साहित्यकार एवम् समालोचक डा. गोविन्दराज भट्टराईसँग कुराकानी

- होमशंकर बास्तोला

(साहित्यकार एवम् समालोचक डा. गोविन्दराज भट्टराईको जन्म २०१० सालमा भएको हो । उहा“ नेपाली र अङ्ग्रेजी भाषाका विज्ञ हुनुका साथै कुशल समालोचक हुनुहुन्छ । उहाँ नेपाली भाषा र साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा लागिरहनुभएको छ । उहा“का मुग्लान, मणिपुरको जिठ्ठी, सुकरातका पाइला (उपन्यास), एक्लै एक्लै एक्लै, विश्वविद्यालयमा अग्नीपूजा, स“गै बसौ“ यो रात (निबन्ध), काव्यिक आन्दोलनको परिचय, आख्यानको उत्तरआधुनिक पर्यावलोकन, पश्चिमी बलेसीका बाछिटा, उत्तरआधुनिक ऐना, उत्तरआधुनिक विमर्श, समयबोध र उत्तरआधुनिकता साथै अन्य अङ्ग्रेजी र नेपालीमा अनÒिदत र सम्पादित बीस ओटाभन्दा बढी पुस्तकहरु प्रकाशित भइसकेका छन् । युवा पुस्तालाई साहित्यिक कार्यमा लाग्न उत्साहित गरिरहनु हुने उहा“ हाल त्रि. वि. वि. अङ्ग्रेजी केन्द्रीय विभागमा प्राध्यापक हुनुका साथै नेपाली लेखक संघको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।)

तपाईं मुख्य रूपमा समालोचनाको क्षेत्रमा कलम चलाइरहनु भएको छ । यहा“को समालोचनालाई पाठकले औधी मन पराएका पनि छन् । यसको रहस्य के होला ?

– मलाई मनमा लागेको ता समालोचनामा होइन । म सिर्जना क्षेत्रमा नै सक्रिय छुजस्तो लाग्दछ । पाठकले पनि मलाई समालोचक होइन स्रष्टाको रूपमा नै सम्झिदिउन् भनेजस्तो लाग्दछ तर सिर्जना गर्दा गर्दै पनि सिर्जनाले स्वयम् समालोचना तान्दो रहेछ, खिच्दो रहेछ । वास्तवमा अघिका सिर्जनाकारहरु केवल सिर्जनाद्वारा चिनिन सक्तथे । सिर्जनाका पुराना स्थापित मान्यताहरुका आधारमा लेखेर पनि आत्मप्रकाशन हुन्थ्यो । तर यताका दशकहरुमा समयको गति परिवर्तित छ, समाजको स्थिति परिवर्तित छ । त्यसैले सिर्जना र समालोचनाका आयामहरु पनि परिवर्तित छन् । अङ्ग्रेजी साहित्यको विद्यार्थी भएको नाताले मैले यस द्वारबाट जगत्लाई हेर्ने मौका पाएँ । त्यताबाट हेर्दा अबको सिर्जनालाई गति दिन समालोचनाले नै नौलो बाटो देख्नु देखाउनु पर्दाे रहेछ । म सिर्जनाको पथ पत्ता लगाउन अध्ययन गर्दा गर्दै समालोचनातिर पनि प्रवेश गरेको रहेछु । त्यसकारणले समय अनुसारका नवीन चिन्तन, दर्शन, लेखन पद्धति, सिद्धान्त इत्यादि तर्फ मेरो लेखन आकृष्ट भएकाले गर्दा र नेपाली स्रष्टा पाठकको नयाँ समूहले परिवर्तनलाई सचेततापूर्वक प्रतीक्षा गरिरहेकाले गर्दा मेरो समालोचना प्रिय लागेको हुन सक्छ ।
त्यसको मूलकारण के हो भने मैले २०४८ सालदेखि विश्वसाहित्य र विचारमा आएका नवीन आयामहरुको व्याख्या विश्लेषण गर्दै आएको थिएँ । पछि २०६० सालमा प्रकाशित उत्तरआधुनिक ऐना र २०६४ सालमा प्रकाशित उत्तरआधुनिक विमर्शले साइबर जगत्, डायास्पोरा, इको साहित्य, युद्ध साहित्य, अभिघात विविधता, बहुलताका मार्गहरु, नयाँ समय र अनुवादजस्ता नयाँ आयामलाई पहिलोपल्ट नेपाली साहित्यमा परिचित गराएँ । बहुलता र विविधताभित्रै किनारिएको संस्कृति, भाषा, जाति, साहित्य आदिका कुरा आए । त्यसपछि प्रकाशित समयबोध र उत्तरआधुनिकता (२०६९) ले तिनको सैद्धान्तिक थप आधार प्रस्तुत ग¥यो । सुरुमा यथास्थितिवादीहरुबाट यस्ता नवचेतनाको विरोध नभएको होइन, परन्तु समयले विजय प्राप्त गर्दै ल्यायो र नेपाली साहित्यमा, संस्कृतिमा, राजनीति र जीवन पद्धतिमा पनि उत्तरआधुनिक चेतनाको स्थापना भयो । आज ता प्रायः सबैजसो विद्वान्–विदुषी यसका समर्थक भएका छन् । यस नयाँ चेतनाको आकर्षणले पनि विश्वलाई यतातिर तानेको छ ।

वर्तमान नेपाली समालोचना यथार्थ रूपमा गरिएको छ ? अलिकति स्पष्ट पारिदिनोस् न ।

– यस्तो प्रश्न अन्यत्र पनि सोधिएको छ । सर्वप्रथम त नेपाली साहित्यमा समालोचनालाई राम्ररी बुझ्ने, बुझाउने कार्य भएको छैन । यहाँ रुढताको अत्यन्तै लामो र स्थापित परम्परा भएकाले गर्दा कृतिभित्र प्रवेश गरी त्यसलाई विश्लेषण गर्नुलाई मात्र समालोचना भनिन्छ । यो एउटा ठूलो भ्रम हो । त्यसैगरी कृतिको
बारेमा लेखिएका सारांश, टिप्पणी, नोट, कृति परिचय सबैलाई समालोचनाभित्र पार्ने चलन छ । त्यो अर्काे त्रुटि हो । समालोचक भनेको कृति निस्केपछि जागृत भएर आफ्ना अज्ञानताहरु प्रकट गर्ने व्यक्ति होइन । कृति आउनुभन्दा अघि अथवा कुनै पनि समयमा अबको साहित्य कता जाँदै छ ? विश्वको तरङ्ग कता छ ? हामी कता छौँ ? अबको लेखन, चिन्तनको धार कता छ भनी सम्पूर्ण स्रष्टा, पाठकलाई (अझ सम्पूर्ण वाङ्मयलाई) दृष्टि दिने व्यक्ति समालोचक हो । अन्यत्र पनि मैले उल्लेख गरिसकेको छु । रामकृष्ण शर्मा, यदुनाथ खनाल, कृष्णचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, जगदीशशमसेर राणा, मोहनराज शर्मा, अभि सुवेदीजस्ता एक हातको औँलामा गन्न सकिने व्यक्ति नेपाली समालोचकका दृष्टान्त हुन् । अरु गाइड, लेखक, टिप्पणीकार, पुस्तक समीक्षक, विद्यार्थीका कुञ्जी, परीक्षाका गेसपेपर लेखकले समालोचक भई समालोचकको आभूषण भिरी केही कागज मसीको खर्च गर्दैछन् । तर त्यस्ताहरु युगबोध बेगरका इमानदार प्रतिलिपिक मात्र हुन् । नेपाली साहित्य यस्ताको आधिक्यले ढाकेकोले गर्दा नेपाली समालोचनाले वाञ्छित मार्ग अनुसरण गर्न सकेको छैन । सिर्जनामा समालोचकले परिवर्तनको दिशाबोध गराउनु पर्नेमा उनीहरु नवीन पथका अवरोधक मात्र भएका छन् । त्यसले गर्दा नेपाली साहित्य कतिबेर कुण्ठित हुनपुग्छ । यथास्थितिमै खुम्चिरहन्छ ।

यहा“ नेपालमा रहेका र विदेशमा रहेका स्रष्टा माझ उत्तिकै लोकप्रिय हुनुहुन्छ । यो कसरी संभव छ ?

– अघि मैले जो भनेँ त्यही कारणले म समालोचनामा अथवा अध्ययन मनन्मा सक्रिय रहेको छु । मैले सिर्जनाको भूगोल छुट््याएको छुइनँ तर भूगोल अनुसारको सिर्जना बेग्लाबेग्लै हुन्छ । मैले वर्ग, लिङ्ग, सामाजिक स्तरजस्ता आधारमा सिर्जना नछुट््याइ पढ्ने लेख्ने गरेको छु । तर ती कुराले सिर्जनाको स्तरमा आफैँ फरक पार्ने गर्दछ । नेपाली जीवनमा ठूलो उथलपुथल आएर समाजको स्वरूप नै पूर्ण परिवर्तित छ । सर्वप्रथम त नेपाली भाषा साहित्यको पठनपाठन, अध्ययन व्यापक भएर गएको छ । त्यसकारणले सिर्जनाको संख्या पनि त्यही गतिमा जाँदैछ । यसैगरी नेपाली जातिको बहिर्गमन प्रक्रिया पनि अत्यन्तै तीव्र भएकाले पचासौँ देशमा नेपाली जाति, भाषा, संस्कृति पुगेको छ । त्यतातिर अनेक डायास्पोराबाट आउने नेपाली साहित्यको स्वरूप अलि भिन्न छ । र यसलाई त्यहाँका स्रष्टाहरु एउटा पहिचानको मूल आधारको रूपमा लिन थालेका छन् । त्यसकारणले विगत दुई दशक यता अनेक नेपाली डायास्पोराको सिर्जना र समालोचना, यन्त्रयुगले भेटेपछिको साइबर जगत्को सिर्जना र समालोचना, नयाँ मान्यता अनुसार अनेक वर्ग विभाजन र संयोजनबाट उत्पन्न भएको सिर्जना तथा समालोचनालाई अघिको मान्यताले चिन्न चिनाउन सक्तैन । मेरो अधिक ध्यान सिर्जना र समालोचनाका यस्तै नवपथतिर समर्पित भएकाले पनि होला नेपाली प्राज्ञिक र बौद्धिक जगत्मा मात्र होइन नयाँ समयमा अनेक जाति, भाषा, धर्म, संस्कृति, क्षेत्रीयताका पर्खालहरु नाघ्दै, उत्साहले हामफाल्दै नेपाली वाङ्मयमा कुनै योगदान गर्न सकिएला कि भन्दै हाम्फालेर विश्वभरिबाट नेपालतिर फर्केर लेखिरहने, पढिरहनेहरु छन् । तिनै नेपाली जातिको प्रेममा विगत दुई दशकदेखि मैले सारा शक्ति, सामथ्र्य र ज्ञान अर्पित गरको छु । त्यसैले गर्दा नयाँ समयले मतिर हेरिरहेको हुनसक्छ । नयाँ भएर आइरहेको नेपाली वाङ्मयले रुढ संरचनाभन्दा बाहिरको अर्थ खोजिरहेको छ । यतिबेला सबै आगन्तुकको स्वागतको समय छ । एकातिर नेपाली वाङ्मय विश्व विजयी भाषाहरुको सेपमा परेर के कसो हुने हो भन्ने स्थितिमा छ । अर्कातिर नेपाली वाङ्मयसेवीहरु जात, धर्म, लिङ्ग, भूगोल, भाषा, संस्कृति सबै कुरा एकछिनलाई बिसाएर नेपाली वाङ्मयमा आफ्नो जातिको स्थितिलाई वाणी दिन उठेका छन् । यो अत्यन्तै नौलो र खुशीको आवस्था हो । त्यस कारणले गर्दा नेपाली वाङ्मयसेवीहरुप्रति जहाँ भए पनि नयाँ उत्साहले, प्रेमले र न्यायले हेर्नुपर्ने समय छ । म त्यता लागेको छु । तर यो कठिन र असम्भव लाग्छ । यो ‘आफू मेटाइ अरुलाई दिनु’जस्तै रहेछ ।

अंग्रेजी भाषामा धेरै रचना र पुस्तकहरूको अनुवाद गर्नुभएको छ । अनुवाद गर्ने काम त्यत्ति सजिलो होला र ?

– अंग्रेजी भाषा साहित्य विगत चार दशकदेखिको मेरो अध्ययन अध्यापन एवम् जीविकोपार्जनको माध्यम रहेको छ । मलाई विश्व देखाउने प्रवेशद्वार पनि यही हो । यही द्वारबाट म नेपाली जातिलाई (यसको साहित्यलाई) पनि चिनाउन चाहन्छु । उहाँको रचनालाई पनि विश्व समक्ष पु¥याउन चाहन्छु । यही आकाङ्क्षाले गर्दा दुई दशक अघि मैले भारतको हैदराबाद विश्वविद्यालयबाट अनुवाद अध्ययनमा विद्यावारिधि गर्ने मौका प्राप्त गरेको थिएँ । त्रिभुवन विश्वविद्यालयप्रति यसको लागि म आभारी छु । त्यसो त यो देशमा अनुवाद विषयमा विद्यावारिधि गर्ने प्रथम व्यक्ति भएको ऋण तिर्नु पर्ने भएकाले पनि म अथक प्रयत्न गरिरहेको छु । परिणाम स्वरूप नेपालका अधिकांश विश्वविद्यालयमा अनुवाद अध्ययनको पठनपाठन हुनु, यस विषयका ज्ञाताले विकासोन्मुखी अनेक संस्थामा रोजगार पाउनु, यस विषयमा कृति लेखिनु, अनेक शोधपत्र लेखिनु र विद्यावारिधि तर्फ विद्वान्हरु अघि बढ्नु तथा नेपाल एकेडेमीमा अनुवाद विभागको स्थापना हुनु र विशेष गरी नेपाली बजारमा अनूदित कृति एवम् अुनवाद कृयाकलापहरु धेरै नै बढेर जानु अत्यन्तै ठूला ऐतिहासिक महत्वका कुरा भए ।
त्यसै कारणले मैले आफ्नो सिर्जना समालोचना थाम्दाथाम्दै पनि अनुवाद गर्ने गराउने कार्यमा पनि गहिरो अभिरुचि साथ काम गर्दैछु । त्यसो त एउटा उपन्यास वा निबन्धसङ्ग्रह लेख्नु भनेको मूलतः आफ्नै सिर्जना शक्तिलाई सन्तुष्ट पार्नु हो । परन्तु अनुवाद गर्नु भनेको अरूको ज्ञान सूचनालाई अभिवृद्धि गर्ने उद्देश्यले देशको वाङ्मय उठाउन सम्पूर्णरूपमा परसेवामा समर्पित हुनु हो । मलाई कस्तो लाग्छ भने— कहिलेकाहीँ एउटा कठिन कृतिको अनुवाद गर्नुभन्दा त्यो समयमा दुई वटा उपन्यास लेखिएला तर देशलाई अघि बढाउन र आफ्नो पहिचान अरू समक्ष प्रस्तुत गर्न सकिदैन । अनुवादमा समर्पित नभएसम्म यथास्थितिबाट वाङ्मय (र हाम्रो मानसिकता) उठ्न सक्तैन । महाकवि देवकोटा लगायतका आरम्भका स्रष्टाहरुले अनुवादमा जोड दिएको कारण यही थियो । मैले साझाबाट प्रकाशित सर्ट स्टोरिज फम नेपाल अनुवाद गरेँ । साझा प्रकाशनले अङ्ग्रेजीमा लगेको यो प्रथम कथासङ्ग्रह हो । त्यसपछि मैले जीवा लामिछानेद्वारा प्रकाशित सेलेक्टेड नेपाली एसेजको अनुवाद गरेँ । नेपाली वाङ्मयबाट अङ्ग्रेजी भाषामा जाने यो प्रथम निबन्धसङ्ग्रह हो । मैले स्टोरिज अव् कन्फ्क्टि एण्ड वार जस्तो विशेष द्वन्द्व र युद्धकथा अनुवाद गरेँ । यो पनि यस प्रकारको प्रथम सङ्ग्रह हो । यस्तै प्रकारले गोपाल पराजुलीकृत नयाँ ईश्वरको घोषणा (काव्य) को अनुवाद गरेँ । सबैभन्दा कठिन कार्य मलाई गान्धीको नेपालीमा अनुवाद गर्दा भयो । त्योभन्दा कठिन पूर्वीय सभ्यतालाई नेपालीमा अनुवाद गर्दा भयोभने यतिखेर विगत दश महिनादेखि भानुभक्तीय रामायणको अङ्ग्रेजीमा अनुवाद गर्दैछु । आदिकवि भानुभक्तको दुईसयौँ जन्मशतकको उपलक्ष्यमा गर्न थालिएको यो कर्म श्रीलङ्काबाट प्रकाशित हुनेछ । सबै सार्क राष्ट्रले आआफ्ना भाषाका प्रथम काव्यकृति अङ्ग्रेजीमा लैजाने यो पहिलो प्रयत्न हो । मलाई अझै एक वर्ष लाग्न सक्छ । तर विश्वसाहित्यभरि नेपाली भाषीले आफ्नो शिर ठाडो पारेर गौरव साथ विश्वका अनेक कवि स्रष्टा समक्ष हाम्रा भानुभक्तलाई पनि चिन्ने छन् । यो कर्म सर्वाधिक कठिन भए तापनि म यसमा समर्पित भएर लागेको छु । यसलाई पूरा गरेर छाड्ने छु । यसका अतिरिक्त अनुवाद अध्ययनसम्बन्धी कृति लेख्ने र अरू एक दर्जन जति अनूदित कृतिको सम्पादन कार्यमा संलग्न भइसकेको छु । मेरो जीवनका अनेकौँ इच्छित साथै अनिवार्य बौद्धिक कर्महरुमध्ये अनुवाद एक रहेको छ । नेपाली वाङ्मयलाई अलिकति पनि चिनाउन सकिएला कि भन्ने लोभले आफ्नो सिर्जनालाई एकछिन थाँति राखेर म यता लागेको हुुँ । भानुभक्तीय रमायणभन्दा अरू महत्वपूर्ण कार्य मेरो जीवनमा आउँदैन होला ।
अनुवाद सजिलो भएर होइन अप्ठ्यारो सधैँ नै अप्जस आउन सक्ने कार्य भन्ने तथ्य थाहा छ, तथापि आफ्नो चेतना र शिल्पको प्रयोग गरी अलिकति यो देशको ऋण तिर्न सकिएला कि भन्ने उद्देश्यले म त्यता लागेको हुँ ।

तपाईं नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रियकरण गर्न हरतरहले लागिरहनुभएको छ । यस बारेमा केही
बताइदिनोस् न ?

– यस विषयमा अघि पनि मैले प्रकाश पारेँ । नेपालीभाषी स्रष्टा र साहित्यिक स्रष्टाहरु भएका अनेक मुलुकमा यात्रा गर्न सुयोग जुटाइदिने अनेक इष्टमित्रप्रति म आभारी छु । मलाई के लाग्दछ भने विश्वभरि पुगेको नेपाली वाङ्मयको मूल वृक्ष नेपालमै छ र विश्वका नेपालीले गरेको नेपाली वाङ्मयप्रतिको लगानी सेवा पनि नेपाल र नेपालीकै निमित्त समर्पित छ । बेलायतमा प्रयुक्त नेपाली भाषा, हङ्कङमा प्रयुक्त नेपाली भाषा उहाँ बस्नेहरुलाई हो । नेपालमा आउजाऊ गर्नेहरुलाई र नेपालकाहरुलाई साथै अन्य विश्वसमुदायको अगाडि हाम्रो शक्ति र समथ्र्य देखाउनलाई पनि हो । भाषा, साहित्य उन्नति नै हाम्रो पहिचानको आधार हो । नेपाली जाति, भाषा संस्कृति रहित हुन्थ्यो भने कसले हामीलाई चिन्दथ्यो होला । त्यसैकारणले विश्वभरिकै नेपाली भाषाको उन्नतिलाई हर प्रकारले उत्थान गर्नुपर्दछ । भाषाविज्ञानले सिकाउँछ– दोस्रो भाषालाई कसरी, कुन स्थान दिने होला । विश्वसाहित्यले र वर्तमान विश्व संरचनाले देखाउँछ– डायास्पोरिक साहित्यलाई कसरी संरक्षण र संवद्र्धन गर्नुपर्दछ ।
यी दुई भूमिमा बसेर सिर्जना गर्ने स्रष्टाहरुमा ठूलो अन्तर हुन्छ । तर दुवैको लक्ष्य एउटै छ– आत्मप्रकाशन, कलामा अभ्यास र आफ्नो जातिलाई चिनाउने कार्य ।
नेपालमा रहेर लेख्ने लेखक र विदेशमा रहेर लेख्ने लेखकको लेखनमा कस्तो अन्तर पाउनुभएको छ ?

– नेपाली जातिहरुमध्ये अझै पनि पूर्णकालीन लेखकहरुको संख्या नेपालभित्रै पनि नगण्य छ । केही साधक, अन्वेशक र स्रष्टाहरु अपवादजस्तै हुनुहुन्छ । त्यसकारणले पूर्णकालीन समर्पित लेखनजीवी स्रष्टाहरु अझै पनि नगण्य छन् । देश बाहिर अन्य मुलुकमा बसेर केवल सिर्जनामा लाग्नु एक प्रकारले असम्भवजस्तै
हुन्छ । देशभित्र धेरै स्रष्टाको आर्थिकस्थिति सुदृढ छ तर बाहिर बस्नेहरुले रातोदिन संघर्ष गर्नु पर्ने भएकाले गर्दा उनीहरुलाई सिर्जनामा बाँच्नु असम्भव छ । त्यसमाथि नेपाली भाषाको सीमितताले गर्दा बाहिरी लेखकहरुको श्रम, सिर्जना, प्रयत्नको यथोचित सम्मान हुन सक्तैन, तथापि नेपाली वाङ्मयको श्रीवृद्धिको निमित्त उनीहरु समर्पित भएर लागिरहेका छन् । परिणाम स्वरूप अनेक डायास्पोराको नेपाली साहित्य चिनिदै आएको छ । यताको लेखनमा सयौँ वर्षको प्रचीनता र त्यसको जरा प्रष्टै छुट्टिन्छ भने बाहिरतिर नयाँ पुस्ताले भर्खरै पाइला चाल्दैछ । भारतको नेपाली साहित्य भने आफ्ना जरा बलिया बनाएर नेपालको पछिपछि दौडिरहेको छ । नेपाली साहित्यको स्थापनामा भारतभूमिबाट भएको सत्प्रयासले दुवै देशलाई जोडेको छ । नेपालमा एक प्रकारले शिक्षित पठितको संख्या प्रसस्त भएको साथै विभिन्न समुदायका स्रष्टाहरुको उदय पनि भएकाले नेपाली साहित्य लेखन, पठन र व्यवसायीकरण अत्यन्तै उर्वर र आसलाग्दो छ ।

तपाईस“ग पुस्तकहरूको भूमिका लेखीमाग्न धेरै लेखकहरू आउने गरेका छन् । यहा“लाई यसमा कत्तिको सहज वा असहज के भइरहेको छ ?

– भूमिका लेख्नु एकप्रकारले अत्यन्तै असहज, अप्ठ्यारो र व्यर्थको समय लाग्ने काम हो । यसले मेरो अमूल्य समयको नाश गरेर मलाई पनि ठूलो नोक्सान गरिरहेको हुन्छ । त्यसो भए तापनि भूमिका भनेको प्रत्येक कृतिको प्रवेशद्वार हो । उहाँहरुलाई लाग्दो हो केही समयवोध हुने दृष्टान्तले मेरो कर्मको उचित मूल्याङ्कन गरिदेलान् कि । त्यही ठानेर ती म समक्ष आउँछन् । जो मसँग अनुरोध गर्न आउने स्रष्टाहरु हुनुहुन्छ उहाँहरुलाई लाग्दो हो मबाट उक्त कृतिको सटिक निरूपण हुन्छ होला । त्यसैले गर्दा मैले पनि आफ्नो ज्ञान र क्षमताको प्रयोग गरेर आफ्नो सिर्जनाको निजी समयलाई अलिकति कटौती गर्दै भूमिकातिर लगानी गरेको छु । मैले लेखेका कृतिको भूमिका संख्या दुई दशकमा चारसय जति पुग्यो होला, तर प्रतीक्षामा बस्नेहरुको संख्या पनि घटेको छैन । त्यसकारणले यो समयमा स्रष्टाहरुको अपेक्षा खासगरी नयाँ कृतिको व्याख्या, नयाँ सिद्धान्तहरुले समयलाई हेर्ने दृष्टिकोणको विकास अनि छेलिएका मार्जिनल नयाँ पुस्ताको उदय तथा डायास्पोरिक समुदायको उत्थान यिनै कुरालाई ध्यानमा राख्दै म लेखिरहेको छु । यसले मेरो निजी लेखनलाई पु¥याएको केही नोक्सान ता खपेको छु तर वर्तमानकालमा नेपाली साहित्यको लेखनको गति र स्थिति के छ भन्ने कुराको मलाई ज्ञान हुन्छ । यसैलाई मैले पुरस्कार ठानेको छु । ती सम्पूर्ण रचनाहरु संकलित सङ्ग्रहमा आउँदै छन् । तिनले मेरो र नेपाली साहित्य दुवैको दुईधारे इतिहास पनि कहने छन् । आशा छ, ती स्रष्टालाई पनि बचाउने छन् ।

यहा“ नेपाली लेखक संघमा हुनुहुन्छ । नेपाली लेखक संघले नेपाली भाषा साहित्यको क्षेत्रमा के गरिरहेको छ ?

– नेपाली लेखक संघ भनेको व्यक्तिगत स्वतन्त्रता अर्थात् लेखकीय स्वतन्त्रता र प्रजातन्त्रको स्थापनामा समर्पित भएर २००८ सालमा स्थापित भएको एउटा साहित्यिक संस्था हो । यो नेपालको पहिलो साहित्यिक संस्था पनि हो । यो छ दशक पश्चात् आज पनि आफ्ना मूल्यमा यथावत छ । यसको स्थापनामा महाकवि देवकोटा, सिद्धिचरण, विश्वेश्वरप्रसाद कोइरालाजस्ता महान् व्यक्तित्वहरु संलग्न हुनुहुन्थ्यो । मैले नेपाली लेखक संघमा रहेर कार्य गरेको आठ वर्ष पुगे । हाल म यसको उपाध्यक्ष एवम् विदेशी विभागको संयोजक पनि रहेको छु । यो संस्थाले देशका अनेक स्थानमा रहेका आफ्ना शाखामा लेखन स्वतन्त्रताको, सिर्जनामा नवीनताको र विश्वपरिस्थितिको बारेमा जानकारी दिँदै प्रजातन्त्रवादी संस्थाहरुको सम्मान, सुरक्षा र सम्बद्र्धन गरिरहेको छ । प्रजातन्त्रवादी भन्ने वित्तिकै सबै प्रकारका विचारप्रति आस्था राख्नेहरुलाई समान रूपले व्यहार गर्दछ । किनभने प्रजातन्त्र भनेको अनेक विचारहरुले बनेको एउटा केन्द्र हो । यसले नेपाली साहित्यमा स्थापित रुढतालाई भत्काएर नयाँ समय चिनाउन चाहन्छ ।
२०७० साल भाद्रदेखि यसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दी आरम्भ भएकाले गर्दा हामी सबै जना परिचालित भएर स्वदेश तथा विदेशमा वीपी कोइरालाको साहित्यिक योगदानलाई चिनाउनु र पुनर्मूल्याङ्कन गर्न लागिपरेका छौँ । हाम्रो संस्थाले पाँचथर, झापा, चितवन, काठमाडौँ, लुम्बिनी र दाङमा भव्यरूपले शताब्दी कार्यक्रम सम्पन्न गरिसकेको छ । विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, पाल्पा, धनगढी, नेपालगञ्ज, डोटी लगायत दार्जेलिङ, कलकत्ता र वनारस पुग्ने योजना बनाएको छ । यसले प्रत्येक वर्ष लेखक नामको पत्रिका प्रकाशन गर्दैछ भने यो वर्ष देशभरिबाट वीपीको साहित्यसम्बन्धी दुई दर्जन जति स्मारिका र विशेषाङ्कहरु प्रकाशनको तयारी गर्दैछ । वीपी कोइरालको लेखन अथवा सिर्जनाको विचार, शैली र चिन्तन नै आजसम्मको नेपाली साहित्यलाई नवीनपथ देखाउने कुरा भएकाले गर्दा नेपाली साहित्यको मूलधार लेखन पनि यस्तै स्वतन्त्र लेखनबाट प्रेरित छ । त्यसैले यस अभियानको ठूलो महत्व छ ।
नेपाली भाषा साहित्यको उन्नयनका लागि यहा“ देश देशान्तरसम्म क्रियाशील हुुनुहुन्छ । समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? थकान लाग्दैन ?

– नेपाली भाषा सहित्यको चिन्तन र प्रेमले मैले आजसम्म अठार देशको भ्रमण गर्ने मौका पाएँछु । अरू अझै गरिरहने छु । म नेपाली वाङ्मयमा पूर्णरूपले समर्पित छु । त्यसकारणले मलाई थकान लाग्नु हुँदैन, लागे पनि खपेर त्यसको म व्यवस्थापन गर्दै छु, गरिरहने छु ।

वर्तमान नेपाली साहित्यको अवस्था कस्तो रहेको पाउनुभएको छ ?

– वर्तमान नेपाली साहित्य एक्कासि जागेर, ब्यूँझेर उठेको अवस्था छ । यसमा आधुनिककालका महाकवि देवकोटा, सम, रिमाल, वीपी, सिद्धिचर, माधव घिमिरेहरुले ठूलो प्रयत्न र कष्टले नेपाली साहित्यलाई आधुनिककालमा स्थापित गर्नुभयो । अहिले त सरल समय छ । लेखक, पाठक, प्रकाशक, पुरस्कार, प्रेरणा सबै कुराले यो ओतप्रोत छ । सम्पूर्ण स्वदेश र विदेश एउटै गतिले हिँड्दै छ । विद्युतीय स्वतन्त्रताले यसलाई जोडेको छ । तर अझै केही दशक नेपाली साहित्यमा उच्चकोटीका सिर्जनाहरु आउन समय लाग्ला । कारण के छ भने, यतिखेर सबै जना सबैतिरबाट संख्यात्मक रूपले उठिरहेका छन् । बाढी चलेको छ । यो चल्न
दिनुपर्छ । सङ्लिएर निर्मल हुन समय लाग्छ ।

साहित्यिक लेखनमा लाग्ने युवा पुस्तालाई के सल्लाह दिनुहुन्छ ?

– साहित्यमा लाग्ने युवा पुस्तालाई म के भन्दछु भने— उहाँहरुमा साहित्य पठनको ठूलो अभाव छ । प्रत्येक विधामा विश्वस्तरका कृतिहरु छन् । नेपाली, हिन्दी साहित्यमा पनि उपलब्ध छन् । यस्ता कृतिको गम्भीर पठन बेगर राम्रो सिर्जना गर्न सकिँदैन । आफ्ना देशका स्तरीय मानिएका कृतिको अध्ययन मनन् गर्नुहोस,् विश्वसाहित्यका विशिष्ट कृतिहरुको अध्ययन गर्नुहोस् । एउटै कृतिले जीवनपथ उज्यालो पार्दछ । हर्मन हेस्सेको सिद्र्धाथ अथवा रविन्द्रनाथको गिताञ्जली अथवा बे्रख्तका नाटक अथाव ह्विट म्यानका कविता अथवा नैपलका आख्यानेत्तर गद्य– प्रकाशले जीवनको अँध्यारो मार्गमा टाढासम्म प्रकाश दिन्छ । अध्ययन बेगरको लेखन व्यर्थ हुन जान्छ । भोलि त्यस्तो कर्म महत्वहीन हुनेछ ।

हाल के गरिरहनुएको छ ?

– हाल म तीनवटा काममा लागेको छु । गतवर्षदेखि सर्वप्रथम म भानुभक्तीय रामायणको अङ्ग्रेजी अनुवादमा समर्पित भएर लागेको छु । यो सार्क मुलुकका प्रत्येक राष्ट्र आआफ्नो साहित्यको क्लासिकल कृतिलाई अङ्ग्रेजीमा लैजाने निर्णय भए अनुसार नेपाली तर्फको भानुभक्तीय रामायणलाई क्लासिकल कृति ठहर
गरी अनुवादको उत्तरदायित्व मलाई प्राप्त भयो । भानुभक्तको दुईसयौँ जन्मशतक मनाइरहेको बेला यो अवसर आउनु देशको लागि नै ठूलो गौरवको कुरा हो । नेपालीबाट अन्य कतिपय भाषामा यसको अनुवाद भएको छ । परन्तु अङ्ग्रेजीमा नआएसम्म विश्वसाहित्यमा हाम्रो यो सम्पदा कहीँ नदेखिने भएकाले गर्दा २०० वर्षपछि हाम्रो यो समयमा यो अवसर प्राप्त भयो । यसले विश्वसाहित्यको सन्दर्भमा हामी पनि उभिन पुग्दछौँ भन्ने लाग्दछ । दोस्रो कुरा अघि मैले भनिसकेँ यो वर्ष नै वीपी कोइराला शतक भएकाले गर्दा लेखक संघको तर्फबाट म संयोजक पनि भएको छु । त्यसकारणले गर्दा ठाउँठाउँमा हुने गोष्ठीपत्र, कार्यपत्र, विचार लिएर कार्यक्रममा पुग्नु पर्ने हुन्छ । पढेर, लेखेर तयारी गर्नुपर्ने हुन्छ । वीपीमाथि मैले यथासम्भव अध्ययन गरी २०० पृष्ठ जति प्रकाशित गरिसकेँ । हालै मात्र प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित आख्यानकार विश्वेश्वरप्रसाद कोइराला पुनरपाठ शीर्षक भाउपन्थीद्वारा सम्पादित– कृति हेर्दा पनि यो कुरा थाहा हुन्छ । साथै श्री नगेन्द्र शर्माद्वारा अनूदित वीपी कोइराला कृत हिटर र यहुदी कृतिको अङ्ग्रेजी पाठ सम्पादनलाई अन्तिम चरणमा पु¥याएको छु ।
तेस्रो कुरा आफ्ना निजी लेखनहरु मिर्मिरेमा दश पाइला शीर्षक यात्रानिबन्धको तयारी एवम् नीलिमाको डायरी शीर्षक आख्यानको तयारी छन् । यस्तै कर्महरुमा म अल्झिरहेको छु । विश्वविद्यालयको अध्यापन कार्यक्रम अझै साढे तीन वर्ष बाँकी छ । मलाई के लाग्छ भने समय सधैँ कम्ति भएको छ । हाम्रा आकांक्षा र उद्देश्यहरु फैलिएर कहाँ पुगेका छन् । यसमा सामान्जस्य स्थापना गर्न खोज्दाखोज्दै जीवन
बितिरहेको छ । त्यतिमात्र होइन अरू अनेक दैनिकी र व्यावहारिक कुरा पनि आउँछन् । तपाईंलाई मैले के बताइरहनु पर्ला । यस्तो लाग्ने म मात्र होइन अरू पनि स्रष्टा होलान् भन्दै चित्त बुझाएर नबिसाइ कुदिरहेको छु । वास्तवमा म पूर्णरूपले समर्पित पूर्णकालिक स्रष्टाको जीवन व्यतीत गर्न चाहन्छु । म आख्यान र निबन्ध सिर्जनामा आफूलाई बिलाउन चाहन्छु ।

अन्त्यमा भन्ने केही बा“की छ ?

– त्यसो त भन्नु धेरै बाँकी छ, होमशंकर भाइ । यति लामो जीवनको यो समयमा भन्नु कति बाँकी होला । तपाईं सम्झनुहोस् तर यहाँ भन्ने समय छैन । तपाईंको अन्तर्बाेधमा छाप्ने स्थान पनि पुग्दैन होला । यहाँ जति बोलेँ यो मेरो सानो संकेत र इशारामात्र हो । यसैलाई लामो बुझिदिनु होला । एउटा खुशीको कुरा के छ भने– अघि पनि तपाईंले अन्तर्बाेधका लागि मेरो अन्तर्वार्ता लिनुभएको थियो । यसपालि फेरि माग्नुभयो म प्रसन्न छु । मेरा आफ्ना अन्तर्वार्ताहरुको सङ्ग्रह प्रकाशनमा जाँदै छ । २०७१ सालभरिको लक्ष्य छ । आजसम्मका तपाईं कान्छा अन्तर्वार्ताकार हुनुहुन्छ । टाढा रहेर एक्लै दुःखमा पनि नेपाली साहित्यको सेवामा
निरन्तर लागिरहने तपाईंलाई मेरो हार्दिक प्रेम र बधाई छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 बैशाख, 2071

लेखकका अन्य रचनाहरु