अन्त्येष्टि क्रिया

- राजु “हिमांशु”

सार्वजनिक भवनभित्र हो-हल्ला छ । म पनि छु त्यहाँ । आज त्यहाँ अन्त्येष्टि क्रिया छ । विष्णुमाया राई सबैको प्यारो राईनी बढ़ीको अन्त्येष्टि क्रिया सम्पन्न भइरहेछ त्यहाँ । जेठो छोरो सुनील राई जागरूक मञ्चको सभापति । जागरूक मञ्च एउटा राजनैतिक दल । त्यति सशक्त नभए पनि सत्तारूढ़ पार्टी विरोधी दल हो यो एउटा । केही काल अघि मात्र सत्तारूढ़ दल र उसको दलका समर्थकहरुमाझ भिड़न्त भएको थियो । आफ्नो दलको स्वतन्त्रता र अस्तित्त्व कायम राख् ने उद्देश्यले ऊ चुनाउमा पनि खड़ा भएको थियो । तर हारयो ऊ । प्रजातन्त्रमा प्रजातन्त्र बहाली गर्नु पर्छ भन्ने ऊ सामाजिक बहिष्कारको शिकार बनिसकेको थियो । यसैले सय-डेढ़ सय मात्र इष्टमित्रको उपस्थिति रहला सोचेर त्यतिकै इस्टिमेट गरिएको थियो । तर अचम्मै भयो । उसकी आमाको अन्त्येष्टि क्रियामा छ सय नब्बे जना मानिसहरुको उपस्थिति थियो । अन्त्येष्टि क्रियामा आउनेहरु थिए-

१) सुनिलका आफन्तहरु

२) उसको दलका साथीहरू

३) उसलाई बहिष्कृत गर्ने दलका प्रतिनिधिहरु

४) भूतपूर्व विधायक

५) वर्तमान विधायक

६) भूतपूर्व-वर्तमान सबै नगरपालहरु

७) सबै राजनीतिक दलका प्रतिनिधिहरु

समग्रमा सबै राजनीतिक दलकाहरु आएका थिए । सबैले आ-आफ्ना बुतानुसार सराउ दिए । राजनीतिक कट्टरताले दुश्मनी सृजित भए तापनि अन्त्येष्टि कार्यमा भने सबै दलकाहरु उपस्थित थिए । राजनीतिभन्दा संस्कार र संस्कृति उच्च भइरहेका थिए । आपासी मनमुटाउ, दुश्मनी ,विरोधिता सबै बिर्सिएर अन्त्येष्टि क्रियाको दिन भेला भए सबै । सुनील छक्कै परिरहेको थियो । इस्टिमेट फेल भएर घरि-घरि सामान ओसार्नु परिरहेको थियो । मानिसहरु आइरहेका थिए लगातार । आ –आफ्ना झुण्डमा आफ्ना राजनीतिक विचार पोखिरहेका थिए ।

सात बजेसम्म सबै आइसकेका थिए । सबै थान्कोमान्को गरेर ओछ्यानमा पस्दा रातको १२.३० बजेको थियो। ओछ्यानभित्र पसेर म सोचिरहेको थिएँ – “ सबै आए सबै कुरा बिर्सिएर,पन्साएर अनि सराउ हाले सबैले । अहो ! मुद्दाको निम्ति पनि सबै यसरी आए त कति राम्रो हुन्थ्यो। ”

म सोच्दा –सोच्दै निदाएँ । सपना देखॅँ । सपनामा पनि सबै एक भएर सराउ हाल्दै थिए । तर अन्त्येष्टि क्रियाको निम्ति होइन । मुद्दाको निम्ति सराउ हाल्दै थिए ।

बिहान ब्युँझिएर सोंचें – “सपनामा जस्तो हाम्रो विपना भइदिएको भए कति राम्रो हुन्थ्यो । “ अन्त्येष्टि क्रियाको दिन देखिएको एकत्रित सामूहबारे म विचारमग्न थिएँ ।

केही कालपछि समाचार पत्रमा पुनः वैचारिक द्वन्द्व चलिरहेको थियो । राजनीतिक प्रतिक्रियाहरू छापामा आउन थालेका थिए पुनः । आरोप-प्रत्यारोपकों सिलसिला कायम थियो । समर्थन र प्रतिवादहरु जुझिरहेका थिए । सुनिलले पनि प्रतिवाद जनाएको खबर उसको फोटोसहित प्रकाशित भएको थियो खबरकागजमा । अन्त्येष्टि क्रियामा उपस्थित हुने दलका प्रतिनिधिहरुमाझ राजनीतिक द्वन्द्व चलिरहेको थियो । राजनीति ठुलो भइरहेको थियो । फेरि संस्कार र संस्कृति कता -कुन कुनातिर थान्को लागेका थिए ।

सिद्धान्त भनेको विचारको उपच । बेग्ला –बेग्लै सिद्धान्तले वैचारिक द्वन्द्व जन्माए तापनि संस्कार र संस्कृतिगत औपचारिकता भने पालन भइरहेको सत्यता अन्त्येष्टि क्रियाको दिन देखेको थिएँ मैले । एउटा प्रश्न भने जगेको थियो यस्तो---

“के हामी औपचारिकता पालन गर्ने अभिनय मात्र गर्दैर्छौं ???”

डाउहिल

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 चैत्र, 2070

लेखकका अन्य रचनाहरु