चोरघाम

- पेशल आचार्य

निकै दिन भयो पारिलो घाम नलागेको ।
मकर संक्रन्तिदेखि नै दिन ढाडिएको थियो त्यसै रात प्याराराररअ छिट्याएछ । निद्रा खुल्दा चीसो ह्वात्तै बढेको थियो । यसो दिउँसोको दिन सम्झिएँ । मिलिकमिलिक चोरघाम लाग्दै बादलमा लुक्दै गरेको थियो । बूढापाकाहरू भन्थे –चोरघाम लाग्यो भने पानी पर्छ । नभन्दै भयो पनि त्यस्तै । बिदाको दिन भएकाले पानीले त्यति लछारपाटो लगाएन ।
दिनभरि नै अक्षरका बिस्कुन चलाएर बसियो, मजाले । अचेल किन हो ! अक्षरका बिस्कुन सुकाउँन र उठाउँन निकै आनन्द आउँन थालेको छ । ऐकान्तिक यो क्षणमा किताब र पत्रपत्रिकामा म खोलेमा छाउरो पल्केझैँ पल्केको छु । हुन त पत्रिकामा ज्ञान कम र सूचनाका बाढी बढी हुन्छन् । पुस्तकमाचाहिँ ज्ञानको मेसो ठम्याउँन सकिने सामल भएकाले मलाई आफू तरोताजा भैरहन मात्र पत्रिका चाहिन्छ । घट झुसी भरिनचाहिँ किताब नै चाहिने भो !
भात खाँदा अचारले रूचि जगाएजस्तो पत्रिकाले पठनमा रूचिमात्रै जगाउनै भो । अघाउँनचाहिँ भातै खानु परेझैँ किताब नै चाहियो । एक्लै बस्दा कहिलेकाहीँ अनेक नाबालक बनेका सुकुम्बासी विचारहरू पनि लुँडीप्युरी भएर आउँछन् । तत्काल प्रकाशन गर्न नसक्ने यस्ता बासी विचारलाई हिजोआज म सुकुम्बासी विचार भन्नेगर्छु ।
आफ्नो साबगास छैन । कुनै दह्रो प्रकाशनसँग न त सालीपट्टीको सातपुस्ताको नाता न त कुनै दह्रो दानवीरसँग भिनाजुपट्टिको नौ पुस्ताको कायासम्बन्धै छ । मनमा जमेका तीनपाथी हुँडलाहरू चोरघाम मिलिक्क लाग्छ सुकायो, झ्याप्प ओझेल पर्छ फेरि हतारोसँग उठायो । मुटुमा काइ जमेर थेग्य्रान भएका निर्वासित विचारलाई मस्तिष्कको बाटो भएर कम्प्युटरको किबोर्डमा खेलाउँदै कुसुलेले झुम्राको पुतलीलाई नचाएजस्तो नचायो र आत्मरतिको घुटुक्क सन्तुष्टि लियो, बस् ।
दिनचर्या यत्तिकैमा बितिरहेका छन् । खै ! यस्तो कर्म (साधना) लाई के पो सिर्जनात्मक कर्म भन्नू ?
मैले जहिलेदेखि मेरो परिवेशमा देख्नेगरी देखेँ, त्यहाँ चोर घाम लागेको देखेँ । सन्तान्नबे, सात, सत्र, छयालीस र बैसठ्ठी÷त्रिसठ्ठी यी सबै बेला भएका भनिएका आन्दोलनमा चोरघाम लाग्दै बादलका घुम्टोभित्र लुक्दै गरेको पाएँ । इच्छारूपि सगर डढेर यहाँ प्रजातन्त्रको (अहिले त लाजैगालै लोकतन्त्रको भन्नुपर्छ, नत्र प्रतिगामीमा दरिइन्छ) खडेरी परेको करिब सात दसकभन्दा बढी समय बितिसकेछ । न्यानो खोज्ने जनाद्र्धनहरूको आकांक्षामा जहिलेकहिलै तुषारापात भएको छ । प्रजातन्त्रलाई उपहास गर्दै लीलबहादुर क्षत्रीले बसाइँ, रमेश विकलले लाहुरी भैँसी र हृदयचन्द्र सिंहले मरुभूमिका लेखक लेखे पनि राजनीतिका मसिहाहरूको कानमा बतास लागोइन ।
पञ्चवर्षीय योजनाका तानाबाना तेह्र सालदेखिनै बुनिन लागेका हुन् तर अझै हुम्लाजुम्लामा नुन सस्तिएको खबर बेखबर नै छ । विचरी ! कुन्ती दिदी अझै हुम्लाजुम्ला कहिले जाने हो भनेर विरहका गीतका फाँकीमा स्वर लहरी मिसाउँदी छिन् । तीन न तेह्रका ती पाँचवर्षे योजनामा खरबौं रूपैयाँ पानीमा बगाइए जसकाकारण समयसमयमा विद्रोहका सुनामीहरूले देशको भर्जिनिटीमा धावा बोल्यो । सँगसँगै हिन्दूस्तानमा आएको डेमोक्रेसी संस्थागत भैसक्दा हाम्रोचाहिँ अझै नाबालककै गतिमा लड्खडाएको लड्खडायै छ ।
शिशुप्रजातन्त्र यहाँ कति पटक येशुझैँ क्रसमा टाँगिइसक्यो । कुनै कुमारी मारियाले त्यसलाई बचाउँन सकिनन् । अब त गैँडाको छालाझैँ भैसक्यो हामी नेपालीको मुटुको पत्रपत्र पनि । सहनका लागि जन्मेका हामी नेपालीहरू, पर्खिनका लागि बाँचेका हामी नेपालीहरू अनि आसाका लागि बाँचेका हामी आसे नेपालीहरू ।
थाइ एयरलाइन्स र आर.एन्.ए.सी.(हिजोआज एन्.ए.सी.) एकैदिनजस्तो जन्मिएका जम्लिया दाजुभाइजस्ता भएर तर थाइ एयरलाइन्स कहाँबाट कहाँ पुग्यो ? एन्.ए.सी.रसातल भएर सफाचट । बाटाको मादल बनाए तोरीलाउरेहरूले –हाम्रो राष्ट्रियध्वजावाहक विमान कम्पनीलाई । भाट र चाटुकारले डुबाए आयल निगमलाई अनि त्यसैगरी प्यारालाइसिसझैँ बनेका छन् मुलुकका पहरेदार गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनहरू । यसबेला मलाई ध्रुवचन्द्रको प्रसिद्ध कथा ‘ढुङ्गा’को याद आइरहेछ । जहाँ सबैथोक दिन्छौँ भन्दै विभिन्न किसिमका पात्रहरू आमालाई भोग्ने गर्छन् । आमाका मजेत्रालाई छोराहरूले लगौँटी बनाएर जात्रा देखाए –नेपालाँ ।
म हिजोआज किन किन नसोचेको विषयमा सोच्दैछु । नलेखेको विषयमा लेख्दैछु । नकथेको विषयमा कथ्दैछु । नहिँडेको बाटो हिँड्दैछु । नबोलेको कुरा बोल्दैछु । सोचेको, लेखेको, कथेको, हिँडेको र बोलेको कुरा त यसअघि नै सोचिसकेको छु, लेखिसकेको छु, कथिसकेको छु, हिँडिसकेको छु र बोलिसकेको छु । जीवनमा सँधै नित्यनवीन कामकुरा गर्नुपर्छ त्यसैमा आनन्द आउँछ । पूर्वपश्चिम दुवै गोलार्धका दर्शन, साहित्य, कला, राजनीति, ज्ञान र विज्ञान सबैलाई एकै ठाउँमा राखेर भिजाई मटक्क निचोर्दा एकै प्रकारको रस निस्केको पाएँ –आनन्दको रस ।
चराचर जगत् नै आनन्दको पछि लागेरै यहाँसम्म आइपुगेको हो । ज्ञान र विज्ञान दुवैले सिद्धान्त र प्रयोगलाई निचोरेर निकाल्ने रस भनेकै आनन्दानुभूतिको हो । अध्यात्म ज्ञानरूपि रसलाई पिएरै परमानन्दको खोजी गर भन्छ । त्यसैगरी विज्ञान पनि प्रयोगलाई साक्षी राखी प्रयोगानन्दको फल खाऊ भन्छ । समले निकैअघि नै भनेका छन् –ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा ।
कर्म माने काम । कामका अनेकौं रूप र परिभाषा छन् । वेदले भनेको धर्म, अर्थ, काम र मोक्षको कुरामा काम भनेको यौन हो । वैयाकरणिक अर्थमा काम भनेको नाम हो अनि फेरि वाक्यका तहमा सांसारिक अर्थमा कर्म भनेको गरिने वा लक्षित हो । अंग्रेजीमा कर्मलाई अब्जेक्ट भनिन्छ । त्यहाँ अब्जेक्ट बिना ‘सेन्टेन्स’नै बन्दैन । साधारण अर्थमा काम भनेको मानिसको पेटपाला या खाइजिविकाको माध्यम हो ।
अनेकौँ काम छन् –संसारमा । काम नहुने सन्दर्भ र मानिस एउटा पनि छैनन् । एउटा बेरोजगार साथी भन्थ्यो –हिजोआज म काम खोज्ने काम गर्दैछु । बास्तवमा काम खोज्ने काम पनि कामै त हो । हजारौं र लाखौं किसिमका कामहरू यहाँ छन् । तिनीहरूलाई चलायमान गर्ने मानिसहरू पनि हजारौंलाखौं किसिमका छन् । चीनमा एकजना रिटायर्ड सैनिक इन्जिनियरले केही काम नपाएर झिँगा मार्ने काम ग¥यो । पछि उसलाई होश् खुल्यो –‘मैले हातले झिँगा मारेर के नै पो गर्न सक्छु र !’ अनि ऊ तम्सियो मेसिनले झिँगा मार्ने प्रविधिको विकास गर्न । नभन्दै उसले केही वर्षमा मेसिन नै बनायो र सरकारलाई त्यसको रूप र सूत्र प्रस्तुत ग¥यो ।
जनउत्तरदायी सरकार थियो तत्कालै उसलाई वैज्ञानिकमा भर्ना गरी त्यस्तै मेसिन उत्पादनको काम दियो । सूत्रवापत् पारिश्रमिक पनि दियो । काम केही नपाएर झिँगा मार्ने काम गर्दा त मानिसमा नयाँनयाँ आविष्कार गर्ने कुरा फुर्दा रहेछन् भने अझ मन लगाएर काम गर्ने हो भने त मानिसले नयाँनयाँ डरभर दुवैलाग्दा सिर्जनानै गर्न बेर लगाउँदैन ।
अल्बर्ट आइन्स्टाइन भन्ने गर्थे रे –‘मेरो मस्तिष्कको दस प्रतिशतमात्र उपभोग मैले गर्न सकेको छु । बाँकी नब्बे प्रतिशत त मैले चालै पाएको छैन ।’ अब कस्तो डरलाग्दो प्रसङ्ग हाम्रो अगाडि उपस्थित भयो । आइन्सस्टाइनझैँ भएर गर्दा हामीले धेरै ग¥यौं भनेका अर्थमा त हाम्रो पाँचदस प्रतिशतमात्र दिमागको उपयोग हुन सकेको हुँदोरहेछ भने हामीले थाहा नपाएका अवस्था र प्रसङ्गमा कतिकति सम्भावनाहरू लुकेका हुँदा रहेछन् ।
त्यसैले माथि भनिएको हो । नसोचेको कुरा सोचियो भने नयाँ अवश्य निस्कन्छ । नबोलिएको कुरा बोलियो भने नयाँ कुरा पक्कै बोलिन्छ । नकथेको कुरा कथियो भने नौल्याइँनै साँच्चै कथ्न सकिन्छ । नहिँडेको बाटो हिँडियो भने पक्का छ अर्को नयाँ बाटो फेला पार्न सकिन्छ । संसारमा नयाँनयाँ बाटाहरूको खरखाँचो अझै मेटिइसकेको छैन ।
आज संसारलाई नयाँ कुरामा विश्वास छ । नयाँ काममा विश्वास छ । नयाँ सूत्रमा विश्वास छ । नयाँ सिद्धान्तमा विश्वास छ । नयाँ राजनीतिमा विश्वास छ । नयाँ नारामा विश्वास छ । नयाँ झण्डामा विश्वास छ । नयाँ नेतृत्वमा विश्वास छ । नयाँ बालीमा विश्वास छ । नयाँ हतियारमा विश्वास छ । नयाँ गणितमा विश्वास छ । नयाँ परिणाममा विश्वास छ । नयाँ प्रयोगमा विश्वास छ । नयाँ प्रविधिमा विश्वास छ । नयाँ शिक्षामा विश्वास छ । नयाँ ज्ञानमा विश्वास छ । नयाँ विज्ञानमा विश्वास छ । नयाँ फेसनमा विश्वास छ । नयाँ खानाको स्वाद पाउनुमा मजा छ । नयाँ भनिनु र नयाँ चिनिनुमा आनन्द छ । अझ परमानन्द छ । सबैको खोजी केवल परमानन्दको हो ।
माक्र्सले आनन्दको खोजी गर्दा वर्गसंघर्षको बाटो रोजे, रुसोले सामाजिक सम्झौताको पथ अवलम्बन गरे, बुद्धले शान्तिको राजमार्गमा आफूलाई पथिक बनाए, हुएन्.साङ् र भास्कोडिगामाले चरैवेती चरैवेतीभन्दै खोजीको मार्गमा पैदलयात्रालाई आनन्दप्राप्तिको माध्यम बनाए, आचार्य भरतले रसमानै यो रसमय संसार देखे । आधुनिक विज्ञानको चौरस्तामा आइपुग्दा आइन्सटाइनले सापेक्षतावादमा र न्यूटनले गुरुत्वाकर्षणबाहेक अरूचिजमा केही देखेनन् ।
कौटिल्यले अर्थशास्त्र दिए, गेटे र कालिदासले काव्यानन्द दिए, माक्र्सले पूँजी दिए, मन्टेस्क्यूले सेपरेसन अफ दि पावर दिए, सेक्सपियरले नाटक दिए, शेलीले कविता दिए अरू थुपै महान् आत्माले केके दिए केके ? भनिसाध्यै छैन, लेखिसाध्यै छैन । माक्र्सले दिएको पूँजीमा चित्त नबुझाएर हामीले आज उनीभन्दा नयाँपन खोज्न उनैको पूँजी भित्रबाट नयाँपनको खोजी गर्न चाह्यौं । कालातीत दर्शन र ज्ञानमा पनि समयसापेक्ष परिवर्तनको आसामा विश्वका अनेक वाद, विवाद र सम्वाद आए र गए ।
हिजोका विद्वान्को पदका पथ चाहार्दै आज हामी हिँड्यौं भने अवश्य नयाँबाटो पत्ता लगाउँन सक्दैनौं । बनाइसकेको बाटोमा नयाँ बनाउँन सकिदैन बरू त्यसलाई मर्मतसंभार गर्न सकिन्छ । बरू साइडमा पेटी र कल्भर्ट या कजबे जे चाह्यो सो बनाउँन सकिन्छ । बाटो त त्यहाँ चाहिन्छ जहाँ बाटै छैन । जहाँ बाटोको गुन्जायस छैन भनेर शताब्दीदेखि मानिसहरू हिँड्न चाहिरहेका थिएनन्, सकिरहेका थिएनन् आज नयाँ ढंगले त्यहाँ नयाँ बाटाका सिर्जना हुने भएका छन् । अघि र पछि खन्ने हो, खन्न त सबैले खन्ने हो । अब माक्र्सको बाटोमा हिँडेर नयाँ लक्ष्यातीत विन्दुमा पुग्न सकिँदैन । अब कौटिल्यको बाटो हिँडेर नयाँ अर्थशास्त्रको डिमार्केसनमा पुग्न सकिँदैन । अब विथोबेनको बाटोमा हिँडेर संगीतको नयाँ सिम्फोनी निकाल्ने चुलीमा पुग्न सकिँदैन ।
नूतन लक्ष्यमा पुग्ने हिम्मत राख्नेले त नयाँ खाले माक्र्स भएर जन्मिनँ खोज्नु प¥यो । नयाँ खाले कौटिल्य, नयाँ खाले भरत, नयाँ खाले कालिदास, नयाँ खाले गेटे, नयाँ खाले गान्धी, नयाँ खाले देवकोटा, नयाँ खाले माओ, नयाँ खाले मण्डेला, नयाँ खाले रजनिस, नयाँ खाले वी.पी., नयाँ खाले प्रचण्ड, नयाँ खाले बाबुराम, नयाँ खाले सि.के, नयाँ खाले मदन भण्डारी, नयाँखाले इन्द्रबहादुर राई, नयाँ खाले बैरागी काइँला, नयाँ खाले भूपि, नयाँ खाले हरिभक्त, नयाँखाले नारायण गोपाल, नयाँ खाले व्याकुल माहिला, नयाँखाले श्रवण मुकारुङ र नयाँखाले ध्रुवचन्द्र अर्थात् सबैभन्दा नयाँखाले भएर जन्मन सक्नुप¥यो ।
हामीले हामै्र उपभोग नगरेको मस्तिष्कका नयाँ तन्तुलाई प्रयोगोन्मुख बनाउँन सक्नुप¥यो । हामीले हाम्रा नखुलेका विचारका तन्तुलाई खोल्न सक्नुप¥यो । नयाँनयाँ ढङ्गले कार्यारम्भ गर्न उद्यत हुनुपर्यो । नयाँ हिसाबले सिक्नुप¥यो । नयाँनयाँ हिसाबले सिकाउँन पनि सक्नुप¥यो । जबजब नयाँनयाँ विषयवस्तुले समाजमा प्रवेश पाउँन खोज्छन् त्यसबेला तिनीहरूलाई समाजमा प्रवेश दिनुप¥यो अनि हुन्छ –समाजको नयाँ किसिमले विकास । नयाँलाई सधैँ नकारेर मात्र हामी न पुरानाको सम्मान गर्न सक्छौं न नयाँको नै निर्माण गर्न सक्छौं । मौलिक र नयाँलाई मन नपराउँने सायद् यो संसारमा कोही पनि छैनन् । वृक्षका पनि नयाँ पात फेरिएपछि त्यसमा एक प्रकारको रौनकता आउँछ । पुरानाले नयाँका लागि स्थान खालि गर्दै पनि जानुपर्छ । नेतृत्वका संसारमा नयाँलाई काम पुरानालाई आराम भन्ने आहानै चलेको छ ।
दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले जब आफूमा ऊर्जा रह्यो त्यसबेलासम्म आफूले शासनको बागडोर आफ्नो हातमा लिए र जब आफू वृद्धभएको महसुस गरे त्यसपछि आफ्ना अनुज थाबो एम्बेकीलाई सत्ता सुम्पेर अहिले उनी एल्डर्स क्लब खोलेर संसारभरि बूढापाकाहरूको ज्ञान, अनुभव र सीपलाई कसरी विकासनिर्माणका कार्यमा लगाउँन सकिन्छ भनेर विश्वभर हिँडिरहेका छन् । यो संसारै एक प्रकारको रिले खेल हो । आफूले आफ्नो भागको कार्यसमाप्ति गरेपछि आफूभन्दा पछाडिका खेलाडीलाई सरक्क आफूले समातेको रिलेको लौरो समात्न दिनुपर्छ । बाउ चाहन्छ छोरो मजस्तो होस् तर छोरो कहिल्यै पनि बाबुजस्तो हुन चाहिरहेको हुँदैन । यसमा प्रकृतिको जेनेरेसन ग्यापको सिद्धान्तले काम गरेको छ । हरेक बीस वर्षमा एक नयाँ जेनेरेसन समाजमा आउँछ र ऊ अघिललो पुस्ताभन्दा सधैँ नित्य नवीन कार्य गर्न चाहन्छ । संसारको गति र प्रगति यसरीनै अगाडि बढेको छ । तपाईँ मान्नुस् या नमान्नुस् संसारमा पछि आउँनेले केही न केही नयाँ सोच लिएर आइरहेको हुन्छ । गुरु पुग्न नसकेका स्थानमा चेला पुगिसकेका हुन्छन् । एउटा शिक्षकले पढाएका विद्यार्थीहरू अनेक पेसा अँगालेर समाजमा स्थापित भै आफ्नो नाम रोशन गरेर उँचो व्यक्तित्व भई बसेका कैँयौँ उदारहण हाम्रो समाजमा बग्रेल्ती छन् ।
पश्चिम्मा क्रोचेभन्ने विद्वान्ले कलाका सम्बन्धमा नयाँ ढङ्गले सोचेकाले उनलाई कलाका कोलम्बस भनिन्छ । समाजलाई नयाँकुरा जसले खोजेर दिन्छ उसैको कीर्ति युगानुयुगसम्म रहन्छ । हुएन् साङ् हुन कि भास्को डिगामा, राहुुल सांस्कृत्यान हुन् कि अशोक, बुद्ध हुन् कि महावीर बद्र्धमान्, पैगम्बर मोहम्मद् हुन् कि गुरुनानक, पाब्लो पिकासो हुन् कि लियोनार्दो, गान्धी हुन् कि मण्डेला, खलील जीब्रान हुन् कि मिर्जा गालिब, नित्से हुन् कि सन्त कबिर, पेले हुन् कि प्रचण्ड, डार्बिन हुन् कि हुन् कि जीसस क्राइस्ट, सत्यजीत रे हुन् कि गुरूप्रसाद, प्रेमचन्द हुन् कि ध्रुवचन्द्र, रुस्दी हुन् कि एन्टोन चेखब, ब्रेख्त हुन् कि सरुभक्त, रुविन गन्धर्भ हुन् कि हरिश माथेमा, रविन शर्मा हुन् कि रामेश सबै आफ्ना कालमा दर्शन र कलालाई नयाँपन दिनमा आआफ्नो स्थान उम्दाउम्दा छन् ।
सबैले केही नयाँ भनिएका कुराहरू खोजेका छन् र समाजलाई नयाँ चिज दिएर गएका छन् । यदि दिने चाहना मानिसमा प्रबल रूपमा छ भने उसको ध्याउन्न नै समाजमा कीर्ति राख्ने हुन्छ । जीवनपछि पनि बाँच्ने चाहना भएका मानिसमा त्यो प्रकाशले उसलाई तानिरहेको हुन्छ र उसको काम सधैँ नयाँमा केन्द्रित रहन्छ । दिन धुमिए पनि मनमा चङ्गा भएर घाम लागेकाले मैले आज मेरा पाठकलाई न्यानो गर्न सकेँ भन्ने लागेको छ । चोरघाम लाग्नु र घाम नलाग्नुको यो जोरसन्धि कालमा मलाई जेजति भावनाहरू यहाँ आए र मैले त्यसलाई लिपिबद्ध गर्न सकेँ त्यसैमा मलाई गर्वानुभूति छ । देशमा चोरघाम होइन सुनको बिहानी भनिने लोकतन्त्रको घाम लागोस् । अहिलेलाई यत्ति भन्दै म मेरो कलमलाई रोक्छु ।

हालः मन्थली, रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 फागुन, 2070

लेखकका अन्य रचनाहरु