र...भागेर भूगोलभरि

- सौरभ कार्की

झापा बाट काठमान्डौ जानुपर्ने । प्लेनमा जाँदा ४५ मिनेटको यात्रा । उसो त म आफू पनि प्लेनकै कर्मचारी तर खै के सुर चलेर हो कुन्नि मलाई बसमा काठमान्डौको लामो यात्रा गर्न मन लाग्यो । म बसमा चढेको केही क्षणमै पहेलो कुर्ता लगाएकी युवती मेरो छेउमा आएर झ्यालपट्टिको सिटलाई औल्याउदै भनी, “दाई तपाईको सिट छेउपट्टि होला । झ्यालछेउको सिट भनेर टिकट काटेकी मैले ।” आवाज सुरिलो थियो । म चुपचाप सरिदिए ।

झ्यालपट्टि बस्नेबित्तिकै उसले आफ्नो कानमा ईयरफोन कोचेर झ्यालबाहिर अनन्तसम्म नियाल्न थाली । यता गाडीले बिस्तारै आफ्नो गति लिन थाल्यो, उता मेरो छेउमा बसेकी पहेलो कुर्ता लगाउने केटीको कपाल मेरो आँखाछेउ आएर कबड्डी खेल्न लाग्यो । कहिले मेरा ओठका रेशाहरुलाई छोएर त कहिले मेरा गालाहरुलाई चुम्दै भित्रैबाट मिठो काउकुती लागेर फर्किन्थ्यो ती कपालहरु । बिस्तारै मुटुमा करेन्ट सल्बल्लियो । म चुपचाप स्पर्शमा झुमिरहे । उसले झ्याल बन्द गरिदिई ।

अगिसम्म मैले राम्रो याद नगरेकी केटी अब बिस्तारै याद हुन थाली । यादमात्रै हैन, सारै राम्री लाग्न थाली । मैले नियालेको उसले थाहापाई कि जस्तो लाग्यो । बिस्तारै आँखा झुकाए । पापी हावा त्यत्तिनैखेर अगाडीको झ्यालबाट छिरेर आएछ । त्यो भन्दा नि पापी तिनको कपाल, फेरी एकचोटी मेरो मुहारसँग कबड्डी खेलेर बेपत्ता भयो ।

एवंरीतले हाम्रा शब्दहरु काठमान्डौसम्मै मौन भए, तर उनका कपालहरुले धेरै बोले मसँग । थोरै गफ मेरा आँखाहरुसँग उनका आँखाहरुले गरे । बिना कुनैै शब्द थर्थराए हामी दुवैका अधर ।

कलंकी बसपार्कमा झर्ने बेलामा फेरी अन्तिमपटक उनका कपालहरुले पुनः मलाई जिस्काएर भागे ।

मलाई गौशाला ओर्लनुथियो । म गाडीभित्रै चुपचाप आफैलाई प्रश्न गर्न थाले, आखिर कसरी ती कपालहरुले मेरो आहटलाई लुुटेर लगे रु के जादु थियो उनको कपालमा जो उनका कपालका रेशाहरुले मेरो हृदयलाई चलाएर भागे रु म चुपचाप मौन सोच्न थाले, यत्रो लामो यात्रामा मलाई किन सबै चीज छोडेर, जंगलको एकलासमा हुईकिरहेको गाडीमा बजेको प्रिय प्रेमध्वज प्रधानका गीतहरु छोडेर, हामी चढेको बससँग लुकामारी खेल्दै गरेको जूनलाई पनि छोडेर उनका कपालहरुले त्यति धेरै मोहनी लगाए रु मलाई साँच्चै थाहाछैन ।

उसो त, मलाई थाहानभएका कुराहरु धेरै छन् ।

जस्तै, सबैभन्दा मीठो हुने चिचिलो काँक्रो कसरी म मेरो गाँउ पुग्दा मेरो हजुरआमाको पोल्टोमा कुरिबसेको हुन्थ्यो रु वा कुरिरहेको हुन्थ्यो मीठा चकलेटहरु हजुरआमाको पोल्टोमा रु

मेरो कार्यक्षेत्र, भद्रपुर एयरपोर्टमा महेश छ । महेशलाई सबैले जिस्काउछन् । दुख गरेर आफ्नै कमाई खाने महेश त्यहाँ सबैलाई हसाउने मनोरञ्जनको पात्र हो । तर उसलाई आफू भन्दा पनि हसाउने त्यो गोबिन्देको जुत्ता किन लाग्छ रु महेशलाई सोध्नुपर्छ, “महेश गोबिन्देको जुत्ता कस्तो छ रु” फिर्लिक्क फर्काउदै आफ्नो ओठ, उ आफ्नो मुख आँ पार्छ । देखाउछ बर्षौ नमाझेका पहेला, धेरै झरिसकेका अनि थोरै आधा सग्ला आधा नमिलेका दाँतहरु, अनि भन्छ “आँ परेको छ ।” र दिल खोलेर मुस्कुराउछ । यसरी मुस्कुराईरहँदा त्यो कहिल्यै ननुहाउने फोहोरी कट्कटिएको महेश, मलाई किन संसारकै सबैभन्दा सुन्दर बिम्ब जस्तो लाग्छ रु

गाँउमा आमा सम्झन्छु । रिन गरेर परदेशिएका छोराहरु सम्झन्छु । आमा र छोराबिचको दुरी किन यत्ति धेरै ठूलो भाको रु म कहिलेकाँही के के सम्झन्छु सम्झन्छु । यस्तो लाग्छ, बिर्सिगएका प्रेमिकाहरुको याद आएजस्तो । मन आफैलाई अत्यास लागेर आँउछ ।
म सपनाहरुमा प्राय कहिल्यै नगएको ठाँउमा पुग्छु रु कहिलेकाँही पुगेकै ठाँउ पनि सपनामा किन बिरानो जस्तो लाग्छ मलाई रु

जस्तो जे होस् नारायणी किन सधै चुपचाप गुनासो बिना बग्छ रु रगत बोकेर पनि बगेकै छ । सिनो बोकेर पनि दौडिएकै छ । बगेर कहाँ पुग्नु छ कोशीलाई रु

सगरमाथा र बुद्धले मात्र कहिलेसम्म थेग्न सक्छन् यो देशको शान रु स्वयम्भूको आँखामा सधै किन मडारिन्छ बादलका गुछ्छाहरु रु

बेप्रसंग जस्ता लाग्ने, सिलसिला टुटेका आफ्नै प्रश्नहरुको जन्जालमा अल्झिदिन्छु म । टाउको भारी हुन्छ । दृष्यहरु फटाफट बिलाउन थाल्छन् । यस्तो लाग्छ कि मसँग आफैलाई सोध्ने प्रश्नहरु पनि सकिएछन् क्यारे । अत्याँस लागेर आँउछ । माईग्रेनले टाउको समातेझै आक्रान्त हुन्छु म । त्यसै त्यसै रन्थनिन्छु म ।

अनि एउटा कवि छ च्बmभकज क्बथबलरमेश सायन । कहिलेकाँही कथा लेख्छ । कथामा पात्रलाई आफ्नो दैनिकी बकाउछ । भन्छ, “जिन्दगीले म बिरुद्ध कहिल्यै गुनासो गरेन ।” जिन्दगीले आफ्नो बिरुद्ध उजुर नगरेको खुसीयालीमा थपिदिन्छ जिन्दगीको नाममा अर्को एक प्याला रक्सी । उडाउछ बुंगबुंग्ती गनाउने गाँजाको धुवाँहरु । अनि पहिल्याउन खोज्छ धुवाहरुले बनाएको अमूर्त आकृतिमा चित्रकारले कोरेको जिन्दगी शीर्षकको क्यानभास ।

कविलाई म कहिलेकाँही भेट्छु । “आज सँगै बसेर जाँड पिईदिम्” म भन्छु । उ भन्छ, “जाँड खराब चिज हो । मेरो लिभर पनि सुन्निएको छ । सौरभ, म जाँड पिउदिन । मेरा पात्रहरु मात्रै पिउछन् ।” मलाई कन्फ्युज बनाउछ सायन । खै के खै के ।

अझै धेरै छन् मलाई थाहानभएका कुराहरु ।

बालकहरुको तोतेबोली सबैभन्दा मीठो किन हुन्छ रु समालोचकहरु बुझ्दै नबुझिने, लेख्नको लागि मात्र लेखिएको कविता, निबन्धका लाईनहरु टुक्राएर कविताका रुप दिईएका कविताहरुलाई कसरी राम्रो कविता भन्छन् रु अनि यो एउटा कवि, सरल बुझिने कविताहरु लेखेर आफूलाई के प्रमाणित गर्न खोज्दैछ रु कवितामा कोरियोग्राफीको कुरा गर्छ सायन । कहिलेकाँही टन्न जाँड पिउछ अनि मातेर मलाई छाद्ने बेलामा फोन गर्छ । भन्छ मलाई, “सौरभ म अब एकछिनपछि छाद्ने तर्खरमा छु । मलाई टन्न जाँड पिएर छाद्न त्यत्तिकै मजा लाग्छ । त्यो भन्दा बढी मजा मलाई तलाई फोन गर्न लाग्छ ।” म अवाक् पर्छु ।

फेसबुकमा नानाभाती स्टाटस लेख्छ । लेख्छ, ‘मेरो मोजा एकदमै गनाउछ । तर गनाउदा गनाउदा मोजालाई खुद घिन लाग्न थालेछ क्यारे आजकाल गनाउन छाड्यो । गनाओस् या नगनाओस् म यही मोजा धस्काउने वालामा छु अझै केही दिन ।’ म किंकर्तव्यबिमूढ हुन्छु, सायनले कसरी थाहापायो कि म मेरो गनाउने जिन्दगी बोकेर जताततै भौतारिहिडेको कुरा रु

मलाई थाहा छ उ मेरो कविता लेखिहिड्छ । सुनाईहिड्छ मेरो जस्तै आम जिन्दगीको कविता अनि बेपत्तासँग मोबाईल स्वीच आफ गरेर घुम्न निस्कन्छ । बहुलठ्ठी कवि । अरुको जिन्दगी घच्घच्याएर आफू गुमनाम बस्न कत्ति पनि लाज मान्दैन सायन ।

मलाई सायनको कविताहरुको लत लागेको छ क्यारे । कहिलेकाही फोन गरेर भन्छु, “एउटा कविता सुना न यार ।” उ भन्छ, “उसलाई उसका कविता सबैैभन्दा झुर लाग्छ ।” र उ आफूले भर्खरै झुर भनेको एउटा कविता सुनाउछ । कविता सुनिसकेपछि म सोच्छु, साँच्चै यार मृत्युलाई ठेगाना बताउनैपर्दैन । बतास, हुरी, पानी, घाम, चरा सबैलाई कोठासम्म आईपुग्ने ठेगाना थाहाहुदैन । तर मृत्यु आईपुग्छ । ढोका नढक्ढक्याई आईपुग्छ । मूला सायन यत्ति पनि सोच्दैन, कत्तिपटक फूलको सुबास पनि उसको कोठा चहारेर गईसकेको छ । “छाडा जिन्दगी आफ्नो मृत्युलाई पनि स्वागत गर्न कहिल्यै तम्तयार उभिएन ।” बरु जिन्दगीप्रति उल्टो गुनासो गर्छ सायन ।

हो कवि सायन मलाई मनपर्ने कविता सुनाउछ । राती फोन जत्ति गरे पनि उठाउदैन । अनि बिहान उठेर “थाहापाईन यार” भन्दै फोन गर्छ । म सोध्छु “कविता लेख्यौ रु” भन्छ, “मैले कविता लेख्न छोडिदिए यार रु” म पत्याउदिन । कर गर्छु । फोन राखिदिन्छ सायन । अफिसमा मेरो हाकिम निद्राको अनुहार लगाउदै भर्खरै छिरेको हुन्छ । हाकिम सोध्छ मलाई, “सौरभ आज मुख पनि धोएको छैनौ कि क्या हो रु” यो गर्मी ठाँउमा म अझ बढी तात्तिन्छु । दिनभरि फ्यानमुनि बस्छु । सायन फोन गर्छ । बिनासित्ति छाडा बोल्दै भन्छ “मेल हेर मैले एउटा कविता मेल्द्याछु ।” कविता पढिरहँदा उसको कविताको हाकिम र मलाई मेरो अफिसको हाकिम उस्तै उस्तै लाग्छ । के हाकिमहरु सबै उस्तै हुन्छन् हो रु म सोच्न थाल्छु । जिन्दगीमा मिठो कोईन्सिडेन्सेसहरु किन हुन्छन् रु जस्तो कि हाकिम भनेपछि मलाई किन सधै रिसाहा आत्मा जस्तो मात्रै लाग्नु अनि सायनले हाकिमको अनुहारमा सालीको सपना नाचेको देख्नु रु म यत्ति धेरै सोच्छु, अनि सायनलाई बेप्रसंग मेसेज पठाउछु । “सायन यो मन भन्ने चिज भेटिन्थ्यो भने आज म मेरो मनको मनपर्ने डिसेसहरु छोएला कचेला बनाई रक्सीसँग सितन खान्थे । के तँ मलाई जाँड पिउने साथी बनिदिन्थिस् रु” तुरुन्त उ रिप्लाई गर्छ “ह्वाई नट माई डियर फ्रेन्ड, म त अझ मेरो गिदीको फ्राई पनि बोकेर आउथे । यो बेला न कुवेला चिलाउने दिमाग तीनपानेसँगको दामी सितन हुदो हो है ।” म मुसुमुसु हाँस्छु ।

आज भर्खर सायनले एउटा कविता फेरी मेल गरेको रैछ । आईसक्रिम जस्तै हो रे जवानी । चाटे सकिन्छ । नचाटे पग्लिन्छ । जे पायो त्यही । कत्ति हाउडे लेख्छ यार । तर यही हाउडेपनामा जीवन चै किन हुन्छ हँ रु

“मलाई ठीक लाग्यो तेरो कविता ।” म मेसेज पठाउछु । मेरो मेसेज डेलिभर भएको केही क्षणमै उ रिप्लाई गर्छ । “ठीक भन्या कस्तो रु राम्रो कि नराम्रो रु” म पुन रिप्लाई गर्छु । “ठीक भनेको ठीक नि । एनीवे राम्र्रो भन्न खोजेको ।” तुरुन्त मेसेजको टोन बज्छ, सायनको मेसेज । लेखेको हुन्छ, “कविता ठीकठीकैको भन्ने हुदैन बुझिस् । सुन्दरता भनेको कि राम्रो हुन्छ कि नराम्रो । फूल ठीकठीकैको राम्रो भनेको थाहा छ र तँलाई रु मलाई थाहा छ, म झुर कविता लेख्छु ।” अन्तिममा स्माईलीको साईन हुन्छ । म अझ बढी रन्थनिन्छु ।

याद आउछ प्रिय कवि रमेश क्षितिजले गएको दशैमा भनेका चिया गफका कुराहरु । “कविताको घोष्टराईटर हुदैन बुझ्यौ सौरभ । कहिल्यै हुदैन । घोष्टराईटर त्यो चीजको हुन्छ, जो दिमागले लेखिन्छ । कविता त मनले लेखिने कुरा हो । आफ्नो मन, आफ्नो बाहेक कसैको नियन्त्रणमा हुदैन । सोच त के तिमीले कहिल्यै सुनेका छौ कि कुनै कविलाई प्रकाशकले कुनै रिसोर्टमा महिनौ बसेर कविता लेख्न लगाएको कुरा रु” मैले गम्भीर भएर टाउको ‘नाई’ को भावमा हल्लाएपछि कवि क्षितिजले भन्नुभएथ्यो, “यसकारण किनकी दिमाग बिक्री हुन सक्छ तर मन हुदैन । राम्रा कविताहरु सधै मनको आवाज हो । मसिनो तर दरिलो । संसार हल्लाउने ।” अहो म त्यो दिन कविताको मुटु छामेर हल्लिएको थिए । धरमराएको थिए कविताको शक्ति सुनेर । महिनौसम्म मैले कविता पनि कोर्न बिर्सिएथे । खासमा भन्ने हो भने म डराएथे सायद ।

सुन्दैछु चाडै सायनको कविता संग्रह आउदैछ । एकदिन सायनसँग बसेर टन्न जाँड पिउनु छ । सोध्नु छ सायनलाई, कसरी हुन्छ मेरा हरेक अनुत्तरित प्रश्नको उत्तर सायनको कवितामा रु अझ यो पनि सोध्नु छ किन अझै सताउछ मलाई त्यो पहेलो कुर्ता लगाउने केटीको कपालले रु मैले सप्पै बुझेर पनि बुझ्न बाँकी किन बस्छ सायनको कविता रु हरेक पटक नयाँ किन लाग्छ उसका पुराना जस्ता लाग्ने प्राय कविताहरु रु किन केही फरक छैन त्यो पहेलो कुर्ता लगाएकी केटीको कपालले कबड्डी खेल्दा मेरो अन्तस्करणमा दिएको झन्कार र सायनका कविताहरुले मलाई रन्थन्यानुमा रु हो अझै धेरै, सायनलाई धेरै कुरा सोध्नु छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 चैत्र, 2070

लेखकका अन्य रचनाहरु