कृष्णप्रसाद पराजुलीलाई सम्झिंदा

- मंजु निरौला

“दिदी, बुवाको लागि नेपाल फर्कंदै छु|”
नेपाल फर्किने बेलामा स्व. कृष्णप्रसाद पराजुलीका सुपुत्र शाश्वत पराजुलीले व्यक्त गरेको उक्त उद्गार मैले कहिल्यै बिर्सेकी छैन | अमेरिकाको स्वतन्त्र जीवनचर्या, छोरा-छोरीको पढाइ, अनि श्रीमतीको इच्छा त्यागेर आफ्ना पिता-माताका लागि सपरिवार अमेरिकाबाट नेपाल फर्किने पुत्रहरुमा मैले शाश्वतलाई नै पाएँ| अमेरिकाबाट फर्किनेताका मेरो प्रथम पुस्तक “प्रवासका सुस्केराहरु” यहीं अमेरीकामैं प्रकाशित गरिदिएर मेरो एउटा ठूलो इच्छा पु-याइदिए| अझ त्यसमा पनि पुस्तकमा आफ्ना बुवा कृष्णप्रसाद पराजुलीको भूमिका पनि राखिदिने व्यवस्था गरेर निकै ठूलो गुन लगाए| यस्ता महान हस्तीबाट आफ्नो पुस्तकका लागि भूमिका लेखिपाउनु आफ्नो अहोभाग्य ठानें|

जाने बेलामा “दिदी, तपाईंलाई केही चाहिन्छ?” भनेर शाश्वतले मलाई सोधे| मैले म पुस्तकको शौकीन छु, स्यानोतिनो घरेलु पुस्तकालय बनाउने मन छ भनेर भनें| त्यसको जवाफमा उनले बालपुस्तकहरुदेखि लिएर आफ्ना बुवाका थुप्रै पुस्तकहरु मलाई दिए| ती बहुमूल्य पुस्तकहरु मेरालागि ठूलो उपहार बन्नपुगे|

नेपाल जाँदैपिच्छे स्व. पराजुली र शाश्वत एवं उनको परिवारलाई म सानेपास्थित उनको घरमा भेट्न जाने गर्थें| कहिले चिया-कफी पिउन, कहिले लन्च खान, कहिले श्रीमानको पुस्तक प्रकाशनसम्बन्धि कुरा गर्न त्यहाँ पुग्थें| त्यसरी त्यहाँ स्व. पराजुलीलाई भेट्न जाँदा म डायबिटिज भएका व्यक्तिहरुले खुट्टामा लगाउने मलम अनि बिस्कुट लिएर जान्थें| पत्येक पल्ट उहाँ “शरदबाबु” (मेरा श्रीमान) खै त?” भनेर प्रश्न गर्नुहुन्थ्यो| उहाँ अमेरिका आउँदा शाश्वत तथा उनकी श्रीमति विजयाको माध्यमबाट मैले उहाँसंग नजिकिने मौका पाएँ| भर्जिनियाको आर्लिंग्टनस्थित सेन्ट्रल लाइब्रेरीमा उहाँको सम्मान समारोहमा उहाँलाई भेट्दा उहाँलाई अमेरिकन जस्तै देखिन्थ्यो—गोरो, उज्यालो अनुहार| त्यहाँको कार्यक्रममा उहालाई घरिघरि बाथरूम गएको देख्थें| शाश्वतले हात समातेर लान्थे| त्यो देख्दा उहाँ रुग्ण हुनुहुन्थ्यो भन्ने लाग्यो| त्यो उमेर र त्यसमा पनि रुग्ण शरीर लिएर उहाँ कहिले बोस्टन त कहिले क्यानाडा त कहिले कोलोराडो, लन्डन आदि शहरहरुमा सम्मान कार्यक्रमहरुमा उपस्थित भइदिन गएको देख्दा साँच्चीकै उदेक लाग्थ्यो| शरीरले नदिए तापनि आफ्नो बज्र इच्छाशक्तिले उहाँलाई डो-याइरहेको छ जस्तो देखिन्थ्यो| नेपालमा हुँदा पनि साहित्यिक कार्यक्रमहरुमा उहाँ र उहाँकी श्रीमतिसंग भेट हुन्थ्यो| त्यस्ता बेलामा उहाँ “नानी, मेरो घरमा कहिले आउने?” भनेर सोध्ने गर्नुहुन्थ्यो| प्रत्येक बर्ष उहाँको घरमा पुग्ने म गतबर्ष मात्र हड्ताल, बन्द, चुनाव अनि आफ्नै निजी व्यस्तताको कारणले पुग्न पाइनँ| अन्तिम दर्शन गर्न चुकेकोमा सार्है ग्लानि अनुभूति गरें|

पोहोर साल म नेपालमा छँदा शाश्वतले मलाई लन्चमा बोलाए| कामको चटारोले गर्दा समयमा हिंड्न सकिरहेको थिइनँ| शाश्वतले फोन गरी “दिदी, बुवा त खाना पर्खेर बसिरहनु भएको छ” भने| हत्तेरिका, डायबिटीज भएको मानिसलाई मैले कसरी भोकै पर्खाएंछु भनेर लज्जित हुँदै ट्याक्सी लिएर उहाँको घरमा पुगें| त्यो नै मेरो उहाँसंगको अन्तिम भेटघाट बन्नपुग्यो| उहाँको मुखबाट –याल बगिरहेको र हिड्न निकै कठिनाई भएको अनि बोली पनि स्पष्ट नभएको पाउँदा उहाँ निकै गलिसक्नु भएको अनुभव गरें| उहाँले “अमेरिकाबाट छोरा-बुहारी, नाती-नातिना फर्केर आए, त्यो नै मेरो लागि ठूलो कुरो हो, नानी!” भन्नुभयो| “शाश्वत त श्रवणकुमार नै हुन्, बुवा” भनेर मैले भन्दा उहाँ निकै मजाले हाँस्नुभयो| “नानीले ल्याएको बिस्कुट मीठो लाग्यो,” उहाँले भन्नुभयो| “त्यो डायबिटीजका बिरामीले खाने बिस्कुट हो” भनेर मैले भन्दा उहाँले “त्यसैले त धेरै खाएँ,” भनेर जवाफ दिनुभयो|

विदावारी हुने क्रममा उहाँले आफ्ना १०/१२ वटा पुस्तकहरु मलाई उपहार दिंदै भन्नुभयो, “नानी, मैले दिनसक्ने यिनै किताबहरु मात्र हुन्|” म बडो भावबिहोर भएँ| कतै यो अन्तिम वाक्य त हैन मेरा लागि? भन्ने आशंका पनि उठ्यो| नभन्दै २०७० सालको चैत्र महिनामा ७९ वर्षको उमेरमा उहाँको निधन भयो| “प्रज्ञामा मेरो लाश नराख्नू” शीर्षकको शाश्वतको लेख पढेपछि त झनै नरमाइलो लाग्यो| प्रज्ञा प्रतिष्ठान जस्तो फोहोरी राजनीतिको अखाडामा उहाँले स्थान नपाएर के भयो र? उहाँ त “मीठो रचना, राम्रो नेपाली” जस्ता उत्कृष्ट पुस्तकहरु र “तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म” जस्ता अत्यन्त लोकप्रिय गीतहरु प्रत्येक नेपालीका दैलादैलामा पु-याएर सदाका लागि नेपाली साहित्यको विशालकाय फूलबारीमा एक अजर-अमर फूल बनी फुलिरहनु भएको छ|

उहाँ यस संसारबाट विदा भएर जानुभयो| अन्तिम अवस्थामा आफ्नो सुपुत्र आफ्नो परिवारसहित अगाडि नै बसेको पाउँदा उहाँलाई खुशीका साथसाथै गर्वको अनुभूति पनि भएको हुँदो हो| कैयौं बुढेसकालका लठ्ठीहरु (सहारा) नेपालबाट विदेश पलायन भै विदेशमै हराइरहेको पृष्ठभूमिमा स्व. पराजुलीले आफ्नो अन्तिम अवस्थामा आफ्नो छोरालाई आफ्नै अगाडि पाउनु उहाँको अहोभाग्य थियो| उहाँको आत्माको चीरशान्तिको कामना गर्दै उहाँप्रति यसै संस्मरणमार्फत श्रद्धान्जली अर्पण गर्दछु|

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 बैशाख, 2071

लेखकका अन्य रचनाहरु