सम्झनामा लोककवि अली मियाँ

- तुलसी प्रवास

मेरो माया फिँजाउँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौँ भने सगरमाथा डुब्छ
छाती खोली देखाउँ भने माछापुच्छ«े झुक्छ
मनको तीर्खा मेटौँ भने फेवाताल सुक्छ ।
–लोककवि अली मियाँ
यसैगरी पोखरेली वनपाखामा गुञ्जन्थे कुनैबेलाअली मियाँका आवाजह्रू । आज त्यो आवाज हामीसँग छैन तर पनि उनको सम्झनामा यहाँको वाङ्मय जगत नतमस्तक छ । उनै कालजयी स्रष्टाको स्मृतिमा पोखरा समय समयमा झुम्ने गर्दछ ।
विश्वका सुन्दरतम स्थानह्रूको गणना गर्ने हो भने पोखरा पनि एउटा पर्दछ भन्छन् पर्यटनविद्ह्रू । पोखरा भूगोलमा मात्र सुन्दर छैन । यो कला साहित्य र सङ्गीतमा पनि त्यत्तिकै सुन्दर छ । यहाँको भूगोलले यी कुरालाई उर्जा थपेको कुरा भने सबैले स्वीकार्नै पर्छ । यही प्राकृतिक छटाभित्र कुनै समयमा वनको एक्लो न्याउली झैँ विरहमा गुञ्जन्थे अली मियाँ । पोखराको भूगोलभित्र उम्रिएका सिर्जनाह्रूमध्ये एउटा नितान्त मौलिक सिर्जना हुन् उनी । पोखरामा यस्ता अरुपनि कैयौँ प्रतिभाह्रू जन्मिए अनि ती सबै यस सुन्दर धर्तीलाई छोडेर गए । त्यस्तै भौतिक शरीर गुमाएर पनि पोखरेली र समग्र नेपालीको मन मस्तिष्कमा जीवित पात्र हुन् अली मियाँ ।
वि.सं. १९७५ साल फागुन महिनाको १५ गतेका दिन हालको पोखरा उपमहानगरपालिका –१३, मियाँपाटनमा पिता दिन मोहम्मद मियाँ र माता जहुरा मियाका कोखबाट यस धर्तीमा पहिलो पटक आँखा उघारेका अली मियाँ लोककविका नामले सर्बत्र परिचित छन् । शिक्षाको नाममा स्वाध्यायनबाट साँवा अक्षर मात्र छिचोलेका मियाभित्र लोकगीतको भण्डार नै थियो । उनी घण्टौँसम्म गीत गाउन सक्थे । गीतमै कुराकानी गर्न सक्थे । उनलाई नजिकैबाट चिन्नेह्रू उनीभित्र अद्भूत प्रतिभाको खानी रहेको कुरा आज पनि स्मरण गर्छन् ।
जीवनमा छ वटी श्रीमती भित्र्याए पनि जीवनको उत्तराद्र्धमा पत्नीविहीन हुन पुगेका मियाँ ब्रिटिश गोर्खाको सेनामा भर्ती भएर पनि दुई वर्षमै जागिर छोडी नेपाल आएका थिए । नेपाल आएर सामान्य चुरापोतेको व्यापार सुरु गरेका उनले पोखरा आसपासका प्राकृतिक सुन्दरताको बयान गर्दै र आफ्नै जीवनका अनुभूतिहरूलाई गीतका माध्यमबाट गुञ्जाउँदै गए । उनले गाएका कैयौँ गीतहरू पोखरेली आकाशमै बिलाएर गए भने केही पुस्तकाकार कृतिका रुपमा समेत प्रकाशित भए । उनका प्रकाशित कृतिहरूमा विरक्तलहरी(२००६), महेन्द्रलहरी(२००९), न्याउलीको पुकार(२०११), पहाडको उद्गार(२०१३), सेतीको सुस्केरा(२०२९), आत्मकथा अली मियाँ(२०३८), उज्यालो भैसक्यो(२०३९), सम्झनाको दियो(२०५१),अली मियाँको आवाज(२०५८) रहेका छन् ।
नेपाली लोकसाहित्यको अध्ययन गर्न चाहनेहरूका लागि पनि अली मियाँ एउटा राम्रो स्रोत हुन् । उनका गीतह्रू र उनको बारेमा समय—समयमा विभिन्न शोध, खोज र अनुसन्धानहरू समेत भएका छन् । पत्रकार तथा साहित्यकार अमृत भादगाउँलेले अली मियाँलाई पोखरेली नवरत्न मध्येका एक रत्नको रूपमा चिनाएका छन् । त्यसैगरी उनको अली मियाँको जीवनमा आधारित पुस्तक लोककवि अली मियाँ पनि प्रकाशित छ । त्यसैगरी लोकसाहित्यको अध्ययन अनुसन्धान गर्न रुचाउनेह्रूले पनि स्नातकोत्तर र विद्यावारिधिका शोधह्रू समेत अली मियाँको बारेमा गरिरहेका छन् ।
जीवनभर लोकगीत गाएर बिताएका अली मियाँ धार्मिक साहिष्णुताका पनि आदर्श व्यक्तित्व हुन् । आफू मुस्लिम समुदायको भएर पनि रामायण, कृष्णचरित्रका गाथाहरू उनी कष्ठस्थ सुनाउँथे । उनको बोलीचाली र व्यवहारमा समेत सबै धर्म एक हुन् भन्ने विचार झल्कन्थ्यो । मानव जातिको उत्थान र गरीबीको अन्त्य हुनुपर्ने चाहना उनका हरेक जसो गीतका आवाज हुन्थे । नेपालका चर्चित गायक, गायिकाहरूका स्वरमा उनका गीत रेकर्ड समेत भएका छन् ।
अली मियाँले आफ्नो जीवनको उत्तरार्धमा प्रशस्तै पुरस्कार तथा सम्मानहरू समेत प्राप्त गरेका छन् । इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार (२०४७) कविशिरोमणि पुरस्कार (२०५२) नारायणगोपाल सम्मान (२०५८) वरिेन्द्रऐश्वर्य सेवा पदक (२०५८) सार्वजनिक अभिनन्दन एवम् रथारोहरण (२०५८) आदि उनले प्राप्त गरेका प्रमुख सम्मान र पुरस्कारह्रू हुन् । यस बाहेक पनि उनलाई स्थानीय स्तरबाट अनेक सम्मानह्रू प्राप्त भएका थिए ।
जीवनभर लोकगीत फलाकेर लोकभाकामै जीवनका अनुभव र अनुभूतिह्रूले सबैलाई रुवाउने र हँसाउने यस्ता लोक सर्जक अली मियाँ अन्ततः वि.सं. २०६३ साल श्रावण १८ गतेका दिन सबैलाई रुवाउँदै बिदा भए । उनी आज यस धर्तीमा नभए पनि उनको सर्बत्र चर्चा भइरहेको छ ।
अली मियाँ वाङ्मय प्रतिष्ठान
अलीमियाँको एउटा सपना थियो –एउटा संस्था खोलेर लोक साहित्य क्षेत्रका पर्दा पछाडि रहेका श्रष्टाह्रूको सम्मान गर्दै जाने । त्यही सङ्कल्पलाई मूर्त रुप दिनको लागि लोककवि अली मियाँका ज्येष्ठ सुपुत्र हाजी हनिफ मियाँ र अली मियाँका शुभचिन्तकह्रूको सक्रियतामा वि.सं २०५९ जेठ ९ गतेका दिनबाट विधिवत दर्ता भई अली मियाँ लोकवाङ्मय प्रतिष्ठान स्थापना भएको हो । पोखरामा स्थापना भएका प्रशस्तै वाङ्मयिक संस्थाहरुमध्ये अग्रणि भूमिका निर्वाह गरिरहेको यस प्रतिष्ठानले वर्षैपिच्छे विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्दै आएको छ । समय –समयमा साहित्यिक तथा संस्कृतिसँग सम्बन्धित कार्यक्रमह्रू गरेर अली मियाँको सपनालाई रङ्गीन बनाउँदैछ यस प्रतिष्ठानले । यस प्रतिष्ठानको अर्को अत्यन्तै सबल पक्ष भनेको यसले प्रदर्शन गरिरहेको धार्मिक सहिष्णताको नमुना हो । समय– सयमा यस संस्थाले आयोजना गर्ने गरेका कार्यक्रमहरू र सहयोगहरुबाट यस कुराको पुष्टि हुन्छ । कट्टर मुस्लिम समुदायसँग सम्बन्धित संस्था भएर पनि हिन्दूधर्मका दशावतार बालनको प्रदर्शन, बालनेहरूलाई गरेको सहयोग, गोपीचन लोकनाटकका कलाकारहरूलाई गरेको सम्मान लगायत सम्बन्धित क्षेत्रमै गएर गरिएका सम्मानहरूले गर्दा यो संस्था सबैको नजरमा सम्मानित हुन पुगेको छ । प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ असल बाबुका असल पुत्र बनेर आफ्ना स्वर्गीय पिताको सपनालाई साकार पारिरहेका छन् ।
अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार यसवर्ष प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गर्ने भएको छ । अली मियाँको ९६औँ जन्म जयन्तीको अवसर पारेर फागुन १५ गतेका दिन विशेष कार्यक्रम सहित प्रदान गर्न लागिएको उक्त पुरस्कारबाट यस अघि हरिदेवी कोइराला, धर्मराज थापा, भेँडीखर्के साइँला, खिम बहादुर गन्धर्व, बम बहादुर कार्की, पे्रमराजा महत र प्रा डा. मोतीलाल पराजुली सम्मानित भइसकेका छन् । नेपाली भाषा, साहित्य र लोक वाङ्मयको क्षेत्रमा अनवरत साधनारत प्रा.डा. बन्धुलाई गर्न लागिएको सम्मानले यस प्रतिष्ठानको उचाई अझै बढेको महसुस गर्न सकिन्छ ।
अली मियाँको सपनालाई यसैगरी पूरा गर्दै अझै पर्दाभित्र लुकेर रहेका लोक प्रतिभाहरूलाई खोजी खोजी सम्मान गर्न सकेमा अली मियाँको आत्माले सबैलाई आशीर्वाद प्रदान गर्नेछ । हुन पनि लोकगायनमा लागेर आफूले झैँ दुःख कसैले भोग्नु नपरोस् भन्दथे अली मियाँ । अली मियाँको त्यही चाहना, कामना र सपना पूरा गर्ने महान् अभियानमा अली मियाँ लोकवाङ्मय प्रतिष्ठान अनवरत लागिरहेछ । ९६औँ जन्मजयन्तीको सन्दर्भमा लोककवि अली मियाँप्रति हार्दिक श्रद्धाञ्जली र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानलाई मुरी–मुरी शुभकामना ।

(लेखक नेपाली लोकगीतमा पि.एच.डी. अनुसन्धानरत छन् )

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 फागुन, 2070

लेखकका अन्य रचनाहरु