठानिरहेका छौं । साम्यवादको आधिकारिक व्याख्याताको विभूषणद्वारा विभूषित माक्र्स भएता पनि यो उनको मौलिक सोचाइ र चिन्तन चाहिं होइन । साम्यवादको चुरो खोतल्दै जाने हो भने हामी हेगेल, नित्से, अरस्तु हुँदै प्लेटोको “आदर्श गणराज्य” सम्म पुग्न सक्छौं जब हामी साम्यवाद खोतल्दै प्लेटोसम्म पुग्छौं भने प्लेटो भन्दा कति पर छ र पुराणको इतिहास ! वैदिक वा पूर्व वैदिककाल !
यो सन्दर्भ उठ्नासाथ जहिले पनि म बीसौं शताब्दीका साहित्यिक मसिहा टी.एस. इलियटलाई सम्झन पुग्छु । उनले एक ठाउँमा यसो पनि भनेका छन् ः–
"No poet, no artist of any art has his complete meaning alone. His significance, his appreciation is the appreciation of his relation to the dead poets and artists. You cannot value him alone, you must set him. For contrast and comparison among the dead."
(“कुनै कवि वा कलाकारको एक्लैमा पूर्ण अर्थ (अस्तित्व) रहँदैन । उसको महत्व अथवा उसको समीक्षा भन्नु नै अन्य मृत कविहरूको तुलनामा उसको उपस्थितिको मूल्याङ्कन हो । उसको एक्लै मूल्याङ्कन गर्नै मिल्दैन । तुलना र अन्तर थाहा पाउन उसलाई मृत कविहरूका माझमा बसाल्नैपर्दछ ।”)
दर्शनमा कस्तो हुन्छ थाहा छैन तर साहित्यमा यो कथन अतिशयोक्ति लागेन मलाई । विश्वेश्वरप्रसाद कोइरालालाई फ्रायडीयन यौन मनोविज्ञानका व्याख्याताका रूपमा चिनाउने काम समालोचकहरूले गरेका छन् । सबैले निर्विवाद रूपमा स्विकारेका पनि छन् यो कुरा, तर म चाहिं सहमत हुन सकेको छैन । साहित्यमा यौन मनोविज्ञानको प्रयोग त व्यास, वाल्मीकि, कालिदास प्रभृतिहरूले पर्याप्त मात्रामा गरिसकेका छन् । फेरि यौन त सृष्टिको अपरिहार्य तत्व र एउटा आवश्यक अङ्गको रूपमा नै स्थापित भइसकेको बिषय हुँदा कोइरालाको स्वतन्त्र लेखकीय अस्तित्व स्विकार्न किन कन्जुस्याँइँ गर्ने ? फ्रायडसँग गाँसेर हेर्नुभन्दा वात्सायन, व्यास, वाल्मीकि र भविष्य पुराणसँग गाँसेर हेर्दा उनको सिर्जना कति नै होचिन्छ र ? यौन मनोविज्ञानका कुरा उठ्दा फ्रायड, कार्ल युङको(अतिशयोक्ति नठानिए) जुठो–पुरा चाटेर तृप्त हुन खेज्नुको साटो आफ्नै सांस्कृतिक मूल्य र मान्यताका मार्गदर्शक ग्रन्थहरू पल्टाउँदा÷पढ्दा अथवा प्रयोग गर्दा हाम्रो स्वाभिमान घट्ने हैन बढ्ने छ ।
उत्तर आधुनिककालको व्याख्या, विश्लेषण गर्ने क्षमता, दक्षता, ज्ञान, धैर्य र विश्वदृष्टिकोण ममा छैन र किटानी पुर्पक्ष गरेर उपवुज्रुक बन्ने रहर पनि छैन । परिभाषित सीमाअन्तर्गत जे जस्तो अवस्थामा रहे÷भएता पनि अहिले नै निचोड निकालेर कटमिरा तर्क तेस्र्याउन हतार होला झैं लागिरहेछ मलाई । मलाई लागेअनुसार यो एउटा शब्द बुख्याँचा मात्र हो । साहित्यलाई जतिसुकै र जुनसुकै परिभाषाभित्र बाँध्न खोजेता पनि, जुनसुकै दर्शन र वादले बेर्न खोजेता पनि, विभिन्न दृष्टिकोणको आधारमा अथ्र्याउन खेजेता पनि सिर्जनात्मक उँचाइ र आयामको सगरमाथा उचाल्न लेखक स्वतन्त्र हुनै पर्छ । साहित्यमा जबसम्म शैली सीमा र प्रस्तुतिमा युगान्तकारी उलार आउँदैन तबसम्म जुनसुकै कालका सुकिला मालदाम्लाले बाँधे पनि त्यो बँधाई निरर्थक हुन्छ, निस्सार हुन्छ र निस्तेज हुन्छ । जबसम्म हामी काल विभाजनको भ्रमलाई भुत्ल्याएर सत् साहित्यको सिर्जनामा साधनारत हुँदैनौं तबसम्म साहित्यमा युगान्तकारी परिवर्तन ल्याउन सक्दैनौं,आंउदैन पनि । ल्यायौं भने पनि त्यो साहित्य सतही हुन्छ, सारहीन हुन्छ र शिथिल हुन्छ । मैले बुझेसम्म उत्तरआधुनिककाल अथवा वाद ध्वनि सिद्धान्तकै ठिमाहा सन्तान हो । यसबारे हामीले त्यति टाउको दुखाएर व्याख्या विश्लेषण गर्नु पर्ने औचित्य र आवश्यकता नै छैन । आजको आवश्यकता त कालजयी मौलिक कृति जन्माउनु हो । शारदाले जस्तै एउटा कालखण्डको नेतृत्व गर्दै ऊर्वर भूमि तयार गर्नु हो ।
जहाँसम्म पश्चिमाहरूले विशेषणयुक्त शब्दमा व्याख्या गरेका वाद, सिद्धान्त र प्रणालीहरू छन् ती सबैको चर्चा, परिचर्चा, छलफल पूर्वले पौराणिककालमै गरिसकेको छ । गीतालाई नै हेरौं न ! पूर्वीय सिद्धान्त वाद र दर्शनको आधिकारिक ग्रन्थ नै हो गीता । रोबर्ट जे.ओपनहाइमरले गीताज्ञान ग्रहण गरी एटमबम बनाउंदा उनी परम्परावदी भएनन्,टी.यच ग्रीफले ऋग्वेदका सर्ग छुट्याएर सार्बजनिक गर्दा उनी पुराणपन्थी भएनन्,मैक्समुलरले काश्मिरदेखि कन्याकुमारीसम्म घुमी वैदिक वाड०मय खोजी लिपिवध्द गर्दा उनी बाजे भएनन् । हामीले अध्ययन मनन् गर्दा अरुलाई सिक्सिको लाग्न थाल्दछ ।वैदिक युगका विद्वान्हरूले परिभाषा गरेका ज्ञानहरू माथि पश्चिमाहरूले मूल्याङ्कन प्रत्युत्पादन गरेको वर्णसङ्कर विचारको धमिलो अवशेष सोहर्न पाउँदा आत्मतृप्त हुने बानी भनौ या गुणको विकास हुँदै छ हामीकहाँ । पूर्वीय स्वाभिमान, सिद्धान्त र सदाचारको अनुशरण गर्दा कामज्वरो आउने हुनाले जतिसुकै राम्रा रसिला उक्ति वा साहित्य भए पनि हामीलाई पच्दैन, पखाला लाग्छ । मितव्ययिताको यस युगमा हामीले चामल दिएर पिठो साट्न जान्यौं तर वस्तुको गुणभन्दा व्यक्तिको स्वार्थलाई गरिमामय ठान्ने बानीले गर्दा पिठो दिएर चामल साट्न जानेनौं । यही सङ्कीर्ण सोचाइको ख्याकद्वारा ग्रसित भएको हुनाले हाम्रो सोच, सिर्जना, बुद्धि, विवेक, ज्ञान र गरिमा सबै आयातित हुँदै गएका छन् । सिर्जनात्मक हुन छोडेका छन् । यदि सिर्जनात्मक भएता पनि त्यसको जगमा जताततै पछुवाको विचार र बतास घोलिएको छ, घुमेको छ ।
साहित्य र सिर्जना आफ्नै मौलिकता, परिवेश र पृष्ठभूमिमा बाँचेको हुन्छ । नेपालीको मौलिकता भनेको नै मुनामदन हो, मालती मंगले हो, मंजरी हो, मानव हो, मुटुको व्यथा हो जहाँ नेपालीपन र नेपाली संस्कृतिका साथै नेपाली परिवेश छङ्छङाएको छ । हिमाल नेपाली साहित्यको प्रतीक पनि हो, विम्व पनि हो, अलङ्कार पनि हो । सगरमाथाको सेरोफेरोबाट निःसृत हुने हाम्रो साहित्य हिमवत् खण्डका खुड्किला र खोंचहरू धारबाट फर्फराउँदै कोशी, कर्णालीमा चुल्ठिएर चुरे शृङ्खलालाई छपक्क छोपेर मधेसका मलिला फाँटहरूमा मौलाउँदै फक्रनु–फुल्नु हाम्रो लोक संस्कृति, कला र साहित्यकको विशेषता हो । त्यसैले कृतिमा देश, काल, परिस्थिति र सामाजिक मूल्य र मान्यतालाई फलाउन फुलाउन सके लेख्नुको सार्थकताले साकार रूप लिन सक्छ । यो कुरा हामीलाई पाश्चात्य सिद्धान्तको सैद्धान्तिक परम्पराभन्दा पहिले नै पूर्वका प्राचार्यहरूले पुष्टिसहित परिभाषा दिइसकेका हुनाले पश्चिमीवाद र प्रणालीहरुको पाना फर्काएर माथापच्ची गर्नु पण्डित्याइँको निरर्थक पाखण्ड प्रदर्शन गर्नु सरह हुन जान्छ ।
पारिजातलाई नै हेरौं न ! जबसम्म उनी विशुद्ध नेपाली चेली थिइन् । त्यतिबेलासम्म उनमा आफ्नैपन, आफ्नै मौलिकता, सीप, सामथ्र्य र सांस्कृतिक चेत थियो र नितान्त निजी अनुभूति मार्फत शिरीषको फूल जस्तो कालजयी कृति जन्माइन् । जब उनी पश्चिमी वाद सिद्धान्त र प्रणालीका अबुर्द औंसाहरू गिदीभरि हुँडलेर हिंड्न थालिन् स्तरीयताको चुली चढ्ने क्षमता हुँदाहुँदै पनि चम्कन सकिनन्–चिप्लिइन् । उनले त्यतिबेर विसङ्गतिवाद र शून्यतावादलाई सिरानमा हालेर शिरीषको फूलको सपना संगालेको भए शिरीषको फूल वनमाराको फूल जस्तै हुने थियो । मोदनाथको हालत पनि त्यस्तै छ । जतिन्जेल उनी सादानाथ थिए त्यतिखेर उनी मानव भएर चम्के । साम्यनाथ भएर सिद्धान्तको सेंसन्तरलाई काँधमा हालेर हिंड्न थालेपछि उनको अनुभूति बक्त्याउन सक्ने आकर्षण क्षमता र कलात्मक सौन्दर्यलाई पाङ्न पुच्छरको नाराले निमोठिदियो, नुगाइदियो र निर्वस्त्र पारेर नङ्ग्यादियो । कुनै पनि साहित्यकारलाई परम्पराको चैतन्य प्रदान गर्न अनन्त र समसामयिकताको सहबोधको ठूलो हात रहेको हुन्छ । परम्परा बोधले नै सजीवताको धारणा विकसित गराउने हुनाले परम्परागत उपलब्धिको सापेक्षतामा नै सर्जक समाहित हुन सक्यो भने कुनै पनि सिर्जना सुन्दर हुन्छ, सुललित हुन्छ र सम्प्रेषणीयताको हिसाबले पनि सरल, सुबोध र सुपाच्य हुनसक्छ ।
भाषाको भूतले पनि हामीलाई गाँजेको छ, गिजलेको छ र गोख्र्याएको छ । मानौं कुनै पनि किताब हिन्दी हुँदै पुगेको अंगे्रजीबाट अनुवाद गर्न सक्यौं भनौं गरियो भने प्रकाशक पनि पाइन्छन्, पाठक पनि पाइन्छन् । बङ्लाबाट हिन्दीमा अनुवाद भएको कृतिलाई नेपालीमा रूपान्तर गरियो भने नाक खुम्च्याउँछन् सबै । नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो जिम्मेवार संस्थाले आफ्नो प्रकाशनको अन्तर्राष्ट्रिय स्तम्भमा हिन्दीबाट अनुवाद भएका कृति बेसी आए भनेर यो गुलियो स्तम्भकै मुन्टो निमोठ्दै निर्लज्जताको गतिलो नमुना पेस गरिसकेको छ भने अरूको त के कुरा भयो र ? हामीमा अनुवाद पढ्ने बानी मात्र बस्न सक्यो–अनुवादित कृतिको सान्दर्भिकता, स्वाभाविकता र सम्वेदनशीलताका साथै गुणात्मकता र महत्तालाई मनन गर्ने बानी चाँहिं बस्न सकेन । अंग्रेजीको सिमेभूमेले बसाल्न दिएन । यही नै अनौठो कुरा लाग्दै छ, मलाई ।
विश्वका सम्पूर्ण भाषाहरु कुनै पनि एउटा व्यक्तिले चाहेर पनि सिक्न जान्न सक्तैन । एउटै भाषामा त अनेकौं भाषिक र उपभाषिक बाहुल्य रहेको हुन्छ भने सम्पूर्ण भाषामा दक्ष हुनु भनेको ताना शर्माले भने झैं–सगर गर्जिदा हुटिट्याउँले उत्तानु परेर थेग्न खोजे जस्तै हुन्छ ।”
भर्खरैको जनगणना अनुसार नेपालको जनसंख्या सवा दुई कोटिभन्दा पनि माथि लागिसकेको छ । यति धेरै जनसंख्या भएको ठाउँमा नेपाली शुद्धसँग बोल्ने र लेख्नेको संख्या एक प्रतिशत पनि छैन । एक प्रतिशत भनेको पनि दुईलाख चानचुन पैंतीससयको सङ्ख्या हो । दुईलाख मान्छेले शुद्ध नेपाली लेख्न र पढ्न जानेको भए साहित्यिक प्रकाशनहरु हजार पाँचसयको सङ्ख्यामा टाक्सिएर बस्ने थिएनन् । यस्तो परिप्रेक्ष्यमा विश्व साहित्यको फुइँ छोडेर प्रकाण्ड विद्वान भएको दावी गर्दै केही व्यक्ति ठेकेदारी चलाउँछन् भने चलाउन् । म चाहिं विश्वास गर्दिन त्यस्ता कुरामा ।
मैले भन्न खोजेको चाहिं के हो भने पाश्चात्यवाद र प्रणालीको व्याख्या गर्नुभन्दा पहिले वैदिक एवम् पौराणिक वाङ्मयको अध्ययन अनुसन्धान पनि गर्नुपर्छ । पाश्चात्य विचार र साहित्यभन्दा गरीब, निर्धो र निरीह पूर्वीय साहित्य छैन । पूर्वीय साहित्यिक् परम्परा कलाका सार्वभौम मूल्यहरूको मानक र पूर्वीय साहित्यको उपलब्ध सापेक्षताको दाँजोमा बरु पश्चिम निकै पछि छ, पिछडिएको छ । पश्चिममा एउटा सानु नयाँ कुरा आयो भने त्यसलाई विभिन्न प्रचारप्रसारको माध्यमले विश्वभरि फैलाइन्छ । मिडियामुखी सिर्जना साहित्य भएको हुँदा त्यसको तेज चहकिलो भए झैं लाग्दछ । एज्रा पाउण्ड विम्ववादका व्याख्याता हुन् । उनलाई विश्वविद्यालयमा पढाउन पाउँदा गर्व गर्छन्, यहाँका गाइडे (गाइडे भनेको गाइडको रामनामी जपेर पटके परीक्षा सकुशल पास गर्ने प्राज्ञिक बनाइएका अथवा बनिएका) प्राचार्यहरू । किनभने उनले “कविता गद्य जस्तै सुलिखित हुनुपर्छ, सुललित हुनुपर्छ, सुवाच्य हुनुपर्छ” भनेका छन् । पद्य लेख्ने हुति आफूमा नभए पछि र पद्यात्मक साहित्यको लय सौन्दर्यबोध, मूल्य र अर्थ स्थापनाको परम्परागत मानकपरिभाषालाई मनन गर्न नसकेपछि– “बुझ्यौं फलाना विद्वानले त यसो भन्या छन् नि !” भनेर कक्षामा विद्यार्थीलाई थर्काउन पाइन्छ । विदेशी लेखकको नाउँ र कथन उच्चारण गर्दा आफूले धेरै जानेको बुझेको पढेको ठहरिने हुनाले चिच्याई चिच्याई फलाक्न थाल्छन् । जबकि एज्रा पाउण्डको कविताको गद्यात्मक धारणा र प्रभावकारिता सम्पूर्ण उपलब्धिहरुलाई बाजे विश्वनाथले “वाक्यंरसात्कं काव्यं” भनेर तीनै शब्दमा उहिलेनै टुङ्ग्याईसकेका थिए । भामहले पनि “शब्दार्थौ सहितौ काव्यम्” भनेर अर्थ सहितको शब्द संयोजनलाई नै काव्य मानेका छन् भने “काव्य स्फूलदलंकार गुणवद् दोष वर्जितम्” भनेर अग्नि पुराणले भनेको छ । एज्रापाण्डलाई गुहार्नै पर्दैन । एक त विश्वविद्यालयका टपरटुइँया टिचर (लौजा मैले पनि एउटा अंग्रेजी शब्दलाई उपयोग गरें । मलाई पनि त म लेखक हुँ भन्ने देखाउनु छ नि ! हैन र ?) हरुलाई यो कुरा थाहा नै हुँदैन । यदि भए पनि बाजे विश्वनाथहरूको नाउँ लिंदा विद्यार्थीहरूले यो कहाँको टपरे परेछ भनेर उपहास गर्लान भन्ने डरले यस्ता कुरा भन्न चाहँदैनन्÷रुचाउँदैनन् । त्यसैले पनि पूर्वीय वाङ्मय–साहित्य र दर्शन पछाडि पर्दैछ÷पारिँदैछ ।
पुराण पोथी धार्मिक धङ्धङी कालगत लेखकीय अनुक्रमको इतिहास अथवा सारसंग्रहको सङ्लो सौन्दर्य मात्र नभएर भाषाका सीमा अन्तरगत आफ्ना समस्त सम्भावनाहरूको साकारता बोकेको संस्कृत वाङ्मयको आफ्नो पृथक र विशिष्ट किसिमको छाप पनि छ, प्रेरणादायी साहित्यिक पहिचान पनि छ, र प्रभावोत्पादक परम्परा पनि छ । महाभारत, रामायण अथवा पुराणहरूमा मित्थ्या कल्पनामात्र नभएर तत्कालीन जीवनलाई जीवन्तता प्रदान गर्ने प्रभाव र तत्व भएकोले विश्व साहित्यको सम्पदा बन्ने क्षमता पनि छ तिनमा । त्यसैले पनि हामीले डा.वासुदेव त्रिपाठीले भने झैं परम्परालाई आत्मसात् गर्न पूरै अतीत र त्यसको सर्वविध धारा र प्रतिभालाई निर्धाण पूर्वक आत्मसात गर्नु पर्छ । “अनि मात्र हामीले साहित्य सम्बन्धी निजी धारणा र ज्ञानको विकास गर्न सक्छौं ।
अंग्रेजी, फ्रेन्च, रसियन, जर्मनी, स्पेनिश मात्र विश्व साहित्य निर्धारणका आधिकारिका भाषा होइनन् । पूर्वाग्रह नराखी भन्ने हो भने बरु संस्कृत नै विश्व साहित्य निर्माण÷निर्धारणको कोसेढुङ्गो हो । इतिहासलाई कसैले पनि मेट्न सक्दैन । मिच्न सक्दैन । अंग्रेजी साहित्यमा संस्कृतको प्रभाव छ, ग्रीकमा प्रभाव छ, ल्याटिनमा प्रभाव छ, फारसीमा छ, अरबीमा छ, उर्दूमा छ, इटालियनमा छ, स्पेनिशमा छ, फ्रेन्चमा छ तर कुनै पनि भाषाको प्रभाव÷प्रत्यारोपण संस्कृतमा छैन झैं लाग्छ मलाई । संस्कृतको आफ्नै विशिष्ट किसिमको शब्द निर्माण प्रकृया भएको हुँदा संस्कृतले कुनै परिवारसँग शब्द सापटी लिएर भाषिक संरचनाका भड्रवाला र भ्वाङलाई टाल्ने र टल्काउने प्रयत्नगरेकोे देखिदैन । पूर्वीय परम्परा अर्थात पौराणिक ग्रन्थका आदर्श पात्रहरूको चरित्र र प्रवृत्तिलाई तत्पश्चात्का प्राचार्यहरूले काव्यनायक अथवा मिथकको रूपमा प्रयोग गरेको देखासेखीले नै पश्चिमाहरूले ग्रीक ट्रेजडीलाई आदर्श मानेर लामो समयसम्म पछ्याउँदै आ–आफ्ना भाषा साहित्यलाई माझ्ने र मस्काउने काम गरे । त्यसैले विश्व साहित्यको खैंजडी ठोकेर आफूलाई महान भएको दाबी गर्ने दुष्प्रयास गर्नुभन्दा पहिले हामीले आफ्नै भाषा साहित्य र संस्कृतिलाई बुझ्न सक्नुपर्छ । बुझाउन सक्नुपर्छ, व्याख्या विश्लेषण गर्न सक्नुपर्छ अनि मात्र साहित्यिक अभियान र उद्देश्य सफल हुनसक्छ नत्र यसै भन्न सकिन्न । आफ्नै प्रतिभा र परिश्रमको बलले पृथक पहिचान बनाउन सक्ने साधक अमर हुन्छ । अर्काको जुठो टपरी चाटेर एकछिन मुख मिठ्याउन सकिएला, ¥याल चुहाउन सकिएला, भोक मेट्न सकिएला, तृप्त भने हुन सकिन्न । तृप्त हुन त चोखो पसिना अनवरतरूपमा चुहाउनै पर्छ । पसिना चुहाउन सक्ने क्षमता भएको व्यक्तिलाई जडौरीको आवश्यकता पनि पर्दैन । नैसर्गिक प्रतिभा हुने व्यक्ति जडौरीको भाङ्ग्रो भिरेर हिंडेको पनि देखिएको छैन । त्यस्तो चाहना पनि नराखौं । मैले भन्न खोजेको यति हो ।

चन्द्रनिगाहपुर, रौतहट ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 जेठ, 2071

लेखकका अन्य रचनाहरु