बिवादित मन

- राज अबिरल यात्री

बिवादित कुराहरु गरी चर्चामा आईरहन्छिन पद्मादेवी । पाँच दशक उमेरकी उनको ब्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोही अबिवाहित भन्थे, कोही लोग्ने सँग छुट्टिएको भन्थे । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी कतै सामाजिक कार्यकर्ता कतै पत्रकार र कतै राजनीतिक ब्यक्तिका रुपमा चिनिन्थे । कुनैकाल खण्डमा उनको संलग्नता थियो पनि । उनको पछिल्लो काम भने आफ्नै घरमा अनाथालय । यतिबेला उनको सम्पर्क विदेशीसँग पनि छ । रंगकार्यक्रममा, सामाजिक, गैह्रसरकारी आदि कार्यक्रममा अतिथिको रुपमा बोलाउछन र त्यहा उनी बिवादित अभिब्यक्ति दिएर चर्चामा आई हाल्छिन । केही महिना अघि उनले राजनीतिका एक चर्चित हस्तीको पन्ध्र बर्ष अघि आफुसँग सम्बन्ध थियो भनेर आफु चर्चामा आईन र राजनीतिज्ञाको अनु छविमा चै कालो पोतिदिईन । बिवादित अभिब्यक्ति दिनु राजनीति गर्दा आफ्ना नेता बाटै सिकेकी थिईन ।
हालै तीज बहिस्कार गरौ भनेर चर्चामा आईन । सम्पूर्ण नारी तीजको तयारीमा जुटेको बेलामा आएको उनको यो अभिब्यक्तिले तरंग ल्यायो । उनको तर्कमा तीज महिलालाई दासी झै दबाउन मनाईने चाड हो । दिनभरी भोको बसेको महिलालाई बेलुकी पतिको खुट्टाको पानी खुवाउने चलन पुरुषवादी समाजले जानाजान चलाएको हो । यद्धपी न कुनै पुरुष मेरो लागि ब्रत राख भनेका थिए न खुट्टा धुन नै । बहिष्कारका कुरा ब्लग र पेजमा लेखेकी उनको कुरामा केही समर्थन पनि आएको थियो । एफएम रेडियोले अन्तर्वार्तामा बोलायो र केही पत्रिकाले छोटो समाचार छापे ।
दर खाने दिन आफुले संचालन गरेको अनाथलयकी सहयोगीले अनाथ केटाकेटीको चाहानालाई बुझेर दर पकाई दिईन । पदमादेवीले केही आदर्श छाँटे पछि आफुले पनि खाईवरी कोठामा लगिन । तीजको दिन आफु बस्ने टोलको सबै महिला रातो साडीमा छड्के हरियो तिलहरी भिरेर पशुपतिनाथको मन्दिर अनि बिभिन्न ठाउँमा आयोजित कार्यक्रमहरुमा गई रहेका थिए । पदमादेवीले झ्यालबाट देखिन । बहिष्कारको घोषणाले केही काम नगरेको प्रष्ट थियो । पदमादेवीले कम्प्युटरमा फेसबुक खोलीन, तीजको शुभकामना ओईरो थियो । बाटोमा श्रृङगारीएका महिलाहरुको ताँतीले उनलाई अस्थिर बनायो । ऐना अघि बुढ्यौली हुदै गएको अनुहारमा श्रृङगार गर्न थालिन अनि ड्राईभरलाई गाडी ठिक पार्न भनिन् । अरु महिला झै रातो साडीमा हरियो पोते भिरेर उ पशुपतिनाथको मन्दिरतिर लागिन । भोलीपल्ट पदमादेवीको अर्को बिवादित कुरा छापेर मिडियाले चर्चामा ल्याउने निश्चित थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070

लेखकका अन्य रचनाहरु