कवि दुर्गालाल श्रेष्ठसँग भलाकुसारी

- वासुदेव अधिकारी

जनकविबाट विभूषित दुर्गालाल श्रेष्ठ समकालीन कविता, गीत र नाटकका शीर्ष साधकको नाम हो । उहाँको कलमले एकैचोटी वा पटक पटक आगो, प्रेम, आँसु र हृदयाकाश दिन सक्छ । १९९२ साउन कृष्ण एकादशीमा जन्मिनु भएको दुर्गालाल अविच्छिन्न साधनामा तल्लीन हुन सक्ने विशिष्ट प्रतिभा हुनुहुन्छ । गरिव परिवारबाट उठ्नु भएका उहाँले व्यापकतम पाठकको चित्त छुन सक्नु भएको छ । कलम तथा कर्म दुबै हिसाबले सशक्त मानिनु हुन्छ उहाँ । बाल रचना, अनुवाद आदिमा समेत ओजस्वी रचना गरी आफ्नो युगको स्पन्दन अभिव्यक्त गर्ने दुर्गालालले समय क्रममा सार्थक प्रेमको पक्षमा कलम चलाए पनि उहाँ मूल रुपमा जनपक्षीय रचना गर्न रुचाउनु हुन्छ । उहाँको चिन्तन र कवित्वमा बुद्धत्वको खोजी छ । विपश्यना ध्यानमा जस्तो उहाँ आफ्नो वा अरुको मनमा सजिलै पस्न र निस्किन सक्नु हुन्छ । उहाँ आफूभित्र हराएर गरिने सिर्जनाको पक्षमा हुनु हुन्छ । लयमा विशिष्ट भाव पस्किन सक्ने उहाँको रचना अन्तरराष्ट्रिय स्तरका मानिन्छन् । शब्द–संयोजनको यस अङ्कमा करिव ३ दर्जन कृति प्रकाशित गरिसक्नु भएका सिर्जना र साधनाका पर्याय दुर्गालाल श्रेष्ठसँग वासुदेव अधिकारीले गरेको विशेष सम्वाद प्रस्तुत छ ।

वासुदेवः यहाँको उपनाम ‘ख्वविलु’ हो भन्ने सुनेको थिएँ । त्यसको बारेमा केही बताइ दिनोस् न !
दुुर्गालालः ‘ख्वविलु’ मैले राखेको उपनाम होइन । एक समय काठमाडौँमा बारम्बार साहित्य गोष्ठीहरु भइ रहन्थ्यो । सोही क्रममा एक पटक प्रेम बहादुर कंसाकारको अध्यक्षतामा गोेष्ठी भएको थियो उहाँकै बैठकमा । कार्यक्रमको समापनमा कार्यक्रमको समीक्षा गर्दै उहाँले मलाई ‘ख्वविलु’ कवि भनेर टिप्पणी गर्नु भयो । त्यस कुराले अरु सहभागीहरुको चित्त छोयो । नभन्दै त्यस समूहमा म ‘ख्वविलु’ उपनामले नै दरिएँ । त्यसपछि त कतिपयले प्रेसमै गएर ‘ख्वविलु’ उपनाम लेखिदिन थाले । त्यसलाई मैले मौखिक रुपमा कहिल्यै बिरोध गरिन र व्यवहारमा सकारिन पनि । मेरो आजसम्मको किताब हेर्नोस्, तपाइँ त्यसमा ‘ख्वविलु’ पाउनु हुन्न । ‘ख्वविलु’को अर्थ हो रुञ्चे ।

वासुदेवः यहाँ मूलतः कवि हुनु हुन्छ । कविता क्षेत्रमा कसरी आउनु भयो ? गद्य विधामा हात हाल्नु भएको छ कि छैन ?
दुुर्गालालः म कवि, गीतकार, नाटककार हुनुभन्दा पहिले गाइजात्रे कलाकार हुँ । मलाई अझ पनि कुनै विशेषण नराखी त्यही रुपमा गाइजात्रे कलाकार भनेर सम्बोधन गरे गौरवान्वित हुन्छु । पहिले गाइजात्रे कलाकारलाई अलि हुने खानेहरुले निम्नस्तरको भनी ज्यादै हेलाँको दृष्टिले हेर्ने गर्थे । तर त्यो बेलादेखि, हेलाँ हुन्छ भनेर थाहा हुँदा हुँदै पनि म त्यो डबलीसँग खूब लहसिएँ । म डबलीमा यति लागेँ कि अहिले पनि म त्यो डबलीबाटै सञ्चालित छु जस्तो लाग्छ । डवलीप्रति मेरो मोहनी अझै कायम छ । डबलीको अकर्षण मभित्र पहिले देखि नै पलाएको हो । त्यतिखेरको डबली जन मनोरञ्जनको केन्द्र वा थलो हो । नत्र जनताले कहाँ मनोरञ्जन पाउन सक्थे र ? डवली सांस्कृतिक क्रियाकलापकै प्रतीक हो । गीत कविता मात्र होइन साहित्यमा नै मेरो प्रवेश मेरो इच्छाले भएको होइन । जे होस्, आज म यहाँहरुको आँखामा जुन साहित्यकार भएको छु त्यो परिस्थितिको देन हो ।

वासुदेवः डवलीमा कति समय संलग्न हुनु भयो ?
दुुर्गालालः डवलीसँग म गाँसिएको २००४ सालदेखि हो । मैले नाटक मात्र लेखिन, अभिनय पनि गरेँ, गराएँ । लगातार १४ वर्ष म गाइजात्रे कार्यक्रममा सामेल भएँ । काठमाडौँ, भक्तपुर, कीर्तिपुर आदि स्थानमा हाम्रो नाटक मञ्चित हुन्थ्यो । जब गाइजात्रे नाटकको परम्परा सेलाउँदै गयो त्यसको परिपूरक स्वरुप कभर्ड हलमा नाटक गर्ने प्रथाको उदय भयो । जसले गर्दा म एकाङ्की नाटक लेख्नतिर पनि बाध्य भएँ । दर्जनभन्दा बढी एकाङ्की नाटक लेखियो । पुस्तकालय, स्कुल, कलेज आदिबाट पनि हुने सांस्कृतिक कार्यक्रमका निमित्त करिव आधा दर्जन गीति नाटक पनि लेखियो । १४ वर्षसम्मका मेरा नाटकहरुका अभिलेख एटा पनि मैले सञ्चय गर्न सकिन । त्यस अदूरदर्शितामा म अहिले पनि पछुताउँछु । एकाङ्की र गीति नाटक चाहिँ पुस्तकाकारकै रुपमा प्रकाशित गर्न पनि म सफल भएँ । त्यसबेलाका मेरा गीतहरु मात्र पनि सङ्कलन गर्न पाएको भए पनि त्यो नेपाली साहित्यको उल्लेख्य निधि हुने थियो । नाटक लेखनकै क्रममा २००९ सालको नाटक ग्राम्य जीवन विचारधाराको हिसाबले सर्वथा अलग रह्यो । त्यसबेला त्यस नाटककलाई दर्शकहरु क्रान्तिकारी नाटक भन्थे । भाषा जागरणको क्रममा हामी मूलतः नेपाल भाषाको कार्यक्रम गथ्र्यौँ ।

वासुदेवः गीत कवितामा कसरी तानिनु भयो नि ?
दुुर्गालालः नाटक लेख्दा गीत चाहिने । यो आवश्यकता पहिले अरुबाट परिपूर्ति हुन्थ्यो । तर सधैँ नाटक खेल्दै हिँड्ने भएकाले उनीहरुबाट बेलैमा गीत प्राप्त गर्न म नसक्ने हुन्थेँ । तसर्थ बाध्य भएर म आफैँ गीत लेख्थेँः हिन्दी फिल्मको लयमा । यसरी पनि केही काल निर्वाह गरियो । अरु पनि कार्यक्रममा गइरहन्थेँ । त्यसबेलाका सबैजसो कार्यक्रममा गाइने स्वागत गीत मेरै हुन्थ्यो । खेल्दा अरुको नाटक पनि खेलेको छु, प्रेम बहादुर कंसाकारको नाटक पश्चाताप अनुवाद गरेको छु । गीत लेख्न थालेको चाहिँ २०१० सालबाट हो भने कविता चाहिँ सायद २००८ सालबाट लेख्न शुरु गरियो होला ।

वासुदेवः लयसँग गाँसिएको आत्मियताका बारेमा केही बताइदिनु हुन्छ कि ?
दुुर्गालालः सामाजिक सन्दर्भमा म किलागलका किसान नेता सानु महर्जनको समिपमा पुगेँ । उहाँसामु पुगेपछि मेरो धारणा परिवर्तन भयो । त्यस बेलादेखि म धान रोप्ने, गोड्ने, काट्ने आदि समयमा खेतमा पुगी किसानसँगै रहन थालेँ । दुःखको कामका बेला पनि किसानहरु गाउने नाँच्ने गर्थे । उनीहरुका गीत पनि, लय पनि गजव गजवका थिए । नाच पनि विशेष खालका, कथा भएका लागे । नाचको पन पनि आफ्नै खालको पाएँ । त्यसबेलाको खेत खेत मात्र थिएन, नेपालको सांस्कृतिक आत्मा बोल्ने थलो पनि थियो । हिन्दीकै लयमा गीत लेख्ने मलाई हाम्रो खेतमा गुञ्जिने धुनले झल्याँस्स पा¥यो । गीतको लय राम्रो, नाच सुन्दर । यी सबै कुरा मैले खेतबाटै अनुभव गरेँ । त्यसपछि मलाई थाहा भयो हाम्रो सांस्कृतिक सम्बृद्धि आफ्नै रहेछ । हामीले त आफूलाई चिन्न नसकेका मात्र रहेछौँ । हामी आफूलाई चिन्न नसकेर मात्रै गरिव भएका रहेछौँ । हामीले आफ्नोपन थाहा नपाउँदा मात्र हिन्दुस्तानको जुठोपुरो चाटेका रहेछौँ । आफ्ना मौलिक लोकलय थाहा पाए पछि मैले त्यही लोकलयहरुमा गीत लेख्न पुगेँ । नभन्दै, त्यसताकाका मेरा अधिकांश गीत लोकले प्रेम पूर्वक अङ्गिकार ग¥यो ।

वासुदेवः नाटकमा चाहिँ कसरी लाग्नु भयो नि ?
दुुर्गालालः मैले अघि पनि भनेँ म यस क्षेत्रमा २००४ सालदेखि लागेको हुँ । न्हैकन्तला नजिकको बाङ्गेमूढामा २००४ सालमा नेपालमै पहिलो पटक बाल नाटक मञ्चनको तयारी भइ रहेको थियो, त्यसमा मेरो आफ्नै दौँतरीहरु सामेल थिए । त्यो कुरा हामीलाई पनि थाहा भयो । हामी सधैँजसो साँझपख रहरले पनि त्यो रिहर्सल हेर्न जान्थ्यौँ । दुई चार दिन हेर्न गइयो । हेर्न जाँदा छिँडीबाट पसेर माथिको दलानमा जानु पथ्र्यो । एक दिन हामी हेर्न जाँदा त छिँडी खुल्ला भए पनि दलानको ढोका बन्द थियोे । मैले भित्रबाट छमछम आवाज आइ रहेको सुनेँ । मैले ढोका ढकढक्याएँ तर जवाफ नास्ती । मैले आफूलाई संवरण गर्न सकिन । आग्लो उघार्ने प्वालमै आँखा बिसाउन पुगेँ । एक्कासी भित्रबाट चोर औँलोले मेरो आँखैमा घोच्यो । म तिल्मिलाएँ, रन्थनिएँ । साथीहरुको, नचिताएको त्यस व्यवहारले सबैको छातीमा बज्रपात ग¥यो । घोचेको मलाई, मेरो आँखामा तर घाउ भयो सबैको छातीमा । एउटा नाटक खेलि टोपल्ने हुँदैमा हामीलाई गन्ती नै नगर्ने ती साथीहरुको अहम्पनाले हाम्रो अभिमानलाई जगाइ दियो । उनीहरु नाटक गर्न सक्छन् त हामी पनि किन नसक्ने ? त्यहीँ, हामीले पनि आफैँ नाटक तयार गरी मञ्चन गर्ने अठोट ग¥यौँ । ज्ञान र ढङ्ग नभए पनि हामीमा नाटक गरेरै छाड्ने भावना पलायो । उनीहरुको नाटक दन्त्य कथामा आधारित सत्तलसिँह थियो । त्यतिबेला आफूलाई दन्त्यकथा, रामायण, महाभारत वा अरु पौराणिक कथा सथा केही पनि आउँदैनथ्यो । तथापि नाटक लेख्ने जिम्मा मेरै थाप्लामा आइप¥यो । आश्चर्य ! अपमानलाई संयमित भएर पाल्दाखेरि त्यो बरदान सावित हुँदो रहेछ । जसोतसो नाटक लेखियो । साथीहरुमा उपेक्षित हुँदाको घाउ त छँदै थियो । तसर्थ नाटकको निमित्त नजानिँदो ढङ्गले नै हामी गम्भिर भयौँ । हाम्रो लगनशीलताबाट टोलका अग्रजहरुको ध्यान पनि तानियो । उनीहरुले पनि प्रभावित भएर सक्दो सहयोग गर्दा हामी नाटक मञ्चन गर्न सक्षम भयौँ ।

वासुदेवः पहिलो नाटक नै सफलता साथ मञ्चन भएछ त !
दुुर्गालालः भयो । नाटकका लागि सबैले सघाए । आवश्यक सामग्री जुट्यो । कलाकार पनि जुटे । हरेक कुरामा सजिलो भयो । त्यतिबेला आइमाइ पनि लोग्नेमान्छे नै हुनु पथ्र्यो । त्यसका लागि ‘बाल’ लगायतका कुरा जोहो गर्नु पथ्र्यो । नाटकको प्रदर्शनले दर्शकको मन छोयो । त्यो नाटक उपत्यकाका विभिन्न स्थानमा पनि मञ्चन भएको थियो । त्यसपछि म लगातार गाइजात्रे डवलीसँग टाँसिएँ । आफ्नो मात्र होइन अरु अरुको नाटकमा पनि म सघाउन पुग्थेँ । परिवार आर्थिक रुपले विपन्न हुँदा हुँदै पनि सांस्कृतिक माहौलको मोहनीले मैले आफूलाई त्यतिखेर ‘गाइजात्रे राजा’को रुपमै पाएँ ।

वासुदेवः कविता लेखनको बारेमा केही बताइदिनु होस् न !
दुुर्गालालः पहिला मलाई लेख्न आउँदैनथ्यो । कविता लेख्दिनथेँ । साँच्चै, लेख्नै आउँदैनथ्यो । पछि कविता पनि लेख्न थालेँ । अरु जस्तो म भावमा मात्र लेख्न सक्दिन । गुन्गुनाएर लेख्नु पर्छ । लेख्न लय नै चाहिन्छ मलाई । पद्यको तुलनामा गद्य कविता नगण्य नै छन् । म भावलाई मात्र एकोहोरो प्रकट गर्न सक्दिन । मेरो कविता पनि लयात्मक हुन्छ । कविता लयसँगै निस्किन्छ । पहिले हिन्दीसँग लय सिकियो । कारण, मेरो अध्ययनको थलो भन्नु नै त्यसताका पुस्तकालय थियो । त्यहीँ मैले हिन्दीका कालजयी कवि मैथिली शरण गुप्ता, जय शङ्कर प्रसाद, सुमित्रानन्दन पन्त दिनकर, हरिबंश राय बच्चन आदि कविहरु रसपान गर्न पाएँ । कहिलेकाहीँ नेपाल भारत सांस्कृतिक केन्द्रमै ‘बच्चन’को कविता पनि सुन्न पाएको थिएँ । अन्य पनि जति हिन्दी कविका कविता सुन्थेँ, उनीहरु कण्ठस्थ कविता वाचन गर्थे । त्यो वाचन सस्वर हुन्थ्यो । त्यसबाट म प्रभावित भएँ । मेरो कविता लयबद्ध हुनुको कारण त्यसैको सिको थियो । अनि म पनि त्यही बाटोबाट लहसिँदै कविता लेखनतिर लागेँ । किसानसँग सङ्गत गर्दा उनीहरुको लयात्मक सर्वश्व थाहा भयो । त्यसक्रममा अनेकौँ ऋतुगीत, लय आदि चाल पाइयो । हामीसँग अनेक लय मात्र होइन अनेकौँ गीत तथा तुक्का छन् । विश्वका सङ्गीत मर्मज्ञहरुले हाम्रा यिनै गीतको प्रशंसा मुक्त कण्ठले गरेका छन् । तर दुःखको कुरा, परदेशमा हामी परिचित छौँ, स्वदेशमै अलपत्र ।
जिन्दगीमा एउटै मात्र काम गरियोः अध्यापन । कन्या मन्दिरमा मात्रै २३ वर्षसम्म अध्यापनको बहानामा विद्यार्थीहरुसँग घुलमिल हुन पाएँ । पढाउँदा सानो कक्षामा नै पढाइयो । स्कुलमा विषयगत पढाइ पछि म केही मिनेट जोगाउँथेँ । कारण, विद्यार्थीहरुले मनोरञ्जन पाउन् । उनीहरु मसँग कविता गीतको अफर गर्थे । म उनीहरुको रुचि अनुसार एक छिन घुर्थेँ । त्यसपछि कालो पाटीमा मेरा सुन्दर अक्षरहरु गीत कविता भएर प्रकट हुन्थे । म गाउँथेँ, विद्यार्थीहरु पछ्याउँथे । वातावरण मनमोहक हुन्थ्यो । उहिलेका विद्यार्थीहरुलाई कुन गीत कुन बेला गाइन्छ भन्ने थाहा थियो । आजको जस्तो, घोडे जात्रामा दसैँको गीत गाइदैनथ्यो ।

वासुदेवः खासमा कविता लेख्ने पे्रेरणा कसरी मिल्यो ?
दुुर्गालालः यसरी नै लेखेँ भन्ने त केही छैन । बिस्तारै लेख्दै गएँ । साथीहरुले पहिला पहिला हस्तलिखित पत्रपत्रिका निकाल्थे । त्यसउसले नेपाल भाषामा मात्र होइन नेपालीमा पनि म कनिकुथी गर्थेँ । यदाकदा मेरा दुबै भाषाका कविताहरु त्यसबेलाका ती हस्तलिखित पत्रिकाहरुमा प्रकाशित हुन्थे । । एउटा कुरा, कविता लेखनको विधि अरुको भन्दा मेरो भिन्दै छ । म भाव जाग्दैमा कविता लेख्न सक्दिन ।

वासुदेवः यहाँको त वाचन पनि विशिष्ट खालको छ । त्यसको बारेमा केही बताइ दिनु हुन्छ कि ?
दुुर्गालालः साथीहरु मलाई तिम्रो कविता वाचन अरुको भन्दा फरक छ भन्छन् । मैले माथि नै भनिसकेँ, म हिन्दीबाट प्रभावित छु । वाचनमा पनि म उनीहरुको प्रभाव परेको कुरा नकार्दिन । वाचन अनुकरण गर्दा हृदयको भाव जसरी मिसाउनु पर्ने हो, त्यो नहुने महसूस मलाई हुँदै आयो । तसर्थ मैले आफ्नो कविता वाचन गर्दा त्यसमा हृदयको आवाज हुनु पर्छ भन्ने बोध गरेँ ।

वासुदेवः भावमा भाषा हुन्छ ? के त्यो मातृभाषामै जन्मिन्छ ?
दुुर्गालालः भाव भनेकै भाषा जन्माउने स्रोत हो जस्तो हो कि जस्तो पनि मलाई लाग्छ । भाव पहिले यहाँ(मस्तिष्कमा) पलाउँछ । त्यो कसरी अभिव्यक्त हुन्छ त ? त्यसले एउटा आकार त लिनै प¥यो, रुप लिनै प¥यो । रुप भनेकै भाषा हो, त्यो अक्सर मातृभाषामै पलाउँछ । हुनत म नेपालीमा पनि लेख्छु, तर भावले अन्जानमै आफ्नै भाषामा गर्भ लिइ रहेको हुन्छ । अहिले त म नेपालीको रुपबाट
निकाल्न सक्छु, पहिला म नेपालीमा सोचेर लेख्न सक्दिनथेँ । त्यो बाटो कस्तो छ ? बत्ती बालेर खोज्नु पर्छ जस्तो लाग्थ्यो । अतः भाव मातृभाषामै गर्भ बसेको हुन्छ ।

वासुदेवः तपाइँलाई अरु भाषामा अभिव्यक्त हुन अलमल हुँदैन ?
दुुर्गालालः हुन्थ्यो । म मातृभाषामै डुबेर हुर्किएको कारणले त्यसते भएको हो । यस्तो हुनु मेरो सङ्कुचन होइन, बरु हो प्राकृतिक ।

वासुदेवः यहाँको त अनुवादक व्यक्तित्व पनि चहकिलो छ । यहाँको अनुभवमा अनुवादमा मौलिक कृतिलाई न्याय हुन सक्छ ?
दुुर्गालालः नेपालीबाट नेपाल भाषा तथा नेपाल भाषाबाट नेपालीमा अनुवाद गर्ने मूल व्यक्ति म हैन । मलाई यस्ता काममा प्रेरित गर्ने शान्तदासजी हो । त्यही त, मेरो पनि संगत शान्तदासजीसँग भयो । बाल साहित्यमा उहाँलाई हामीले मान्नु पर्छ । उहाँकै अनुरोधको कारण मैले पनि बाल साहित्यको अनुवाद गरेँ । नेपालीमा पनि नेपाल भाषामा पनि । उहाँले नै मलाई रुसी, चिनियाँ लगायतका सामग्री अङ्ग्रेजीमा जुटाइ दिनु भएको हो । मैले असजिला होइन सजिलो खालको किताब अनुवाद गरेको छु । त्यसमा शब्दानुवाद भन्दा पनि भावानुवाद वा छायानुवाद भएको छ । यसरी कृतिहरु अनुवाद गर्दा अनुवाद त लेखकको लागि चाहिने कुरा रहेछ भन्ने कुरा मैले पनि बुझेँ । त्यसले आफूलाई अर्काको संसार हेर्न, विचरण गर्न र आफूलाई फराकिलो पार्न मद्दत पुगेको मससूस गरेको छु । राम्रा कृतिलाई आफ्नो भाषामा ल्याउँदा नौलो फूल फुलाएको हुँ कि जस्तो सन्तुष्टि पनि मिलेको छ ।

वासुदेवः अनुवादबारे कुरा लम्ब्याउँ । अनुवादमा समय दिँदा यहाँ जस्तो नियमित लेखकलाई समयका हिसाबले आफ्नो निजी लेखनमा घाटा भएको जस्तो लाग्दैन ?
दुुर्गालालः अनुवाद गर्नु पनि लेख्नु हो । त्यसलाई म असिर्जनशील काम कहिल्यै ठन्दिन । त्यसमा त म आफूले लेख्नु भन्दा पनि बढी दायित्वबोध गर्नु पर्ने खण्ड देख्दछु । म आफ्नै मौलिक र सिर्जनात्मक काममा लेखक स्वच्छन्द चल्न सक्छ जहाँ पनि उड्न सक्छ । तर एउटा अर्कै लेखकको कृतिमा डुबी अनुवाद गर्दा त दायाँवायाँ गर्ने छुट पाइदैन । अर्काको आकाशको उच्चता कति छ, म बेसी उडेँ भने ठोक्किने हो कि ? भनेर सतर्कता भइरहन्छ । त्यसो गर्न म पाउँदिन । अनुवाद गर्दाखेरि उसैको उचाइ हेरिकन मात्र पखेटा चाल्न जान्नु पर्छ । म आफ्नो कृतिमा जस्तो स्वच्छन्द उड्न थालेँ भने कार्य सकिए पनि अनुवाद पूर्ण भएको हुँदैन । अनुवादमा लाग्नु नै अनुशासनको निम्ति गम्भिर हुनु हो । यति नहुञ्जेल हामी अनुवादको आत्मा छुन सक्दैनौँ ।

वासुदेवः कविता अनुवाद हुन सक्छ ? हालै मात्र शब्द–संयोजनको अन्तवार्तामा स्कटेली कवि टम लियोनार्डले त कविता ठ्याक्कै अनुवाद हुन सक्दैन भनेका छन् नि ?
दुुर्गालालः कविता अनुवाद हुन सक्छ । अनुवाद गर्न गाह्रो भए नगर्ने नि ! म आफ्नो मनले छोएको तथा हृदयले चाहेको कृति मात्र अनुवादको निम्ति छान्छु । म आत्म निर्देशित कृति मात्र अनुवाद गर्छु । एक पटक मलाई हरिवंश राय ‘बच्चन’को चर्चित कृति मधुशालाले छोयो र मैले त्यसलाई नेपाल भाषामा अनुवाद गरेँ । त्यस कृतिमा ‘बच्चन’ले रक्सीको विषयको रुवाइ मार्फत् जीवन अभिव्यक्त गरेका छन् । त्यो पढ्दा म अचम्मित पनि भएको थिएँ । उनी कत्तिको रक्स्याहा वा क्रान्तिकारी हुन् मलाई थाहा छैन । बरु यत्ति थाहा छ, उनको संस्कारमा रक्सी छुनै हुँदैन । हामी त रक्सीको संस्कारमा हुर्किएका जाति । त्यस कवितामा हार्दिकता नभएको भए रक्सीले मात्र कहाँ छुन्छ र ? कवितामा लागूपन भनेको नै हार्दिकता हो । रक्सीमा मादकता हुनु पर्छ, कविताको रक्सीमा मादकता भनेकै हार्दिकता हो । त्यो हुनै पर्छ । त्यसलाई अनेक हिसाबले बुझ्न सकुञ्जेल र त्यसलाई म यतिसम्म चल्न र जान सक्छु भनेर ठम्याई अनुवाद गर्न सकेको खण्डमा अनुवाद मौलिक कृति भन्दा पनि राम्रो हुन सक्छ । मैले त्यसलाई मिहिनेत गरेर अनुवाद गरेँ । सिद्धिचरण श्रेष्ठको चर्चित कृति उर्वशीको मेरो नेपाल भाषा अनुवाद मौलिक कृति सरह नै पाठकको प्रिय भएको मैले पाएको छु । अनुवाद गर्दा म इमान्दार हुन कोसिस गर्छु । जानाजान बेइमानी कदापि गर्दिन । यो साहित्यिक धर्ममा म बद्ध छु ।

वासुदेवः त्यसो भए अनुवादमा रमाउनु हुँदो रहेछ त !
दुुर्गालालः म अनुवादमा रमिन्छु मात्र होइन मलाई अनुवादले रमाउँछ । अनुवाद गर्दा म कृतिको मर्म छुन खोज्छु । म अनुशासन बुझ्छु । प्रसिद्ध बङ्गाली विद्रोही कवि काजी नजरुल इस्लामको गीति सँगालो नजरुल यस्लामिया छपासः टोयोटा फउण्डेसनको सहयोगमा च्वसापासाबाट अनुवाद गरेको छु । नेपालीमा त्यसको अर्थ होः एक अञ्जुली गीत । त्यसैले मेरो अनुवाद हेर्दै माधवलाल कर्माचार्य हाँस्नु भएको थियो । उहाँले सम्पादनको क्रममा मेरो कयौँ गल्ती औँल्याई सुधार्न लगाउनु भयो । त्यसमा भजन, देशभक्ति तथा प्रेम सबै कुरा अटेको छ । किताबमा ३५ वटा जति गीत छन् ।

वासुदेवः यहाँलाई कविता कतिखेर फुर्छ ? कतिखेर लेख्न मन लाग्छ ?
दुुर्गालालः धेरैजसो बिहानको, बिहानीको सङ्केत दिने हावाको बहावले छुँदाखेरि मलाई कविताले बोलाएको जस्तो हुन्छ । त्यतिबेला म यथार्थसँग त्यसै त्यसै अलग्गिन पुग्छु । तर कविता लेख्नको लागि यही समय उपयुक्त छ भन्ने कुरा चाहिँ हैन । कविता त कुनै पनि बेला फुर्न सक्छ ।

वासुदेवः रातरातभर त लेख्नु हुन्न ?
दुुर्गालालः पहिला सायद लेखिन्थ्यो । हुन त कसले त्यसरी लेखेको होला र ? खासमा त्यसरी कविता लेख्नु पर्छ जस्तो पनि लाग्दैन । जति लेखेको हो त्यसमा कविताको धेरै अंश कविता परेको भए हुन्छ । मैले सङगत गरेकोमा सिद्धिचरण कविता भएरै कवि बनेका हुन् कि जस्तो लाग्थ्यो । उहाँको प्रारम्भिक कविता, स्वच्छन्दतावादी, वार्णिक, मात्रिक, गद्य, निबन्ध, कथा, समालोचना सबैमा केही न केही मिठास र काव्यिकता हुन्थ्यो । उहाँको त लेख्दा भाषा पनि शुद्ध हुने, बुझिने खालको पनि । त्यसमा कविताको तत्व पनि हुने । उहाँको लेखनमा पराग मिसिएको जस्तो लाग्थ्यो । थुप्रो लेख्नेमा त मैले सङ्गत नपाए पनि देवकोटा नै हो । उहाँको लेखन निर्बाध प्रवाहित झरना हो । लेखनमा मात्र होइन उहाँको व्यवहारमा समेत हार्दिकता भएको सुन्छु ।

वासुदेवः प्रारम्भमा तपाइँको लेखनको विषय के थियो ?
दुुर्गालालः म धर्ममा त्यति लागिन । प्रेम भन्ने कुरा गरिन्छ कि गरिदैन त्यो पनि थाहा छैन । आफूमा किशोरपन प्रवेश गरेपछि आँखा पनि बेग्लै हुँदो रहेछ । कसैले हेर्दा त्यो हेराइमा ‘यो छ’ भनेर बुझ्न कोशिश पनि गरिँदो रहेछ । तरुनो उमेरमा, त्यो पनि विपरित लिङ्गमा ‘त्यो’ हुँदो रहेछ । त्यो बेला फुर्ने भाव पे्रमकै हुँदो रहेछ । कसैमाथि मेरो मन बस्नु नै प्रेम हुनु हो । त्यो प्रेम मेरो जितौरी हो । त्यतिबेला जित्न पाए पुग्छ । म भन्दिन प्रेम दोहोरो नै हुनु पर्छ । यस प्रकार प्रेममा म साँच्चै आकृष्ट भएँ तर त्यसमा कहिल्यै पनि निहित स्वार्थ मिसाइन । आफ आफैँ आकर्षित भएँ, आफ आफैँ पुलकित भएँ । अनि त्यही विषयमा लेखेँ । त्यसैले लेख्न आकर्षित ग¥यो । मेरो प्रेममा महिलामाथिको शोषण रत्तिभर छैन ।

वासुदेवः कत्तिको अध्ययन गर्नु हुन्छ ?
दुुर्गालालः अध्ययनको कुरोमा म पछि नै छु । अरुसँग समुद्र भए मसँग कुवा मात्र छ । आर्थिक रुपमा अलि निम्सरो भएर पनि होला, म किताबको किरा हुन सकिन । अर्थात् म किताबको आकर्षणबाट त्यति तानिइन । यो पनि म भन्दिन, म जस्तै अरु पनि होउन् ।

वासुदेवः महाकाव्यमा हात हाल्नु भएन ? खण्डकाव्य त धेरै नै लेखिसक्नुु भयो त !
दुुर्गालालः महाकाव्य लेख्दा महाकवि होइन्छ भन्ने भ्रम मसँग पनि नभएको होइन । तैपनि, यस्तो लाग्छः कवि नै आफू हो कि होइन ? किन महाकवि बन्नू ? जे होस्, लेख्नु पर्छ, लेखनमा जीवन व्यक्त हुनु पर्छ । यति कुरा सख्त भएर लिन सकूँः मलाई पुग्छ ।
खण्डकाव्य चाहिँ लेखेको छु । हुन त खण्डकाव्य पनि योजना बनाएर लेखेको होइन, लेख्दा लेख्दै हुन गयो, लेख्दा लेख्दै बन्न गयो । १० वटा जति खण्डकाव्य लेखियो । मानूँ कि, आकस्मिक संयोग हो । लेखन तन्किदै खण्डकाव्य हुन पुग्छ । यो कुरा म पछि मात्र थाहा पाउँछु । अस्ति भर्खरै मात्र पनि त्यस्तै भयो । नेपाल भाषाको खण्डकाव्य । २० दिन पहिलेको कुरा हो । अमेरिकाको विषयमा एउटा सानो खण्डकाव्य लेखे । पहिला ३ श्लोक लेखेँ । लेख्दा लेख्दै ७ दिन पछि त खण्डकाव्य भयो । त्यसको शीर्षक होः धू मदु फय् या दे ।

वासुदेवः यहाँको कविताको लयमा त्यत्ति विविधता छैन नि ?
दुुर्गालालः लेख्न त धेरै लयमा लेखियो । यति धेरै लेखियो कि अरु कविले सायदै लेखे होलान् । मात्र यति हो, यो कुरा तपाइँलाई थाहा भएन । न्ह्यू बज्राचार्यसँग मात्रै भिन्न भिन्न लयमा लेखिएका मेरा करिवन ६०० बढी गीत छन् । त्यसमध्ये २५० भन्दा बढी प्रकाशित भइ सकेका छन् । न्ह्यू बज्राचायको धुनको साथ नपाएको भए यो सम्भव हुने थिएन । अहिले त सङ्गीतकारहरु मलाई सङ्गीतको धुन सुनाउँछन् । त्यही धुनमा मिल्ने गीत लेख्नु पर्छ । अचेलको त छन्द नै बेग्लै । पहिला जस्तो होइन । पहिला त आँखा चिम्लिेर पनि लयमा गीत लेख्न सकिन्थ्यो, अचेल त आँखा खोलेर पनि हिँड्न गाह्रो । तर पनि उनीहरुको धुन सुनेर गीत लेखि रहेको छु । त्यो काम अलि गाह्रो चाहिँ छ । तर बिडम्बनाको कुरा, आफ्नो गीतको एउटै कृति बजारमा छैन । त्यै भएर होला म अहिले पनि गीतकारको रुपमा दरिएको छैन ।

वासुदेवः लेखनको उपयोगिता के हो जस्तो लाग्छ ?
दुुर्गालालः लेखक समाजप्रति निष्ठावान् हुनु पर्छ । कोही समाज बनाउँछु नै भनेर लेख्ने पनि होलान् मेरो ध्येय त्यति दरो छैन । यत्ति हो कि, समाज नबिग्रियोस् । मेरो लेखाइबाट समाज बन्दैछ भन्ने मलाई पटक्कै अभिमान छैन । हेर्नोस् न, तपाइँ र मेरो भेट भयो । स्वभावमा तपाइँ आगो, म पानी । होस् न त के भो ? भेट्दा मुसुक्क हाँसियो, भलाकुसारी गरियो । सकियो । यसले कसको के बिगार गर्छ त ? यही हो सकारात्मक सोचाइ ।

वासुदेवः यतिखेर के चिन्तनामा डुबि रहनु भएको छ ?
दुुर्गालालः म अनाहकमै साँघुरिन्छु । खुम्चिनु हुन्न त भन्छु तर व्यवहारमा खुम्चिराखेको हुन्छु । अनित्यको अस्तित्व थाहा छ । मेरो आफ्ना भन्ने चीज पनि कसको न कसको भएर बिस्तारै खुइलिँदै गइ रहेका छन् । त्यसमा म आफैँ पनि सामेल छु । मेरो यो हातमा त्यो हात छैन जुन हातबाट हिजो मैले संसारको प्रशंसा पाउँथेँ । त्यतिबेला यो हातले कविता हैन, हस्ताक्षरै सुन्दर, यति सुन्दर कि सुन्दरता नै मेरो परिचायक थियो । सुन्दरता बोकि रहेको त्यो हात यो हातबाट हरायो, खुइलियो, अहिले छैन । अब मैले यो हात देखेर यसलाई हप्काउन मिल्यो ? अथवा हात गयो भनेर रुन भयो ? मैले हतासिन मिल्यो ? बरु मैले “ए हात, तिमीले मलाई गर्नुसम्म ग¥यौ, सकुञ्जेल गुन लगायौ, म तिमीप्रति अनुगृहित छु” भनेर भन्न सक्थेँ नि । सधैँभरि हातलाई त्यही रुपमा पाइराखुँ भन्ने धारणा नै अपरिपक्व हो नि । त्यो अपरिपक्ककता मैले बोक्नु हुँदैन । त्यो बोकुञ्जेल म दुःखी हुन्छु । थाहा छ, तर म ‘म’ैमा छैन कि जस्तो लाग्छ । हात हराउनु ठुलो कुरा होइन । अहिलेसम्म पनि मैले ‘मलाई’ पाउन सकेको छैन । जब कि हराउनै लागेको छ । हराउनै लाग्दा त पाउनु पथ्र्यो नि । शून्य हुनु भनेको पूर्ण हुनु हो । त्यो शुन्यता जसमा पूर्णता छ, त्यसलाई मैले छुनै पाएको छैन ।

वासुदेवः कविको कल्पनाशीलतालाई जगाउन भ्रमण आवश्यक छ भनिन्छ । यहाँ कत्तिको भ्रमण गर्नु हुन्छ ?
दुुर्गालालः कल्पनाशीलता व्यापक बनाउन विशाल आकाशको उडान चाहिन्छ । यो कुरा पनि हो जस्तो नलाग्न थाल्यो । जवकि कुनै आकाशको खण्ड म देख्दिन जहाँ बारुदको गन्ध ाहोस् । त्यस्तै हो विभिन्न ठाउँको भ्रमण पनि । कुन गोलाद्र्ध छ त्यस्तो जहाँ पुग्दा मनले फरक ठाउँमा पुगेछु भन्ने अनुभव गरोस् । तसर्थ आफैँभित्र विचरण गर्नु, जति सक्यो उति गहनता छुनु नै कविको सम्यक भ्रमण हो ।

वासुदेवः असी वर्ष नजिक हुनु भएको छ । बढ्दो उमेरले लेखनमा कत्तिको बाधा गर्छ ?
दुुर्गालालः कम चाहिँ अवश्य लेख्छु । कम लेख्नु भनेको कम सिर्जना गर्नु होइन । पहिला धेरै लेख्थेँ । त्यो बेला लेख्नु मात्र धेरै हो सिर्जना खोजेको खण्डमा सायद कमै होला कि ? अहिले लेखन कम छ तर त्यसमा सिर्जना मुस्कुराइ रहेको म पाउँछु ।

वासुदेवः पाको उमेरमा नि बाल साहित्य साधना लागि रहनु भएको छ । बाल साहित्य लेखनमा बाल मनोविज्ञान चाल पाउन कत्तिको आत्म सङ्घर्ष गर्नु पर्छ ?
दुुर्गालालः मैले आफैँ गर्छु भनेर गरेको काम केही छ जस्तो लाग्दैन । लेखन मेरा लागि परिस्थितिले अह्राएको काम हो । म आर्थिक विपन्नताको अवस्थाबाट गुज्रिएको व्यक्ति हुँ । स्कुलमा मास्टरी पनि गरेँ । आफ्नै टोलमा पनि स्कुल खोलियो । बाल केतन नामको । त्यसमा ३–४ वर्ष काम गरेँ । त्यसपछि डा. कमल प्रकाश मल्लको सहयोगमा कन्या मन्दिर स्कुलमा अध्यापकको रुपमा घुस्न पाएँ । कन्या मन्दिरमा २३ वर्ष म बच्चाहरुसँगै रहन पाएँ । बाल सुलभतासँग नजिकिनु साँचैको स्वर्ग छुनु हो । मैले कन्या मन्दिरमै त्यो स्वर्ग छुन पाएँ । अहिले पनि जब म इमान्दार भएर बाल रचनाको निमित्त साधनारत हुन्छु, मलाई लाग्छ– म बच्चा नै हुन्छु ।

वासुदेवः लेखिएका रचना कत्तिको परिमार्जन गर्नु हुन्छ ?
दुुर्गालालः परिमार्जन कुनै कुनैमा गरिन्छ । खासै गर्दिन । कुनै कुनै त एक पल्ट लेख्नासाथ साथीहरुले लैजान्छन् । पछि छापेर आउँदा त अशुद्धि फेला पर्छ । किन त्यसो भयो भनेर हेर्दा त आफ्नै लेखोट अशुद्ध ।

वासुदेवः आफ्नो साधनाको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?
दुुर्गालालः मसँग नपुग धेरै छ जस्तो अनुभव गर्छु । तर सत्यसँग नजिकिन कसैले पनि छेकि राखेको छैन । केही पनि व्यवधान छ त म आफैँ छु जस्तो लाग्छ । त्यहाँ पुग्न मलाई छेक्ने ‘मै’ रहेछु जस्तो नि । आत्मकेन्द्रित हुँदा सत्यसामु नपुगिने रहेछ । अरुको प्रशंसा पाउने लोभमा गरेको काममा मैलो पनि मिसिएको जस्तो हुन्छ । त्यो ‘हुन्छ’ भन्ने थाहा त छ तर ‘म’ कस्तो दाग रहेछ ? जति पुछ्यो उति कालो, गोल जस्तो ।

वासुदेवः रचना सुन्दर बनाउन कला चाहिने, अरुलाई सम्बोधन गर्न समाज शास्त्र चाहिने । त्यसलाई घोलेर कसरी उत्कृष्ट बनाउने ?
दुुर्गालालः सुन्दरताको कुरा गर्दा हिजो मात्रै गोरखापत्रमा सुन्दर नामक कविता निस्केको छ । उत्कृष्ट भन्ने शब्दको मोह त मलाई छैन । लेखेपछि अरुले बुझ्ने खालको, बुझ्ने मात्र होइन लिने खालको होस् भन्ने चाहिँ जो कोहीसित पनि हुन्छ । त्यसको निम्ति चाँजो मिलाउने काममा म ध्यान दिन्छु । सरल मात्र होइन सरसता घुसाउन म कवितासँग आफैँ घुल्न चाहन्छु । खासमा त लेख्नु पनि मगन्तेको भाँडो जस्तै रहेछ । जति राखे पनि नभरिने । जति लेखे पनि लेखुँ लेखुँ लागि रहने । मगन्तेको भाँडो त्यही हुन्छ नि, जति मागे पनि नभरिने । कहिले काहीँ यसबाट अलग्गिन पनि मन लाग्छ । केही चीजको पनि आग्रह मनमा नआइदिए हुन्थ्यो जस्तो लाग्छ । त्यसको निम्ति कुन साधना अपनाउनु पर्ला ? म त्यसको चिन्तनामा छु ।

वासुदेवः यहाँ ‘फूलको आँखामा फूलै संसार’ जस्ता रचना ओजस्वी रचनाको लेखक हुनु हुन्छ । ओजस्वी रचनाको विशेषताबारे केही भनिदिनु हुन्छ कि ?
दुुर्गालालः ओजस्वी भनेको पनि उत्कृष्टताकै पर्याय हो । बुद्धि, तर्क र विचारको त आफ्नै ठाउँ छ तर त्यसलाई मात्र साथी बनाइकन साहित्यको घरमा पुगिदैन । त्यसको निम्ति आफैँलाई हराएर जो त्यसको निमित्त लाग्न प्रयत्नशील हुन्छ त्यो व्यक्ति नै साहित्यको मन्दिरमा पुग्छ । उसले नै साँच्चिकैको प्रसाद पनि पाउँछ । उसैबाट सिर्जित साहित्य नै ओजपूर्ण पनि हुन्छ ।

वासुदेवः पुरस्कार कत्तिको पाउनु भएको छ ?
दुुर्गालालः पाएकै छु, धेरै नै पाएको छु । यसैले गर्दा म लोभी पनि भएको छु– अर्को कहिले पाउँला भनेर ।

वासुदेवः यहाँको कृतिमा भए गरेको शोधबारे केही जानकारी छ ?
दुुर्गालालः मलाई थाहा भएको जम्माजम्मी ३ जना हो– माधवलाल प्राधन, आर मानन्धर र बुद्धिमान कार्की । अरु मेरो खवरमा छैन ।

वासुदेवः समकालीन परिवर्तनलाई कसरी हेर्नु भएको छ ?
दुुर्गालालः अहिले अलि बुढो भएको जस्तो लाग्छ । जे कुरामा अलि गहिरिन्छु । अहिलेको राजनीतिक परिवर्तनको कुरा गरुँ न । राजनीति पानी त हो तर यसले प्यास मेटिँदो रहेनछ । राजनीतिमा कति सरकार फेरिएको ? हामीले राजा, राणा, जनसरकार सबैलाई देख्यौँ । अहिलेको गणतन्त्र पनि देखियो । धेरै चीजको नाम फेरियो, चरित्र फेरिएको देखिएन । जति विचार गर्दा पनि राजनीतिक परिवर्तनले हाम्रो स्वप्न युग वा जन युग आएको देखिएन । यति मात्र होइन, जनयुगका संवाहकहरुको अकर्ममण्यताबाट विगत पनि अप्राकृतिक खोलाजस्तो फर्की आएको देख्नु परि रहेको छ । म त ज्यादै शोषितको छोरो । बाबु पनि राम्रो काम गरिकन मर्न पाउनु भएन । यो सामन्ती संस्कारकै कारणले गर्दा जो समाज विरोधी छन्, उनीहरु सम्मानित छन् र जो समाजको निमित्त मरि मेट्छन् उनीहरु ज्यादै पिल्सिएका छन् । तसर्थ यो कुनै परिवर्तन पनि परिवर्तन नै हैन । हुनु पर्ने परिवर्तन मानसिकता हो, त्यो मूर्छित अवस्थामा छ । ‘फूलको आँखामा फूलै संसार’ फूल मात्र भएर पुग्दैन जबसम्म फूललाई हेर्दै काँडा पनि फूल बन्दैन ।
सुन्दर कविता
सुन्दर कविता त्यस्तो हो, जुन
लेख्छु भनेरै लेखिन्न
हो जीवन पनि त्यस्तो हो, जुन
भेट्छु भनेरै भेटिन्न

मन त कुवा हो निस्किन्छ, जहाँ
भाभल इच्छाको पानी
सम्म परे पनि सागर आफैँ
हो बडवानलको खानी

यो क्षण कमल छ मेरो सामु
देख्छु हिलोमा टेकेको
लाग्छ, उसैले हो जीवनमा
सुन्दर कविता लेखेको
(गोरखापत्रमा प्रकाशित)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 चैत्र, 2070

लेखकका अन्य रचनाहरु